नेपाली साहित्य आकाशको उदाउँदो नक्षत्र अनिता पन्थीले आफ्नो दोस्रो कृति ‘अनायोजित’ उपन्यास पाठकमाझ प्रस्तुत गर्नु भएको छ । दृढ अठोट लिएर लमजुङको एउटा गाउँबाट काठमाडौँ छिरेकी एक युवती अनिता पन्थीलाई साहित्यिक रुपमा स्थापित गर्न यो उपन्यास पर्याप्त छ । किनकि पर्यावरणीय चिन्तनमा डुबेर नेपाली साहित्यमा रचना गरिएको यो नै पहिलो उपन्यास हो भन्ने मैले थाहा पाएकी छु ।

‘नगेन्द्र शर्माको जीवनी र कृतित्व’ वहाँको पहिलो पुस्तकाकार कृति हो भने विभिन्न पत्रपत्रिका (छापा तथा अनलाइन) मा आफ्नो रचनाहरु प्रकाशन गर्दै आउनु भएकी अनिताको यो दोस्रो कृति ‘अनायोजित’ पढेर म अत्यन्त प्रभावित भएकी छु र त्यस्तो व्यक्तित्वसङ समीक्षक भएर नाम जोडिनुमा पनि मैले आफुलाई धन्य ठाने ।

“सिर्जना र समालोचना दुवै मिलेर साहित्य बन्दछ । सिर्जनालाई माझेर, टल्काएर उच्च उपभोग्य वस्तु बनाउने साधन नै समालोचना हो । त्यसैले धोइपखाली गर्छ पुछ्पाछ पार्छ, सफा गर्छ र उपभोक्तालाई पस्किन्छ । यस्तो कर्म गर्दा समालोचकले अरुलाई गुहारेर यस्तो भनिन्छ, यस्तो पाइन्छ, यस्तो गरिएको छ जस्ता कृत्रिम शैली रोज्नु आवश्यक छैन । आफ्नो निर्णय आफैले सुनाउने आँट गर्नुपर्छ। त्यसैले वर्तमान विश्व समालोचनामा ‘म’ को उपस्थिति अनिवार्य हुँदैछ ।”

उपरोक्त सन्देश नेपाली प्राज्ञ जगत् सम्म ल्याउनु हुने वरिष्ठ समालोचक साहित्यकार डा. गोविन्दराज भट्टराईको “समालोचनामा ‘म’को उपस्थिति कति सान्दर्भिक कति असान्दर्भिक ” भन्ने लेख पढेपछि मैले यसै भनाइको धरातलमा उभिएर ‘अनायोजित’ लाई समिक्षा गर्ने जमर्को गरेकी छु ।

भूगोलमा हुन सक्ने बिनासको सूचनालाई  प्रेमको मीठो मह घोलेर प्रस्तुत गरिएको जम्मा एक सय उनान पचास पृष्ठको यस उपन्यासमा सोह्र खण्ड रहेको छ जसमा पहिलो सात खण्डमा काठमाडौंको सहरी परिवेश, युवायुवतीमा हुने प्रेमको वर्णनलाई  ‘म’ पात्रको रुपमा प्रस्तुत प्रयास नाम दिइएको एक पुरुषद्वारा अभिव्यक्त गरिएको छ भने बाँकी नौ खण्डमा लेखककै जन्मथलो झैं  कुनै विकट गाउँ पाखा, पहाडमा मानव निर्मित यन्त्रको आधिपत्य र यसलाई विस्थापित गरी मानवले आफू क्रियाशील हुन गरिरहेको अनवरत  संघर्षको वर्णन पनि सोही ‘म’ पात्र द्वारा नै प्रस्तुत गरिएको छ ।

रन्जु पाण्डे

अत्यन्त मिठो भाषाशैली र अधिकांशतः तत्सम शब्दको प्रयोग भएको यस आख्यानको विषयवस्तुलाई हेर्ने हो भने सिङ्गो उपन्यास कथाको दुइ प्रमुख पात्र प्रयास र उन्नतिमा केन्द्रित छ । उन्नति प्रति प्रयासको हृदयगत अनुराग अनि ऊनीसँग मिल्ने चाहना, आशा, उमङ्ग, कल्पना र सपनाको सेरोफेरोमा कथा घुमेको छ । एउटा पुरुषको मनमा विपरीत लिङ्गीप्रति उर्लने प्रेम भावलाई  अन्तरंगमा पुगेर अभिव्यक्त गर्न यस उपन्यासमा लेखक अत्यन्त सफल हुनुभएको छ । विषयवस्तुको गर्भसम्म पुग्न प्रस्तुत भएका अन्य सहायक पात्रहरूमा यन्त्र पात्रको प्रस्तुतिलाई मैले उपन्यासकारको अर्को सफलता मानेकी छु ।

प्रेमको पृथक अभिव्यक्ति   अनुभूति

सुन्दर सपना बोकेर गाउँबाट काठमाडौँ आएका प्रयास उन्नति नाम गरेकी एक युवतीको प्रेममा आशक्त हुन्छन । यद्यपि जुन प्रेमको अभिव्यक्ति ऊनी  उन्नतिबाट चाहन्थे  त्यो उनले  विरलै पाए अथवा भनौ पाउँदै पाएनन, त्यसैमा नै प्रेमको अमरत्व उनले खोजेका छन  कथाको अन्तसम्म।  प्रयासले सधै उन्नतिको प्रेम आफूप्रति मूर्त रूपमा देखियोस् भन्ने चाहिरहे । “प्रयास तिमीविनाको यो पवन, चन्द्र, सूर्य, हजारौं तारागण… सबै सबै निरर्थक लाग्दछ । निस्सार, उजाड, उदेकिदो…”(५८) अमर प्रेमका यस्तै संवादहरु उन्नतिले व्यक्त गरुन् भन्ने चाहदा चाहदै जब थाहै नपाउदो तवरले प्रयास उन्नतिबाट भौतिक रुपमा टाढा हुँदै थिए तब प्रेमलाई हेर्ने उनको दृष्टिकोण फेरिन्छ । त्यसैले अब ऊनी भन्दैछन्, “उन्नतिको षोडशी योवनमा आकृष्ट भएर मैले उनलाई  प्रेम गरेको होइन, यदि मेरो प्रेम त्यसैमा केन्द्रित थियो भने आफ्नो अनुरागी क्षण म उसै व्यर्थ गराउने थिइनँ । अनि सूर्यसँगै लत्रिएको फूल प्रतिको आकांक्षामा यसरी अभिशप्त जीवन बचाएर राख्ने पनि थिइनँ, अवश्य । हाम्रो भेट त्यो समयमा हुनेछ जुन समय हामी दुवैको उमेर, यौवन, अनुराग, वासना सबैसबै पश्चिमी आकाशको पहेलां घाम हुनेछन्। निस्तेज…। (१३१)

यो सबै प्रेम अनुरागीलाई एउटा सौगात हो कि आफ्नो प्रेमलाई जीवन्त तुल्याइरहने हो भने यसलाई दुर्लभ बनाउनुपर्छ । पाएपछि सकिने प्रेम प्रेम होइन । प्रेम भनेको शरीरले छुने चिज होइन यो हृदयले अनुभूत गर्ने कुरा हो भन्ने मेरो बुझाइमा अझै दृढता ल्यायो यो उपन्यास पढदा ।

प्रेम अमूर्त मात्र होइन यसलाई मापन पनि गर्न सकिँदैन ।  यो अनन्त हुन्छ, असीमित हुन्छ भन्ने कुरालाई पुष्टि गर्नको लागि यहाँ  प्रयासकी अर्की प्रेमिका सुस्मिताको पनि आंशिक रुपमा चर्चा गरिएको छ  (७४)।  कथामा यसरी सुस्मितालाई ल्याइनु सरसर्ती हेर्दा अप्रसङ्गबस देखिए तापनि यसले चैं उन्नती सँगको उनको प्रेमलाई भागले होइन गुणनले  फैलाउन दिएको संकेत भन्ने मैले बुझेँ ।

उन्नती प्रयासको प्रतीकात्मक अर्थ

कता-कता उन्नति प्रकृतिकी वाहक हुन कि जस्तो पनि लाग्छ ।  आधुनिकीकरणको चरमोत्कर्ष जसलाई हामी उन्नति, प्रेम, आकर्षण ठानेर प्राप्त गर्न, भोग गर्न लालायित छौ, यथार्थमा त्यो उन्नति हुँदै होइन । उन्नति लाई प्राप्त गर्न प्रकृतिमा फर्कनु पर्छ त्यसैले त जति जति प्रयास उन्नति बाट भौतिक रुपमा टाढा हुँदै गए आफ्नो जन्मभूमि , भिर पाखा पखेरोमा पुगे उतिउति उन्नतिको नजिक पुगे, उनलाई आफैभित्र पाए । यसरी उन्नतिलाई सुरु देखि नै एउटा अमूर्त प्रेमको प्रतीकको रूपमा चिनाइएको छ ।

उपन्यासकी पात्र उन्नतिको प्रकृतिसँगको सान्निध्यलाई कथामा शहरको एउटा प्रसङ्गबाट यसरी प्रस्तुत गरिएको छ ।

” देखेनौ सुन्दरीजलका हरेक अभिव्यक्तिहरु…? तिमी भाषालाई मात्र विचार विनिमयको माध्यम भन्ठान्छौ । तर म…।…मौनतामा जति शक्ति हुन्छ त्यो भाषामा छैन।  भाषाले तिमीलाई सतही गराउँछ जबकि निशब्दतामा तिम्रो गहिराई मापन कसले गर्न सक्छ ? सृष्टिको अन्तिम सत्य पनि निशब्दता नै हो । अज्ञेय रहस्यको उत्तर पनि त्यही…।” (५७) यसरी उन्नतिले सुन्दरीजलका अनेक जगती र प्राकृतिक दृश्यलाई अनुभूत गरेको वर्णन प्रयासलाई सुनाउँछिन् । त्यहाँ भएको दुषित पर्यावरणलाई केवल उन्नतिले बुझ्न सकिन,  प्रकृतिको सकसलाई मात्र उनले आत्मसात गर्न सकिन ।  प्रकृतिको वकालत गर्दै ऊनी अगाडि भन्छिन् ” हामीले तिनीहरूको संबाद सुनेनौ। तर के बोध गर्न सकेनौं ? प्रकृतिको करुणा दर्द…। मानवले उनको स्वतन्त्र अस्तित्व लाई कसरी मेटाउँदै छ ? तिमीले मलाई भनिदेउ दूषित पर्यावरणलाई बुझ्न कुन भाषाको जरुरत पर्छ ?”(५७) यो पंक्तिले मलाई रुखलाई अँगालो हालेर उसको हृदयको आवाज सुन्ने ईन्डियाको एउटा अर्थपूर्ण अभियान ” चिपको आन्दोलन” को सम्झना दिलायो । यसरी उपन्यासमा दोस्रो प्रमुख पात्र उन्नतिलाई प्रकृतिको दूत बनाएर ब्रह्माण्डलाई मनपरी तवरले भोग गरिरहेका मानवलाई प्रकृतिको मौनतामा लुकेको प्रेम, करुणा, पिडा अनि कुनैपनि बेला उर्लन सक्ने पञ्चमहाभूतको शक्तिलाई बुझ्न कथाले प्रेरित गरेको छ । जसबाट मैले पनि महसुस गरे कि उन्नति प्रकृति हुन उन्नति प्रेम हुन् ; मात्र कथाको पात्र प्रयासकी नभई  समग्र मानव जातिकी प्रियसी हुन।

अब प्रयासको प्रतीकात्मक अर्थ कथामा विश्लेषण गरौँ ।  गाउँका थुप्रै युवायुवतीहरु ‘उन्नती’ खोज्दै शहर पस्छन । शहरमा ‘उन्नति’ पाउन प्रयासरत रहन्छन् । हरेक ‘प्रयास’ को प्रयास रहन्छ भौतिक उन्नति प्राप्तगर्ने । जगतमा मान्छेले निर्माण गरेका आर्टिफिशियल ईन्टेलिजेन्स (AI)तथा यन्त्र, उपकरण जति पनि छन् ती आफैंलाई सखाप पार्न निर्माण गरेका पक्कै होइनन्  । आफ्नो जीवन सहज होस् आफ्नो उन्नति होस् भनेर बनाएका हुन् । तर आज आएर मान्छे यति पराश्रयी भइसक्यो कि उसलाई आफ्नै उमेर था पाउन पनि अरुलाई हेर्नुपर्ने हुन्छ। यन्त्र, उपकरण मोबाइलले कथाको मूल पात्र प्रयासलाई उन्नतिसँग जोडेको थियो “आफ्नो मित्रको फोन उसको अनुपस्थितिमा उठाउँदा उताबाट आएको कोमल वाणी मधुर स्निग्ध अनि कर्णप्रिय स्वरमा मोहित हुन्छन् प्रयास ” (१७) । आज त्यही उपकरण मोबाइल नहुदा उनले उन्नततिलाई भौतिक रुपमा गुमाउँदैछन । जब कथाको पात्र प्रयासबाट उसको मोबाईल खोसिन्छ उ लाचार हुदै यन्त्रसङ  याचना गर्छ , “महोदय स्काभेटर ! सबै दण्ड भोग्न म तयार छु तर वाइ-फाइ जडित मोबाइलमा कुनै प्रतिबन्ध नलगाइयोस् । जसको अभावमा मेरो नवपुष्पित प्रेम मुर्झाउँदै जानेछ ।”(८९)

यसरी मान्छे कतिसम्म दास भइसक्यो आफैले निर्माण गरेको प्रविधिको भन्ने एउटा दृष्टान्तको लागि कथा भित्र भएको उपरोक्त पंक्ति पर्याप्त छ । धूम्रपान, मध्यपान भन्दा पनि डरलाग्दो लत; यन्त्रको लतले मान्छे अपाङ्ग भइसकेका छन् यद्यपि यसैलाई मानवले आफ्नो उन्नति मानेर ठूलो भ्रममा परिरहेको कुरा उपन्यासले बताउँन खोजेको मैले बुझेँ ।

उन्नति भनेको वैज्ञानिक विकास मात्र होइन । मान्छे आफु जागरुक हुनु पनि उन्नति हो । यो गरेर उसले प्राप्त गर्ने उन्नतिको लागि कथामा पात्र उन्नति एउटा प्रतीक मात्र हुन । उपन्यास भित्रको कथाको दोस्रो चरणमा मानवमाथि यन्त्रको दासता र यसले निम्त्याउन सक्ने विनाशको घटनालाई पृथक राखिदिएको भए कथा निरस हुन सक्थ्यो त्यसैले यसमा प्रेम रसलाई जोडिदिएको छ जसमा सबै मान्छेको कौतुहलता रहन्छ र रमाउन सक्छन् ।

प्रेमको अदम्य शक्ति

 प्रेममा दैवी शक्ति छ । प्रेम नै एउटा यस्तो हतियार हो जसले मान्छेलाई सधैं उर्जा दिइरहन्छ । कथामा प्रेमको चर्चा, शहरकी युवती उन्नति अनि ऊनीसँगको प्रेम प्रणयलाई चरम उत्कर्षमा पुर्याएर यसरी मानवलाई एउटा यन्त्रबाट जुन परिस्थितिमा जस्तो सजाय सुनाइन्छ यो सबै अत्यन्त प्रतीकात्मक छ । भौतिक जगतमा मानवले खोज्ने उन्नति होस् या कथाका पात्र प्रयासले खोज्ने आफ्नो प्रियसी उन्नति होस् जीवनको उत्तरार्द्धमा पनि मान्छेले खोज्ने प्रेम नै हो। त्यही प्रेमको सम्झनालाई हतियार बनाएर, त्यसैको आडभरोसामा संघर्षरत: मान्छे गल अनि हतौडी चलाउछ्न आ-आफ्नो भागको कर्ममा। कथामा म पात्र प्रयास  प्रेमकै लागि  अहोरात्र खटिरहन्छन चिहान डाँडासम्म पुग्ने बाटो बनाउनको लागि । प्रेममा समर्पण हुँदा जे पनि सम्भव हुन्छ । विनासले दिएको निमन्त्रणालाई स्विकार्दै भोलि थुप्रै मान्छे चिहान डाँडा पुग्नुपर्ने हुन्छ र त्यसमा आफ्नी प्रियसी उन्नति; थुप्रै अनुरागीहरुका उन्नतिलाई  चिहानडाँडा पुग्न सजिलो होस् भने प्रयासले गरेको यो समर्पण देखिन्छ ।

उपन्यासका ‘म’ पात्र प्रयासले आफूलाई भीष्म पितामह  सँग तुलना गरेका छन् । यसको अर्थमा म गहिरिन सकिन  तर पक्कै पनि प्रेमको अनुरागले मलाई इन्डियाको दशरथ माझीको सत्य घटनालाई सम्झाएको छ ।

बिहारको एक आदिवासी भारतीय नागरिककी पत्नी पानी लिन जादा चट्टानबाट खसेर मरणासन्न हुन्छिन (सन १९६२)। बिकट ठाउँको अत्यन्त गरीव युवाले जब समयमा अस्पताल पुर्याउन नसकेर आफ्नी पत्नीलाई भौतिक रुपमा गुमाउछन तब उनको प्रेमले उनलाई एउटा संकल्प गराउँछ र बाईस वर्ष लगाएर उनले त्यो चट्टानलाई दुई चिरापारी दिन्छन् जहाँबाट लडेर उनकी पत्नी गम्भीर घाइते भएकी थिइन् र त्यहीँ बीचबाट उनले बाटो निकाल्छन (सन १९८४) । धेरैले उनलाई बौलाहा भने ,पागलप्रेमी भने । तर त्यही प्रेमको पागलपनमा नै उनले आफ्नो योवन रित्याए र सफल अनि अमर पनि बने । आज उनको गाउँका कोहीपनि महिला समयमा उपचार नपाएर मर्नु पर्ने अवस्थामा छैनन रे किनकि पहाडको बीचमा फोरेर उनले बनाएको बाटोबाट छिट्टै अस्पताल पुग्न सकिन्छ रे।

यस उपन्यासमा पनि कथाको पात्र प्रयासले आफ्नो प्रियसीको सम्झनालाई उर्जा बनाएर बाटो खन्दै जाँदाखेरि आफ्नो सिंगो जवानी बितिसकेको पनि पत्तो पाउदैनन् । अस्तित्ववादी दृष्टिकोणबाट यसलाई जसरी व्याख्या गरियोस  तर प्रेमको लागि प्रयासरत एक प्रेमीले आफ्नो प्रेमलाई अमर बनाउने सञ्जीवनी बुटी हो यो उपन्यास ।

मानव विनासको भविष्यवाणी

“के ऊ आर्जनको भाइ! सुधिर ?  उसको बातले मलाई हजार भोल्टको करेण्ट लागे भन्दा अधिक जलन हुँदै थियो । विद्युतीय प्रभाव त के हो र ? त्यो भन्दा पनि अरू तीव्र वेगमा मेरा बिचारहरु आफै माथि प्रश्न प्रतिप्रश्न गर्न जमजमाइरहेका थिए । अझ पनि मलाई थाहा थिएन मेरो उमेर के कति हुँदैछ दण्ड उन्मोचनको ध्याउन्तिमा  योवनको आहुति गराइसकेको रहेछु । …बल्ल थाहा पाएँ मैले उन्नतिको निम्ति जीवनको महत्त्वपूर्ण क्षण गुमाइ सकेको रहेछु ।” (१२२)

ओहो ! कथाको उत्तरार्द्धमा पात्र प्रयासको आफैसँगको संवादको उपरोक्त पंक्तिले झसङ्ग तुल्याउने एउटा सुचनाको बोध गरायो मलाई । कथामा म अझै गहिरिदै गएँ ।

कमिलाको अन्तिम उपलब्धि भन्नू नै उसको देहमा पखेटा लाग्नु हो रे …। (८१) कमिलाको पखेटा लागेको चर्चालाई  विकासको चरमोत्कर्षमाको बिम्ब  बनाएर कथाको पात्र प्रयासलाई अप्रत्यासित रुपमा शहरबाट गाउँ पुर्याइएको छ यद्यपि  बालकृष्ण समले भनेजस्तै यो नियमित आकस्मिकता हुनसक्छ । उसलाई  जब दण्ड सजाय स्वरुप चिहान डाँडा खन्ने काममा खटाइन्छ र त्यो त्यतिबेला हुन्छ जब उ एउटा उपन्यास लेख्ने तयारीमा हुन्छ ।  सजाय दिने यन्त्र ; मानव निर्मित विकासको अस्त्र,  सजाय पाउने मानव र उसको अवस्था अनि  काल, समय सम्पूर्ण अत्यन्त सांकेतिक छ । एउटा ठूलो घुम्ती लिदैछ है मानव अस्तित्वमाथि ! भन्ने कुराको सूचना हो कि जस्तो लाग्यो मलाई  त ।

उन्नतिको आशैआशमा प्रयासरत छ यहाँ हरेक प्राणी । नाफा, नोक्सान, आम्दानी खर्चको नियमित हिसाबकिताब राख्न एकदिन पनि नचुक्ने मान्छेलाई यहाँ आफ्नो जीवनको अडिट गर्न भने पटक्कै समय छैन । ‘म’ पात्र प्रयास , खन्दा खन्दै पुरिनु अनि कालो पर्दा खस्नु भनेको चै मानवले आफै निर्माण गरेको यन्त्र, उपकरणले यति प्रभुत्व जमाइसकेको छ  कि अबको आउने दिनमा मानवले त्यसबाट उम्किन खोज्दाखोज्दै  उसको अस्तित्व नै बिलिन हुनेछ भन्ने संकेत हो भनी मैले बुझे । आखिर उन्नतिको लागि मानवले यहाँ जति पनि प्रयास गरिरहेछका छन त्यो बिस्तारै बिफल हुँदै छ यद्यपि मानव अहोरात्र खटिइरहेछ ।

शहरमा प्रयासले उन्नतिलाई प्राप्त नगर्नु पनि नियमित आकस्मिकता हो किनकी त्यही अप्राप्तीले नै उसलाई गाउँ ; आफ्नो उद्गम स्थलमा पुर्यायो जहाँ पौरखी हातको स्थान स्केभेटर र डोजरले लिइसकेको छ भने त्यसले क्षतविक्षत बनाइसकेको प्रकृतिका प्रत्येक डाँडाकाँडा लाई प्रयासले जतिसुकै बचाउन खोजे पनि हरेक वर्षको  पहिरोले उसले पुग्न चाहेको मार्गमा अडचन ल्याइ रहन्छ । मानव आफैले आफ्नो उन्नतिको बाटो खन्न सक्छ भन्ने कुरा प्रयासले  देखाउन खोजेका छन् तर यो धेरै ढिला भै सकेको भन्ने एउटा संकेत पनि हो प्रयासको मिसन पूरा नहुदै कथामा कालो पर्दा झर्नु ।

यसरी मानव प्रविधि र उपकरणको प्रकृति माथिको हिंसा, अधिपत्य अनि त्यसले ल्याएको जलवायु परिवर्तन, महामारी र विनाशको अनेकन रुप कोरोना, ओमिक्रोन, भूकम्प, बाढी, पहिरो, भ्रष्टाचार, लुटपाट, ठगी, बलात्कारी जस्ता बिश्वमा जति पनि अनियमितता भै रहेछ त्यो नै मानव विनासको निम्तो हो र हामी स्वयं चिहान डाँडा पुग्ने मार्ग खन्दैछौ  किनकी अबको हाम्रो गन्तब्य त्यही हो । सांकेतिक रुपमा संसारलाई अब मानव निर्मित यन्त्र र उपकरणले कब्जा जमाइसकेको छ र यसले हामीलाई अन्तमा सुरुवाती चरणमा लैजानेछ भन्ने संकेत  कालो पर्दा खसाएर उपन्यासलाई समाप्त गरिएकोबाट मैले अनुमान लगाएँ ।

यसरी उन्नति भनेको भौतिक सुविधाका साधनहरु निर्माण गर्नु,  बाटोघाटो बनाउनु मात्र होइन मान्छेको ज्ञान र विवेकमा उन्नति हुनु पर्यो भन्दै भौतिक कुरालाई प्रश्रय नदिएको र जतिनै प्रविधिको विकासले मान्छेको भौतिक जीवनलाई सहज बनाएपनि मानवको उन्नति त्यो होइन भन्ने निष्कर्षमा कथालाई टुड्ग्याइएको छ ।

सारांशमा प्रेमको अनुभूति मात्र शास्वत सत्य हो । यो मात्र जीवनमा सङसङै जान्छ भन्दै पात्र प्रयासलाई उनको नाममा नै सीमित राखिएको अर्थात् प्रयासरत: रहँदारहँदैको अवस्थामा कथा अन्त गरेर मानव भविष्य अनायोजित छ भन्दै एउटा गहिरो पाठ मलाई यो उपन्यासले सिकाएको छ ।