परिच्छेद-७

नोभेम्बर १२ तारिखका दिन, ओल्मुजको भन्दा पहिले कुतुजोभको सक्रिय सेना, क्याम्पमै रसियाली र अष्ट्रियाली दुवै सम्राट्द्वारा भोलिपल्ट निरीक्षणका निमित्त तयार पारिँदै थियो । ओल्मुजभन्दा दश माइल परै गत रात बिताएर रसियाबाट भर्खरै आइपुगेको गार्ड सेतासमेत दश बजेसम्ममा निरीक्षणका निमित्त सोझै ओल्मुज पुग्नु पर्ने थियो ।

त्यसै दिन निकोलास रोस्तोभले बोरिसबाट एउटा पत्र प्राप्त गर्यो । त्यसमा उसले इस्मेलोभ रेजिमेन्ट ओल्मुजभन्दा दश माइल परै बास बसेको हुँदा यसै अवसरमा ऊ उसलाई भेट्न चाहन्थ्यो किनकि उसका निमित्त घरबाट पत्रहरू र रकम पनि पठाइएको थियो भन्ने लेखिएको थियो ! नभन्दै यतिखेर रोस्तोभ पनि पैसाको विशेष अभाव अनुभव गरिरहेको थियो । खास गरी युद्धमा सक्रिय सहभागितापश्चात्‌ उनीहरूको रेजिमेन्ट ओल्मुजनजिकै छाउनी हालेर बसेको थियो र त्यहाँ अष्ट्रियाली यहुदीहरू र सैनिकलाई रासन सप्लाई गर्ने ठेकेदारहरू युद्धबाट फर्किएका सैनिकलाई बेच्न भनेर अनेक लोभलाग्दा मालसामानसहित ओइरिएका थिए । पाभ्लोग्राद रेजिमेन्टका सैनिकहरू युद्धमा देखाएको बहादुरी र कौसलवापत पुरस्कार र विभूषण पाएकोमा एकपछि अर्को भोज र पार्टी गरिरहेका थिए । खास गरी उनीहरू ओल्मुजनजिकै भरखरै खुलेको एउटा ‘क्यारोलिन द हङ्गेरियन’ भन्ने रेष्टुरेन्टमा जाने अभियानै चलाइरहेका थिए किनकि त्यस रेष्टुरेन्टमा सबै वेट्रेसहरू महिला थिए । निकोलास रोस्तोभले पनि आफ्नो बढुवा भएको खुसियालीमा एउटा सानो आइसक्रिमबारमा रमाइलो गरेको थियो र उसले देनिसोभको घोडा बेदोइन खरीद गरेको थियो । त्यसैकारण ऊ खर्च नभएर टाट परेको मात्र होइन साथीहरूको र ठेकेदारहरूको समेत उधारोमा चुर्लुम्मै डुबेको थियो । त्यसैले बोरिसको पत्र पाउनासाथ ऊ अर्को अफिसरंका साथ घोडा सर्पट कुदाएर ओल्मुज गयो । त्यहाँ उनीहरूले एक बोतल रक्सीका साथ काइदासँग खाना खाए । त्यसपछि साथीलाई त्यहीँ छोडेर ऊ आफ्नो पुरानो साथीलाई भेट्न छाउनीतिर लाग्यो । रोस्तोभ अफिसर भए पनि ऊसँग अझैँ अफिसरको युनिफर्म भने थिएन, उसले एउटा भ्यात्ले सिपाही ज्याकेट लगाएको थियो, उसको ब्याजमा पनि सिपाहीकै क्रस चिह्न थियो । त्यस्तै घोडा चढ्दा पाउने ब्रिचिस पनि उस्तै पुरानो थियो, जसको किनारको छाला खुइलिएको थियो । उसको तरबारको म्यान भने अफिसरकै थियो । उसले चढिराखेको डन घोडा उसले त्यही कारवाहीका सिलसिलामा एउटा कोजाकसँग किनेको थियो र उसले टाउकामा खूब छाँटसँग पछाडिपट्टि अलिकति ढल्काएर कच्याककुचुक परेको रिसल्ला टोपी लगाएको थियो । एउटा आगाको ज्वालाजस्तै युद्धरत रिसल्लाको सपना आफ्नो व्यक्तित्वद्वारा उसले बोरिस र उसको कम्पनीका साथीमाथि कसरी बढीभन्दा बढी प्रभाव पार्न सकिएला भन्ने सोच्तै उसको गति सँगसँगै उसको मन पनि कुदिरहेको थियो ।

त्यसको ठीक विपरीत सुरक्षा सैनिक भने आफ्ना पोशाकको सरसफाइ र अनुशासनसहित आफ्नो बिहानको यात्रा आरामले गरिरहेका थिए । उनीहरू सहजसँग बास बस्दै आएका थिए । उनीहरूका काँधे झोला सबै बग्गीले बोकेको थियो र उनीहरूलाई खास गरी अफिसरलाई बासैपिच्छे अष्ट्रियाली अधिकारीहरूद्वारा सानदार खानपिनको व्यवस्था गरिएको थियो । उनीहरूको सिङ्गो रेजिमेन्ट सहरमा प्रवेश गरेदेखि सहर नसकिउन्जेल पूरा ब्याण्डबाजाको तालमा हिँडेर आएको थियो । यसका निमित्त ग्रान्ड ड्युक स्वयमले आदेश दिएका थिए र यस कलामा यो रेजिमेन्ट विशेष गर्व पनि गर्थ्यो । यो पदयात्राभरि अधिकारीहरू पनि आ-आफ्ना स्थानमा पैदलै हिँडेका थिए । बोरिस पनि वेर्गसँग, जो रेजिमेन्टको एउटा कम्पनीको नाइके थियो र बासमा पनि उनीहरूसँगै बस्थ्यो, यात्रा गरेको थियो । बेर्गले युद्धकै समयमा क्याप्टेन पद प्राप्त गरेको थियो र आफ्नो स्फूर्ति र सटिकताद्वारा आआफ्ना हाकिमहरूको विश्वास कायमै राखेको थियो । साथै रकम कलमको हरहिसाब पनि उसले सन्तोषजनक ढङ्गले सञ्चालन गरेको थियो । बोरिसले पनि सोही अभियानकै समयमा धेरै मान्छेसँग परिचय स्थापित गरेको थियो, जुन उसलाई लाभदायक हुन सक्थ्यो । साथै पियेरेबाट उसले एउटा सिफारिसपत्र लेखाई ल्याएको थियो, जसका सहायताले उसले राजकुमार आन्द्रेइ बोल्कोन्स्कीसँग पनि परिचित हुने अवसर पायो । राजकुमारसँगको यो परिचयका बलमा उसलाई प्रधान सेनापतिका स्टाफमा कुनै स्थान प्राप्त गर्ने अभिलाषा थियो । बेर्ग र बोरिस अगिल्लो दिनको यात्रापश्चात्‌ रातको विश्वामपछि संरसफाइ गरेर ताजा भएर सफा पोशाकमा उनीहरूका निमित्त उपलब्ध चिटिक्क परेको कोठामा बुद्धिचाल खेलिरहेका थिए । बेर्गको घुँडाका बीचमा उसको तमाखुको पाइप थियो । बोरिस असाध्य राम्रो हिसाबकिताब गर्ने स्वभावअनुसार बेर्गका चालको बाटो हेर्दै आफ्ना नाजुक, सुकिला औंलाहरूले, खेलबारे अत्यन्त ध्यानपूर्वक विचार गर्दै, जस्तो कि उसको, जे काममा लाग्यो त्यसैमा एक चित्त हुने आदत थियो, क्रमशः बुद्धिचालका गोटीहरूको सानोसानो पिरामिड बनाउँदै थियो । ऊ आफ्नो प्रतिद्वन्दीका मुहारको पनि निरीक्षण गरिरहेको हुन्थ्यो ।

उसले थर्काउँदै भन्यो “लौ त, अब त्यसबाट तपाईं कसरी फर्किनु हुन्छ ?”

“म प्रयास गर्नेछु ..,” उसले एउटा सिपाही समातेर फेरि हात हटाउँदै जवाफ दियो ।

ठीक त्यही बेला ढोका खुल्यो ।
“बिल्ल आइपुगियो !” रोस्तोभ उत्तेजित भएर चिच्यायो । बर्गले पनि चम्किएर उसको रसियाली परिचारिकाले भन्ने गरेको र बोरिस र ऊ आफूले पनि प्राय: खेलवाडका
रूपमा पहिलेपहिले गर्ने गरेको ठट्टा गरिहाल्यो, “ओहो ! कस्तो बद्लिए छौ तिमी त !”

बोरिस रोस्तोभलाई भेट्न उठ्यो तर उठ्नुभन्दा पहिला खतरामा रहेका गोटीहरूलाई ठीक स्थानमा राख्न भने बिर्सिएन । ऊ सोझै निक्रोलासलाई अङ्कमाल गर्ने सुर गर्दै थियो तर निकोलास तर्कियो । उसलाई जवान र पाका भइसकेकाहरूले भेट्ता गर्ने त्यस किसिमको पुरानो स्वागत शैली मन परेको थिएन, जसभित्र औपचारिकता मात्र हुन्थ्यो तर आन्तरिक सहदयता हुँदैनथ्यो । ऊ चिमोटेर, ठेलाठेल गरेर वा अरू आम मान्छेले गर्ने चुम्बनबाहेक अन्य किसिमले साथीलाई भेट्न चाहन्थ्यो । त्यसो भए तापनि आखिर बोरिसले उसलाई अङ्गालो मारेरै छोड्यो र तीन पटक चुम्बन पनि गर्यो ।

उनीहरूको भेट नभएको छ महिना भएको थियो । उनीहरूको उमेर पनि बढेर भर्खर जीवनको नयाँ बाटोमा प्रवेश गर्ने भएकाले उनीहरूले एकअर्कामा प्रशस्तै परिवर्तन पाए, जुन वास्तवमा अरू केही नभएर उनीहरूले जुन समाजको मार्गमा पाइला टेकेका थिए, त्यसको प्रतिविम्ब नै थियो । अन्तिम पटक भएको भेटभन्दा अहिलेसम्ममा उनीहरू, दुवैमा धेरै नै परिवर्तन आएको थियो र दुवै नै आफूमा आएको त्यो परिवर्तन अर्कालाई देखाउन आतुर भइरहेका थिए ।

“बाह । तेरिमा लम्फू, कुनै भोजमा आएजस्तै छाँट्टिएर आएको छस्‌ नि ! हाम्रो त उही पुरानै चाल छ !” आफ्नो हिलाम्मे भएको थोत्रै बरिचिसतिर सङ्केत गर्दै रोस्तोभ करायो । उसको सैनिक तुजुकमा उमेर पुगेको जवानको मध्यम स्वर थियो । उसको ठूलो स्वर सुनेर घरबेटी जर्मन महिला ढोकामा चियाउन आइपुगी ।

उसले आँखा झिम्क्याउँदै भन्यो, “निकै राम्री छ कि क्या हो, हँ ?”

“हे, किन यस्तो हल्ला हुने गरी कराउनु पर्यो । तिमीले सबैलाई अत्याउने भयौ” बोरिसले थप्यो । “तिमी आजै आउला भन्ने नै थाहा थिएन मलाई । मैले हिजै कुतुजोभको
सहायक, जो मेरो पनि साथी हो, बोल्कोन्स्कीको हातमा तिमीलाई खबर पठाएको थिएँ । ऊ पनि मेरो साथी नै हो । यति छिट्टै उसले तिमीलाई भेटिहाल्ला भन्ने सोचेकै थिइनँ ।
जे होस्‌, ठीकै भयो । अनि के छ तिम्रो खबर ? आगोले पोलेजत्तिकै खरो भयो, होइन ?”

उत्तर दिनुको सट्टा निकोलास आफ्नो पोशाकमा झुन्डिएको कोर्डिङ (सिठ्ठी झुन्डाउने डोरी)मा टाँसिएको सिपाहीको सेन्ट जर्ज क्रस (फुली) र आफ्नो पट्टी बाँधेको पाखुरातिर सङ्केत गर्दै बेर्गलाई हेरेर मुस्कुरायो ।

“तिमीले देखिराखेकै छौ नि !” उसले थप्यो ।

“हो र ?”

“हो,” बोरिसले पनि हाँसीहाँसी जवाफ दियो ।” हाम्रो यात्रा पनि सानदार थियो । त्यो त तिमीलाई थाहै होला, सम्राट् स्वयम्‌ हाम्रो रेजिमेन्टसँगसँगै जानु भएको थियो । त्यसै भएर हामीले हुनेसम्म सुविधा र फाइदा पनि पाउन सक्यौँ । पोल्याण्डमा क्या भव्य स्वागत भयो हाम्रो ! क्या सानदार भोजको व्यवस्था थियो र क्या नाचगान ! म तिमीलाई कुन शब्दमा व्यक्त गर्छ ! अनि राजकुमारको पनि हामीमाथि ठूलो अनुग्रह रह्यो ।”

दुवै भाइले यस सिलसिलामा एकार्कालाई आफूआफूले गरेका बहादुरी र अनुभवको बखान गरे । एउटाले रिसल्लाजीवनको (घोडचडी फौज) रमाइलो र लडाइँमा भोगेको अनुभव बतायो भने अर्कोले सम्राटको शाही परिवारका मातहतमा काम गर्दा पाइएको मोजमस्ती र फाइदाको वर्णन गर्यो ।

“बाह, तिमी गार्ड सेनाहरू !” रोस्तोभले ईर्ष्यामिश्चित स्वरमा भन्यो, “रक्सी मगाउ न यार, मैले भन्नु पर्छ त्यति पनि ?”

बोरिसले अलिकति मुख खुम्च्यायो, “भैहाल्छ नि, तिमी चाहन्छौ भने !” त्यसपछि सुकिलो सिरानीमुनि हात घुसारेर उसले पर्स निकाल्यो र रक्सी लिन पठायो ।

“अँ, मसँग तिम्रो लागि एउटा चिठी र अलिकति पैसा पनि छ,” उसले थप्यो ।

रोस्तोभले पैसाको गड्डी सोफामा फ्यात्त राखेर दुवै हातका कुइना टेबलमा टेकेर चिठी ,पढ्न थाल्यो । केही पंक्ति पढेपछि उसले बेर्गले आफूलाई हेरिरहेको महसुस गर्यो । टाउको उठाउँदा उनीहरूका आँखा जुधे । त्यसले उसलाई अलिक रिस उठायो । त्यसपछि ऊ चिठीले मुख ढाकेर पढ्न थाल्यो ।

सोफामा राखेको नोटको गड्डीतिर हेर्दै बेर्गले भन्यो, “अँ, तिमीलाई त घरबाट थुप्रै पैसा पठाइदिएका रहेछन्‌ ! तर हामीहरू भने हेर काउन्ट, केवल तलबको भरमा जिउनु पर्छ । म तिमीलाई मेरो आफ्नो निजी कुरा बताइरहेको छु ।”

“म भनुँ प्रिय मित्र बेर्ग ?” रोस्तोभले अलिक चर्केर भन्यो, “जब तिम्रो घरबाट कुनै चिठी आउँछ अथवा कोही नजिकको आफन्तसँग भेट हुन्छ, तिमी भएभरका कुरा गर्न चाहन्छौ, त्यति बेला म त्यहाँ भएँ भने तुरुन्तै त्यहाँबाट निस्केर बाहिरतिर जाने थिएँ ! तिमी कहीँ जाऊ वा जहाँसुकै जाऊ … नर्कैमा जाऊ !” अनि तुरुन्तै आफ्नो ठाउँबाट उठेर उसका दुवै कुममा समात्दै उसका आँखामा आँखा गाडेर उसले आफ्नो व्यवहारमा देखिएको अशिष्टलाई समेत मेटाउने हिसाबले राम्रैसँग थप्यो, “मैले यसो भनेँ भनेर दु:ख नमान है मित्र । मैले आफ्नो पुरानो मित्र सम्झेर हृदयको कुरा जस्ताको तस्तै भनेको मात्रै हो ।” ।

“भैगो काउन्ट, त्यसो भनिरहनै पर्दैन । त्यति कुरा मलाई पनि राम्ररी थाहा छ,” उसले उठ्दै केही दबिएको स्वरमा भन्यो ।

“हाम्रो घरबेटीकैतिर गए पनि त भयो नि । उनीहरूले बोलाएका पनि थिए,” बोरिसले थप्यो।

बेर्गले एकदमै सफा कोट लगायो, जसमा धूलोको नामै थिएन । त्यसपछि निधारबाट उँभोतिर सम्राट अलेक्चेन्डरको नक्कल गर्दै ऐनाअगाडि उभिएर कपाल कान्यो । अनि रोस्तोभले उसको कोटलाई, जुन प्रशंसाको आँखाले हेर्यो, त्यसको स्वाद लिँदै ऊ पुनः एकपल्ट ऐनामा हेरेर आनन्दको मुस्कानसहित बाहिर निस्कियो ।

“हे भगवान्‌ । म कस्तो पशु हुँला !” रोस्तोभ चिठी हेर्दै फत्‌फतायो ।

“किन ?”

“ओहो ! म त साँच्चैको मूर्ख हुँ । पत्रमा सबै कुरा नलेखेर मैले घरमा सबैलाई कस्तो अत्याएँ हुँला ! कस्तो मूर्ख !” अचानक अप्ठ्यारो महसुस गर्दै रोस्तोभले दोहोर्यायो । “साँच्चै के तिमीले ग्याब्रियललाई रम्सी लिन पठायौ ? ठीक छ, अलिकति त खानै पर्छ ।”

आमाबाबुले पठाएको चिठीको साथमा बग्रातिओनलाई लेखेको एउटा सिफारिस पत्र पनि संलग्न थियो । त्यो पत्र अन्ना मिखायलोभ्नाको सुझावअनुसार बुढी काउन्टेसले एक परिचित व्यक्तिमार्फत्‌ लेखाइमागेकी थिइन्‌ र उसलाई बग्रातिओनसम्म पुर्याएर त्यसबाट हुनेसम्म फाइदा उठाउनु भन्ने पनि लेखेकी थिइन्‌ ।

“कस्तो बाहियात ! कति न मलाई यसको आवश्यकता भएजस्तै !” रोस्तोभले यति भन्दै त्यो सिफारिस पनि टेबलमुनि फालिदियो ।

“किन फालेको तिमीले त्यो पत्र ?” बोरिसले सोध्यो ।

“त्यो एउटा सिफारिस-पत्र हो …. त्यो राक्षसलाई लेखेको सिफारिसपत्रको मलाई के आवश्यकता ?”

“किन ?” बोरिसले चिठी टिपेर पढ्दै भन्यो, “यो चिठी तिम्रो निम्ति ज्यादै उपयोगी हुने रहेछ ।”

“अहँ, मलाई चाहिएको छैन । मलाई कसैको कारिन्दा हुनु परेको छैन ।”

“किन छैन ?” बोरिसले भन्‌ उत्सुक हुँदै सोध्यो ।

“त्यस्तो चाकरी कसले गर्छ ?”

असहमतिमा टाउको हल्लाउँदै बोरिसले भन्यो, “म देख्दै छु तिमी अझै उही स्वप्तजीवी नै रहेछौँ ।”

“अनि तिमीचाहिँ उही कूटनीतिक ! तर वास्तविक कुरा त्यो हैन । भैगो छोडदेऊ । तिमीलाई: कस्तो छ ?” रोस्तोभले भन्यो ।
“कस्तो ? देखिराखेकै छौ नि । सबै कुरा ठीकठाक नै छ । तर म स्वीकार गर्छु मलाई मोर्चामा जानुभन्दा कार्यालयको कारिन्दा हुनै जाती लाग्छ ।”

“किन ?”

किनभने, जब कुनै मान्छे सैनिक सेवामा प्रवेश गर्छ, उसले आफ्नो जागिरे जीवन हुनेसम्म सफल पार्ने प्रयास गर्नै पर्छ ।

“ओह्रो ! कुरा त त्यही हो नि !” उसले भन्यो र अरू केही कुरा सोच्दै उसले स्पष्टत: कुनै प्रश्नको उत्तर खोजेर साथीका आँखामा आँखा गाड्यो तर उसको प्रयास सफल भएन
ग्याब्रियल बुढाले रक्सी ल्याइपुर्याएको थियो ।

“अब त वेर्गलाई पनि बोलाउनु पर्दैन ? म त पिउँदिनँ । ऊ भए तिमीहरू दुई जना हुन्छौ,” बोरिसले प्रस्ताव राख्यो ।

“अँ, उसलाई पनि बोलाउन पठाऊ न त …… अनि ,” अलिक तिरष्कारको भावमा मुस्कुराउँदै उसले भन्यो, “तिम्रो यो जर्मनेलीसँग कत्तिको कुरा मिल्छ, हँ ?”

“ऊ एउटा ज्यादै असल र साह्रै रमाइलो खाले मान्छे छ,” बोरिसले भन्यो । फेरि पनि रोस्तोभले अर्थपूर्ण ढङ्गले बोरिसका आँखामा हेर्यो र लामो श्वास फेर्यो । त्यसपछि, बोतल खोलेपछि तीन सैनिक अधिकारीका बीचमा कुराकानी बडो जीवन्त भएर अगि बढ्यो । गार्डसेनाका अफिसरले आफ्नो यात्राबारे बताए । रसिया, पोलैण्ड र विदेशका अरू जुन जुन ठाउँमा उनीहरू पुगे, त्यहाँ त्यहाँ उनीहरूको कस्तो सानदार प्रभाव पर्यो, कस्तो भव्य स्वागत भयो, त्यस बारेमा बताए र आफ्ना सेनापति ग्रान्ड ड्युकको भनाइ र गराइको बखान गरे, उसको दयालुपनको वर्णन गरे र उसको एकदमै छिटो रिसाउने स्वभावको पनि चर्चा गरे । त्यसो त बेर्ग सामान्यतः चुपै लाग्थ्यो तर, जब आफ्नो रेजिमेन्टसँग सम्बन्धित कुरा आउँथ्यो, ऊ बडो जोससँग कुरा गर्थ्यो । उसले ड्युकको छिटो रिसाउने बानीबारे ग्यालेसियामा रेजिमेन्टको निरीक्षणका क्रममा त्यसको गतिविधि बेठीक भएको पाउँदा उनी कस्तो जङ्गिएका थिए र त्यो स्थितिलाई उसले कसरी मिलाएको थियो भन्ने कुरा रमाइलो ढङ्गमा प्रस्तुत गर्यो । मिठो मुस्कानसहित उसले बतायो- त्यस दिन रिसले मुमुर्रिएर ड्युक कसरी सोझै (घोडामा) ऊ भएका ठाउँमा “आर्नेटस्‌’ (जार कुमार जब रिसले आगो हुन्थे तब उनको रिस उगल्ने शब्द यही आर्नेद्स्‌ हुन्थ्यो) भन्दै आएका थिए र कम्पनी कमाण्डरलाई तुरुन्तै हाजिर गराउने आदेश दिएका थिए ।

“तपाईं विश्वास गर्नुहुन्छ काउन्ट, त्यस स्थितिमा म कत्ति पनि डराएको थिइनँ किनकि मैले गल्ती गरेको” थिइनँ । हेर्नोस्‌, घमण्ड गरेको होइन, सैनिक आदेश मलाई कण्ठै आउँछ र सैनिक नियम-कानुन पनि कण्डै आउँछ, जसरी भगवानको प्रार्थना कण्ठ हुन्छ । त्यसैले काउन्ट, मेरो कम्पनीमा कुनै लापरवाही हुँदैन र मेरो भावना पनि एकदमै सहज रहेको हुन्छ ।” कुरा, सुनाउँदा-सुनाउँदै वर्ग जुरुक्कै उठेर उसले कसरी ड्युकको सामना गर्यो भन्ने दृश्य प्रदर्शन गर्यो । शिरमा हात राखेर सलामको मुद्रामा उभिएर उनीप्रतिको श्रद्धा र सन्तुष्टि त्यति जीवन्त पाराले प्रकट गर्यो, जो अरू कसैले गर्न सक्तैनथ्यो । ड्युक ममाथि खनिए, खूब खनिए तर म सकुशल बचेर आएँ । यो जिन्दगीको मात्र होइन मृत्युको पनि प्रश्न थियो । ड्युकको मुखमा झुन्डिएको एउटा उखान छ- “अल्बानियाली राक्षसहरूलाई ! साइबेरिया पठाइदेऊ !” बेर्ग बडो गर्वसँग मुस्कुरायो र भन्दै गयो, “मलाई थाहा थियो म ठीक थिएँ । त्यसैले म मौन रहेँ ।

त्यहाँभन्दा उत्तम अरू के हुनसक्थ्यो र होइन त काउन्ट …..? के तँ लाटो छस्‌ ?’ भन्दै उहाँ कुर्लिनु भयो तैपनि म मौन रहेँ । तिमी के सोच्दै छौ काउन्ट, भोलिपल्ट के भयो होला ? केही भएन । भोलिपल्टको दैनिक उर्दीमा यसबारे एक शब्दसम्म उल्लेख भएन । यही त हो आफ्नो बुद्धि आफ्नै मुठ्ठीमा राख्नु’ भनेको । र वास्तविक तरिका पनि त्यही हो, होइन त काउन्ट ?” बेर्गले सुल्फी सल्काएर धूवाँको चक्का-चक्का फाल्दै कुरा टुङ्ग्यायो ।

“गजब भएछ, गजब !” रोस्तोभले हाँस्दै सहमति जनायो । तर बोरिसलाई थाहा भइसकेको थियो कि ऊ उसले गरेको वर्णतको खिल्ली उडाउन लागिरहेको छ । त्यसैले उसले चलाखीपूर्वक कुराकानीको विषय नै बदलिदियो । उसले उसलाई ऊ कसरी, कहाँ घाइते भयो भन्ने बताउन आग्रह गर्यो । रोस्तोभलाई यो प्रस्तावले खुसी तुल्यायो । त्यसैले ऊ यसबारेमा कुरा गर्न थाल्यो र जति कुरा गर्दै गयो उति जीवन्त हुँदै गयो । उसले सेन ग्राबेनको घटना बतायो । उसले ठीक त्यसै गरी बतायो, जसरी कुनै युद्धमा सहभागी हुनेहरूले सामान्यत: बताउने गर्छन्‌ । अर्थात्‌ उनीहरूले यस्तो होस्‌ भन्ने चाहन्छन्‌, जस्तो अरूको मुखबाट सुन्न चाहन्छन्‌ र राम्रो सुन्न चाहन्छन्‌ तर सबै कुरा त्यस्तो हुँदैन, जो वास्तवमा साँचो हुन्छ । तर रोस्तोभ एउटा सत्यवादी युवक थियो । त्यसैले उसले जानीजानी झूटो बोल्नु पर्ने कुनै कारण थिएन । त्यसैले उसले सबथोक जस्ताको तस्तै बताउने मनसायले आफ्नो कुरा सुरु गर्यो । कुराको क्रममा उसले पनि थाहै नपाई केही ससाना गल्ती गर्यो । गल्ती नगरौँ भन्दाभन्दै र कहीँ त आवश्यकता कै कारणले पनि उसले गल्ती गर्यो, जस्तो कि उसलेजस्तै उनीहरूले पनि यस्ता लडाइँमा के हुन्छ भन्ने सुनेका हुन्छन्‌ र त्यसबारे आफ्नै मनले आ-आफ्नो धारणा बनाएकै हुन्छन्‌ । त्यसैले त्यस्तै सुन्ने अपेक्षा पनि गरेका हुन्छन्‌ र यदि उसले आफ्ना स्रोतालाई, जो भएको यथार्थ बताएको भए या त उसका कुरामा पत्यारै गर्ने थिएनन्‌ वा अझ नराम्रो हुन्थ्यो, त्यो के भने- त्यस घटनाका निमित्त रोस्तोभ नै दोषी ठहरिन्थ्यो । उनीहरूले यस्तो ठान्ने थिए कि कथा सुनाउनेलाई प्रायः यस्तै ठान्ने गरिन्छ किनभने घोडचढी फौजको आक्रमणमा के-कस्तो स्थिति र घटना हुन सक्छ र उसलाई वास्तवमा कस्तो भयो होला भन्ने उनीहरूलाई अनुभवै हुँदैन । सबै जना खुरुखुरु घोडामा गए र ऊ घोडाबाट लड्यो । उसको पाखुरा मर्कियो तर पनि एक जना फ्रान्सेलीबाट बच्न ऊ जङ्गलतिर कुद्यो ।

त्यसबाहेक यथार्थमा भएको कुरा सबै भन्नु इच्छाशक्तिको कुरा हुन्छ, जसका ‘लागि ठूलो प्रयास आवश्यक हुन्छ किनकि सत्य प्रकट गर्नु अत्यन्त गाह्रो काम हो । अझ युवा वर्गका लागि त यो कमै मात्र सम्भव हुन्छ । उसका श्रोताहरू सुन्न चाहन्थे । उसका वरिपरि मान्छे कसरी जोस्सिएका थिए र तिनीहरूका बीचमा कसरी ऊ आँधिजस्तै
तरबारले मान्छे छप्काउँदै पस्यो र उसको तरबारले मासुको स्वाद कसरी चाख्यो थकित भएर कसरी घोडाबाट झर्यो, इत्यादि । यसरी उसले सबै कथा बीचमा जब ऊ भन्दै थियो, “आक्रमणका बेला कसरी एक प्रकारको भूत खनिएजस्तै एकोहोरो भइन्छ, तिमीहरू त्यसको कलपनासम्म गर्न सक्तैनौ” राजकुमार आन्द्रेइ कोठामा प्रवेश गर्यो । ऊ आइपुग्ला भनेर बोरिसले त सोचेकै थिएन । त्यसै पनि आन्द्रेइ युवाहरूलाई सहयोग गर्न पाए खुसी मान्थ्यो । ऊसँग कसैले सहयोग माग्दा निकै फुर्किन्थ्यो पनि । त्यसबाहेक ऊ बोरिसप्रति अझ उदार भएको थियो किनकि अगिल्लो दिन उसले उसलाई निकै खुसी पार्ने काम गरेको थियो त्यसले गर्दा ऊ त्यस तन्नेरीले चाहेको कुरा गरिदिनै चाहन्थ्यो । कृतुजोभबाट राजकुमार जारेभिचका कामका निम्ति केही कागजपत्र पनि साथैमा भएका कारण ऊ बोरिसलाई एक्लै भेट्ने अपेक्षामा थियो । तर जव एउटा हुस्सार रिसल्ला लडाइँमा आफूले गरेको बहादुरीको बखान गर्दै गरेको पाएर ऊ खिसिक्क पर्यो (राजकुमार आन्द्रेइ त्यस्ता मान्छे देखी-सहँदैनथियो) र, बोरिसतर्फ मुसुक्क हाँसेर खुम्चिएको निधारसहित रोस्तोभलाई अर्धमुद्रित नजरले हेर्दै मन नपरी-नपरी अभिवादनमा अलिकति झुकेर, जीउ छोडेर सोफामा बस्यो । उसलाई गलत समयमा, गलत मान्छे भएको बेला आइपुगेकोमा मीठो लागेन । रोस्तोभ पनि यो थाहा पाएर रातोपिरो भयो, तर उसले उसलाई सामान्य आगन्तुकका रूपमा लिएको हुँदा खासै वास्ता गरेन । जे होस्‌, बोरिसतर्फ हेर्दा ऊ पनि मोर्चामा खटिएको उक्त हुस्सारलाई देखेर अप्ठ्यारो मानिरहेजस्तो लाग्यो ।

त्यसैले राजकुमार आन्द्रेइको अस्वीकार्य र ब्यङ्ग्यात्मक ध्वनिका अतिरिक्त तथा आफ्नौ मोर्चाको लडाकु दृष्टिका कारण रोस्तोभले अलिक हेय दृष्टिले हेरे तापनि त्यस आगन्तुकलाई उसले यी सबै गार्डसेनाका कारिन्दामध्येकै एउटा सेनाबाहेक केही ठानेन तैपनि अलिक अलमल पर्दै र अलिक लाज मानेजस्तो गर्दै ऊ चुप लाग्यो । बोरिसले स्टाफको खबर जे छ, कुनै अप्ठ्यारो नमानी जस्ताको तस्तै बताउन राजकुमार आन्द्रेइलाई अनुरोध गर्यो ।

बोल्कोन्स्कीले भन्यो, “सम्भवत: अब हाम्रो यात्रा पुनः आरम्भ हुन्छ ।” तर एउटा मोर्चामा खटिएको नौलो सिपाहीका सामु त्यसभन्दा बढी भन्न उसलाई हिचकिचाहट
लाग्यो ।

यसै बेला अवसर छोप्दै बेर्गले निकै चिप्ल्याइसँग घोडाको दानासम्बन्धी कम्पनी-कप्तानहरूलाई दिइने भत्ता, हल्ला चलेजस्तै दुई गुणा पारिने कुरा हो कि होइन भनेरफ सोध्यो । तर राजकुमार आन्द्रेइले मुसुक्क मुस्कुराएर यस्तो महत्त्वपूर्ण सरकारी आदेशबारे आफूले कुनै राय दिन नसक्ने बताएपछि बेर्ग पनि मज्जाले हाँस्यो ।

“जहाँसम्म तिम्रो कामको कुरा छ, हामी यस बारेमा पछि कुरा गरौँला । (उसले यस्सो दृष्टि घुमाएर रोस्तोभलाई हेर्यो) परेड निरीक्षणपछि मकहाँ आऊ । सकेको सहयोग
गरौँला” राजकुमार आइन्द्रेइले बोरिसलाई भन्यो ।
त्यसपछि कोठावरिपरि आँखा लगाउँदै अन्त्यमा आन्द्रेइले रोस्तोभलाई हेर्यो, जसको सुरूको अविजेय, केटौले ढिटपना त्रमश रिसमा बद्लिदै थियो तर उसले त्यसलार्इ थाहा पाएजस्तो गर्नु आफ्नो हैसियतको विपरीत भएको दैशाउँदै भन्यो, “मेरो विचारमा तिमी सेन ग्राबेन घटनाका बारेमा कुरा गर्दै थियौ क्यारे ? के तिमी पनि त्यहाँ थियौ ?”

“हो, म त्यहाँ थिएँ !” यस पार्श्ववर्तीलाई अपमान गर्ने मनसायले रोस्तोभले रिसाएर भन्यो ।

बोल्कोन्स्कीलाई त्यस रिसल्लाको स्वभाव थाहा भयो र त्यसले उसलाई रमाइलो अनुभव गरायो । त्यसैले अलिक तिरस्कारको मुस्कानसहित उसले थप्यो, “अँ आजभोलि त्यस घटनाका बारेमा धेरै प्रकारका बखान चल्ने गरेको सुनिन्छ ।”

“ए, कस्तो बखान ।!” रिसले रन्किएका आँखाले घरी बोरिसलाई घरी बोल्कोन्स्कीलाई हेर्दै निकै ठूलो स्वरमा रोस्तोभ कूर्लियो । “अँ थुप्रै बखान !” तर हाम्रा यी कथा भनेका त्यस्ता मान्छेका कथा हुन्छन्‌, जो साँच्चै दुस्मनका अगिनज्वालाभित्र परेका हुन्छन्‌ । त्यसैले हाम्रा कथाको वजन हुन्छ ती मान्छेहरूको जस्तो होइन, जो कार्यालयमा ढलिमली गरेरै समय बिताउँछन्‌ र केही कामै नगरी इनाम मात्रै कुम्ल्याइरहन्छन्‌ !”

“जसमध्ये, तिम्रो विचारमा, म एक हुँ ?” राजकुमार आन्द्रेइले शान्तपूर्वक तर मित्रवत्‌ मुस्कानसहित भन्यो ।

रोस्तोभको आत्माभित्र, अचानक एउटा थामी नसक्नु रिस र त्यसै बेला त्यस मान्छेको गहन आत्मसंयमप्रति ठूलो आदर पनि मिसिएको अनौठो भाव उत्पन्न भयो ।

“मैले तिम्रो विषयमा कुरा गरेको होइन,” उसले उस्तै स्वरमा भन्यो । “म तिमीलाई चिन्दिनँ र साँच्चै भनौँ भने चिन्न पनि चाहन्नँ । म त आम कारिन्दाहरूको
कुरा गरिरहेको छु ।”

“अनि तिमीलाई यो कुरा पनि बताइदिउँ,” बोल्कोन्स्कीले पूर्ण अधिकारपूर्वक शान्त स्वरमै उसको कुरा काट्दै भन्यो, “तिमी मलाई अपमानित गर्न चाहन्छौ र तिमीसँग म यस अर्थमा सहमत छु, यदि मानिसमा पर्याप्त आत्मसम्मान छैन भने यसो गर्न सहजै हुनेछ, तर तिमी यो कुरा मान, यसका लागि समय र स्थानको छनोट भने एकदमै खराब भयो । एक-दुई दिनभित्रैमा हामी एउटा झन्‌ ठूलो र झन्‌ गम्भीर द्वन्द्वमा सहभागी हुँदै छौँ । त्यसबाहेक द्रुबेत्स्कोइ, जो भन्छन्‌ तिमी उसको पुरानो साथी हौ, को उपस्थितिले तिमीलाई बेखुसी हुने अवस्था ल्याएकोमा उसलाई पनि दोष दिनु छैन र तिमीलाई असन्तुष्ट तुल्याउनु पनि छैन ।” उसले आसनबाट उठ्तै थप्यो, “तिमीलाई मेरो नाम र म बस्ने स्थान पनि थाहा हुने नै छ, तर मेरो र तिम्रो पनि अपमान भएको छ भन्ने नठान । बरु तिमीभन्दा पाको मान्छे भएको नाताले यो विषयलाई यहीँ समाप्त गर्ने मेरो सुझाव छ । लौ त, शुक्रबार निरीक्षणपछि, द्रुबेत्स्कोइ, म तिम्रो प्रतीक्षामा हुनेछु । आजलाई बिदा !” यस उद्गारका साथ राजकुमार आन्द्रेइ झुकेर दुवैलाई अभिवादन गर्दै प्रस्थान गर्यो ।

राजकुमार आन्द्रेइ हिँडेपछि रोस्तोभलाई त्यस बेला मुखभरि के जवाफ दिनु सोच आयो । यसले मौकामा दिनु पर्ने जवाफ नदिएर उम्काएकोमा उसको रिस अझ बढ्यो । ृसले तत्काल आफ्नो घोडा ल्याउने आदेश दियो र त्यस्तै अखिएको मुडमै बोलाएर बोरिससँग पनि बिदा भएर हिँडिहाल्यो । बाटोभरि उसलाई द्वन्द्रले पिरोलिरह्यो- भोलि नै हेडक्वार्टर गएर त्यस पुल्पुलिएको अङ्गरक्षकलाई चुनौती दिन ठीक होला अथवा उसले भनेजस्तै त्यो कुरा त्यहीँ समाप्त भएकैमा सन्तोष लिँदा राम्रो होला ? त्यस पातलो तर घमण्डी मान्छेलाई आफ्नो पेस्तोल सोझ्याउँदा उसको अनुहारमा देखिने आतङ्कबाट पाइने मजा मनमनमै कल्पना गरेर ऊ आनन्दित भयो । तर त्यसै बेला उसलाई त्यहाँ भएका सबै जनामध्ये उसले त्यस्तो साह्रो घृणा गरेको त्यो कारिन्दा जत्तिको दोस्ती गर्नलायक गतिलो मान्छे अरू कोही नभएको कुरा झट्ट महसुस हुँदा ठूलो आश्चर्यको पनि अनुभव भयो ।