एन्टोन चेखव
अनुवादः बलराम अधिकारी

आकाशमा घना कालो बादलको एक थुप्रो सूर्यतिर घिस्रिरहेको छ । बेलाबेलामा रातो नागबेली बिजुली आकाशको वारपार चम्किन्छ । तत्क्षण निकै पर मेघ गर्जेको सुनिन्छ । तातो बतास धुलो उडाउँदै, घाँसमाथि नाच्दै र रुखबिरुवालाई लछार्दै बत्तिरहेछ । एकाध मिनेटमा चैते वर्षाको पहिलो झर पर्नेछ । त्यसपछि वास्तविक हुरी सुरु हुनेछ ।

छ वर्षकी माग्ने केटी फियोक्ला खाली खुट्टा गाउँमा दौडिरहेकी छे टेरेन्टी मोचीलाई खोज्दै । सेतो कपालकी त्यो बालिकाको अनुहार पहेँलो देखिन्छ । उसका ओठ काँपिरहेका छन् । विस्मित आँखाले यताउता नियाल्दै ऊ हतासमा कुदिरहेकी छे ।
”काका ! टेरेन्टी कहाँ छन् ?” बाटामा भेटिएका जो कोहीलाई पनि ऊ टेरिन्टीका बारेमा सोध्दै दौडन्छे । कसैबाट पनि उसले जवाफ पाउँदिन । हुरी आउने डरले सबै गाउँले आआफना झुपडीमा आस्रय लिएका छन् । अन्त्यमा उसले गिर्जाघरको भन्डारे सिलान्टीलाई भेट्छे । टेरेन्टीको आत्मीय साथी त्यो भन्डारे बतासमा धर्मराउँदै आइरहेको छ ।

“काका, टेरन्टी खै ?”

“करेसाबारीमा,” सिलान्टीले जवाफ दिन्छ ।

त्यो माग्ने केटी झुपडीको पछाडिबाट करेसाबारीतिर हानिन्छे । उसले त्यहाँ टेरेन्टीलाई देख्छे— आइमाईको झुत्रो ज्याकेट लगाएको खतैखतले भरिएको दुब्लो अनुहारको एउटा लामघारे बुढो बारीमा खाली खुट्टा उभिइरहेको छ । रक्सिले मातेर लोलाएका उसका आँखा परको कालो बादलमा अडिएका छन् । उसका खुट्टा सारसका जस्ता छन् । बतासमा ऊ स्टार्लिङ चरोझैँ धर्मराउँदै उभिएको छ ।

बलराम अधिकारी

“टेरेन्टी काका !” सेतो कपालकी माग्ने केटी उसलाई बोलाउँछे । “काका, मेरो प्यारो काका !”

टेरेन्टी फियोक्लातिर निहुरिन्छ । रक्सिले मातेको उसको डरलाग्दो अनुहारमा मुस्कुराहट फैलिन्छ । यस्तो मुस्कुराहट जुन कुनै अबुझ र हास्यास्पद प्रिय व्यक्तिलाई देख्दा जो कोहीको अनुहारमा झल्किने गर्दछ ।

“ओहो, प्रभूकी दासी, फियोक्ला,” ऊ मायालु पाराले तोत्लाउँदै सोध्छ, “कहाँबाट आइस तँ यहाँ?”

मोचीको ज्याकेटको कलरको छेऊ समाएर सुक्क सुक्क गर्दै भन्छे, “काका टेरेन्टी, दानिल्का दाइ दुर्घटनामा परे । आउनुस् न मसँग ।”

“कस्तो दुर्घटना ? ऊ, कस्तो गर्जेको ! प्रभू, प्रभू…। कस्तो दुर्घटना रे?”

रुखको टोड्कामा दानिल्काको हात अड्क्या छ । जति गरेपनि निकाल्न सकेनन् । काका, आउनुस् न । उनको हात निकालिदिनुस् ।”

“कहाँको रुखमा ?”

“जमिनदारको वनमा”

“कसरी अड्कियो? के खोज्न घुसारेको त ?”

“मलाई जुरेली चरीको फूल झिकिदिन टोड्कामा हात घुसारेको त ।”

“दिन सुरु भा’छैन तिमेरुको समस्या सुरु भइसक्यो ।” टेरेन्टीले टाउको हल्लायो, भुइँमा पिच्च थुक्यो । “ठिक छ, म के गरुँ त अब ? हिँड्, जाउँ । ब्वाँसोले पो खाइसक्यो कि ? उदण्ड केटाकेटी ! आइज ओई, फुच्ची टुहुरी !”

आफ्ना टिङ्रिङ खुट्टा उचाल्दै टेरेन्टी करेसाबारीबाट बाहिरिन्छ र गाउँको गल्ली हुँदै ओरालो लाग्छ । कतै नरोकिइ, दायाँ बायाँ कतै नहेरी ऊ छिटोछिटो लम्किरहन्छ । मानौँ उसलाई कसैले पछाडिबाट ठेलिरहेको छ या भनौँ कसैले उसको पिछा गरिरहेको छ । उसलाई भेट्टाउन त्यो सानी केटीलाई धौधौ परिरहेको छ ।

ती दुईजना गाउँबाट बाहिरिन्छन् र जमिनदारको वनतिर जाने धुलौटे बाटोतिर मोडिन्छन् । त्यहाँबाट झन्डै डेढ माइल परको वन गाढा निलो देखिन्छ । बादलले सूर्यलाई पूरै ढाकेको छ । एकैछिनमा आकाश कालो हुन्छ, आकाशमा कहीँ कतै कुनै निलो छनक देखिँदैन ।

“ प्रभू, प्रभू…” फियोक्ला अत्तालिँदै टेरेन्टीको पछिपछि दौडिन्छे । आकाशबाट झरेका पानीका ठूल्ठुला थोपाले धुलेबाटोमा आफ्नो आकार बनाउन थाल्छ । एउटा ठूलो थोपा फियोक्लाको गालामा पर्छ र आँसुझैँ चिउँडोबाट तल झर्छ ।

“लौ, पानी पर्न थाल्यो,” खाली खुट्टाले धुलोमा हान्दै मोची भुतभुताउँछ । “ठिकै छ, फियोक्ला । घाँस, बोटविरुवा सबै वर्षाको पानीले बाँच्छन् । हामी रोटीले बाँचे जस्तै । हेर् टुहुरी, यो गडाङ्गुडुङ्सँग डराउनु पर्दैन । यसले तँ जस्ती विचरीलाई किन मारोस् ?”

पानी पर्न थालेपछि बतास रोकिन्छ । केवल पानी परेको एकोहोरो प्याटप्याट आवाज मात्र सुनिन्छ— जौ घाँसमा या सुख्खा बाटोमा मसिना छर्रा हानेझैँ ।

“हामी भिज्ने भयौँ, फियोल्का,” टेरेन्टी फेरि भुतभुताउँछ । “निथु्रक्कै हुने भैयो । ओहो, नानी ! हेर त, पानी त घाँटी हुँदै पूरै जिउभरि पस्यो । तर डराउनु पर्दैन । घाँस फेरि ओभानो हुन्छ । जमिन फेरि ओभानो हुन्छ । हामी सबै फेरि ओभानो हुन्छौँ । हामी सबैका लागि उही एउटै सूर्य त लाग्छ ।”

झन्डै चौध फिट लामो बिजुलीको धर्सो उनीहरू दुईको टाउको माथि चम्किन्छ । ठूलो आवाजमा मेघ गर्जिन्छ । फियोक्लालाई कतैबाट गुड्दै आएको कुनै बडेमानको गह्रौँ वस्तुले आफूमाथिको आकाशलाई चिरेझैँ लाग्छ ।

“प्रभू, प्रभू, प्रभू… ” टेरान्टी ईश्वरको नाम लिँदै आफ्ना दुवै हातले हावामा व्रmस चिह्न बनाउँछ । “नडरा, फुच्ची ! रिसले गर्जिएको होइन यो ।”

टेरेन्टी र फियोल्का दुवैका खुट्टामा बाक्लो हिलो लतपतिएको छ । बाटो चिप्लो भएकाले हिँड्न गाह्रो भएको छ । तर पनि टेरेन्टीको रफ्तारमा कमी आउँदैन । त्यो सानी कमजोर केटी भने स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै उसको पछाडि कुद्दै छे । थकानले ऊ ढल्ली जस्ती छे ।

अन्ततः उनीहरु जमिनदारको वनभित्र छिर्छन् । हावाको झोक्काले हल्लिँदा सिनित्त पखालिएका रुखका हाँगाबाट झरेको वर्षाको कन्चन पानी उनीहरुको जीउमा पर्दछ । टेरेन्टीलाई रुखको ठुटोमा ठेस लाग्छ । अब भने उसको रफ्तारमा कमी आउँछ ।

“कहाँ छ दानिल्का ? खै मलाई देखा त, नानी ।”

फियोक्ला उसलाई झाडीतिर देखाउँदै लैजान्छे । पौने माइल जति हिँडेपछि उसले आफ्नो दाईलाई देख्छे । गेरु रङको कपाल र रोगले पहेँलिएको त्यो केटो रुखको आड लागेर उभिरहेको छ । एउटा हातले झुत्रो टोपी समाएको छ भने उसको अर्को हात ज्यामिरको रुखको टोड्कामा अड्किएको छ । आठ वर्षको त्यो केटो हुरी मडारिरहेको आकाशलाई एकतमासले हेरिरहेको छ । यस्तो लाग्छ उसलाई आफ्नो अवस्थाका बारेमा कुनै चिन्ता छैन । पदचाप सुनेपछि ऊ यताउति आँखा दौडाउँछ । मोचीलाई देख्छ, रोगी हाँसो फिस्स हाँस्छ ।

“कस्तो डरलाग्दो गड्याङगुडुङ्, टेरेन्टी…। यस्तो गड्याङगुडुङ त मैले जिन्दगीमा पहिलो चोटि सुनेको ।”

“तेरो हात खै ?”

“प्वालमा…। तान्दिनुस् न ! ”

टोड्काको छेउको भाग भाँचिएको थियो । भाँचिएको टुक्रोले गर्दा केटोको हात अड्किएको थियो । अड्केको हात ऊ भित्र धकल्न सक्थ्यो तर बाहिर निकाल्न भने सक्थेन । टेरेन्टीले त्यो टुक्रोलाई पट्याक्क भाँचिदिन्छ । त्यसछि उसको पिल्सिएको राताम्मे हात बाहिर निस्कन्छ ।

“कस्तो डरलाग्दो गरी गर्जिएको” आफ्नो पिल्सिएको हात मुसार्दै केटोले फेरि दोहो-याउँछ । “केले गर्दा यस्तो गड्याङगुडुङ हुन्छ?” उसले जिज्ञासा राख्छ ।

“एउटा बादल अर्कोमा ठोकिएपछि” मोचीको जवाफ । तीनै जना वनबाट बाहिरिन्छन् । वनको छेउछेउ हुँदै अगाडिको अँधेरो बाटोतिर लाग्छन् । आकाशको गड्याङगुडुङ विस्तारै थामिन्छ । गाउँपारि निकै परको आकाशमा मेघ गर्जेको सुनिन्छ ।

“अस्ति हाँसहरु यहीँ ठाउँ हुँदै उडेर गएका थिए” हात मिच्दै दानिल्का बोल्छ । “ती अहिले पर जैमिस्छाको धापमा गुँढ बनाउँदै होलान् । ओइ फियोक्ला, तँलाई जुरेली चरीको गुँढ देखाइदिऊँ ?”

“गुँढ नचला । चरा बिथोलिन्छ”, टेरेन्टीले आफ्नो टोपी निचोर्दै भन्छ । जुरेली गाइने–चरी हो । कुनै पाप नभएको । ईश्वरको स्तुति गर्न र मान्छेको मन खुसी पार्न यसले सुन्दर स्वर पाएको छ । यसलाई बिथोल्यो भने पाप लाग्छ ।”

“अनि भँगेरा नि?”

“भँगेरा ? केही फरक पर्दैन । यो खराव र ईस्र्यालु चरा हो । पाकेटमार जस्तै हुन्छ यो । यसले मान्छे खुसी भा’को देख्न सक्दैन । क्राइस्टलाई सुलीमा चढाउँदा, यहुदीहरुलाई किला ल्याएर दिने यही हो ।”

आकाशमा एउटा सानो गाढा निलो भाग देखिन्छ ।

“ल हेर !” टेरेन्टी नजिकैको कमिलाको घर देखाउँदै भन्छ “पानीले पुरै फुटाइदिएछ । भेलले बगाएछ । बेकुफहरु !”

तिनै जना निहुरिएर ढिस्को हेर्छन् । मुसलधारे पानीले गर्दा पूरै भत्किएको छ । अताल्लिएका कमिलाहरु यताउति कुदिरहेका छन्, कोही आफ्ना डुबेका साथीहरुलाई बोकेर सुरक्षित स्थानतिर लैजान व्यस्त छन् ।

“यसरी बोकेर यताउति कुद्नु पर्दैन । ति’मेरु मर्दैनौ !” टेरेन्टी ङिच्च हाँस्दै भन्छ । “घामको न्यानो पाएपछि ति’मेरु सबै होसमा आउँछौ । मुर्ख हो ति’मेरुलाई एउटा पाठ पनि भयो यो । अबदेखि होचो ठाउँमा घर बनाउनु हुन्न भन्ने कुरो बुझ्यौ होला नि ?”
त्यसपछि तीनै जना त्यहाँबाट अगाडि बढ्छन् ।

“ऊ त्यहाँ त मौरी र’छ” ओकको कलिलो हाँगातिर देखाउँदै दानिल्का चिच्याउँछ ।

निथ्रुक्कै भिजेका र कठाङ्ग्रिएका मौरीहरु एउटै हाँगामा गुजुल्टिएका छन् । यति छपक्कै छन् कि न त हाँगोको बोक्रा देखिन्छ न कुनै पात नै । अधिकांश त एकमाथि अर्को खप्टिएर बसेका छन् ।

“मौरीको हुल हो यो ।” टेरेन्टी बुझाउनतिर लाग्छ । “बासको खोजीमा हिँडेका । पानी परेकाले यहीँ नै बसे । मौरीको हुल उडेको देख्यौ भने पानी छम्किदिनु । त्यहीँ बस्छ । मौरीको यो हुललाई बोरामा हालेर लैजान पनि मिल्छ । बोराको मुखमा पर्ने गरी थाप्ने र मौरी बसेको हाँगा नुहाउने । त्यसपछि हाँगा विस्तारै हल्लाउने । सबै मौरी बोरामा पर्छ ।”

सानी फियोक्ला अकस्मात् निधार खुम्च्याउँछे र जोडले घ्रिचो मिच्न थाल्छे । दाइचैँ बहिनीको घिच्रोमा नियालेर हेर्छ । त्यहाँ एउटा ठूलो भाग सुन्निएको देख्छ ।

“हा, हा,” मोची हाँस्न थाल्छ । “फियोक्ला, थाहा छ, के भ’को यो ? यो बनका केही रुखमा स्पानिस झिँगा बस्छ । अघि पानी पर्दा त्यो झिँगा तेरो घिच्रोमा झरेछ । त्यसैले त्यस्तो चिलाएको ।”

घाम बादलबाट बाहिर निस्कन्छ । पानी परेपछिको न्यानो प्रकाश वनपाखा, खेत खलियानमा पोखिन्छ र यी तीन प्राणी न्यानो अनुभव गर्छन् । डरलाग्दो कालो बादल निकै पर पुगिसकेको छ हुरीलाई पनि आफ्नै साथमा लिएर । हावा न्यानो र आमोदयुक्त छ । पैयौँ, वनगुलाफ र लिली फूलको बास्नाले वातावरण सुभाषित छ ।

“ऊ त्यो झार छ नि । नाकबाट रगत बग्यो भने काम लाग्छ ।” ऊन जस्तो देखिने फूललाई देखाउँदै टेरेन्टी भन्छ । “यसले राम्रो गर्छ ।”

त्यसै बखत सिठ्ठीको लामो आवाज र गडगडाहट नजिकिँदै आएको सुनिन्छ तर यो अघिको मुसलधारे पानी पार्ने बादलको जस्तो गडगडाहट भने होइन । ती तीन जनाको आँखा अगाडिबाट एउटा मालबाहक रेल गडगडाउँदै जान्छ । स्वाँस्वाँ गर्दै कालो धुवाँ ओकल्दै पर गएको इन्जिनले बीसभन्दा बढी डिब्बा तानेको छ । न यो जीवित छ, न त यसलाई घोडाले नै तानेको छ । तैपनि यो कसरी चल्छ ! अनि कसरी त्यति धेरै भारी तान्न सक्छ ! यो देखेर ती दुई दाजु बहिनी उदेकमा पर्छन् । टेरेन्टी उनीहरुलाई बुझाउनतिर लाग्छ ।

“सुन, केटाकेटी । सबै काम वाफले गर्छ । कुरा के भने वाफले पाङ्ग्रा नजिकको चिजलाई धक्का दिन्छ, र अनि.. अनि त्यो चल्छ ।”

तिनीहरू रेलवे कटेर तल तटबन्धनतिर ओर्लिन्छन् र नदीतर्फ लाग्छन् । उनीहरुको यस हिँडाइको कुनै उद्देश्य छैन । आफ्ना मनमा लागेका कुरा गर्दै लहडमा हिँडिरहेछन् । दानिल्का प्रश्न सोधिरहन्छ, टेरेन्टी जवाफ दिइरहन्छ ।

टेरेन्टी सबै प्रश्नहरूको जवाफ दिन्छ । उसलाई उदेक पार्ने प्रकृतिको कुनै रहस्य छैन । सबै कुरा थाहा छ उसलाई । ऊ सबै प्रकारका ढुंगा, जंगली फूल, जनावरको नाम जान्दछ । कुन रोगका लागि कुन जडिबुटी प्रयोग गर्ने ऊ सहजै बताउन सक्छ । कुनै कठिनाइबिना नै ऊ घोडा, गाईको उमेर भन्न सक्छ । सूर्यास्त, चन्द्रमा, अथवा चराहरुलाई हेरेर अर्कोदिनको मौसमका बारेमा बताउन सक्छ । वास्तवमा यो गाउँमा यस्तो बुद्धिमानी मान्छे ऊ मात्रै भने होइन । भट्टीवाला, व्यवसायिक तरकारीवाला, भेँडागोठाला, अझ भनौँ गाउँले सबैलाई उसलाई जत्तिकै ज्ञान छ । यी मनुवाहरुले यो ज्ञान कितावबाट सिकेका होइनन् । यिनीहरुले जे जति जानेका छन् ती सबै खेतबारी, वनपाखा, नदीनालाबाट सिके । चराचुरुङ्गीका गीत सुनेर सिके । रुख विरुवा र जडिबुटीबाट जाने । उदाउँदो र अस्ताउँदो सूर्यकोे रक्तिम आभाबाट जीवनलाई बुझे ।

दानिल्का टेरेन्टीको अनुहारमा उत्सुकतापूर्वक हेर्छ र उसका प्रत्येक शब्द ध्यानपूर्वक सुन्छ । मनन गर्छ । स्वच्छ र सुभाषित वसन्तमा सुनौलो गाब्रेकिरा, सारस, नदीको कलकल र घोगा लाग्दै गरेको मकैका बारेमा सुन्ने इच्छा कस्लाई नहोला र ?
मोची र टुहुरो केटो खेतखेतै हिँड्छन्, कत्तिपनि दिक्क नमानी लगातार बोलिरहन्छन् । यी दुई संसार चहार्न सक्छन् ।

धर्तीको सुन्दरताको कुरा गर्दै हिँडिरहँदा कुत्रुक कुत्रुक गर्दै आफूहरुलाई पछ्याइरहेकी त्यो कमजोर सानी केटीका बारेमा भने उनीहरु बेखबर रहन्छन् । ऊ स्वाँस्वाँ गर्छे, सधै पछाडि छाडिन्छे । उसका आँखामा आँसु छ भने शरीरमा थकान । ऊ यी दुई कहिल्यै नथाक्ने फिरन्तेलाई छाड्न चाहन्छे, तर कसकोमा जाओस्, कहाँ जाओस् । उसको कुनै घर छैन, आफ्ना भन्ने कोही छैन । चाहेर नचाहेर ऊ उनीहरुसँगै हिँड्छे, उनीहरुको कुरा सुन्छे ।

मध्याह्न्नतिर यी तीन जना नदी किनारमा पुग्छन् र त्यहीँ बस्छन् । दानिल्काले झोलाबाट रोटीको एक टुक्रा निकाल्छ, त्यसलाई पानीमा भिजाएर लेदो बनाउँछ । त्यसलाई तिनै जनाले बाँडेर खान्छन् । रोटी खाएपछि टेरेन्टीले प्रार्थना गर्छ, अनि बनौटे किनारामा पसारिन्छ । एकैछिनमा निदाउँछ । ऊ सुतिरहँदा केटो भने पानीमा एक तमासले हेरिरहन्छ । घोत्लिरहन्छ । उसले धेरै कुराका बारेमा सोच्नु छ । केही समय अघिमात्रै उसले हुरी, माहुरी, कमिला र रेल देख्यो । अहिले उसको आँखा अगाडि माछाहरु यताउति चलमलाइरहेका छन् । केही दुई इन्च जति लामा छन् त केही उसको नङ जत्रा । एउटा भाइपर सर्प टाउको उठाएर नदीको एक छेउबाट अर्को छेउतिर गइरहेछ ।

साँझतिर मात्रै ती फिरन्ते गाउँ फर्किए । दाजु बहिनी रात विताउन एउटा परित्यक्त धनसारतिर लागे । कुनै बेला त्यस धनसारमा कम्यूनको मकै थन्क्याउने गरिन्थ्यो । ती केटाकेटी परालमा घुस्रिन्छन् । एकैछिनमा उङ्न थाल्छन् । मोची भने भट्टीतिर लाग्छ ।

केहीबेरमा केटोको तन्द्रा खुल्छ । अनि उसको मनमा कुरा खेल्न थाल्छ । ऊ अन्धकारलाई एक टक लाएर हेरिरहन्छ । त्यहाँ उसले दिनभर देखेका सबै चिजहरु चलमलाएझैँ लाग्छ— मुसलधारे पानी बोकेको बादल, घामको उज्यालो, चराचुरुङ्गी, माछा, लामघारे टेरेन्टी । आँखा अगाडि नाँचिरहेका अनेकाँै छायाहरु, अनि भोक र थकानले गर्दा ऊ लथ्रक्क गल्छ । उसको जीउ भुङ्ग्रोमा राखेझैँ तात्न थाल्छ । यता र उता कोल्टो फेरिरहन्छ । यस अन्धकारमा उसलाई सताउने र उसको आत्मालाई आकुल बनाउने सबै चिजहरु ऊ कसैलाई सुनाउन चाहन्छ । तर कसलाई ? फियोक्ला सानै छे, यस्ता कुरा बुझ्दिन ।

“भोलि टेरेन्टीलाई सुनाउँछु,” उसले मनमनै सोच्यो ।

बेघर मोचीलाई सम्झँदै केटो निदाउँछन् । मध्यरातमा टेरेन्टी उनीहरू सुतेको धन्सारमा आउँछ । दुवै हातले क्रसको चिह्न बनाउँछ र उनीहरूको सिरानीमा अलक्क रोटी राखिदिन्छ । ती केटाकेटीप्रतिको उसको प्रेम आकाशमा तैरिरहेको चन्द्रमा बाहेक कसैले पनि देख्दैन— त्यो चन्द्रमा जसले त्यस परित्यक्त धन्सारका प्वालहरुबाट ती फिरन्तेहरुलाई मायालु पाराले चिहाइरहेको छ ।