मूल लेखकहरूः
प्रथम लेख: क्रिस्टिना चोउ (३ फेब्रुअरी सन् २०१८)
द्वितीय लेख: विकी सिउचोङ, पाङ सिआओ (७ अप्रिल, सन् २०१८)
तृतीय लेख: क्रिस्टिना चोउ, पाङ सिआओ (२१ अप्रिल, सन् २०१८)

 

१. समाजवादी चीनको ‘साना राजा, सानी महारानी’का पुस्ता

तस्बिर १. क्रिस्टिना पूर्वी चीनको शांघाइमा जन्मिएकी थिइन् र एक्लो सन्तानको रूपमा हुर्किइन् ।

म सानोमा कसरी हुर्किएँ, सम्झन्छु; आमा म उनको ‘एउटैमात्र आशा’ भएको बारम्बार सम्झाउनुहुन्थ्यो ।

चीनको विवादास्पद एक सन्तान नीतिको कारणले भाइबहिनी नहुने सम्पूर्ण पुस्ताको एउटा ‘प्रतिनिधि’ अङ्गको एक्लो सन्तति भएकोले मैले भावनात्मक र आर्थिक दुवै रूपमा मेरा आमाबाबुको अविभाजित ध्यान र लगानी प्राप्त गरेको छु ।

कारखाना मजदुर मेरा बाबुआमाले अस्ट्रेलिया बसाइँ सर्ने र मेरो उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले परिवार र आफन्तहरूबाट नगद-रकम उधारो काढ्नुभयो ।

मजस्ता बच्चाहरूलाई बुझाउने एउटा पद हुन्छ ‘साना राजा, सानी महारानीहरू’ । जो पुलपुलिएका हुन्छन् । ‘मस्तै’ बिग्रिएका हुन्छन् । किनभने, उनीहरू परिवारका सर्वेसर्वा हुन् । दाजुभाइ, दिदीबहिनीसँग आमाबाबुको स्नेहको लागि कुनै प्रतिस्पर्धा गर्नुपर्दैन, कुनै महायुद्ध लड्नुपर्दैन । उनीहरूले आफ्नो आमाबाबुको अपेक्षाको भार पनि वहन गर्नुपर्छ ।

हुर्कंदै गर्दा, मैले शैक्षिक रूपमा उत्कृष्ट हुन र विश्वविद्यालयमा भर्ना हुनको लागि अत्यधिक दबाबको महसुस गरेको छु, जुन अवसर सांस्कृतिक क्रान्तिताका सामान्य विद्यालय शिक्षामा अवरोधका कारण मेरा आमाबाबुले कहिल्यै हासिल गर्न सक्नुभएको छैन ।

अब एक वयस्कको रूपमा, म मेरो ‘व्यावसायिक लक्ष्य’मा सफल हुन आवश्यक महसुस गर्छु, किनभने मलाई थाहा छ, बुढेसकालका आमाबाबुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी मेरो काँधमा नै आइलाग्ने हो ।

वयस्क बच्चाहरूले आफ्ना आमाबाबुको हेरचाह गर्नेछन् भन्ने अपेक्षा एसियाली संस्कृतिमा मात्र होइन, चीन र सिङ्गापुरको कानुनको अंश पनि हो ।

तस्बिर २. मेरी आमाको एउटैमात्र आशा ।

चीनको एक सन्तान नीतिलाई जनवरी सन् २०१६ मा दुई सन्तान नीतिले प्रतिस्थापन गरेको दुई वर्षपछि, आर्थिक दबाब र विवाहमा ढिलाइका कारण धेरै दम्पतीहरूले अझै पनि दोस्रो सन्तान जन्माउनेबारे दुई पटक सोचिरहेका हुन्छन् ।

चीनको परिवार नियोजन आयोगले गत वर्ष देशको जन्मदर तीन दशमलव पाँच प्रतिशतले घटेको खुलाउँछ ।

चाइना एसोसिएसन अफ सोशल सेक्युरिटीले गत वर्ष प्रकाशित गरेको तथ्यांकले सन् २०३५ को अन्त्यसम्ममा चीनको वृद्ध जनसंख्या चालीस करोड पुग्ने अनुमान गरेको छ ।

चीनको बुढ्यौली जनसंख्या सन् १९७९ मा सरकारले लागू गरेको एक सन्तान नीतिको एउटा नतिजा हो ।

सन् १९४९ मा कम्युनिष्ट पार्टी सत्तामा आएपछि, अध्यक्ष माओत्सेतुङले जनशक्ति बढाउन ठूला परिवारहरूलाई प्रोत्साहन दिँदा, जनसङ्ख्या विस्फोटलाई नियन्त्रण गर्ने उद्देश्यले यो नीति बनाइएको थियो ।

यो नीति अन्ततः सन् २०१६ को आरम्भमा खारेज गरिन्छ, जसले सबै दम्पतीहरूलाई दुई बच्चा जन्माउन अनुमति दिन्छ किनभने देशले बढ्दो बुढ्यौली जनसंख्या र संकुचित कार्यबलसँग सामना गर्ने प्रयत्न गरिरहेको छ ।

सिड्नी विश्वविद्यालयको समाजशास्त्र र सामाजिक नीतिका सहायक प्राध्यापक साल्भाटोर बेबोन्स एक सन्तति नीतिले प्रजनन दर – जुन सांस्कृतिक क्रान्तिको समयमा पहिले नै घट्दै गइरहेको थियो – अझ द्रुत रूपमा घटेको सूचना प्रवाह गर्छन् ।

मेरा जस्तै केही अभिभावकहरूले पश्चिमी देशहरूमा बसाइँ सर्ने निर्णय गर्छन् किनभने उनीहरू आफ्ना छोराछोरीलाई चीनको ‘प्रेशर कुकर शिक्षा प्रणाली’को अधीनमा राख्न चाहँदैनन् ।

तर सन् १९९६ मा हामी सिड्नीमा बसाइँ सरेपछि मेरा आमाबुवाको निरन्तर दबाब थेगेको छु । मैले कति हो कति घन्टा ट्युसन झेल्नुपरेको छ, र हाईस्कूलमा दिनहुँ कम्तीमा एक घण्टा पियानो अभ्यास गर्नुपर्ने दबाब खेप्नुपरेको छ ।

तस्बिर ३. ‘एक देश एक सन्तति’ नीति खारेज गरेपछि पनि चीनको प्रजनन दरमा उति प्रगति देखापरेको छैन ।

अष्ट्रेलिया बसाइँ आएपछि मेरो आमाबुवाले दोस्रो सन्तान जन्माउन सक्नुहुने भए तापनि, मेरी आमाले भाइबहिनी भएको भए मलाई ती अवसरहरू दिन सक्नुहुने थिएन भनेर कुरा राख्नुहुन्छ, लख काट्नुहुन्छ ।

तस्बिर ४. क्रिस्टिना चोउ एबीसीको एशिया प्यासिफिक न्यूजरूममा अनलाइन प्रोड्युसरको रूपमा दायित्व निर्वाह गर्छिन् ।

चीनको एक सन्तान नीतिले ‘चार हजुरबा हजुरआमा, दुई आमाबुवा र एक बच्चा’ उत्पादन गरेको छ ।

एउटा-बच्चा नीतिले चीनको आर्थिक वृद्धिको समयमा सिर्जना गरेको वा आमाबाबुद्वारा सञ्चित सम्पत्तिको दोब्बर प्रभाव पनि सिर्जना गरेको, जुन अन्ततः तिनीहरूको एकमात्र सन्तानले उत्तराधिकारमा पाउँछ ।

जुन विशेषगरी आमा र बाबु स्वयं मात्र छोराछोरी भएको परिवारहरूका सन्तानले आफ्नो जस्तै आमाबाबु मात्र सन्तान भएको परिवारको केटी विवाह गरेको खण्डमा टड्कारो लागू हुन्छ ।

आगामी पुस्ताले परिवारको दुवै पक्षबाट सम्पूर्ण सम्पत्ति उत्तराधिकारमा हासिल गर्दछ ।

विगतको तुलनामा, जब चीनको घरेलु दर्ता प्रणालीले मानिसहरूलाई आमाबाबुको नजिक राखेको थियो र मानिसहरू ‘हरिकंगाल’ थिए, प्रोफेसर बेबोन्सको विश्वास के छ भने ‘उमेर चढेका’ बच्चाहरू अब आफ्ना आमाबाबुसँग बस्ने इच्छा, सम्भावना कम छ ।

२. भूतविवाह

एकतीस वर्षीय काइ शाङ-झेनले स्वयंवर समारोहको आयोजना गरेका छन्; ‘हुनेवाली’ दुलही उनकी प्रेयसी छन यि-छि भने एक मासपहिले अर्थात एक महिनापूर्व नै एउटा कार दुर्घटनामा परेर ‘मास छर्नु’ गइसकेकी छिन् ।

चीनको ग्रामीण क्षेत्रमा मृतकको विवाह गर्ने तीन हजार वर्ष पुरानो परम्परा अझै फस्टाउँदै गएको छ ।

सन् २००९ मा चीनको मध्य हेनान प्रान्तको स्थानीय अस्पतालमा ली चाओलङको श्वेतरक्तता (ल्युकेमिया) ले देहान्त भएको एक वर्षपछि, उनकी आमाले उनलाई दुलही प्राप्त गरेकी छिन् – सोही गाउँकी ली सिउइङ ।

दुई परिवारका सदस्यहरू खुशी छन् तर आँसु बगाइरहेका छन्, शोकाकुल छन् तर हर्षको उत्सव मनाइरहेका छन् ।

ली चाओलङ र ली सिउइङ – दुवैले ‘कलिलै’ उमेरमा जिब्रो टोकेका थिए र जीवित हुँदा एकअर्काको अस्तित्व समेतको उनीहरूलाई सुइँको थिएन – दुवै लीको पारिवारिक चिहानमा सँगसँगै गाडिनेछन् ।

लीको मृत्यु भएको पहिलो वर्षमा, परिवारका गण्यमान्यले आमालाई उनलाई पारिवारिक चिहानमा गाड्न निषेध किन गर्छन् भने उनी कुमारै दिवङ्गत भएका छन् ।

उनलाई पारिवारिक चिहानमा अनुमति दिइन्छ भने उनको हजुरआमाको लागि समेत शुभसंकेत हुँदैन, जो त्यतिबेला अझै आनन्दको ‘श्वास फेरिरहेकी’ हुन्छिन् ।

पारिवारिक शाखालाई ‘फलाउन-फुलाउन’ नसकेको हुनाले लीलाई आफ्ना पूर्वजहरूसँग सुबिस्ताले निदाउनु दिइएको छैन ।

सोही कुरा बेहुलीका हकमा पनि लागू हुन्छ ।

तस्बिर ५. चीनमा, मानिसहरू मृतकले ‘अर्को संसार’मा उपयोग गर्न सकोस् भनेर रूपैयाँ, घर र कागजबाट निर्मित सेवाका वस्तुहरू जस्ता भेटीहरू जलाउँछन् ।

चीनको अधिकांश भागमा दाहसंस्कार अनिवार्य छ र सत्तारुढ कम्युनिष्ट पार्टीले नागरिकहरूलाई जादूटुनाको सट्टा समाजवादमा आस्था राख्न भनेको छ तर त्यसको अलावा चीनको ग्रामीण भेगमा भूतविवाह गर्ने चलन कायम छ ।

पन्ध्र वर्षदेखि मृत्युपछिको विवाहको विषयमा अध्ययन गरिरहेकी छन्, क्षेत्रगत शोध गरिरहेकी शांघाइ विश्वविद्यालयकी लोकवार्ताविद डा. ह्वाङ जिङचुनको भनाइ मनाही गर्ने ठाउँ छैन:

➢ कसैले [प्रथा] लुकाउने कोसिस गर्दैन वा यसको बारेमा कुरा नगर्ने प्रयत्न गर्दैन । यसको विपरित, यो ‘शोध’खोजको विषय हुन सक्छ भन्ने सुन्दा मानिसहरू अचम्मित हुन्छन्, चकित हुन्छन् ।

लस एन्जलसको क्यालिफोर्निया राज्य विश्वविद्यालयका इतिहासका प्राध्यापक पिंग याओले एबीसीलाई जीवनपछिको विवाहको लागि देखाएको प्रार्थना छ:

➢ मेरो हजुरलाई सुसूचित गराउँछु: हजुर ‘कलिलै’ उमेरमा जानुभयो । विवाहको महान सिद्धान्तलाई व्यवहारमा महसुस गर्न पाउनुभएन । हजुर ‘अन्धकार संसार’मा एक्लै निदाउनुभएको छ र स्त्री र पुरुषको आत्मीयताको खाँचो छ । जसरी जीवित मनुष्यहरू ‘सङाती’को चाह राख्छन्, मृतकहरू पनि एक्लोपनबाट भयभीत हुन्छन् । एउटी छोरी थिइन्, जो अप्रत्याशित रूपमा, शरद ऋतुको पात जस्तै खसेकी छिन्; हामीले हजुरको विवाह उसैसँग ‘फत्ते’ गरिदिएका छौं । हजुरको आत्मा, उसको आत्मा एक भैजाओस् ।

तस्बिर ६. चीनको शान्क्सी प्रान्तमा परम्परागत ग्रामीण चिनियाँ अन्त्येष्टिको क्रममा शोक गरिरहेका मानिसहरू ।

ली चाओलङको परिवारले ‘भूतदुलही’ खोज्नु एक वर्षको ‘चिरकष्ट’ गर्नु परे तापनि अन्तिममा सफलता हासिल गर्न सकेको हुनाले धेरै ‘भाग्यशाली’ महसुस गरेको बताउँछन् ।

सन् २००३ मा, चेन (ल), एक अपाङ्गता भएकी महिलालाई आफ्नै परिवारले छ हजार डलरमा बेचेको छ, नक्कली मृत्यु प्रमाणपत्र दिइएको छ र भूतविवाहको लागि अर्को प्रान्तमा तस्करी गरिएको छ ।

धेरै चिनियाँ पुरुषहरू श्रीमती खोज्न ‘बल’ गर्छन्, र ग्रामीण चीनका मृतक कुमारहरूका लागि परिस्थिति अझ भयावह हुन्छन्, जहाँ ‘धेरै महिलाहरू सहरमा काम गर्न गाउँबाट बाटो तताउँछन्; चीनको एक-बाल नीतिप्रति सचेत ग्रामीण परिवारहरू, जन्मनुअघि नै कन्याको भ्रूणहत्या गराउँछन् र नवजात कन्याहरूलाई हुत्याउँछन्,’ प्रोफेसर याओको अधरको सोइसोइला सुनिन्छ ।

नतिजाको रूपमा, शान्क्सी र शान्सी जस्तो प्रान्तहरू – जहाँ कोइला खानी प्रमुख उद्योग हो – का कोइला खानी दुर्घटनाहरूले प्रत्येक वर्ष हजारौं युवाहरूको ज्यान जान्छ र तिनका शोकाकुल आमाबाबुहरूलाई छोराहरूका निमित्त ‘घोस्ट ब्राइड’ वा ‘भूतदुलही’ पाउनु निकै गाह्रो हुन्छ । ‘भूतदुलही’को उत्पत्ति यस्तो अवस्थामा लुकेको छ, जब ‘चीसा’ महिला लासहरू ‘कोइलाजस्तो’ हट कमोडिटी वा तातो वस्तु हुनपुगेको छ ।

शान्क्सी अस्पतालका कर्मचारी वाङ योङलाई चिनियाँ सञ्चारमाध्यममा उद्धृत गरिएको छ:

➢ एउटी केटीको मृत्यु भएको खबर फैलिएपछि आफ्ना छोरा गुमाएका दशौं परिवार ‘लिलामी युद्ध’को निम्ति अस्पताल पुग्छन् ।

जब लिलामी समाप्त हुन्छ र केटीको परिवारले विजेता आमाबाबुलाई उनको शव ‘सहीसलामत’ ठाउँमा पुर्‍याउने वाचा गर्दछ ।

तीस वर्षपहिले, महिलाको शव किन्न र भूतविवाह आयोजना गर्न लगभग पाँच हजार युआन (एक हजार पैंतीस डलर) खर्च भएको जानकारीमा आएको छ, सन् १९९० दशकदेखि व्यवसायमा रहेका ‘लमी’ले चिनियाँ मिडियालाई मुख खोलेका छन् ।

त्यसपछिको दशकमा मूल्यले ‘दसगजा’ मिचेको छ, आकाश छोएको छ, र सन् २०१६ सम्म, ‘लमी’ले एक सय पचास हजार युआन (एकतीस हजार उन्साठी डलर) भन्दा कममा ‘हजुरले एउटा हड्डी किन्न सक्नुहुन्न’ भनेर सचेत गराएका छन् ।

प्रोफेसर याओले एबीसीलाई बताएअनुसार, भूतविवाहसँग सम्बन्धित कम्तीमा बाह्र प्रमुख हत्याका घटनाहरू छन्, र अपहरण र चिहान डकैतीका थप घटनाहरू छन् ।

सन् २०१६ मा, उत्तर-पश्चिमी चीनका मा छोङहुआ नामका एक व्यक्तिले मानसिक अपाङ्गता भएका दुई महिलाको हत्या गरेका छन् र भूतविवाहको लागि चालीस हजार युआन (आठ हजार डलर) को मूल्यमा प्रत्येक शरीर बेचेका छन् ।

चीनमा, हाल कुनै नियम छैन जसले विशेषगरी भूतविवाह, वा शवको बेचबिखन वा किनमेललाई पनि निषेध गर्दछ ।

‘मेनल्याइन्ड चाइना’ बाहिर फ्रान्स, सुडान र एसियाका अन्य भागहरूमा पनि भूतविवाह गर्ने चलन रहेको बताइएको छ ।

३. ‘जनवादी गणतन्त्र’ चीनमा प्रेम र विवाहको उत्पत्ति

पुस्तौंसम्म, आमाबाबुले घरबार ‘म्याचिङ डोर्ज एण्ड विन्डोज’ (नेपाली समतुल्य: पानी खानु मूलको बिहे गर्नु कुलको) सिद्धान्त अनुशरण गरेर छोराछोरीको विवाहको तारतम्य मिलाइरहे, जहाँ वरवधू अथवा दम्पतीको अनुकूलता उनीहरूको सामाजिक र आर्थिक स्थितिद्वारा मूल्यांकन गरिएको हुन्छ ।

‘म्यार्यिङ फस्ट, देन फलिङ ईन लभ’ (सर्वप्रथम घरजम गर्ने, तत्पश्चात प्रेममा पर्ने) आदर्श सिद्धान्त धेरै जोडीहरूका निमित्त वास्तविकतामा परिणत हुन्थ्यो, जसले लगनगाँठो कसेपछि बिस्तारै एकअर्कालाई चिन्नुजान्नुपर्थ्यो; जुन अवधारणा विशुद्ध प्रेमको साटो व्यावहारिकता खातिर ‘जग्गे’मा हाजिर हुनेहरूका लागि दशकौंसम्म सान्दर्भिक रह्यो ।

त्रियासी वर्षीय याओसङ चाङ साठी वर्षअघि आफू र उनकी श्रीमती सिउझु ह्वाङलाई ‘एकै पथ’मा गोडा चाल्न लगाउने तत्त्व आपसी आकर्षण मात्रै नभएर त्यसभन्दा धेरै अर्थोक रहेको स्वीकार गर्छन् ।

तस्बिर ७. याओसङ चाङ र सिउझु ह्वाङ आफ्नो साठी औं विवाह वर्षगाँठ मनाउँदै ।

दृष्टान्तका निमित्त, अर्को गम्भीर विषय उनको अठार वर्षीय श्रीमतीलाई सरकारी स्वामित्वको ट्र्याक्टर कारखानामा रोजगारी पाउनु र आफ्नो परिवारबाट आर्थिक रूपमा आत्मनिर्भर हुनु सक्ने नसक्ने सम्बन्धमा थियोे ।

‘केही ‘कम्पनी’का नीतिहरू राम्रा थिए र केही ‘कम्पनी’का नीतिहरू उति राम्रा थिएनन्,’ सबै कम्पनीहरू राज्यको स्वामित्वमा रहेको र तिनले विविध सुविधाहरू प्रदान गर्ने समयका सन्दर्भमा उनलेे खुलाए ।

‘मध्य चीनको लुओयाङमा रहेको मेरो कम्पनीले विवाहित जोडीहरूलाई बस्नको लागि खर्च उपलब्ध गराउँथ्यो र यदि उनीहरूसँग रोजगारी नभएको खण्डमा पति वा पत्नीलाई रोजगारको बाटो देखाउँथ्यो ।

‘मेरो मासिक अठहत्तर युआन (सोह्र डलर) कमाइ पनि उनको बुबाको भन्दा भारी थियो; जुन हाम्रो जीवनयापनको लागि पुगिसरी हुन्थ्यो ।’

सन् १९५० को दशकमा धेरै जोडीहरूजस्तै सिउझु र याओसङलाई परिवार र साथीहरूको सहायताले परस्पर सिफारिस गरिएको थियोे, तर ती दिनहरूमा कम्युनिस्ट पार्टीका अधिकारीहरू समेत जोडी मिलाउने ‘लमी’को भूमिका निर्वाह गर्दथे ।

क. ‘व्यवस्थित विवाह’ प्रतिबन्धित, ‘रोमान्स’ राजनीतिक हुन्छ

सन् १९५० को विवाह कानुनले मातापिता तथा आफन्तद्वारा तय हुने ‘व्यवस्था’ विवाहलाई निषेध गर्दछ, महिलाहरूलाई सम्बन्धविच्छेद गर्न सक्षम तुल्याउँछ, र पुरुषहरूलाई एकभन्दा बढी पत्नी राख्ने ‘हक’ दिँदैन ।

सिंगापुरको राष्ट्रिय विश्वविद्यालयको परिवार तथा जनसंख्या अनुसन्धान केन्द्रका संस्थापक निर्देशक वेई-जुन जीन येउङले भनेअनुसार नयाँ कानुनले चीनमा लैङ्गिक समानतालाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

तथापि, माओका पालामा स्वयंको समाजवादी चरित्रको प्रमाणस्वरूप महिलाहरूले मजदुर र किसानहरूसँग विवाह गर्न निरन्तर दबाबको सामना गरिरहे, उनको स्वर गुञ्जिन्छ ।

‘लभ एण्ड म्यारिज ईन ग्लोबलाइजिङ चाइना’ पुस्तकका लेखक र यूटीएसको स्कूल अफ इन्टरनेशनल स्टडीजका एक प्राज्ञिक पान वाङको सही ठहर के छ भने, उक्त समयमा पनि वर्गसंघर्ष र राजनीतिक अभियानले दैनिक जीवनमा प्रभुत्व जमाएको छ, र मानिसहरूको घरबार ‘आफ्नो’ वर्गमा जोडिन्छ ।

मानिसहरूले ‘राजनीतिक आस्था’लाई आधार बनाएर ‘जीवनसाथी’ रोजेका छन्, जसको अर्थ कम्युनिष्ट पार्टीको सदस्यता भएको मनुष्यसँग विवाह गर्नु हो ।

‘मनखतलाग्दो वा घतलाग्दो के छ भने, त्यतिबेला धेरै पढेलेखेका युवाहरूले स्वयंको सही राजनीतिक आस्थाको दसीस्वरूप किसान र मजदुरसँग लगनगाँठो कसेका छन् – तिनीहरूमध्ये केहीलाई कम्युनिष्ट पार्टीमा बढुवा हुनु पनि छ,’ उनको कथन छ ।

डा. वाङको अर्थपूर्ण अभिव्यक्ति के छ भने, द्रुत प्रगतिपथमा लम्किरहेको चीनमा आज महिलाहरू धेरै सशक्त, आर्थिक रूपमा आत्मनिर्भर र निर्णय गर्ने कार्यमा क्षमतावान भएका छन् ।

‘उनीहरूले विगतमा जस्तै आफ्नो आर्थिक सुरक्षा सुनिश्चित गर्न एक जना व्यक्ति खोज्नु पर्दैन,’ उनीद्वारा जायज कुराको कुलो काटिन्छ ।

‘फलस्वरूप हामी महिलाहरू जीवनसाथी छनोटको सन्दर्भमा अधिक चयनशील वा ध्यानमा जुटेको देख्छौं, पुरुषहरूको हकमा भने, उनीहरू यद्यपि शारीरिक रूपमा आकर्षक ‘सुन्दरी’हरू खोजिरहेका छन्, खासगरी परिवारको वंश जारी राख्न बच्चाहरू जन्माउन सक्षम सुन्दरीहरू ।’

ख. कन्याकुमारहरू बैंकका खाता हुन्, कन्याकुमारीहरू धन’लक्ष्मी’ हुन्

 

तस्बिर ८. शांघाइको म्यारिज कर्नरमा कन्याकुमार र कन्याकुमारीका ‘कुण्डली’सहित राखिएका छाताको ‘ताँती’ लोचनभोजन गर्दै अभिभावकहरूको भीड ।

चीनमा प्रेम र विवाह बढी स्वतन्त्र भए तापनि आमाबाबुले अझै पनि आफ्ना छोराछोरीको जीवनसाथी छनोटमा महत्त्वपूर्ण तर कम प्रभावशाली भूमिका खेल्छन्, कतिपयले मामिलाहरू आफ्नै हातमा ग्रहण गरेका हुन्छन् ।

शांघाइमा, सयौं अभिभावकहरू हरेक सप्ताहन्तमा ‘पिपुल्स पार्क’ (जनबाग वा जनउद्यान) को ‘म्यारिज कर्नर’ वा ‘विवाह बजार’ भनेर चिरपरिचित ठाउँमा छोराछोरीको लागि ‘सुहाउँदो’ जोडी प्राप्त गर्ने आशामा सन्ततिको व्यक्तिगत जानकारी ‘कुण्डली’ रंगीन छाताहरूको लहरमा राखिएको पोस्टरहरूमा प्रदर्शन गर्नका निमित्त भेला हुन्छन् ।

तस्बिर ९. शांघाइको म्यारिज कर्नरमा अठतीस वर्षीय कुमारको व्यक्तिगत विवरणसहित प्रकाशित कागत ।

एउटा पोस्टर लोचनभोजन गरौं:

➢ लिङ्ग: पुरुष
➢ जन्म: जुलाई, सन् १९८०
➢ वैवाहिक स्थिति: अविवाहित
➢ उचाइ: एक दशमलव सात एक मिटर
➢ तौल: त्रिसट्ठी किलोग्राम
➢ शिक्षा: स्नातक
➢ स्वास्थ्य: खाइलाग्दो
➢ कमाइ: कर तिरेपछि ९७०,००० युआन (१९८,४०० डलर)
➢ सम्पत्ति: छ थरी

कन्यामा हुनुपर्ने योग्यता:
➢ स्वास्थ्य: गतिलो
➢ उचाइ: एक दशमलव छ दुई देखि एक दशमलव सात मिटर
➢ तौल: छयालीस देखि छपन्न किलोग्राम
➢ आँखा: ठूलाठूला, प्राकृतिक, मृगनयनी, मीनाक्षी

चौतीस वर्षीय चिनियाँ आर्टिस्ट यिङकुआङ कुओले करिब दुई वर्ष अघि एउटा परियोजनाको रूपमा ‘विवाहको कुना’का दृश्यहरू खिचेकी थिइन् ।

उनले एक्ली युवती भएको नाटक रचेकी छिन् र आफ्नो अनुभवलाई ‘कैद’ गर्न ‘लुकाएर’ क्यामेराको उपयोग गरेकी छिन् – अभिभावकबाट उनको उमेरको बारेमा सोध्ने असहज प्रश्नहरूको क्षेत्रगत अध्ययन अनुभव सहित – र उनको कथा इन्टरनेट जगतमा ‘भाइरल’ बनेको छ ।

[embedyt] https://www.youtube.com/watch?v=DJGAtpqVKvM[/embedyt]

‘यो विवाह बजारमा आम्दानी, शिक्षा, उचाइ, उमेर सबै कुरा व्यक्तिको मूल्यसँग दाँज्नु मिल्छ,’ उनी पोख्छिन् ।

एउटा ‘पाका’ मानिसले यिङकुआङलाई उनको सिद्धान्त भनेको ‘कुमारहरू बैंकका खाताहरू जस्तो हुन्, र कन्याहरू भनेका धनराशि, गृह’लक्ष्मी’हरू जस्तो हुन्’ भनेर आत्मप्रकाशन गरेका छन् ।

‘उनले मलाई के खुलस्त गराए भने, ठिटोको बैंकको खातामा कति रकम सङ्ग्रह छ, त्यसले बजारमा उसले ग्रहण गर्नसक्ने ठिटीको निर्धारण हुन्छ ।’

ग. ‘बूढीकन्याहरू’ र ‘नाङ्गा हाँगाहरू’

बीस वर्षको उत्तरवर्ती अवधिमा ‘एकल’ रहिरहने ‘कन्याकुमार’ र ‘कन्याकुमारी’हरूलाई ‘युगल’ हुने र सन्तान उत्पादन गर्ने ठूलो दबाबको सामना गर्नुपर्छ, विवाह गर्ने एउटा निश्चित उमेर पार गरेकालाई ‘बूढीकन्याहरू’ (रहलपहल ‘पूरा’ महिला) र ‘नाङ्गा शाखाहरू’ जस्ता अपमानजनक शब्दावलीले सम्बोधन गरिन्छ ।

तस्बिर १०. शांघाइको म्यारिज कर्नरमा एकजना डेटिङ एजेन्ट ।

चाइना युथ डेली (चिनियाँ युवा दैनिक) ले करिब दुई हजार मानिसमाथि गरेको सर्वेक्षणलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम सिन्ह्वाको प्रतिवेदनअनुसार पचास प्रतिशतभन्दा बढी चिनियाँ युवाहरूलाई परिवारका वृद्ध सदस्यहरूले विवाह गर्न दबाब दिएका हुन्छन् ।

सर्वेक्षणमा सहभागी उनन्सत्तरी प्रतिशतभन्दा बढीले जोड गरेपछि स्वयंलाई दबाब महसुस भएको स्वीकार गर्छन् ।

करिब चार वर्षअघि मध्य चीनकी उन्तीस वर्षीय यान लेई घरपरिवारको विवाह गर्ने दबाबबाट बच्ने आशामा बेइजिङमा जागिर खोज्न ‘गृहत्याग’ गरेकी थिइन् ।

‘मेरा मातापिताले मात्र मलाई जोड गर्नुभएन, मेरा काकीहरू, परिवारका साथीहरू र छिमेकीहरूले पनि मलाई विवाह गर्ने कोही नभएको कारण सोध्ने गर्थे । म धेरै असहाय महसुस गर्छु,’ उनी आफ्नो समस्याको पर्दा हटाउँछिन् ।

‘मलाई लाग्छ, मेरा आमाबुवाको पुस्ताको नजरमा, मैले विवाह नगरेको खण्डमा मेरो जीवन सुखी हुँदैन ।

‘तर वास्तविकता, उनीहरू सबै कुन एउटा सुन्दर भ्रममा बाँच्छन् भने विवाह भनेको खुसियाली हो ।’

विगत पुस्ताको विपरीत, चीनमा सम्बन्धविच्छेद अब वर्जित छैन ।

चीनको नागरिक मामिला विभाग र विवाह दर्ता तथ्याङ्कअनुसार सन् २०१७ को अर्धवार्षिक अवधिमा ‘मेनल्यान्ड चाइना’मा अठार लाखभन्दा बढी जोडीले सम्बन्धविच्छेद गरेका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा दश दशमलव तीन प्रतिशतले वृद्धि हो ।

तस्बिर ११. ‘एक जुगमा एक दिन एक चोटि’ सन् १९५० मा पारित नौलो विवाह कानुनले विवाहको रीतिरिवाजमा हेरफेर ल्याएको छ ।