कला, साहित्य र सङ्गीत यस्तो क्षेत्र हो जहाँ मान्छेको उमेरको कुनै हदबन्दी हुँदैन र यस क्षेत्रमा बाचुन्जेल सिर्जनशील बनिरहन सकिन्छ पनि । अर्थात् जागिरमा जस्तो यसमा “अवकाश प्राप्त” भन्ने हुँदैन । त्यसैले होला यस क्षेत्रमा हरेक उमेर समूहका व्यक्तिलाई भेट्न सकिन्छ । त्यस्तै एक व्यक्ति हुन् “दीपा स्पन्दन” अर्थात दीपा मग्राती । सुनसरीको चतरा निवासी दीपा उमेरले भर्खर १९, पढाइ स्नातक प्रथम वर्ष तर कला र साहित्यप्रतिको उनको रुचि भने बडो गज्जबको छ । सानो छँदा हामी ढुङ्गा बटुलेर गट्टी खेल्थ्यौँ । कहिलेकाहीँ त्यही ढुङ्गा गुलेलीमा हालेर सिकार पनि गरियो होला तर दीपालाई भने ढुङ्गाप्रति बहुत प्रेम छ, लगाउ छ । त्यही ढुङ्गामा उनले आफ्नो कला पोख्दै आएकी छिन् र ढुङ्गामा भविष्य खोजिरहेकी छिन् ।

सामन्यतया चित्रकला भन्नेबित्तिकै हामी कागजमा बनाउने चित्रलाई बुझ्छौँ । चित्रकलाका पनि अनेक रूप हुँदा रहेछन् भन्ने कुरा म पनि बिस्तारै बुझ्दै छु । चित्रकारहरूले आफ्नो कलालाई अनेक किसिमबाट व्यक्त गर्दै आएको पाइन्छ । कसैले चित्रलाई क्यानभास र भित्तामा सजाए । कसैले रुखको फेदमा रङ्ग पोतेर चित्र बनाए । कसैले त्यही चित्रलाई सिलिङमा बनाए । कसैले घरका भित्ताहरूमा रङ्ग पोते । कसै-कसैले व्यस्त सडकमै पनि आफ्नो कला प्रदर्शन गरे त कसैले धागैधागाको प्रयोगले चित्र बनाइरहे ।

यस्ता अनेक किसिमका प्रयोगहरू चित्रकारहरूको कलामा देख्न पाइन्छ । त्यसमध्येको एउटा हो “स्टोन आर्ट” । अर्थात् ढुङ्गामा चित्र बनाउनु । विगत केही समयदेखि दीपा पनि यही स्टोन आर्टमा रमाइरहेकी छिन् । हुन त ढुङ्गामा चित्र कोर्न थाल्नुभन्दा पहिले उनले क्यानभासमा चित्र बनाउने गर्थिन् । उनलाई चित्रकला खुब मन पर्छ । मन पर्ने भएर पनि क्यानभासमा आफूले बनाएका चित्रहरूले दीपा स्वयंलाई सन्तुष्टि भने दिन सकिरहेको थिएनन् । गरिरहेको काममा सन्तुष्टि प्राप्त नभएपछि त्यसतर्फ ध्यान कम हुनु स्वाभाविक पनि हो । उनमा पनि यही भइरहेको थियो तर एकदिनको घटनाले उनको कलाप्रतिको मोहलाई नयाँ ढङ्गले अगाडि बढाउने हौसाला प्रदान गऱ्यो । उनी भन्छिन्, “एकदिन धारामा एउटा सुन्दर अन्डा आकारको ढुङ्गा देखेँ । त्यस ढुङ्गालाई निकै बेरसम्म पल्टाई-पल्टाई हेरेँ । मसँग २० रुपैयाँको एउटा मात्रै चेप्टो ब्रस थियो । त्यस ब्रस र रङ्ग प्रयोग गरेर पहिलोपटक ढुङ्गामा डाँफे बनाउने कोसिस गरेँ तर खुट्टा र डाँफेको मुख बनाउन सानो ब्रसको आवश्यकता थियो र मैले बाँसको भाटा सानो पारेर तिखारेँ र काम पूरा गरेँ । त्यसपछि फोटो खिचेर सामाजिक सञ्जालमा राखेँ जहाँ तस्बिरभन्दा सुन्दर प्रतिक्रियाहरू आए ।” यसपछि भने उनको दैनिकी फेरियो र क्यानभासलाई छोडेर ढुङ्गाहरूमा रङ्ग भर्न थालिन् ।

डिजी शर्मा (युएई)

स्टोन आर्टबारे त्यति धेरै सैद्धान्तिक कुराहरू थाहा नभए पनि चित्रकलामा थोरै भए पनि फरक ढङ्गले प्रस्तुत हुन सकिएको खण्डमा केही विशेष पहिचान बनाउन सकिएला कि भन्ने आशाले यसलाई रोजेको उनी बताउँछिन् । उनको सपना पनि यही छ यसैमा केही गरेर देखाउने । जुन बिस्तारै सफल पनि हुँदै गएको छ ।

स्टोन आर्टका लागि चाहिने ढुङ्गाहरू लिन उनी करिब ४५ मिनेटको बाटो हिँडेर स्थानीय पट्नाली खोला पुग्छिन् । खोलामा भएका हजारौँ ढुङ्गाहरूमध्ये कुन-कुन ढुङ्गामा चित्र बनाउन सकिन्छ भनेर पहिल्याउन सक्नु पनि एउटा कला नै हो । उनी पनि हजारौँ ढुङ्गाहरूको माझबाट केही ढुङ्गा बटुलेर घर ल्याउछिन् र पखालेर सुकाउँछिन् । सुरु-सुरुमा त उनले ढुङ्गाजस्तो छ त्यस्तै अवस्थामा चित्र बनाउँथिन् । कवि तथा चित्रकार जीवित खड्का मगरको सुझाउपछि भने दीपाले ढुङ्गालाई घोटेर पहिले चिल्लो बनाउँछिन् र त्यही चिल्लो ढुङ्गामा चित्र बनाउन थालेकी छिन् र आफ्नो भविष्य चिल्लो बनाउने कोसिस गरिरहेकी छिन् । यसरी बनाउँदा चित्रहरू पनि पहिलेभन्दा राम्रो बनेको उनको अनुभवले बताउँछ । कुनै पनि किसिमको चित्रकला आफैँमा सजिलो काम त पक्कै होइन तर ढुङ्गामा चित्र बनाउनु अन्य चित्रकलाभन्दा अलिक गाह्रो हो कि भन्ने उनलाई लाग्छ । स्टोन आर्टमा सबैभन्दा गाह्रो काम ढुङ्गालाई घोटेर चिल्लो बनाउनु नै हो, उनी भन्छिन्, “आफूले खोजेजस्तो ढुङ्गा नपाउने समस्या त छँदै छ ।”

पछिल्लो समय दीपाले विभिन्न सर्जकहरूको कृतिको कभर फोटोलाई विशेष प्राथमिकताका साथ आफ्नो ढुङ्गामा उतार्दै आएकी छिन् । जुन सामाजिक सञ्जाल फेसबुकमा धेरैले मन पराउन थाल्नुभएको छ । कतिपयले त आफ्नो कृतिको कभर फोटोको चित्र बनाइदिन अनुरोध पनि गर्न थाल्नुभएको छ । यसले उनमा थप हौसाला थपिँदै गएको छ । यसमा मैले पनि उनलाई एउटा सुझाउ दिएको छु, नाम चलेका लेखकहरूको कृतिको पनि चित्र बनाउनुस् भनेर । चलेका लेखकहरूले दीपाले ढुङ्गामा बनाएको आफ्नो कृतिको चित्र आफ्नो फेसबुक वालबाट सेयर गरिदिए भने दीपालाई कला क्षेत्रमा फैलिन छिटो र सजिलो हुन्छ भन्ने मेरो विश्वास हो तर उनलाई भने प्राकृतिक दृश्यहरू ढुङ्गामा बनाउन औधी मन पर्छ ।
उनी एक सामन्य परिवारमा हुर्किएका कारण कुनै समय चित्रकलाका लागि चाहिने आवश्यक सामग्री किन्ने पैसा नभएर कलाकारिता नै छोडेकी थिइन् । अहिले भने त्यो अवस्था अलिक छैन । जसोतसो सामान जुटाइरहेकी छिन् । “हतुवागढी शब्द घर” नामक फेसबुक पेजबाट उनले साप्ताहिक रूपमा साहित्यिक कार्यक्रम पनि चलाउँदै आएकी छिन् । जसमा उनले विभिन्न सर्जकहरूसँग अन्तर्वार्तामूलक कार्यक्रम चलाउँछिन् । त्यसबापत उनले केही पारिश्रमिक पनि पाउने गरेकी छिन् । यसले पनि उनको चित्रकलाको सामन किन्ने पैसाको जोहो हुन थालेको छ । फेसबुकमा साहित्यिक कार्यक्रम चलाएबापत पारिश्रमिक पाउने सायदै अरू कोही होलान् । रकम थोरै होला त्यो आफ्नो ठाउँमा छ तर उनले पारिश्रमिक पाउँछिन् । सुन्दा त मलाई पनि अचम्म लागेको थियो । किन भने फेसबुकमा साहित्यिक कार्यक्रम चलाएर पैसा पाउँछु भनेर योभन्दा अघि कसैले भनेको सुनेको थिइनँ मैले ।

सामन्यतया हाम्रो समाजमा अझै पनि आफ्ना सन्तानले किताब, कापी र कलमबाहेक अन्य चिज समाउन खोजे भने बाउआमालाई मन पर्दैन । हामीले सन्तानलाई “खुरुक्क नपढेर, यो के गरेको ?” भनेर सोध्न बाहेक अरू खासै जान्दैनौँ । आफूले पढेर कुनै लछारपाटो नलाएको अवस्था छर्लङ्ग हुँदाहुँदै पनि हामी हाम्रा सन्तनमा पढ्नुबाहेक अर्को विकल्प खासै देख्दैनौँ । जसले गर्दा बालबालिकाहरूको सिर्जनशीलता बेलैमा मर्छ र मर्दै आएको पनि छ तर दीपाको हकमा त्यो अलिक लागु हुँदैन । आफ्नो पढाइ सँगसँगै उनले चित्रकलालाई पनि निरन्तरता दिइरहेकी छिन् । यसमा उनको घरपरिवारको साथको कुरा गर्दा ८० वर्षीया हजुरआमा भगवती सार्कीले समेत सुन्दर-सुन्दर ढुङ्गाहरू खोजर ल्याइदिनुहुन्छ । बुबा गुमबहादुर सार्की र आमा रत्नकुमारी सार्कीले घाँसदाउराको भारीमाथि पनि ढुङ्गा राखेर ल्याइदिनुहुन्छ ता कि छोरीले चित्र बनाउन सकोस् । यसरी हेर्दा उनको कलालाई चम्किलो पार्न उनको परिवार पनि लागिरहेको छ ।

भोजपुरको हसनपुरमा वि.सं. २०५९ साल मङ्सिर ०३ गते जन्मिएकी दीपा चित्रकला र कार्यक्रम सञ्चालनसँगै साहित्यलेखनमा पनि उत्तिकै रुचि राख्छिन् । विगत ४/५ वर्षदेखि साहित्यका कविता, कथा, टुक्का मुक्तक र गीतमा निकै सुन्दर ढङ्गले कलम चलाउँदै आएकी छिन् । केही गीत रेकर्ड भएर बजारमा आउने तयारीमा पनि छन् । कला साहित्यबाट फुर्सद भएको समयलाई पनि उनी खेर जान दिन्नन् । पढेर अरू केही गर्न नसके पनि लोकसेवा भिडेर सरकारी जागिर खाने उनको योजना छ । उनको परिवारको पनि यस्तै सपना छ, छोरी सरकारी जागिरे भएको हेर्ने । त्यसैले उनी समय मिल्नासाथ लोकसेवासम्बन्धी किताबहरू पढ्न थाल्छिन् । लोकसेवा तयारी गर्दैगर्दा बेला-बेला त उनलाई रिस पनि उठ्दो रैछ र भन्छिन्, “कुन दिन म यी लोकसेवाका सबै किताब चटपटे पसलेलाई दिन्छु होला ।”

सामन्यतया हामी नाम चलेका र स्थापित व्यक्तित्वहरूका बारेमा मात्रै खोजी गर्छौँ र उनीहरूका लागि मात्रै आफ्नो कलमको मसी खर्चिने गर्छौँ । स्वयं मैले पनि पछिल्लो केही समयदेखि विभिन्न सर्जकहरूका बारेमा लेख्दै आइरहेको छु । त्यसमा सबै चलेका सर्जकहरू नै हुनुहुन्छ तर कहिलेकाहीँ दीपा मग्रातीजस्ता उदीयमान सर्जकका बारेमा पनि लेखिनुपर्छ भन्ने लागेर उनका बारेमा केही लेख्ने कोसिस गरेको हो । यसरी भर्खर उदाउँदै गरेका प्रतिभाहरूका बारेमा लेखियो भने भोलि उनीहरू पूर्ण रूपमा उदाएको दिन यो कलमलाई उनीहरूले प्रेमपूर्वक सम्झिनेछन् भन्ने मेरो विश्वास हो ।

दीपा मग्राती