केही समयअघि एक ठाउँमा एक मित्रले मलाई जिज्ञासा राखे, ‘कलाकार हुनलाई औपचारिक कलाशिक्षा पढ्नै पर्छ ?’

मित्रको प्रश्न सुनेर म एकछिन अकमक्कमा परेँ र उनको जिज्ञासालाई शान्त पार्दै भनेँ, ‘अहँ ! पढ्नै पर्छ भन्ने बाध्यता छैन तर कलाकार बन्ने तिर्खा मेट्न पढ्नु लाभदायक हुन्छ ।’

विश्वकलालाई हेर्ने हो भने कलाकार पढेर होइन, परेर कलाकार भएका इतिहास छन् । विगतका कलाकारका कलेज वा विश्वविद्यालय भनेको प्रकृति र स्वअध्याय नै हुने गर्दथ्यो । उनीहरूले कला सिक्ने आधारपट भनेको वरिपरिका वस्तुस्थिति, मोडल, प्रकृति र व्यक्तिको भावभङ्गिमा हुन्थ्यो । यसरी परिश्रमी र सकसपूर्ण किसिमले कलाकार बनेका तिनै कलाकारहरूले चालेका डोबहरूबाट आज कला अध्ययनका मार्गहरू निर्माण भएका छन् । पाठ्यपुस्तक निमार्णका आधार र सीमाहरू तय भएका छन् र कलाका स्कूल वा विश्वविद्यालयहरू बनेका छन् । जसले गर्दा प्राकृतरुपमा केही गुण वा लक्षण बोकेर आएका र कलाकार बन्न इच्छुक विद्यार्थीहरूको कला सिकाईमा सहजता हुने गरेको छ ।

यस अर्थमा कलाकार हुन पढ्नै पर्छ भन्ने होइन तर सैद्धान्तिक रुपमा औपचारिक शिक्षा ग्रहण गर्दै अघि बढे पुराना कलाकारहरूले पाएको जस्तो सकसपूर्ण र दुखिया परिणति भोग्नु पर्दैन । यस कारण पनि कलाक्षेत्रमा कलाशिक्षाको महत्त्व र माग छ ।

विश्वमा औपचारिक कलाशिक्षाको प्रचलन निकै पुरानो छ । त्यहाँको कलाशिक्षा पराकाष्टामा पुगिसकेको बेलासम्म पनि हामीलाई कलाको औपचारिक स्कूलिङ हुन्छ भन्ने आभास नै थिएन । त्यो अन्धकारको परिस्थितिबाट आजको अवस्थासम्म आइपुगेको हाम्रो कला शिक्षाले धेरै उन्नति र प्रगति गरिसकेको छ । धेरै आरोह र अवरोह पार गर्दै कलाका स्कूल, कलेज, निजी कलेज लगायत धेरै इन्स्टिच्युटहरू स्थापित भएका छन् । नेपालमा यो अवस्थासम्म कलाशिक्षा आइपुग्नुमा कलाका शिक्षकहरूको ठूलो भूमिका छ । पुराना कलाकारले नेपालमा औपचारिक कला शिक्षालाई आत्मसात गर्दै तिनको संस्थागत विकास गर्ने कर्ममा ठूलो योगदान दिएका छन् । यहाँ विगतका शिक्षकहरूको परिश्रम, त्याग र समर्पणलाई भुल्नु हुन्न ।
औपचारिक कलाशिक्षा र शिक्षाको कुरा गर्दा भुल्नै नहुने विगतका धेरै कला शिक्षकहरू छन् । ती धेरै शिक्षकमध्ये एक भुल्नै नसकिने नाम हो – कालिदास श्रेष्ठ ।

केही वर्षअघि निमोनियाले थलित भएर ९३ वर्षको उमेरमा देहावशान भएका कालिदास कलाशिक्षाका सुरुवाती अभियन्ताका रुपमा स्थापित कला गुरु हुन् ।

वि.सं. १९८१ मा वसन्तपुर झोँछेमा जन्मेका श्रेष्ठ वास्तवमा कलागुरु मात्र थिएनन्, उनी एक कुहल, अग्रणी कलाकारका साथै कलाक्षेत्रको विकास र समृद्धि चाहने विकासवादी धारका कलाव्यक्तित्व पनि थिए । उनको यही धारका कारण उनकै सक्रियताले मूर्तरुप लिएको शैक्षिकक्षेत्रमा आज नेपाली विधार्थीहरू कलामा औपचारिक अध्ययन गर्न पाइरहेका छन् । र, बर्सेनि सयौँ कलाकार उत्पादन भैरहेका छन् । कालिदाश श्रेष्ठ कलाक्षेत्रमा एक युगपुरुषका रुपमा चिनिन्छन् । वास्तवमा उनको अहोरात्रको शैक्षिक परिश्रम र लगनले आजको ललितकला क्याम्पसको स्वरुप निर्माण भएको हो ।

कालिदास सानै उमेरदेखि कलामा रुचि राख्ने तीक्ष्ण स्वभावका कलाकार थिए । कलाको व्याकरण सिक्ने क्रममा कलाकार चतुररत्न उनका प्रथम गुरु बनेका थिए । चतुररत्नबाट कलासम्बन्धी केही कलाज्ञान हासिल भैसकेपछि उनी जुद्धकला पाठशालामा भर्ना भए । र, वि.सं. २००० सालमा प्रथम श्रेणीमा प्रवीण परिक्षा सफलतापूर्वक उत्तीर्ण गरे । यही समयदेखि उनको शिक्षण पेशाको कालखण्ड सुरु भएको थियो ।

उनको शैक्षिक जीवन सोही जुद्धकला पाठशालाबाट शुभारम्भ भयो । उनी कला शिक्षकका रुपमा क्रियाशील थिए । यद्यपि उनको जीवन पाठशालामा मात्र संकुचन भएर रहन सकेन । उनलाई २००८ सालमा म्याट्रिक पास गरेपछि कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति प्राप्त भयो र मुम्वईस्थित सर जे. जे. स्कूल अफ फाइन आर्टमा कलाको उच्चशिक्षा हासिल गर्न पठाइए ।

मुम्बई रहँदाबस्दा पनि उनी सबल र मेहनती विद्यार्थीका रुपमा परिचित भए । अध्ययनकालदेखि नै उनका कामहरू उच्चकोटिका रुपमा दरिन्थे मुम्बईमा । उनका प्रायः साथी र प्राध्यापकहरू उनको काममा उत्कृष्टताको छनक देखेर उनलाई त्यहीँ बसेर काम गरिरहन उक्साउँथे । तर पनि उनको लक्ष्य र भावना नेपाल र नेपाली कलाको विकास नै थियो । त्यसैले वि.सं. २०१३ सालमा कलामा डिप्लोमा उत्तीर्ण गरिसकेपछि स्वदेशमै फर्किए र नेपाली कलालाई समृद्ध बनाउनेतर्फ अगाडि बढे ।

यसबीच श्रेष्ठका धेरै कृतिहरू सिर्जना भए तापनि उनी सिर्जना कर्ममा मात्र तल्लिन रहन सकेनन्, कलाज्ञान बाँढ्ने कर्मलाई पनि अघि बढाउँदै गए । त्यसैले उनले जुद्धकला पाठशालामा आफ्नो रुचिको शैक्षिक पेशा अवलम्बन गरी शिक्षकका रुपमा कार्य गर्न थाले । उनको शैक्षिक पेशामा देखिएको समर्पणमा उनलाई उचाईमा अघि बढाउँदै लग्यो । कलाज्ञान बाँढ्दा बाँढ्दै सोही विधाका इन्चार्जसम्म बनाइए । यसपश्चात भने पाठशालामा क्रान्तिकारी परिवर्तन आयो । पाठशाला महाविद्यालयमा परिणत भयो ।

वस्तवमा २०२४ सालमा जुद्धकला पाठशाला ललितकला महाविद्यालयको रुपमा रुपान्तरित हुनमा उनको ठूलो योगदान रहिआएको छ । उनकै सक्रियता र सोचले शैक्षिकक्षेत्रमा परिवर्तन आएको कुरामा दुई मत छैन । यसरी कलापाठशाला महाविद्यालयको रुप परिवर्तन भए पनि यस पेशाबाट उनी अलग बस्न चाहेनन् । बरु सोही क्याम्पसमा उनी २०३० सालदेखि २०३६ सालसम्म कार्यरत रहे ।

उनकै प्रयास र प्रयत्नले उक्त क्याम्पसमा डिप्लोमासम्मको पढाइ आरम्भ भएको हो ।

श्रेष्ठ वास्तवमा कलाशिक्षाको क्षेत्रमा मात्र होइन, कला सिर्जनाको क्षेत्रमा पनि उत्तिकै होनहार र सक्षम प्रतिभा हुन् । मुम्बईको अध्ययन सकेर नेपाली भूमिमा टेकेपश्चात् शुरुका दिनमा उनले थुप्रै पोट्रेटहरू सिर्जना गरेका गरे । त्यस कालमा उनले सिर्जना गरेका राजा-महाराजा र राणाहरूका मुहारचित्रहरू अझै पनि संग्रहालय र निजी भवनमा संग्रहित रहेको देख्न सकिन्छ ।

श्रेष्ठ मुहार चित्रमा मात्र रुचि भएका कलाकार थिएनन् । उनलाई नेपालीपनका सांस्कृतिक, धार्मिक र दृष्यचित्रमा पनि उत्तिकै रुचि र जागरण रहेको देखिन्छ । उनका यस्ता चित्रहरू पनि प्रशस्त भेटिन्छन् ।

कलाजीवनको पछिल्लो चरणमा उनले मूर्तचित्र लगायत, अर्धअर्मूत, अमूर्त, भावप्रधान, अभिव्यञ्जनावादी प्रशस्त चित्रहरू सिर्जना गरे । र, कलामा विविध प्रविधि र माध्ययमलाई अवलम्वन गरे । उनी जुनै माध्यमबाट पनि चित्र कोर्न सिपालु कलाकार थिए भन्ने कुरा उनको काममा देखिएको प्रभावले नै प्रस्ट पार्छ । चारकोल, जलरङ, तैलरङ, एक्रेलिक लगायतका माध्यमको प्रयोग भएको उनको चित्रमा देख्न सकिन्छ ।

यसरी नेपाली कला भूगोलमा लामो समयदेखि दिएको योगदानलाई हृदयंगम गर्दै विभिन्न समयमा विभिन्न संघसंस्था र निकायले उनलाई थुप्रै पुरस्कार, सम्मान र कदरले विभूषित पनि गरिसकेको छ । उनी २०५२ सालमा नारायणबहादुर सिंह स्मृति पुरस्कार र २०५५ मा ललितकला क्याम्पसबाट सम्मानित भएका थिए । यस्तै तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट महेन्द्र प्रज्ञा पुरस्कारबाट उनलाई विभूषित गरियो भने यस्तै शुभ राज्यभिषेक र दीर्घसेवा पदकबाट पनि सम्मानित गरियो ।