साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाः बोध

कथा

Chovar Blues Mobile Size
मनोज रेग्मी

सधैँको एकनासको जीवनशैली सबैको हुन्छ तर सबै विरक्तिएर म जस्तो कहिले कता, कहिले कता भौतारिएर हिँड्दैनन्। मलाई भने के हुन्छ कुन्नी? विरक्त लाग्न थालेपछि डुल्नुपर्ने, बिना उद्देश्य भौतारिनु पर्ने। अरु नशा जस्तै यो घुमन्ते बानीको पनि नशा लाग्ने रहेछ। त्यो नशा मलाई पनि लाग्न थालिसकेको थियो— यायावरलाई जस्तै। घुमफिरको मेरो उद्देश्य भनेको नयाँ ठाउँ घुम्नु र त्यो ठाउँको बारेमा कथा खोज्नु पनि हुन्थ्यो। त्यसैले घुमफिर पछिको मलाई मनपर्ने काम भनेको कथा लेख्नु थियो। मलाई लेख्ने काम, काम नभएर साधना जस्तो लाग्छ।
केही दिन लगातार अफिस गयो कि मलाई ज्वरो आउला जस्तो हुन्छ। प्रायजसो काम र घरबाट कतै फुत्किनु नै मेरो एकमात्र उद्देश्य हुन्थ्यो। हुन पनि घरबाट निस्क्यो कि म अर्कै महसुस गर्थेँ, हलुका, हाइड्रोजन भरेको बेलुन जस्तो। घरमा त्यस्तो रोकटोक त केही कुरामा थिएन तर पनि एकै ठाउँमा बसिरहने मेरो स्वभाव थिएन।
मैले राम्रोसँग बुझेको थिएँ, मेरो मनमौजी स्वभावदेखि आमा र मेरी श्रीमती सुभद्रा दुवै आजित छन्। आमा प्रायः अब त छोरो जिम्मेवार भैदिए हुन्थ्यो भन्ने भावमा मेरो अनुहार हेर्नुहुन्थ्यो। सुभद्रा पनि सकभर म उनीसँगै बसिदिए हुन्थ्यो, बेला मौकामा दुःखसुखका गफ गरिदिए हुन्थ्यो झैँ गर्थिन्। तर, दुवैले मेरो घमण्डी र झोँक्की स्वभावका कारण केही भनिहाल्न भने सकिरहेका थिएनन्। बुबालाई भने खासै चासो थिएन। टेबलमा चिया र हातमा रिमोट परेपछि बुबाको संसार त्यही टिभीमै हुन्थ्यो- बाहिर जेसुकै होस्, मतलब नै हुँदैन्थ्यो।

पहिले-पहिलेझैँ त्यो दिन पनि कसैलाई केही नभनी घरबाट निस्किएँ। रुक्स्याक मेरो सधैँ तयार नै हुन्थ्यो। केही वर्षअघि ट्रेकिङ जाँदा बाटोमा एउटा विदेशीले ट्रेकिङ स्टिक उपहार दिएको थियो, त्यो पनि मेरो सधैँको सारथि भएको थियो।
वैशाखको महिना थियो। मध्याह्न भएकाले टन्टलापुर घाम थाप्लोमाथि नै आइपुगेको थियो। हातको लौरी, मेरो बामपुड्के छायाँ र वनमा एकोहोरो कराउने झ्याउँकिरी मेरा सारथि थिए। बसबाट झरेर लगभग डेढ घण्टाको ठाडो उकालो उक्लिएपछि एउटा चौतारी आयो। पसिनाले जिउ निथ्रुक्क भिजेको थियो। सोचेँ, यही चौतारीमा एक छिन बिसाउनु पर्यो, पानी पनि पिउनु पर्यो।

चौतारीमा थकाई मार्न के उक्लेको थिएँ, कतैबाट आवाज आयो, “थाक्नु भयो है, बाबू? घाम पनि चर्किचन्! बस्नुस्, यहाँ शिऽऽतल छ। कति भागदौड गर्नुहुन्छ? जति भागदौड गरे पनि तपाईंको गन्तव्य कहीँ जाँदैन क्यारे! एकछिन बसेर गए पनि पुग्नुहुन्च, बस्नुस्।”
“ए, मैले त हजुरलाई नदेखेको,” मैले छक्क हुँदै भनेँ ।
“म त सधैँ यहीँ हुन्छु, मान्छेहरु मलाई यादै अर्दैनन् र पो! मलाई याद नगर्ने तपाईं पहिलो व्यक्ति पनि त होइन। ढुक्क हुनुस्,” उनले भनिन्।
“हजुरको घर यही गाउँमा हो?”
“अँ बाबु, यो बाटो देख्नुभा’छ नि, यस्कै सिरानमा छ मेरो घर।”
“ए, अनि यो गाउँमा होमस्टेको व्यवस्था छ कि छैन नि, आमा?” मैले बास बस्ने व्यवस्थाको बारेमा सोधेँ। मसँग झोलामा भाडामा ल्याएको टेन्ट त छँदै थियो तर पनि बास पाए खानाको पनि व्यवस्था हुन्थ्यो, त्यही भएर होमस्टेको बारेमा सोधेको थिएँ।
तर उनले मेरो कुरा सुनेको नसुन्यै गरिन्।
मसँग बोल्दै गर्दा बुढी बारम्बार बाटोतिर नजर पुर्याउँथिन्। हत्केलाको छानो बनाएर परपरसम्म आँखा तन्काउँथिन् अनि मतिर फर्किन्थिन्।

“आमा कस्को बाटो हेर्दै हुनुहुन्छ, कुन्नी?” धेरैबेर बाटो हेरेको देखेपछि मैले सोधेँ।
“कस्को हुनु नि, मेरा खसमको!”
“कहाँ जानु भ’को छ र बुबा?”
“उनी इन्यामा जागिर अर्चन। छिट्टै आउँचु भन्थे, खै कैले आँउने र’चन! बाटो हेर्दै बसिचु। कुनै दिन त आउलान् नि भनेर!” उनले कुरा खुलाइन्।
“ए, अनि सधैँ यहीँ आएर बाटो हेर्दै बस्नुहुन्छ?”
“अँ बाबु, जसरी नि वर्षको एकपटक आउँचु भन्याथे। यो वैशाखमा त आउलान् नि भन्ने आश लिएर बसेकी छु।”
“एऽऽ, अनि घरमा को को हुनुहुन्छ त?”
“अहिले त म मात्रै छु, बाबु!”
“अनि हजुरका छोराछोरीहरु नि?”
एकछिन गम्भीर भएर उनले भनिन्, “एउटा लायकको छोरो थ्यो। मास्टरी अर्थ्यो। जनयुद्धताका बेपत्ता भएको, न लाश भेटियो, न सास ! मैले त अब आशै मारिसकेँ, बाबु। अब त मलाई केवल बुधेका बाको आश छ।”
“अनि?”
“अनि त म सधैँ एक्लै। सधैँ यसरी नै बाटो कुरिरहन्चु, बुधेका बाको!”
“अनि खाना खानुभयो त?”
“अँ खाएँ, बाबु! बुढ्यौली लागेर होला खासै रुच्दैन। चराले चारो टिपे जति खाएँ।”
“यो चौतारी निकै उपयोगी रहेछ हगि? बटुवालाई सुस्ताउनलाई !” मैले विषय परिवर्तन गरेँ।
उनले टाउको उचालेर पीपलको हाँगातिर हेर्दै भनिन्, “अँ, निक्कै उपयोगी छन् यो रुख अनि यसका हाँगाहरु!”
“अनि किन त बाले हजुरलाई एक्लै छोडेर जानु भएको?”
“हाम्रो एक्लो छोरो बुधे लापत्ता भएदेखि उनी पनि एकोहोरो भाका थे। धुँइपात्ताल लगाएर खोज्दा पनि बुधेको नामोनिशान भेटिएन। त्यसको केही महिनापछि एकदिन बुधेका बा एक्कासि झोला बोकेर निस्किए। मैले उनलाई रोक्ने लाख कोसिस अरेकी थेँ, माने पो! यो पालि जान्चु र हिसाबकिताब मिलाएर फेरि नजाने गरी आउँचु, नआत्ती घर हेरेर बस भनेर हिँडेका थे। मलाई विश्वास छ उनी जसै आउँचन्। तर कहिले आउँचन्, त्यो चैँ थाहा भएन।”
“कस्तो नराम्रो घट्ना घटेको रहेछ हजुरको परिवारमा। सुनेर साह्रै दु:ख लाग्यो,” मैले सहानुभूति व्यक्त गरेँ।
“एक्लो छोरो भएकाले पनि दु:खसुख पढाएका थ्यौँ। सुरुमा हामीले पढायौँ, पछि हामीलाई नै पढाउन थालेको थ्यो। पहिलोपटक खाली पानामा आफ्नो नाम लेख्न सक्ने भएकोमा मेरो आँखाबाट आँशु नै आएको थ्यो। मेरो आँखाको आँशु देखेर ऊ पनि रोएको थ्यो। बुधेका बा चाडबाड पारेर वर्षमा एकपटक आउँते। हामी सबै खुशी नै थियौँ। तर, खै कस्को आँखा लाग्यो कुन्नी..” आमै अड्किइन्।
“अनि बुबा जानुभ’को कति भयो त, आमा?”
“खै कति भयो, भयो, थाहै छैन। ए साँच्ची, बरु हजुरले बाटातिर कोइ बूडोमान्छे भेट्नु भएन?” एक्कासि भावुक मुद्रा फेरेर चम्किलो अनुहारमा बदलिँदै सोधिन्।
“अहँ आमा, मैले बाटोमा त्यस्तो कोही पनि भेटिनँ!”
मेरो उत्तरले उनी नाजवाफ भइन्।
“तपाईंलाई थाहा छ उनी कति ठूल्-ठूला कुरा गर्चन्? एकपटक उनी छुट्टीमा इन्याबाट आएका थे। मैले घरभित्र पस्नुअघि ढोग्न खोज्दै थेँ, उनले मलाई रोक्दै भनेका थे- लाटी, यो के अरेकी? यस्तो अर्न पर्दैन। तिम्रो स्थान पाउमा होइन, मुटुमा छ। त्यसपछि अँगालोमा बेर्दै थपेका थिए- तिमीले जसरी मलाई श्रद्धा देखाउँचौ, त्यसको लागि म निकै आभारी छु। तर म भगवान होइन। म त ढुंगा हुँ, बगरको बेबारिसे ढुंगा। तिमी बरु मन्दिर हौ, जसको साथ पाएर म मूर्ति भएँ। तिमीबिना त म केही पनि हुन सक्दिनँ। वास्तवमा भगवान् र मन्दिर दुवै तिमी हौ, कमसेकम मेरा लागि। त्यसैले तिम्रो स्थान यहाँ हो, पाउमा होइन। अनि सम्बन्ध भनेको सधैँ बराबरको हुनुपर्च। जुन सम्बन्धमा बराबरीको भावना हुन्च, त्यो सम्बन्ध दिगो र सुमधुर हुन्च। अब तपाईं नै भन्नुहोस्, यति माया गर्ने मान्छे नआउलान् त?”
“हुजरको कुरा सुन्दा त बुवा पक्कै आउनुहुन्छ जस्तो लाग्च।”
मेरो प्रतिक्रियाले उनको अनुहारमा खुशीको आभा भरिएर आयो।
शरीरको पसिना ओभाए जस्तो लागेपछि म त्यहाँबाट हिँड्ने निधो गरेँ। साँझसम्म गतिलो ठाउँ पाए बास बस्ने, नत्र अँध्यारो नपर्दै राम्रो ठाउँ खोजेर टेन्ट गाड्नुपर्ने थियो।
“आमा, अब म लाग्छु पनि। हजुर त एकछिन बस्नुहुन्छ होला नि है? म त रात पर्नुअघि कतै बास बस्न मिल्ने ठाउँ खोजेर टेन्ट गाड्नु छ। फर्किदा फेरि भेट होला, अहिलेलाई लागेँ है! आफ्नो ख्याल राख्नु!” यति भनेर आफ्नो रुकस्याक भिरेँ र आमैलाई नमस्ते गर्दै त्यहाँबाट हिडेँ। आमै अझै बूढा आउने बाटोतिर हेर्दै थिइन्।
हिँड्दाहिँड्दै आधा घण्टाको उकालो उक्लिएपछि एउटा गाउँ आयो। गाउँ पुग्दा तीन बजेको थियो। सोचेँ, अब तीन-चार घण्टा हिँडे भने त बाटो छोटिन्छ, भोलिलाई सजिलो हुन्छ। बरु अब आउने गाउँ कति टाढा छ, त्यो बुझ्नु पर्यो।
एकजना हातमा लामो बेतको लौरी लिएर भेडाको बथान खेद्दै मनेर आइपुगे।
“दाइ, यो कुन गाउँ हो?” मैले सोधिहालेँ।
“यो बिर्लेट गाउँ हो, भाइ! हजुर कहाँसम्म?” उनले उत्तरसँगै प्रश्न पनि सोधे।
“ए, म त यसै विरक्तिएर कथा खोज्न गाउँ डुल्दै हिँडेको!”
“कथा त रच्ने होइन र? यसरी गाउँ-गाउँ डुलेर नि कथा भेटिन्छ त?” उनले अर्को प्रश्न गरे।
“कहिलेकाहीँ मान्छेको कथा रच्ने शक्ति नै रित्तिन्छ। जब उसको क्षमता रित्तिन्छ, ऊ कथा बाहिर दुनियाँमा छ कि भनेर खोज्न निस्कन्छ। अनि कतै भेटेका तिनै टुक्राटाक्री गाँसेर शब्दको सहारामा माला उनेझैं कथा उन्छ। जस्तै, अघि भर्खर मैले बाटोमा एउटी बूढी आमै भेटेँ। उहाँसँग पनि निकै मार्मिक कथा थियो। मैले उहाँबाट कथाको लागि आवश्यक खुराक लिइसकेँ। अब ती टुक्राटाक्रीलाई जोड्न मात्र बाँकी छ,” मैले बताइदिएँ।
“को बूढी आमै? कहाँ भेट्नु भो?” उनलाई मेरो कथा लेख्ने प्रक्रिया भन्दा पनि मैले कसको कथा लिएँ भन्ने कुरामा बढी चासो भएको मैले लख काटेँ।
“त्यही तल चौतारीमा हुनुहुन्थ्यो, बाजे आउने बाटो कुर्दै हुनुहुन्थ्यो,” मैले भनेँ।
“हजुरले नाकमा बुलाँकी र टाउकोमा मझेत्रो बाँधेकी आमैको कुरा त गर्नु भएको होइन नि?” उनले अलि काँपेको स्वरमा भने।
“हो त, तिनै आमैको कुरा त गरेको मैले। के तपाईं चिन्नुहुन्छ?”
“किन नचिन्नु! सात गाउँले चिन्छ तिनलाई तर तपाईंले उहाँलाई कसरी देख्न सक्नुहुन्छ?” उनले निधार खुम्च्याउँदै सोधे।
“किन र? म त्यही बाटो त आएको, चौतारीमा सुस्ताउन उक्लेको के थिएँ, उहाँसँग भेट भयो र केही कुराकानी पनि!”
“तर…!” उनि अड्किए।
“तर के? के भन्न खोज्दै हुनुहुन्थ्यो, भन्नुस् न?” मैले कर गरेँ।
“तपाईं पढेलेखेको देखिनुहुन्छ। मलाई थाहा छ, तपाईं मेरो कुरामा विश्वास गर्नुहुने छैन। त्यसैले म दुवै जनाको समय बर्बाद गर्न चाहन्नँ। मेरा भेँडा लाखापाखा लागे, म पनि लागेँ।”
उनले सिधै कुरा टुंग्याइदिए र भेडाको बगाल ततेर्नतिर लागे।
मेरो मनमा उत्सुकताको बिउ छरेर उनी मदेखि पन्छिन् चाहे तर मैले उनलाई पछ्याएँ।
“के भन्न खोज्नु भएको थियो, कृपया खुलस्त भनिदिनु भए आभारी हुने थिएँ,” मैले भेडाको बगाल एकै ठाउँमा जम्मा पार्न सहयोग गरेझैँ गरेर भनेँ।
“भूतप्रेत, आत्मामा विश्वास राख्नुहुन्छ?” उनले सोधे।
म अल्मलिएँ। म अल्मलिएको भेउ पाएपछि उनी गलल्ल हाँसे। उनको अट्टहासले पाखै थर्कियो।
“कता जान लाग्नुभएको थियो यसरी नअल्झिनुस्, मलाई पनि यिनीहरुलाई चराउन लान ढिला भैसक्यो।” उनी मदेखि पिछा छुटाउनतिर लागे।
“मलाई विश्वास त लाग्दैन, तर यसमा किन यो प्रश्न सोध्नुभएको मैले भेउ पाउन सकिनँ?”
“हत्तेरी, तपाईं त साह्रै ज्याद्रो हुनुहुँदोरहेछ । जुन कुरामा विश्वास नै गर्नुहुन्न, त्यो कुरामा यति साह्रो दिलचस्पी किन?”
मलाई औडाहा भैसकेको थियो। म एउटा ढिस्कोमा थचक्क बसेँ। उनी भेडाहरु एकै ठाउँमा जम्मा पार्नतिर लागे। म उनीतिर याचना मिसिएको अनुहारले टुलुटुलु हेरिरहेँ। केहीबेरमा भेडाहरु चरनमा मस्तसँग चर्न थालेपछि उनी म भएतिर आए।
नजिकै आएर उनले भने, “तपाईंजस्तो हठी मान्छे मैले आजसम्म देखेको छैन ल !” अनि थपे, “अब मसँग मैले सुनेको कुरा भन्नेबाहेक अरु केही उपाय बाँकी रहेन। कुरा त म सबिस्तार भन्छु नै तर मेरो एउटा शर्त छ।’”
“कस्तो शर्त?” मैले सोधिहालेँ।
“त्यो के भने, तपाईं मेरो कुरा सुन्नु मात्र हुनेछ, बीचमा रोक्न पाउनु हुनेछैन। अनि केही प्रश्न पनि सोध्न पाउनु हुने छैन। मन्जुर छ?”
मसँग अरु कुनै उपाय थिएन, त्यसैले यन्त्रवत् मुस्कानसहित मुन्टो हल्लाएर आफ्नो सहमति जनाएँ।
उनी सुरु भए-
ती आमै, जसलाई हजुरले बाटोमा भेट्नुभयो, यही गाउँकी हुन्। उनको परिवारमा उनी, उनका श्रीमान् र एउटा छोरा गरी जम्मा तीन जना थिए। सबै भन्थे, बूढा भारतको बम्बैमा चौकीदारी गर्छन्। उनी हरेक साल घर आउँथे। छोरो पनि लायकको थियो। गाउँकै स्कुलमा पढाउँथ्यो। सबै राम्रै चलिरहेको थियो। कुरा लगभग सातआठ वर्ष अघिको हो। जनयुद्धताका एकदिन कक्षामा पढाइरहेको बेला सुराकी गर्यो भनेर माओवादीले गायब नै गरिदिएछन्। त्यसको केही वर्षसम्म पनि बूढा, बूढी एक्लै छे भनेर हरेक साल आउँथे। प्रत्येक पल्ट बूढी अब केका लागि दुःख गर्ने, नगए हुँदैन भनेर बूढालाई रोक्ने भरमग्दुर प्रयास गरिरहन्थिन्। त्यो साल बूढा यो अन्तिम पटक हो, हिसाबकिताब मिलाएर कहिल्यै नजाने गरी आउँछु भनेर हिँडेको थिए। त्यसपछि बूढी जहिल्यै त्यही चौतारीमा बूढाको बाटो हेरेर बसिरहन्थिन्। उनी एकदिन गाउँभरि बुधेका बाले इन्डियामा अर्कै घरजम गरेर बसे भन्ने हल्ला फिँजियो। त्यसको केही दिनमै बूढीले त्यही पीपलको बोटको हाँगामा झुडिएर देह त्याग गरिन्। त्यसपछि जो नयाँ मान्छे यो गाउँमा आउँछ, उनको आत्मा बूढाको बारेमा सोधिबस्छ। हजुरले देखेको पनि उनैको आत्मा थियो, जो आजसम्म पनि त्यहीँ कुरिरहेछ।”
यति भनिसकेर मलाई प्रश्नैप्रश्नको सागरमा डुबाएर उनी भेडा चरिरहेको ठाउँमा गए। हेर्दाहेर्दै भेडाहरुको बगाल लिएर उनी सरासर घरतिर लागे।
यता म भने, बूढीले घरीघरी बाटो हेरेको, पीपलको रुखको तारिफ नगरेर हाँगाको तारिफ गरेको र उनको मुहारमा रहलपहल बाँकी रहेको आशाका त्यान्द्राहरु झलझली सम्झिरहेँ। उनले भनेका हरेक वाक्यहरुलाई कथासँग जोडेर बुझ्न खोजेँ। सबैभन्दा घत परेको कुरा के थियो भने, उनले भनेकी थिइन्, “बाबु, हामी जीवनमा आफूलाई यति व्यस्त राख्न खोज्छौँ नि, हामी आफ्नो वरपरका अत्यन्तै प्रिय मान्छेहरुको साथ र चाहनालाई नजरअन्दाज गर्दै भाका सारिरहेका हुन्छौँ। भित्तेपात्रोमा कहिल्यै नआउने दिनलाई पनि हामी चिनो लगाएर राखेको हुन्छौँ। भित्तेपात्रोमा ३३ गते कहिल्यै नआएझैँ, हामीले चिनो लगाएर राखेको त्यो दिन पनि हाम्रो जीवनमा कहिल्यै आउँदैन। तर पनि हामी कुरिरहेका हुन्छौँ, एउटा चमत्कारको झिनो आश लिएर। म पनि बुधेका बा आउलान् र उनीसँगै चारधाम दर्शन अर्न जाउँला भनी कुरिबस्याछु। उनले वाचा गरेका थिए। भित्तेपात्रोमा यो दिन जाने भनेर चिनो लगाएका थिए।”
यी सब सम्झिरहँदा मलाई एक्कासि मेरो परिवारको याद आयो। खल्तीबाट मोबाइल झिकेर आमालाई फोन लगाएँ। आमाले मेरो फोन भन्ने चिन्नेबित्तिकै भन्नुभयो, “म तँलाई नै सम्झिरहेकी थिएँ। तेरो आयु लामो छ। आजै सपनामा पनि देखेकी थिएँ। सन्चै छ नि तँलाई? घर कहिले आउँछस्?”
“सन्चै छु। म छिट्टै आउँछु,” मैले यति मात्र भनेँ र फोन राखिदिएँ। गला नै अवरुद्ध भएको थियो।
लगत्तै श्रीमतीलाई पनि फोन गरेँ। उनले फोन उठाएर मेरो आवाजको प्रतीक्षा गरिरहिन्।
“के छ, सुबु?” मैले बोलेँ।
“म ठीक छु, हजुर सन्चै हुनुहुन्छ? घर कहिले आउनुहुन्छ? हजुर नहुँदा निकै अत्यास लाग्छ। छिट्टै घर आउनु न है?”
“म छिट्टै आउँछु।” यति भनेर फेरि फोन काटिदिएँ।
यी घट्नाहरुले मलाई आफ्नो परिवार प्रतिको जिम्मेवारीबोध गराइदिएको थियो। आजसम्म म यी सब कुराहरुबाट भागिरहेको थिएँ। भाग्न खोजिरहेको थिएँ।
अन्ततः म घर फर्कने निर्णयमा पुगेँ। जुन बाटो आएको थिएँ, त्यही बाटो भएर फर्किएँ। तर यस पटक ती बूढीआमैलाई त्यो चौतारीको वरपर कतै देखिनँ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...