रविन थपलिया

रविन थपलिया (क्यानडा)

अरु साथीहरूजस्तै
चाहेर-नचाहेर
ऊ पनि मेरो साथी भएछ
साँच्चै, ऊ गोरो होइन
रातो छ,
बोलाईमा स्लाङ ज्यादा
व्यवहारमा ल्याङ ज्यादा
जातिवादको एउटा नमूना
मुर्खताको एउटा पर्याय
आफ्नो परिचयमा भन्छ-
“पुस्तौनी पेशा प्लम्बिङ
पढाइ कम, पैसा ज्यादा
जन्मे यहीँ, मर्छु यतै
छैन देशको बोर्डर काट्या।”

उसलाई ब्राउन छाला
सबै इन्डियन लाग्छ
भोकाहरूको देशको मान्छे
खाना खोज्दै हिँड्नेहरूको बथान
भगवान् धेरै भएर साँघुरो भई घर छोडेकाहरू
प्रेमभन्दा ज्यादा बलात्कार गर्नेहरू बस्ने ठाउँ
मान्छेहरुको किनबेच हुन्छ
भीड छोडेर भीड गर्न आएकाहरूको भीड
हो,
यस्तै यस्ता दृश्यहरूले भरिएका छन्
उस्को मन, चिन्तन र जीवन
अनि उस्ले एउटा निष्कर्ष निकालेको छ-
ऊ मान्छे हो
र, उनीहरू इन्डियन हुन् ।

उस्लाई चिम्सा आँखा हुने
सबै चाइनिज लाग्छ
सरकारको कामै गोली ठोक्ने हो उता
बोल्यो कि मार्छ
यताका व्यापार सुकाउन आएकाहरू
यताका साधन स्रोत दोहन गर्न आएकाहरू
एकदिन हामीलाई अल्पमतमा पार्छन्
हामीलाई चाँडै राज गर्छन्
यस्तै सचित्र सजिएका छन्
उस्को मन, चिन्तन र जीवन
अनि उस्ले एउटा निचोड निकालेको छ
यिन्ले जे पनि बेच्छन्
जे पनि खान्छन्

जे पनि गर्छन्।

उस्लाई मुस्लिमहरू
सबै आतंककारी लाग्छ
देशको कानुन नमान्ने अराजकहरू
धर्मका अन्धाहरू
श्रीमतीलाई नोकर्नी ठान्नेहरू
बच्चा पाउने मसिन मान्नेहरू
खल्तीमा ग्रिनेड बोकेर हिँड्छन्
अरु धर्म मान्नेहरू सबैलाई सक्छन् एकदिन
यस्तै यस्ता रङले भरेको छ
उस्को मन, चिन्तन र जीवन
अनि उस्ले एउटा सार निकालेको छ–
यिनीहरू कि मर्छन्
कि मार्छन्
तर बाँच्दैनन् ।

ऊ बेलाबेला
झोकिन्छ
मुरमुरिन्छ
खुट्टा बजार्छ

यताको सरकारलाई धारेहात लगाउँछ।

उस्को बेचैनीमा
म एक्लै हाँस्छु कहिलेकाहीँ
कठै विवेकको गरिबी …
कति रमाइलो छ उस्को हिसाब-
सबै प्रवाशी शरणार्थी हुन्
जसै
मेरा हजुरबाका लागि सबै गोरा अम्रिकाने थिए ।

टोरोन्टो, क्यानडा