
हरिभक्त कटुवाल

हरिभक्त कटुवाल
म ऐलान गरिरहेछु
उनीहरू केवल कागजका बाघ मात्र हुन्
म ऐलान गरिरहेछु
उनीहरू नाङ्लो ठटाएर हात्ती तर्साउन पल्किएका
मुकुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन्
त्यसैले मागेर हामी अब कसैसित केही लिन्नौँ
हाम्रा अधिकारहरू खोसेर लिन सक्ने भएका छौँ हामी
ती फ्याउराहरूको हुललाई
बाघजस्तै झम्टन सक्ने भएका छौँ हामी
भइसकेको छ- एकचोटि शक्ति परीक्षण भइसकेको छ
र विजय हाम्रो भएको छ र यो हाम्रो पहिलो विजय हो
जारी रहने छ हाम्रो विजय अभियान
अन्तिम लक्ष्य नपुगेसम्म जारी रहने छ
समर्पित छ हाम्रो यो वर्तमान
यसले भोलि एउटा उज्ज्वल इतिहास कहने छ
यसैले त म ऐलान गर्न सकिरहेछु-
कि उनीहरू केवल कागजका बाघ मात्रै हुन्
नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका
मुकुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
