साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मास्क महात्म्यको भर्चुअल संवाद

अँ त, शिव सर कक्षामा आएपछि मलाई उहाँलाई मात्र हेरिरहुँ जस्तो लाग्थ्यो । त्यो नाकको डाँडीमा चस्मा बस्ने ठाउँमा बसेको मास्कको उपल्लो घेराले मलाई निकै पिरोल्थ्यो । एक त उहाँ बोलेको स्वर नै कस्तोकस्तो सुनिन्थ्यो, अर्कातिर उहाँको नाकका डाँडीमा बसेको मास्कको उपल्लो घेराले आएर मेरो नाकको डाँडीमा कस्तोकस्तो काउकुती लगाएजस्तो हुन्थ्यो ।

Chovar Blues Mobile Size

नेपालमा कोरोना प्रभावको प्रारम्भिक समयतिरै डा. भुवन न्यौपाने र म घुम्ने क्रममा चिन्तन गर्थ्यौँ, अब मास्क नलगाउँदा त आफू नाङ्गै छु कि झैँ लाग्छ । उतिबेलै अरूले मास्क लगाएको देखिएन भने— ‘हेर हेर नकचरो ! मास्क पनि नलगाई हिँड्ने, थुइक्क !’ भनौँ कि जस्तो लाग्ने भइसकेको थियो ।

‘अब बिहे गर्दा दुलही वा दुलाहालाई दिने लुगाको सेटमा मास्क अनिवार्य हुने भयो । बरु पेन्टी छुटे केही हुँदैन, मास्क त छुट्नै नहुने भयो ।’ भुवनजी तर्क गर्नुहुन्थ्यो ।

लकडाउन भाग १ को त्यस्तै पाँचौँ–सातौँ दिनतिर हामी यस्तो सोच्थ्यौँ । १२० दिनको लकडाउनबाट हामीले त्राण पायौँ । यस्तो लाग्यो, हामीले गरेको कल्पना असत्य भयो । कोरोनापूर्व पनि यो काठमाडौँ खाल्डामा मास्क नलगाउने मान्छेलाई अरू मान्छेले बिल्ला नगरे पनि रुघाखोकी आदि रोगले महिनैपिच्छे जिस्काइरहन्थे ।

लकडाउनपछि खुल्ला मुखले हावा खाने मनसुवा जागेर दुईचार दिन त म मास्कबिनै निस्फिक्री घुमेँ पनि । वर्षौँदेखि बाँधिएको जन्जिरबाट मुक्ति मिलेको आभास भयो । मास्क नलगाएको देखेर धेरै मानिसले मैतिर क्वारक्वार्ती हेरिरहे । मैले सोचेँ, लकडाउनमा मजैले खाइयो, घाममा निस्कनु परेन, जुँगा पनि मुठ्याउने जस्ता भएका छन्; सायद, मेरो अनुहारको चमक र जुँगाको सौन्दर्य हेरिरहेका होलान् उनीहरू । म मक्ख परिरहेँ । कतिपय मान्छेहरूले मुखामुख (मास्कसहित) गरेर मैलाई चोर औँलो देखाइरहँदा र खुतखुत गरी हाँसिरहँदा पो मेरो दिमाखको बिर्को खुल्यो, ‘ला ! मैले त मास्क नै लगाएको छैन !’ लाजले रातोपिरो हुँदै घरतिर कुदेँ । त्यस दिनदेखि घरबाहिर जाँदा मास्क नलगाई जाने गरेको छैन । अब त अभ्यस्त पनि भइसकियो । चिसो हावा खान चाहने फोक्सोले पनि कुरा बुझिसकेको हुनुपर्छ- काँढैकाँढा टाँसिएको अनुहार भएको, सधैँ मान्छे खान ‘आँ’ मात्र गरिरहने कोरोना किरालाई निम्तो दिनुभन्दा त तातो हावा खानु नै उचित !

विगतमा मास्क र मुखका बिचको सम्बन्धका धेरै कहानी छन्, चिया (सिया पनि हुन सक्छ) खुवाउँदै फुर्सद मिलाएर कुनै दिन सुनाउँला । अहिले म तपाईँलाई आजकै सत्य घटनामा आधारित, देशप्रेमले ओतप्रोत एउटा सन्दर्भ सुनाउन खोजिरहेको छु ।

sagarmani mobile size

धन्दा नमान्नुहोस् ! मेरी प्रेमिकाको बारेमा होइन ।

लौ, किन उठ्नुभएको ? कविता त मरे सुनाउँदिनँ ।

भाषण ? मरिजाउँ, त्यो सुनाउन म नेता हुँ र !

आज म तपाईँलाई मास्क महात्म्यको भर्चुअल संवाद सुनाउँछु । ध्यान दिएर नसुने पनि बुझिहाल्नुहुन्छ । त्यसैले तपाईँ कुनै काम गर्दै हुनुहुन्छ भने त्यसलाई छोड्नु आवश्यक छैन । एकभक्त र एकचित्त पनि हुनु आवश्यक छैन । यो महात्म्य ब्रह्माले नारदलाई, नारदले सौनकादि ऋषिलाई, सौनकादि ऋषिले व्यास वा अन्य कसैलाई, व्यासले ऊ त्यो अग्लो चौकामा बसेर पाठ गर्ने महापण्डितलाई र उसले हामीलाई सुनाएको कथा हुँदै होइन ।

नौ कक्षामा पढ्ने बेलामा मैले मास्क भन्ने जिनिस पहिलोपल्ट दूरदर्शन गर्ने सौभाग्य पाएको थिएँ । हामीलाई कृषि पढाउने शिव सरले मास्क लगाईलगाई पढाउनुहुन्थ्यो । पढाएको पाठमा भन्दा उहाँले लगाएको मास्कमै मेरो बढी ध्यान जान्थ्यो । उहाँको घन्टी सुरु भएपछि मलाई केको हो केको कौतूक जागेर आउँथ्यो । उहाँ छिट्टै आइदिए पनि हुने नि भन्ने भइरहन्थ्यो । मैले देखेको जगत्मा उहाँ एक मात्र त्यस्तो व्यक्तित्व हुनुहुथ्यो जसले मास्क लगाएको छ । उहाँ जुर्लुङ्ग आउँदा मलाई साक्षात् ईश्वर नै आएजस्तो लाग्थ्यो ।

डा. बालाकृष्ण अधिकारी

उहाँ बाहिरबाटै अझै अफिसबाटै मास्क लगाएर आउनुहुन्थ्यो । मास्क लगाएर बाहिर हिँडेको हेर्ने सौभाग्य हामीले पाए पो ! हापछुट्टीमा उहाँ कता जानुहुन्थ्यो कता ! छुट्टी भएपछि पनि कता हो कता ! एउटा कक्षा र अर्को कक्षाका बिचमा उहाँले लगाएको मास्क हेर्न जाउँ भन्ने साहस गर्न सकिँदैनथ्यो किनभने बिना काम बाहिर निस्कनेबित्तिकै हाम्रा हेडसर आएर हामीलाई नानाभाँती प्रश्न सोध्नुहुन्थ्यो । त्यतिबेला नानाभाँती लाग्थ्यो । अहिले चाहिँ त्यतिबेला हाम्रा हेडसरले ती प्रश्न नसोधेको भए हामी कस्ता हुँदा हौँ भन्ने लाग्छ । अरू केही नपाए एउटा नेपाली वाक्य दिएर ‘ल, अङ्ग्रेजीमा अनुवाद गर’ भन्नुहुन्थ्यो । हाम्रो बाह्र बजिहाल्थ्यो । नेपालीमा पनि सजिलो होइन, कुनै उखान वा टुक्का भएको वाक्य दिएपछि सबैजना ठिङ्गुराय नमः ! नमिलाउने जतिलाई हातभरि रातो डाम बस्ने गरी छडीको गोदाइ मिल्थ्यो ।

अँ त, शिव सर कक्षामा आएपछि मलाई उहाँलाई मात्र हेरिरहुँ जस्तो लाग्थ्यो । त्यो नाकको डाँडीमा चस्मा बस्ने ठाउँमा बसेको मास्कको उपल्लो घेराले मलाई निकै पिरोल्थ्यो । एक त उहाँ बोलेको स्वर नै कस्तोकस्तो सुनिन्थ्यो, अर्कातिर उहाँको नाकका डाँडीमा बसेको मास्कको उपल्लो घेराले आएर मेरो नाकको डाँडीमा कस्तोकस्तो काउकुती लगाएजस्तो हुन्थ्यो । उहाँ निकै मिहिनेत गरेर पढाउनुहुन्थ्यो तर मलाई उहाँले पढाएको कुरा सबैभन्दा बढी त्यै मास्कले बुझेको होला भन्ने परिरहन्थ्यो । त्यसले बुझेर बाँकी रहेको छोक्राछाक्री टिप्न मेरो दिमाख तयार नै हुँदैनथ्यो ।

त्यतिबेला मलाई मास्क ठुला मान्छेले मात्र लगाउने होलान् भन्ने लाग्थ्यो । साँच्चि भनुँ भने मलाई संसारको सबैभन्दा ठुलो मान्छे हाम्रो हेडसर र त्यसपछिको ठुलो मान्छे मास्कवादी शिव सर नै हुनुहुन्छ जस्तो लाग्थ्यो । एसएलसी पास भएपछि अचानक मेरो हात भाँच्चियो । बाले पोखराको गण्डकी अस्पतालमा लानुभयो । त्यहाँका डाक्टरले पनि मास्क लगाएको देखेँ तर कहाँ शिव सरले लगाएको मास्क, कहाँ ती डाक्टरले लगाएको मास्क ! शिव सरको मास्कमा त दुवैतिर बाटेका डोरी हुन्थे जसलाई खोप्रेबुडी (टाउकाको पछाडिको भाग) मा लगेर दुई समूहमा बाँधिएको हुन्थ्यो । शिव सरको मास्क बाक्लो र दामी थियो; डाक्टरको मास्क पातलो र कमसल थियो । डाक्टरका मुखमा मास्क देखेपछि शिव सरप्रतिको सम्मान अझै वृद्धि भयो । ‘बा ! हाम्रा शिव सर त निकै ठुला रचन् !’ बाटोमा हिँड्दा स्कुलका अरू साथीले जिस्काए भने ‘पख् न, म शिव सरलाई भन्दिन्छु; हाम्रा सरले त कस्तो दामी मास्क लगाएर पढाउनुहुन्च’ भन्दिउँ कि झैँ लाग्थ्यो । तर मैले शिव सरको मास्कका बारेमा कहिल्यै कसैसित केही भन्न सकिनँ ।

दश कक्षाको पढाइ सकिएपछि शिव सरसँग मेरो भेट कहिल्यै पनि भएको छैन । आजभोलि यस्सो भेट्न पाए हुन्थ्यो जस्तो लागेको छ । त्यतिबेलै त्यति दामी मास्क लगाउने बुढाले आजभोलि कस्तो मास्क लगाउँदा हुन्, हेर्न मन लागेको छ ।

ला, मैले आजकै कहानी बताउँछु भनेर स्कुले मास्क कहानी पो सुनाएँछु । माफ गर्नुहोस् है ! नगरे पनि केही छैन । तर सुनिदिनुहोस्, विद्याकसम ! अब म आजकै मास्क महात्म्य सुनाउँछु के !

खाना खाएर यस्सो मोबाइल चलाउँदै बसिरहेको थिएँ, म्यासेन्जरको च्याटबक्समा एउटा म्यासेज कोकोहोलो हाल्दै भित्रियो । कोटेश्वर बहुमुखी क्याम्पसका शिक्षकहरूको फेसबुक समूहमा आएको त्यो म्यासेज खोलेर हेरेँ । पढेर एक्लै मुसुक्क हाँसेँ । म्यासेज कोटेश्वर क्याम्पसकै सहकर्मी खिमा कोइरालाले पठाएका रहेछन् । मास्कसम्बन्धी समसामयिक विषयलाई गम्भीर मनन गरेर पठाएको म्यासेजको बेहोरा यस्तो थियो— ‘यसै गरी ५/७ वर्ष मास्क लगाउन परिरहने हो भने अब आउने पिँढीले ठान्नेछन् कि नाकमुख पनि गोप्य अङ्ग हुन् ।’

हामीलाई हाम्रै पुस्तामा यस्तो हुन्छ होला भन्ने नलाग्नु स्वाभाविकै हो किनभने मैले तेह्र वर्षको उमेरमा पहिलोपल्ट मास्क देखेको थिएँ, ३५ वर्षको उमेरमा पहिलोपल्ट मास्क मुखमा टाँसेको थिए । मास्क देखेको २७ वर्षपछि र पहिलोपल्ट मुखमा टाँसेको सात वर्षपछि, हिजोआज मात्र मास्कसँग मेरो गहिरो पिरती बसेको छ । अहिले म छु र त मास्क छ, मास्क छ र त म छु ।

कति मान्छेहरू मास्कसँग पिरती नपरेका कारण परलोक पुगे । तर मेरो मास्क अदृश्य काँढेकिरा नाकमुखबाट भित्र जान्छ कि भन्ने कुरामा निकै चनाखो छ । पहरा दिइरहेछ दिनरात यसले । अचेल मास्क नलगाई सुत्यो भने पनि कस्तोकस्तो, अक्सिजन नपुगेजस्तो, चिसो हावा पसेर फोक्सोमा निमोनिया लगाइदिने हो कि जस्तो लाग्छ । मास्कबिना फिटिक्कै निद्रा लाग्दैन । भित्रभित्रै नाङ्गो अनुभूति हुन्छ, काउकुती पो लागेर आउँछ भन्या !

खिमा सरको म्यासेजप्रति संशय गर्दै भरत घिमिरे च्याटबक्समा लेख्छन्— ‘अनि खाना कसरी खाने, ट्वाइलेटमा गएर खाने ?’

भरत सर किन खानमै केन्द्रित भए ? किन उनले ट्वाइलेट सम्झिए उनै जानुन् ।

खिमा सरले भरत सरको म्यासेजको प्रतिक्रिया लामो हाँसो हाँसेको भाव शब्दमा व्यक्त गर्छन्— ‘हा हा हा हा हा !’

यस हाँसोले उनको धित नमरेपछि दुवै आँखाबाट आँसुका ठुल्ठुला डल्ला नै निस्कने गरी हाँसेको इमोजी पनि पोस्ट गर्छन् ।

मलाई भित्रभित्र के भनुँ के भनुँ हुन्छ । मोबाइलका किहरूमा औँला नाचिहाल्छन्— ‘गोप्य अङ्गले गर्ने सबै काम ट्वाइलेटमा मात्रै कहाँ हुन्छ र ! यस्तो भएमा खाना खाने ठाउँलाई ‘ख्वाइफास्ट’ भन्ने दिन पनि त आउनेछन् ।’

खिमा र भरत दुवैका कुरामा प्रतिक्रिया दिन चाहेकाले होला अलि अश्लील भएँछु म । अप्रासङ्गिक शब्द साथीहरूलाई बिझाउला भनेर मैले ‘छिटोछिटो खाने र मुख छोपिहाल्नुपर्ने भएकाले’ लेखेर ‘ख्वाइफास्ट’ को खोलुवा दिन्छु ।

भरत सर प्रतितर्क गर्नमा खप्पिस देखिन्छन्— ‘ख्वाइलेट पनि त भन्न सकिन्छ !’

अङ्ग्रेजी भाषाको ‘ट्वाइलेट’ सँग न त अगाडिको ‘ख्वाइफास्ट’ को न त ‘ख्वाइलेट’ को सहचारी सम्बन्ध थियो । तर भरत सर बारम्बार शब्दको अन्तिममा किन ‘लेट’ झुन्डाइरहन चाहन्छन् भन्ने कुराको खोजी गर्नका लागि कोरोनाबाट समग्र मानवजाति मुक्त भएपछि एक सदस्यीय जाँचबुझ आयोग बनाउने सोचमा छु म ।

उनी आफ्नो तर्कलाई अझै बलियो बनाउने प्रयत्न गर्दछन्— ‘यस्तै हो भने अब खुइलेट होलाजस्तो छ ।’

‘खुइलेट’ संसारको कुनै शब्दकोशमा भएको शब्द होइन र पनि यसले हामीबिच विचारको सम्प्रेषण कसरी गर्न सक्यो खै ! हामीबिचको यस संवादले मलाई कोरोना त्रासदीको निकट भविष्यमा पुर्‍याउँछ । मैले तर्कमै टाइम ट्राभल गर्ने विचार गर्छु—

‘त्यस समयमा प्याच्च थुक्नका लागि थुकलेटहरू बनाइनेछन् । सरकारले थुकलेटमा गएर थुक्नका लागि अनिवार्य बनाउनेछ । थुकलेटमा नथुकी जथाभावी थुक्नेलाई रू. ५०,०००।– जरिवाना तोक्नेछ । ‘जथाभावी थुकेको फोटोसहित उजुरी गर्नेलाई रू. ३,००,०००।– पुरस्कारको व्यवस्था’ लेखिएका सूचनापाटी, होडिङबोर्ड ठाउँठाउँमा टाँगिनेछन् ।’

‘तिनै सूचनापाटी र होडिङबोर्ड बनाउँदा पनि भ्रष्टाचार हुनेछ । पार्टीका कार्यकर्ताबिच सूचनापाटी र होडिङबोर्ड कसले बनाउने भन्ने विषयमा होडबाजी चल्नेछ । हानाहान र काटाकाट पनि हुनेछ । ठुलो हुलदङ्गा मच्चिनेछ । त्यसपछि सोझै प्रधानमन्त्रीले त्यसमा हस्तक्षेप गर्नेछन् र त्यो बनाउने जिम्मा ओम्नी वा पप्पु आदि नामधारी कन्स्ट्रक्सनले पाउनेछन् । त्यसैको कमिसन डकारेर त्यतिबेलाका मन्त्रीले पनि पत्रकारको प्रश्नमा भन्नेछन्— ‘ह्याँ आफ्ना घराँ पाउना आएका छन्, मलाई केही भन्नु छैन ।’

आफूलाई मन लागेको सबै कुरा कहाँ लेख्न पाइन्छ र ! यो त नागरिक सर्वोच्चता भएको सङ्घीय गणतान्त्रिक व्यवस्था पो हो त ! जे पायो त्यही लेख्यो र कतै त्यो हाम्रा प्रधानमन्त्रीज्यूकोमा पुग्यो भने मेरो त ‘राम नाम सत्य !’ त्यसैले लेख्न चाहेर पनि यी सबै कुरा च्याटबक्समा लेख्न सकिनँ ।

अर्थशास्त्र पढाउने केपी सरलाई मेरो कुरा चित्त बुझ्दैन । उनले दुवै गाला तलतिर खुम्च्याउँदै आँखा ठुल्ठुलो बनाएर रिसको भाव जनाउने इमोजीले मेरो म्यासेजमा चड्कन लगाउँछन् ।

उता भरतका मनमा केके कुराहरू सल्बलाउँछन् कुन्नि ! उनी फेरि लेख्छन्— ‘मेरो विचारमा सबैको पछाडि ‘लेट’ लगाइदिउँ, हामी मर्लेटमा नजाउन्जेलसम्मका लागि ।’

उनले तत्कालै थपिहाल्छन्— ‘बिहे गर्न त उभिन सक्नुपर्‍यो नि अब !’

पहिलेकै कुरा समातेर सुस्त गतमा उनी पनि मैलाई थचार्न कम्मर कसेका पो हुन् कि !

पहिले ‘लेट’ सँगको सम्बन्ध, अब बिहेको प्रसङ्ग भरत किन उठाउँदै छन् भन्ने कुरामा गम खाँदाखाँदै कति बेला मेरा औँला किबोर्डमा कुम्फु खेलिसक्छन् मैलाई थाहा हुँदैन— ‘मान्छे एउटासँग अर्को अपरिचित हुनेछ । विचरा ! ‘बाघको मुख खाए पनि रातै नखाए पनि रातै’ उखानले पनि चेपाङ बस्तीकै नियति भोग्नुपर्नेछ ।

समूहको भित्ताका मूर्ति मात्र बनेका पूर्ण, अर्का भरत, रेशम, मनोजले म्यासेज हतारहतार हेर्छन् । संवादमा रहेका भरत र खिमा पनि हेर्नेहरूको सूचीमा जोडिन्छन् । प्रतिक्रियावादी (एकपल्ट भए पनि रिसको इमोजी पठाएकाले प्रतिक्रियावादी भनिएको हो ।) केपीले पनि हेर्छन् । मास्कका विषयबाट आरम्भ भएको हाम्रो भर्चुअल संवादको क्षेत्र निकै फैलिइसक्छ र अझै गतिशील बनिसक्छ ।

भरतलाई अझै चित्त बुझिसकेको छैन— ‘त्यसबेला मान्छेहरूसँग जुत्ता हुनेछैन (सायद सधैँ लकडाउन भएका कारणले मान्छेलाई बाहिर जाने आवश्यकता नै नपर्ने ठाने कि !) । अनि खुट्टा हेरेर मान्छेको पहिचान हुनेछ । अभिवादन गर्दा खुट्टा मिलाउनुपर्नेछ ।’

उनी थप्दै जान्छन्— ‘केटाकेटीको मुख हेरेर होइन खुट्टा हेरेर बिहा हुनेछ । पहिले त्यसै गरिन्थ्यो भनेर बुढापाका भन्थे ।

अब खिमालाई केही भन्नु छ ?’ मुखभरिको जवाफ दिएझैँ गरी उनले मास्कलाई गोप्यवस्त्र घोषणा गर्न तम्सिएका खिमातर्फ प्रश्नको झटारो हान्छन् । बिचरा खिमा ! पूरै तृप्त भएझैँ गरी नेपाली भाषाको विकृत रूप रोमन लिपिमा भरतलाई जवाफ दिन्छन्— ‘Xaina xaina !’

भरत सितिमिति मान्छेलाई त्यत्तिकै छोड्न चाहँदैनन् । अझ उनी मुडमा हुँदा त हुज फादर ह्वाट बेसारपानी ! व्यङ्ग्यको झटारो अत्याधुनिक नेपाली भाषामा यसरी हानिहाल्छन्— ‘हामी कति राम्रो teacher chhau, सब clear !’

यता मेरो भने अझै धीत मरेको छैन । आफूलाई केके न जान्ने हुँ भन्ठान्दै प्रसङ्गलाई सामयिक बनाउन भरतको जुत्ताको प्रसङ्गलाई जोड्ने प्रयत्न गर्छु— ‘अहिले जुत्ता हेरेर मान्छेको व्यक्तित्व चिन्छौँ भन्नेहरू त्यतिबेला ‘फ्ल्याट’ हुनेछन् । त्यतिबेला मास्क हेरेर व्यक्तित्वको पहिचान गर्ने नवबुद्धिजीवीहरू आउनेछन् । एन 95 मास्क लगाउने सम्पन्न वर्ग, त्यसैको डुब्लिकेट लगाउने उच्चमध्यम वर्ग, कपडाको अलि स्तरीय मास्क लगाउने मध्यम वर्ग, पेपर (डाक्टरबाहेक) र कपडाको कम दाम पर्ने मास्क लगाउने निम्नमध्यम वर्ग र साल, कटुज, कुट्मिरो आदिका पात तथा पुराना प्लास्टिकका बोत्तलका मास्क लगाउनेहरू निम्न वर्गका हुनेछन् । मुख्यगरी एन 95 लगाउने र पात, प्लास्टिक बोत्तल काटेर बनाइएका मास्क लगाउनेहरूका बिचमा अघोषित सङ्घर्ष चल्नेछ । एन 95 वालाले आफ्ना पुराना मास्क उच्च मध्यम र मध्यम वर्गलाई जडाउरी दिनेछन् र उच्चमध्यम र मध्यम वर्गकाले आफ्ना पुराना मास्क निम्न वर्गलाई जडाउरी दिनेछन् । निम्नवर्गका मान्छेहरू आफ्नो वर्गोत्थान भएको भ्रममा स्ववर्गप्रति गद्दारी गर्दै उच्च वर्गको समर्थनमा अनेक वक्तव्यबाजी गर्नेछन् । यसरी निम्न वर्गमा फाटो आउनेछ, शक्ति कमजोर हुनेछ । तैपनि उनीहरूले हार खाने छैनन् । सङ्गठन विस्तार गर्दै जानेछन् र एकजुट हुनेछन् । संसारभरि निम्नस्तरीय मास्कवादीको एउटा क्रान्तिकारी सञ्जाल बन्नेछ । उनीहरूले एउटा साझा नारा तय गर्नेछन्— पात र पुराना प्लास्टिक बोत्तलका मास्क लगाउने संसारभरका मास्कवादीहरू एक होऔँ !’

पहिल्यैदेखि भित्तामा बसेर रमितेहरू सबै मौन नै छन् । मलाई भने भित्रभित्रै तिनीहरूको मौनताप्रति औडाहा भइरहेको छ । किन मौन बसेका तिनीहरू ? तिनीहरूले हाम्रो मास्क महात्म्यको भर्चुअल संवादमा श्रोताको अभाव पूरा गर्न चाहेका हुन् वा तिनीहरूलाई हाम्रो यो संवाद मन परेको छैन ? मन नपरेको भए पनि केही त भन्नुपर्ने नि ! कि तिनीहरू सबै निमुखा बनाइएका छन् ? वा मनमनै खित्का छोडेर बाहिर नदेखाउने प्रवृत्ति भएका मनुवा हुन् तिनीहरू ?

मभित्रको अहम् यसरी नै प्रश्नमा तिरोहित हुँदै गइरहेको छ । मलाई तिनीहरूले निकालेका शब्दशब्दमा घोचपेचको वाण हान्न मन छ । तर नबोलेरै तिनीहरूले मेरो अभिमानलाई घाममा सुकाइदिन्छन् ।

साँच्चि, मास्क आजभोलि मान्छेको अभिन्न वस्त्र बनेको छ । एकदिन पुस्तक पसलमा जाँदा साहुनीले मास्क नलगाएकामा मलाई हकारेको याद आउँछ । रेडियो, टेलिभिजन र अखबारका पानाहरूमा मास्क लगाएर ज्यान बचाउने अनेक तरह र स्तरका विज्ञापन आएको मैले देखिरहेकै छु । लकडाउनमा सरकारले मास्क नलगाई लखरलखर हिँड्नेलाई ठाउँको ठाउँ दुई घन्टा उभ्याएको पनि आफ्नै आँखाले देखेको छु ।

मेरो दम्भ आत्मालापमा केन्द्रित हुन्छ । नबोलेर मेरो सेखी झार्न खोज्नेहरूलाई एक्लै बोलेर प्रतिकार गर्न चाहन्छु म । आफ्नै मनको प्रतिबिम्बलाई मौनता बनाएर म एक्लै फतफताइरहन्छु— ‘मास्कको ईश्वरीय सत्ताले मान्छेको अबको अस्तित्व परिवर्तन गर्नेवाला छ । मेरा साथीहरू ! अब मान्छेको मुस्कान हेर्न मास्कको तुना अड्किएको कान हेर्नुपर्नेछ । कानसम्म छालाको मुजा देखियो भने जान्नुपर्ने हुन्छ कि मान्छे हाँसिरहेको छ । हातमा पन्जा लगाइरहेको मान्छे मुट्ठी कसेर दह्रो भयो भने बुझ्नुपर्ने हुन्छ कि ऊ रिसाइरहेको छ । अब मान्छेका गालाको आँसु पनि कम देखिनेछ । शेरबहादुर देउवाले केपी ओली प्रधानमन्त्री भएपछि त्यसै भनेका हुँदै होइनन्— ‘कम्निस्टको शासनमा रुन पनि पाइँदैन ।’ आँसु झर्नेबित्तिकै मान्छेका आँसु मास्कले निल्नेछ । प्रेम नामको वस्तु अब मरुभूमिमा पानीजस्तै हुनेछ । मान्छेले अब भर्चुअल प्रेममा विश्वास गर्नेछ । अब मान्छेले शारीरिक सुखका अनेक रूपलाई तिलाञ्जली दिनुपर्नेछ । अब मान्छेले सोलो गीत मात्र गाउनेछ; सामूहिक गीत गाउनका लागि अदृश्य काँढेकिरो बाधक बन्नेछ । गीतमा सुरिलोपन कम हुनेछ । सुरिलोपनजति सबै मास्कले खानेछ । अब मान्छेले आफूले लगाएको मास्कमा देशको झन्डाको छाप हान्नेछन् । मास्कलाई नै हेरेर मान्छेको देश र वर्ग पहिचान हुनेछ ।’

खुइय्य सास फेर्छु । मन अझै शान्त भइसकेको छैन । एक्लै बर्बराइरहन्छु— ‘सडकै ढाकिने गरी राखिएका होडिङबोर्ड, पर्खाल र बिजुलीका पोल नै भरिने गरी टाँसिएका विज्ञापन, प्रचार, फोटा प्रदर्शनीबाट अब समाजले मुक्ति पाउनेछ । सडकमा गुन्डागर्दी कम हुनेछ । गुन्डागर्दी संस्थागत हुनेछ जसको नेतृत्व स्वयं सरकारले गर्नेछ । सडकको मूल्य स्खलित भएको कुरा राम्रोसँग बुझेका हाम्रा प्रधानमन्त्रीले अब आफैँलाई ईश्वर घोषणा गर्नेछन् । सुपरम्यानको पोसाक लगाएका प्रधानमन्त्री उडेर हाम्रा गल्ली, घरछेउ र छतछतमा आए भने पनि अचम्म मानिने छैन । बेसार रङ्गको पोसाक लगाएका औतारी बाबाहरूका सट्टा अब हाम्रा प्रधानमन्त्री जलविहार, मन्दिरविहारमा निस्कनेछन् तर हामीले ‘हाम्रा प्रधानमन्त्रीको जय !’ पनि भन्न पाउने छैनौँ किनभने त्यसो भन्न पनि हामीले हनुमानको पोसाक र लाइसेन्स प्राप्त गरेको हुनुपर्नेछ जुन हामीजस्ता पहुँचविहीनहरूका लागि आकाशको फलजस्तै हुनेछ । नयाँ चुनाव हुने छैन, यही सरकार अजम्मरी हुनेछ । त्यसैले त सरकार अहिले अदृश्य काँढेकिराबाट यस देशको मुक्ति कहिल्यै नहोस् भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गर्दै सोअनुसारको मार्गचित्रसहित अगाडि बढिरहेको छ । फैले फैलोस् काँढेकिरा, मरे मरुन् गरिबहरू ! के चासो ? सरकारलाई त बस् निरन्तर चाहिएको छ अकण्टक परिवेश । जनताका मुखमा मास्क कोचेर सरकार चक्रवर्ती बन्न चाहन्छ, चाहे कीटमा भ्रष्टाचार होस् चाहे थर्मलमा । लेख्नेका अक्षरले गैँडाका छालामा कति नै प्रभाव पार्न सक्छ र ! काग कराउँदै गर्छ पिना सुक्दै गर्छ; जनता रोग, भोक र शोकले आर्तनाद गर्दै गर्छन् सरकार बाँसुरी, झ्यालीझ्याम्टा बजाएर आफ्नै तालमा नाचिरहेको हुनेछ । उसलाई के मतलब ! सत्ताबाट झर्नुपर्ला भन्ने एकरत्ति कल्पना छैन । संसारकै सबैभन्दा उत्कृष्ट नेता प्रधानमन्त्री भएका बखत यस देशलाई सुपर पावर बनाइछाड्ने र आफ्नो नाम संसारको सबैभन्दा प्रतापी प्रधानमन्त्रीका रूपमा स्वर्णाक्षरले लेखाउनै पर्नेछ । भारतसँग वाक्युद्धको नाटक गर्दै देशभित्रका विरोधीहरूलाई तह लगाउने ‘छोरी कुटेर बुहारी तर्साउने’ फर्मुलाका प्रवर्तक हाम्रा प्रधानमन्त्रीको कूटखेल बुझ्न कसले सक्ला र !’

भन्नु पुगेकै छैन मलाई— ‘मानव जातिको रक्षाका लागि वरदान बनेर आएको मास्कमा कालोबजारी गरेर सरकार मिथका रामको मूर्ति बनाउन कम्मर कसेर लागेको छ । हिजोआजका जिउँदाजाग्दा ईश्वरीय प्रतिरूप (जिम्मेदारीका कारण) डाक्टर, नर्स, पुलिस, कर्मचारी, किसान आदि मास्ककै भरोसामा प्रतिकूल समयमा मानवीय सेवामा जुटिरहेका छन् र हामीले थोरै भए पनि राहतको तातो सास फेर्न पाएका छौँ । वास्तवमा मूर्ति त मास्कको बनाउनुपर्ने हो । मूर्ति त तिनको बनाउनुपर्ने हो जसले हामीलाई जीवनको अस्तित्वबोधका लागि सहजीकरण गरिरहेका छन् । मानव जातिलाई अदृश्य काँढेकिराबाट बचाउन ढाल बनेर आएको मास्क बनाउने पहिलो मान्छे को हो, त्यसलाई खोजेर चोकचोक गल्लीगल्लीमा उसको मूर्ति बनाई पूजा गर्नुपर्ने हो । ईश्वर छ भने हाम्रा लागि मास्क नै हो । भन्नेहरूले ईश्वरले मास्कको रूप धारण गरेर हामीलाई सुरक्षा दिइरहेका छन् भन्न पनि सक्छन् । भक्तिवादीहरूले मास्कको होइन, अस्तित्वविहीन ईश्वरका लीलाको महात्म्य सुनाइरहेका हुन सक्छन् । यस प्रकृतिजगत्मा मानवका लागि पृथ्वी, जल, तेज, वायु र खुल्ला आकाश प्राकृतिक ईश्वरीय रूप छँदै थिए, यिनमा मानवनिर्मित मास्क थपिएको छ । नैसर्गिक ईश्वरीय सत्ता प्रकृतिको उत्पत्तिदेखि नै हाम्राअगाडि विद्यमान थिए, कृत्रिम ईश्वरीय सत्ताको उत्तराधिकारी बनेर मास्क हाम्रासामु उपस्थित छ । त्यसैले प्रकृति र मानवीय कलाबाहेक अर्को ईश्वरीय सत्ताको कल्पना गरेर मान्छेलाई दिग्भ्रमित पार्नु भ्रमको खेती गर्नु हो ।’

कलाका बारेमा मेरोजस्तो तर्क कसको होला भन्ने अहंमा मनमनै स्फुरित हुन्छु म— ‘मास्क मानवीय कलाको एउटा उपज हो । मानवीय कलाका अनेक रूपमध्ये मास्क वर्तमानमा हाम्रो जीवनका लागि सबैभन्दा बढी उपयोगी बनेर आएको छ । कवि भूपीका अनुसार ‘मान्छेले बनाएको ईश्वर’ भनेकै मास्क हो । मास्कसँगसगै स्यानिटाइजर, पिपिई आदि पनि मानवीय कल्पना र कलाका सुन्दर नमुना हुन् । मानवीय कला ईश्वरको कृत्रिम सत्ता हो । प्राकृतिक र कृत्रिम दुवै ईश्वरीय सत्ताको अस्तित्व भौतिक छ । ईश्वरको यस्तो भौतिक सत्तामा भ्रष्टाचार र दलाली गरेर गोजी गरम गर्नमा उद्यत सरकार ‘राम’ नामको कुनै अभौतिक ईश्वरको कल्पना गर्दै उसको मन्दिर बनाएर पुण्यको काम गर्न खोजिरहेछ र जनतालाई रामनाम जपेर मुक्तिको भ्रमपूर्ण बाटोमा हेलिन भनिरहेको छ । मास्क छ र त जीवन छ । मास्क छ र त आफन्त, साथीभाइ, छरछिमेक सुरक्षित छन् । यस्तो बहुगुणकारी मास्कका गुणको बखान गर्न हज्जार जिब्रा भएका बेसारविद्ले त नसकेको म बबुरोले कसरी सकुँला !’

मेरो अहं शिथिल हुन्छ । अब मसँग भन्ने कुनै शब्द छैन । शब्दबिनाको बबुरो म आँखाका गेडी झर्ने गरी मोबाइल हेरेर, भतभती पोल्ने गरी मोबाइलका किमा कुम्फु खेलेरै भए पनि सन्तुष्टिको सास फेर्छु । असन्तुष्टि त जता पनि छ, त्यसले जसरी पनि दिमाख गिजोलिरहेको छ । आफूलाई केके न जान्ने ठान्ने मेरो अहं अब आफैँसँग हारिरहेछ ।

पाठकवृन्द, माफ गर्नुहोला ! ठुलो कुरा गर्न खोजेर तपाईँहरूको समय बर्बाद पारेँ मैले । के गर्नु ! म पनि त यही देशको नागरिक न परेँ । सरकारले सिकाएको कुरा मैले पनि त सिक्नुपर्‍यो नि ! फेरि तपाईँहामीलाई बानी परिसकेको छ- फजुल कुरा सुन्ने । हाम्रो अल्भेसाहरूलाई साक्षी राखेर अन्त्यमा यत्ति मात्र भन्छु— जय मास्क महात्म्य ! जय भर्चुअल संसार !! जय भर्चुअल संवाद !!!

लेखक परिचय

डा. बालाकृष्ण त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा नेपाली भाषासाहित्यका उपप्राध्यापक हुनुहुन्छ । नेपाली साहित्यको इतिहास लेखनः सर्वेक्षण र विश्लेषण (२०६६), संस्कृत साहित्यशास्त्रको प्रायोगिक स्वरूप (२०५९), नेपाली साहित्यको काल विभाजनः ऐतिहासिक विश्लेषण (२०५९), नेपाली साहित्यको इतिहास लेखनका आधार (२०७६), मार्क्सवाद र साहित्येतिहास (२०७७) जस्ता पुस्तकसँगै दयाराम श्रेष्ठसँगको सहलेखनमा साहित्यको इतिहास (२०७७) समेत लेख्नु भएको छ । उहाँले नेपाली साहित्यको इतिहासलेखनका पद्धति विषयमा विद्यावारिधि गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...