अर्मेनियादेखि जिनोर्जिनियासम्म
१. अर्मेनिया माइनर
मार्को पोलोले एसियामा घुमेका देशहरू र त्यहाँ भेटेका बहुमूल्य चिजको वर्णन गर्दैगर्दा अर्मेनियालाई ठूलो अर्मेनिया र सानो अर्मेनिया गरी दुई भागमा विभाजन गर्नु उपयुक्त हुन्छ । माइनर अर्थात् सानो अर्मेनियाका राजा सेबेस्टोज नामक सहरमा बस्दथे र आफ्नो क्षेत्रमा कडा रूपमा शासन चलाउँथे । जहाँ सहर, किल्ला, र दरबारहरू सयौँ सङ्ख्यामा थिए ।
जीवनयापनका लागि आवश्यक सबै आधारभूत आवश्यकताहरू प्रचुर उपलब्ध थिए । साथै विलासका साधनहरू पनि । यद्यपि त्यस देशको हावा भने त्यति स्वस्थकर थिएन । प्राचीन समयमा त्यहाँका कुलीन वर्ग बहादुर लडाकुको नामले सम्मानित थिए तर यस समयका पुस्ता भने पियक्कड, तुच्छ हृदयका, र बेकामे छन् । समुद्रतटमा लेइयासस नामक एक अत्यन्तै व्यस्त बन्दरगाह छ । यहाँ भेनिस, जिनोवा र अन्य थुप्रै स्थानबाट मसला, विभिन्न प्रकारका औषधीहरू, रेसम र ऊनका उत्पादनहरू लगायत अन्य विभिन्न वस्तुहरूको व्यापार गर्न व्यापारीहरू बारम्बार आइरहन्छन् । Levant (हालको लेवनान, इराक, सिरिया, प्यालेस्टाइन र जोर्डन) को यात्रा गर्नेहरू जब यात्राको योजना बनाउँछन्, उनीहरूले सबैभन्दा पहिले लेइयाससको बन्दरगाहबाट सुरु गर्छन् । माइनर अर्मेनियाको सिमानाको कुरा गर्दा दक्षिणतर्फ Land of Promise(हाल Saracens मा समेटिएको), उत्तरतर्फ कारामेनिया (Turkomans को बसोबास भएको), उत्तरपूर्वमा Kaisariah सहर, तथा पश्चिमी सिमानामा Christendom को समुद्र अवस्थित छ ।
तुर्कोमेनिया
तुर्कोमेनियाका बासिन्दाहरूको कुरा गर्दा तुर्कोमेनियालाई तीन वर्गमा विभाजन गर्नुपर्ने देखिन्छ । पहिलो वर्ग, ती तुर्कोमेनहरू जो महम्मदको भक्ति गर्छन् र उसका नियमको अनुसरण गर्छन्, निकै असभ्य र पाखण्डी छन् । उनीहरू विशेषगरी हिमाली र दुर्गम क्षेत्रमा बस्दछन्, जहाँ उनीहरूका पशुचौपायाको लागि आवश्यक चरन लगायत अन्य सुविधा उपलब्ध छ ।
उनीहरूको खाद्यस्रोत भनेकै पशुचौपाया हुन् । यहाँ उत्कृष्ट घोडा र खच्चरका प्रजाति पाइन्थे, जो उच्च मूल्यमा बेचिन्थे ।
तुकोमेनहरूको अर्को वर्गमा ग्रीक र अर्मेनियनहरू पर्दथे, जो सहर र किल्लाहरूमा बस्दथे । साथै उनीहरू उत्पादन र व्यापारबाट आफ्नो जीविका चलाउँथे । संसारकै उत्कृष्ट कालीनहरू यहाँ बनाइन्थे । साथै सिम्रिक र अन्य महङ्गा रङहरू समेत निर्माण हुन्थे । यहाँका मुख्य सहरहरूमा कोगनी, कैसरिया र सेवस्ता थिए, जहाँ सन्त ब्लेइजले सहादतको गौरवमय ताज पाएका थिए ।
२. अर्मेनिया मेजर
अर्मेनिया मेजर एउटा विशाल भूभागमा फैलिएको प्रान्त हो, जसको प्रवेशद्वारको रूपमा अर्जिगन (Arzingan) नामक सहर रहेको छ । जहाँ बोम्बेजिन्स नामको ऊनी कपडाको उद्योग थियो । साथै अन्य थुप्रै घरबुनाको कपडाहरू समेत उत्पादन हुन्थ्यो ।
अर्मेनिया ग्रेटर नुहाउनको लागि उपयुक्त हुने तातो पानीको लागि प्रसिद्ध थियो । यहाँका बासिन्दाहरूमा आदिवासी अर्मेनियनहरू मुख्य थिए, यद्यपि बहुसङ्ख्यक भए पनि उनीहरूमाथि तार्तारहरूले शासन गर्दथे । यस प्रान्तमा अनेकौं सहर भए पनि अर्जिगन प्रमुख थियो, जहाँ एकजना आर्कविशपको निवास रहेको थियो । अर्मेनिया ग्रेटर अत्यन्तै विशाल थियो । गृष्म याममा तार्तार सैनिकहरूको बसोबास एउटा ग्रेटर अर्मेनियाको उत्तरी क्षेत्रमा हुन्थ्यो भने जाडो याममा उनीहरूको शिविर अन्तै सर्थ्यो । हिउँदमा हिमवर्षा यति बाक्लो हुन्थ्यो कि घोडाहरू बाँच्नको लागि असम्भवप्राय हुन्थ्यो । यसर्थ उनीहरू न्यानोपन र खानाको लागि दक्षिणतर्फ बसाइ सर्दथे ।
पाइपर्थ नामक एक भव्य दरबार, जुन ट्रेबिजोन्डबाट टौरिस जाँदा भेटिन्छ, त्यहाँ चाँदीको एउटा भव्य खानी रहेको थियो । ग्रेटर अर्मेनियाको मध्य भागमा एक अत्यन्तै विशाल र उच्च पहाड Mountain of Ark रहेको छ । भनिन्छ त्यहाँ Ark of Noah ले विश्राम लिएका थिए । त्यसैले यस पहाडको नामकरण उनैको नामबाट गरिएको थियो । यो पहाडको फेदलाई एक परिक्रमा गर्न झण्डै दुई दिनभन्दा बढी समय लाग्थ्यो भने हिउँ नपग्लिनु र प्रत्येक हिमपातमा हिउँ बढ्दै जानुले शिखर आरोहण गर्नु त असम्भवप्राय थियो । तर अन्य भूभागमा भने हिउँको पग्लाइले भूमि उर्वर बनाउँथ्यो र खेतिपातीको लागि प्रचुर अवसर दिन्थ्यो ।
अर्मेनियाको सिमानामा दक्षिणतर्फ मोसुल (Mosul) र मेरेडिन (Maredin) जिल्ला रहेका छन् । त्यस्तै उत्तरतर्फ जर्जियाना (Georgiania) छ, जसद्वारा तेलको छहरा घेरिएको छ । उक्त तेलको छहराबाट ठूलो परिमाणमा वरपरका स्थानहरूमा तेल निर्यात हुन्थ्यो । उक्त तेलको प्रयोजन खाद्य तेलको रूपमा नभई छालासम्बन्धी समस्याहरू निदान गर्न प्रयोग गरिन्थ्यो । साथै पोलिएको ठाउँमा औषधीको रूपमा समेत प्रयोग गरिन्थ्यो । छिमेकी देशहरूमा यससम्बन्धी उत्पादन नहुने भएकोले टाढाटाढाबाट मानिसहरू उक्त तेलको लागि आउने गर्दथे ।
३. जिनोर्जिनिया, जहाँ अलेक्जेण्डर महानले फलामको गेट निर्माण गरेका थिए
जिनोर्जिनियामा राजा डेभिड मेलिक शासन गर्दथे ।(जिनोर्जिनिया 1801 मा रसियामा गाभिएको थियो ।) जिनोर्जिनियाको एक भागमा तार्तारहरूको बाहुल्य थियो भने अन्यमा त्यहीँका आदिवासी राजकुमारहरूको शक्ति र साहसका कारण उनीहरूकै प्रभुत्व कायम थियो । यो दुई समुद्रको बीचमा अवस्थित थियो । जसको उत्तरपश्चिमी किनारमा ग्रेटर सी अर्थात् Euxine थियो भने पूर्वी किनारामा Sea of Abaku अर्थात् क्यास्पियन सागर अवस्थित थियो । पछिल्लो चाहिँ दुई हजार आठ सय माइलको सर्किटमा फैलिएको थियो र झण्डै तालको जस्तो विशेषतायुक्त थियो । अर्थात् अन्य कुनै पनि समुद्रसँग जोडिएको थिएन । यसमा सुन्दर सहर र दरबार सहितका केही टापुहरू पनि थिए । यहाँ ती मान्छेहरू बस्दथे, जो Grand Tartar ले पर्सियामाथि आक्रमण गर्दा त्यहाँबाट भागेर उक्त टापुहरूमा शरण लिन पुगेका थिए ।
जिनोर्जिनियामा सामान्य रूपमा पाइने रुख भनेको बक्स ट्री थियो । भनिन्थ्यो, प्राचीन समयमा त्यहाँका राजाहरू जन्मिँदै दायाँ कुममा गिद्धको चिन्हसहित जन्मिन्थे । त्यहाँका मानिसहरू साहसी नाविक, धनुर्धारी, र कुशल योद्धा हुन्थे । ग्रीक चर्चका संस्कारहरूबाट प्रभावित हुनुले उनीहरू ख्रीष्टियन थिए । यो त्यही प्रान्त थियो, जहाँ आफ्नो साम्राज्य विस्तार गर्न अलेक्जेण्डर उत्तरतर्फ प्रवेश गर्दैगर्दा त्यहाँको साँघुरो बाटोको असुविधाबाट कठिनाइ झेल्नुपरेको थियो । जुन बाटोको एकातिर समुद्र थियो भने अर्कोतिर झण्डै चार उच्च पहाडहरू र चार माइलसम्मको कठिन जङ्गल थियो । यसकारण थोरै मानिसहरूले मात्र यो पार गर्न सक्थे ।
यसबाट असन्तुष्ट भएर बाहिरबाट आउने फिरङ्गीहरूलाई रोक्नको लागि अलेक्जेण्डर महानले एउटा गेट र टावरहरूसहितको वृहद् पर्खाल निर्माण गरे । यस पर्खाललाई पार गर्ने क्रममा झेल्नुपर्ने असाधारण कठिनाइको कारण यसलाई ‘द गेट अफ आइरन’ नामले चिनिन्थ्यो ।
उक्त प्रान्तमा थुप्रै सहर र दरबारहरू हुनुका साथै जीवनका लागि आवश्यक सबै आवश्यकताहरूको प्रचुर उपलब्धता थियो । रेसमको भारी परिमाणमा उत्पादन हुन्थ्यो । Avigi नामक गिद्धका ठूल्ठूला प्रजातिहरू पाइन्थे । मानिसहरू सामान्यतया व्यापार र श्रमबाट जीविका चलाउँथे । यहाँको भौगोलिक कठिनाइले यस देशलाई तार्तारहरूको आक्रमणबाट रोकेको थियो ।
भिक्षुहरूको एउटा मठ जुन Saint Lunardo लाई सुम्पिएको थियो, त्यहाँ चामत्कारिक घटनाहरू घट्ने गरेको बताइन्थ्यो । एउटा नुनिलो पानीको ताल, जसको एक परिक्रमा गर्न चार दिन लाग्थ्यो, त्यसको किनारमा उक्त मठ अवस्थित थियो । उक्त तालमा लेन्टको पूर्वसाँझसम्म कुनै पनि माछा देखिन्नथे । तर लेन्टको दिनबाट इस्टरको पूर्वसाँझसम्म त्यहाँ माछा प्रचुर देखिन्थे तर इस्टरको दिनबाट माछा देखिन छोड्थे ।
(*लेन्ट= इस्टरको दिनबाट 40 दिन पहिले । इस्टर= जिसस क्राइस्ट बौरिएको दिन)
क्यास्पियन सागर भने ठूल्ठुला पहाडहरू र नदीहरू (हर्डिल, गेहन, कुर र एरेज) बाट घेरिएको थियो । यहुदी व्यापारीहरूले भर्खर भर्खर यसमा जहाज चलाउन सुरु गरेका थिए । र विभिन्न रेसमजन्य उत्पादनहरू बेच्न आउने गर्थे ।
जिनोर्जिनियामै एउटा अर्को सहर ‘टेफ्लिस’ पनि उल्लेख गर्नु सान्दर्भिक हुन्छ । जसको वरिपरि स-साना उपनगर र किल्लाहरू थिए । उक्त सहरमा अर्मेनियन र जिओर्जियन ख्रीस्टियनहरू लगायत केही यहुदी (Jew धर्म मान्ने) पनि बसोबास गर्दथे । तर यहुदीहरू एकदमै कम सङ्ख्यामा थिए । रेसमजन्य उत्पादन लगायत अन्य सामानहरू पनि विभिन्न ठाउँबाट व्यापारका लागि यहाँ ल्याइन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।