भाग चार

सन्‌ १९३३ बाबा जन्मेको साल थियो र त्यही बर्ष जाहिर शाहले अफगानिस्तानमा शासन गरेको चालीसौँ बर्ष सुरू हुँदै थियो । काबुलको एउटा धनी र इज्जतदार परिवारको २ जना दाजुभाइ गाँजा र फ्रेन्च वाइनको तालमा आफ्नै बुबाको कारमा सुइँकिए र पधमान जाने बाटोमा एक हजारा दम्पतीलाई गाडीले ठोकिदिए र उनीहरुको घटना स्थलमै मृत्यु भयो । पश्चातापले ग्रस्त ती युवकलाई मृतक दम्पतीको ५ बर्षे नाबालक टुहुरो सहित प्रहरीले मेरो हजुरबुबा सामु लिएर आयो जो एक अति सम्मानित, न्याय सम्पादनमा कहलिएको न्यायाधीस हुनुहुन्थ्यो । उनीहरुको परिवार जसोतसो पैसाको बलमा उनीहरूलाई मुक्त गराउन सफल भएको थियो तापनि ती दुई दाजुभाइको कुरा र तिनको बाउको क्षमादानको अनुरोध सुनिसके पछि मेरो हजुरबुबाले उनीहरूलाई तुरून्तै कान्दाहार गएर सेनामा भर्ना भएर एक बर्ष काम गर्न निर्देशन दिनुभयो ।

धेरै कडा स्वरमा त होइन तर तिनीहरूको बाउले प्रतिवाद चाहिँ गर्यो, तर अन्त्यमा प्रत्येक आरोपित सजाय अलि कडा त हो तर न्यायसंगत चाहिँ हो भन्ने कुरामा सहमत भए | जहाँसम्म त्यो टुहुरो केटोको कुरा छ, उसलाई मेरो हजुरबुबाले धर्मपुत्र बनाएर आफ्नै घरमा राख्नुभयो र अरू सबै कामदारहरूलाई उसप्रति दयालु बन्न र उसलाई अर्हाई सिकाइ गर्न लगाउनुभयो । त्यो बच्चो अली थिए ।

जसरी हसन र म एक पुस्ता पछिसँगै बढ्यौँ हुर्क्यौ, त्यसैगरी अलिको गोडा पोलियोले लङ्गुडो नपारेसम्म अलि र बाबा बालसखा भएरसँगै हुर्किनुभएको थियो । अलि र उहाँ मिलेर गरेको बदमासीहरू बाबाले हामीलाई सधैँ सुनाइरहनुहुन्थ्यो तर अलिले टाउको हल्लाएर भन्थे रे, “तर अगा साहेब हजुरले तिनीहरूलाई बताउनुपर्छ, बदमासीको योजनाकार को थियो र कारिन्दा को थियो ।” बाबा हाँस्दै अलीलाई अंगालो हाल्नुहुन्थ्यो रे,

तर बाबा ती कुनै पनि कथाहरू सुनाउँदा अलि उहाँको साथी थिए भन्ने कुरा जनाउनुहुन्थेन । अचम्मै लाग्ने कुरा के थियो भने मैले पनि हसन, मेरो साथी हो भन्ने कहिल्यै सोचिनँ । मेरो सामान्य “साथी”को परिभाषामा ऊ परेन । हामीले एकअर्कालाई हात छोडेर साइकल चलाउन सिकाएकै हो वा हामी दुवै मिलेर कुटको बाकस प्रयोग गरेर मजाले काम चल्ने क्यामरा पनि बनाएकै हो । पुरै जाडोभरि हामीले चङ्गा उडाएकै हो । चङ्गा छोप्न दौडेकै हो । मलाई अफगानिस्तान भन्ने वित्तिकै त्यो शरीर, खुइलो टाउको, छोटा कान र खुँडे ओठको मुस्कानले सधैँ उज्यालो चिनियाँ खेलौँना जस्तो त्यही केटाको अनुहार हो जस्तो लाग्छ ।

– ती सबै कुराहरू अब छोडिदिऊँ किनभने इतिहास बिर्षन सजिलो छैन । न त धर्मलाई नै विर्षन सकिन्छ । जे भएपनि म एउटा पास्तुन, ऊ चाहिँ हजारा, म सुन्नी र ऊ सिया र यसलाई मेटाउन कसैले सक्दैनथ्यो । कहिल्यै कसैले पनि ।

तर हामी चारखुट्टाले हिंड्न एकैसाथ सिकेका बच्चाहरू थियौँ र यो यथार्थलाई कुनै जातीयता, धर्म वा समाजले मेटाउन सक्नेवाला थिएन | मैले सुरूका बाह्र बर्ष धेरैजसो समय हसनसँग खेलेर विताएको थिएँ । कहिलेकाहिँ मलाई लाग्छ कि मेरो पुरै बाल्यकाल ती गर्मीका अल्छिलाग्दा दिनहरूमा मेरो बुबाको आँगनमै ती रूख वरिपरि लखेटालखेट गरेर लुकामारी, सिपाही र डाँका, काउब्वाइज र इन्डिएन खेलेर बितेको थियो | हाम्रो सबैभन्दा ठूलो उपलब्धि त माहुरी छोपेर त्यसको डस्ने चुच्चो निकालेर, बिचारालाई धागोले बाँधेर राख्ने र त्यो उड्न खोज्यो कि तान्ने काम नै हुन्थ्यो ।

काबुल सहर हुँदै उत्तरी हिमालतिर जान हिँडेका घुमन्ते काची (जाति) हरूलार्इ हामी लखेट्थ्यौँ । हामी हाम्रो बस्ती नजिक आउँदै गरेको उनीहरूको क्याराभान, भेडाको म्याँम्याँ, बाख्राको प्याँ र उँटको घाँटीमा झुण्डिएका घण्टीहरू बज्दै गरेको आवाज – सुन्थ्यौँ । हामी बाटो छेऊ दौडिएर जान्थ्यौं र हाम्रो गल्लीबाट लखर दखर हिँडेका जनावरहरूको ताँती, सुख्खा हावाले फुटेका, धुलैधुलो अनुहार भएको मानिस र लामो रङ्गिन सल ओडेका र घाँटीमा माला, नाडीमा र पिँडुलामा चाँदीमा ब्रेसलेट लगाएका महिलाहरूको लाम हेथ्यौं । उनीहरूका बाख्रालाई ढुंगा हान्थ्यौँ । खच्चरलार्इ पानी छ्यापी दिन्थ्यौं । म हसनलाई पर्खालमाथि बस्न लगाउँथे र उसको गुलेलीले उनीहरूको उँटको पिठ्युँमा हान्थे ।

हामीले मलाई मनपर्ने पुस्तक पसलको पारिपट्टि “सिनेमा पार्क” मा ग्एर पहिलोपटक जोन वायनको “रियोब्राभो” नामको अंग्रेजी फिलिमसँगै हेरेका थियौँ । म सम्झन्छु मैले बाबालाई हामीलाई पनि इरान लैजान भनेर अनुरोध गरेको थिएँ ता कि हामी जोन वायनलाई भेट्न सकौं । यो सुनेर ट्रकको इन्जिन कराएर जस्तै गरी बाबा लामो हाँसो हाँस्नुभयो र जब हाँसो थामियो अनि हामीलाई बताउनुभयो कि आवाजलार्इ डबिङ गर्ने भनेको के हो । हसन र म तीन छक्क पर्यौ । जिल्ल । जोव वायन इरानी थिएन र फारसी पनि बोल्थेन रे । छ त त्यहाँ सधैँ हामीले काबुलमा घुमीरहेको देखेको, लामो कपाल भएको, थोत्रा लुगा, उज्याले रंगको सर्ट लगाउने मानीसहरू जस्तै अमेरिकी पो थियो रे | हामीले रियोब्राभो तीनपटक हेर्यौँ, तर हाम्रो सबैभन्दा मनपर्ने अंग्रेजी फिलिम “द फिसेन्ट सेभेन” चाहिँ तेह्र पटक । पेत्येक पटकको हेराइमा जब चार्लस ब्रोनसोनलार्इ मेक्सिकन बच्चाहरूले गाड्थे, हामी रून्थ्यौँ । पछि थाहा लाग्यो कि ऊ पनि इरानी होइन रहेछ ।
हामी काबुलको सार ए नाउ क्षेत्रको दुर्गन्धित बजार घुम्थ्यौँ । या वजिर अकबर खान जिल्लाको पश्चिमको नयाँ सहर । हामी भर्खरै हेरेको फिलिमको बारेमा कुरा गर्दै बजार गर्नेहरूको बीचबाट हिँड्थ्यौँ । हामी नागबेली हिँडाइ हिँड्दै व्यापारीहरू भिखारीहरू हुँदै साँगुरा गल्लीमा कोचाकोच सामान राखिएका स-साना पसलहरु भएतिर टहलिनथ्यौँ | बाबाले हामी दुवैलाई पकेट खर्च गर्न हप्तामा दशदश अफगानी दिनुहुन्थ्यो र हामीले त्यो पैसा तातो कोकाकोला र माथि धुलो पिस्ताचियो राखेको रोजवाटर आइसक्रिममा खर्च गर्थ्यौं । स्कुले बर्षहरूमा हाम्रो दैनिक कार्यतालिका हुन्थ्यो । जति बेला म विस्ताराबाट झरेर वाथरूमतिर लुखुरलुखुर जान्थेँ, हसनले मुखसुख धोइवरी अलिसँगै बिहानको नमाज सकेर मेरो खाजा तयार पारिसकेको हुन्थ्यो । तीन वटा चिनीहरूको क्यूवहरू राखेको तात्तातो रातो चिया, मलाई मनपर्ने चेरीको मार्मलेट दलेको नानको टोस्ट सबै डाइनिङ टेबलमा सफासँग मिलाएर राखिएको हुन्थ्यो । खाजा खाँदै म गृहकार्यको बारेमा गुनासो गर्थे, हसनले मेरो विस्तारा मिलाइदिने, जुत्ता पालिस गर्ने, त्यस दिन लगाउने ड्रेसमा आइरन गर्ने र मेरो कापीपुस्तकहरू र सिसाकलम झोलामा राखिदिने गर्थ्यौ । ऊ लबीमा बसेर आइरन गर्दा नाकेस्वरमा पुरानो हजारा गीत गाइरहन्थ्यो जुन म सुन्थेँ । बाबा र म उहाँको कालो रंगको फोर्ड मस्ट्याङ्गमा जान्थ्यौं जुन कारलाई सबैलै ईर्ष्यालु नजरले हेर्थे किनभने यस्तै कार स्टिभ म्याक क्वीनले ६ महिनासम्म एउटै हलमा चलेको बहुचर्चित फिल्म बुलिटमा चलाएको थियो । हसन घरमै बस्थ्यो र लुगा धुने, आँगनमा लगेर सुकाउने, बडार्ने, बजार गएर नान किनेर ल्याउने, साँझको लागि मासु मोलेर राख्ने बगैँचामा पानी हाल्ने जस्ता नित्य घरायसी काममा अलीलाई सहयोग गर्थ्यो ।

स्कुल सकिएपछि हसनको र मेरो भेट हुन्थ्यो । एउटा किताब ट्‌याप्प टिपेर हामी वजिर अकबर खानमा अवस्थित मेरो बुबाको पैतृक थलोको उत्तरपट्टिको जस्तै बाटुलो सानो पहाड उक्लन्थ्यौं । पहाडको टाकुरोमा एउटा पुरानो चिहानको जहाँ लहरै केही पनि नलेखिएका हेड्सटोनहरू थिए र ती स-साना गोरेटाहरू भफुप्प झारपात र झिँजामिजाले टन्न ढाकिएको थियो | बर्षौंको बर्षा र हिउँले गर्दा फलामको गेटमा खिया लागेको थियो र ढुङ्गे होचो सेतो पर्खाल ढल्नै आँटेको थियो । चिहानको प्रवेश द्वार छेउमै एउटा अनारको रूख थियो । गर्मीको कुनै एक दिन अलिले भन्सामा प्रयोग गर्ने एउटा चक्कु लगेर बोक्रा खोपेर मैले हाम्रो नाम लेखेँ : हसन र अमिर काबुलका सन्तान हुन्‌ । ती शब्दहरूले त्यो रूख हाम्रो मात्रै थियो भन्ने कुरा प्रष्टयायो । स्कुल सकिएपछि हसन र म त्यसमा चढथ्यौ र रगतजस्तै रातो अनारहरू टिप्थ्यौँ । अनार खाइसकेपछि झारमा हात प्रछ्थ्यौँ र मैले हसनलार्इ पढेर सुनाउथेँ ।

हसन रूख मुनी पलेँछि कसेर बस्थ्यो र घाम र अनारका पातहरूको छिर्केमिर्के छायाँ उसको अनुहारमा नाँचिरहन्थ्यो । हसन पढ्न सक्दैन्थ्यो र मैले उसलार्इ कथाहरू पढेर सुनाउँदा ऊ एकोहोरिएर झार उखेल्थ्यो । हसन जन्मेने वित्तिकै वा सायद सनउबारको तुच्छ गर्भमा वास गर्ने बित्तिकै भनौँ सबै हजाराको जस्तै उसको भागयमा पनि निरक्षर बन्न लेेखीएको थियो र ऊ पनि अलि जस्तै निरक्षर बनेर हुर्कने छ । हुन पनि एउटा नोकलार्इ लेखेेका शब्दहरूको के अर्थ हुन्छ र ? निराक्षर भएरै हो वा के हो कुन्नी निराक्षर भए तापनि शब्दहरूको रहस्यप्रति, त्यो गोप्य बञ्चित संसारप्रति, हसन चासो राख्थ्यो । मैले उसलाई कविताहरू, कथाहरू र कहिलेकाहीँ कुट-प्रश्न पहेँलीहरू पढेर सुनाउँथे, तर समस्या समाधान गर्न ऊ मभन्दा बढी चलाख रहेछ भन्ने थाहा पाएपछि सुनाउन छोडिदिएँ । त्यसैले मैले उसलाई अल्मलिँदै हिँडेर बाटो बिराएको मुल्ला नसरूद्दिन र उसको गधा जस्तै सजिला कुराहरू पढेर सुनाउन थालेँ । हामी घाम पश्चिमतिर ढल्किने बेलासम्म घण्टौं त्यही रूखमुनि बस्थ्यौं र पनि अझैं एउटा अध्याय, अझैं एउटा कथा पढ्न भ्याउने उज्यालो बाँकी छ भनेर हसन जिद्दी गर्थ्यो । मलाई पढेर उसलाई सुनाउँदा सबैभन्दा मजा कति बेला आउँथ्यो भने जब ऊ कुनै ठूलो, आफूले अर्थ नजानेको शब्दमा अड्किन्थ्यो । मैले उसको अज्ञानताप्रति खिसी गर्थे । मैलै एकपटक उसलाई मुल्ला नसरूद्दिनको कथा पढेर सुनाउँदै थिएँ उसले मलाई बीचैमा रोक्यो र सोध्यो, “त्यो शब्दको अर्थ के हो ?”

“कुन, शब्द?”

“इम्वेसिल ।”

“यो भनेको के हो तँलाई थाहा छैन ?” ङिच्च हाँस्दै सोधेँ ।

“छैन अमीर अगा ।”

“तर यो त अति सामान्य शब्द हो ।”

“होला तर पनि मलाई थाहा छैन । ”

मैले गिज्याएको शब्दले उसलाई घोच्यो होला, तर पनि उसको अप्ठ्यारोपन देखिएन ।

“यसको अर्थ हाम्रो स्कुलका सबैले जान्दछन्‌ त” मैले भनेँ।

“सुन, ‘इम्वेसिल’ को अर्थ सिपालु हो । म वाक्यमा प्रयोग गरेर तँलार्इ सुनाउँछु । ‘जब शब्दको मामला आउँछ, हसन एउटा इम्वेसिल हो ।’

“आहा” भन्दै बुझेजस्तो गरी उसले टाउको हल्लायो ।

उसलाई मूर्ख बनाएकोमा सधैँ मलाई पछि आएर पछुतो हुन्थ्यो । मैले उसलार्इ मेरो पुरानो कमिज वा बिग्रेको खेलौना दिएर क्षतिपूर्ति गर्ने प्रयास गर्थे | म आफैँसँग भन्थेँ कि बिना कुनै दुराशय गरिएको त्यो मजाकका लागि क्षतिपूर्ति पर्याप्त थियो ।

हसनलाई सबैभन्दा मनपर्ने पुस्तक प्राचीन पर्सियाका सुरबीरहरूको बारेमा लेखीएको महाकाव्य शाहनमाह (sHANNAMAH) भन्ने थियो । उसलाई फेरीदोउन (fERIDOUN),जाल(ZAL) र रूदाबेह (rUDABEH) लगायत सबै अध्यायहरू मन पर्थ्यो, तर ऊ र म दुवैलाई मन पर्ने कथाचाहिं त्यही महान्‌ योद्धा रोस्तभ र उसको धेरै खुट्टाहरू भएको रक्हस (RAKHSH) नाम गरेको घोडाको वर्णन गरिएको “रोस्तम र शोहरभ’ भन्ने कथा थियो । रोस्तमले शोहरभलाई अपरिहार्य (NEMESIS) सजाय दिएर मरेतुल्य हुनेगरी घाइते पार्छ र अनि मात्र थाहा पाउँछ कि छ त आफ्नै धेरै लामो समयदेखि हराएको छोरो पो रहेछ । पीडाले छट्पटाउँदै उसले मर्नुअघि छोराले भनेका शब्दहरू सुन्छ

यदि तँ साँच्चै मेरो बाउ हो भने तेरो तरबारमा लागेको रगतको दाग तेरै छोराको हो र यो तेरै ढिपीले गर्दा भएको हो । मैले तेुो प्रेमको मुल्य तिर्न खोजेकै हो र मैले तेरो नाम पुकारेर अनुनय विनय गरेकै हो किनभने मैले तेरो अनुहारमा मेरी आमाका केही चिन्हहरू देखेँ, तर मैले तँ निस्तुरीलाई बेकारमा गुहारेँ र अब ‘भेट्ने समय सकियो ____ |

हसन भन्थ्यो, “अमीर अगा यसलाई फेरि पढ्नुहोस्‌ त. ।’ कहिलेकाहीँ यो पढ्दा हसनका आँखा रसाउँथे र म सधैँ हसन कसका लागि रोएको होला भनेर आश्चर्य मान्थे र सोच्थेँ के ऊ त्यही पीडाले छट्पटाएर आफ्नो कपडा च्यातचुत पार्ने र टाउकोमा खरानी दल्ने रोस्तभका लागि रोएको हो वा आफ्नो बाबुको मायाको खोजीमा छट्पटाउँदै मर्न लागेको शोहरभको लागि ? मैले त रोस्तभको दुखत्‌ अन्त्यमा कुनै बिछोड देख्थिन थिएँ । जे भएपनि के सबै बाबुहरूले मन भित्र कुनै दिन आफ्ना छोराहरूलाई मार्ने गोप्य चाहना पाल्दैनन्‌ त ?

जुलाई १९७३ को एक दिन मैले हसनलाई फेरि एक पटक छल गरेँ | मैले उसलाई पढेर सुनाउँदै थिएँ र अचानक कथा पढ्न छोडेर म बरालिएँ । मैले पढे जस्तै गरी फटाफट पानाहरू पल्टाउँदै गए, तर मैले लेखिएको, कथा पढ्न छोडेर आफैँ कथा बनाएर भट्याउँदै गएँ । हसनलाई यो पत्तै थिएन । उसका लागि शब्दहरू कालो अक्षर भैसी बराबर नै थियो । शब्दहरू रहस्यमय ढोकाहरू जस्ता थिए र त्यसको साँचो मसँग थियो । जब हसन ताली बजाउन थाल्यो, एकछिन पछि फुट्नै लागेको हाँसोलाई बल्लतल्ल थामेर मैले कथा तँलाई कस्तो लाग्यो त भनेर सोथेँ।
“तैँले के गरेको ?” मैले भनेँ ।
“आजसम्म तपाईंले मलाई यति राम्रो कथा सुनाउनु भएकै थिएन”, ताली बजाउँदै भन्यो ।

“हो र साँच्चै ?” मैले हाँस्दै भनेँ ।

“साँच्चिकै ।”

“ओहो, यो त गजब भयो, ” सुस्तरी भनेँ । मपनि त्यही चाहन्थेँ । यो त नसोचेको कुरा भयो -__ | “पक्का हो हसन ?” ताली बजाउँदै उसले भन्यो “गजब अमीर अगा । भोलि पनि मलाई यो कथा सुनाउनोस्‌ है त?”
“गजब” अनायास मेरो मुखबाट यो शब्द दोहोरियो । मलाई यस्तो असजिलो भयो जस्तो कि आफ्नै करेसामा बहुमूल्य वस्तु फेला पार्दा कसैलाई हुने गर्छ । त्यो पहाडबाट तल ओर्लिंदा चामन (CHAMAN) मा पटका पड्किएजस्तै मेरो दिमागमा अनेकौं विचारहरू पड्किरह्यो । उसले “लामो समयपछि आज तपाईंले मलाई राम्रो कथा सुनाउनुभयो’ भनेको शब्दहरू याद आयो । मैले उसलाई थुप्रै कथाहरु सुनाएको थिएँ । हसनले मलाई केही कुरा सोधिरहेको थियो ।

“के भनेको ?” मैले सोधेँ ।
“फ्यासिनेटिङ्ग भनेको के हो ?”

म हाँसेँ । उसलाई दह्रोसँग अङ्गालो मारे र गालामा म्वाइँ खाएँ । लाजले रातो हुँदै छक्क परेर सोध्यो, “यो के को लागि ?’ मैलै उसलाई मायाले झक्झकाएँ । हाँसेर भनेँ, “हसन तँ त राजकुमार हो | तँ राजकुमार हो र म तँलाई माया गर्छु ।’

त्यस रात मैले मेरो पहिलो कथा लेखेँ । लेख्न मलाई तीस मिनेट लाग्यो । यो एउटा नबुझिने सानो कथा थियो । जसमा एउटा मान्छेले “जादुको कप” फेला पार्छ र थाहा पाउँछ कि यदि उ त्यही कपमा आँसु झारेर रोयो भने सबै आँसु मोती हुनेछ । ऊ सँधैं गरिब नै थियो, तर पनि ऊ सधैँ खुसी हुन्थ्यो र आँसु कहिल्यै झार्थेन । त्यसलै उसले दुःखी हुने तरिका खोज्यो ता कि आँसु झरोस्‌ र धनी बन्न सकोस्‌ । मोती जति धेरै थुप्रिँदै गयो उसको लोभ झन्‌ बढ्दै गयो । हत्या गरिएकी आफ्नी श्रीमतीको लास काखमा लिएर, हातमा चक्कु लिँदै, बेसहारा बनेर मोतीको पहाडमा बसेर ऊ त्यही कपमा रुँदै गरेको ठाउँमा कथाको अन्त्य हुन्छ ।

त्यो साँझ हातमा त्यही कथा लेखिएको दुईवटा कागजका पानाहरू लिएर ममाथि उक्लेँ र बाबाको चुरोट पिउने कोठामा गएँ । मभित्र पस्दा बाबा र रहिम खान पाइप तान्दै ब्राण्डीको चुस्की ढिँदै हुनुहुन्थ्यो । टाउकोलाई पछिल्तिर दुवै हातमा अड्याउँदै सोफामा ढल्किँदै बाबाले सोध्नुभयो, ‘अमीर के हो ?” अनुहारको वरिपरि निलो घुँवा बुङ्ग उड्यो । उहाँको डरलाग्दो हेराइले मेरो घाँटी सुक्यो । गला सफा गरेर भनेँ, “मैले एउटा कथा लेखेको छु ।”

बाबाले टाउको हल्लाउनुभयो र हल्का मुसुक्क गर्नुभयो जुन बनावटी जस्तो देखिन्थ्यो । “ठीक छ, ल । राम्रै भयो, हैन त ?’ उहाँले भन्नुभयो । अनि बोल्नुभएन । मात्रै धुवाँको बादल भित्रबाट मलाई हेर्नुभयो ।

सायद म त्यहाँ एक मिनेटभन्दा पनि कम समय उभिएँ होला, तर आजसम्म पनि यति लामो मिनेट मेरो जीवनमा सायदै लागेको होला । अनन्त लामो अन्तरालमा एकपछि अर्को सेकेण्डहरू बित्दै गए । हावा पनि ओसिलो, गह्रौं र साह्रो लाग्यो । मलाई उकुसमुकुस भयो । बाबाले मलाई क्वारक्वार्ती हेर्नुभयो, तर कथा पढ्न भन्नुभएन ।

सदाभैँ त्यो अप्ठ्यारो बाटो मलाई रहिम खानले मुक्ति दिलाए । उनले मतिर हेरे र पक्का मन्द मुस्कानसहित मतिर हात तेर्साए र कागज मागेर भने, “अमीर जान, के म त्यो पाउन सक्छु ? मलाई असाध्यै पढ्न मन लाग्यो ।’ बाबाले मसँग बोल्दा आत्मीयता जनाउने शब्द (जान) को प्रयोग कहिल्यै गर्नु हुन्नथ्यो ।

बाबाले झिँझो मान्दै कुम हल्लाउँदै उठ्नुभयो । उहाँ मुक्त देखिनुहुन्थ्यो मानौँ कि रहिम खानले उहाँलाई पनि मुक्ति दिलाइदिए । “ठीक छ । त्यो काका रहिमलार्इ दिनु । म तयार हुनलाई माथि जान्छु ।’ यति भन्दै उहाँ बाहिर जानुभयो । धेरैजसो दिन मैले बाबालाई एउटा धर्मभिरूले झैँ पूजा गर्थे । अनि त्यति नै बेला म चाहन्थेँ कि म आफ्नै नसाहरू चिरेर मभित्र बग्ने उहाँको अलक्षिना रगत बगाइदिन सकुँ । एक घण्टापछि जब अँध्यारो भयो, उहाँहरू दुई जना मेरो बाबाको दकारमा बसेर एउटा भोजमा सहभागी हुन जानुभयो । बाहिर निस्कने बेलामा रहिम खान मेरो अगाडि टुक्रुक्क बसे र मेरो कथा अर्को एउटा पट्याएको कागज मलार्इ दिए । मस्किँदै आँखा झिम्काए र भने, ‘यो तिम्रा लागि । पछि पढ्नु ।” टक्क र एउटा शब्द थपे जुन शब्दले मेरो लेखनमा यति प्रेरणा थपेको छ कि त्यति कुनै पनि सम्पादकले गरेको प्रशंसाले थपेको छैन । त्यो शब्द थियो “स्याबास” ।
उनीहरू जब गए, म मेरो खाटमा बसेँ र सोचेँ, कि रहिम खान मेरो बाबा भैदिएको भए बेश हुन्थ्यो । अनि मैले बाबा र उहाँको ठूलो छाती, त्यसमा टाँसेर मलाई उहाँले काखमा लिँदा हुने आनन्द, बिहानै उहाँबाट निस्कने ब्रुटको हर्र बास्ना र उहाँको दाहीले लगाउने कात्कुतीको बारेमा सोचेँ । म आफैँप्रति अचानक यति घृणा जागेर आयो कि म बाथरूममा गएर चुकुल लगाएर वाक्कवाक्क गरेर सिङ्गमा थुकेँ |

राति अबेर म खाटमा गुडुल्किएर बसेँ र पटक पटक रहिम खानको चिठी पढ्न थालेँ । जुन यस्तो थियो :

अमीर जान,

मलाई तिम्रो कथा असाध्यै रमाइलो लाग्यो । मासहल्लाह (mASSHALLAH) भगवानले तिमीलाई विशेष प्रतिभा दिएका छन्‌ । अब त्यो प्रतिभालाई तिखार्ने काम तिम्रो हो किनभने भगवानले दिएको प्रतिभालाई बर्बाद गर्ने मानिस गधा हो । तिमीले कथा बेजोडको ग्रामर र आकर्षक शैलीमा लेखेका छौ । सबैभन्दा- चाख लाग्ने कुरा के हो भने, यसमा आइरनी (Irony) छ । तिमीलाई आइरनीको अर्थ थाहा पनि छैन होला, तर पछि थाहा पाउने छौ । यो यस्तो चीज हो कि केही लेखकहरू आफ्नो सारा साहित्यिक यात्रामा त्यहाँ पुग्न खोज्छन्‌, तर कहिल्यै सक्दैनन्‌ । तिमीले त्यो आफ्नो पहिलो कथामा नै भेटेका छौ |

अमीर जान, मेरो ढोका तिम्रा लागि सधैँ खुल्ला छ र रहने छ । तिमीले सुनाउनुपर्ने कुनै पनि कथा म सुन्ने छु ।
स्याबास्‌ ।

रहिमको चिठी पढेर मेरो भुइँमा खुट्टा भएन र त्यो कथा ट्याप्प टिपेर तल झरेर बरण्डामा गएँ जहाँ एउटा गुन्द्रीमा हसन र अलि सुतिरहेका थिए । बाबा बाहिर गएको बेला जब अलिले मेरो ख्याल गर्नुपर्थ्यो, त्यति बेला मात्रै उनीहरू हाम्रो घरमा सुत्थे । मैले हसनलाई झक्‌झकाएर उठाएँ र उसलाई एउटा कथा सुन्ने मन छ कि भनेर सोधेँ |

उसले लठिठएका आँखा मिच्दै आङ तान्यो र भन्यो, “यति बेला ? अहिले कति बज्यो ?”

“समयको कुरा छोड न | कथा विशेष खालको छ | म आफैँले लेखेको ।” अलि नबिउँझिउन भनेर मैले कानेखुसी गरेँ । हसनको अनुहार उज्याले भयो ।

‘त्यसो भए मैले सुन्नै पर्छ ।” ब्ल्याङकेट पन्छाउँदै भन्यो । बैठक कोठामा आगोको छेउ बसेर मैले पढेर सुनाएँ । पहिला जस्तो मजाक गरेर बरालिने काम गरिनँ । कथा मेरो बारेमा थियो ! हरेक पक्षबाट हसन एउटा कुशल श्रोता थियो । कथाको स्वर परिवर्तनसँगै उसको अनुहारमा पनि परिवर्तन आउँथ्यो र ऊ कथामा चुर्लुम्म डुबेर सुन्थ्यो । जब मैले कथाको अन्तिम वाक्य पढेँ, उसले मधुरो ताली बजायो ।”

“माशाल्लाह (Mashallah) अमीर अगा । स्याबास’ मुस्कुराउँदै भन्यो ।

“तँलाई मन पर्यो?” सकारात्मक विचार सुनेर दोस्रो पटक मख्ख पर्दै मैले सोधेँ ।

‘इन्साल्लाह (Inshallah) तपाईं कुनै दिन ठूलो लेखक बन्नुहुनेछ ।’ हसनले थप्यो, “संसारभरिका मानिसले तपाईंको कथा पढ्ने छन्‌ ।’

“हसन तैँले मलाई उचालिस्‌ ।’ मख्ख पर्दै मायालु स्वरमा भनेँ ।

“होइन, तपाई एउटा ठूलो प्रसिद्ध लेखक बन्नुहुनेछ ।’ उसले ढिपी गर्यो । अनि केही भन्न आँटेजस्तो गरी र रोकियो । शब्द अड्कलेर घाँटी सफा गर्यो र डराएको स्वरमा भन्यो, “म त्यो कथाको बारेमा एउटा कुरा सोध्न चाहन्छु, अनुमति दिनुहुन्छ ?”

“किन नदिनु, भइहाल्छ नि ।”

“त्यो के _…._ “ सुरू गर्यो र टक्क रोकियो ।

“भन न हसन छिटो ।” मैले कर गरेँ । म मुसुक्क हाँसे, तर म असुरक्षित लेखक त्यो सुँघनलाई तयार थिएन ।

“साँच्चै म सोध्न सक्छु भने भन्नोस्‌ त्यो मान्छेले आफ्नो स्वास्नी किन मारेको ? वास्तवमा उसलाई आँसु झार्न किन दुःखी हुनुपर्ने? के उसले प्याज सुँघ्न सक्दैन्थ्यो ?”

“म झस्केँ | त्यो कुरा, सुन्दाखेरी नचाहिने जस्तो लागे पनि मेरो दिमाग हल्लीयो कहिल्यै आएको थिएन । मेरो ओठ आवाज ननिकाली चल्यो । मलाई लाग्यो त्यही रात मैलै लेखाइको गहना ‘आइरनी’को बारेमा थाहा पाएको थिएँ भने अब लेखाइको कमजोरीको बारेमा पनि परिचय गराइने भो – त्यो हो, प्वाल परेको कथावस्तु । कसैले नसिकाएको कुरा हसनले सिकायो । हसन पढ्न सक्दैनथ्यो र जीवनभर उसले कहिल्यै एक शब्द पनि लेखेन । अचानक एउटा नमीठो आवाज मेरो कानमा गुन्जियो : त्यो ग्वाँर हजारालाई के थाहा ? यो जीवनमा भान्सेभन्दा बढी केही हुनै सक्दैन । यसले तँलाई आलोचना गर्ने । यत्रो आँट ?

अँ’, मैले सुरू गरेँ, तर मैले त्यो वाक्य कहिल्यै पूरा गर्न सकिनँ ।

किनभने सदाका लागि अफगानिस्तानमा अचानक परिवर्तन आयो ।