तपाईंहरूमध्ये कसलाई भारतको दूरदर्शनबाट प्रसारण हुने महाभारत टेलिशृङ्खला याद छ ? अथवा, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले बन्दाबन्दी हुँदा युट्युबमा पुनः हेर्ने अवसर पनि पाउनु भएको हुनसक्छ । सय घण्टाभन्दा बढी समयको महाभारत शृङ्खला हेर्ने फुर्सद छैन ? उसो भए अढाई घण्टाभन्दा केही बढी समयको यो फिल्म हेर्नुस् त ।

यो फिल्मी महाभारतमा तपाईं हामीले भिलेनका रूपमा चिनेका सोनु सूद अर्जुन बनेका छन् । अन्य चर्चित दक्षिण भारतीय कलाकार पनि यस फिल्ममा देखिन्छन् ।

यो फिल्मको विशेष दृश्य चाहिँ इन्द्रप्रस्थ घुम्न निस्केको दुर्योधनको मनोदशाका रोचक क्षण र महाभारतको १८ दिने युद्ध नै हो । फिल्मको अन्त्यअघि दुर्योधन र भीमको लडाईं सबैभन्दा रोचक लाग्छ तपाईंलाई ।

हुन त यो कुनै खास सौन्दर्ययुक्त फिल्म होइन तर मात्र बिआर चोपडाले बनाएको शृङ्खलाको झल्को दिने र रमरमी प्रदान गर्न भने सफल छ । हिन्दी भाषामा डब गरिएको यो दक्षिण भारतीय फिल्मले अन्य दक्षिण भारतीय फिल्मको स्वाद बोकेर आएको छ ।

रोचक के छ भने, नेपालमा दक्षिण भारतीय फिल्महरू ट्रेन्डिङमा परिरहेका हुन्छन् । तर यो फिल्म भने ट्रेन्डिङमा परेको पाइएन । तापनि यो फिल्म हालसम्म १ करोड ६२ लाख पटकभन्दा बढी हेरिसकिएको छ । रोचक त के छ भने, यो फिल्म सन् २०१९ अगस्त १५ मा रिलिज हुँदा पहिलो मिथकीय थ्रिडी फिल्म भएको भन्दै हल्ला गरिएको थियो ।

कन्नड फिल्म उद्योगको यो अहिलेसम्मकै सबैभन्दा महँगो फिल्मका रूपमा चिनिएको छ । यसअघि केजिएफ महँगो फिल्म मानिएको थियो ।

कुरूक्षेत्र फिल्मको बजेट ८० करोड मानिएको छ । फिल्मले रिलिज हुनुअघि नै ५० करोड कमाइसकेको थियो ।

दक्षिण भारतमा यो फिल्मले राम्रो कमाई गरे पनि अन्यत्र यसको व्यापार त्यति राम्रो भएन । तापनि आज शनिबारको दिन महाभारत हेरौँ न त, हुन्न ?

[embedyt] https://www.youtube.com/watch?v=pXYvnGFqGXU[/embedyt]