(शार्दूलविक्रीडित)

पेशल कुमार लुइँटेल

मान्छेझैँ छ कि छैन खोज्दछु यहाँ मान्छेहरूकै जुनी
रोएझैँ सपनाहरू महलमा छन् झ्यालढोका थुनी
छुट्टै एक स्वभावले कलमको बिर्को उघारीवरी
आफैँभित्र डुबेर खोज्छु रचना आफैँ हराएसरि ।।

कोठाभित्र समस्त बर्बरिकका छन् चेतना सीमित
टारौँ छाक भनेर तेल नुनका छन् युद्ध आफैँसित
बल्दै छन् युगदेखि यो सहरमा बत्तीहरू झल्झल
मान्छेको मनभित्रचाँहि बिजुली बल्दैन खै झल्मल ?

छन् दुर्योधन सोचका विदुरको वैदुष्य बुझ्लान् कति
कुन्ती कर्णसमान छन् लुकिछिपी सम्बन्धका दुर्गति
आफ्नो स्वार्थ सिवाय सोच्न कहिल्यै सक्दैन है आसुरी
अर्काको घरबार तोड्दछु भनी आयो कि आँधीहुरी ।।

आत्माभित्र डिही लिएर धमिलो घुम्छन् यहाँ भारवि
पोख्दै घाम बिहानको हृदयमा खोज्छन् उज्यालो छवि
सामन्ती घर छन् खुसी हृदयमा देखिन्न खै मिर्मिर
पोल्टामै कति स्वप्नका लहर छन् पाखा पखेरातिर ।।

बाँच्दै मृत्युहरू सदैव जिउने हे झिल्मिले हो सुन
आफैँ घोषित दीप ठानिरहने हे पिल्पिले हो सुन
कैल्यै शान्ति भएन हेर बिचरा कस्तो बरा तक्दिर
पोल्टाभित्र छ सभ्यता सब त्यहाँ जाऊँ कटेरातिर ।।

भित्तामा उपहार टल्किरहने आफ्नो लगानीविना
जस्तो बाहिर झट्ट हुन्छ पछि खै देखिन्न त्यस्तै पना
खोजेको किन भेटिएन कहिल्यै सच्चा महामानव
पोल्टाभित्र त्यता छ आदिम धरा के अन्त जाने अब?

मच्चायौ कति हे हरेकपलमा स्वार्थीहरू हो पिङ?
मोहीको मुटु रेट्दछौ कति अझै लौ बोल हे तल्सिङ !
आनामा पनि दम्भ गर्छ बिचरा विश्वम्भरा झैँ किन?
के लान्छौ भन बङ्कलासँगसँगै चोला उठेका दिन?

च्याती सुन्दर कोपिला कति यहाँ मस्तीहरू सुत्दछन्
छातीभित्र डिही लिईकन उता आमाहरू कुद्दछन्
माया प्रेम मिलेन निश्छल भनी तड्पिन्छ माया यहाँ
पोल्टाभित्र छ स्वच्छ जीवन त्यहाँ भौँतारिँदै छौँ कहाँ ।।

लेख्दै छन् कविता कि मिल्टनहरू पाटी र पौवातिर
पोख्दै छन् पसिना गराभरि जहाँ लेख्छन् स्वयं तक्दिर
त्यस्तो स्वर्ग भुलेर स्वर्ग छ कहाँ खोज्दै छ कोही पर
पोल्टामै छ यहाँ सशक्त कविता अन्यत्र खै के छ र !