साहित्यका अन्य विधाका तुलनामा कविता पृथक् र प्राचीन विधा हो । संसारमा सबैभन्दा बढी लेखिने विधा पनि कविता नै हो । जीवनमा केही कविता नलेख्नेले अरू कुरा लेख्न सक्दैन भनिन्छ । लेखनको जग पनि कविता अन्तिम फल पनि कविता हो । साहित्यको भार पनि कविता सार पनि कविता हो । कविताको सागरमा डुबुल्की नमारी सार या भेउ पाउन मुस्किल हुन्छ । अन्य कुरा एकपटक पढ्दा बुझिन सक्छ । कविता फेरि फेरि दोहोर्‍याएर पढ्नुपर्ने हुन्छ । यस्तो लाग्छ संसारमा सबैभन्दा बढी लेखिने तर कम पढिने विधा हो कविता कम्तीमा आजको दिनमा ।

कविता जे लेखिन्छ त्यो बोल्दैन । जे बोल्छ त्यो अर्थ हुँदैन । भाव र अर्थका दृष्टिले कविताको आयतन अति हु नेहुँदा पाठकको र लेखकको दायराभन्दा अझ फराकिलो हुन्छ कविताको भूगोल । कविता आफैँमा एउटा सागर हो भन्छु म । जहाँ विभिन्न नदी मिसिन सक्छन् । ती तमाम नदीमा मिसिन आइपुगेको छ तेल भिसा । आमाको आशौचभित्र बसेका बेला उहाँको आमा संयुक्त खण्डकाव्य पढेपछि सुरेन्द्र अस्तफलसँग लोभिएको हुँ म । अक्षरको सम्बन्ध अचम्मको हुन्छ । अन्य सम्बन्धभन्दा माथि र सहज स्थापना हुन सक्ने । चिसापको बृहत् कविता वाचनमा एउटा कविता वाचन गर्दा उहाँ त्यस कार्यक्रमको सञ्चलक हुनुहुन्थ्यो । चितवन साहित्य परिषद्‌का सारथि सुरेन्द्रलाई नजिकबाट चिनेको छैन तर उहाँको लेखनका केही पाना सँग नजिक छु म । जति पढेको छु भावानात्मक र यथार्थवादी पाउँछु । अघिल्लो सङ्ग्रह आमा माथि टिप्पणी गर्ने समयले सायद नेटो काट्यो कि, उसो त आमाले नै हो म मा छाप छोडेको । अन्य विधाजस्तै कविताले पनि  वर्तमान आवाजको अपेक्षा राख्ने हुँदा तेल भिसाकै उडानमा रमाऊँ ।

कविताको स्वरूप नै यस्तै हुन्छ अमूर्त । नदेखिने कुराले बनिएको एउटा चित्रजस्तो । खोज्न सक्नेले शब्दैपिच्छे स्वाद भेट्छ । जसरी एउटा चित्रकारले विनाकारण आफ्नो क्यानभासमा एक थोपा रङ्ग पनि कम बढी प्रयोग गर्दैन ।  शब्दलाई अत्यावश्यक मात्रामा मात्रै प्रयोग गर्नु नै खुबी हो एउटा । यो फगत फुस्रो प्रशंसा होइन । आवश्यक पर्दा निर्मम आलोचना गर्नुपर्ने हुन्छ कविताको । उसो त कविता एउटा दृष्टिकोण हो । लेखिने एउटा देखिने अर्को माथि नै भनेँ तर लेखिने र देखिनेबिच जुन तारतम्य मिल्छ अनि बन्छ आनन्दको एउटा सेतु पाठक र लेखकबिच । वारिको कवि कविताको पुल तरेर पारिको पाठकसम्म पुगेर उसको मन हल्लाउन सजिलो पक्कै छैन । ग्राह्य र पाच्य हुनु मात्रै कविताको गुण होइन त्यसमाथि मस्तिष्कमा लाहा छाप छोड्नु अन्तिम लक्ष्य हो । एक टुक्रा वाक्य किन नहोस् भुल्न नसकियोस् । तब न कविता । समग्र कविताका कुराको लहरो जति तान्दा पनि सकिन्न । त्यसैले तेल भिसाभित्र नै घोत्लिने जमर्को गरेँ ।

नेपालीको सम्पन्नता भन्नु कि विपन्नता विभिन्न देशहरू घरमाइतजस्ता भएको वर्तमानमा तेल भिसा आएपछि तेल भिसा पाएपछि फुरुङ्ग हुने पुरानो पुस्ता आँखामा आएका छन् । विमानस्थल एउटा गर्भ हो जहाँ अनेकौँ बिउ छन् गन्तव्य कुरेका । मायाँका पोका फुस्काएर देखाएका छन् कविले । मानौँ उनी चेकिङ्ग गर्दै छन् उडानमा लान पाइने नपाइने सामानको । मातृत्वको मूल फेरि एकपटक फुटेको छ बुढी कुवाको पँधेरीको ।

विष्णु पादुका

अप्रिय शब्दले आलोचना गर्दै प्रिय बुद्ध ! प्रेमको बाली सप्रिएको हेर्नु छ । पितृत्वभन्दा यो धर्तीका मातृत्वको महान् भूमिका छ । संसार थाम्ने धराले त्याग रोज्नु भनेको संसार सकिनु हो । संसार त्यागले होइन मोहले अडिएको छ ।

हरेक कुरामा हेर्न जाने सकारात्मक कुरा देख्न सकिन्छ । कहर भएर छाएको कोरोना कविका आँखामा आकर्षक मिस कोरोना भएर छाएकी छन् । संसारलाई विचलित बनाएको मान्छेकै व्यवहार र आचरणले । कुमारी कोरोनाको संरक्षण गर्न नजानेरै मासिक धर्मका रक्तकण संसारमा फिजिएको हो ।

समय प्रेमको साधना साध्य सबै हो । हरेक कुनै समयलाई प्रेमले सुमसुम्याउन प्रेमिल सम्बोधन गर्छन् विम्बमा एउटी समयको झुलभित्रकी युवतीसँग । कविताको गहिराइ कतिसम्म हुन्छ ? पटक-पटक पढ्दा अझै रसिलो लाग्दै जाने त्यो झुलभित्रकी युवती विस्मृत नहुने मूर्त रूप पो भइदिन्छे ।

समयको अर्को कोण छ व्यस्तताको आफ्नै वृत्तमा रहेका अनेकौँ कुरा सम्झन र देख्न पनि कुनै समय तोक्न सक्दैनौँ हामी । हामीसँग कुनै समय तालिका छैन मानौँ भद्रगोल जिन्दगी बाँचिरहेछौँ हामी । आफ्नै जीवनसँग जोडिएका पुस्तकका पन्ना र कोरिएका हरफ नियाल्न समेत फुर्सद छैन हामीलाई । जीवनको पाठशाला पढ्न बाथरुमको बसाइ ! साँच्चिकै दयालाग्दो अवस्थामा आजको व्यस्त या भनौँ अस्तव्यस्त युग ।

एउटा रुख जसलाई आफ्नो काण्ड बोक्रा, हाँगा र पात भन्दा अझ माथि पुगेका फूलहरूसँग मोहित हुन्छ । हाँगाहरूलाई मोटाउन हतार पातहरूलाई फैलिन हतार तर मूल रुख जसले हिजोदेखि भोलिसम्म जल मल र रस फलसम्म पुर्‍याएर थाकेको छैन । आफ्नो कर्तव्यच्युत भएको छैन । सहाराको थाङ्रो ढलिसकेर पनि । बाप्रतिको करुणाभाव पोखिन कुनै कन्जुस्याइँ भएको छैन ठिक भनिस् साइलामा ।

भर्‍याङ चढेर पुगेका धुरीका मान्छेले बिर्सन्छन् फेरि जमिनमा झर्नु छ भनेर । कमरेडको अर्थ साथी हुनुपर्ने मालिक भएकोमा तितो व्यङ्ग्य हो  कमरेडलाई प्रश्न । दुखको ऐँठनमा सम्झिने र दुःखको बैठानमा बिर्सने रोगले त हो गाउँघर पछिपरेको । राजनीतिले तहसनहस भएर पनि देशलाई अग्रगामी देख्ने ख्वामितहरूको भजनमन्डलीमाथि आक्रामक छ कवि मन । लोग्ने होइन लोग्ने मानिसबाट छुटकारा पाउनु असली विधवा हो भनेर स्वतन्त्रताको शङ्खघोष र नवीन परिभाषा अघि सारिएको छ विधवामा ।

आर्थिक उपार्जनले पारिवारिक नेतृत्व प्रदान गर्छ । जसले कमाउन सक्छ उसको आज्ञा शिरोपर गर्नुपर्ने एउटा कुरा र बोकिआएको अनावश्यक  पुरुष प्रधानता यसरी पनि तोडिँदै छ भन्ने कथानक कविता हो टेम्पो चालक महिलाको नाममा ।

हिजोका हरि गुरु शशि र बालकृष्णसरले छरेको चेतनाले अनि जीवन भोगाइका अनुभूति जन्य पाठले रामभित्र धाम, धामभित्र राम र निर्माणभित्र निर्वाणको बोध भएको छ । समय नै गुरु र समय नै प्राप्ति हो । फेरि पनि समय भिन्न छ भिन्न रूपमा समयले पाठ सिकाएको छ । बोधको दायरा फराकिलो हुँदो छ ।

समयका विभिन्न कालखण्डमा उठ्नेगरेका जातीय र धार्मिक विचलनका विरुद्ध अनावश्यक आकासिएका मुद्दाप्रति सङ्केत गर्दै एकता सबैभन्दा बलियो र निर्णायक शक्ति भएको घोषणा हुन्छ निर्णयमा । एक दिने खबर हुन एक दुई जना धुरीमा पुग्न मिलेर बसेको समाजभित्र विषको बिउ नछर्न विनम्र आग्रह छ कविको ।

प्रणय यात्रीसँग जीवनका उपलब्धि साटेर प्राप्तिहरूको सुखमय आनन्द लिन सक्ने कवि उपलब्धिले सुखद  निर्वाणको परिकल्पना गर्छन् तिमी र ममा । एउटा आदर्शमय परिवारमा योबाहेक के चाहिन्छ र । जहाँ शान्ति त्यहाँ स्वर्ग । सम्बन्धहरू जोडिएपछिका समयका अन्तरात सदैव प्रेमिल रहून् कवि कामना छ ।

नेपालका सबै शिक्षण पेसामा आबद्ध जो रातदिन जोतिएर पनि जीवनस्तरमा उल्लेख्य सुधार हुन सकेको छैन ती सबैको कथा व्यथा निकै गहन गरी पोखिएको छ गुरुमा । शिक्षालाई हेर्ने स्पष्ट दृष्टिकोणको अभावमा शिक्षक फगत मजदुर भएको छ । कारखाना चलिरहेछ उत्पादन टुटेको छैन तर मजदुरको जिन्दगी कहिल्यै फेरिन सकेको छैन । विसङ्गत शैक्षिक अवस्थाको यथार्थ चित्रण हो गुरु ।

आजको युगले ल्याएको ठुलो परिवर्तनले अस्पताललाई तीर्थ बनाएको छ । आजको खानपान र आहार विहारले अस्पतालको व्यवसाय फस्टाउँदो छ । औषधिका गोली अक्षता र प्रसाद भएका छन् । एम्बुलेन्सका साइरन मन्दिरका घण्टी अनि रगतका रिपोर्टहरू आगत भएका छन् ।  निकै यथार्थ परक कविता हो यो ।

जहाँ जे कुराको निषेध गरिएको छ त्यहाँ त्यही कुरा मौलाउँदो छ । मनाही भनिएकै कुरा गर्नमा मानिस उद्यत छ । प्रकृतिसँग नजिकिन कवि मन लखरलखर हिँडिरहन रुचाउँछ ।

कवितामा शृङ्गार रसको प्रयोग कवितामा हुन्छ नै । कतै संयोग शृङ्गार त कतै वियोग शृङ्गार हुन्छ । पूर्व प्रेमिकाको नाममा र प्रश्न यही रस घोलिएर लेखिएको छ । राता अक्षर र अरिङ्गालहरूमा स्पष्ट विद्रोही भाव देखिनाले रौद्र रस हाबी देखिन्छ । जाडाको चिया विम्बमय छ । पूर्व फर्केको घर वियोग शृङ्गार रसमा  केन्द्रित छ । प्रेमिल स्मृतिमा कालो सल छाएको छ ।

जुनसुकै नेतृत्वले आजसम्म जन चेतनालाई महत्त्व नदीएको र आफैँ मात्र जान्नेसुन्ने सर्वज्ञाता भएको भ्रम पालेको सत्तालाई हात्तीले सम्बोधन गरिएको छ । कात्रोको अनुभूति दृष्टिबाट होइन अनुभूतिबाट हुनुपर्छ भन्ने तात्पर्य बुझाउँछ कात्रोले । अनुभूति साटिने अर्को कविता हो साथी तिमी त बुढो भएछौ । उडान रोजेर उडेको परेवाको प्रतीक्षामा कैयौँ परेवाहरूले बतासे अन्डा सेकाएर बसेको आजको यथार्थ हो उडान ।

नेपाल र नेपालीले भोग्दै आएको छिमेकी मित्रराष्ट्रको बल मिचाइको प्रतिकार भएर आएको हो खबरदार ठुल्दाइ कविता अनि लकडाउनले दिएका निर्देशन हो लकडाउन । देशले दिएको “बहुमूल्य” चिज एक थान नागरिकताको उपयोग कहाँनेर भएको छ भनेर देखाइएको छ एक थान नागरिकतामा ।

नारी हैकमवादभित्र पनि त स्वार्थ लुकेको छ,  मिस्टर हेन्डसम । गाईजात्रामय राजनीतिक विसङ्गतिको अर्को पटाक्षेप हो प्रतापको देशमा । चरो चारोको खोजीमा  जुनसुकै पठार पुगे पनि गुँड बिर्सन नहुने सन्देश हो मलाई तिमी चाहिन्छ । खुसी र आनन्दको खोजी गन्थनमा पाइन्छ । अनुवंशको फेर बदल मात्र देखिन्छ सत्ताको चुच्चोमा । घरजलेपछि मात्र  कुवा खन्ने उखानको अर्को कोण हो एम्बुलेन्स चालक । मौसुफहरू अर्को राजनीतिक पटाक्षेप हो । ठुला देखिने माछाको भोकमा सानाहरूको पलायनको निरन्तरता ठुलाहरूसँग । बन्नुपर्छ भन्नु र बनाउनुको तादात्म्य मिल्न नसकिरहेको यथार्थ हो समय हेर्ने आँखा । दूरीको स्थापनाले प्रेम बढाउँछ टाढा छन् र पो त मा । बादशाहहरूको लाजनीति अर्को कटाक्ष हो राजनितीमाथि ।

बुढी, घर फर्कौँ  पुस्तान्तर र पलायनले सिर्जिएका कथा व्यथाले सिर्जित छ । सरकार कहाँ छ ? खोजी टुङ्गिएको छैन । जीवनको आरोहअवरोहपछि आउने सत्यहरूको उजागर हो अस्तु बनेपछि । उनको उपस्थितिले प्रेमिल भएको हुन्छ वातावरण र अन्तको अरिमुठे जता पुग्छ सजिलोसँग आफूलाई उभ्याएर अरूलाई आफूमा विलीन पार्छ आजको मित्रशक्ति र आफ्नै नेतृत्वझैँ ।

यसरी उन्पचास कवितामाथि पोखिएका अस्तफल जीवनाभूति, राजनीतिक विसङ्गति, मानवीय सम्बन्ध अनि पलायन र पुस्तान्तरको सेरोफेरोमा फैलिएका छन् । झुलभित्रकी युवती, विधवा, गुरु,  तीर्थ नै अस्पताल, कात्रो जस्ता स्मृतिमा  मेटिन नसकिने कविता यसभित्र अटाएका छन् । महेश पौडेलको भूमिकाले थप सुगन्ध त थपेकै छ । तेल भिसाको उडानले अनन्त आनन्द दिएपछि यतिसम्म भनियो । सफलताको शुभकामना ।