परिचय
बुकाजिन ‘हिमाल साउथएसिया’ (भोल्युम २६, नम्बर ४, सन् २०१३) को ‘अन्डर दी स्याडो अफ दी बलिउड ट्री’ नाउँको विशेषाङ्कमा प्रकाशित लक्ष्मी मूर्तिको ‘डेड्ली लभ’लाई ‘घातक प्रेम’को नाउँमा नेपालीमा ‘आवश्यक’ अनुवाद गरी सन्दर्भअनुसार उपयोग गरिएको छ । मूर्तिलाई ‘सामान्य’ फोन्टमा राखिएको छ भने अनुवादकलाई ‘धर्के अक्षर’मा प्रस्तुत गरिएको छ । ‘कागजका जहाज’ उडाइएका ‘पात्र’का कथनमा ‘धर्के अक्षर’को प्रयोग छैन । ‘गीत’ तथा ‘कविता’लाई भने ‘धर्के अक्षर’मै राखी तिनका मुन्तिर ‘कागजको जहाज’ले संकेत गरेर रचनाकार, संगीतकार र गायकका नाम दिइएका छन् ।

गृहकार्य
लेख अध्ययन गर्नुपूर्व, लेखक-अनुवादकद्वारा पाठकलाई गृहकार्यको रूपमा एउटा सायरी र अलेक्जेन्डर ड्युमाले मिलेनीको नाउँमा कोरेको प्रीतिको चिठी अगाडि सार्नेछौं:

१. सायरी

तेरी डोली उठी,
मेरी मैय्‍यत उठी;

फूल तुझ पर भी बरसे,
फूल मुझ पर भी बरसे;
फर्क सिर्फ इतना सा था,
तू सज गई,
मुझे सजाया गया;

तू भी घर को चली,
मैं भी घर को चला;
फर्क सिर्फ इतना सा था,
तू उठ के गई,
मुझे उठाया गया;

महफि‍ल वहां भी थी,
लोग यहां भी थे;
फर्क सिर्फ इतना सा था,
उनका हंसना वहां,
इनका रोना यहां;

काजी उधर भी था,
मौलवी इधर भी था;
दो बोल तेरे पढ़े,
दो बोल मेरे पढ़े;
तेरा ‘निकाह’ पढ़ा,
मेरा ‘जनाजा’ पढ़ा;
फर्क सिर्फ इतना सा था,
तुझे अपनाया गया,
मुझे दफनाया गया !

२. प्रेमपत्र

मेरो हजुर,
मेरो ज्यानको फिकर नगर । दुई सालपहिले नै मलाई यो रोग लाग्यो र त्यसैबेलाबाट मेरो रुमाल सेतो हुनु छाड्यो । तिमी मलाई प्रेम गर्छ्यौ भने, म मर्नु कसरी सक्थें ?

ईश्वरलाई म तब मात्र सम्झन्छु, जतिखेर उनलाई सराप्नु चाहन्छु ।

तिमीले जेसुकै भनेपनि म नास्तिक हैन । म कदापि हुनु सक्दिनँ । नास्तिक त्यो हुन्छ, जो कुनै चीजमा विश्वास गर्दैन, र म ईश्वरमा विश्वास पनि गर्दिनँ तर तिमीमा गर्छु ।

भयभीत नहोऊ, म तिमीलाई प्रेम गर्छु । जगतमा तिमी सिवाय मेरो प्रिय प्रेमपात्र अर्को छैन, मेरी मिलेनी ! म ‘सामान्य अवस्था’मा छैन; लाग्छ, म पागल भइरहेको छु । अरू कसैको अँगालोमा मेरो हजुरलाई देख्नु मेरो निम्ति अकाल हुनेछ, पाताल हुनेछ । जुन विचारले मलाई अपराधी बनाउनसमेत सक्छ ।

मेरो हजुरको
अलेक्जेन्डर

घातक प्रेम

केटा केटीको पछि लागेर सताउँछ । द्विअर्थी शब्द प्रयोग गर्न रूचाउँछ । पीडित तुल्याउँछ । अपमानित महसुस गराउँछ । उनको परिवार तथा इष्टमित्रको मनोशान्तिमा बाधा पुर्‍याउँछ । उसको ‘प्रेमनिवेदन’ स्वीकृत भएन भने आफ्नै ज्यानको माया मार्ने वा उनकै ‘जुठो’ बार्ने धम्की सुनाउँछ । सुन्दा, चलचित्रको पर्दामा खलनायक उदाएको जस्तो । तर, उल्लेखित सम्पूर्ण चरित्र नायकको हो । सिनेमामा नायक पागलपन र त्यसको बन्धनलाई ‘अमरप्रीत’ बताउँछ ।

खलनायक
अनुवादक:
प्रेमको नाउँमा हुने भनेको शारीरिक, मानसिक, सामाजिकआर्थिक हिंसा नै हो । प्रेमले सघाउने भनेको पुरुषसत्तालाई नै हो । एउटा कवि आफ्नी प्रेयसीको गाला प्रेमको थप्पडले सुमसुम्याउँछ, केश प्रेमले जगल्ट्याउँछ । महोदय स्वयंलाई ‘विद्रोही कवि’ काजी नजरुल इस्लाम सम्झन्छन्, ‘प्रिय नरगिस ! तिमी के नभुल भने म एउटा कवि हुँ । जब प्रहार गर्छु, फूलले प्रहार गर्छु ।’ अर्थात, हजुरलाई क्षति पुर्‍याउँदा म पनि दुखेको छु । प्रेममा थप्पड ‘युगदेखि युगसम्म’ नओइलिने विशेष प्रजातिको पुष्प हो, जुन रातदिन प्रेयसीको गालामा फुल्छ । ‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन ।’ प्रेमले हिंसालाई सह्य तुल्याएको छैन ? हामी हिंसालाई प्रेमको नाउँमा क्षमा गरिदिन्छौं; जब प्रेमको हिंसाको कुरा उठ्छ, त्यसलाई ‘नागरिक आन्दोलन’मा ‘काजी’ व्यक्तिको ‘योगदान’ले काट्ने गर्छौं ।

एउटा युग नाघेको भनाइले प्रेम मस्तिष्कबाट नभई मनबाट हुने कुरालाई मनाही गरेको छैन । जसको सीधा अर्थ हुन्छ, प्रेममा मस्तिष्कको महत्त्व हुँदैन; प्रेम भनेको दिमाग खुस्केकाले गर्ने हो । त्यसैले, प्रेममा नायक र खलनायक छुट्टिनु सक्दैन । किनभने, दुवैको दिमाग बराबर खुस्केको हुन्छ । नायक नायिकालाई खलनायकको व्यवहार प्रस्तुत गर्छ भने पनि बराबर बुझ्नुपर्ने भो, नायक प्रेममा छ । अश्विनी कोइराला फेसबुकमा प्रेमिल स्टाटस लेख्छन्, ‘जसले तिम्रो गालामा थप्पड जड्छ, उसैले तिमीलाई प्रेम हद गर्छ ।’ प्रेमीहरू समाजमा पागलखाना खोज्छन् ? समाजहरू पागललाई प्रेमी सोच्छन् ? अश्विनी कोइरालाहरू समाजलाई ‘प्रेमालय’ किन बनाउन चाहन्छन्, पागलको सङ्ख्या बढाउन ? प्रेमको शक्ति, बरिलै !

ऋषि न्यौपाने निर्देशित रोज राणाको चलचित्र ‘खलनायक’मा देवा (विराज भट्ट) रोशनी (झरना थापा) लाई विवाहमण्डपबाट उठाउँछ र ‘चितवनको जंगल’ पुर्‍याउँछ ।

➢ रोशनी: के सोच्छस् तैँले, मलाई यहाँ जबर्जस्ती ल्याउँदैमा मेरो माया पाउँछस् ? भ्रम त्यागिदे ।

➢ देवा: भ्रम होइन, मलाई विश्वास छ रोशनी, एक न एक दिन तिम्रो माया पाएरै छाड्छु । यदि तिम्रो सिउँदोमा मेरो बाहेक कसैको सिन्दुर पर्छ भने म त्यो सिउँदो नै मेटाइदिन्छु ।

➢ रोशनी: यसरी जबर्जस्ती गरेको मायालाई पागलपन भनिन्छ; एकतर्फी हुँदैन ।

➢ देवा: माया त माया हो रोशनी, एकतर्फी होस्, दुईतर्फी होस् । यो न कहिल्यै बदलिएको थियो, न कहिल्यै बदलिनेछ । तिमीले मलाई माया नगरेर के भो, म त गर्छु नि !

‘दिल’ (सन् १९९०) मा छ, ‘मन’ (सन् १९९९) मा छ, तर ‘धड्कन’ (सन् २०००) मा छैन, के हो ? आमीर खान । त्यसैले ‘धड्कन’मा देव (सुनील शेट्टी) अञ्जली (शिल्पा शेट्टी) लाई डाँको छाड्छ, ‘अञ्जली ! मैं तुम्हे भुल जाऊँ ये हो नहीं सकता; और तुम मुझे भुल जाओ ये में होने नहीं दूँगा ।’ जसको आशय, प्रेम भनेको दुईबाट एक हुने थोक हो; एउटाले मन पराउँछ, जसमा अर्कोको सहमति जरुरी हुँदैन । कोइरालाहरूको लागि प्रेममा ज्यान दिनु आदर्शको विषय हो भने ज्यान लिनु हत्या होइन । उनीहरूको प्रेमको शब्दकोषमा पागलपन र उत्पीडन भनेको साधना हो, प्रेमको साधना । समाजले प्रेमीहरूलाई गर्ने हिंसाभन्दा दोब्बर हिंसा प्रेमीहरूले प्रेमिकाहरूलाई गरिरहेका हुँदैनन् ? नेपाली ‘लभस्टोरी’ फिल्ममा ‘एक्सन’ भनेको नङमासु हो । पर्दामा, नायिकालाई हासिल गर्न नायक जति ‘एक्सन’ समाजको विरुद्ध लिन्छ, त्यसको दुईगुणा ‘एक्सन’ नायकले नायिकामा प्रयोग गरिरहेको हुँदैन ? देवाको ‘न कहिल्यै बदलिएको, न कहिल्यै बदलिने’ थोक प्रेमको नाममा महिला उत्पीडन होइन ?

रांझणा: ह्वाई दिस कोलाभेरी डी ?

आनन्द राय निर्देशित ‘रांझणा’ (प्रियतम, सन् २०१३) ‘हीर-रांझा’को आधुनिक व्याख्यान हो । ‘हीर-रांझा’को अमरप्रीतको लोकगाथामा हीर र रांझा एकअर्कालाई चौपट्टै प्रेम गर्छन् । लैला-मजनू, सोहनी-महिवाल र मिर्जा-साहिबान जस्तै, नायिका प्रेमीप्रति प्रतिबद्ध छिन्, र परिवार एवं समुदायका बाधाहरूलाई धक्का पुर्‍याउँदै स्वयंको इच्छा र समर्पणको नदीमा हाम्फाल्छिन् । तर ‘रांझणा’मा, नायकको एकपक्षीय वा एकोहोरो, नायिकाको समर्थन हासिल गर्नबाट वञ्चित समर्पणको पागलपनलाई अमरप्रीतको रूपमा प्रस्तुत गरिएको छ ।

वाराणसीमा छायांकन गरिएको चलचित्रमा विद्यालयमा अध्ययनरत छात्र, तमिल हिन्दू ब्राह्मण आमाबाबुको एक मात्र पुत्र कुन्दन शंकर (धनुषको बलिउड डेब्युट) दशहराको लागि शिक्षकको घरमा चन्दा सङ्कलन गरिरहेको बेलामा नमाज पढिरहेकी जोया हैदर (सोनम कपूर) को दर्शन गर्नपुग्छ र उनको प्रेममा शिरदेखि पाउसम्म डुब्छ । समयको साँघुमुनिबाट कति सालको पानी बह्यो; समयको हाँगाबाट कति सालको चरी भुर्र उड्यो साध्य छैन । ‘प्रेमालाप’ गर्न निस्किने, जिस्किने हिम्मत जुटाउँछ तर उसको ‘प्रेम’लाई सम्बोधन गर्ने उनको नामधरी उसलाई थाहा भएको हैन । ऊ उनको छायाजस्तो पछि पर्छ, अनगिन्ती पटक उनको थप्पड खान अघि सर्छ । उनको स्वीकृति पाउन नाडी पनि काट्छ । किनभने उसले देखाउन चाहन्छ, उनीबिना उसको नाडीको गाडी चल्दैन ।

अलीगढ र दिल्लीको अध्ययनले जोयाको जीवनदर्शन व्यापक हुन्छ; कुनै दिन आफ्नो पछि लाग्ने केटोको स्मृतिले युवतीलाई सताएको छैन । तर दु:खको कुरा, चलचित्रको चम्चा भने कुन्दन हो; चम्चाहरूको काम खुवाइदिने हो । ‘रांझणा’ वा पागल प्रेमीको चम्चाले चलचित्रका दर्शकलाई के खुवाउँछ भने, एउटी युवतीले नखोजेको कसैको सन्तानको ध्यान वा ‘पछौटे’ काम अपराध होइन, ‘मोहब्बत’को वरदान हो ।

चलचित्रलाई ‘निस्वार्थ प्रेम’को चित्रणको लागि सराहना गरिएको छ । ‘निस्वार्थ’ ?

➢ कुन्दन: तुमसे प्यार करना मेरी काबिलियत हैं, तुम्हारी नहीं । और कोई होता तो मैं उसे भी इसी तरह जी जान से प्यार करता ।

निर्देशक रायको बाङ्गो तर्क सोझिन्छ, ‘सानो सहरमा हुन्छ नभनुञ्जेल पछि पर्नु, मरिहत्ते गर्नु साँचो प्रेमको शैली हो ।’

बाजी: एक फूल दो माली

अनुवादक:
‘मधुमालतीको कथा’को आधुनिक स्वर जस्तो नेपाली चलचित्र ‘बाजी’मा प्रियंका (उषा पौडेल) प्रति शेखर (दिलीप रायमाझी) को घनघोर आशक्तिबारे सुसूचित भएपछि उनको प्रेमी अंकित (सुशील क्षेत्री) खित्का छाड्छ:

➢ भनेपछि तिम्रो प्रेममा पूरै बहुलाहा भएछ ? एउटा फूल दुईवटा माली । म तिम्रो प्रेमी, तिमी त उसको प्रियतम । तिमी छौ नै यस्तो, सृष्टिको सुन्दर सिर्जना । तिमीलाई देखेर त कोही पनि बहुलाहा हुनसक्छ । ऊ पनि भयो ।

मानौं, प्रेमको नाउँमा युवकमा देखापर्ने पागलपन युवतीको दोष हो । किम कि-दुकको लेखनमा तयार भएको सन् २००८ को कोरियाली फिल्म ‘ब्युटीफूल’मा बलात्कारी युवक आफू निर्दोष छु भन्छ, ‘मैले तिम्रो बलात्कार गरेको छैन । तिम्रो सुन्दरताले मलाई बलात्कार गरेको हो, दोषी तिम्रो सुन्दरता हैन ?’ जर्ज बर्नाड शले अभिनेत्री केम्पबेललाई नोभेम्बर ८ सन् १९१३ मा लेखेका छन्, ‘मेरो हजुर ! तिमी पुरुषको लागि अपमान हौ, र उनीहरूको विद्यानष्ट, बुद्धि भ्रष्ट गर्छौ । तिम्रो प्रेमको योग्य हुन मैले स्वयंलाई गिराएँ ।’

जब जब फूल खिले

ना ना करते प्यार
तुम्ही से कर बैठी
करना था इनकार
➢ स्वर: मोहम्मद रफी, सुमन कल्याणपुर
➢ संगीत: कल्याणजी-आनन्दजी

‘जब जब फूल खिले’ (जहिले जहिले फूल फुले, सन् १९६६) को हिट नम्बर ‘ना ना करते प्यार’ ले प्रेमको महिमा गाइरहेको छ; अर्थात, ‘पाजी पिरतीको जालसाजी’ व्यक्तिको बलबुताबाहिरको भनेर स्वर मच्चाइरहेको छ ।

मर्यादा
अरविन्द सेन निर्मित-निर्देशित ‘मर्यादा’ (सन् १९७१) का राजाबाबु – बलिउडका प्रथम ‘सुपरस्टार’ राजेश खन्ना – उद्यानमा वाक्कदिक्क ललिता (माला सिन्हा) लाई पछ्याउँदै जिस्काइरहेको छ:

गुस्सा इतना हसिन है तो प्यार कैसा होगा
अरे ऐसा जब इनकार है तो इकरार कैसा होगा
➢ रचना: आनन्द बक्षी
➢ संगीत: कल्याणजी-आनन्दजी
➢ स्वर: किशोर कुमार

छेडखानी (इभ-टिजिङ) त्यस्तो किसिमको भारतीय उत्कृष्ट शब्द हो, जसले गम्भीर अपराधलाई तुच्छ सोच्छ, प्रेमनिवेदनको नाउँमा ‘यौन उत्पीडन’ गर्नु खोज्छ ।

शोले
‘शोले’ (सन् १९७५) मा धर्मेन्द्रको चरित्र वीरु (धर्मेन्द्र) घोडी ‘धन्नो’ले तानेको टाँगामा स्वयंलाई झुन्ड्याउँछ, दिक्दार ‘टाँगेवाली’ वसन्ती (हेमा मालिनी) लाई अँठ्याउँछ र गाउँछ:

हाथों में चाबुक होठों में गालीयां
बडे नखरेवालीयां होते हे टाँगेवालीयां
कोई टाँगेवाली रूठ जाती है तो, और नमकिन हो जाती है
कोई हसिना जब रूठ जाती है तो, और भी हसिन हो जाती है
➢ रचना: आनन्द बक्षी
➢ संगीत: राहुलदेव बर्मन
➢ स्वर: किशोर कुमार

‘कोई हसिना जब रूठ जाती है तो, और भी हसिन हो जाती है’ । पुरुषले महिलालाई जिस्काउनु वा पट्याउनु खोज्नु ‘ढङ्ग मरु कसो गरूँ’ हैन, नाजायज छैन भनेर ‘घामझैं छर्लङ्ग’ उत्पीडनको वकालत गरेको छ । सामाजिक भाष्य के छ भने, पुरुषद्वारा प्रस्तावित ‘धक्का’हरूमा महिला पक्का नहुनु सुन्दर ‘सहनशीला सुशीला’ युवतीको ‘बत्तीसै लक्षण’युक्त एक गुण हो । समाजले महिलालाई कस्तो पाठ पढाएर हुर्काएको छ भने, असल केटीले, घराना चेलीबेटीले मायाप्रीतिका मामिलामा ‘प्रथम कदम’ चाल्नुहुँदैन, पुरुषका पहलमा समेत कुनै प्रतिक्रिया दिनु थाल्नुहुँदैन । ‘अफ-स्क्रिन’मा (पर्दापछाडि) धर्मेन्द्रको दोस्रो धर्मपत्नीका रूपमा हेमा मालिनीको ‘अन्त्य’ (उदय ?) को तथ्यले, बलिउडका ‘हीम्यान’ तथा बलिउडकी ‘ड्रीम गर्ल’ (स्वप्नसुन्दरी) का पर्दामा अभिव्यक्त ‘शोले’का दृश्यहरूले ‘ट्रु हङ्क्स’ (असली सिकारी) ले आफ्नो ‘कल्पनाकी राजकुमारी’लाई ‘रील’मा ‘अँठ्याउँने’ तथा ‘रियल’मा ‘हासिल गर्ने’ धारणामा थप बल पुग्यो ।

दक्षिणा
अनुवादक:
‘कोई हसिना जब रूठ जाती है तो, और भी हसिन हो जाती है’ को नेपाली समतुल्य हुनसक्छ:

मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती
➢ रचना: कृष्णहरि बराल
➢ संगीत: राम थापा
➢ स्वर: रविन शर्मा

निरुता सिंहको पहिलो – उनको ‘गडफादर’ तुलसी घिमिरे निर्देशित – चलचित्र ‘दक्षिणा’मा सुमन (निरुता सिंह) लाई अभिषेक (भुवन केसी) ले ‘स्टकिङ’ गरिरहेजस्तो लाग्दछ, ‘हे भगवान ! मार्‍यो मलाई यो गुण्डाले । एउटी केटी देख्न हुँदैन, पछिपछि लागिहाल्छ । अब त मेरो गाउँ आयो । यहाँसम्म आएको भए त्यसको हातखुट्टा भाँचिदिने थिएँ ।’ उनीहरू एउटै गाडीमा सवार हुन्छन् । एकै ठाउँमा उत्रन्छन् । एउटै डाँडा उक्लिरहेका हुन्छन् । सुमन धक मान्छिन्, ‘को हो को हो’ सँग बोल्ने हिम्मत जुट्दैन, वक् फुट्दैन । आफ्नो ‘गाउँ’ठाउँको झुलुक्क मुहार देखेपछि उनी केही ढुक्क हुन्छिन् । गाउँ विशेष किन छ भने, ‘उनको रचना’मा गाउँकै त योगदान छ । जसले आफूसँग बोल्नु खोजिरहेको एउटा ‘परदेशी’लाई सदा ‘परचक्री’ वा गुण्डा सोचेर सन्देहको चस्माले हेर्नु लगाउँछ, ‘बा ! सहरदेखि एउटा गुण्डा पछिपछि लाग्दै आएको छ ।’ गाउँ आफ्नो ‘लक्ष्मणरेखा’बाहिर चेलीबेटीलाई असुरक्षित देख्छ । त्यसोभए, गाउँघरमा महिला असुरक्षित छैनन् ? नारीको लागि घरबाहिर भन्दा घरमै धेरै परदेशी हुँदैनन् ? जस्तो भनिन्छ, छोरी पराईको घर जाने जात, त्यसैले माइतघरका बाबुआमा नै सर्वप्रथम परदेशी वा परचक्री भएनन् ? बाटोमा अभिषेक अचम्म मान्छ, तर सुमनहरू त्यसरी अभिशप्त हुनुमा बा र अभिषेकहरूकै भूमिका छैन ?

चाँदनी
अनुवादक:
लक्ष्मी मूर्तिले लेखेकी छिन्, ‘असल केटीले, घराना चेलीबेटीले मायाप्रीतिका मामिलामा ‘प्रथम कदम’ चाल्नुहुँदैन, पुरुषका पहलमा समेत कुनै प्रतिक्रिया दिनु थाल्नुहुँदैन भनेर समाजले नारीलाई सिकाएको हुन्छ ।’ उनको तर्कमा शतप्रतिशत सहमत हुन निरुता सिंह अभिनीत अर्को चलचित्र ‘चाँदनी’लाई अगाडि सारौं, आँखामा पारौं ।

शीर्षपात्र अर्थात चाँदनी (निरुता सिंह) र अर्जुन (राजेश हमाल) को भेट हुनु जुरेको छ । ‘लभ एट फस्ट साइट’ (प्रथम दृष्टिको प्रेम) ? दुवै एकअर्कालाई मन पराउँछन् तर बोल्न डराउँछन् । हेराहेरले सीमा नाघ्नु थाल्छ, मनमा कुरा पाक्नु थाल्छ । उनीहरूको संवाद छ:

➢ अर्जुन: (अप्रकट) हेर्दाखेरि त सोझी देखिन्छे, कामचाहिँ उल्टोफुल्टो गर्दिरहिछे ।
➢ चाँदनी: (अप्रकट) हेर्दै बाघजस्तो, जिउ पनि क्या लोभलाग्दो छ मोराको !
➢ अर्जुन: (अप्रकट) बानी खराब भएपनि हेर्दाखेरि त राम्री रहिछे, बोलाऊँ कि !
➢ चाँदनी: (अप्रकट) केटी भएर कसरी पहिले बोलाउनु, फेरि पोथी बासेको भन्ने हुन् कि !
➢ अर्जुन: (अप्रकट) पहिलो भेटमै कसरी बोल्नु, चिन्नु न जान्नु, को हो ! को हो !!
➢ चाँदनी: (अप्रकट) अघि चाहिँ शान देखाएर हिँड्थ्यो, अहिले चाहिँ बोल्दैन डरछेरुवा !
➢ अर्जुन: (अप्रकट) डराएर भएन । फेरि यस्तो मौका कहिले आउँला र, बोल्नैपर्‍यो । (प्रकट) सुन्नुस् त ।
➢ चाँदनी: (प्रकट) हँ !

‘प्रथम कदम’ युवकले चालेको देखिन्छ । उसले युवतीको शुभनाम सोध्छ र उनी उसको कानलाई ‘पवित्र’ पारिदिन्छिन्, ‘चाँदनी ।’ बरिलै ! केटो औंलो दिँदा हातै निल्नु खोज्छ, ‘वाह ! जति राम्रो मुहार, त्यति नै राम्रो नाम । के म तपाईंलाई हृदयदेखि नै यो नामले बोलाउन सक्छु ?’ केटोको निशाना अर्कोतिर नै हुन्छ; केटी केही च्याँट्ठिन्छिन्, ‘नाम बोलाउनकै लागि हुन्छ, होइन र ?’

निरुता सिंह ‘म कामी हुँ, मलाई कामी हुनुमा गर्व छ’ भनेर विवादमा तानिएको अवस्थामा तुलसी घिमिरेको प्रतिक्रिया छ, ‘कलाकारको देश हुँदैन ।’ हामीले घिमिरेलाई अहिले यतिमात्र भनौं, ‘निर्देशक-कलाकारको देश किन हुँदैन ? तपाईंहरू ‘दक्षिणा’ जस्ता चलचित्रमा आफू रहेका देशका सामाजिक संकथनलाई नै पर्दामा देखाउँदै हुनुहुन्छ । तपाईंको नाउँले नै तपाईंको जात जनाइरहेको छ, धर्म गनाइरहेको छ ।’ मानिसको अन्तर्राष्ट्रिय जातिको पथ त्यतिबेला सार्थक हुन्छ, जतिबेला मानिसले ऊ उम्रिएको भूगोलको पहिचान राम्रोसँग गर्छ । सिंहको ‘गर्विलो’ अभिव्यक्तिले उनी जात व्यवस्थाको कस्तो ‘घातक प्रेम’मा परेकी छिन् भनेर देखाउँदैन ? जात व्यवस्थारहित समाजमा उनको यस्तो ‘घातक प्रेम’ प्रकट हुनसक्छ ? समाजको संकथन बुझ्न जति ‘रिल’की चाँदनी मन्साउनु मिल्दैन, ‘रियल’की निरुता सिंहलाई पन्साउनु मिल्दैन ।

लहना
अनुवादक:

प्रेमको मामिलामा पुरुषले प्रथम कदम बढाउनुपर्छ भने, प्रेमको उत्पत्ति पुरुषको निम्ति भएजस्तो लाग्दैन ? एभा गाबोरको प्रेमको परिभाषा ‘एउटा खेल, दुईजना खेल्ने र दुईजनालाई नै विजय मिल्ने’ असफल सिद्ध हुन्छ । तुलसी घिमिरेको ‘लहना’मा रोहन (दिलीप रायमाझी) प्रिया (निरुता सिंह) लाई बुझाउँछन्:

➢ आई नो प्रिया हाम्रो सिस्टम । हाम्रो सिस्टममा केटीहरूलाई भन्नको लागि टाइम लाग्छ । प्रिया ! टेक योर ओन टाइम ।

हाम्रो ‘सिस्टम’ वा सामाजिकआर्थिक प्रणालीमा पुरुष सधैं अगाडि हुन्छ । महिला सधैं पुरुषको लागि जवाफदेही हुने हो, किनभने उनीहरू सवाल गर्न सक्दैनन् ? महिलाहरू पछि पर्नुको कारण प्रेमको नाममा पुरुषहरू उनीहरूको पछि लाग्नु हैन ? प्रेमको अर्को अर्थ महिलाको उत्पीडन हो भनेर शब्दकोषमा किन लेखिएको छैन ? प्रेमलाई महिला सशक्तीकरण भन्नु किन मिल्दैन ?

प्राण

सन् २०१३ को जुलाईमा आफ्नो त्रियानब्बे वर्षको उमेरमा दिवङ्गत भएका – लगभग ३५० चलचित्रमा खलनायकका चरित्रमा देखापरेका – प्राणको योगदानको स्मरणार्थ हालसालै एउटा दूरदर्शन कार्यक्रममा उनका ‘फ्यान’ (प्रशंसक) ले – ‘जोक’ अफ दी इभिनिङ – सुनाउँछन्: पर्दामा, प्राण अपहरित वा प्राणले अपहरण गरेका जुनसुकै नायिका चकित, दुविधाग्रसित हुन्छन्, हंगामा वा होहल्ला मच्चाउन नै भुल्छन्, स्वर गर्न नै बिर्सन्छन् किनभने, खलनायक भएर के भो ! भुसतिघ्रे खाइलाग्दो छ, सुन्दर छ, साक्षात कामदेवको अवतार छ, र अपहरण अपहरण हुँदैन, आकर्षण हुन्छ, एउटा रोमाञ्चक अनुभव हुनसक्छ । अपहरण यहाँ वैभवशाली प्रलोभनका खातिर, शानदार किसिमले पथभ्रष्ट गर्नका निमित्त, मोहजालका लागि केवल एक भूमिका वा प्रस्तावना हुन्छ ।

कन्याराशि
अनुवादक:

‘चाँदनी’को एक दृश्यमा भुसतिघ्रे गुण्डाहरूले जबर्जस्ती गरिरहेकी युवतीलाई हाँसिरहेजस्तो देखाइएको छ । शीर्षपात्र चाँदनीले ‘मनमनै’ बोलेको पनि सुनौं, ‘हेर्दै बाघजस्तो, जिउ पनि क्या लोभलाग्दो छ मोराको !’ नायिकाको मनोभावनालाई समाजले रचना गरेको ‘असहज अभिव्यक्ति’मा राख्न सकिन्छ । अर्जुन एक ठाउँमा केटी हेर्न जान्छ, तर केटीले आफ्नो ‘कामुकता’ व्यक्त गरेको हुनाले अस्वीकृत, आफ्नो वैवाहिक खाताबाट बहिष्कृत गरिदिन्छ । लक्ष्मी मूर्ति आफ्नो लेखको अन्ततिर के सिद्ध गर्छिन् भने, पर्दामा नारी चरित्रले नाघ्ने सामाजिक पर्खाल स्वयं व्यक्ति भएर प्रकट हुँदैन, नायकको व्यक्तित्वको परिणामस्वरूप हुन्छ । प्रेमी जब प्रेमिकालाई देख्छन्, उनी उसको लागि व्यक्ति होइन, केवल उसको भावना हुन्छिन् ।

‘चाँदनी’मा ‘अपरम्परागत’ (असामाजिक ?) पोशाकमा सजिएर बाटो हिँड्दै गरेकी एउटी युवतीलाई गुण्डाहरूबाट रक्षा गरेपछि अर्जुन सुझाव दिन्छ:

➢ हेर्नुस्, समय धेरै खराब छ । सोझो मान्छेको भलो भएको इतिहासमै छैन । दुई टुक्रा कपडा लगाएर नहिँड्नुहोला । चोली र फरियाले आफ्नो जिउ ढाकेर हिँड्नुहोला । स्वास्नीमान्छेले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ ।

सिनेमाले रमाइलो के देखाएको छ भने, ‘असामाजिक’ पोशाक धारण गरेकी युवतीलाई गुण्डाहरूले दोबाटोमा जबर्जस्ती गरेका छन् तर तिनीहरू बताउँछन्, ‘यस्तो सुनसान ठाउँमा तँलाई कसले बचाउनु आउँछ ?’ फिल्मको लोकेसन देखेर हाँसो पनि लाग्छ, तर अधिक विम्बात्मक किन लाग्छ भने, वास्तवमा हाम्रो युगमा महिला उत्पीडन दोबाटो, गल्लीगल्लीमा नै हुन्छ । महिला उत्पीडन नभएको ठाउँ कहाँ छ ? जाति, धर्म कुन छ ? महिला उत्पीडनका विरुद्ध कुनै सुनसान थलो छैन । चोली र फरिया लगाएर सुरक्षित हुनु सुझ्याउने चरित्रलाई के थाहा हुनुपर्छ भने, चोली र फरिया लगाउने महिला पनि उत्पीडनको सिकार भएकी छिन् । दुई टुक्रा कपडा लगाएर, हातखुट्टा, छाती देखाएर एक्लै नहिँड्ने सुझाव अर्जुनले स्वयं एक्लै प्रकट भएर र बडेमानका हातपाखुरा, छाती देखाएर दिइरहेको छ ।

कलाकारको देश हुँदैन भने ‘चाँदनी’मा अर्जुनकी आमा हीरादेवी (लक्ष्मी गिरी) तथा वहीदारका मुखारविन्दबाट हाम्रो देशको संकथन किन निस्किन्छ ?

➢ हीरादेवी: बन्दुकबाट निस्केको गोली र हीरादेवीको बोली एउटै हो । … फुटपाथे केटीहरूलाई सती-सावित्री बनाउने जिम्मा तैंले लिएको छस् ?

➢ वहीदार: छत्तीस पर्सेन्टको दरले हिसाबकिताब गर्दा लोग्नेमान्छेको दशा कन्याराशिपट्टि ढल्केपछि सब बर्बाद हुन्छ हजुर, केटीहरूको इज्जत बचाउँदै हिँड्दा एकदिन फुटपाथको केटीसँग लसपस भई हजुरको इज्जत कर्कलाको पानीझैं माटोमा मिल्न के बेर !

अप्पू: मानव बम

‘प्रेम’को भेषमा ‘असाधारण आसक्ति’हरू हिन्दी सिनेमामा मात्रै प्रशस्त छैनन्; ‘प्रेमनिवेदनको रूपमा उत्पीडन’ भारतका क्षेत्रीय सिनेमामा समेत उपलब्ध छन् ।

दृष्टान्तका निमित्त, कन्नड फिल्म अप्पू (सन् २००२) – नायकको रूपमा पुनीत राजकुमारको पहिलो चलचित्र – मा कलेज छात्र शीर्षपात्र (पुनीत) सुचित्रा (रक्षिता) को सामुन्ने आई मर्छ र प्रणयनिवेदन गर्छ । उनको प्रतिक्रिया व्यावहारिक र न्यायसंगत हुन्छ, ‘तिमी पागल त होइनौ नि ? पहिलोपटक हाम्रो चार आँखा हुँदैछ । पहिलो भेटमा नै ?’ अप्पू ‘सूची’ भनेर उनको नयाँ नाउँ नै न्वारान गरिदिन्छ, ‘मैले प्रेमले उसको यो नाउँ राख्दै छु । विवाहपछि उसलाई यही नाउँले बोलाउनेछु ।’ वर्ग अवरोध तोड्दै प्रहरी जवानको सुपुत्र र प्रहरी अधिकारीकी सुपुत्री एक भएको चलचित्रले लोचनभोजन गराउँछ तर महिला चाहनालाई भने जुठेल्नामा मिल्क्याउँछ ।

नन्ना हार्टु एटम बम्बू
नानू ह्युमन बम्बू
(मेरो मन हो एउटा एटम बम
म हुँ एउटा मानव बम)

अप्पूको कोरस वा समूहगानले उसमा भएको विनाशकारी चरित्रलाई खुइल्याएको छ । सुचित्रा घरबाट बाहिर निस्कन वा कलेज जान डराउँछिन्, किनभने अप्पू पछि परेको छ । उनको पिताले राखेका सुरक्षा सिपाहीको आँखा छल्दै अप्पू बिछ्यौनामै पस्नु सफल हुन्छ । चलचित्रमा उनी उत्पीडकसँग विकृत समीकरणमा आकर्षित हुन्छिन् । कर्नाटकमा कन्नड फिल्मका प्रतीकहरूले ‘रियलपोलिटिक’मा प्रभुत्व जमाएकाले युवाहरूलाई के महसुस हुनु नौलो छैन भने, उत्पीडन पनि अमूल्य हुन्छ, र साँचो आसक्तिको कुनै जवाफ हुँदैन ।

डर: खलनायकको रूपमा स्टकर

जादू तेरी नजर
खुशबू तेरा वदन
तू हाँ कर या ना कर
तू है मेरी किरण

मेरी ख्वाबों की तस्वीर है तू
बेखबर मेरी तकदीर है तू
तू और किसी और की हो ना जाना
कुछ भी कर जाऊँगा मै दीवाना

फासले और कम हो रहें हैं
दूर से पास हम हो रहें हैं
माँग लूँगा तुझे आसमाँ से
छीन लूँगा तुझे इस जहाँ से
➢ रचना: आनन्द बक्षी
➢ संगीत: शिव-हरि
➢ स्वर: उदीत नारायण

चलचित्रमा ‘प्रेम प्रलोभनको स्टकिङ’ कतिबेला रूपान्तरित हुन्छ ‘हिंसात्मक अपराधको रूपको स्टकिङ’मा ?

यश चोपडाको ‘डर: अ भ्वाइलेन्ट लभ स्टोरी’ (सन् १९९३) ले राहुल मेहरा (शाहरुख खान) को स्टकिङलाई मनोवैज्ञानिक सहानुभूति प्रदान गर्दछ । राहुल किरण (जुही चावला) लाई मध्यरातमा लगातार फोन सम्पर्क गरेर उनको प्रेमी सुनील (सनी देओल) बाट टाढिनु, दूर रहनु भन्छ । ऊ उनको जन्मदिनमा र फागु (होली) मा उनको घरमा उदाउँछ र उनी र उनको दाजुभाउजूलाई भयभीत तुल्याउँछ । ऊ आफ्नो ‘चोखो माया’ दर्शाउनु उनलाई रगतले लेखेको पत्र पठाउँछ । लोकप्रिय धारणामा, चोखो प्रेमको मापदण्डको माध्यम अरूहरूप्रति र स्वयंप्रति हजुरको विध्वंसात्मक शक्तिको प्रदर्शन हो; जति धेरै रगत बगाउनुहुन्छ, अहंकारमा रमाउनुहुन्छ, उति साँचो पिरतीको योग्य आफूलाई बनाउनुहुन्छ । ‘तू है मेरी किरण’ जति छोटो कथन छ, त्यसमा अमर ‘प्रेमनिवेदन’को नाममा पुरुष अहंकारको, नारीमाथि प्रहारको लामो इतिहास जतन छ ।

अनुवादक:
‘फासले और कम हो रहें है, दूर से पास हम हो रहें हैं ।’ प्रेममा महिलापुरुषको जति दूरी भासिन्छ, पुरुष उत्पीडक र महिला उत्पीडित हुने समयसीमा नजिकिन्छ । ‘तू और किसी और की हो ना जाना, कुछ भी कर जाऊँगा मै दीवाना ।’ महिलाले अर्कोलाई चाहे पनि प्रेममा उसको हुने हक छैन । ‘लहना’मा रोहन (दिलीप रायमाझी) आलोक (उत्तम प्रधान) लाई हिस्याउँछ, ‘प्रिया मर्छिन् भने तिमी मर्छौं ?’ आलोक व्यावहारिक सुनिन्छ, ‘प्रियासँगै मेरा अरू जिम्मेवारीहरू छन् ।’ रोहन खुशीसाथ घोषणा गर्छ, ‘म त मर्छु । त्यसो हो भने तिमी प्रियालाई मरेको सम्झ । तिमी जिउँदै छौ । म उनीसँगै छु ।’

‘डर’को कन्नड रिमेक ‘प्रीथसे’ (लभ मी) हो, जसलाई तेलगु भाषान्तरण ‘स्याडिस्ट’ (परपीडक) को नाउँमा तेलगुमा भाषान्तरण गरिएको छ । सन् २००० मा विष्णुवर्धनको ‘यजमान’पछि ‘प्रीथसे’ नै सर्वोच्च कमाइ गर्ने कन्नड चलचित्र हो, जुन पच्चीस हप्तासम्म चलेको छ ।

‘डर’का खातिर सर्वोत्कृष्ट खलनायक फिल्मफेयर अवार्डको मनोनयनमा परेका शाहरुख खानले सो श्रेणीको पुरस्कार भने ‘अन्जाम’ (परिणाम, सन् १९९४) को विजय अग्निहोत्रीको भूमिकाबाट प्राप्त गरेका छन् ।

अनुवादक:

‘अन्जाम’ वा नतिजामा एयर इन्डियाकी एक एयर होस्टेस शिवानी चोपडा (माधुरी दीक्षित) को एक धनी उद्योगपति विजय अग्निहोत्रीसँग भेट हुन्छ । विजय शिवानीसँग तुरुन्तै मोहित हुन्छन्, शिवानीलाई भने चासो छैन । विजयलाई पनि उनको बेवास्तासँग खाँचो छैन, उनको पछि पर्नु छाड्दैन । ‘तू हाँ कर या ना कर’ । उसले आमा पद्मा (बीना बनर्जी) लाई ‘बिहे गरे शिवानीसँग मात्रै गर्छु’ भनेर सुनाएको छ । ‘नाइँ आमा, मलाई त्यही केटी चाहिन्छ, जसरी भए नि जे गरी भए नि’ । शिवानीको हात माग्नु पुगेका पद्मा र विजयलाई के थाहा हुन्छ भने, उनले एयर इन्डियाका पाइलट (दीपक तिजोरी) सँग विवाह गरिसकेकी छिन् ।

गुस्ताव फ्लेबर्टले लुई कोललाई ९ अगस्ट १८४६ मा लेखेको प्रीतिको चिठी खोलौं:

➢ म स्वयंलाई मांसाहारी प्रेमको संस्कारले ग्रसित पाउँछु । जसमा मासु टुक्राटुक्रा पार्ने सामर्थ्य छ । के यो प्रीत हो ? हुनसक्छ, प्रीत त्योभन्दा विपरीत हो । थारो प्रेम ओथारो बसेर के पाउँछ, के जन्माउँछ ? मेरो प्यारो हृदय थारो छ ।

‘अन्जाम’मा गुस्तावको ‘मांसाहारी’ र लक्ष्मी मूर्तिको ‘प्रेम मापनको माध्यम अरूहरूप्रति र स्वयंप्रति विध्वंसात्मक शक्तिको प्रदर्शन’ लागू हुन्छ । शिवानीको उपस्थितिमा नै विजय जीवन र मृत्युको दोसाँधमा अस्पतालमा शैय्यामा लडिरहेको अशोकको अक्सिजन मास्क हटाइदिन्छ । शिवानीकी दिदी पद्मिशा (सुधा चन्द्रन) र छोरी पिंकी (बेबी गजला) को मृत्यु पनि विजयको कारको प्रहारले हुन्छ । अपराध नै नगरेर तीन साल झ्यालखानाको हावा खाएकी शिवानी परिवारको प्रतिशोधको लागि जस्तोसुकै कदम चाल्ने निर्णय गर्छिन् ।

उनले के पत्ता लगाउँछिन् भने, जुन कार दुर्घटनामा उनका आफन्तहरूलाई ‘घाट’ पुर्‍यायो, त्यसैले छाडेको निशानीले विजयलाई पनि पक्षघातग्रस्त तुल्यायो । उनी विजयको सेवाशुश्रुषा गर्न बस्छिन् । छुरा धस्नुअगाडि उसलाई अँगालोमा कस्छिन् । उनी के आत्मप्रकाशन गर्छिन् भने, उसको स्वास्थ्यको खातिर स्याहारसुसार गरिन्, किनभने आत्मरक्षा गर्न असमर्थ व्यक्तिलाई मार्नु पाप हो । तर ‘प्रेम’पञ्जाबाट फुत्किनु उनले जसको ज्यान लिइन्, उनी उसैको मलामी गइरहेकी थिइन् ।

अपराधको न्वारान

स्टकिङ वा पिछलग्गुपनको हाउगुजीले महिलाको मनोशान्तिमा खलल पुर्‍याइरहेको र उनको गतिशीलता, अध्ययन वा सामान्य अवस्थाका सम्बन्धहरूमा बाधा निम्त्याइरहेको विषयले भारतमा सन् २०१३ को प्रारम्भसम्म कानुनी मान्यता प्राप्त गर्न सकेको थिएन । फौजदारी कानुन संशोधन (सन् २०१३) को धारा ३५४डी अनुसार, एउटा पुरुषले स्टकिङको अपराध गरेको ठहर्छ जतिखेर १. महिलाको पछि पर्छ, पीछा गर्छ, महिलाको अरुचिमा, असन्तुष्टि जाहेरीमा सम्पर्क गर्ने चेष्टा गर्छ; वा २. महिलाले उपयोग गरिरहेका ईमेल, इन्टरनेट वा अन्य कुनै विद्युतीय सञ्चारका साधनमा अनुगमन गर्छ । त्यस्तो अपराधको निम्ति झ्यालखाना वा कारावास र जरिवाना हुन्छ, र जमानत रद्द वा फिर्ता हुन्छ ।

कानुनको प्रभावकारिता देखिन बाँकी छ, किनभने आम धारणामा, महिलाको ‘हो’ नै बुझिन्छ, जब उनी ‘होइन, नाइँ’ भनिरहेकी हुन्छिन् ।

अनुवादक:

एउटा पुरानो कथन छ: ईफ ह लेडी से’ज ‘नो’, शी मिन्स ‘मेइबी’ । ईफ लेडी से’ज ‘मेइबी’, शी मिन्स ‘यश’ । ईफ अ लेडी से’ज ‘यश’, शी ईज नो लेडी । अर्थात, सहजरूपमा उपलब्ध हुने महिला महिला नै होइन । तुर्की भाषामा एउटा शब्द छ, ‘नाजलानमार्क’, जसले नचाहेको बहाना तर अन्तरको चाहनालाई बुझाउँछ ।

प्रदीप श्रेष्ठको ‘डर’मा हिमाल उर्फ राजविक्रम (रमित ढुंगाना) गाडीको छतबाट गाडीको सिटमा बसेकी गुराँस (निरुता सिंह) लाई लगाएको कलमा बताउँछ, ‘तपाईंको त्यस्तो महँगो सल सम्हालेर राख्नुस् है, नत्र हावाले चोरेर लैजाला ।’ गुराँसलाई आश्चर्य लाग्छ, ‘को हो तपाईं ?’ हिमाल खुल्छ, ‘उही तपाईंको पागल प्रेमी ।’ गुराँस पुनः सोध्छिन्, ‘को हो तपाईं ? नम्बर कहाँबाट पाउनुभो ?’ हिमाल हाँसेको छ, ‘सिकारीलाई आफ्नो सिकारको बारेमा सबै थाहा हुन्छ ।’ गुराँसलाई रिस उठ्छ, ‘ह्वाट ?’ राजविक्रम आफूलाई केही सच्याउँछ, ‘आई मीन प्रेमीलाई आफ्नो प्रेमको बारेमा सबै थाहा हुन्छ ।’

कानुनका रचनाकार, सांसदहरू समेत निरन्तर स्टकिङ वा पिछलग्गुपन र उत्पीडनलाई लिएर भ्रममा छन् । बलात्कार र हत्या, एसिड हमला वा तेजाब प्रहार र अन्ततोगत्वा महिलाको आत्महत्याको प्रस्तावना वा भूमिका हुनसक्ने हात धोएर पछि पर्ने स्वभावलाई, मरिहत्ते गर्ने प्रवृत्तिलाई एउटा अपराधको रूपमा नजरअन्दाज गरेर, ‘रोमान्टिक एण्ड क्युट’ (प्रेमिल) भनेर छुट दिइएको छ । सन् २०१२ को डिसेम्बरमा दिल्लीमा एउटा छात्रामाथि सामूहिक बलात्कार भएको छ; तत्पश्चात महिला विरुद्धको अपराधका निम्ति नयाँ कानुनमाथि लोकसभामा गरमागरम बहस गरिरहेको बेला धेरै राजनीतिज्ञहरूका टिप्पणी स्तब्ध पार्ने र ताज्जुब लगाउने खालका मात्रै थिएनन्, बलात्कार विरोधी विधेयकले आह्वान गरेको गम्भीरतालाई नै आँच पुर्‍याउने किसिमका थिए । जनता दल (एकीकृत) का अध्यक्ष शरद यादवले पड्काएको बोलीको गोली छ, ‘कौन है हम मे से जिस ने पीछा नहीं किया है ?’ सभामा हाँसोको फोहरा फुटिरहेको छ तर उनी स्त्रीद्वेषी यज्ञमा घिउ थपिरहेका छन्:

➢ कोशिश तो हमें ही करनी पडती है । प्यार से बताना पडता है, यह पूरे देश का किस्सा है । हमने खुद अनुभव किया है ।
(हामीमध्ये को होला, जो केटीको पछि परेन ? पुरुषहरूले नै पहिले पहल गर्ने हो, प्रथम कदम बढाउने हो र युवतीहरूलाई मायाले विश्वस्त तुल्याउने हो । देशको चार दिशाको किस्सा यही हो । म स्वयंले अनुभव गरेको पनि यही हो ।)

कस्तो बिजोग ! शरद यादवको ‘महान आदर्श’ उनको दलमा मात्र सीमित छैन, बहुमतले त्यसको सदस्यता ग्रहण गरेको छ ।

अन्धवेग
व्यापक धारणा के हो भने, महिलाले यौनिकता वा कामवासना प्रकट गर्नुहुँदैन, राम्रो लालनपालनले हुर्केका युवतीहरू यौन अनिच्छुक हुन्छन्, र यौनलाई केवल विवाहमा सीमित गर्नुपर्दछ । जब महिलाको यौनिकता वा कामुकतालाई परिवार एवं समाजद्वारा कडाइसाथ नियन्त्रित हुन्छ र जाति, धर्म र वर्गद्वारा अनुदार किसिमले प्रतिबन्धित हुन्छ, उल्लंघनका निम्ति उच्च मोलको पनि संरक्षण हुन्छ, अत्याचार र अपराधमा समेत आकर्षण हुन्छ ।

अनुवादक:
हेनरिक इब्सेनको ‘पुतलीघर’मा प्रवेश गरौं: जहाँ हेल्मर नोरालाई चोर औंलो उठाइरहेका छन्, ‘के जाती साँच्ची तिम्रो धर्म छैन ?’ सोझो औंलोले घिउ आउँदैन भने नोराले औंलो टेढो गर्नुपर्छ, ‘मलाई डर लाग्दछ, हेल्मर, म सहीसित बुझ्दिनँ हजुरको धर्म के हो !’

बालकृष्ण समको वियोगान्त नाटक ‘अन्धवेग’ (१९९६ साल) मा भानिजभाइ जयवीरलाई देखेर पम्फाको वासनाको अतृप्तिको अभिव्यक्ति छ:

➢ मलाई सुखै थियो, दुई आँखाका नानीका पुतली जस्ता छोराछोरी थिए, जे भए पनि उहाँले मेरो माया गरेजति कल्लाई कसको पोइले गरेको होला ! मलाई आनन्दै थियो । जे भए पनि सुखै थियो । कुन पापी दैवले यो मान्छेको मुख मलाई देखाइदिएको होला ! … ऊ राम्रो हो भने राम्रो भन्दा नराम्रो नै राम्रो हुँदो रहेछ ।
(पृ. ३०-१, छैटौं संस्करण साझा प्रकाशन, २०४९)

सामाजिक-सांस्कृतिक भाष्यका अभ्यास – नोराका शब्दमा, पुतलीघरकी पुतली-सुवासिनी, माइतघरकी बाबाकी प्यारी गुडिया – लाई धुरारी ‘सुवास’ सोच्छन्, ‘हाम्रा मैयामहारानीहरू अगि सती गए, काल अर्कै भयो, … (पृ. ७०) ।’ हद पुगेको कर्द बढी धारिलो हुन्छ । जब अति गर्नू अत्याचार नगर्नूको ‘सती’को अनुदार भाष्य कुहिन्छ, लक्ष्मी मूर्तिको मुखारविन्दबाट वहेको ‘उल्लंघन … अपराधमा समेत आकर्षण’को वचनको सर्वोत्कृष्ट उदाहरण मुगाको अगाडि पम्फाको मुखबाट चुहिन्छ, ‘पाप डरलाग्दो मात्रै भए त को पाप गर्थ्यो, रहरलाग्दो पनि हुन्छ र पो ! (पृ. ८०)’

प्रेमको धारणाले सामन्ती विभाजनको पर्खाललाई नाघ्ने प्रयत्न गर्दछ र परिवार र समुदायमा व्यक्तिलाई प्राथमिकतामा राख्छ । जहाँसम्म ‘फिल्म रोमान्स’ वा चलचित्रका प्रेमका रोमाञ्चक दृश्यहरूमा वर्ग, जाति र धर्मका ‘दसगजा’मा उभिने कोसिस छ, चलचित्र निर्माताहरूले पछार्नु खोजेको, पर सार्नु खोजेको एउटा महत्त्वपूर्ण पक्ष छ: महिलाहरूको छनौट । जब पर्दामा नारी चरित्रहरूलाई चुनौतीपूर्ण सामाजिक ऐननियमका हतकडी चुँडाउँदै गरेको देखाइन्छ, उनीहरूलाई खाली पुरुष नायक पात्रहरूको ‘मायालु’ प्रतिविम्ब बनाइन्छ; अर्थात, नायिकालाई एउटा व्यक्तिको रूपमा नभई नायकको व्यक्तित्वको उपजको रूपमा ‘सुहाउने’ गराइन्छ ।

मीना कुमारी

अनुवादक:

‘लखनउ ब्वाय’ विनोद मेहताले ‘मीना कुमारी’को जीवनीलाई ‘जुलियस सिजर’का मार्क एन्टोनीका बोलीमा सुरुआत गरेका छन्, ‘ईफ यु ह्याभ टियर्स प्रिपेयर टु शेड देम’ (हजुरका महासागररूपी आँखाका खल्तीमा आँसुका मोतीहरू छन् भने, झार्नु अब कतै नगए हुन्छ, ‘मीनाकुमारी’का निम्ति तयार भए हुन्छ) ।

बडी बेचारी है मीना कुमारी
जिसको लगी है दिल की बिमारी
➢ मीना कुमारी

जहिलेसम्म महिलालाई ‘यश’ (अवश्य, अँ हजुर हो) भन्नका निमित्त ‘स्पेस’ (स्थान) हुँदैन, तहिलेसम्म उनको ‘नो’ (नाइँ, होइन) :

अनुवादक:

मेरो दिलमा गहीरो गहीरो घाउ छ
न त यसका कुनै डाक्टर छन्, न मेरो भाउ छ ।
अपमानले चरक्क चिरेको कलेजाको मेरो खाडल
पुरिनेछैन, कहिल्यै पुरिनेछैन,
तिमी जेसुकै फलाक, … म सुन्दिनँ
➢ साथी: लक्ष्मीप्रसाद देवकोटा

(वानीरा गिरिको ‘काठमाडौँ काठमाडौँ’बाट)