जसरी नेपाली साहित्यको बजार नेपालभित्र मात्र सीमित छैन, त्यसरी नै कृति प्रकाशन पनि मोफसलबाट पनि हुँदै आएका छन् । “साताका पुस्तक” त्यही मोफसलमा अलमलिरहेका कृति तथा स्रष्टाहरुलाई समेट्ने हेतुले सुरु गरेका हौँ । यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक ।बसन्तकाे ‘महाभारा’देखि इन्जिनियरहरूको कथा-व्यथासम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. महाभारा – बसन्त बस्नेत
पत्रकार एवम् लेखक बसन्त बस्नेतको पहिलो औपन्यासिक कृति हो, ‘महाभारा’ । मधुर पूर्वेली लबज र सशक्त संवादको मीठो सम्मिश्रण रहेकाे याे पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
उपन्यासमा बसन्त पूर्वेली लिम्बू लबजलाई सचित्र उतार्नु सफल देखिएका छन् । र, यही नै उपन्यासको सशक्त पक्ष बन्न पुगेकाे छ । उपन्यासकाे मूल कथानकमा तत्कालीन युद्धरत् पक्ष माओवादी र नेपाली सेनाका बीचमा पिल्सिएका जनताको जनजीवनकाे चित्रण गरिएको छ ।
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।
शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतकाे यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ । बस्नेतले सञ्चालन गर्ने “च्या खानु भो ?” शीर्षकको युट्युब कार्यक्रम अहिलेको चर्चितमध्येको एक युट्युब कार्यक्रम हो ।
२. माया गर्नुको अर्थ – शिव पलाँस
केही वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका शिव पलाँसको गीतसङ्ग्रह हो, ‘माया गर्नुको अर्थ’ । ८१ गीत समावेश गरिएको यो पुस्तकभित्रका डेढ दर्जन गीतहरू दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशीलगायतका ख्यातिप्राप्त कलाकारले गाइसकेका छन् ।
वरिष्ठ गीतकार राजेन्द्र रिजालका अनुसार शिव पलाँसका गीति हरफहरूमा दिल छुने भाव, ध्वनि र सुस्केराहरु छन् । गीतको माध्यमबाट जीवन, जगत र मानवीय संवेदनालाई सशक्त ढङ्गले उजागर गर्न अघि बढेका प्रयासहरूलाई उनको कलमले प्रतिनिधित्व गरेको छ ।”
दुई दशकदेखि अनवरत रुपले साहित्य लेखनमा सक्रिय शिव पलाँसको यो पुस्तकलाई आवरण प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकको वितरक पाल्पा बुक्स हो ।
३. जिल खाइरहेकाे एक्काइसौँ शताब्दी – शान्ति प्रियवन्दना
कवि शान्ति प्रियवन्दनाकाे नविनतम् कवितासङ्ग्रह हो, “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको प्रियवन्दनाकाे कवितासङ्ग्रहमा ३५ वटा कविता समेटिएका छन् ।
दुई दशकदेखि कविता लेख्दै आए पनि शान्तिले कवितासङ्ग्रह पहिलोपटक प्रकाशित गरेकी हुन् । ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनका कविताका विषय बनेका छन् । सङ्ग्रहित अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् ।
कविताबाहेक निबन्ध, गजल, मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवि प्रियवन्दना प्रगतिशील लेखक सङ्घ, मकवानपुरकाे वर्तमान अध्यक्ष हुन् ।
४. आँगन छाडेपछि –
पुल्चोक इन्जिनियर कलेजमा आप्रवासी नेपाली इन्जिनियरहरूको सङ्घर्ष र सपनाको कथा आँगन छाडेपछि सस्मंरण सङ्ग्रह हो । पुस्तकमा बौद्धिक वर्गका इजिन्यिरहरूको सङ्घर्ष र सफलताको कथा राम्रोसित प्रस्तुत भएको छ ।
लेखक तथा पूर्व एन.आर.एन.का अध्यक्ष जीवा लामिछानेले पुस्तकमा पुल्चोक क्याम्पसको यात्रादेखि हालको व्यवसायसम्मको इतिहासलाई सानो रूपमा प्रस्तुत गरेको बताउनु भयो । पुस्तकमा इन्जिनियरहरूको साहित्य पाटो समावेश भएको छ जसले इन्जिनियरमात्र होइन सबैलाई सङ्घर्ष गर्न प्रेरणा दिन्छ ।
शिखा बुक्सले प्रकाशन गरेको संस्मरणमा १७ जना इन्जिनियरको संस्मरण समावेश छ । कृष्ण कुसुम र केशवराज ज्ञवाली सम्पादक गरेकाे प्रस्तुतको मूल्य रु.३००/- रहेको छ ।
५. चिरिएका पैताला – रोशन तिमिल्सिना
पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नवीनतम कविता कृति हो, “चिरिएका पैताला” । दुई खण्डमा बाँढिएको कृतिमा तिमिल्सिनाले पक्षधरता, प्रकृति र आध्यात्मिकलगायत पक्षहरूलाई कविताहरूकाे विषय बनाएका छन् ।
कलम प्रकाशनले बजारमा ल्याएको सो कविता सङ्ग्रहमा लामा-छोटा गरी ५३ ओटा कविताहरू रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।