लियोनोभ – ओहो, म यो कहाँ आइपुगें, कस्तो अन्धकार, यहाँ त काल पनि भयभीत होला जस्तो छ ।
थोमस – विचलित नहुनुस् महाशय , यहाँ तपाईं एक्लै हुनुहुन्न ।
लियोनोभ – तपाईं, .. तपाईं को ?
थोमस – मलाई पनि अब तपाईंजस्तै सम्झिनुहोस् , हामी अब एउटै भैसक्यौं; यो पक्कै पनि मृत्युलोक हुनुपर्छ ।
लियोनोभ – मृत्युलोक, यसको मतलब के म मरें ? ओहो म त भर्खर ३२ वर्षको हुँदैछु , म यति चाँडै मर्ने, अनि मेरी जोसेफा, उफ् !
थोमस – जीवन र मृत्यु मानिसको हातमा हुँदो हो त संसार यति विचित्रको हुनेथिएन । आउनुहोस् हामी एक-अर्कासँग परिचय गरौं ।
म थोमस, म लियोनोभ, म टोमेट , म अली , म विमिरो, अनि म फ्रेडरिक ।
टोमेट – अनि हामी सबैजना यहाँ एकैचोटि कसरी ?
थोमस – सम्भवत: हामी एउटै समयमा मरेको हुनुपर्छ , म मर्दा त्यस्तै मध्यरात भएको हुँदो हो ।
टोमेट – हो, मैले अन्तिमपटक घडी हेर्दा रातको ११:३० बजेको थियो ।
फ्रेडरिक – हो, मलाई सब याद छ । उफ् ! म सम्झिन पनि चाहन्न, मलाई ती दुष्टहरुले रातको ठीक बार्ह बजे … (रुँदै)
थोमस – छाडिदिनुहोस्, अब त्यसको कुनै अर्थ छैन । ईश्वरले मानिसलाई सबैथोक दिएपनि सुर्ताउनका लागि सानो भाग राखिदिएकै हुन्छ । म पनि उमेर छँदा आफुलाई धेरै गुणले सम्पन्न सम्झन्थें । जे काम पनि म खुबै फूर्तिसाथ गर्थें । बालबच्चा र श्रीमती गाउँमा बस्थे, र म टाढा शहरमा काम गर्थें । वर्षको दुइचोटि छुट्टी मिलाएर आउँदा उनीहरुको अनुहार देख्दा मलाई यति खुशी लाग्थ्यो कि, म वर्णनै गर्न सक्दिन । पछि मेरो हाकिमले मेरो काम देखेर मेरो बढुवा गरिदियो, र मैले मेरो परिवारलाई शहरमै बोलाएँ । सबै कुरा ठीकै भइरहेको थियो , तर अचानक अनौठो रोग लागेर मेरी श्रीमती अकालमै मरी । त्यतिबेला म ४३ वर्षको हुँदो हुँ । त्यसपछि त मेरो जिन्दगीलाई बादलले ढाकेजस्तो भयो । छोरा – छोरीको बिहे गरिदिएर म जेठो छोरासँग बस्नथालें । जेठो छोरो एउटा रात्री बजारमा काम गर्थ्यो । जेठी बुहारी अलि उच्च कुल-घरानियाँकी थिई । म जति-जति बूढो हुँदै गएँ, उति-उति मेरा दुर्दिन अाइरहेजस्तो भयो । मेरो स्वास्थ्य पनि धेरै बिग्रन लाग्यो । डाक्टरले दिनमा तिनचोटि आठ-आठ घण्टाको फरकमा नखाइ नहुने भनेर अौषधी दिएको थियो । केही दिन त छोराले नै समय मिलाएर मलाई अौषधी दिन्थ्यो, तर पछि त ऊ पनि बेफुर्सदी हुँदै गयो । घरमा एउटा काम गर्ने केटो राखेका थिए, उसले पनि मलाई नजानेर कतिचोटि अर्कै अौषधी खुवाएको थियो । कहिलेकाहीँ बुहारीको व्यवहार देख्दा बिरक्तिएर म आँफै अौषधी नखाइ बसिदिन्थें । त्यस्तै एक रात पीर मान्दै म ओछ्यानभित्र पसेको थिएँ । सपनामा मेरी श्रीमतीसँग कुरा गर्दा-गर्दै म यहाँं अाइपुगें । बुझ्नुभो’, एक प्रकारले त मैले मुक्तिको अनुभव गरिरहेको छु ।
लियोनोभ – तपाईं मुक्तिको कुरा गर्नुहुन्छ, तपाईंलाई मेरो छट्पटी थाहा भै’दिए । म यहाँं आएको कुरा जोसेफालाई थाहा भएपछि विचरीलाई कस्तो हुन्छ होला ! फेरि त्यो औंठी, उफ् !
टोमेट – को जोसेफा ?
लियोनोभ – उनी मेरी प्रेमिका, ओहो, बरु सक्नेभए म फेरि एकचोटि फर्केर जान्थें, र सबै कुरा स्पष्टसँग भन्दिन्थें । ठट्टै-ठट्टामा मैले कस्तो काम गरेछु , फेरि मलाई यस्तो हुन्छ भन्ने पनि के थाहा ?
थोमस – कुरा के हो खुलस्त भन्नुहोस् लियो ।
लियोनोभ – वास्तवमा जोसेफालाई म असाध्यै माया गर्थें, र ऊ यति राम्री थिई कि, तपाईंहरुले देखेको भए थाहा पाउनुहुन्थ्यो । ऊ फ्रेन्च बाउ र रसियन आमाकी छोरी थिई, यसैकारणले होला ऊ त्यति बिघ्न राम्री भएकी । म ऊ’लाई औधी मन परापराउँथें, र आफ्ना प्रेमले भरिएका कविता सुनाउँथें:
म धुलो धरतीतलको, तिमी पवनकुन्जकी परी
बालिदेऊ न प्रेमदीप, कहिल्यै ननिभ्ने गरी ..
हामी एउटै क्याम्पसमा पढ्थ्यौं । हाम्रो उच्च शिक्षा भर्खरै सकिएको थियो, र पढाइ सकाएर ऊ आफ्नो शहर फर्किएकी थिई । हामी दुइको झण्डै – झण्डै बिहे नै गर्ने कुरा मिलिसकेको थियो, र अन्तिम निर्णयको मात्र आवश्यकता थियो । म पढाइसँगै आँशिक समय काम पनि गर्ने गर्थें , र केही पैसा जम्मा पनि गरेको थिएँ, त्यसैबाट मैले मेरी जोसेफाको लागि, उनका सुन्दर औंलामा मिल्ने १,००० रुबल पर्ने हीराको औंठी बनाइदिएको थिएँ , तर उनलाई औंलाको नापको लागि लैजाँदा सुनको औंठी भनेर झुक्याएको थिएँ । आज त उनको जन्मोत्सव थियो, र मैले फोनमा आउन भ्याउँदिन भनेर ढाँट्न खोजेको थिएँ, र ऊ नराम्ररी रिसाएकी थिई । म वास्तवमा उनलाई सुखद् आश्चर्य दिन चाहन्थें; म नआउने भनेर रिसाएकी उनलाई म सुटुक्क गएर उनको घाँटीमा पछाडिबाट उनले थाहा नपाउनेगरी म्वाइँ खाइ हात समातेर हीराको औंठी लगाइदिंदा उनी कति खुशी हुन्थिन् होला ? हामी दुबैलाई कति रमाइलो लाग्थ्यो होला, सम्भवत: त्यो हामी दुबैको जीवनको अविस्मरणीय क्षण बन्थ्यो होला, तर कत्रो अफसोच! त्यो दिन अब कहिल्यै आउनेछैन, र जोसेफालाई यो सब कुरा अब कहिल्यै थाहा हुनेछैन । म त घरबाट हिंडिसकेको थिएँ, रेल्वे स्टेशनसम्म पुग्न भनेर ट्यक्सीमा जाँदा दायाँपट्टीबाट एउटा ठुलो ट्रकले यति जोडले ठोक्यो कि म त बेहोसै भएँ । मैले त सोचेको थिएँ म घाइतेसम्म हुन्छु होला, तर …
टोमेट – भइगो’ लियो, चिन्ता नगर्नुहोस्, जुना कुरामा तपाईंले चाहेर पनि केही गर्न सक्नुहुन्न, त्यसको लागि किन पीर गर्नुहुन्छ ? हुन त तपाईंलाई जस्तो चिन्ता मलाई छैन, त्यसैले पनि मलाई यस्तो लागेको होला । मेरा त न प्रेमिका छन् न जहान परिवार । कलेज पढ्दा एउटीलाई मैले पनि मन पराएको थिएँ, तर मैले यो कुरा उसलाई कहिल्यै भनिन, भनेको भए उसलाई कस्तो लाग्थ्यो कुन्नि । पछि ऊ पनि आफ्नो बाटो लागी, म यता फौजतिर आएँ । अहिले त ऊ घरजम गरेर बसेकी होली । तर मेरो जिन्दगीमा मैले अलि बढी ध्यान दिएकी केटीचाहिं साँच्चै उही एउटी मात्रै हो । अनि म फौजमा आएको ३-४ वर्षमा त लडाइँ सुरु भइहाल्यो । हाम्रो पल्टन लडाइँमा जाने दोश्रो पल्टन थियो । लडाइँमा जाने थाहा पाउँदा मेरा साथीहरु डराएका थिए, तर म भने कत्ति पनि डराएको थिइन । आफ्नो देशको लागि मर्ने मान्छे सिधै स्वर्ग पुग्छ भन्ने मैले सानो छँदा पढेको थिएँ, फेरि डराएर मृत्यु पर भाग्ने होइन, जन्मेपछि एकचोटि मर्न त परिहाल्छ, आफ्नो भाग्य जस्तो छ त्यस्तै हुन्छ भन्ने सोचेर मलाई वास्तवमै डर लागेको थिएन । तर हाम्रो कप्तानले गल्ती नगरेको भए मलाई त्यसरी मर्नुपर्ने थिएन । हाम्रो टोलीलाई ब्रिज पर्वतमा बसेको पल्टनलाई मद्दत गर्न जाने जिम्मेवारी दिइएको थियो । पर्वतमा पुग्ने छोटो र सजिलो बाटोमा शत्रुहरु हुनसक्ने खबर हामीले पाएका थियौं । तर कप्तानले अरु बाटोमा पनि शत्रु बसेको हुनसक्ने र फौजी भएपछि खतराको सामना गर्न डराउनहुन्न भन्दै ठूला-ठूला कुरा गरेर हामीलाई त्यहीं बाटो हिंडायो । पछि घाटिनिर पुग्दा शत्रुहरुले घेर्न लागेको सुइँको पाएर कप्तान र अरु सैनिक पछी हटिसकेका रहेछन्, म चाहिं पन्क्तिको सबैभन्दा अगाडि थिएँ । मैले सुनेको अन्तिम शब्द थियो, “टोमेट, फर्क”, र मलाई थाहा छ, मलाई बोलाउने मेरो सबैभन्दा मिल्ने साथी थियो । त्यसपछि गोली चलेको आवाज आयो, र सबैकुरा सुनसान भयो ।
अली – तपाईंको कुरा सुनेर दु:ख लाग्यो, तर मेरो मरण पनि कम पीडादायी भएन । मैले जस्तो नियती भोगें, त्यसपछि मलाई लाग्छ, संसार केवल स्वार्थै – स्वार्थको खेल हो । वास्तवमा कसैले कसैलाई तबमात्र माया गर्छ, जब उसको त्यसबाट भलाइ भइरहेको हुन्छ । कोहीलाई श्रीमतीले खुब माया गर्छे, किनकि लोग्नेले उसको सबै चाहना पूरा गरिदिएको हुन्छ । विदामा घर आउँदा बुवाले मिठाइ, नयाँ- नयाँँ लुगा नल्याइदिनेभए कसैका छोरा- छोरी त्यति साह्रो रमाउँदैनथे होलान् । र संसारको यो सत्यलाई मैले समयमै बुझेको भए मैले यस्तो भोग्न पर्दैनथ्यो ।
टोमेट – कस्तो नियती अली ?
अली – म सम्भ्रान्त परिवारको केटो, मेरा बुबा दरबारको नोकरी गर्नुहुन्छ । मलाई बुबा- आमाले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यहीं मायाको मैले गलत फाइदा उठाएँ । म अरु भाइहरूभन्दा जेठो भएपनि शारीरिक रुपमा केही कमजोर थिएँ , र बुबाको बिंडो थाम्ने हिम्मत पनि ममा थिएन । त्यसै हुनाले मेरो माइलो भाइलाई बुबाले दरबारमा काम लगाउनुभएको थियो, आफ्नो भविष्यको ऊत्तराधिकारीको रुपमा । मेरो त्यहीं सोझो चरित्र र हाम्रो अकुत सम्पत्ति देखेर एउटी दुष्ट केटीले मलाई फसाई, जुन कुरा मैले भर्खर थाहापाउँदैछु, तर यतिबेला धेरै ढीलो भइसक्यो । त्यसबेला त मैले आफुलाई महान प्रेमीको रुपमा प्रस्तुत गरिरहेको थिएँ । त्यो दुष्टले पहिले बिहे गरेको केटोलाई छोडेर आएको कुरा जान्दा-जान्दै पनि अरु कुरा बुझ्ने प्रयासै नगरी मैले त्यसको सच्चरित्रताको बारेमा वकालत गर्दै हिड्थें । मलाई कहिल्यै रुखो व्यवहार नगर्ने मेरा आमा-बुबासँग समेत मैले त्यस पापिनीको बचाऊ, र आफ्नो अन्धो प्रेमको रक्षाका लागि ठुल्ठूलो स्वरमा कुरा गरें, धिक्कार छ मलाई । हाम्रो सम्बन्धको बारेमा थाहा पाएर बुबाले एकदिन मलाई बेस्सरी झपार्नुभयो, र त्यस अलच्छिनीलाई मेरो बाटोबाट हटाउन जेसुकै गर्नसक्ने भन्दै जानुभयो । तर मेरो दिमागले ठाउँ छोडेको त्यो बेला मैले त्यस राक्षसीलाई सुटुक्क भेटी त्यसकै बहकाऊमा घरै छोडेर हिंड्ने सल्लाह गर्नपुगें । साँच्ची मलाई त्यसले के टुना लगाएकी थिई, म त्यो नभइ बाँच्नै नसक्ने निस्कर्षमा पुगेको थिएँ । आखिर मध्ररातमा सबै सुतेपछि त्यसकै सल्लाहमुताबिक म सम्पत्ति लिएर घर छोड्न तयार भएँ । हाम्रो ढुकुटीमा जम्मा चौध करोड बराबरको सम्पत्ति भएको मलाई थाहा थियो । हामी तीन भाइ, दुई दिदी-बहिनी र आमा-बुबालाई बराबर भाग लाउँदा मेरो भागमा जम्मा दुई करोड बराबरको सम्पत्ति पर्न आउँथ्यो । आखिर मैले अँशै लिएपनि त्यत्ति सम्पत्ति त मेरो हो, तसर्थ मैले आफैंले झिकेपनि त्यो चोरी ठहर्दैन भन्ने विचारले मैले पुग-नपुग त्यति बराबरको हीरा-जवाहरात लिएँ र आफ्नो लुगासित पोको पारी घरबाट निस्किएँ । त्यो डँकिनी दिउँसो भनेकै ठाउँमा हातमा पोको बोकेर पर्खिरहेकी रहिछ, म अाउनासाथ खुशी भइ, “ए आयौ, ल गै’हालौं” भन्दै कुन्नि कसको झुप्रोमा लिएर गई । कोठामा पस्नासाथ अरुले थाहा पाउँछन् भन्दै सबै झ्याल-ढोका थुनी र मलाई जवाहरात देखाऊ भन्दै बडो व्यग्रताकासाथ सोधी; मलाई उसको व्यवहार एकदमै अनौठो लाग्यो । मैले ल्याएको पोको देखाएपछि ऊ यति खुशी भई कि मलाई लाग्यो उसले जिन्दगी बिताउने मसँग होइन त्यही सम्पत्तिसित हो । त्यसपछि ऊ मलाई हेरेर त्यहीं कपटपूर्ण हाँसो हाँसी, उसलाई देखेर मलाई डर लाग्न थाल्यो; मेरो ढुकढुकी बढ्दै गइरहेको थियो कि अचानक पछाडिबाट केही धारिलो चीजले मेरो घाँटीमा बलियोसित हिर्कायो ….., र म यहाँँ अाइपुगें ।
बिमिरो – ओहो, अली, तपाईंको घटना साँच्चै दु:खलाग्दो रहेछ । म पनि तपाईंसित सहमत छु, सँसारमा सबै प्राणीले आफ्नै स्वार्थपूर्तिको उध्योग मात्रै गर्दछन् ।
लियो – तर बिमिरो महोदय, यो दुनियाँमा प्रेम र विश्वासको अस्तित्व पनि त छ? आखिर सँसार नै विश्वासमा अडेको छ ।
विमिरो – तपाईंको कुरालाई म ठाडै अस्वीकार गर्दिन लियोनोभ, तर मान्छेले आफ्नो चाहनासित प्रेम गरेको हुन्छ, र आफ्नो स्वार्थलाई विश्वास गर्दछ । सँसार त्यति आदर्शमय भएको भए मैले पनि रोगले थलिएर भोक-भोकै मर्नुपर्ने थिएन ।
फ्रेडरिक – आश्चर्य, तपाईं साँच्चै भोक-भोकै मर्नुभयो विमिरो ?
विमिरो – तपाईं ठूलै घरानियाँको, साँच्चै भनुँ भने राजा-महाराजाहरुजस्तै देखिनुहुन्छ, तपाईंलाई रोग र भोकको बारेमा त्यति थाहा छैन होला ।
फ्रेडरिक (गुनगुनाउँदै – हो, राजाजस्तो होइन, म सम्राटै थिएँ, तर अहिले होइन, पहिले, अफसोच, ती दिनहरु …)
विमिरो – तर दैवले हामीलाई भोक नै आहारा र रोग नै उपचार दिएर पठाएको छ, हामीले यस्तो जिन्दगी नचाहेरै पनि जिउनुपर्छ, दु:खलाई नै सुख मान्नुपर्छ । मैले पनि जीवन र मृत्युको लडाइँ हेर्दै र खेल्दै आएँ । सम्पत्ति भनुँ भने हाम्रो ओत लाग्ने झुपडी, र खेतबारी जे भने पनि त्यहीं एक टुक्रा जमीन थियो, त्यहीं पनि बा सानैमा मरेकाले मैले रातदिन गरेर, अर्काकोमा काम गरेर जोडेको । तर त्यो घरै अभागी रहेछ, त्यहाँ आएको सालै मेरी आमा बितिन् । तै पनि जेनतेन गरेर भाइ र बहिनीको बिहा गराइदिएँ, दिदी त पहिल्यै बिहा गरेर गइसकेकी थिइन् । पछि मैले पनि बिहे गरें, एक छोरा र चार छोरी भए, कान्छी छोरी पाउँदा मेरी जहान पनि मरी, विचरीले न भनेजस्तो खान पाई न स्याहार नै, त्यहीं हुँदा सुत्केरी व्यथाले उसलाई लग्यो । आखिर छोराछोरी हुर्कँदै गए, चारै छोरीका धेरै टाढाका घर परे, कान्छी छोरीको त बिहा गरेर गएपछि एकैचोटि मात्र मुख देख्न पाइयो । छोराले पनि बुहारी भित्रायो, उसका पनि दुई छोरा र एक छोरी भए । मलाई भने बुढेसकालले च्याप्न थाल्यो । उमेर छँदा खिएको जीऊले बूढो हुँदा पिराउन थाल्यो । शुरु-शुरुमा त खुट्टा मात्र थर्थराउँथे, हुँदा-हुँदा मेरा दुबै हात-गोडा नचल्ने भए । रोगी शरीर आफूलाई पनि भारी, अर्कालाई पनि भारी हुँदो रै’छ । अभागीलाई दैवले दु:खै भोग्न पठाउँदा रैछन् भनेर सहेर बसेको थिएँ, ठूलो खडेरी पर्यो । त्यस्तैमा बुहारीकी कान्छी छोरी खेर गई । अन्नको गेडो भएन, बारीमा लगाएका जैतुन कक्रक्कै सुकेको झ्यालबाट देखिन्थ्यो । छर-छिमेक पहिल्यै अन्त बसाइँ सरिसकेका थिए, जानेबेलामा छिमेकीले “जाने होइन र बा” भन्थे, मैले “जाँ’ गए ‘नि लैजालान् नि छोरा-बुहारीले” भन्थें । एकदिन रातभर छोरा-बुहारीले गनगन गरिरहेथे’, भोलिपल्ट खन्द्र्याङ-खुन्द्रुङ भाँडा बजाएको सुनिथ्यो, त्यसपछि त चकमन्न भयो । एकछिन त घाँटी सुक्ने गरी कराएँ, कसैले उत्तर दिएन, आखिर सबै बसाइँ सरेर गइसकेका रहेछन्, मलाई एक्लै मर्न छोडेर । एकछिन त खुब दु:ख लाग्यो, बा-आमा, जहानको धेरै याद आयो । रुँदा-रुँदै आँखा पनि थाकेछन्; अनि घिस्रिँदै भान्छामा गएर हेरें, कतै केही रहेनछ, फेरि फर्केर वोछ्यानमै आएर पल्टिएँ । तीन दिनसम्म त राम्रै सम्झना छ, त्यसपछि त आँखा धमिला जस्ता भए, मुख सुकेर निल्न पनि गार्हो हुन लाग्यो, शरीर गल्दै गयो र कतिबेला सास गयो पत्तै भएन ।
टोमेट – अहो, सम्झँदा पनि कहालीलाग्ने जिन्दगी रहेछ तपाईंको । अनि फ्रेडरिक महाशय ज्यादै शान्त हुनुहुन्छ, तपाईं पक्कै कुनै ठूलै शासक हुनुपर्छ, तपाईंजस्तै थुप्रैलाई मैले सलाम ठोकेको थिएँ, र तिनैका लागि जीवन पनि गुमाएँ ।
फ्रेडरिक – ठीक भन्नुभो’, मेरो जीवन एकदम शान्त छ, ठूलो भुइँचालो या आँधीबेहरी पछिको शान्ति जस्तो, सबैकुरा ध्वस्त भइसकेको, केही बाँकी नराखिएको … ।
हो, म विशाल साम्राज्यको सम्राट थिएँ । यो साम्राज्यमा मेरा पूर्खाहरुले थुप्रै पुस्ता बिताइसकेको थिएँ, तर मेरै पालीमा यस्तो हुनुपर्ने, पापी ईश्वर ।
पहिले सम्पूर्ण राज्य मेरै मुठ्ठीमा थियो, मेरै ईशारामा राज्य सँयन्त्र चल्थे । मेरो सुरक्षाका लागि लाखौंंको फौज थियो, तर आखिरमा ती केही काम लागेनन् । मेरा पिता-पूर्खाले छोडेको गद्दीमा बस्नु मेरो के दोष ? फेरि मेरो राज्य व्यवस्थामा भएका तमाम गल्ती कमजोरीहरुलाई म एक्लैले कसरी ठीक पार्न सक्छु, मेरो ईच्छा त थियो केही सुधार गर्नुपर्छ, तर कसैले मेरो कुरा सुनेन, न मित्रले न शत्रुले, सबै मानिस बौलाएका थिए । आखिर मेरो सबैभन्दा विश्वासपात्र सेनापति नै पो षड्यन्त्रकारीहरुसँग मिलेको रहेछ, पछि मात्र थाहा भयो । थाहा पाएर के गर्नु, सबै कुरा आफ्नो पन्जाबाट फुत्किसकेको थियो । फेरि मैले पनि अन्तसमयमा गल्ती गरें , सिपाहीले पक्रेर ल्याएका सयजना द्रोहीहरुलाई झ्यालखानामा राख्नुपर्ने रहेछ, सबैजनालाई झुन्ड्याइदिने आदेश दिएँ, त्यसपछि त दुष्टहरुको आँधी नै दरबारतिर खनियो । मेरा केही विश्वासिला भारदार र अङरक्षकलाई मारिहालेछन्, म पनि मेरा परिवार र गरगहना लिएर उम्किसकेको थिएँ , जङल कटेर सीमा पार गर्ने बेलामा बाटामा मोतीको माला खस्नपुग्यो । नटिपे झन् के-कसो हो भनेर हो-हल्ला हुन्छ भनेर टिप्न निहुरेको, झुत्रो भेषमा घाँटीको हार देखेर सबैले शँका गरिहाले, अनि भाग्न खोज्दा सम्राट भाग्नलाग्यो भनेको सुनेपछि द्रोहीहरु लखेट्न अाइहाले । अन्तिम समयसम्म पनि कसैले लुकाएर ज्यानको रक्षा गरिदेला कि भनि ढोका ढक्ढक्याउँदा पहिले दर्शन पाउन लालायित हुनेहरुले समेत कुनै वास्ता राखेनन् । आखिर सबै हुँदा नै मान्छे आफ्ना हुँदारहेछन् । सबैले बलेको आगो नै ताप्नेरहेछन् । अनि त हामी सबैलाई घिच्याउँदै मध्यरातमा राजधानी पुर्याए, र शहरबासीलाई भेला गराएर मेरै अगाडी मेरा जहान छोराछोरी काट्न लगाए, मैले हेर्न नसकी आँखा बन्द गरें, केवल त्यो भयानक, मुटु नै चुँडिने चिच्याहट सुनिरहें । सानो छोराले त मलाई बचाउन गुहार समेत मागेको थियो । तर मैले केही गर्न सकिन, र अाफैंलाई धिक्कारें । एउटा लामो दाह्री पालेको दुष्टले मलाई रातको ठीक बाह्र बजे काटिने फैसला सुनायो । आँखाअगाडि आफ्ना परिवारको दर्दनाक द्रिश्य हेरिसकेको र राजपाठ पनि गुमिसकेको हुनाले मलाई जीवनको मोह नै भँग भइसकेको थियो । आकाशमा जून-तारा टिल्पिलाइरहेका थिए । बत्तिको प्रकाशले रातमा पनि छर्लङै देखिन्थ्यो । मैले वरीपरी हेरें, मेरा आफन्त, आसेपासे, जो सबै अनेक प्रकारले मेरा रिणी थिए, र अन्य जनसाधारण, अहिले छाती ढक्क फुलाएर मलाई हेरिरहेका थिए, कोही दया-भाव देखाइरहेका थिए, मानौं उनीहरुलाई कहिल्यै मर्नैपर्दैन, अथवा यो सँसारमा मर्न लागेको पहिलो व्यक्ति म नै हुँ, र ती द्रोहीहरु, जो ठान्थे, सबै समस्याको कारक र समाधान मै मात्र हुँ । आखिर चर्चको घण्टाघरले बार्ह हान्यो, त्यो नयाँ घण्टाघर आफ्नो राज्यकालमा मैले नै बनाउन लगाएको थिएँ, विदेशबाट सामान र कालीगढ ल्याएर पूरा बनिसक्न पाँच वर्ष लागेको थियो । त्यसपछि मेरो हत्याराले आफ्नो दुबै हात उठाएको छायाँमा प्रस्ट देखिन्थ्यो । मैले अन्तिमपटक अगाडिको भीडलाई हेर्नमात्रै के भ्याएको थिएँ …. ठ्वाक्क …. त्यो भीडको तस्वीर धमिलो हुँदै एकैछिनमा बिलायो, र म यहाँ …. ।
थोमस – चिन्ता नगर्नुहोस् फ्रेडरिक महोदय । सँसार यस्तै नै छ …. त्यो सम्पूर्ण साम्राज्य, जुन अहिले तपाईंको छैन, पहिले पनि तपाईंको थिएन; जे थियो, एकैछिनका लागि थियो, त्यहीं पनि सम्पूर्णरुपले आफ्नो थिएन । त्यसैले दु:ख मान्नु व्यर्थ छ । तपाईंलाई आफ्नो दु:ख सबैभन्दा ठूलो लाग्ला तर सँसारमा सबैलाई आफ्नै व्यथा ठूलो हुन्छ, आफ्नै कथा लामो हुन्छ । तर मानिसहरु सतही रुपले बाँच्न खोज्छन्, जीवनको गहिराइलाई उनीहरु महसुस गर्नै चाहँदैनन्। वास्तवमा सबै प्राणी भौतिकरुपले मात्र भिन्न हुन्, उनीहरुको जीवनतत्व एउटै छ, त्यसैकारणले त मायाले सबैको मन पगाल्छ, घ्रिणाले सबैलाई दु:ख्छ । आफूलाई रुवाउने दु:ख हामी अरुलाई किन दिन्छौं ? अरुको खुशी खोसेर हामी आफूलाई सुखी किन सम्झिन्छौं ?
तिमीलाई रुवाउँछ भने, दु:ख अरुलाई किन दिन्छौ?
अरुको खुशी खोसेर, सुखी आफूलाई किन सम्झिन्छौ?
अरुलाई नाशी आफु हाँस्ने, मानिसको ठूलो भूल
प्रेम गरे प्रेम नै मिल्छ, यहीं नै सुखको मूल
मरेरै गए ‘नि तिमी तर, तिम्रो माया त मर्दैन मित्र
बाँचिरहनेछौ सधैंभरी, सुकोमल त्यो हृदय भित्र
जति बाँचे पनि आखिर, लाग्छन् जीवन अधुरा
यो जन्ममा केही बाँकी भए, गर्नु अर्को जीवनमा पूरा
जिउँदै मरेझैं हुन् ती जो, आफ्नै स्वर्थसिद्धि मात्र गर्दछन्
मरेरै पनि अमर भए ती जो, देशका लागि मर्दछन्
जान आखिर सबलाई पर्छ, कालनागलाई डसाइ
धन्य बन्यौ तिमी जो गयौ, मातृभूमी हँसाइ
वैरी-वान्धव शत्रु-मित्रु, भेद पाउँदैन जसले
सर्वनाशै हुन्छ उसको, सक्छ बचाउन कसले
चित्त दु:खाइ जो काम गर्दछ, इष्टमित्र मातापिताको
जान लौ सल्कायौ आफैं, आगो आफ्नो चिताको
दैव तिम्रो सँसार किन, कहीं वरदान कहीं श्राप
कसैलाई सधैं चैन, किन कहीं घोर सन्ताप
बाँच्ने आधार केही नभए, दिन बिताउने हो के गरी
सकिंदोरै’न्छ विरहमा, बाँचिरहन सधैंभरी
सबै ताप्छन् आगो बलेको, निभेको आगो को फुक्दछ
समयलाई चिन समयमै, नत्र त्यो अघि धेरै पुग्दछ
को जान्दछ आज यहाँ, भोलिको बास कहाँ पर्दछ
क्रोध, मोह, अहँकार, नाश त्यो आफ्नै गर्दछ ।
(लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नी, अस्ट्रेलियाका सचिव हुन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।