मालती शीर्षकको विज्ञान उपन्यासका लागि साहित्य अकादेमीको बाल साहित्य पुरस्कारले सम्मानित मुक्ति उपाध्याय बरालको नयाँ सृजना हो नाटक “शरत्पूर्णिमाकी रम्य रमिता”। ;

जम्मा बाह्रओटा खण्ड भएको अन्ठाउन्न पृष्ठको यो नाट्य पुस्तक एकै बसाइमा पढ्न सकिने र पाठकको अन्तर मनमा झिलिक्क बिजुली चम्काइदिन्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा हुँदै पूर्वजतिर प्रवेश गराएर । अहिलेका पुस्तालाई संस्कृति र संस्कार सिकाउनु परिवार र विद्यालयको साझेदारी परियोजना हो भन्ने बोध पाठकलाई गराउन पनि यस नाटकले प्रेरित गर्नेछ ।

युवालक्षित प्रस्तुति

पूर्वीय सभ्यताप्रतिको आफ्नो अगाध आस्था अनि विश्वासलाई एक्काइसौँ शताब्दीका युवायुवतीहरूको माझ पुऱ्याउन लेखकले स्वयं युवावर्गलाई नै वाहक बनाउनुभएको छ जुन वहाँको प्रस्तुतिको एउटा सबल पक्ष हो ।

हरेक मान्छेको जीवनको उन्मुक्त उमेर जवानी । केटाकेटी ठुला हुन चाहन्छन्, प्रौढ जवानीमा फर्कन चाहन्छन्, जवानी नै एउटा यस्तो कालखण्ड हो जहाँ मान्छे टक्क अडिरहन चाहन्छ बेपर्वाह आफ्नै घेरामा दौडिरहेर । त्यो समयका पुस्तालाई पूर्वीय दर्शन र अध्यात्मको बोध गराउन यस नाटकमा शकुन्तला दुष्यन्त प्रेमचर्चालाई विम्बस्वरूप केन्द्रमा राखेर पात्रलाई एउटा आध्यात्मिक आस्था र विश्वासमा टुङ्ग्याउँदै अन्त गरिएको छ त्यो अत्यन्त सङ्केतिक सन्देश हो अहिलेका पुस्ताका लागि ।

प्रेमको व्याख्या

नाटकको प्रारम्भमा पात्रद्वारा अहिलेका युवायुवतीमा देखिने प्रेमको फितलोपन झल्काइएको छ । अहिलेका पुस्ताले प्रकृति र नारीलाई जसरी हेरेका छन्, प्रकृतिप्रतिको दृष्टिकोणको चर्चालाई एकछिन थाँती राखेर हेर्दा अहिलेको प्रेम सतही र वासनायुक्त छ, जसले नारीलाई केवल एउटा वस्तु मान्दछ; एउटा ‘माल’ ठान्दछ । आजको आकर्षणमा प्रेम गौण अनि वासना अत्यधिक रहेको मान्नुहुन्छ लेखक । “संसारमा यस्ती च्वाँक माल अर्को छैन बुझिस् केटा हो ? राम्री पनि राम्री अति राम्री छे यार यस मालले त मेरो मुटु नै चुँडाएर कता पुऱ्याई कुन्नि ?” (९)

आजका पुस्तालाई प्रेमको परिभाषा, प्रेममा देखिने त्याग समर्पण अनि विश्वास चिनाउनु यस काव्य अनि त्यसभित्रको विषयवस्तु शाकुन्तल महाकाव्यको मूल उद्देश्य हो ।

विश्वामित्र र मेनकाकी छोरी शकुन्तलालाई राजा दुष्यन्तले सिकार खेल्ने क्रममा भेट्छन् जति वेला उनी एक घायल मृगलाई स्याहार्दै थिइन । पशुप्रति उनको करुणा भाव र युवतीको सुन्दरतामा मोहित भएका राजा दुष्यन्त र शकुन्तलाबिच प्रेम बढ्दै जान्छ र उनीहरूले गान्धर्व विवाह गर्छन् । आफ्नो एउटा राज औँठी प्रेमको चिनो दिई छिट्टै फर्कने वाचा गर्दै राजा दरबार फर्कन्छन् । आफ्ना प्रेमी अनि पतिलाई सम्झेर एकोहोरिरहेकी शकुन्तलाका सामु एकदिन भिक्षा माग्न पुगेका दुर्वासा ऋषिको आवाज शकुन्तलाले सुन्दिनन् । यत्तिकैमा स्त्रीले आफूलाई अपमान गरेको ठानी रिसको झोकमा दुर्वासा ऋषिले उनलाई श्राप दिन्छन्, जसको कारण दुष्यन्तले उनलाई बिर्सन्छन् तर उनै ऋषिको क्षमाले गर्दा प्रेमको चिनो औंठी देखेपछि राजा दुष्यन्तले आफ्नी पत्नी अनि प्रेमीकालाई सम्झन्छन् र शकुन्तलालाई खोज्दै आउँछन् र अन्तमा दुईको मिलन हुन्छ ।

अहिलेको एक्काइसौँ शताब्दीमा दुष्यन्त र शकुन्तलाको ‘डेटिङ’ धेरै हुन्छन् । जसरी दुष्यन्तले बिर्सिए त्यसै गरी थुप्रै युवाहरूले आफ्नो डेटिङ बिर्सन्छन्, प्रेम बिर्सन्छन् तर यता युवती ‘शकुन्तला’ पनि उनैलाई पर्खेर बस्ने हुन्नन् । उनीहरूले पनि अर्को ‘दुष्यन्त’ भेट्छन् । यसरी नाटकले अहिलेको युवाले गर्ने प्रेमको परिभाषालाई पूर्वीय प्रेमसँग तुलना गर्न पाठकलाई प्रवृत्त गराउँछ ।

रञ्जु पाण्डे

यहाँ नाटकका मुख्य पात्रहरू रमिता, प्रकाश लगायत कलेजका विद्यार्थीहरू वर्तमानको प्रतीक हुन उनीहरूको माध्यमबाट शाकुन्तल अनि महाकवि देवकोटा, कालिदास अनि अभिज्ञान शाकुन्तलम्‌सम्म मात्र पाठक अनि अहिलेका पुस्तालाई लग्दैन बल्की सकोन्तला अर्थात् द फेटल रिङ ( the fatal ring) नामबाट पश्चिमी जगत्‌मा अभिज्ञान शाकुन्तलम्‌लाई पुऱ्याउने पहिलो व्यक्ति विलियम जोन्सको चर्चालाई समेत उठाएर पश्चिमाले चिनेको हाम्रो पूर्वीय सभ्यतामा अहिलेका पुस्तालाई प्रेरित गर्नुसमेत यस काव्यको मूल्य उद्देश्य हो ।

विश्वासबाट परित्यक्त अन्धविश्वास

अन्धविश्वास भनेको अस्वीकार्य शब्द होइन बरु कुनै कुरामा आँखा चिम्लेर विश्वास गर्नु मात्र हो । विश्वास हरेक व्यक्तिको नितान्त निजी अधिपति हो । कसैको विश्वासलाई अन्धाधुन्ध पछ्याउँदै जाने या त्यसलाई खोतलेर आफ्नो विश्वास कायम राख्ने त्यो वैयक्तिक कुरा हो । विश्वास विज्ञानमा चल्दैन यो भावनामा चल्छ । कुनै व्यक्तिलाई अन्ध भएर उसको पृष्ठभूमि नबुझी विश्वास गर्नु परिणाम जस्तोसुकै आहोस् त्यति वेलाका लागि त त्यो नै विश्वास हो नि ।

झारफुकको प्रसङ्गलाई नाटकमा ल्याउनुमा अघिल्लो पुस्ताको विश्वास अनि पछिल्लो पुस्ताको आदर झल्कन्छ । “उहाँलाई गर्न दे छोरी तँलाई धेरै मायाँ गर्नु हुन्छ आखिर बिग्रने होइन” यसरी दुई अघिल्लो र पछिल्लो पुस्तालाई जोड्न रमिताको आमालाई सेतु बनाएर प्रस्तुत गरिएको छ भने रमिताले झारफुकमा आफूलाई विश्वास नहुँदानहुँदै पनि धामीकहाँ जान मान्नुमा कहिलेकाहीँ मायाँ र आदरमा सबै कुरा स्वीकार्य भइदिन्छ भन्ने सङ्केत पनि हो यो । उपचारका यस्ता थुप्रै पद्धतिलाई हिजो पछ्याउँदै आउनेहरूले खोतलेनन् तर त्यसलाई विश्वास गरेर मानसिक रूपमा त्यसप्रति सकारात्मक भाव राखेर सन्चो भएका थुप्रै उदाहरणहरू पनि विगतमा हामीले देखेको हौँ । अब त्यो दायित्व हाम्रो हो कि विश्वासकै एउटा परित्यक्त रूप अन्धविश्वासलाई आँखा खोलेर खोतल्ने र आफ्नो विश्वास कायम राख्ने ।

अन्तस्संस्कृतिको प्रस्तुति

केक काट्दै मैनबत्ती निभाएर जन्मदिन मनाउने पश्चिमा चलन नेपालमा ह्वात्तै भित्रिएको छ । भान्सामा तरकारी काट्न समेत कहिले चक्कु प्रयोग नगरेका हजुरबुबा हजुरआमालाई हामी चक्कु दिँदै भन्छौँ, “ल अब बत्तीलाई फुकेर निभाउनू अनि केक काट्नू । यसो गर्नमा हाम्रा अग्रजको रहर हुन्छ या आफ्ना सन्तानले देखाएको मायाँमा सहस्र स्वीकारोक्ति । जन्मदिनमा केक काट्ने पश्चिमी संस्कृति पूर्वतिर यसरी भित्रँदा आफ्नै संस्कृतिलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने सन्देश पनि नाटकले दिएको छ ।

“शुभं भवतु कल्याणम् आरोग्यं धनसम्पदा ।

शत्रुबुद्धिविनाशाय दीपकाय नमोऽस्तु ते ।।

हे भगवान् तिम्रो कृपा रहिरहोस्, (आज उनको जन्मदिन) मेरी छोरीलाई स्वस्थ बनाइदेऊ ।” (४३)

“आज मेरो जन्मदिन हो सर त्यसैले मन्दिर गएकी थिएँ मन्दिरमा अष्टचिरञ्जीवीको पूजा गरेँ । भरे साँझ केक काटेर रमाइलो गर्ने सोचेकी छु ।” (४८)

देखेर, सुनेर अरूको संस्कृतिको अनुसरण गरिरहँदा घर परिवार अनि परिवेशबाट संस्कार पनि सिक्दै र सिकाइँदै जानुपर्छ जसले आफ्नो संस्कृतिलाई पनि सँगसँगै लैजान प्रेरित गरोस् तबमात्र आफ्नो पहिचान रहन्छ । यस कुराको पुष्टि लेखकले नाटककी मूलपात्र रमिताकी आमाले घरमा गरेको पूजा अर्चना र मन्दिर गएर रातो टीका लगाएर कलेज पुगेकी रमिताले दिएकी केक काट्ने निम्ताबाट देखाउनुभएको छ ।

प्रणयको घडीमा अचानक रमिताको स्वास्थ्य बिग्रँदै गएको देखाइएको प्रसङ्ग प्रकाशको उनीसँगको सम्बन्ध र प्रेमको मजबुतीलाई जाँच्ने कसीमात्र नभई अहिलेको पुस्तालाई अध्यात्ममा आस्था जगाउनु पनि हो ।

“कहाँ गएका थियौ प्रकाश तिमी ? एकैछिनमा आउँछु भनेर गएका होइनौ ?” मन्दिर गएको थिएँ रमिता । भगवान्‌सित प्रार्थना गर्न, आशिष् माग्न । प्रसाद ल्याएको छ खाऊ ।” (५५)

अप्रेसन कक्षमा जानुअघि अस्पतालको शय्यामा सुतिरहेकी रमिता र भर्खर कोठाभित्र छिरेका प्रकाशबिचको उपर्युक्त संवादबाट, “आखिर श्रीकृष्ण रहेछन एक ..” भनेझैँ अहिलेको युवायुवतीलाई अध्यात्मप्रति आस्था राख्न प्रेरित गरेको छ अनि नाटकलाई तिनै आस्था र विश्वासमा टुङ्ग्याएर जीवनको डोर मान्छेको हातमा नभएको कुरा समेत अहिलेका पुस्तामा पुऱ्याउन सफल भएका छन् ।

प्रकृति मानवबिचको सम्बन्ध

नाटककी मुख्य पात्र रमितामा देखिएको स्वास्थ्य समस्यामा वन देवता रिसाएको प्रसङ्गले प्रकृतिलाई अहिलेका पुस्ताले जति सहजसँग लिएका छन् त्यसमा केही गम्न प्रेरित गर्छ पाठकलाई ।

यसरी उच्च शिक्षित वर्गमा परम्परालाई जोडेर प्रकृति र मानवबिचको सन्निधि बुझाउने एउटा आलम्ब नाटकभित्रको यो सन्दर्भले दिएको म बुझ्दछु ।

यस प्रसङ्गमा म आफ्नै बिस वर्षीय पुत्र आशुतोषसँग छलफल गर्छु । उनी यसो भन्छन्, “साहित्यिक हिसाबले हेर्दा प्रकृति रिसाउँछिन् नत्र वनजङ्गल रिसाउँछ भन्ने लाग्दैन मलाई । हाम्रा केही पहिलाको कर्मले गर्दा त्यो परिणाम आएको हुन्छ । यदि वास्तवमै वनदेवता रिसाएको हो भने वनमा क्षति हुने कुनै काम भएको हुनुपर्छ रमिताबाट ।”

अहिलेका पुस्तामा पूर्वीय ज्ञान

युवा पुस्तालाई लक्षित गरेको यस नाटकको विषयमा यति लेखुन्जेल पुस्तक अनि यसमा लक्ष्मीप्रसाद देवकोटा तथा कालिदासको उठान गरिएको सन्दर्भलाई लिएर मैले केही सर्वेक्षण गरेँ । परिवार, आफन्त लगायत बैङ्क अनि विकास क्षेत्रमा काम गर्ने २५ जना युवा जमातलाई सोधे, “लक्ष्मीप्रसाद देवकोटा भन्नेबित्तिकै के सम्झनुहुन्छ ?” सबैको जबाफमा ‘उनी कवि हुन्’, केहीको जबाफमा ‘हातका मैला सुनका थैला’… ‘कुन मन्दिरमा जान्छौ यात्री’ , यतिसम्म चिनेको पाइयो । यस्तै उहाँहरूलाई शाकुन्तल महाकाव्यका बारेमा सोध्दा नाम त सुनेको तर कसले रच्नुभएको थाहा छैन भन्ने जबाफ लगभग सबैबाट पाएँ तर त्योभन्दा माथि पुग्न अभिज्ञान शाकुन्तलम्‌का बारेमा जिज्ञासा राख्दा त कसैले सुन्दै नसुनेको बताउनुभयो । प्रत्येक वर्ष लक्ष्मीपूजाको दिन लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइने हुँदा यतिसम्म थाहा भएको तर त्योभन्दा माथि पुग्न नसकेको यो पुस्तालाई पूर्वीय ज्ञानको तहसम्म पुऱ्याउन लेखकको यो कृति लोकप्रिय ठहरिन्छ ।

सर्वेक्षणमा पूर्वीय ज्ञानप्रतिको धेरै जनामा देखिएको यो अनभिज्ञताबारे म फेरि आशुतोष तर्कवितर्क गर्न थाल्छु । उनी भन्छन्, “यसले परिवर्तनको खाडललाई देखाउँछ । म उसलाई आफ्नो थप जिज्ञासा राख्दै सोध्छु, अनि परिवर्तन प्रकृतिको नियम होइन र ? जबाफमा ऊ भन्छ “हो तर परिवर्तन त राम्रो कुराबाट मात्र होइन नराम्रो कुराबाट पनि भइरहेको हुन्छ नि । अब हेर्नू न, अहिलेको पुस्तामा सम्बन्धलाई सुन्दरतालाई हेर्ने कसी ‘च्वाँक’, ‘माल’ अब यो राम्रो हो त ?” उसको प्रतिप्रश्नले मलाई जबाफ मिल्दछ ।

नाटक विधा नै किन ?

अब अहिलेको पुस्तालाई पूर्वी सभ्यताको रसास्वादन गराउन नाटक नै किन रोजियो त भन्ने मेरो जिज्ञासामा भन्छ, “विश्वमा तीन चरणमा रिभोलुसन आइसक्यो । मान्छे पहिला पहिला पढ्थे, अध्ययन गर्थे । त्यसपछि मान्छे व्यस्त हुन थाले पढ्नभन्दा हेर्न रुचाउने भएजस्तै टेलिभिजन । अहिले हेर्नभन्दा सुन्न रुचाउँछन् । आमा ! हजुरलाई थाहा छ ‘क्लब हाउस’ चर्चामा आउनुको कारण यही हो । अहिलेका पुस्ताहरू ‘मल्टिटास्किङ’ भइसके । यहीँ नाटकलाई ‘पढ’ भन्दा पढ्न रुचाउँदैनन् बहुसङ्ख्यकले । नाटक त हेरिन्छ जहाँ दृश्य पहिल्यै तयार हुन्छ जब कि अध्ययन गर्दा दृश्य आफैँ तयार गर्नुपर्छ ।”

छलफलबाट मैले उसको आशय यसरी बुझे कि नैतिक ज्ञान प्रवाह गर्दा कुन माध्यमबाट दिने भन्ने कुरा त्यो ज्ञान जसका लागि हो उसको रुचिलाई ध्यानमा राखेर तयार गरिनुपर्छ, जुन यस कृतिमा बएको छ ।

विषयवस्तुको औचित्य

लगामविनाको घोडाझैँ आफ्नै गोलार्धमा कुदिरहेका अहिलेका पुस्तालाई एकैपल्ट लगाम खिच्न सकिन्न, बरु त्यस्तै स्वतन्त्र छोडेर स्वतःस्फूर्त काबुमा आउन पूर्वजको आँखीझ्याल देखाउने उद्देश्यअनुरूप तिनै युवा पुस्तालाई पात्र बनाई त्यसलाई नाटकीय तवरले प्रस्तुत गरिएको यस कृतिमा विषयवस्तु चाहिँ किन यही नै छानियो अर्थात् शाकुन्तल नाटक नै किन राखियो त, अरू पनि थिए पूर्वज चिनाउने ? समय लिएर कुरा गर्दै गरेकी मैले आशुतोषलाई दिक्क नलागोस् भनेर अन्तिम प्रश्न भन्दै सोधे, जबाफमा ऊ भन्छ, “जुवा खेल्नु राम्रो होइन, अर्थात् जीवन जुवा भइसक्यो भन्ने विषयमा शिक्षा दिन खोजेको भए महाभारतको कौरव पाण्डवको पासा खेलेको प्रसङ्गमा नाटक बन्थ्यो होला तर यो त अहिलेका केटा र केटीलाई सम्बन्धको परिभाषा बुझाउन, पहिलाको सम्बन्ध यति आदरपूर्ण, यति चोखो हुँदो रहेछ, अहिले हामी कति आधुनिक र भौतिकवादी हुन थाल्यो कि सबै राम्रो जति बिर्सने श्रापबाट हामी पनि अछुत छैनौँ भन्ने बोध गराउनु पनि हो यसलाई मुख्य विषयवस्तु बनाइनु ।”

“हस् धन्यवाद आशुतोष तिमीले यति छलफलमा मलाई साथ दियौ ।” यसरी नजानिँदो किसिमले मैले यो पुस्तकभित्र एउटा पुस्ता प्रतिनिधिलाई प्रवेश गराउन सके जुन लेखकको उद्देश्य पनि हो ।

उनीसँगको संवादपछि म आफ्नो समीक्षालाई निष्कर्षमा पुऱ्याउने तरखर गर्दै पुनः एकपटक पुस्तकमा फर्कन्छु । “पश्चिमाले शाकुन्तलम्‌को महिमा यति बुझे कि जर्मन विद्वान् सिलरले भनेका छन् कि सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजसम्म अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलको नजिक पुग्ने कुनै कृति रचिएको छैन । यस्तो महान्‌ रचनाबाट प्रभावित भई हाम्रा महाकविले त्यो अमर नाटकलाई नेपालीमा एउटा अमर काव्य (शाकुन्तल) बनाए र अहिलेसम्म नेपाली साहित्यभित्र दुई दर्जन शाकुन्तल अनेक रूपमा आइसकेका छन् । शाकुन्तलको स्वरूपलाई विनिर्माण गर्ने लामो शृङ्खलाका स्रष्टाहरूमध्ये यस अधुनातन सिर्जना गरेर श्री मुक्ति बरालको नाम पनि पङ्क्तिमा आउँछ ।” (६४) पुस्तक भूमिकाको क्रममा डा. भट्टराईको थप यो भनाइ उल्लेख गरिसकेपछि अब यस रचना र विषयवस्तुको औचित्यसम्बन्धी केही भन्ने दुस्साहस म गर्दिनँ ।

अन्तमा, छोटो परिवेशमा अत्यन्तै गहिरा सन्देश समेटिएको प्रसिद्ध नाटककार मुक्तिप्रसाद उपाध्यायको यस नाटक ‘शरत्पूर्णिमाकी रम्य रमिता’लाई उद्देश्यअनुरूप लक्षित वर्गमा पुऱ्याउन प्रत्येक विद्यालय कलेजमा मात्र मञ्चन गर्ने नभई प्रत्येक गाउँटोलहरूमा समेत यसलाई लैजानुपर्ने छ ।