मोहनप्रकाश

ललितपुरको छम्पीमा आजभन्दा ५४ वर्षअघि जन्मिएका कृष्णभक्त महर्जन नेपाली कला क्षेत्रमा एउटा चर्चित नाम हो । कलाको पनि नृत्य र अभिनय जगत्मा समर्पित भएर उनले जीवनका ३४ वर्ष समर्पण गरिसकेका छन् । यो लामो कला यात्रामा उनले केही विज्ञापन सहित करिब दुई दर्जन टेलिसिरियल, एक दर्जन ठूलोपर्दाका चलचित्र र दर्जनौं नाटकमा अभिनय गरेका छन् । केही विद्यालयहरूमा नृत्य पनि सिकाइरहेका छन् ।

आगो बल्नु उसको धर्म भएजस्तै एउटा कलाकार स्थापित हुनुमा अनुशासनको ठूलो हात हुने उनको बुझाइ छ । धैर्यता, अनुशासन र विश्वास हुने हो भने मानिस कुनै पनि क्षेत्रमा पछि नपर्ने बताउँछन् कलाकार महर्जन ।

विद्यालय पढ्दादेखि नै उनलाई नृत्यले तानिरहन्थ्यो । पर्व, जात्रा र नाचगान कतै छ भन्ने सुन्नेबित्तिकै अभिभावक र शिक्षकलाई छलेर उनी त्यहाँ पुगिहाल्थे । हुँदाहुँदा उनलाई नृत्यले यति तान्यो कि घरमा भएको आलु, चामल कतै सुटुक्क बेचेर नृत्य सिक्न जान थाले । मनभित्र उम्लिरहेको नृत्यको नशा उनमा भूत झैं सवार भैरहन्थ्यो । परिणाम स्वरूप काठमाडौं उपत्याकाका टोल, गल्ली, डबलीदेखि विभिन्न मञ्च हुँदै पाँचतारे होटलसम्म पनि उनले आफ्नो नृत्यकला देखाउन भ्याए ।

केही क्षण गम्भीर हुँदै पूर्वस्मृतितिर फर्केर भावुक हुँदै कलाकार महर्जन भन्छन्, ‘एसएलसी परीक्षा चल्दै गर्दा अचानक मेरो बुवाको निधन भयो । त्यसको केही समयपछि झण्डै आमा पनि गुमाउनु पर्यो । धन्न आमालाई भने बचाउन सकियो र आजसम्म साथमै हुनुहुन्छ ।’

त्यसो त कलाकार महर्जनसँग दुःख र संघर्षका अनेकौं पहेलीहरू किताबका पाना जस्तै थाक बनेर बसेका छन् । त्यसका बावजुद पनि आफ्नो कर्ममा उनी कठिबद्ध छदै छन् । उनको कलाकारिता कर्ममा यस्तो कुनै दिन छैन, जुन सुर्टिङ वा कार्यक्रममा ढिला पुगेको होस् । जहाँसुकै पनि निर्धारित समय अगावै पुगि सक्छन् । र, आफ्नो मधुर मुस्कानले टिमका साथीहरूलाई ऊर्जा भरिदिन्छन् ।

यो संवादकर्मीसँग अन्तरङ्ग संवाद चल्दै गर्दा उनका अनुभवले खारिएका आँखाका गहिराईमा बेलाबेला पानी छचल्किरहन्थे । पुनः क्षणभरमै आँखाका पानी हराएर हाँसोको गुन्जायस छाउँथ्यो । उनै कलाकार कृष्णभक्त महर्जनसँग मोहनप्रकाशका पाँच प्रश्नः

कलामा के छ, के छैन ?
मान्छे आफैंमा सबथोक छ । आफूले लिन सक्नु नसक्नु आफ्नो क्षमताको कुरा हो । भगवान बुद्धले कतै भनेका छन्, ‘आफूभित्र फर्केर हेर ।’ हामीले आफूलाई नचिनेर चारतिर भौतारिरहेका हुन्छौं । त्यसैले म त भन्छु आफूलाई चिन्न सके आफैंमा सबथोक छ ।

जस्तैः तपाई कतै जान्छु भन्ने बित्तिकै आफसेआफ पैताला अघि बढ्छन् । र, त्यो पैतालाको गति एकदुई –एकदुईको लयमा चल्न थाल्छन् । उनी अचानक यो संवादकर्मीलाई नै प्रश्न तेस्र्याउँछन्, ‘तपाईंले कहिल्यै घरको भित्तामा कतै किला ठोक्नु भाछ ?’ ‘छ’ भन्ने उत्तर पाउनासाथ पुनः भन्छन्, ‘किला ठोक्दा हातको लयलाई अनुभूत गर्नु भाछ ? कस्तो एकै लयमा हात चल्छ, ड्वाङ–ड्वाङ, ड्वाङ–ड्वाङ, त्यस्तै लुगा धुँदा साबुन कसरी दल्नु हुन्छ ? स्वार्र–स्वार्र, स्वार्र–स्वार्र । यसरी मानिस आफैंमा लय हो सङ्गीत हो । मानिसभित्रै सबथोक लुकेको छ । हामीले यसलाई पहिल्याउन नसकेको मात्र हो । त्यसैले कलामा पनि सबथोक छ ।

कलामा साधना महत्त्वपूर्ण छ । आफ्नो क्षमता अभिवृद्धिका लागि अनवरत रूपमा डुबिरहनु पर्छ । जसले आफ्नो क्षेत्रमा गहिराई भेट्टाउँछ, त्यसैलाई कलाकार भन्ने अधिकार छ । अनुशासनको बाटोमा हिंडेर नै त्यो गहिराईसम्म पुग्न सकिन्छ । तर जताभावी दगुरेर गन्तव्यसम्म पुग्न असम्भव ।

तपाईं कलाकार नभएको भए के हुन्थेँ जस्तो लाग्छ ?
म कलाकार नभएको भए एउटा ठूलो व्यापारी भैसक्थें । उहीबेला पेट्रोलपम्प चलाएर बसेको थिएँ । व्यापारमा लागेको भए पैसा टन्न हुन्थ्यो । ठूलो घर, गाडी हुन्थ्यो होला । तर मलाई कसैले चिन्ने थिएन । अहिले कलाकार भएर दुई छाक खानलाई दुःख छैन तर मलाई धेरैले चिन्छन् । माया गर्छन्, सम्मान् गर्छन् । त्यसैले केलाई ठीक मान्ने, केलाई बेठीक । आत्मालाई सन्तुष्ट राख्न सके जेमा पनि रमाउन सकिन्छ । त्यसैले ठूलो व्यापारी हुनुभन्दा एउटा कलाकार भएकोमा मलाई गर्व छ ।

कला क्षेत्रमा प्रवेश गर्दै गरेका नयाँ पिँढीलाई के सुझाव दिनुहुन्छ ?
हाम्रो समाजमा कुरा काट्नेहरूको बाहुल्यता छ । जुन कला क्षेत्रको पनि रोग हो । आफूले प्रत्यक्ष नदेखेसम्म, आफ्नै कानले नसुनेसम्म नकरात्मक कुराको पछि लाग्नु हुन्न । कसैकसैले आफूलाई पछि पार्न पनि नभएको हल्ला फिंजाउन सक्छन् । म को हँु भन्ने कुरा आफैंलाई थाहा हुन्छ, दोस्रोलाई सोध्नै पर्दैन । त्यसैले आफैंलाई चिनौं अरूको पछि होइन, आफ्नै पछि लागौं । सबैको भलो चिताऔं । एकदिन सबैको समय आउछ । आफ्नो मार्गमा लम्किरहौं । सिटामोल भनेको तितै हुन्छ । बरु कसैको कमिकमजोरी छ भने उसैलाई सिधै भनौं ।

नृत्य, चलचित्र र रङ्गमञ्च मध्ये कुनै एउटालाई रोज्नुपर्दा ?
चलचित्रमा ठूलो लगानी हुने भएकोले यसमा पैसा छ, ग्ल्यामर र नाम पनि छ । कलाकारले पनि आफ्ना आवश्यकता टार्नै पर्छ । परिवार पाल्नै पर्छ, एकबोरा चामल किन्नै पर्छ, लुगाफाटो जोड्नै पर्छ । त्यसैले चलचित्र पनि मेरो आवश्यकता हो । तर नृत्य र रङ्गमञ्चमा जीवन छ । नशाभित्र रगत दौडिए जस्तै हुन्छ । चलचित्रमा टेक, कोण मिलेन भने दर्जनौं पटक एउटै दृश्य दोहायाइरहनु पर्छ तर रङ्गमञ्चमा प्रवेश गर्दा पूरै मञ्च आफ्नो हुन्छ । प्रत्यक्ष दर्शकको सामुन्नेमा उपस्थित हुँदा जुत्ता खाने चुनौती पनि हुन्छ र वाहवाही पनि पाउन सकिन्छ । रङ्गमञ्चमा आमुन्नेसामुन्नेमै नतिजा देखिन्छ । मञ्चमा छिरिसकेपछि कलाकार पनि आफैं, निर्देशक पनि आफैं । रङ्गमञ्चमा कलाकारको स्वतन्त्रतालाई निर्देशकले पनि रोक्न सक्दैन । त्यसैले नृत्य र रङ्गमञ्च मेरो प्राथमिकतामा पर्छन् ।

कलाका यी विभिन्न विधालाई बहुभाषिक समुदायबीच कसरी पु-याउन सकिएला ?
अनुवाद एउटा माध्यम भए पनि एउटा भाषा, संस्कार, संस्कृति वा प्रकृतिको कुरा अर्को समक्ष पुयाउँदा त्यो फिक्का बन्न जान्छ । जुन भाषा, संस्कृति र संस्कारमा उम्रिएको सिर्जना हुन्छ, त्यही भाषा र शैलीमा पस्किन सकियो भने मात्र त्यसको वास्तविक स्वाद पाउँन सकिन्छ । जस्तै नेवारी भाषामा भटमासको स्वादलाई ‘माकु’ भनिन्छ । त्यो शब्द कतै सुन्ने बित्तिकै हाम्रो जिब्रोमा भटमासको स्वाद आइहाल्छ । त्यस्तै शब्द अन्य भाषाभाषीमा नहुन सक्छन् । यसको मतलब सबै मातृभाषाका आ–आफ्नै स्वाद हुन्छन् । त्यसैले हाम्रोजस्तो बहुभाषिक देशमा कला, साहित्यको सांस्कृतिक आदानप्रदान हुनुपर्छ । सबैले आफ्नै भाषामा प्रस्तुति दिने अवसर पाए मात्र एकअर्काप्रति सम्मानका साथै बहुभाषिक, बहुसांस्कृतिक कलाको संरक्षण र विकास पनि हुन्छ ।