भित्तामा राखेको क्यालेन्डरको महिना वा वर्षको परिवर्तनले जीवन परिवर्तन हुँदैन । जीवनले जब गन्तव्य भेटाउँछ र गति भेटाउँछ तब साँच्चैमा नयाँ सुरुवात हुन्छ । नयाँ सुरुवात र विगतका अनुभूतिले सिकाउने शिक्षाको समीक्षा नै नयाँ वर्षको औपचारिकता हो जस्तो लाग्छ । भनिन्छ, नयाँ वर्षमा यो वर्ष गर्न चाहेको वार्षिक योजना बनाउने सबै सफल हुँदैनन् रे तर बाचुन्जेल सपना देख्न छोड्नु हुन्न । योजनाले गति बढाउँछ तर गति रोकेर योजना र सपना मात्र बुनेर सपनामा हराउनलाई मात्र सपना हुँदैन । जब सपनाले बिपनामा आकार लिन्छ या गति लिन्छ तब सपनाको अर्थ खुल्दै जान्छ ।
जीवनले गति पाउँछ त्यो गतिमा झन् फैलिनुपर्छ । मदन पुरस्कार विजयी खुसी किताबमा विजयकुमार पाण्डे सरको एउटा लाइन छ । `जब कर्तव्यविनाको अधिकार, उत्पादनविनाको वितरण र योग्यताविनाको आकाङ्क्षाले जीवन वा समाज ढाक्छ । त्यो समाज र जीवनले कहिले प्रगति गर्न सक्दैन´। गतिमा फैलिनुपर्छ तर यसको मतलब आफ्नो आवश्यकताभन्दा बढीको आकाङ्क्षामा सती जानु हुँदैन । आवश्यकताभन्दा बढी हुनु पनि समस्या नै हो, बन्धन नै हो । चाहे त्यो पैसा नै किन नहोस् । जीवनको मूल्य सन्तुलनमा छ । नयाँ वर्षले त्यो सन्तुलन कायम राखोस् । आवश्यकता थाहा पाउन प्रश्न गर्नुपर्छ किनकि प्रश्नमा ठुलो परिवर्तनको सूत्र लुकेको हुन्छ ।
मलाई कत्रो घर आवश्यक छ ?
कति कोठाको घर या फ्ल्याट ?
कति लाख या कति करोड पैसा?
कति जोडा लुगा?
कति समान?
कति साथी?
कति ? कति ?
आफ्नो आवश्यकता चिन्नुपर्छ । सार्थक जीवन पाउन आवश्यक धन, दर्शन र भावना (सेन्टिमेन्ट) लाई आफूमा जोड्न सक्नुपर्छ । नयाँ वर्षले त्यो जोड्न सकोस् ।
पुरानो वर्षले मलाई सिकाएका जीवन सूत्र :
१) जुन क्षणबाट मलजल नपाएपाछि जसरी अपेक्षित बृहत् वृक्ष बन्ने रुख ओइलिन्छ त्यस्तै सही वातावरण, उत्प्रेरणाविना जीवनका लक्ष्य पनि ओइलिएर जाँदो रहेछ ।
२) जीवनको ठुलो लडाइँ मैले लडेको भनेको आफ्नै आदत वा बानीको विरुद्धको हो, अरूसँग लड्न सजिलो हुन्छ तर आफ्नै आदत विरुद्ध लड्न नसकिने रैछ ।
३) प्राथना, प्रशंसा र प्रतिज्ञाको त्रिवेणीमै सफलता र ऊर्जाको खोला बग्छ ।
४) खुसी र सफलता हाम्रो छनोटमा भर पर्छ राम्रो ५ प नै धेरैजसो सफल जीवन र खुसी जीवनको कारण देख्छु – राम्रो पढाइ, राम्रो पेसा, राम्री पत्नी, राम्रो परिवार र राम्रो परिवेश ।
५) कर्म गर्दैमा सफल नहुन पनि सकिन्छ तर कर्म गर्दा ‘४ स’लाई सधैँ जोड्नुपर्छ – सङ्कल्प , सामर्थ्य, समय, सन्तोष (स्वीकार भाव)
५) खुसीका लागि आफ्नो विचारअनुरूपको वातावरणमा जानुपर्छ, आफ्नो विचारअनुरूपको समूहसँग जोडिनुपर्छ, आफ्नै विचारजस्तै विचार ग्रहण गर्नुपर्छ तर विचारको दायरा फराकिलो बनाउन अभ्यास गरिरहनुपर्छ जसले प्रतिकूल अवस्थामा स्वीकार भाव जन्माउँछ ।
मानिसको लक्ष्य खुसी हो । खोजी त्यही हो । डा. डेविड आर अकिन्सले एउटा खुसी र सफलताको अवधारणा दिनुभएको छ तर आजको वैज्ञानिक खोज भन्छ एक छिन उफ्रिनु, हाँस्नु र सजिलो उपाय मन पर्ने गीत गाउँदैमा खुसी हुने न्युरो हर्मोन अक्सिटोसिन, डोपामिन र इन्डोरफिन निस्कन्छ । नयाँ वर्षका हरेक दिन यसरी नै बिते जीवनले प्राण पाउँथ्यो । जीवनको सुखी यात्राका लागि आफूअनुकूल वैचारिक भाव मिल्ने साथी तथा जीवनसाथी होऊन्, आफूअनुकूल वैचारिक भाव सुहाउँदो पेसा र अनेकतालाई स्विकारेर अघि बढ्ने अभ्यासपूर्ण स्वीकारभाव भए प्रयाप्त छ ।
मानिसभित्र देवता खोजेर हुन्न । मानिसमा राम्रो नराम्रो दुवै गुण हुन्छ । त्यसैले मानिस प्रशंसकभन्दा प्रेमीको भोको हुन्छ । प्रशंसक त्यो जसले तपाईँको राम्रो गुण, सफलता र क्रियाकलाप देखेर मायाँ गर्छ तर प्रेमी त्यो हो जसले राम्रो नराम्रो दुवै गुण देखेर दुवै अवस्थामा साथमा हुन्छ र मायाँ गर्छ ।
सुख हाम्रो आश हो । खास हो । पास हो । त्यसलाई नबुझे जीवन लास हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।