यतिबेला अमेरिकामा निस्किएको उपन्यास ‘टेलिफोन’ले समीक्षकहरूको दिमाग खराब गराइरहेको छ । यो उपन्यास निस्कनेबित्तिकै धेरै समीक्षकले यसलाई उति साह्रो बुझ्न सकेनन् र त्यति धेरै मन पराएको पाइएन तर जसैजसै उपन्यासको मूल सोचका बारेमा खुल्दै जान थाल्यो, स्वयं समीक्षकहरूले पनि उपन्यास दोहोर्याएर पढ्न थालेका छन् ।
हजूर, यो हल्ला हो- ‘टेलिफोन’को । पर्सिभल एभरेटको तीसौँ पुस्तकका रूपमा आएको यो उपन्यासको चर्चा हुनुको मूल कारण चाहिँ यसको अन्त्य अर्थात् ‘क्लाइमेक्स’ हो । पर्सिभलले आफ्नो पछिल्लो उपन्यासलाई तीन किसिमले अन्त्य गरेका छन् । हरेक पुस्तकमा एउटा अन्त्य छ । यसरी तीन ठाउँका बेग्लाबेग्लै पाठक भेला भएर टेलिफोन उपन्यासको कुरा गर्न थाले भने अवश्य पनि यसको विरेचन अर्थात् ‘क्लाइमेक्स’को चर्चा नगरी धरै पाउँदैनन् । यस्तो बेलामा जब दुई वा तीन पाठकहरूले बेग्ला बेग्लै अन्त्यको कुरा निकाल्न थाल्छन्, आफैँ दिग्भ्रमित हुन पुग्छन्- यहाँ के को कुरा भइरहेको छ, हँ ?
तर जब कुराको चुरोमा पुगिन्छ, थाहा हुन्छ- यो त ‘टेलिफोन’कै कुरा हो र तीन बेग्लाबेग्लै अन्त्यका साथ उपन्यास बजारमा ल्याइएको छ भनेपछि साराका सारा चासो उपन्यासतर्फ मोडिन्छ ।
ठीक यही कुरा लागू भइरहेको छ अहिले र त्यसैको चर्चा भइरहेको छ ।
प्रकाशक ग्रेवल्फ प्रेसकी सम्पादक तथा लेखक पर्सिभल एभरेटको लामो समयदेखिकी सम्पादक फियोना म्याक्रे भन्छिन्, ‘जब उनले तीन बेग्लाबेग्लै अन्त्य बोकेर हामीकहाँ आए, सुरूमा त यस्तो पनि कहीँ हुन्छ भन्ने लाग्यो तर उनलाई बुझ्ने प्रयास गर्नेबित्तिकै यो गज्जबको सोच हो भन्नेमा म विश्वस्त भएँ ।’
तीन बेग्लाबेग्लै अन्त्य राखिएका यी तीन वटै संस्करणका आवरण हेर्दा खास फरक नदेखिए पनि घोरिएर हेर्यो भने फरक खुट्याउन सकिने सम्पादक फियोना बताउँछिन् ।
‘पाठकको धैर्यको परीक्षा यसअघि कुनै लेखकले लिएजस्तो मलाई लाग्दैन,’ पुस्तक सम्पादक फियोना भन्छिन्, ‘उपन्यास पढ्दा पाठकलाई महसुस हुन्छ कि खासमा पठनको अगुवाई कसले गरिरहेको छ ? पाठकले कि उपन्यासकारले !’
उपन्यासले तिम्रो सत्य र मेरो सत्य अनि अरूको सत्यमध्ये कुन ठीक भन्ने बहस चलाउन खोजेको लेखक एभरेट बताउँछन् । उनी भन्छन्, ‘मलाई लेखक र पाठक दुवैको प्राधिकार (अथोरिटी)मा रूचि छ। एउटै उपन्यासलाई दुई फरक प्राणीले फरक दृष्टिले हेर्छन् । लेखकले लेखेको कुरालाई म भए पूरै पुनर्लेखन गरिदिन्थेँ भन्ने पाठक पनि छन् । म चाहिँ यो उपन्यासमा विषयवस्तुका कारणले तीन भिन्दाभिन्दै अन्त्यको निष्कर्षमा किन पुगेँ भने पाठकहरूको भावना पनि शमन होस् ।’
उपन्यासकार एभरेट भन्छन्, ‘कयौँ मानिसहरू ठीक त्यही कुरा देख्दैनन् जुन म देखिरहेको हुन्छु र उनीहरूले बुझिरहेको कुरा म ठ्याक्कै बुझ्न सकिरहेको हुन्नँ । आखिर किन यस्तो हुन्छ भन्ने कुरा पर्गेल्नु पनि यो उपन्यासको उद्देश्य हो ।’
सन् १९९८ देखि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा सिर्जनात्मक लेखन तथा साहित्य सिद्धान्त पढाइरहेका एभरेट त्यसअघि ज्याज म्युजिकमा गितारवादनको काम समेत गर्थे । उनको गितार मर्मत गर्ने एउटा वर्कसप (पसल) पनि छ । उपन्यास नलेखेको र पढाउने कामबाट फुर्सदका बेला उनी गितार बजाउने र मर्मत गर्ने गर्छन् ।
यसअघिसम्म उनलाई कम चिनिएको, राम्रो उपन्यासलाई पनि अन्डररेट गरिएको तथा राम्रा लेखकहरूका गुरूको पगरी गुथाउनेहरू यतिबेला पछिल्लो कृतिबाट भने उनी सेलिब्रिटी नै बनेको स्वीकार गर्छन् । यसको प्रमाण हो, कोरोनाभाइरसको आतंकका बीच पनि उनको लोकप्रियता र पुस्तकको बिक्री ।
उनकी लेखिका पत्नी डेन्जी सेन्ना भन्छिन्, ‘अमेरिकामा उनको कामलाई प्रायः महत्त्व दिइएन तर फ्रान्सेलीले भने उनलाई साँच्चिकै उदारताका साथ रूचाएका छन् । यसअघिका उनका कृतिहरूलाई फ्रान्सेलीले रूचिका साथ पढेका छन् ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।