नुनो क्यासल-ब्रान्को

गएको मार्च २०२० मा म विज्ञान तथा प्रविधिको इतिहासमाथि पिएचडी थेसिसमा रमाइरहेको थिएँ । अचानक विश्वविद्यालय प्रशासनले महामारीका कारण कार्यालय खुल्ने अवधि सीमित पारेकाले टाढैबाट अनुसन्धानका कार्य गर्न अनुरोधजन्य चिठ्ठी पठाएको पाएँ ।

बन्दाबन्दीका कारण वैज्ञानिकहरूले कार्यालयबाट गर्नुपर्ने अनुसन्धान घरैबाट गर्दाका बेफाइदा के कति हुन्छन् भन्ने कुरा बुझ्न अझै कयौँ वर्ष लाग्ला । तर यही अवधिमा मैले भने नयाँ कुरा थाहा पाएँ । त्यो थियो, ग्यालिलियो ग्यालिलीको अनुसन्धान, महामारीका कारण भएको बन्दाबन्दी र उनले पाएको दुःख ।

खासमा १७ औँ शताब्दीमा जुन बेला ग्यालिलियोले आफ्नो ऊर्जाशील समय अनुसन्धानमा बिताउँदै थिए, उनलाई कोपरनिकसको सिद्धान्तलाई आकर्षित गर्यो ।

कोपरनिकसले सूर्यले पृथ्वीलाई घुम्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । त्यो कुरा ग्यालिलियोको अनुसन्धानले पनि सटीक देखाइरहेको थियो ।

उनले सो अनुसन्धानका कुराहरू विज्ञ समूह तथा धार्मिक उच्च अधिकारीहरूलाई प्रदर्शन गर्दै बुझाउने प्रयास गरे । क्याथोलिक चर्चको समुदायले उनको यस सोचलाई ठाडै अस्वीकार गरे । कतिसम्म भने उनले यस विषयमा गहिरो चिन्तन गरी लेखेको पुस्तकलाई प्रकाशन गर्न हुन्न भन्दै अस्वीकृत गरिदिए। आइन्दा यो कुरा उनले अन्यलाई पढाउन नपाउने भनी
प्रतिबन्धसमेत लगाइदिए ।

नलगाऊन् पनि किन, उनीहरूको विचारमा यो धर्मशास्त्रलाई ठाडै चुनौती दिने कुरा थियो तर वर्षौंपछि ग्यालिलीका दिन फिरे । उनका साथीमध्ये एक पोप अर्बन आठौँले उनको पुस्तक छाप्न मिल्न सम्भावना व्यक्त गरे ।

यसपछि द डाइलग अन द टु चिफ वर्ल्ड सिस्टम्स छाप्ने बाटो खुल्यो ।

बाटो त खुल्यो तर त्यसका अनेकन् प्राविधिक पाटा थिए । किताब छाप्नु त्यो बेला त्यति सजिलो थिएन । यसका लागि रोमले स्वीकृति दिनुपर्थ्यो । सोही स्वीकृति लिन ग्यालिलियो रोम पुगे, सन् १६३० मा ।

भ्याटिकन दरबारमा उनले आफूले लेखेको कृति सेन्सरका लागि जिम्मा दिए । पोप अर्बन आठौँले प्रथमदेखि अन्तिमसम्मै पुस्तक अद्योपान्त पढे । उनलाई ग्यालिलियोले दिएका तर्क त्यति उचित लागेन । उनले यसमा केही फेरबदल गर्नुपर्ने देखे ।

अर्कोतर्फ के थियो भने कोपरनिकसले जुन सिद्धान्त प्रतिपादन गरेका थिए, तिनलाई अध्ययन गर्न दशकौँ लाग्थ्यो र त्यसलाई पुष्टि गर्न ग्यालिलियोले जुन दशकौँ समय लगाएका थिए, त्यसलाई पनि परख गर्न अर्को दशक लाग्थ्यो ।

पोपको धारणा थियो, नयाँ विचारलाई रोक्नु हुन्न तर पूर्ण रूपमा अप्रमाणिक कुराहरू, दशकौँ लाग्ने अध्ययनलाइ सहजै प्रकाशन गराउँदा अप्ठेरोमा पर्न सकिन्छ । तसर्थ, छाप्ने वा नछाप्ने भन्नेबारे उनी आफैँले मात्र निर्णय गर्न चाहेनन् । यद्यपि, उनलाइ ग्यालिलीको यो अध्ययन उनलाइ भने भन परेकै थियो । उनले आफ्नो दोधार मेटाउन अर्का सल्लाहकारसँग सुझाव मागे । सुझावसहित केही राय पेश गरियो । ती सुझावलाई कार्यान्वयन गरे, पुस्तक प्रकाशन गरे हुने भ्याटिकनको राय आयो । अब भने ग्यालिलियोले पुस्तक प्रकाशन सक्ने भए ।

तर ठीक यही बेला युरोपभर प्लेगको महामारी फैलियो । देशदेशका नाका बन्द गरियो । घरभित्रै मान्छे थुनिने अवस्था आयो । ग्यालिलियोको पुस्तक सेन्सर गर्ने मुख्य व्यक्ति सम्भवतः सोही प्लेगका कारण ज्यान गुमाउन पुगे । पुस्तक प्रकाशन ढिला हुने देखेपछि ग्यालिलियोले रोमबाट पुस्तक प्रकाशन नगरी उनकै गृहनगर फ्लोरेन्सबाट प्रकाशन गर्ने निधो गरे ।

सेन्सर गर्ने मुख्य व्यक्तिको निधन भएकाले अन्यले भने ग्यालिलीलाइ उनको किताबको पाण्डुलिपि दिन आनाकानी गर्न थाले । चर्कै दबाबपछि पाण्डुलिपि फिर्ता गरियो । सर्वत्र बन्दाबन्दी थियो । बाहिर हिँडडुल गर्न पाइँदैनथ्यो । यस्तोमा पुस्तक प्रकाशन कार्य निकै कठिन बन्न पुग्यो । स्वयं पुस्तक पनि फ्लोरेन्ससम्म आइपुग्न ढिला भयो । ग्यालिलियो उनको किताब किस्ताकिस्तामा छाप्ने निधोमा पुगे ।

तर छाप्नुअघि फ्लोरेन्स प्रशासनको स्वीकृति अनिवार्य थियो । फेरि उनले फ्लोरेन्स प्रशासनलाई पुस्तकको पाण्डुलिपि बुझाए । प्रशासकहरूले देखे- रोमले त पहिल्यै स्वीकृति दिइसकेर लाहाछाप लगाइसकेको रहेछ ! त्यसैले उनीहरूले किताब थप पढ्ने दुःख गर्न चाहेनन् । किताबको अन्तिम भाग फ्लोरेन्स आइपुग्नुअघि नै किताब प्रेसमा पुग्यो ।

रोमले अझ थप सच्याउनु पर्ने कुराहरूका सुझाव पनि ग्यालिलियोले रोम पठाउन भ्याएनन् । अथवा, बन्दाबन्दीका कारण त्यो सम्भव भएन ।

अन्ततः उनको द डाइलग अन द टु चिफ वर्ल्ड सिस्टम्स किताब छापिएर आयो । प्रशासनले किताब समीक्षा गर्ने जुन नियममा टेकिन्थ्यो, त्यो कुरा ज्यादै बकवासपूर्ण थियो । समीक्षा गराउन आफूले जुन विषयमा गर्न खोजेको हो, उदाहरणका लागि कोपरनिकसको हाइपोथेसिसको सम्भाव्यतामाथि होइन, असम्भव्यतामाथि चिठ्ठी लेख्नुपर्थ्यो । त्यो चिठ्ठी पढेपछि प्रशासकहरूले चित्त बुझाए मात्र सेन्सर हुन्थ्यो, अन्यथा प्रकाशित पुस्तक जफत हुन्थ्यो ।

पुस्तक त प्रकाशित भयो, रोमले सुझाएको सच्याउनु पर्ने कुरा नसच्याई प्रकाशित भयो । यसले रोमलाई क्रुद्ध पार्यो । रोमले आफूलाई धोका दिएको ठान्यो । यसपछि ग्यालिलियोमाथि चर्को राजनीतिक र धार्मिक दबाब पर्यो र त्यो दबाब आउँदा तीस वर्षसम्म जारी रह्यो । र, यो प्लेग नसकिउञ्जेलसम्म संवाद गर्न ग्यालिलियोलाई औधि समस्या भइरह्यो ।

त्यसैले यो पुस्तक बेचविखन गर्न प्रतिबन्ध लगाइयो । उनलाई कैद नगर्ने शर्तमा रोमन इन्क्युजिसन भनिने पोप तथा धार्मिक विज्ञहरूको समूहमा कसम खाएर अब आइन्दा यस्ता बकवासपूर्ण कार्य वा सन्देश नफैलाउने कुरामा रोमले जोड दियो । यसको साटो ग्यालिलियोले अर्को एउटा अन्तिम च्याप्टर थप्ने र त्यसमा क्याथोलिक तर्क राख्दै आफ्ना तर्कलाई केही नरम बनाउने प्रस्ताव राखे । प्रस्ताव राख्दा निकै ढिलो भइसकेको थियो ।

ग्यालिलियोले पुस्तक प्रकाशनमा हतारो नगरेको भए र उनले पोप प्रशासनका कुरालाई खुरूखुरू ढिलै भए पनि शिरोधार्य गरी अघि बढेको भए पुस्तक बिना कुनै कैँची लगाई प्रकाशन हुने थियो । पुस्तक विवादित र ‘बदनाम’ पनि हुने थिएन । सबैभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ विज्ञान र धर्मबीचको युद्ध पनि शुरू हुने थिएन ।

शताब्दीऔँपछि हाम्रो बन्दाबन्दी शुरू भएपछि यस अवधिमा धेरैजसो वैज्ञानिकहरूले धमाधम विज्ञान पुस्तक र आफ्नो बुझाइ प्रस्तुत गरिरहेका छन् । यो हेर्दा निकै राम्रो कार्य पनि देखिन्छ । आधुनिक सञ्चार प्रविधिले वैज्ञानिकका अधिकांश समस्या समाधान पनि गरेका छन् । ग्यालिलियोले जस्तो महिनौँपछि भ्याटिकन प्रशासनको जवाफ कुर्ने, आवतजावतको अभावमा आफैँ पुस्तक प्रकाशन गर्न तम्सनेजस्ता समस्या अहिले छैनन् ।

यद्यपि वैज्ञानिक अनुसन्धान माथिको लेखनी भनेको सामूहिक सहकार्य, लामो छलफल तथा निचोडको परिणाम हो । बन्दाबन्दीले यसतर्फ मिहिन कार्य हुन पाएको छैन । अझ बन्दाबन्दीले सामूहिकतामा जुन शारीरिक एकान्तिक तथा तनाव थोपरेको छ, त्यसले अनेकन् नदेखिएका समस्याहरू बढाइरहेको छ ।र यसले असाधारण तहको समस्या बढाएको छ भन्ने मान्नेहरूको कमी नै छ । यसले इतिहासका सोही स्तरका समस्या, ती समस्या समाधानका लागि गरिने सम्भाव्य कार्य र निराकरणमाथि गहन अध्ययन हुन अझै कयौँ समय लाग्ने देखिन्छ ।

(जर्मनीको बर्लिनस्थित म्याक्स प्लाङ्क इन्स्टिच्युटमा हिस्ट्री अफ साइन्समा कास्टेल ब्रान्कोले पिएचडी गरिरहेका छन् ।)