केही दिनअघि फेसबुक म्यासेन्जरमा एउटा ग्रुपको सदस्य भएको जानकारी आयो । ग्रुपको नाम थियो, B. Ed. English Batch 2061-64 DMC । अर्थात् त्यो समूह धनकुटा बहुमुखी क्याम्पसमा वि. सं. २०६१-६४ को बि. एड. अंग्रेजी समूहमा रहेका साथीहरुको थियो । ग्रुपमा भएका कुराकानीहरु हेरेँ निक्कैबेर । केही परिचित केही अपरिचित साथीहरुका बिच निक्कै लामो कुराकानीहरु भइरहेका थिए । साथीहरुले पुराना ती दिनहरुको सम्झना गरिरहँदा स्यामस्वेत तस्बिरहरु मस्तिष्कमा घुम्न थाले । स्मृतिको सन्दुकमा कैद डेढ दशकअघिको त्यो समय आफैँ उधिनिन थाल्यो । एकफेर त्यतिबेलाको समयलाई वर्तमानको फ्रेममा राखेर हेर्न खोजेँ, अनायासै मुस्कुराउन पुगेछु ।

परिस्थितिवश स्नातकको अध्ययन मैले क्याम्पसको कक्षाकोठामा बसेर गर्न सकिनँ । पहिलो वर्षको सुरुवातसँगै जागिरे जीवन सुरु गर्नुपरेकोले परीक्षाको समयमा केही हप्ता धनकुटा पुगेर साथीहरुसँग नोट र अन्य सामग्री माग्दै, खोज्दै परीक्षा दिनुपर्थ्यो । यद्यपि प्रमाणपत्र तहमा भेटिएका अधिकांश साथीहरु स्नातकमा पनि सँगै भएकोले सहज थियो नै । धनकुटा बहुमुखी क्याम्पस अन्य क्याम्पसहरुको तुलनामा पृथक् लाग्थ्यो हामीलाई । किनभने प्रायः पहाडी भेगका निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीहरुको जमघट हुने उस्तै संस्कृति, उस्तै आर्थिक हैसियतका साथै उहीँ मनोविज्ञान हुने भएकोले सायद त्यहाँ बढी पढाइका कुराहरु नै चल्थे । त्योभन्दा पर भए विद्यार्थी राजनीतिका कुरा हुन्थे । हाम्रो विद्यार्थीकाल ज्यादै सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो । २०५८ सालको दरवार हत्याकाण्ड, माओवादी विद्रोहको उत्कर्ष त छँदै थियो । २०५९ सालदेखिको राजाको प्रत्यक्ष शासनकाल र त्यसमा भएको संकटकाल, राजनैतिक गतिविधिहरुमाथिको प्रतिबन्ध, देशव्यापी भइरहेको मूल्यवृद्धि र त्यसका विरुद्धमा जागेका विद्यार्थी, दमनमा उत्रेको राज्य, धरपकड, आन्दोलन, धर्ना इत्यादिले विद्यार्थी राजनीति तातिएको थियो । धनकुटा बहुमुखी क्याम्पसमा पनि दिउँसोको कक्षा प्रायः कहिल्यै पूरा पढाइ हुन पाउँदैनथ्यो । केही न केही कार्यक्रम हुन्थ्यो दैनिक । हामी पनि आन्दोलनको समर्थनमा मिसिन्थ्यौँ । त्यसरी नै प्रमाणपत्र तहको दुई वर्ष सकियो ।

दिलीप बान्तावा

स्नातकको समयमा राजतन्त्रविरुद्धको निर्णायक आन्दोलन भयो । त्यो आन्दोलनको बेला पूरै समय आन्दोलनको हिस्सा बन्ने अवसर मिल्यो । पूरै देश आन्दोलित भएको त्यो समयमा हामी पनि धनकुटाको सडक, क्याम्पस, टुँडिखेलतिर जम्मा हुने मानवसागरमा कतै मिसिएका हुन्थ्यौँ । आन्दोलन रोकियो, दुई पक्षका बिच एउटा सहमती भयो । ठूलो अपेक्षाका साथ सबै मानिसहरु आ-आफ्ना लय र जीवनमा फर्किए । प्रतिबन्धित राजनैतिक पार्टीहरु पार्टी कार्यालयको घेराबाट बाहिर निस्किए । सबै थोक सामान्य हुँदै गयो । कहिलेकाहीँ छुट्टी मिलाएर क्याम्पस पुग्थेँ तर कक्षामा बसेर पढ्ने बानी छुटिसकेछ । लेक्चर सुन्दासुन्दै उँघ्न थाल्थेँ, केही दिनपछि जानै छोडिदिएँ । त्यसपछि भने परीक्षाका लागि बाहेक पढ्न भनेर क्याम्पस गइनँ । बरु कोठामै बसेर पढेँ ।

म्यासेन्जरमा बनेको ग्रुपमा निक्कै दिन चुपचाप बसेपछि एकदिन मैले सोधेँ, “पोखरा टूर जानेमध्ये को को यहाँ हुनुहुन्छ ? त्यो टूरको याद के कत्ति राख्नुभएको छ ?”

केही साथीहरु चाहेर पनि जान नसकेको कुरा गर्दै थिए भने कोहीले त्यतिबेलाका सुन्दर सम्झनाहरु सुनाइरहेका थिए । त्यतिखेरका ती साथीहरु यतिखेर भुगोलको विभिन्न ठाउँमा फरक फरक हैसियतका साथ बाँचिरहेका छौँ । कोही युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका विभिन्न देशहरुमा वैदेशिक रोजगारका सिलसिलामा पुगेका छन् भने कोही नेपालमै बसेर विभिन्न सरकारी, गैरसरकारी निकायहरुमा बसेर आ-आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। यतिखेर हामीले प्रयोग गरिरहेको प्रविधिका थुप्रै आलोचनायोग्य बेफाइदाहरुसँगै केही फाइदाहरु पनि छन् । त्यही प्रविधिले १५ वर्षअगाडिदेखि बिस्तारै बिस्तारै छुट्दै गएका साथीहरुलाई पुनः एक ठाउँ ल्याइदिएको हो । धेरै साथीहरुले द्विपक्षीय र बहुपक्षीय अन्तरंग कुराकानीहरु गरिरहेका छन् । यतिबेला आएर ती दिन सम्झिदै यसरी गफिनु पनि एउटा सुखद अवस्था हुने रहेछ।

आजको समयमा हामी यस्तरी कुदिरहेका छौँ कि, आफ्नो मनको कुराहरु सुनाउने फुर्सद पनि हुँदैन । बेफुर्सद दौडिरहँदा ती कुराहरु सुनिदिने मान्छे पनि कतै छुटिसकेका हुने रहेछन् । जुन सन्दर्भको गुम्फन हो त्यहीसँग सम्बन्धित मान्छेलाई सुनाउन सकियो भने मात्रै त्यो अर्थपूर्ण हुन्छ, नत्र त्यसको खास महत्त्व नै हुँदैन। त्यसैले सायद त्यो विद्यार्थीकालको अनुभूतिहरु साट्ने योग्य मान्छे भनेकै त्यतिबेलाका साथीहरुबाहेक अरु हुनै सक्दैनन् ।

दोस्रो वर्षको परीक्षा सकिएको थियो क्यार । इन्द्र थापा (क्याम्पसमा तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन उपसभापति) दाइले अंग्रेजी टिम पोखरा टूरमा जाने सल्लाह हुँदै गरेको सुनाउनुभयो। पोखरा, सुनिरहेको तर पुग्न रहर लागेको ठाउँ । म पनि जाने तरखरमा लागेँ। केही दिनको छुट्टी मिलाएर धनकुटा पुगेँ । २०६३ साल पौष महिनाको दोस्रो हप्ता हाम्रो अंग्रेजी समूहको करिब ४० जनाजति पोखरा हिँड्यौँ । यो संख्या हाम्रो अंग्रेजी समूहको एक तिहाईजति मात्रै थियो । केही साथी इलाम र केही साथीहरु लुम्बिनी गएको कुरा थाहा भयो पछि ।

हामी सबै नयाँ थियौँ पोखराका लागि । यतिसम्म कि हामीले लिएर जाने बसको स्टाफसमेत पोखरा नपुगेको कुरा गर्थे । धनकुटा बसपार्कबाट दिउँसो हिँड्यौँ हामी । दुई जना केटी साथीहरु र बाँकी सबै केटाहरुको समूह थियो हाम्रो । बाटोभरि अनेक रमाइलो भयो/गर्‍यौँ। अन्ताक्षरी, गीत गाउँदै नाच्ने, बसको क्यासेट प्लेयरमा आफूले बोकेको क्यासेट बजाएर नाच्ने इत्यादी । त्यतिखेर धनकुटा क्याम्पसमा अनेरास्ववियुको बलियो पकड थियो र हामी थियौँ अखिल । हाम्रो टूर ग्रुपमा केही साथीहरु नेविसंघका पनि थिए । त्यो कुरा जानी जानी हामी अखिलले गाउने गीत गाउँथ्यौँ । गाउँ गाउँबाट उठ, रक्तक्रान्तिको ज्वालामुखिमा, बिहानीको घामजस्तै रातो, कोही त भने जहाजमा सरर…. यस्तै यस्तै । हुन त यी गीतमा कुनै त्यस्तो लेवल छैन, जसले यो अखिलले मात्रै गाउन पाउँछ भनेको होस् । तर क्रान्तिका कुरा, समानताका कुरा, विद्रोहका कुरा, जनताका कुरा गर्ने असली मान्छे हामी मात्रै हौँ भन्ने भ्रम थियो त्यतिखेर । साथै नेविसंघका साथीहरु पनि अखिलले बजाउने गीत हामीले त सुन्न पनि हुँदैन जत्तिकै गरिहाल्थे । यो त्यतिबेलाको अपरिपक्व विद्यार्थी मानसिकता थियो । त्यसैले हामीले ती अल्पमतमा रहेका नेवि संघका साथीहरुलाई मानसिक चोट दिन पनि त्यस्तै गीत बजाइरहन्थ्यौँ।

भोलिपल्ट बिहान करिब ३/४ बजे हामी पोखरा बसपार्क पुग्यौँ । हामीलाई कुनै आइडिया थिएन, कहाँ र कसरी बस्ने भन्ने बारेमा । हाम्रो बस रोकिन साथ होटल सञ्चालकका मान्छेहरु ग्राहक तानातान गर्ने रहेछन् । हामी पनि त्यसरी नै तानातानमा पर्‍यौँ एकछिन । केही समयपछि एक जनाको पछि लाग्ने सल्लाह भयो । नजिकै रहेछ होटल । कोठामा पुगेर केही समय निदाउने समय मिल्यो । बिहान उठ्न साथ फेवाताल जाने निधो गरेर सुत्यौँ ।

हाम्रै बस लिएर फेवाताल गयौँ । पौषको महिना भएकोले पोखरा हुस्सुमय थियो । डुंगा चढेर तालबाराही पुग्यौँ । मलाई अचम्म लाग्यो, त्यत्रो पानी नै पानी भरिएको तालको बिचमा त्यो ढिस्को कसरी भयो होला ? पानीको बिचमा मन्दिर कसरी बनाए होलान् ? त्यतिखेरको मेरो सीमित चेतनाले त्योभन्दा परको कुनै कुरा सोच्न सकेको थिएन रहेछ । सबेरै भएकाले खासै भीड थिएन मन्दिरमा । केही साथीहरुले पूजा गरे, केहीले दृष्यावलोकन । हामीसँग केही थान रिलवाला क्यामेरा थिए । त्यतिबेलासम्म डिजिटल क्यामेरा हाम्रो पहुँचमा आइसकेको थिएन । सामूहिक, व्यक्तिगत अनि गुटगत केही फोटो खिच्यौँ ताललाई पृष्ठभूमि बनाएर । बिहानको खाना खाने समय हुँदै गर्दा हामी होटल फर्कने भयौँ । बस बाटो लाग्यो, तर बसले बाटो भुल्यो । त्यतिबेला पोखरा सडक महोत्सवको धमाधम थियो । त्यही प्रयोजनका लागि प्रायः सडक ढाकिएका थिए । हामी कसैले पनि होटल फर्कने बाटो पत्ता लगाउन सकेनौँ । निक्कैबेर फन्को लाउँदा नि नभएपछि सडकमा हिँडिरहेको एक जना मानिसलाई सोध्यौँ, होटलको नाम भनेर पुर्‍याइदिन आग्रह गर्‍यौँ । तर उसले ५०० रुपैयाँ लिएर मात्रै पुर्‍याउने कुरा गर्‍यो । ५०० दिएपछि उसले गाडी चलकलाई बाटो देखायो । हामी त अघिदेखि हामी बस्ने होटलकै पछाडिपट्टि घुमिरहेका थिएछौँ । होटल आएपछि बेस्सरी हाँस्यौँ ।

खाना खाएपछि पोखराका अन्य नजिकका गन्तव्यहरु हेर्न निस्क्यौँ । चमेरे गुफा, महेन्द्र गुफा/डेभिड्स फल्स/पातले छाँगो, अन्तर्राष्ट्रिय पर्वतिय सङ्ग्रहालय, विन्ध्याबासिनी मन्दिरलगायत ठाउँहरु घुम्यौँ । बडो अनौठो अनुभूतिहरु सँगाल्यौँ । पोखराका पसलहरुमा प्रायः सामानको मूल्य दुई खालको राखिने रहेछ । एउटै सामान विदेशीलाई महंगो र स्वदेशीलाई सस्तो दरमा बेचिने रहेछ । यो चलन अचम्मको लागेथ्यो । साँझपख होटल फर्किएर सबै जना आ-आफ्नो कोठामा थिए साथीहरू । अहिले जस्तो भुलिनलाई विद्युतीय उपकरणहरु प्रविधि थिएन । समूहमा अनेक गफ गरेरै समय व्यतित हुन्थ्यो । सबै साथीहरुलाई छोडेर मचाहिँ होटलाको आँगनमा निस्किएँ एक्लै । बिनाउद्देश्य गेटबाहिर पुगेँ । रंगिचंगी प्रकाश छरिएको सडक, दिउँसैजस्तो झिलिमिली थियो । सायद मलाई उत्सुकताले डोर्‍याइरहेको थियो कि ? म बिस्तारै सडक नाप्न थालेँ । हलुका चिसो बढेको थियो । दुबै हात हाफ पाइन्ट्को गोजीमा लुकाएर पोखरा सडक महोत्सवको सन्ध्याकालीन दृष्यपान गर्दै सडकमा हिँडिरहेँ । कुन ठाउँ, कहाँ पुगेँ पत्तो भएन । जताततै उस्तै देखिने साँझ । धेरैबेरपछि म फर्किएँ उसैगरी । त्यो मेरो पहिलो र अनौठो अनुभव थियो ।

अर्को दिन सबेरै पोखरा छोड्दै थियौँ हामी । सबैले आ-आफ्नो झोलाहरु बोकेर बसमा बसिसकेपछि बस गुड्नै लाग्दा होटलवालाले गेटमा रोकिदिए । अलिबेरमा थाहा भयो हाम्रो साथीहरु बसेको एउटा कोठामा ट्वाइलेट टब फुटेर छरपस्ट भएको रहेछ । उसो त त्यही होटलमा पहिलोपटक मैले मुढामा बसेजस्तै बस्ने ट्वाइलेट टब प्रयोग गरेको थिएँ । सार्‍है अप्ठ्यारो महसुस भएथ्यो । त्यस्तै टव कुनै साथीहरुले प्रयोग गर्न नजानेर हुनसक्छ, फुटाएछन् सायद । होटलवालाले हामीलाई पैसा तिराउने भए । हाम्रो टोली नेता दीपक (सायद काफ्ले हो कि) जीलाई ट्वाइलेट फुटेको कुरा थाहा भइसकेको रहेछ । त्यही भएर हतारमा चुपचाप होटलबाट निस्किने दाउ बनाएका रहेछन् । तर होटलवालाले समाइहाले । कसको कोठामा त्यस्तो भएको हो भन्ने कुरा टोली नेताले हामीलाई त सुनाएनन् सुरुमा । हामीले सायद ५ हजार रुपैयाँ पैसा तिर्‍यौँ र त्यहाबाट बाटो लाग्यौँ । त्यतिबेला घुम्न लायक पोखराका अन्य ठाउँहरु हामी गएनौँ । सायद समय कम थियो या के भयो त्यतिखेर । बरु फर्कँदा चितवनको देवघाट, सौराहा पस्यौँ । हात्ती प्रजनन केन्द्रमा पुगेर हात्तीलाई नजिकबाट नियाल्यौँ । घाडीयाल गोहीलाई परैबाट हेर्‍यौँ ।

चितवनबाट छुटेपछि हामी तराईको कुनै ठाउँमा बास बसेथ्यौँ । ठ्याक्कै ठाउँ याद भएन अहिले, रौतहट हो कि भन्ने लाग्छ । त्यतिखेरसम्ममा पोखरामा ट्वाइलेट फुटाउने साथी चिनिसकिएको थियो । केही साथीहरुको जोडचाहिँ होटलमा तिर्नुपरेको ५ हजार हामी खप्दैनौँ, जसले फुटायो उसैले सबै तिर्नुपर्छ भन्ने थियो । किनभने ५ हजार त्यो समयका लागि निक्कै ठूलो खर्च थियो । तर टोली नेता सार्‍है समझदार थिए । साथीहरु बिचमा कुनै पनि विवाद हुन दिएनन् । अर्को दिन हामी ढल्केबरबाट जनकपुर छिर्‍यौँ । केही साथीहरु त्यता नजाने अडानमा पनि थिए । तर धेरै जनाको अभिमतपछि जनकपुर जाने निधो भएथ्यो । पूरै तराई हुस्सुले छोपिएको थियो । जानकी मन्दिर परिसर प्रवेश गरेर वरिपरि घुम्यौँ । त्यहाँको कलात्मकता आकर्षक लागेथ्यो । त्यहाँभित्रका विभिन्न ताल तथा पोखरीहरु पनि हेर्‍यौँ ।

हाम्रो भ्रमणको खास उद्देश्य पनि थिएन । त्यसैले के कुरामा केन्द्रित भएर अवलोकन गर्ने भन्ने सिमा थिएन । अगाडि जे आउँछ त्यही हेर्नेखालको भ्रमण रह्यो । मन्दिर नजिकैको होटलमा बिहानको खाना खाने सल्लाह बमोजिम बस्यौँ । होटलको एक कुनामाथि भित्तामा अड्याइएको टेलिभिजन सेटमा कुनै भारतीय च्यानल बजिरहेको थियो । त्यसबाट तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिइएको भिडियो प्रशारण भइरहेको थियो । भिडियोमा नितान्त शान्त र अबोध मुहार लिएका सद्दामलाई बलिष्ठ शरीर भएका केही मुखुण्डोधारीहरुले हातमा समातेर फाँसीको तख्तासम्म पुर्‍याए । उनको चेहराको भावमा कुनै परिवर्तन थिएन । उनीहरुले सद्दामको गलामा कालो कपडा बेरिदिए र फाँसीको डोरी छिराए । एकैछिनमा विश्व साम्राज्यको मसिहा मानिने अमेरिकालाई आच्छु आच्छु बनाउने सद्दामको शरीर फाँसीमा झुन्डियो । त्यो मिति थियो २०६३ साल पौष १५ गते । तदनुसार डिसेम्बर ३०, सन् २००६ ।

खनिज तेलको धनी इस्लामिक राष्ट्र इराक आफूलाई आणविक हतियारले सुसज्जित गरिरहेको थियो भने विश्वमा एकछत्र राज गरिरहन चाहने अमेरिका इराकलाई आणविक हतियारबाट निशस्त्र बनाएर झुकाउन चाहन्थ्यो, उसका खानी तथा तेल भण्डारहरुको भान्से हुन चाहन्थ्यो । इराकलाई आतंकबादी देखाउन तत्कालीन बुश प्रशासनले एन्थ्र्याक्स, नर्भ्स ग्याँस लगायतका जैविक हतियारसमेत इराकले विकास गरेको आरोप लगाइरहेथ्यो । सद्दामले इराकसँग कुनै पनि विनाशकारी हतियार नभएको र संयुक्त राष्ट्रसंघको नीति विपरीत कुनै हतियारको विकास नगरेको दाबी गरिरहे । तर सन् २००३ को मार्च १९ मा अमेरिका, बेलायत, अष्ट्रेलिया र पोल्याण्डको संयुक्त सैन्य टोलीले इराकमाथि हवाई हमला गर्‍यो । केही दिनमा स्थल मार्गबाट पनि हमला गर्‍यो । २६ दिनको लगातार रक्तपातपूर्ण युद्धपछि इराक तहसनहस बन्यो । सद्दाम बेपत्ता भए । इराकमा अमेरिकी सत्ताको उदय भयो । सोही वर्षको डिसेम्बर १३ मा सद्दामलाई लुकिरहेको अवस्थामा इराककै टिक्रिटबाट पक्राऊ गरी अमेरिकी सेनाको जिम्मा लगाइयो । इराकी अदालतमा मुद्दा चलाइए पनि अमेरिकी सेनाले नै उनलाई अनुसन्धान गर्‍यो । मानवताविरोधी अपराध गरेको मुद्दा लगाइयो । केही समयपछि सन् १९८२ मा इराकको शिया मुसलमानहरुको कत्लेयाम गरिएको “दुजेल नरसंहार” को मुख्य दोषी बनाइयो । लामो समयको अदालती चक्करपछि सन् २००६ नोभेम्बर ५ मा उनलाई सम्पूर्ण रुपमा दोषी भएको ठहर गरी मृत्यूदण्ड दिने फैसला सुनाइएको थियो ।

स्वभाविक छ, आफूजस्तै वा आफुभन्दा शक्तिशाली बनेको कसैलाई मन पर्दैन । विश्वशान्तिका नाममा संसारभर युद्ध मच्च्याइरहेको अमेरिकाले एउटा निहुँ बनाएर इराकको सार्वभौमिकतामाथि रगतको होली खेल्यो । सद्दाम हुसेनलाई आफैँले अपराधी भन्यो, पक्राऊ गर्‍यो, आफैँले मुद्दाको सुनावाई गर्‍यो, उसैले फैसला गर्‍यो र कार्यान्वयन पनि उसैले गर्यो । सायद न्याय प्रणालीमा त्यसरी सबै काम एउटैले गर्न मिल्दैन क्यार । तर शक्ति र सामर्थ्यका सामु कसैले केही बोल्न सक्दैन । सद्दामका लागि पनि त्यही भयो ।

त्यो एउटा अप्रत्यासित संयोग थियो हाम्रो लागि, हामी खाना खान बसेकै समयमा त्यो दृष्य देखिनु । तर मनमा अनेक उथलपुथल भने जारी रह्यो । त्यत्रो शक्तिशाली अमेरिकालाई खुला चुनौती दिने सद्दामको अन्ततः त्यो अवस्थामा इहलीला सकियो । हामी पनि खाना खाइसकेर तराईको हुस्सु छिचोल्दै महेन्द्र राजमार्ग भेट्न गुड्यौँ र सोही साँझ धनकुटा आइपुग्यौँ ।