(कलाकार एस.सी. सुमन (सुबोध चन्द्र दास कायस्थ) खासगरी मिथिलाकला क्षेत्रमा सुपरिचित नाम हो । विक्रम संवत् २०१८ साल भदौ १९ गते सिराहा जिल्लाको भवानीपुरमा जन्मिनुभएका उहाँले कला र कलाकारको उत्थानका लागि करिब तीन दशकदेखि नेपाल ललितकला प्रतिष्ठान, सिद्धार्थ आर्ट फाउन्डेसन, ललितकला संगम (विराटनगर), मैथिली कलाकार समाज (काठमाडौँ), मैथिली सेवा समिति (विराटनगर) लगायतका संघसंस्थाहरूमा आबद्ध रही योगदान पुर्याउनुभएको छ । सुमनको यतिबेला राजधानीको सिध्दार्थ आर्ट ग्यालरीमा एकल चित्रकला प्रदर्शनी चलिरहेको छ । यसै सेरोफेरोमा उहाँसँग साहित्यपोस्टका लागि बाबु साइँलाले गर्नु भएको कुराकानीः)

तपाईंको प्रदर्शनीको नाउँ ‘मिथिला कसमस : द साइकल अफ टाइम्’ छ । यो कला प्रदर्शनीले देखाउन खोज्नु भएको मूलभाव के हो?
मानव सभ्यताको उद्गमकालदेखि नै कला जोडिएर आएकाले मानव सभ्यतासँग यसको नाता गहिरो छ । चित्रकलाको इतिहास त झन् ढुङ्गेयुगबाटै शुरु भएको हो, जसको प्रमाण आज पनि प्राचीन गुफाहरूमा देख्न सकिन्छ। यस्तै मिथिलान्चलको घरघरका भित्तामा लेखिएको लिखिया ‘मिथिला लोकचित्रकला’ एउटा विशेष प्रकारको चित्र शैली हो । परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटोजस्ता घरेलु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्राङ्कन गर्थे । यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, व्रतबन्धजस्ता सामाजिक संस्कारको बेला तथा चाडपर्व, पूजाआजा, व्रत–त्योहार आदिमा लेखिन्छ। यिनै कुरालाई पछ्याउँदै म निरन्तर चित्र सृजना गर्दै आएको हुँ । समय- समयमा विभिन्न पारम्परिक तथा समसामयिक विषयवस्तु समेटिंदै आएको मेरो चित्र प्रदर्शनीमा यहाँ सम्म आइपुग्दा विगत दुई वर्ष देखि भोग्दै आएको कोभिड महामारीको परिस्थितिले “मिथिला कसमस,द साइकल अफ टाइम् ” जन्माएको हो । समय गतिशील छ । मानिसहरू प्रकृतिका उपज हुन् । प्रकृतिबाट नै उनीहरूको दिनानुदिनको दैनिकी चलिरहेको हुन्छ र जब प्रकृतिलाई मानिसले दोहन गर्दछन्, तब प्रकृतिले नै उनीहरूलाई पाठ सिकाउँदै विभिन्न विपद्हरू निम्त्याई प्रकृतिलाई सन्तुलनमा ल्याउन मद्दत गर्दछ भन्ने सन्देश चित्रमार्फत दिने प्रयास गरेको छु। ‘विमेन एन्ड वाटर’, ‘इकोलोजिकल ब्यालेन्स इन नेचर’ वातावरणीय सन्तुलनका चित्रहरू यसका उदाहरण हुन्। प्रकृति अतिक्रमणतिर संकेत गर्दै मानव, जीवजनावर, रूखबिरुवाको सम्बन्धलाई दर्शाउने चित्रहरूले समाजलाई समयको चक्रसँगै जति परिवर्तन हुन खोजे पनि प्रकृतिलाई माया गरौं भन्ने सन्देश छोडेको छु।

समसामयिक आधुनिक कलाहरूको भीडमा परम्परागत मिथिला लोककलाको महत्त्व र स्थानबारे स्पष्ट पारिदिनु हुन्छ कि?
कलाको प्रारम्भ र विकासको लामो परम्परा रहिआएको छ । यसक्रममा कलाको विकास राजकीय, धार्मिक तथा जनस्तरबाट हुँदै आयो । यसरी जनस्तरमा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको कला परम्परालाई लोककलाका रूपमा चिनिन्छ । विभिन्न कालखण्डमा तात्कालीन सामाजिक परिवेशअनुरुपका कला बन्दै आएको पाइन्छ । मिथिला लोककलाको विकासको लामो परम्परा रहेको छ । जनस्तरमा विकास भएको यो परम्पराले नेपालको सांस्कृतिक वैभव र सभ्यतालाई बुझ्न निकै सघाउ पु-याएको छ । नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय अवस्थानुसार लोककलामा विविधता रहेको पाइन्छ । नेपालमा जति, भाषा र सांस्कृतिक अवयव छन् । तिनका आफ्नै लोकपरम्परा रहेका छन् । साथै लोककला, लोकगीत, हस्तकला लगायतका कला पनि रहेको देखिन्छ । यसरी हेर्दा नेपालको पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईं मधेससम्मको अवस्थालाई हेर्दा जातीय तथा क्षेत्रीय आधारमा लोककलाको विभिन्न र परम्परा रहेको सहजै बुझ्न सकिन्छ । मिथिला कला र कलाकारको अथक परिश्रमले नेपाली कलाभित्र आफ्नो स्थान सुरक्षित गरेका छ्न् । आज मिथिला कला बिना नेपाली कला अधुरो छ । राज्यले मिथिला कलाप्रति जति हेपाहा नीति अपनाए पनि सम्पूर्ण नेपाली लोक कलाको विकास गर्न मिथिला लोक कलाले नेतृत्व गर्न सक्छ ।

तपाईंको यही कला प्रदर्शनीलाई लिएर भन्नुपर्दा मिथिला कलाप्रतिको नवपुस्ता र दर्शकहरूको धारणा आकर्षण के कस्तो पाउनुभयो ?
आजका नवपुस्ता जिज्ञासु छन् । आफ्नो पाठ्यक्रममा आफ्नो मौलिक कलाहरू पढन पाए हुन्थ्यो भन्ने जिज्ञासा राख्छ्न् । अनिवार्य विषयमा नेपालको कलाको इतिहास, कलाकार, कलाका शैली र चिन्तनका बारेमा खासै राखेको पाइँदैन । कला विषय राख्नै परे पनि विदेशी कलाकार (लियोनार्दो दा भिञ्ची र उनको मोनालिसा) जुन सजिलै पाइन्छ उनीहरूका विषय राखेको पाइन्छ । पाठ्यक्रममा नेपालका कलाका विविध विधा र पक्ष, नेपालका परम्परागत कला, लोककला, आधुनिक तथा समसामयिक कला र कलाकारका विषयलाई विद्यालय तथा विश्वविद्यालयले समेट्नुपर्छ । नवपुस्तासँग मेरो अनुभव बाँड्दा मन प्रफुल्लित हुन्छ । हाम्रो समयमा यसरी भनिदिने कोही थिएन । मेरो प्रदर्शनी ‘मिथिला कसमस : द साइकल अफ टाइम’को दर्शक युवा वर्ग हुनुहुन्छ । तसर्थ म नवपुस्तालाई भन्न चाहन्छु, अन्य क्षेत्रमा भन्दा कला क्षेत्रमा संघर्ष धेरै गर्नुपर्छ । परिणाम ढिलो प्राप्त हुन्छ । इमान्दारी, लगनशीलता र धैर्यको आवश्यकता पर्छ । यो सबै मिलेर सुखद् परिणाम दिन्छ, जसले गर्दा आनन्दको अनुभूति हुन्छ । नेपाली कला क्षेत्रलाई युवा जोश-जाँगरको खाँचो छ । पुरानो पुस्ताले बनाएको गोरेटोलाई फराकिलो बनाउने दायित्व नयाँ पुस्ताको हो ।

सरकारी स्तरबाट भन्नुपर्दा नेपाली कला प्रवर्ध्दनमा कतिको सहयोग र लगानी भैरहेको पाउनुहुन्छ ? उसो त तपाई आफैँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ एवं लोककला विभाग प्रमुखसमेत रहिसक्नुभयो, तपाईंले चाहिँ आफ्नो कार्यकालमा नेपाली कलाका लागि के योगदान दिनुभयो ?
सर्वप्रथम हामीकहाँ कला हेर्ने निकाय सरकारीस्तरमा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हो । सरकारले ललितकलाको संस्थागत विकासका लागि ठोस योजना बनाई काम गर्नुपर्ने देखिन्छ ।

संकलित तथ्य/तथ्यांकहरूको वस्तुगत आधारमा भूगोल–क्षेत्र, विषय–विधा र कलानीति–विधि तथा विज्ञहरूको प्रतिनिधित्वको सापेक्षतामा जनसहभागितामूलक तथा गहन छलफल गरी, सुसोच–परिकल्पनासहितको एक रणनैतिक कार्यक्रमिक कार्ययोजना कार्यशाला गोष्ठीले वस्तुवादी गुरूयोजना तयार पारी अगाडि बढ्नुपर्ने हुन्छ। कला विकासका लागि राष्ट्रिय तथा प्रदेश कलानीति तयार गर्नुपर्दछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीको लागि प्रदेशबाट प्रतिनिधित्व हुने कलाप्रतिभा छनोट, पुरस्कार–सम्मान र सहभागिता लगायतको विशेष सिफारिस सम्बन्धमा प्रदेशलाई नै स्वायत्त कानुनी अधिकारको व्यवस्था हुनपर्छ । साथै, ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय प्रदर्शनी प्रदेशमा नै प्रतियोगिता गराएर मात्रै केन्द्रमा सिफारिसको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारको संस्कृति नीति समयसापेक्ष हुनुपर्छ, साथै प्रदेश प्रज्ञा प्रतिष्ठान (कला, नाट्य तथा संगीत र भाषा–साहित्य–समाज–संस्कृति) ऐन–कानुन संशोधन तथा अन्य थप प्रावधानको लागि अध्यादेश पेश गर्न सरकारलाई अनुरोध छ । कलाकार तथा कला सरोकारीहरूसँग सरसल्लाह गरी प्रदेश कला–भवनहरू (आर्ट ग्यालरी) को व्यवस्था तथा कला रचनाहरूको संकलन गर्न पहल गर्नुपर्दछ । विद्यालय तहका पाठ्यक्रमदेखि नै नेपाली कलासम्बन्धी अध्ययन सामग्रीहरू समावेश गरिनुपर्दछ । स्पष्ट नीति नहुँदा सरकारी स्तरबाट नेपाली कला प्रवर्ध्दनमा कतिको सहयोग र लगानी भैरहेको छ भने आम नेपाली कलाकारले थाहा पाउँदैन ।

अब रह्यो मेरो कार्यकालको कुरा: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनाको दोस्रो कार्यकाल रहेको थियो । जसमा प्रथम वर्षदेखि विभागीय स्तरमा केही अध्ययन अनुसन्धानलाई अगाडि बढाउँदै अघि बढेँ । विभिन्न लोक कलाको पहिचान गर्ने क्रममा विचारगोष्ठीमार्फत् पर्वतीय समुदायको लोककला (गोविन्द आचार्य), अवधि लोक चित्रकलाको अवस्था र आवश्यकता (विक्रममणि त्रिपाठी), राना थारु लोककला (शिवकुमारी राना), मगर लोककला (देवीका घर्ति मगर) र दंगाली थारु जातिको संस्कृति विषयक (किरण कुमारी थारुको) छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गराएको थियो । यसरी नै अनुसन्धानमार्फत मिथिला भित्तेचित्र कोहबर (सन्तोष कुमार सिंह), थारु लोककलाको अवस्था ….. (देवेन्द्र थुम्केली ), सतार लोककलाको अवस्था (टंक उप्रेती) सम्बन्धमा अनुसन्धान गराइको थियो । जसलाई आधार बनाई अवधी लोक कलाको पुस्तक नेपाली र अंग्रेजीमा, मिथिला लोक कलाको पुस्तक अंग्रेजीमा, नेवारी लोक कलाको पुस्तक तथा थारु लोक कलाको पुस्तक प्रकाशित गरियो ।

उपरोक्त अनुसन्धानलाई आधारमा कपिलवस्तुमा अवधि लोककलाको प्रशिक्षण तथा कार्यशाला जनकपुरमा मिथिला लोककलाको बृहत कार्यशाला, अर्जुनधारा झापामा सतार लोककला प्रशिक्षण कार्यशाला विराटनगरमा, पुर्वेली थारु तथा मिथिला लोककलाको संयुक्त प्रशिक्षण कार्यशाला, कोहलपुर बाँकेमा थारु लोककलाको कार्यशाला आयोजना गरियो । यसरी नै छापा कलाको प्रशिक्षण कार्यशालाले ग्रामीण भेगमा रहेका कला कलाकारलाई राष्ट्रिय मूलधारमा ल्याउन मद्दत पुर्याई आयआर्जन समेतको ढोका खोल्यो । यसरी लोककला विभागले विभिन्न जातजातिको लोककलाको अनुसन्धान बृहत रुपमा गरी रहनुपर्ने आवश्यकता महसुस गरायो।

नेपालका विभिन्न जातजाति आदिवासीका लोककलालाई मूलधारमा ल्याउन नसक्नुको प्रमुख समस्याको रुपमा लोककलाका कलाकार अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने, त्यसमा पनि अधिकांश महिलाहरूको सहभागिताले पुस्ता-दर-पुस्ता संरक्षित र पुस्तान्तरण हुँदै आउनु महिला र ग्रामीण भेगमा शिक्षाको कमी, आर्थिक कमजोरी, उचित प्रशिक्षण तथा प्रस्तुतीकरणको अभाव, बजार व्यवस्थापन तथा केन्द्रिय स्तरबाट हुनुपर्ने जति प्रयास हुन नसक्नु जस्ता कारणले यस किसिमका कलाकारहरूलाई कलाकारिताको लागि आकर्षित गर्न नसक्नु कलाको महत्त्वलाई हामीले जनस्तरसम्म पुर्याउन नसक्नु जस्ता कारण पहिचान गरी काम अगाडि बढाइयो।

कोहलपुर बाँकेमा सम्पन्न भएको अवधी तथा थारु लोककलाको प्रशिक्षण प्रदर्शनी, वसन्त उत्सव नामक बृहत् कला प्रदर्शनी प्रदेश नम्बर १ को इटहरीमा सम्पन्न भयो। १ र २ नं प्रदेशका कलाकृति संग्रह गरेर बृहत प्रदर्शनी तथा ३० जना कलाकार समेटेर बृहत् कार्यशालाको आयोजना सम्पन्न भयो । यसैगरी बाङ्लादेशको राजधानी ढाकाको शिल्पो कला एकाडमीमा नेपाल कला मेलाको आयोजना गराइयो ।

लामो समयदेखि कला क्षेत्रमै लागिरहनु भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको स्थान र अवस्था कता छ जस्तो लाग्छ ?
अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको स्थान र अवस्था सन्तोषजनक नभए पनि राम्रै भन्नुपर्छ । परम्परागत चित्र तथा लोककलाहरूको माग पनि बढ्दो छ । पछिल्लो समयमा मिथिला लोककलाको बारेमा जनरुचि बढ्दै गएको मैले महसुस गरेको छु । नेपाली मौलिक लोककलालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि कुनै ठोस कार्यक्रम तर्जुमा गर्न सकेको छैन । धेरैजसो अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपालको मौलिक लोककला र कलाकारले सहभागिताको लागि स्थान पाउन सकेका छैनन्, जसले गर्दा मौलिक लोककलाको सौन्दर्य तथा महत्त्वको हुनुपर्ने जति प्रचार प्रसार हुन सकेको छैन । नेपाली लोककलाको बारेमा प्रचार प्रसार गर्नको लागि मुख्यतया अंग्रेजी तथा विश्वका अन्य भाषामा प्रकाशन हुन आवश्यक रहेको देखिन्छ । यस सम्बन्धमा नेपाल प्रज्ञाप्रतिष्ठानले सोच बनाए पनि कुनै ठोस योजना तर्जुमा गर्न सकेको छैन ।

कलाको बजारीकरण हुनु राम्रो हो तर अत्यधिक बजारीकरण पनि कलालाई ह्रासतर्फ लैजान्छ । मिथिला लोककलामा महिलाहरूको बाहुल्य रही आएको छ । मिथिला लोककलाले महिलाहरूलाई स्वावलम्वनतर्फ उन्मुख गराएको छ । महिलाहरुको आय आर्जनमा मिथिला लोककलाले पनि महत्त्वपूर्ण स्थान ओगटेको छ । मिथिला लोककलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रियताले यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था पनि आकर्षित भएका छन् । समय अवधिमा बाँधिएर गरिएका कला सृजना तथा उन्मुक्त रुपमा गरिएका कला सृजना दुई फरक विधा हुन् । समयसँग बाँधिएर गरिने कला सृजनाको प्रस्तुति सोचेअनुरुप उत्कृष्ट हुँदैन भने उन्मुक्त रुपमा गरिएका कला सृजना सशक्त र उत्कृष्ट भएर अगाडि आएका हुन्छन् । कुनै पनि कलाकारको कल्पनाशीलता सिर्जनशीलता समायोजन गर्ने क्षमता प्रस्तुतीकरणले कलाकारलाई सशक्त रुपमा अगाडि ल्याउने गर्दछ । यिनै कुराहरूको अभावमा केही कलाकारको प्रस्तुतीकरण कमजोर देखिन गएको अवस्था छ । हतारमा गरिएका कलाप्रदर्शनीहरूले पनि कलाकारहरूको प्रस्तुति कमजोर देखिन आएको छ । यस विषयमा कलाकारहरू सचेत हुन आवश्यक देखिन्छ ।