“अब के गर्ने हो ?”
“अझ पूजा गरेको छैन भन्ने सम्झेर उनी ईसाको तस्वीर राखिएको कुनातिर लागिन् र त्यहाँ एकछिन उभिइसकेपछि फेरि आएर बसिन् । आज उनको हृदय शून्य थियो ।
वातावरणमा एक अनौठो निस्तब्धता फैलिएको थियो । यस्तो लाग्थ्या, मानौं ती मानिसहरु, जो हिजो त्यत्रो उत्साहसहित सडकमा चिल्लाउँदै थिए, आज आ–आफ्नै घरमा लुकेर बसेका छन् र हिजोका ती असाधारण घटनाहरु केलाउँदै छन् ।
अकस्मात् आमालाई आफ्नो जवानीको एउटा घटना याद आयो । जाउसाइलभ परिवारको बङ्गलाअगाडिको पुरानो पार्कमा एउटा ठूलो तलाउ थियो, जसमा कमलका फूलहरु फुलेका थिए । यो घटना शरद् ऋतुको अन्त्यतिर घटेको थियो । त्यस दिन उनी तलाउ किनाराबाट जाँदै थिइन् । अकस्मात् बीच तलाउमा एउटा डुङ्गा देखिन् । तलाउ शान्त कालो देखिन्थ्यो । पहेँला, सुकेका पातहरु बिछ्याइएको पानीको सतहमा डुङ्गा देख्दा, जसमा न कुनै मानिस बसेको थियो न त पानी खियाउने डाँडी नै थियो, कुनै अज्ञात दुर्घटनाको आभास हुन्थ्यो । आमा धेरैबेरसम्म तलाउको किनारमा उभिएर सोचिरहिन्, कसले त्यो ड्ङ्गा पानीमा उता¥यो होला र किन होला ? त्यसै दिन साँझ उनले थाहा पाइन् – त्यस बङ्गलामा काम गर्ने मान्छेकी स्वास्नी तलाउमा डुबेर मरिन् । त्यस आइमाईलाई उनी चिन्थिन्, जसको कालो कपाल घुङ्ग्रिएको थियो र बडो छिटोछिटो हिँड्ने गर्थिन् ।
आमाले आफ्नो निधार छामिन् । हिजोको घाटनासम्बन्धी सम्झनाहरु अन्य विचारहरुसहित उनको दिमागमा बिस्तारै घुम्दै थिए । आमा धेरै बेरसम्म यिनै विचारहरुमा डुबेर बसिरहिन् । उनी एकटकले चिसो चियाको गिलासमा हेर्दै थिइन् । अकस्मात् आमालाई कुनै समझदार, सिधा–सादा मान्छेसँग कुरा गर्ने र थुप्रै प्रश्नहरु सोध्ने इच्छा भयो ।
मानौं उनको यही इच्छा पूरा गर्न दिउँसोको खानापछि निकोलाइ इभानोभिच भेट्न आइपुग्यो । उसलार्य देख्नासाथ आमा झस्किन् र उसको अभिवादनको उत्तन नदिई बिस्तारै भन्न थालिन् –
“किन आउनुभएको ? तपाई बेकारमा आउनुभयो । यहाँ तपाईलाई देखे भने अवश्य पनि समातेर लानेछन् ।”
उसले बडो प्रेमपूर्वक आमासँग हात मिलायो र आफ्नो चस्मा ठीक पार्दै उनीतिर झुक्यो ।
“कुरा के हो भने पाभेल र आन्द्रेइलाई मैले बचन दिएको थिएँ, केही भएर उनीहरु गिरफ्तार भैहाले भने भोलिपल्ट नै तपाईलाई सहर लिएर जानेछु ।” – ऊ छिटोछिटो बोल्दै थियो । उसको स्वर कोमल र सहानुभूतिपूर्ण थियो – “के यहाँ खानतलासी लिन आएका थिए ?”
“हो, सबै उलटपलट गरेर छाडे । यी मोराहरुलाई लाजसरम भन्ने पटक्कै छैन !” – आमाले भनिन् –
“केलाई चाहियो र उनीहरुलाई लाजसरम ?” – निकोलाइ इभानोभिचले काँध हल्लाउँदै भन्यो । त्यसपछि उसले बताउन थाल्यो किन आमाले सहर गएर बस्नु् जाती हुन्छ ।
प्रेम र सहानुभूतिले भरिएको उसको आवाज सुनेर आमा बिस्तारै मुस्कुराइन् । उसको कुरा त उनले बुझिनन् तर उनलार्य आश्चर्य लाग्दै थियो किन यस मान्छेको कुरा सुन्दा आमाको हृदयमा विश्वास र ममताको भावना पैदा हुन्छ ।
“यदि पाभेलले भनेर गएको हो,” – आमाले भनिन् – “र, तपाईलाई कुनै कठिनाइ पर्दैन भने … ।”
“यस कुरामा तपाईले पीर नमाने हुन्छ । म एक्लै बस्छु । कहिलेकाहीँ बहिनी आउने गर्छे ।”
“तर म तपाईसँग सित्तैमा खाएर पनि त बस्न सक्दिनँ नि !” – आमाले भनिन् ।
“तपाई चाहनुहुन्छ भने कुनै काम भेट्टाउन सकिन्छ !” – निकोलायले भन्यो । काम भन्नासाथ उनको दिमागमा पाभेल, आन्द्रेइ र उसका साथीहरुले गर्ने काम याद आयो । उनी निकोलाइको अझ नजिक सरिन् र उसका आँखामा हेर्दै सोधिन् ।
“साँच्ची भेट्टाइन्छ ?”
“मैले घरमा त कुनै त्यस्तो काम छैन, एक्लै बस्छु … ।”
“मैले यस्तो काम भनेकी होइन, घरेलु कामको कुरा गरेकी होइन !” – आमाले बिस्तारै भनिन् ।
उनले दिक्दार हुँदै सुस्केरा हालिन् । निकोलाइले आफ्नो इच्छा नबुझेको देख्दा उनलाई बडो चोट प¥यो । निकोलाइ इभानोभिचका कमजोर आँखामा एक मुस्कुराहाट देखा प¥यो । उसले विचारमग्न हुँदै भन्यो ।
“जेलमा पाभेलसँग भेट्न जाँदा यदि तपाईले उसबाट ती किसानको ठेगाना थाहा पाउन सक्नुभए, जसले हामीलाई अखबार निकाल्ने अनुरोध गरेका थिए, तब … ।”
“म उनीहरुलाई चिन्छु !” – आमाले दङ्ग पर्दै भनिन् – “म उनीहरुको ठेगाना पत्ता लाउँछु र सबै काम गर्छु । गैरकानुनी प्रचार गर्दै हिँँड्छु भन्ने शङ्का कसले गर्ला र ? जय होस् तिम्रो, जय होस् तिम्रो, जे होस् फैक्ट्रीमा पर्चा लिएर जाने गरेकी थिएँ होइन र ?”
अकस्मात् उनलाई काँधमा झोला बोकेर लठ्ठी टेक्दै जङ्गल र गाउँ हुँदै कतै अज्ञात बाटातिर लाग्ने इच्छा भयो –
“भाइ, तपाई, जसरी भए पनि मलाई यो काम मिलाइदिनोस् ।” – आमाले भनिन् – “जहाँ पनि जान तयार छु । जिललाजिल्ला, गाउँगाउँ, जहाँ भए पनि जान्छु, जहाँ पनि बाटो पत्ता लाउँछु ! जाडो गर्मी, जे भए पनि नमरुन्जेल तीर्थयात्रीजस्तो हिड्याहिँड्यै गर्नेछु । के यो काम गौरवपूर्ण छैन ?”
गाउँले छाप्राहरुअगाडि ईसामसहिको नाममा भीख माग्दै हिँडेकी घरबारविहीन बुढियाका रुपमा आफूलाई कल्पनामा देख्दा उनको मन उदास भयो ।
निकोलाइले बडो प्रेमपूर्वक उनको हात समायो र आफ्नो तातो हातले उनको हात थपथपायो । एकछिनपछि उसले घडी हे¥यो र भन्यो –
“लौ, पछि कुरा गरौंला !”
“भाइ ! यदि हाम्रा बच्चाहरु, हाम्रा मुटुका टुक्राहरु, आफ्नो जिन्दगी, आफ्नो स्वतन्त्रता सबै कुरा बलिदान गर्न तयार छन्, आफूबारे अलिकति पनि पीर नगरी आफ्नो जीवनसम्म अर्पण गर्न सक्छन् भने म आमा भएर केही गर्न सक्दिनँ र ?”
निकोलाइको अनुहार फिका भयो र बडो मायालु दृष्टिले आमालाई हेर्दै उसले भन्यो –
“यसभन्दा अगाडि मैले कहिल्यै, कसैबाट यस्तो कुरा सुनेको थिइनँ ।”
“त्यस्तो म भन्नै के सक्छु र !” – आमाले उदासीनतापूर्वक टाउको हल्लाइन् र बिस्तारै हात घुमाउँदै भनिन् – “मेरो छातीमा भएको यस मातृहृदयको वेदनाबारे बताउने शब्द मात्र मसँग भैदिएको भए … ।”