साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डायस्पोरा साहित्यको अमूल्य उपहार – लाई-सी

सशस्त्र द्वन्द्वको पीडा गाउँका निमुखा हरूले जसरी भोगेका थिए त्यसलाई उनी हङकङको सुपुर्दगी कानुनविरुद्धको आन्दोलनसँग दाँज्दछन् । देशमा भएको दश वर्ष लामो सशस्त्र द्वन्द्वमा अधिकांश युवाहरू या त माओवादी आर्मीमा भर्ती भए या सहर अनि परदेशतिर पलायन भए ।

Chovar Blues Mobile Size

अलिकति उक्साए, अलिकति पुलपुल्याए, अलिकति हौस्याए, अलि-अलि जोस्याए मायाँ दिने मायालु मनहरूले । ”

‘टाँकीका फुलहरू’ कथासङ्ग्रह प्रकाशनपश्चात् नेपाली साहित्याकाशमा झन्‌-झन् उदाउँदै गरेका नक्षत्र दाजु गुरुङका भनाइ हुन् यी । हो, सृजनाका लागि यी सब ऊर्जा हुन्, मल हुन्, गोडमेल अनि सिँचाइ हुन् तब न स्रष्टा जन्मन्छ । नेपालको पूर्वी सङ्खुवासभामा मूलथलो भएका उपेन्द्रबहादुर कोरङीलाई उहाँको रचनाले साहित्यिक नाम दिएको छ दाजु गुरुङ ।

साहित्यकार गुरुङद्वारा लिखित अर्को रचना ‘लाई- सी’ कथासङ्ग्रह भर्खरै प्रकाशनमा आएको छ । आफ्नो दुई दशक लामो हङकङ बसाइका अनुभवलाई समेटेर लेखिएका कथाहरूको सङ्ग्रह ‘लाई -सी’ पढ्दा हङकङको परिवेश मात्र झल्कँदैन बरु आफ्नो देशमा अभाव र गरिबीले सुख खोज्दै अन्य मुलुक जान बाध्य एसियाली अनि नेपालीको भुसको आगोजस्तो नदेखिने दुःखको राप पनि ताप्न सकिन्छ ।

लाई–सी

अठारओटा कथाहरू समेटिएको पुस्तक ‘लाई- सी ‘को लगभग प्रत्येक कथामा एउटा व्यथा छ देश छोड्नुपर्दाको भने तिनै व्यथा बाध्यता अनि देशको सम्झनाले नै प्रत्येक गाँस-गाँसमा बाँचेका हरेक दिनहरूमा जीवन थपिरहेको पाइन्छ । यथार्थमा उनका कथा केवल उनको होइन यो प्रत्येक प्रवासीको कथा हो तब त उनी हङकङमा बाँचिरहेका हरेक नेपालीको घटनालाई केलाउँछन् र त्यहाँ नेपालको गन्ध खोज्दछन् ।

sagarmani mobile size

नब्बेको दशकमा ब्रिटिसबाट हङकङ मुक्त भएर जब नेपालीका लागि आवागमन खुला भयो यता सशस्त्र माओवादी द्वन्द्वले प्रताडित गाउँको ठुलो समूह अनि ब्रिटिस सेनामा गएका नेपालीको परिवारहरू हङकङमा सुख खोज्दै पुग्छन् । यसरी पुगेका निम्न अनि मध्यम वर्गका नेपालीहरू स्थानीय भाषा तथा नियमकानुनको अल्पज्ञानका कारण न त्यहाँको बासिन्दा भएर वर्तमानमा रमाउन सके न त आफ्नो देशको गाउँ, पाखा, खेत, आली, धर्म, संस्कृति चाडपर्व नै भुल्न सके । यताका पनि भएनन् किनकि शरीर उता छ । उताका पनि हुन सकेनन् किनकि मन यता छ । नवभूमि अर्थात् डायस्पोरिक भूमिमा बाँचिरहेका त्यस्तै डायस्पोराको जीवनको व्यथा झल्किने कथाहरूको सँगालो हो ‘लाई -सी’ ।

सशस्त्र द्वन्द्वको पीडा गाउँका निमुखा हरूले जसरी भोगेका थिए त्यसलाई उनी हङकङको सुपुर्दगी कानुनविरुद्धको आन्दोलनसँग दाँज्दछन् । देशमा भएको दश वर्ष लामो सशस्त्र द्वन्द्वमा अधिकांश युवाहरू या त माओवादी आर्मीमा भर्ती भए या सहर अनि परदेशतिर पलायन भए । सोझा निमुखा युवाहरूलाई कार्यकर्ता बनाएर उनीहरूको काँधबाट बन्दुक तेर्स्याएर युद्ध जित्नेहरू ठुला-ठुला पदमा पुगे तर ती निमुखा विदेशमा आफ्नो पहिचान गुमाएर बाँच्न बाध्य भए । लेखकले ‘कामरेड’ कथामा यिनै कुरालाई पात्रको मुखबाट बोलेका छन् । “एउटा सामान्य लडाकु, फौजी भाषामा सिपाही कमान्डरको आदेश मानेर खटिनुपर्ने, भोक तिर्खा नभनी गोरखाको भच्चेक प्रहरी चौकी आक्रमण अनि भिडन्तमा भिरबाट अनकन्टार खोँचमा खसेको, होसमा आउँदा थाहा भयो गुरुङ बस्तीमा रहेछु ।

रन्जु पाण्डे

खुट्टा भाँचिएको अवस्थामा कति साथीहरू त अझै गोलीका छर्राहरू बोकेर बाँचिरहेका छन् केवल बाच्नका लागि ” (११९) । हो गोली सबै दृश्यमा हुन्नन् । कतिपय गोलीहरू भावना, व्यवहार अनि दरिद्रतामा हुन्छ जब वचनहरू तोडिन्छन् अनि सपनाहरू भत्किन्छन् । तिनै तोडिएका वचन र भत्किएका सपनाहरू लिएर बाँच्नेको कथा हो ‘लाई -सी’ । कसैले आफूलाई ‘कामरेड’ भनेर सम्बोधन गर्दा झुक्किन्छन् कथाका पात्र महेश जुन नामको बिल्ला लगाएर युद्धमा होमिएका थिए अहिले त्यसैले आफूलाई विस्थापित हुन बाध्य गराएकोमा ।

‘बेखुसी’ मा छन् यसरी देश छोडेर परदेश जान बाध्य अशिक्षित युवायुवतीहरू जब अरूको देश उज्यालो बनाउन अँध्यारो सुरुङ्ग खन्दै दोस्रो दर्जामा रहेर अह्राएको काम गर्नुपर्दा । हङकङको सानो सहरको पत्र पत्रमा आफैँलाई हराएर आफ्नैसँग लुकेर, पुरानो सम्बन्धहरू छोड्दै नयाँ सम्बन्धहरू जोड्दै पहिचान खोजिरहेका उनीहरूको जीवन ‘अकथा’ बन्दै गएको मान्दछन् लेखक । हप्ता असुली अनि पुलिस प्रशासनबाट बच्दै नेपालीद्वारा सञ्चालित थुप्रै व्यावसायिक अनि मनोरञ्जन इलाकामा पुग्दा लेखकलाई महसुस हुन्छ कि “यो सपनाको सहरमा धेरै बैँसहरू हराएका छन् कतै जवानीको तुजुकमा कतै आइडीको सपनामा ।” (१०९)

यस्तो परिस्थितिमा परदेशमा आफूलाई टिकाइराख्न गरेका सङ्घर्षका गाथाहरू कथाको अर्को बलियो पक्ष हो ।

कागजी विवाह (पेपर म्यारिज) ले एक जोडीलाई सँगै त टिकाएको हुन्छ तर आत्मिक रूपमा उनीहरूबिचको दूरीलाई लेखक आफ्ना कथामा देखाउँछन् । ‘कानुनले नचिनेको मान्छे’ भएर गैरकानुनी तवरले सञ्चालित व्यवसायले अरू थुप्रै एसियाली अनि नेपालीलाई लुकाएको छ तर कति बेला छापा हाल्ने हो र लखेटिनुपर्ने हो भन्ने सधैँ डर छ । त्यसैले आफ्नो नाममा शरणार्थीको उपमा जोड्न पाउँदा पनि एकातिर डायस्पोरिक नागरिक दङ्ग छन् भने त्यसको फाइदा उठाउन धार्मिक गैरसरकारी सङ्घसंस्था पनि त्यहाँ मौजुद छन् । उनीहरूलाई शरणार्थी प्रमाणित गरिदिने शर्तमा धर्मपरिवर्तन गर्न प्रेरित गर्ने संस्थागत समूहप्रति लेखक तटस्थ देखिन्छन् ।

मान्छेले बाँच्नका लागि एउटा आधार खोजिरहन्छ त्यसैले ऊ जहाँ पुग्छ त्यहाँ उसले आफ्नो आस्थारूपी देवतालाई स्थापना गर्छन्, मन्दिर, गुम्बा, मस्जिद चर्च आदि-आदि । यसो त त्यहाँ पनि राजनीति नभई छोड्दैन सामाजिक परम्परा र धार्मिक मान्यता जोगाउने नाममा । तर जे भए तापनि देश छोडेर लामो समय विदेशमा बसोबास गर्न जान लागेका आफन्तलाई बुद्ध अनि गणेशको मूर्तिजस्ता उपहार दिने चलन त्यसैले रहेको होला भन्ने लाग्दछ मलाई । नेपालमा रहँदा लुम्बिनी पुग्दै नपुगेका नेपालीहरू पनि परदेशमा गएर बसेपछि गौतम बुद्धको फोटोलाई आराधना गर्छन् भन्ने यथार्थ पनि प्रस्तुत भएको छ कथामा । (४७) । ‘अर्को धरातल’ मा पुगेकी सरिता अपरिचित सहरमा एक्लै परिचय खोज्दै हिँडिरहँदा मन्दिर अनि गुम्बा धाउँछिन् केवल आफ्नोपन खोज्न; नेपाल खोज्न तर सहज अनि सहयोगी भावनाकी धनी सरिताले अन्ततः रोजगारका लागि आएका थुप्रै युवायुवतीहरूलाई चर्चप्रति आकर्षित गर्न सक्रिय भएको घटनालाई यसरी व्यक्त गर्छिन् “जीवनलाई सरल रूपमा हिँडाउने साधन धर्म हो भने एउटा सम्झौतामा त्यही उच्चता खोजिरहेछु जिन्दगीको । ” (१४२) यसलाई बाध्यता र सम्झौता भन्दाभन्दै पनि धर्मप्रतिको आफ्नो उदारतालाई लेखक पात्रद्वारा यसरी प्रकट गर्छन् “सद्भाव बढाउन, सत्कर्म गर्न जुनसुकै मार्ग अपनाए पनि हुन्छ । “(१४६)

सरिता मात्र नभई त्यहाँ थुप्रै नारी पात्र छन् जसको कथाबाट स्पष्ट हुन्छ कि लेखक नारीप्रति कति अनुरागी छन् भनेर । यो लेखकको कथाको अर्को बलियो पक्ष पनि हो । उनको अधिकांश कथाहरूले नारीको गाथा बोलेको छ । पुरुषबाट प्रताडित नारीहरूप्रति लेखक निकै नै संवेदनशील देखिन्छन् । लगभग सम्पूर्ण कथामा पुरुषलाई स्रोता अनि ‘म’ पात्र बनाई उनले नारीको व्यथा यसरी सुनिरहेछन् मानौँ उनी स्वयं नै पात्र हुन् र ‘अर्को धरातल’ को तरकारी बजार, चोक, गल्ली, सहर अनि बन्दरगाहमा पुगेर ‘कान्छी’ अनि मोनिकाको ‘निर्गन्ध रहर’ र उनीहरूका थुप्रै ‘अस्वीकृत सम्झौता’ हरू नजिकबाट नियालिरहेछन् । सबैजसो कथामा ‘म’ पात्रले नारीलाई जग्गा दिएको छ आफूलाई खन्न, गोड्न अनि उमारेर उदाङ्ग पार्न । यद्यपि लेखकले पुरुष पात्रलाई बडो चतुर्याइँका साथ महिलाको अन्तरङ्गसम्म पुऱ्याएका छन् तर सीमा भने कतै पनि नाघेको देखाइएको छैन । ” लोग्ने मान्छे त छाया मात्र रहेछन् जताजता घाम सर्छ, त्यता-त्यता पछ्याउँदै हिँड्ने छाया ।” (९६) यसै गरी चिन्छिन् कथाकी नारी पात्र पुरुषलाई ।

यसरी छायाबाट छुट्टिन नसकेको घामझैँ न्यानो र सुरक्षित रहने नाममा अनमेल विवाह, कागजी विवाह अनि प्रेम विवाहमा पुरुषबाट ढगिएका, झुक्याइएका अनि झुक्किएका नारीहरूले आफ्नाबाट टाढा गएर आफ्ना लागि सुटुक्क बाँचेका जीवनहरू अनि सन्तानका लागि गरेका सङ्घर्षहरू उनका कथामा झल्किन्छन् ।

अति सूक्ष्म कुरालाई देख्न सक्ने केलाउन सक्ने र पत्ता लगाउन सक्ने अनि आलङ्कारिक भाषाको प्रयोग गर्न पोख्त दाजु यो भवसागर पथमा जीवनको जहाज अघि बढाउँदै गर्दा त्यसले कोर्दै मेट्दै गरेका ‘पानीका धर्साहरू’ मा समेत प्राणको गति भेट्छन् र जिन्दगीको लहरसँग यसलाई तुलना गर्न पुग्छन् ।

स्थानीय भाषाको धेरै ठाउँमा अर्थसहित प्रयोग गरिएको यस सङ्ग्रहमा विदेशमा रहँदा पनि नेपालीलाई आफ्नो भाषा रहनसहनको त्यत्तिकै मायाँ रहेको झल्काउँछन् उनी । तब त कथामा नेपालीले हङकङमा गएर खोलेको रातो भाले रेस्टुरेन्टले थुप्रै नेपाली ग्राहकलाई तान्न सकेको छ ।

आफ्ना सबै कथाको माध्यमबाट लेखकले हङकङको जनजीवन भाषाशैली रहनसहन प्रविधिलाई मात्र देखाएका छैनन् बरु त्यो परिवेशमा बाँचिरहेका नेपाली जनजीवनलाई केस्रा-केस्रा केलाई दिएर ‘लाई- सी’ अर्थात् स्थानीय भाषामा सगुन, उपहार कोसेली सबै पाठकलाई दिएका छन् ।

“अलिक छटपटी नै हुँदो रहेछ अरूको सिर्जनामाथि धावा बोल्न ।” (१८१) लेखक आफैँले स्विकारेका छन् यसलाई । त्यसैले एउटा पाठक भएर उनका यी सम्पूर्ण कथाहरूलाई पढ्दै जाँदा आफूले अनुभूत गरेको पक्षलाई जस्ताको तस्तै राख्ने सन्दर्भमा मलाई लागेका केही दुई-चार कुराहरू जहाँ म टक्क अडिएकी छु अलमलिएर अनि अघाएर ।

नेपाली मात्र होइन परदेशी पनि हुरुक्कै हुन्छन् दालभात भनेपछि । अत्यन्त स्वादिलो खानामा लिइन्छ र त एकदिन व्रत बस्दा पनि भोलिपल्टै खोजिन्छ यही दालभात तर एकनासले खाइरहँदा कहिलेकाहीँ भने अर्को स्वाद खोज्दो रहेछ यो जिब्राले ।

दाजु गुरुङका कथाहरू पढ्दा मलाई यस्तै अनुभव भयो । त्यसैले मैले अलि समय दिएर पढे ताकि स्वादको घनत्व मेरा लागि उस्तै रहिरहोस् । पछिल्लो कथासम्म पनि उस्तै स्वाद पाउँदा बरु यो कथा नभई उपन्यास भैदिएको भए अझै सशक्त हुन्थ्यो कि जस्तो पनि भान भयो ।

पढ्दै जाँदा कहीँकतै टुङ्ग्याउन सकिने कथालाई पनि अनायास लम्ब्याएको जस्तो आभास भयो । कुनै-कुनै कथा उत्कृष्ट हुँदाहुँदै पनि सङ्ग्रहबाट हटाउँदा पुस्तकको ओज नखबलिने मैले पाएँ । उदाहरणका लागि ‘कानुनले नचिनेको’ मान्छे अघिल्लो कथा ‘अकथा’ कै सन्दर्भलाई जोड्दै पेपर म्यारिजको बेग्लै प्रसङ्गलाई ल्याएर त्याहा लम्ब्याइएको महसुस भयो जुन नहुँदा पनि समग्र सङ्ग्रहमा प्रस्तुत गर्न खोजिएको लेखकको भावमा कतै अपूर्णता म देख्दिनँ ।

कथाको घटनाक्रममा समयको सिलसिला मिल्यो भने पाठकलाई पढ्ने व्यग्रतामा अझै हौसला मिल्छ । पाँच वर्षअघि छोडेर आएको गाउँको घर अनि पात्रकी छोरीले हङकङमा “पल्ला घरमा जमरा राखेर बोलाइसकेको रच दसैँ” (२०७) भन्नु लेखकद्वारा आफ्नो कथाको पात्रलाई अलि पछि ‘विस्मृतिको डिलमा’ पुऱ्याइएको हो कि भन्ने भान भयो ।

सम्पूर्ण कथामा एउटा नागरिक आफ्नो जन्मभूमि छोडेर परदेसिनुपर्दाको बाध्यता, सङ्घर्ष, पीडा पश्चात्ताप झल्केको छ यद्यपि सबै परदेशी यसै दौरबाट मात्र गुज्रेका हुन्छन् भन्ने छैन तर एउटा पुस्ताको प्रतिनिधित्व गरेको यस सङ्ग्रहको लगभग सबै पात्र बाध्यताले त्यो ठाउँ पुगेको देखाइएको छ । “जति नै दिनहरू बिताए पनि केवल एक दिनमात्र हाँस्न सकिन्छ महिनामा, बैङ्क खातामा तनखा खसेको दिन ।” (२१४) । रमाउन लाई प्रकृतिले आफ्नै परिवेशमा पनि कहीँ कतै अन्याय गरेको छैन तर आफ्नो देश, गाउँमा रहँदा यिनै पैसाको सुख खोज्दै परदेशतिर पलायन भएका नेपाली आखिर यही एकदिनको सुख यहाँ नपाएरै बाँकी दिनहरू त्यहाँ स्वदेशको सम्झनामा दुःखी छन् र त दसैँ, तिहार, देउसी अनि भैलीलाई बिर्सन सकेका छैनन् भन्ने एउटा पुस्ताको यथार्थ यहाँ प्रस्तुत भएको छ ।

सारांशमा आफ्नो दुई दशक लामो हङकङ बसाइको अनुभवलाई ‘म’ पात्र भएर त्यहाँ बाँचिरहेका एउटा पुस्ताको जीवनको केस्रा-केस्रा केलाउन सफल यस पुस्तकपश्चात् भविश्यमा पक्कै पनि दाजु गुरुङबाट दोस्रो पुस्ताका कथाहरू पनि हामी पाठकलाई ‘लाई -सी’ स्वरूप प्राप्त हुनेछ भन्ने आशा गर्दछु ।

प्रतिक्रिया
Loading...