अब त्यस घटनालार्इ मर्डर विक्लीले कसरी लेख्ला ? वा यो ङटना हिन्दी सिनेमाको कहानी बन्ला या नबनला ? एउटा गरिबले धनीलार्इ मार्छ । ठीक छ । अनि उसले पसा लिन्छ । ठीक छ, तर उसले सपनामा पनि मरेको मानिसले रगत लागेको औँला देखाउँदै ‘मर्डर-मर्डर’ भनेर चिच्याउँदै पछ्याएको देख्छ ।
वास्तविक जीवनमा त यस्तो हुँदैन । म माथि विश्वास गर्नुस । म हिन्दी सिनेमा हेर्न नजाने यौटा कारण यो पनि त हो ।
एक रात सपनामा हजूरआमा भैँसीमाथि चढेर मलाई लखेट्न आउनुभएको थियो । त्यसपछि त्यस्तो आजसम्म भएको छैन ।
साँच्चिकै डरलाग्दो सपना त अर्को हुन्छ । ओछ्यानमा छट्पटाएर मैले त्यो काम गरेकै होइन भनेर कल्पना गरिरहँदा वा डरले गर्दा अशोक फुत्कन भ्याए अथवा म अझै दिल्लीमै कसैको नोकरै छु भन्ने कुराले झसङ्ग बिउँझिन्छु । पसिना छुट्न छोड्छ र मुटुको धड्कन पनि कम हुन्छ ।
मनले भन्छ; ‘तैँले त्यो काम गरेकै हो । मारेको तैँले नै हो ।’
मैले बैङ्लोर आएको तीन महिनापछि एकदिन एउटा मन्दिरमा गएर कुसुम, किसन, मेरा सबै काकीहरू, भतिजाभतिजीहरू, भान्जाभान्जीहरू सबैको अन्त्यष्टि गरेँ । हाम्रो भैँसीका लागि पनि यौटा प्रार्थना गरेँ । को जिउँदै छ, को मरिसक्यो कसलाई के थाहा ? अनि मैले किसन, कुसुम र सबैसँग बिदा माग्दै भनेँ, “अब मलाई शान्तिसँग जिउन दिनोस् ।
श्रीमान्, समग्रमा मलाई तिनीहरूले शान्तिपूर्वक जिउन दिएका पनि छन् ।
एकदिन मैले पत्रिकामा “उत्तरी भारतमा यौटा गाउँमा एकै परिवारको सत्र जनाको हत्या गरियो” भन्ने खबर पढेको थिएँ ! मेरो मुटु चड्किन थाल्यो । बाफ रे ! सत्र जनाको हत्या ? यो मेरो परिवार हुन सक्दैन । यो त्यही दुई इन्च लामो दैनिक पत्रिकामा आउने सनसनी पार्ने कथा थियो । त्यसमा कुन गाउँ भन्ने खोलेको थिएन ! गया नजिकै कुनै अन्धकारमा भन्ने लेखेको थियो ! मैले त्यो खबर पटकपटक पढेँ । बाफ रे ! सत्र जना ! हाम्रो घरमा त सत्र जना मान्छे नै छैनन् । मैले लामो सास फेरे । कसैले फेरि सन्तान जन्माएको पनि त हुनसक्छ – — ?
कच्याककुचुक पारेर पत्रिका फालिदिएँ । त्यसपछि केही महिनासम्म त मैले कुनै पत्रिका नै पढिनँ । मात्र डरमुक्त हुनलाई !
यता सुन्नुस अब उनीहरूलाई के गरिएको हुनसक्छ । कि त उनीहरू सबैलाई भुँडीफोरले मार्न लँगायो अथवा केहीलाई मार्न लगायो र बाँकी अरूलाई पिटियो । कुनै ठूलै चमत्कार भएर उसले अथवा पुलिसले त्यो काम नगरेको भए पनि छिमेकीले उनीहरूलाई त्यागिदिए होलान् । हेर्नुस त परिवारको एउटा मात्र बदमास केटोले पनि कसरी सारा गाउँकै नाम धुलोमा माटोमा मिलाइदिन्छ । त्यसैले गाउँलेले उनीहरूलाई जबरजस्ती गाउँनिकाला गरे होलान् र उनीहरू दिल्ली वा कलकत्ता वा मुम्बईतिर गएर भविष्य उज्ज्वल हुन्छ भन्ने आश मारेर मागेर खाने अनि पुलमुनि सुत्ने गरेका होलान् । यस्तो हालतमा बाँच्नु भनेको त मर्नुभन्दा राम्रो चाहिँ होइन । यसरी बाँच्नुभन्दा त मर्नु जाती हुन्छ ।
श्रीमान् जियाबाओ, तपाईंले मलाई के भन्नुभएको ? के तपाईँले मलाई निष्ठुरी राक्षस भन्नुभएको हो ?
एउटा कथा छ । त्यो मैले रेल स्टेसनमा सुनेको हो कि बजारमा पोलेको मकै किन्दा तातो मकै पोको पारेर दिएको कागजमा पढेको हो मलाई अहिले सम्झना छैन । कथा बुद्धको बारेमा थियो । एकदिन एउटा धूर्त बाहुनले बुद्धलाई मूर्ख बनाउने विचारले सोधेछ, “मालिक तपाईंले आफूलाई भगवान् ठान्नुहुन्छ कि एउटा मान्छे ?”
बुद्ध मुसुक्क हाँस्दै भनेछन्, “म न भगवान् हुँ न मानिस नै । बाँकी तिमीहरू सबै निद्रामै छौ, तर म उठेको बिउँझेको छु । कुरा यति हो ।”
तपाईंको प्रश्नको पनि म त्यही उत्तर दिन्छु, श्रीमान् जियाबाओ । तपाईंले सोध्नुस्, “तिमी राक्षस हो कि एउटा मानिस हो ?”
मभन्छु कि न म मान्छे हो न राक्षस । म बिउँझिसके तर बाँकी सबै तपाईंहरू निद्रामा हुनुहुन्छ र हामी बीचको फरक भनेको यही हो ।”
मैले अब मेरो परिवारजनको बारेमा सोचिरहनु हुँदैन ।
धर्मले पक्कै पनि यो कुरा सोचेको छैन !
यति बेलासम्म के-के भइसक्यो भन्ने उसले थाहा पाएको छ | पहिला मैले उसलाई हामी बिदा मनाउन जाने हो भनेको थिएँ र मलाई लाग्छ एक दुई महिनासम्म त उसले त्यही ठान्यो होला । उसले मसँग एक शब्द पनि भनेको त छैन, तर कहिलेकाहीँ म देख्छु उसले मलाई छड्के आँखाले यसो हेरेर विचार गरिरहन्छ !
उसलाई अब सबै कुरा थाहा छ ।
राति हामी टेबलमा वारिपारि बसेर एकअर्कालाई हेर्दै सँगै बसेर खान्छौं, तर त्यति धेरै बोल्दैनौं । उसले खाना खाइसकेपछि म उसलाई एक गिलास दूध दिन्छु । दुई रातअघि उसले दूध खाइसकेपछि मैले सोधेँ, “तँलाई तेरी आमाको याद कहिल्यै आउँदैन ?”
उ एक शब्द पनि बोलेन ।
“तेरो बुबाको पनि याद आउँदैन ?”
मतिर हेरेर मुसुक्क हाँस्दै भन्यो, “काका फेरि अर्को एक गिलास दिनुस् न । दिनुहुन्न र काका ?”
म उठेँ । उसले फेरि थप्यो, “एउटा आइसक्रिम पनि ।”
“धर्म, आइसक्रिम त आइतबार मात्रै खाने हो ।” मैले भनेँ ।
“होइन आज खाने हो ।”
अनि फेरि मलार्इ हरेर मुसुक्क हाँस्यो ।
म तपाईंलाई भन्दै छु कि उसले सबै कुराको मेसो पाइसकेको थियो । फुच्चे बादमास त मलाई ब्ल्याकमेल पो गर्छ त । जबसम्म म उसलाई उसले मागेको कुरा ख्वाउँदै जान्छु तबसम्म र चुप लागेर बस्छ | म जेल परेँ भने त उसले दूध र आइसक्रिम त खान पाउँदैन, हैन त ? उसले पक्कै पनि त्यही सोचेको हुनुपर्छ । म तपाईंलाई भन्छु कि नयाँ पिंढीसँग नैतिकता भन्ने कुरा नाम जात छैन ।
ऊ यहाँ बैङ्लोरको राम्रो बोर्डिङ स्कुल जान्छ । अहिले ऊ धनी मानिसको छोराले जस्तै अङ्ग्रेजी राम्रो उच्चारण गर्न सक्छ । अशोकले भनेजस्तै राम्रोसँग ‘पिजा’ भन्न सक्छ । के उसलाई त्यो नमिठो ‘पिजा’ खान मन पर्दैन र ? डाइनिङ टेबलमा बसेर सफा कागजमा लामो भाग गरेर बसेको देख्दा मलाई गर्व लाग्छ । यी सबै कुराहरू मैले कहिल्यै सिकिनँ ।
मलाई थाहा छ अहिले मेरो दूध र ठूलो कपमा आइसक्रिम खाने धर्मले मलाई एकदिन सोध्ने छ, “तपाईंले मेरी आमालाई पनि बाँकी छाड्नुभएन । के तपाईंले वहाँलाई बेलैमा भागेर ज्यान जोगाउनू भनेर एउटा चिठीसम्म पनि लेख्न सक्नुभएन ?”
अनि मलाई लाग्छ कि मैले एउटा उत्तर दिन सक्नुपर्छ, कि उसलाई मार्नुपर्छ, । तर त्यो प्रश्न आउन अझै केही वर्ष समय लाग्छ । त्यो दिन नआउन्जेलसम्म मेरो परिवारको अन्तिम सन्तान धर्म र म साँझको खानासँगै खाऔँला, ठिकै छ ।
अब एकजना मान्छेको बारेमा मात्र कुरा गर्न बाँकी छ ।
त्यो हो मेरो भूपू ।
मैले सोचेँ अब उनको आत्माको शान्तिका लागि कुनै भगवानलाई प्रार्थना गरिरहनु जरूरी छैन किनकि उनका परिवारजनले गङ्गा नदीको किनारमा महँगा प्रार्थना पक्कै पनि गरिरहेकै छन् । धनीहरूको तुलनामा यौटा गरिबले तीन करोड साठी लाख चारवटा भगवानलाई प्रार्थना गर्नुको के अर्थ छ र ?
तर म उनको बारेमा धेरै सोचिरहन्छु र तपाईं पत्याउनुस् नपत्याउनुस् मलाई उनको याद आउँछ । न्यास्रो लाग्छ । उनी त्यसरी मर्नुपर्ने व्यक्ति होइनन् ।
न्याउरीको त मैले घाँटी रेट्नै पर्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।