परिच्छेद- ३

बुढा राजकुमार निकोलास बोल्कोन्स्कीले सन्‌ १८०५ को नोभेम्बर महिनामा राजकुमार भासिलीको एउटा चिठी प्राप्त गरे, जसमा भासिलीले आफ्नो छोरालाई पनि लिएर भेट गर्न आउँदैछु भनेर लेखेको थियो । “म आफ्नै जिमिदारीको निरीक्षणको सिलसिलामा यात्रा गर्न लाग्दैछु र त्यसै बखतमा अरू साठी-सत्तरी माइल जति बढी यात्रा गरेँ भने त मेरा आदरणीय उपकारी तपाईंको पनि दर्शन गर्ने शुभअवसर प्राप्त गर्नेछु भन्ने मनमा लाग्यो,” राजकुमार भासिलीले चिठीमा लेखेको थियो । “आफ्नो गणमा हाजिर हुन जान लागेको मेरो छोरो अनातोल पनि मसँग आउँदैछ । अत : तपाईंप्रति आफ्नै बाबुको अनुकरण गरेर हृदयमा गहिरो आदर प्रकट गर्ने मेरो छोरालाई पनि अवश्य दर्शनभेट दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।”

“यस्तो लाग्छ, अब त मेरीलाई कतै भोजभतेरमा लिएर जान पर्दैन किन भने ऊसँग बिवाह गर्न हत्ते गर्ने मान्छे त खुद यहीँ आउँदैछ,” त्यो खबर सुनेर सुग्गी राजकुमारीले अनायासै यसो भनी ।

राजकुमार निकोलासले निधार खुम्च्याए तर केही बोलेनन्‌ ।
चिठी आएको पन्ध दिनपछि एक साँझ राजकुमार भासिलीका नोकरचाकरहरू पहिले नै यहाँ आइपुगे र त्यसको भोलिपल्ट छोरालार्इ लिएर ऊ पनि आइपुग्यो ।

राजकुमार भासिलीको चरित्रप्रति बुढा बोल्कोन्स्कीको दृष्टि राम्रो थिएन । त्यसमाथि पनि हालसालै जार पाउल र अलेक्ज्येण्डरको शासन कालमा राजकुमार भासिली पदोन्नति भएर झन्‌ माथिल्लो ओहदामा पुगेर मानसम्मान पाउँदा उनलाई सही नसक्नु भएको थियो । र अहिले, उनले प्राप्त गरेको पत्रको आशय र सुग्गी राजकुमारीको कुराको लक्षण बुझ्दा हावा कुन दिशातिर चलिरहेको छ भन्ने उनलाई स्पष्ट भयो । राजकुमार भासिली यहाँ आउनुको अर्थ बुझेपछि उसप्रतिको उनको तल्लो तहको सोचाइले झन्‌ उग्र रूप लियो । उनको मन तिरस्कार र दुर्भावनाले भरिएर आयो ।

भासिलीको नाम सुन्ने बित्तिकै उनले नाकका फोन्द्रा फुलाउँथे । खास गरेर राजकुमार भासिली आइपुग्ने दिन त झन्‌ उनी एकदम असन्तुष्ट र रिसले आगो भएका थिए । राजकुमार भासिली आउन लागेको कारणले उनको रिसको पारो चढेको हो अथवा उनको पहिलेदेखि नै चढेको रिसको पारो राजकुमार भासिली आउन लागेको हुँदा बढेको हो- कारण जेसुकै भए पनि उनी खराब मनस्थितिमा थिए । त्यसैले तिखोनले त्यो दिन वास्तुविज्ञलाई रिपोर्ट लिएर उनीकहाँ नजानू भन्ने सुझाव दिएको थियो ।

“सुन्यौ, उनी कसरी हिँडिरहेछन्‌- खुट्टा, बजारी-बजारी ?” तिखोनले राजकुमारको पदचापबाट निस्केको आवाजतर्फ वास्तुविज्ञको ध्यान आकर्षित गराउँदै भन्यो । “उनको हिँडाइको चालबाट नै हामीले कुरा बुझ्नु पर्छ ।”

तैपनि राजकुमार बोल्कोन्स्की बिहान ९ बजे सेवलको भुत्लाको कलर भएको कोट र सेवलकै भुत्ला भएको टोपी लगाएर नियमित रूपमा टहल्न निस्के । गत रात हिमपात भएको थियो । राजकुमार टहल्दै जाने ताप विरुवाघरको साँगुरो बाटो सफा गरिएको थियो । बरफमा अझै पनि कुचो लगाएको चिनो प्रष्टसँग देखिन्थ्यो । र यो बाटोको दुवै किनारमा थुप्य्राएको वरफको थुप्रोमा एउटा साभेल गडेको देखिन्थ्यो । मुख बिगारेका राजकुमार चुपचाप लागेर ताप- विरुवाघर, नोकरचाकरहरूका घर र निर्माणस्थलवरिपरि जताततै घुमे ।

“स्लेज घोडागाडीमा यहाँसम्म आउन सकिन्छ ? उनले आफूलाई घरसम्म पुर्याउन सँगसँगै आइरहेको इज्जतदार, हेर्दा पनि आफै जस्तो देखिने र हाउभाउ पनि आफ्नैजस्तो भएको कर्मचारीसँग सोधे ।

“बरफ त निकै बाक्लो परेको छ । मैले बाटो राम्ररी सफा गराउँदै छु हजूर ।” राजकुमार टाउको निहुराएर घरको ओसारोतिर बढे । “भगवानका कृपाले,” कर्मचारीले सोच्यो, “आँधीबेहरी साम्य भयो ।”

“स्लेज घोडागाडी आउन मुश्किलै होला हजूर,” उसले थप्यो । “म सुन्दै छु एक जना मन्त्री हजूरलाई भेट्न आउँदैछन्‌ रे ।”

राजकुमारले फनक्क टाउको घुमाएर कर्मचारीतर्फ हेरे र झोक्किँदै उसको अनुहारमा आँखा गाडे ।

“के भन्छ यो ?” “मन्त्री रे ?” “को मन्त्री ?” “बाटो सफा गर्न कसले आदेश दियो ?” उनले आफ्नो तिखो र कठोर आवाजमा भने । राजकुमारी मेरीका लागि होइन, मेरो लागि पनि होइन तर मन्त्रीका लागि बाटो सफा- गरियो । मलाई कुनै मन्त्रीसन्त्रीसँग भेट्नु पर्या छैन ।”

“हजूर, मैले सोचेँ …..?”

“मैले सोचेँ रे, भुत्रो सोचिस्‌ !” राजकुमार छिटोखिटो र अस्पष्ट शब्दहरू प्रयोग गर्दै गर्जिए । “मैले सोचेँ पो भन्दा रैँछ….बदमास ! राक्षस कहीँको । मैले सिकाउँछु तँलाई, सोच्न ।” यति भन्दै उनले लाठी उठाएर कारिन्दातर्फ हुर्याए । अल्पातिच, कारिन्दाले आफूलाई नबचाएको भए उसलाई लाठीको चोट लाग्ने थियो । “सोच्ने भा’को होइनस्‌- बदमास,” राजकुमारले धेरै पटक यी शब्दहरू दोहोर्याइरहे । अल्पातिच भने लौरोको मार नखाएर धृष्टता प्रदर्शन गरेका कारण डरले काम्दै राजकुमारसामु आएर नम्रतापूर्वक आफ्नो खल्वाट टाउको निहुरायो र, हुन सक्छ त्यसै कारणले गर्दा राजकुमार उसलार्इ “तँलार्इ बदमास भन्दै सफा गरेको बरफ फेरि बाटोमा नै हाल्ने आदेश दिए ।” उनले लौरो पनि फेरि भुइँबाट उठाएनन्‌ । उनी सरासर घरभित्र पसे ।

राजकुमारी मेरी र कुमारी बुर्येन राजकुमारको मुड ठीक छैन भन्ने बुझेर दिउँसोको खाना खानुभन्दा पहिलेदेखि नै उभिएर उनलार्इ पर्खिरहेका थिए । कुमारी बुर्येनको अनुहार हँसिलो थियो र उसको अनुहारले मानौँ यस्तो भनिरहेको थियो : “मलाई केही थाहा छैन र म सदाजस्तै छु।” तर राजकुमारी मेरीको अनुहारको रङ भने उडेको थियो । ऊ डराएजस्ती देखिन्थी र उसका आँखा निहुरिएको थिए । राजकुमारी मेरीलाई सबभन्दा ठूलो कष्ट त यसकारण भयो कि उसलाई थाहा थियो यस्तो अवस्थामा उसले पनि कुमारी बुर्येनले जस्तै व्यवहार गर्नु पर्दछ तर उसले त्यस्तो गर्न सकिरहेकी थिइन । उसलाई यस्तो लाग्थ्यो- “यदि मैले बुबाको मुड खराब भएको थाहा छैन भन्ने किसिमको स्वाङ पारेँ भने बुबाले यो सोच्नु हुनेछ कि उहाँप्रति मेरो कुनै दया माया नै छैन र यदि म आफै खराब मुडमा भएको देखाएँ भने उहाँले सम्झनु हुनेछ कि म एकदम ग्वाँजे तथा लण्ठू केटी हुँ (जस्तो उहाँले पहिलेपहिले पनि गर्नु भएको छ) ।”

राजकुमारले छोरीको आत्तिएजस्ता अनुहारतिर हेर्दै नाकका फोन्द्रा फुलाए ।

“कस्तो उल्लू रहेछ” उनले विस्तारै भने ।

“अर्की कहाँ मरी नि ?”,उसलाई पनि के-के भाउँतो लगाइ होला ति । उनले सुग्गी राजकुमारी अर्थात्‌ बुहारीलाई सङ्केत गर्दै सोधे, जो भोजनकक्षमा त्यति बेला उपस्थित थिइन ।
” ऊ कहाँ गई भन्या ?,” उनले सोधे । “के लुक्न गएकी छ कतै ?”
“उनलाई अलि सन्चो छैन क्यारे” कुमारी बुर्येनले हँसिलो अनुहार लाउँदै भनी, “त्यसैले उनी तल नझरेकी हुन्‌ । यस्तो अवस्थामा यस्तो हुनु स्वाभाविकै कुरा हो,” हामीले बुझ्नु पर्छ ।

“हुम…. बुझेँ .. ए ..” यति भन्दै राजकुमार खाना खाने मेचमा गएर बसे । उनलाई खाना पस्कने थाल अलि सफा भएजस्तो लागेन- त्यसमा लागेको टाटो देखाउँदै उनले थाल उचालेर एकातिर हुर्याइदिए । तिखोनले थाल च्याप्प समातेर एक जना नोकरको हातमा थमाइ दियो । सुग्गी राजकुमारीलाई सन्चो नभएको त होइन तर ससुराको रिसको पारो चढेको छ भन्ने थाहा पाएर ऊ खाना खाने बखतमा उपस्थित नहुने निर्णय गरेकी हो किनभने ऊ ससुरासँग असाध्यै डराउँथी ।

“पेटको बच्चालाई असर पर्ला भतेर म असाध्यै डराउँछु,” उसले कुमारी बुर्येनलाई भनी “यस्तो अवस्थामा डराइयो भने बच्चालाई खराब असर नगर्ला भन्न सकिन्त क्यारे ।”

साँच्चै भनौं भने बाल्ड हिलमा सुग्गी राजकुमारी जहिले पनि भयभीत अवस्थामा नै रहेकी हुन्थी । र, ससुरा राजकुमारप्रति उसको अन्तस्करणमा कटु भावना विद्यमान थियो । उसको यो डर यति प्रबल थियो कि त्यसमा हराएर ऊ आफैप्रति सबल, सक्रिय र सजग हुन सक्तिनथी । यता ससुरा राजकुमारको अवस्था पनि त्योभन्दा कम थिएन । उनले पनि बुहारीलाई रुचाउँदैनथे । र, उनको यो कटु भावनालाई तिरस्कारको भावनाले दवाएको हुँदा स्पष्ट रूपमा प्रकट हुन सक्तैनथ्यो । बाल्ड हिलमा बस्न थालेपछि सुग्गी राजकुमारीको कुमारी बुर्येनसँग हेमप्रेम बढ्दै गयो । उसले धेरैजसो समय उसैसँग बिताउने गर्न थाली । कहिलेकाहीँ उसले कुमारी बुर्येनलाई आफ्नै कोठामा लगेर सुताउन अनुरोध गर्थी । र, धेरैजसो आफ्नो ससुराको प्रसङ्ग कोट्याएर उनका विरुद्ध कुरा काट्ने गर्थी ।

“राजकुमार हजूर, आज हामीकहाँ पाहुनाहरू आउँदै हुनुहुन्छ,” कुमारी बुर्येनले आफ्ना गुलाबी औँलाहरूले सेता हातेरुमाल खोल्दै भनी । “मैले सुनेको कुरा यदि साँचो हो भने महामहिम भासिली कुरागिन आफ्नो छोरासहित आउँदै हुनु: हुन्छ झैँ लागेको छ,” उसले प्रश्नवाचक लयमा भनी ।

“हुम्‌ । तिम्रो महामहिम एउटा सुक्‌लगुण्डा हो …..।” मैले उसलाई उक्त पद दिलाइदिएको हुँ, बुझ्यौ ?” राजकुमारले तिरस्कारपूर्ण स्वरमा भने । उसको छोरोसमेत किन आउनु पर्यो – यसको अर्थ मैले बुझेको छैन । सायद राजकुमारी एलिजाबेथ र राजकुमारी मेरीलाई थाहा छ कि ! मलाई उसको छोराको मतलव छैन । (उनले आफ्नो छोरीको लजाइरहेको मुखतिर हेर्दै भने) । “आज तिमीलाई सन्चो छैन जस्तो छ नि ! ओहो ? कतै त्यो मूर्ख अल्पातिजले बोलाएको हुँदा मन्त्री आउन लागेको डरका कारण त होइन ?”

“होइन, होइन बुबा, त्यस्तो कुरा केही होइन ।”

आफूले त्यस्तो गड्बड्वाला कुराको सन्दर्भ उक्याएको भए तापनि कुमारी बुर्येन बोल्न छोडिन । उसले तापविरुवाघरहरू तथा भर्खर फुल्न लागेको एउटा फूलको सुन्दरताका बारेमा कुरा गरी । राजकुमार सुप खाएपछि अलिक नरम भएर आए ।

खाना खाइसकेपछि राजकुमार बुहारीलाई हेर्न गए । सुग्गी राजकुमारी एउटा सानो कुर्सीमा बसेर आफ्नी नोकर्नी माशासँग वात मार्दै थिई । ससुरालाई एक्कासि देखेर उसको अनुहारको रूपरङ्ग रातो भएर आयो ।

‘सुग्गी राजकुमारीमा धेरै परिवर्तन भएको थियो । ऊ अहिले राम्रीभन्दा धेरै नराम्री भएकी थिई । उसका गाला गडेका थिए । ओंठ माथितिर उठेका थिए र आँखाका डिलमुनि धर्सा परेका थिए ।

“हजूर, मलाई जीउ भारी भएजस्तो लागिरहन्छ,” ससुराले तिमीलाई कस्तो छ भनी सोधेको प्रश्नको उत्तरमा उसले भनी ।

“कुनै कुराको आवश्यकता छ भने, मलाई भन ।”

“केही चाहिँदैन बुबा । सब ठीक छ ।”

“ल, ठीकै छ त्यसो भए, ठीकै छ ।”

राजकुमार बुहारीको कोठाबाट तिस्केर प्रतीक्षालयमा गए, जहाँ अल्पातिच घोप्टो मुन्टो लगाएर बसिरहेको थियो ।

“बाटो बरफले पुरिदिएको हो ?”
“हो, हजूर, पुरिदिएँ । मैले बाटो सफा गरिदिएको गल्तीको लागि क्षमा पाउँ ।”
“ठीकै छ, भइयो माफी माग्नु पर्दैन, कृत्रिम हाँसो हाँस्दै राजकुमारले भने । उनले आफ्ना हात अल्पातिचतिर बढाए र उसले पनि हत्तपत्त उनका हातको चुम्बन गर्यो । त्यसपछि राजकुमार आफ्नो शयनकक्षतिर लागे ।”

त्यो रात राजकुमार भासिली पनि आइपुग्यो । बग्गीचालक र नोकरहरूले बाटोमा उसको स्वागत गरे । उनीहरूले जानीजानी वरफले पुरिएको बाटोमा होस्टे-हैँसे गर्दै राजकुमार भासिलीका बाबु-छोराका सामान लादिएको घोडागाडी धकेलेर पाहुना घरसम्म लगे ।

राजकुमार भासिली र उसको छोरा अनातोलका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको थियो । आफ्नो ओभरकोट खोलेर कमरमा हात लगाउँदै अनातोल एउटा कुर्सीमा गएर बस्यो । उसले मुस्कुराउँदै र अशुद्धि चालले आफ्ना ठूलाठूला तथा सुन्दर आँखा आफू बसेको कुर्सीको कुनामा गाडिरहेको थियो । ऊ आफ्नो सम्पूर्ण जिन्दगीलाई एउटा
स्थायी प्रमोद-विनोदको साधन मान्दथ्यो, जो कसै न कसैले कुनै न कुनै कारणले उसलाई प्रदान गर्नै पर्दथ्यो ।

उक्त रिसाहा बुढा राजकुमार र उनको धनाढ्य तथा कुरूप उत्तराधिकारी छोरीकहाँ आउनुको कारणलाई पनि उसले यही दृष्टिकोणले हेर्थ्यो । उसको सोचाइमा यो सम्पूर्ण स्थिति साह्रै नै मिठासपूर्ण र अत्यन्त रोचक हुन सक्छ भन्ने लाग्दथ्यो । “कुरूप ,नै भए पनि यति बिघ्न धनी केटी पाए किन विवाह नगर्ने ? जीवनमा पैसा भए सबै थोक हुन्छ,” उसले मनमा यस्तै कुरा खेलाइरहेको थियो ।

अनातोलले दाह्री खौर्यौ, दिल खोलेर शरीरभरि अत्तर छर्क्यो र आफ्नो सुन्दर शिर ठाडो पार्दै बाबुको कोठामा छिर्यो । स्वाभाविक रूपमा उसको अनुहार हँसिलो थियो – र त्यसमा विजय मुस्कानले भरिएको आभास झलकिन्थ्यो । उता राजकुमार भासिलीका दुई जना नोकर पनि उसलाई पोशाक पहिराउन व्यस्त थिए । ऊ प्रफुल्ल मुद्रामा आफ्नोवरिपोरि हुँदै थियो । छोरा आफ्नो कोठामा आएको देखेपछि उसले: शिर निहुराउँदै छोरालाई यसरी स्वागत गर्यो मानौँ उसले यो भनिरहेको होस्‌ – “स्यावास छोरा ! म
तँलाई यस्तै रूपमा देख्न चाहन्छु ।”

“होइन बुबा, ख्यालठट्टा गर्ने भनेको छुट्टै कुरा हो, तर तपाईंले मलाई नढाँटी भन्नुस्‌, ऊ के साँच्चै हेर्नै नहुने खालकी नराम्री छ र ? बाटोभरि बाबु छोराबीच भइरहेको सम्वादलाई कायम राखेझैँ अनातोलले फ्रान्सेली भाषामा सोध्यो ।

“चुप लाग, धेरै बाहियात कूरा गर्नु हुँदैन । सब कुरा बिर्सेर तैँले जसरी हुन्छ बुढा राजकुमारका सामु अत्यन्त आदर र सतर्कतापूर्वक प्रस्तुत हुने प्रयास गर ! बस ।”

“यदि बुढाले हप्काइदप्काई गर्न थाले भने म त्यहाँबाट हिँडिहाल्छु नि,” राजकुमार अनातोलले भन्यो । “म यस्ता बुढाखाडालाई फुटेका आँखाले पनि हेर्न सक्तिनँ, ठीक छ ?”

“तर तैँले यति ख्याल गर कि सबैथोक तेरै आचरण र व्यवहारमा भर पर्छ ।”

यसै बीच ती महिलाहरूसमक्ष मन्त्री र उसका छोरा आउने कुराको सूचना प्राप्त भएको मात्र होइन उनीहरू दुवैको अनुहारको समेत बेलिविस्तार लगाएर वर्णन गरिसकिएको थियो । राजकुमारी मेरी आफ्नो कोठामा एक्लै बसिरहेक्की थिई र ऊ आफ्नो मानसिक स्थिति नियन्त्रण गर्ने प्रयास गर्दै थिई ।

“उनीहरूले किन चिठी लेखे र लिजाले कित मलाई कुरा सुनाई ? यो त कहिल्यै हुन नसक्ने कुरो हो,” ऐनामा आफ्नो अनुहार हेर्दै उसले भनी । म बैठक कोठामा कसरी प्रवेश गरुँली ? मैले उसलाई मन पराएँ भने पनि ऊसँग स्वाभाविक रूपमा व्यवहार गर्न सक्ने छैन ।” आफ्नो बाबुको अनुहार मात्र सम्झदा पनि ऊ डरले काम्थी । कुमारी
बुर्येन र सुग्गी राजकुमारीले नोकर्नी माशाको मुखबाट उनीहरूबारे सबै जानकारी प्राप्त गरिसकेका थिए । उनीहरूलाई थाहा थियो कि मन्त्रीको छोरा रगत चुहिएलाजस्ता राता गाला तथा कालाकाला आँखीभौँ भएको एकदमै रूपवान्‌ तन्नेरी थियो । उसको बाबु बल्लबल्ल खुट्टा उचालेर भर्याङ चढ्थ्यो भने छोरो चाहिँ पछिपछि लाग्दै उफ्रेर एकै पटक तीन खुड्किला नाघ्थ्यो । यो सूचना पाएपछि कुमारी बुर्येन र सुग्गी राजकुमारी, जसका ठूल्ठूला स्वर दलानबाट नै सुनिन्थ्यो, राजकुमारी मेरीको कोठामा प्रवेश गरे ।

“तिमीले थाहा पायौ मेरी, उनीहरू त आइपुगे नि?” हाँसको चालमा हिँड्दै ढ्याम्म आरामकुर्सीमा बसेर सुग्गी राजकुमारीले भनी ।

उसले यतिबेला धेरैजसो बिहानको समयमा लगाउने खुकुलो गाउन लगाएकी थिइन । तर उसले एक जोर अत्यन्त मूल्यवान्‌ पोशाक लगाएकी थिई । उसको केशविन्यास अत्यन्त सुन्दर ढङ्गमा गरिएको थियो । उसको अनुहार पनि उज्यालो थियो । तथापि एकदम धस्सिएको र फुङ्ग उडेको मुखाकृति भने छिपेको थिएन । पिटर्सबर्गको उच्च समाजमा बस्दा उसले लगाउने गरेको पोशाकमा देखिने रूपको तुलनामा सुग्गी राजकुमारी अहिले निकै कम राम्री देखिएकी थिई । कुमारी बुर्येनले पनि थाहा नै नदिई शृङ्गारपटार गरिसकेकी रहिछ, जसले गर्दा उसको सुन्दर तथा तेजिलो अनुहार झन्‌ आकर्षक भएको थियो ।

“प्रिय राजकुमारी ! के तिमी यही पहिरनमा देखिन चाहन्छयौ ?” सुग्गी राजकुमारीले मेरीलाई सोधी । “उनीहरू बैठक कोठामा गए भन्ने खबर लिएर भर्खरै एक जना नोकर आउने छ । त्यस बखत हामीहरू तलतिर जानै पर्ने हुन्छ । त्यसैले तिमीले पनि आफूलाई ठीकठाक पारेर तयार गर्नु पर्थ्यो तर अहिलेसम्म केही गरेकी छैनौ ।”

सुग्गी राजकुमारी आराम..कुर्सीबाट उठी । उसले नोकर्नी माशालाई बोलाउन घन्टी बजाई र छिटोछिटो गर्दै र, खुसी हुँदै राजकुमारी मेरीलाई कस्तो पोसाक लगाइदिने होला भनेर योजना बनाउन लागी । आफ्नो विवाहार्थीको आगमनका कारण दिक्क मानेकी राजकुमारी मेरीको आत्मसम्मानमा चोट लागेको थियो । र उसलाई योभन्दा पनि अर्को कुराले दु:ख लागिरहेको थियो कि उसका दुई जना सङ्गिनीहरू_ उसको यस अवस्थालाई स्वाभाविक मानिरहेका थिए । उसले आफ्नो र उनीहरूका लागि पनि लज्जाबोध गरिरहेकी छु भनोस्‌ भने आफ्नै मानसिक स्थितिको भण्डाफोर हुन्थ्यो र उनीहरूले चाहेबमोजिमको पोशाक नलगाओस्‌ भने धेरैबेरसम्म उनीहरूको उपहास र जिद्दीको सिकार हुनु पर्थ्यो । उसको अनुहार रातोरातो भएर आयो । उसको सुन्दर आँखाको तेज पनि हराएर गयो । अनुहारमा चायाजस्ता टाटा प्रकट भए । अनि बलिको बोकाजस्तै भएर उसले आफूलाई उनीहरूसामु समर्पण गरी । कुमारी बुर्येन र सुग्गी राजकुमारी समक्ष आत्मसमर्पण गरी । उसको अनुहारमा उही उराठिलो भाव थियो, जो सधैँजसो हुने गर्थ्यो । यी दुई जना सङ्गिनीहरूले उसलाई राम्री तुल्याउन ज्यान फालेर उनीहरूको बुद्धिले भ्याएसम्म इमान्दारीपूर्वक हरसम्भव प्रयास गरिरहेका थिए । राजकुमारीको कुरूपतालाई ध्यानमा राख्दा उनीहरू दुई जनाबीच एकप्रकारको प्रतिष्पर्धा चलिरहेको थियो- उसलाई पोसाकको माध्यमबाट कसरी बढी सुन्दरीका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा उनीहरू दुवै जना दिग्भ्रमित भएका थिए । यही भावनाले अभिप्रेरित भएर उनीहरू कुनै एउटी तरुणीलाई सकेसम्म कसरी राम्री देखाउन सकिन्छ भन्ने विचारमा तल्लीन थिए ।

“मैयाँ, यो पोशाक अलि सुहाएन जस्तो लाग्छ,” लिजाले अलि टाढा गएर हेर्दै राजकुमारी मेरीलाई भनी । “नोकर्नीलाई तिम्रो रातो खालको मलमलको पोशाक लिएर म आउन भन्नु पर्यो ।” हो, उसलाई यो आदेश छिटो देऊ भन्या । “हुन सक्छ तिम्रो भाग्यको ढोका यसैले खोल्ने हो कि ?” तिमीले अहिले लगाएको पोशाकको रङ्ग अलि नसुहाउँदो खालको छ है ।

पोशाक वास्तवमा नराम्रो थिएन । नराम्रो त राजकुमारी विचरीको अनुहार थियो । र थियो उसको सम्पूर्ण प्रकृति र आकृति । तर उसका शुभचिन्तक दुई जना सङ्गितीहरू, लिजा र बुर्येनले यो रहस्य बुझेका थिएनन्‌ । “माथितिर उठाएको केशराशिमा आकाशे रङ्गको रिबन बाँधिदिन पाए र गहिरो रातो रङ्गको पोशाकमा आकाशे रङ्गको मुजेत्रो ओढाइदिन पाए, रूप रङ्गमा नमिलेका जे जे कुरा थिए, सबै ठीक-दुरुस्त देखिते थिए । कपालचाहिँ राम्रोसँग कोरिदिनु पर्छ तर उनीहरूले यो बिर्सेका थिए कि आत्मग्लानिले स्वयम्‌ लज्जित अनुहारलाई जतिसुकै वेशभूषा र अलङ्कारले सजिसजाउ गरिए तापनि अनुहार, जो उसको आफ्नै अनुहार थियो, त्यस्तै दयनीय र रूपविहीन नै रहनेछ । कौवालाई मयूरको प्वाँख भिराएर ऊ दिगोकालसम्म मयूर नै भएर रहन सक्छ र ? राजकुमारी मेरीको इच्छाअनुपार दुई-तीन पटकसम्म उसको पहिरन वेश भूषा फेरिँदैगययो (जो गरेपछि उसको आकृति झन्‌ कुरूप हुँदै गयो )। उसको कपालको जुरो पहिलेको भन्दा अर्कै किसिमको बनाइयो । र जब उसले आकाशे रङ्गको पछ्यौरा ओढेर गहिरो रातो -रङ्गगको पोसाक पहिरी, सुग्गी राजकुमारीले किन हो कुन्नि दुई-तीन पटक उसको परिक्रमा गरी । उसले कहिले राजकुमारीको पोशाक मिलाइदिन्थी, कहिले गलाको पछ्यौरा मिलाइदिन्थी । र, कहिले एकातिर र कहिले अर्कोतिर शिर निहुराउँदै उसलाई राम्ररी नियालेर हेर्थी ।

“अँह, यो लुगा त सुहाएन है, उसका हात च्याप्प समातेर सुग्गी राजकुमारीले दृढताका साथ भनी” मैले ढाँटेकी छैन मेरी, तिमीलाई यो पोशाक पटक्कै सुहाएन । बरू तिमीले सधैँजसो लगाउने गरेको सेतो रङ्गको गाउन नै मन पर्छ, मलाई त । मैले भनेको मान्छ्यौ भने त्यही पोशाक लगाऊ कात्या, उसले नोकर्निलाई भनी राजकुमारीका लागि त्यही सेतो रङ्गको पोशाक ल्याइदेऊ त, अनि तिमीले पनि देखौली कुमारी बुर्येन, मैले राजकुमारीलाई सजाएर कति राम्री तुल्याउनेछु,” उसले कलात्मक ढङ्गमा रमाउँदै र मुस्कुराउँदै भनी ।

तर कात्याले आफूलाई आदेश दिएबमोजिमको पोशाक लिएर आउँदा राजकुमारी मेरी डेग नचलेर एक सुरमा ऐनामा आफ्नो अनुहार हेरेर बसिरहेकी थिई । ऐनामा उसले आफ्ना आँखामा आँसु भरिएको देखी, ओंठ कामिरहेको देखी । डाँको छोडेर रुन मात्र बाँकी थियो ।

“प्यारी राजकुमारी” कुमारी बुर्येनले भनी, “अलिकति धैर्य गर ।”

सुग्गी राजकुमारी, कात्या नोकर्नीको हातबाट पोशाक लिएर राजकुमारी मेरीसामु आई ।

“अब हेर, हामीले यति राम्रो तरिकासँग सबै काम गर्छौँ,” उसले भनी । कुमारी बुर्येन र कात्या, जो कुनै कारणले हाँसिरहेका थिए, तीनै जनाको खुसीको आवाज एकै ठाउँमा मिसिँदा चराहरूको एक बथानले चिरबिर गरेजस्तो लाग्थ्यो ।

“पर्दैन, मलाई एक्लै छोडिदिनू,” राजकुमारी मेरीले भनी ।

उसको आवाजमा यति गाम्भीर्यता र यति व्यथा भरिएको थियो कि त्यो सुन्नासाथ चराहरूको चिरबिरे गीत तत्काल बन्द भयो । उनीहरूले राजकुमारी मेरीका ठूल्ठूला र सुन्दर आँखातिर नजर लगाए, जुन आँखामा आँसु र चिन्ता थियो र जुन आँखाले स्पष्ट रूपमा केही अनुरोध गर्दै उनीहरूलाई हेरिरहेका थिए । यी तीन जना महिलाहरूले पनि राम्ररी बुझे कि अब राजकुमारी मेरीलाई कर गर्नु व्यर्थ छ र यसो गरेको खण्डमा पाप पनि लाग्ने छ ।

“केही नगरे पनि कपाल त कोर,” सुग्गी राजकुमारीले उसलाई फकाई । मैले तिमीलाई भनेकी थिएँ नि,” उसले तिरस्कारपूर्वक कुमारी बुर्येनतर्फ सम्बोधन गर्दै भनी, “मेरीको अनुहारमा यस्तो किसिमको केश-शुङ्गार सुहाउँदैन । त्यसै भएको हुँदा यो बदल्नै पर्छ ।”

“तिमीहरू मलाई एक्लै छोडेर जाओ, मलाई एक्लै छोडेर जाने कृपा गर । कपालजस्तो किसिमले सिँगारे पनि न सिँगारे पनि मलाई केही फरक पर्दैन,” आँसु खसाल्दै राजकुमारी मेरीले रुन्चे स्वरमा भनी ।

कुमारी बुर्येन र सुग्गी राजकुमारी दुवैले यो तथ्य लुकाउन सक्तैनथे कि राजकुमारी मेरी अरू बेलामा भन्दा पनि यस वेशमा अहिले झन्‌ नराम्री र झन्‌ भद्दा देखिन्थी तर काम-कुरो बिग्रिसकेको थियो । उसले उनीहरूलाई यस्तो चिन्तित र उदासीन भावले हेरिरहेकी थिई, जुन भावसँग उनीहरू दुवै जना परिचित थिए । राजकुमारी मेरीमा देखिएको यो भावले उनीहरूमा भय उत्पन्न गरिरहेको थिएन । राजकुमारी मेरीले कसैप्रति पनि भय उत्पन्न गर्दिनथी तर यी दुबै जनालाई थाहा थियो कि उसको अनुहारमा यो भाव उत्पन्न भयो भने त्यस अवस्थामा ऊ मौनव्रत धारण गर्छे र आफ्नो निर्णयमा अटल र अडिग रहन्छे ।

“तिमीले यो केशविन्यास बदल्छयौ कि बदल्दिनौ हँ ?” लिजाले सोधी । तर राजकुमारी मेरीले यसको कुनै जवाफ नदिएपछि, उ त्यहाँबाट आफ्नो कोठातिर भागी ।

राजकुमारी मेरी एक्लै भई । उसले लिजाको इच्छा पूरा गरिन । उसले केशविन्यास नबदलेको मात्र होइन, ऐनामा गएर एक पटक आफ्नो अनुहारसम्म हेरिन । ऊ लाचार भएर आँखा तलतिर झुकाउँदै र हात भुइँतिर खसाल्दै चुपचाप लागेर बसी र सोच्न थाली । उसको कल्पनाको संसारमा एउटा लोग्ने, एउटा मान्छे, एउटा बलवान्‌, अभूतपूर्व र आकर्षक जीवात्मा उपस्थित भयो र उसलाई आफ्नो अलौकिक, अपूर्व, पूर्ण रूपले भिन्न र सुखी लोकतिर लिएर गयो । राजकुमारीले आफूले जन्माएको बच्चा देखी । उक्त बच्चा उसले हिजो मात्र देखेकी आफ्नी धाईको छोरीको बच्चाजस्तै थियो, जसलाई उसले आफ्नै छातीको दूध चुसाइरहेकी थिई । लोग्नेचाहिँ उसलाई र बच्चालाई हेर्दै उनीहरूनजिकै उभिइरहेको थियो । “होइन, होइन, यो हुनै सक्तैन । म अत्यन्त कुरूप छु । म जस्ती…..” उसले सोची ।

“राजकुमारी हजूर ! चिया पिउन भित्र आउनुस्‌ । बुबाहजूरको एकै छिन्‌मा बाहिर निस्कने बेला हुन लागेको छ,” ढोकाबाट नोकर्नीको आवाज आयो ।

राजकुमारी मेरी खड्रङ्ग भई । आफूले कल्पना गरिरहेको कुरा सम्झेर ऊ आफै डराई । तलतिर बैठक कोठामा जानुभन्दा अगि उ देवीदेवताका मूर्ति राखेको कोठामा पसी र केही बेरसम्म कालो अनुहारवाला इसामसीहको ठूलो प्रतिमासामु जुन प्रतिमा बत्तीको प्रकाशले आलोकित थियो, हात जोडेर उभिई । राजकुमारी मेरीको आत्मा यातनापूर्ण दुविधाबाट संतप्त थियो । उसलाई संशय थियो- के उसको लागि प्रेमको मजा, पुरुषका साथ सांसारिक सुखभोगको मजा प्राप्त हुन सम्भव थियो ? विवाहका सम्बन्धमा, विचार गर्दा राजकुमारी मेरीले पारिवारिक सुखसन्तोष र बालबच्चाको कल्पना गर्थी तर उसकी सबभन्दा ठूलो र हृदयको गहिराइमा लुकेको इच्छा थियो- सांसारिक प्रेम । यो प्रेमको भावना, उसले जति आफू र अरूहरूका सामु लुकाउन खोज्थी उति नै त्यो वृद्धि हुँदै जान्थ्यो । “हे भगवान्‌” उसले भनी,” यी राक्षसी विचारहरूलाई मैले कसरी घाँटी निमोठँ ?” मैले यी दुष्ट विचारहरूबाट कसरी मुक्ति पाउँ र शान्तिंसँग ‘तिम्रो इच्छा’ पूरा गर्न सकूँ ?” उसले भगवान्‌सँग यस्ता प्रश्न सोध्दा नसोध्दै भगवानले उसको हृदयभित्रै उत्तर दिए, “राजकुमारी, तिमीले आफ्नो लागि कुनै प्रकारको इच्छा वा कामना नगर । तिमी कुनै विषयमा पनि अति इच्छुक वा ई्ष्यालु नहोऊ ।” मानिस मात्रको भाग्य र भविष्य तिमीलाई थाहा हुँदैन । त्यसैले त्यस्ता इच्छा र भावनाहरूबाट टाढै बस्ने प्रयास गर । भगवानले यदि तिम्रो विवाहसम्बन्धी परीक्षा लिन नै चाहन्छन्‌ भने तिमी यस परीक्षाबाट खरो उत्रिन तम्तयार भएर बस ।” यिनै सान्त्वनायुक्त भावनाका साथ (तथापि आफ्नो निषिद्ध सांसारिक सपना साकार तुल्याउने आशा गर्दै) राजकुमारी मेरीले लामो सास फेरी । आफूमाथि क्रशको निसाना साधी र आफ्नो पोशाक र केशविन्यास विषयमा केही पनि नसोचेर तलतिर गई । त्यो बैठक कोठामा कसरी प्रस्तुत हुने र त्यहाँ के-के चमत्कार हुने हो, त्यो पनि उसले पटक्कै वास्ता गरिन । भगवानको इच्छाको विपरीत त्यहाँ के नै हुन सम्भव होला र ? भए पनि त्यसको अर्थ नै के होला ? भगवान्‌ को इच्छा भएन भने मानिसको शिरबाट एउटा रौँ पनि भुइँमा खस्न सक्ला के त ? उनको इच्छाविना रुखको एउटा पात पनि हल्लिन सक्ला के ?