२३

“म महत्वाकांक्षी मान्छे थिएँ भन्ने कुरा त बताइरहनुपर्ने खाँचो छैन होला । मलाई लाग्छ, कथंकदाचित्‌ हाम्रो समाजमा कसैमा महत्वाकांक्षा नै छैन भने उसले बाँच्नुको पनि के प्रयोजन र ? त्यसै कारणले मैले आइतवारका दिन भोजभतेरको र साँझपख गानाबजानाको पनि राम्रो बन्दोबस्त मिलाएँ। मैले स्वयं नै बजारमा गएर चाहिने सरसामान किनेँ र पाहुनाहरूलाई पनि निम्त्याएँ ।

छ बजेतिर पाहुनाहरू भेला भए । त्रुखाचेभ्स्की पनि आइपुग्यो । ऊ भोजभतेरमा लगाउने पोशाकमा डटेको थियो र कमीजको बाहुलामा हीरा जडिएको भद्दा टाँक लगाइराखेको थियो । निर्धक्क देखिन्थ्यो र उससँग कसैले कुरा गर्न थाल्यो कि त ऊ ओंठमा सम्मतिसूचक मुस्कान जडेर तुरुन्तै जवाफ दिन लागिहाल्थ्यो, मानौं यस्तो बोध गराउन खोजिरहेको होस्‌ कि तपाईं जे गर्दैहुनुहुन्छ वा भन्दैहुनुहुन्छ सो नै त्यही कुरा हो जसको तपाईंबाट उसले अपेक्षा गरेको थियो । उसको व्यवहारमा जे जति अशिष्टता थियो त्यो सब म विशेष ध्यानपूर्वक खुट्टयाएर हेर्दैथिएँ र यसबाट मलाई ज्यादै खुशी पनि लागिरहेको थियो, किनभने यसबाट मेरो मनले खूबै सान्त्वना पाइरहेको थियो र यसको साथसाथै मेरी पत्नीभन्दा कता हो कता तल्लो स्तरमा रहेको छ र स्वयं उसैको भनाइअनुसार त्यस स्तरसम्म त कुनै हालतमा पनि ऊ तल गिर्न सक्तिन भन्ने पुष्टि भइरहेको थियो । मैले आफ्नो ईष्पर्यालाई भित्रभित्रै दबाएर राखें । यसको एउटा कारण त के थियो भने मैले यस ईरष्याले गर्दा निकै ठूलो यन्त्रणा भोगिसकेको थिएँ र अब केही बेर आराम लिनु जरुरी थियो । दोस्रो कारण चाहिँ के थियो भने म आफ्नी पत्नीको आश्वासनमा आश्वस्त हुन चाहन्थेँ र त्यसमा मलाई विश्वास समेत जागिसकेको थियो । परन्तु मेरो मनमा ईष्याभाव नभए तापनि उनीहरू दुवै जनाप्रति मेरो व्यवहार चाहिं स्वाभाविक हुँदैभएन । गानाबजाना शुरु नहुन्जेल भोजनको समयमा र झमक्क साँझ परेपछि पनि म निश्चिन्त भएर बस्नै सकिनँ । मैले त्यो सारा समयभरि नै उनीहरू दुवैको भावभंगिमा र आँखाको ईशाराकै मात्र चेवा लिइराखेँ ।

त्यो भोज पनि सबै भोजभतेर जस्तै औपचारिक र नीरस थियो । केही चाँडो नै संगीत शुरु भैहाल्यो । ऊ ! मलाई त्यस साँझको एक-एक कुरा राम्रो सम्झना छ । उसले आफ्नो बेला ल्यायो, त्यसको बाकको ताल्चा खोल्यो, अनि कुनै आइमाईले सिइदिएको त्यसको खोल पनि पन्छ्यायो, त्यसभित्रबाट साजबाज झिक्यो र सुर मिलाउन थाल्यो । मलाई सम्झना छ, पेनोबाजा बजाउन भनेर मेरी पत्नीले पनि आसन जमाई । आफ्नो संकोच लुकाउन उसले आफ्नो मुहारमा देखावटी उपेक्षाको भाव पोतेकी थिई (आफ्नो दक्षताप्रति उसलाई केही संकोच लागिरहेको थियो) । यस्तै बनावटी भावले ऊ पेनोबाजाको सामुन्ने बसेकी थिई । अनि स्वरलिपि मिलाएर राखेको, बेलाको झन्कार गुञ्जेको र पेनोबाजामा La(इटा) स्वर मिलाएको सुनियो । मलाई कुन कुराको पनि सम्झना छ भने उनीहरूले एकअर्कालाई पुलुक्क हेरे, अनि पाहुनाहरूतिर दृष्टि दिए, त्यसपछि खासखुस गरेर आपसमा केही कुरा गरे अनि बाजा बजाउन थाले । उसको बेलामा पहिलो स्वर झन्कृत भयो । उसले गम्भीर मुद्रा बनायो, उसको अनुहार केही कठोर देखियो, तर त्यतिखेर उसको मुखाकृति ज्यादै सुन्दर प्रतीत भैरहेको थियो । उसले बेलाबाजाका तारहरू बिस्तार-बिस्तार आफ्ना औंलाहरूले थिच्नेगरेको थियो । अनि पेनोबाजाको स्वर पनि त्यसमा सामेल भयो । यसरी संगीत शुरु भयो ।…”

बीच्चैमा त्यो रोकियो । उसले फेरि आफ्नो मुखबाट त्यो अनौठो आवाज कैयौंपल्ट निकाल्यो । उसले फेरि भन्न शुरु गरेको थियो, तर मुखबाट त्यही स्वर मात्र निस्कियो । त्यसैले ऊ केही बेर फेरि चूप लाग्यो ।

“उनीहरूले बेथोभेनको क्रूजर सनेट(क्रुजर रुडोल्फ (सन् १७६६-१८३१)- फ्रात्सेली बेलाबादक संगीतकार सगीतनिर्देशक र शिक्षक । बेथोभेतले आफ्नो सनेट (तथाकथित “कूजर सनेट” उनैप्रति समर्पित गरेका थिए ।) बजाए । के तपाईंलाई त्यसको पहिलो presto(द्रुत संगीत) याद छ ? साँच्चै नै थाहा छ ?”- उसले जोडले कराएर सोध्यो । – “ऊफ् ! यो सनेट ज्यादै भयङ्कर छ । खास यही खण्ड ! वास्तवमा संगीत भनेको नै भयानक कुरा हो । संगीत के हो ? मलाई थाहा छैन । संगीत भनेको के हो ? त्यसले मान्छेमाथि कस्तो प्रभाव पार्छ र किन यस्तो हुन्छ ? भन्छन्‌, संगीतले मान्छेको आत्मालाई माथि उचाल्छ रे ! यो सब बकबास हो । यो हुँदै नभएको झूटो कुरा हो । त्यसले जरुर पनि प्रभाव पार्छ र त्यो प्रभाव ज्यादै भयङ्कर हुन्छ । म सिर्फ आफ्नो बारेमा भन्न सक्छु- यो आत्मालाई माथि उठाउने खालको प्रभाव त पटक्कै हुँदै होइन । त्यसले आत्मालाई न माथि उठाउँछ, न त तल गिराउँछ, बरु उत्तेजित मात्र गर्छ । कसरी बुझाउँ म तपाईंलाई ? संगीत सुनेर म आफूलाई र आफ्नो यथार्थ स्थितिलाई पनि बिर्सिदिन सक्छु । त्यसले मलाई एकदमै अर्कै स्थितिमा पुर्याइदिन सक्छ जुन मेरो आफ्नो स्थिति हुँदैन । संगीतको प्रभावले मभित्र यस्तो भावना जाग्न थाल्छ जसलाई म वास्तविक जीवनमा अनुभव गर्न सक्तिनँ, म यस्तो कुरा बुझ्न थाल्छु जुन मैले वास्तवमा बुझेको हुन्नँ , यस्तो गर्ने सामर्थ्य अनुभव गर्छु जुन मेरो बुताको बाहिर हुन्छ । म के भनेर यसको व्याख्या गर्न सक्छु भने संगीतले ममाथि त्यस्तै असर पार्छ जस्तो असर हाई या हाँसोले पार्नेगर्छ । मलाई नीद लागेको हुँदैन, तर कसैले हाई काढिरहेको देख्दा म पनि हाई काढ्न पुग्छु । मलाई कुनै कुरामा हाँसो नउठ्न सक्झ, तर जब म कोही हाँसेको देख्न त स्वयं पनि खित्का छोडेर हाँस्न पुग्छु ।
संगीतले मलाई तत्कालै त्यस मानसिक स्थितिमा पुर्याइहाल्छ जुन मन: स्थितिमा नै त्यो व्यक्ति रहेको होला जसले त्यस संगीतको रचना गरेको थियो । मेरो आत्मा पनि उसको आत्मासित एकाकार भैहाल्छ र त्यसले मलाई एउटा मन:स्थितिबाट अर्को मनःस्थितिमा पुर्याइदिन्छ । परन्तु यस्तो मन:स्थितिहरूमा म किन पुग्नेगर्छु त्यसको चाहिँ मलाई ज्ञान हुँदैन । त्यो संगीतकार जसले क्रूजर सनेटको रचना गरेको थियो अर्थात्‌ बेथोभेनले चाहिँ ऊ किन यस्तो विशेष मनःस्थितिमा हुन्छ भन्ने कुरा बुझेको थियो । यसै मन:स्थितिबाट प्रभावित भएर नै ऊ निश्चित कार्य गर्छ र त्यसै कारणले गर्दा उसको लागि यस मन:स्थितिको कुनै अर्थ पनि हुन्छ । परन्तु मेरो लागि यसको कुनै अर्थ हुँदैन । यसै उसले गर्दा संगीतले खालि उत्तेजित तुल्याउँछ, तर त्यसको कुनै अभिप्राय हुँदैन । हो, कुनै फौजी धून बजाइयो भने सिपाहीहरू त्यसबाट भएर कवाज खेल्दै अगाडि लम्कन्छन्‌ त संगीत सार्थक भयो । कुनै नृत्यधून बजाइयो र म नाच्न थाले भने पनि संगीत सार्थक भयो । अनि कुनै धार्मिक धून बजाइयो र मैले कुनै धार्मिक कार्य सम्पन्न गरेँ भने पनि संगीत सार्थक नै भयो । अरु बेला संगीतले उत्तेजित मात्र पार्छ तर त्यस उत्तेजनालाई व्यक्त गर्ने कुनै साधन हुँदैन । यसैकारणले गर्दा त कहिलेकाही संगीतको प्रभाव ज्यादै भयङ्कर र ज्यादै वीभत्स हुनेगर्छ । चीनमा संगीत सरकारी नियन्त्रणमा राखिएको छ । यस्तै हुनु पनि पर्छ । जसलाई मन लाग्छ उसले कूनै अर्को मान्छेलाई अथवा अरु कैयौं मान्छेलाई मोहित पारिदेओस्‌ र उनीहरूसँग आफूले जे चाहयो सो गरोस्‌ भन्ने कुरा कतै स्वीकार्य हुन सक्छ र? फेरि सबभन्दा नराम्रो कुरा त त्यस बेला हुनेछ जब कुनै पनि नैतिक सिद्धान्तमा आस्था नराख्ने व्यक्ति नै त्यो मोहनिद्राको ज्ञाता हुन पुग्नेछ ।

यस्ता टपर्टुइँयाहरूको हातमा संगीत एक भयानक अस्त्र बन्न पुग्छन । उदाहरणको लागि यही क्रूजर सनेटकै पहिलो presto लाई नै लिनोस्‌ ! खुला कठालो:भएको पोशाक लगाइराख्ने महिलाहरूले टन्न भरिएको कुनै बैठकमा यस संगीतको त्यो खण्ड बजाउन हुन्छ र कतै ? शुरुमा यो संगीत बजाइन्छ, अनि ताली बज्छ, त्यसपछि आइसक्रीम खाने जमर्को गरिन्छ र यताउताको गफ पनि सुनिन्छ । यस किसिमको संगीत त खालि यस्ता महत्वपूर्ण, गम्भीर र निश्चित अवस्थाहरूमा मात्रै बजाइनुपर्छ जतिखेर त्यसै संगीतको अनुरुप निश्चित तथा सारपूर्ण कार्य पनि सम्पन्न गरिन्छ । यस्तो संगीत त्यतिखेर नै बजाइनुपर्छ जब त्यसबाट जुन काम गर्ने प्रेरणा पाइन्छ त्यो काम गरिन्छ पनि । अन्यथा समय र स्थानसित कत्ति पनि सामञ्जस्य नराख्ने जुन अव्यक्त भावना र शक्ति जागृत गरिन्छ सो पछि गएर ज्यादै नै विनष्टकारी सिद्ध हुन्छ । कम्तीमा पनि ममाथि चाहिं यस संगीतले जस्तो प्रभाव पारेको थियो सो एकदमै घातक सिद्ध भयो । मैले आफूमा यस्तो नयाँ नयाँ भावना र क्षमताहरूको अनुभव गर्न थालें जसबाट पहिले म बिल्कुलै अनभिज्ञ थिएँ । यस्तो लाग्न थाल्यो, मानौं संगीतले मलाई सुटुक्क भनिरहेको थियो: “वास्तविक स्थिति त यो पो हो! त्यो त एकदमै होइन जुन तिमीले पहिले ठान्नेगरेको थियौं र जसअनुरुप तिमीले जीवन बिताएका पनि थियौं ।’ त्यो नयाँ स्थिति कुन हो भन्ने बुझ्न चाहिं मलाई महाभारत परिरहेको थियो, परन्तृ यस नयाँ स्थितिको आभास पाउँदा मलाई अपार आनन्द लागिरहेको थियो । के मेरी पत्नी र के त्रुखाचेभ्स्की, सबका सब मान्छेहरू उही नै थिए, तैपनि मेरो नजरमा चाहिँ ती सबैको एकदमै अर्कै हुन पुगेको थियो ।

यस presto को धून बजिसकेपछि उनीहरूले andante बजाए । त्यो एक मनोरञ्जक संगीत हो, यद्यपि ज्यादै साधारण छ । त्यसको आरोह-अवरोह अमिल्दो छ र अन्त्य पनि असाध्य फीका छ । त्यसपछि पाहुनाहरूको अनुरोधम। उनीहरूले एकाध अन्य धुनहरू पनि बजाए, सके अर्नस्टको “एलेजी” र यस्तैउस्तै अरु केही संगीतहरू थिए । यी सबै ज्यादै नै रोचक थिए, परन्तु पहिलो धूनले ममाथि जत्तिको गहिरो प्रभाव यी सबैले पार्न सकेनन्‌ । यी सबै धुनहरू सुनिरहँदा समेत मेरो मनमा चाहिँ हर्दम नै त्यही पहिलो धून नै गुञ्जिरहेको थियो । त्यो साँझभरि नै मेरो मन चङ्गा रहयो र मलाई खुशी लागिरहेको थियो । मैले आफ्नी पत्नीलाई पहिले त्यस रुपमा कहिल्यै पनि देखेको थिएनँ जस्तो त्यस साँझ उ देखिएकी थिई । पेनोबाजा बजाइरहँदा उसका आँखा चम्केका थिए र उसको मुखमुद्रा गम्भीर र विलक्षण देखिएको थियो । जतिखेर उनीहरूले गानाबजाना समाप्त गरे त्यस बेला चाहिँ उसको सारा शरीर नै लस्त र म्लान देखियो, उसको ओंठमा हलुका मुस्कानको जुन रेखा खिचियो त्यो उल्लासपूर्ण हुनुको साथसाथै करुणाजनक पनि थियो । मैले यो सब देखेँ, तर यसको मैले अरु कुनै अर्थ नलगाएर मात्र के अर्थ निकालें भने उसलाई पनि ती नौला र अपरिचित भावनाहरूको अनुभूति भइरहेको छ जुन म अनुभव गर्दैछु र संगीतले नै त्यस नयाँ भावनाहरूलाई विस्मृतिको गर्भबाट जगाइदिएको छ । त्यो साँझ निकै राम्रोसँग बित्यो । अनि सबै आ-आफ्नो घरतिर लागे ।

दुई दिनपछि नै म जिल्लासम्मेलनमा भाग लिन मोफसलतर्फ जाँदैछु भन्ने त्रुखाचेभ्स्कीलाई थाहा थियो । बिदा हुँदै उसले के भन्यो भने त्यो साँझ निकै रमाइलोसँग बिताउन पाइयो र अर्को चोटि आउँदा यस्तै रमाइलो अझ दोहोर्याइनेछ भन्ने पनि उसलाई आशा छ । यसबाट मैले के निष्कर्ष निकालें भने मेरो अनुपस्थितिमा ऊ मकहाँ घरमा आउने कुनै पनि सम्भावना देख्दैन । यो थाहा पाउँदा मलाई खुशी नै लाग्यो । म सम्मेलनबाट फर्कुञ्जेल त उसले प्रस्थान पनि गरिसक्ने हुँदा अब हाम्रो भेटघाट फेरि कहिल्यै हुनेछैन भन्ने मैले ठाने ।

पहिलोपल्ट मैले उससित सच्चा हार्दिकताका साथ हात मिलाएँ र रमाइलो साँझको लागि उसप्रति कृतज्ञता पनि जनाएँ । मेरी पत्नीसँग पनि ऊ त्यसरी नै सदाको लागि
बिदाबारी भयो । उनीहरूको व्यवहार मलाई एकदमै स्वाभाविक र शिष्ट लाग्यो । सबै कुरा राम्रै थियो । म र मेरी पत्नी त्यस साँझको सफलतामा निकै खुशी थियौं ।”