२२
“त्यसपछि दिनभरि नै म मौन रहे- पत्नीसँग एक शब्द पनि बोलिनँ । भन्न पनि त के सक्थेँ र म ? उसको उपस्थिति नै मलाई असहय भैरहेको थियो । मेरो मनमा उसप्रति घृणा पैदा भएको थियो र यसको कस्तो परिणाम निस्कने हो भन्ने नै मलाई डर लागिरहेको थियो । दिउँसोको खाना खाने बेला उसले केटाकेटीहरूको सामुन्ने नै म बाहिरतिर कहिले गैरहेको छु भन्ने सोधनी गरी । मैले दोस्रो साता नै एउटा जिल्ला-सम्मेलनमा भाग लिन जानु पर्नेभएको थियो र यसबारे बताइदिएँ । बाटोमा कुनै कुराको जरुरत त पर्नेहोइन भनेर उसले सोधी । मैले कुनै उत्तर फर्काइनँ । म केही बेरसम्म चूपचाप टेबुलको छेउमा बसिरहेँ र त्यसपछि पनि केही नबोलेर अध्ययनकक्षमा गएँ । पछिल्लो समयमा उसले मकहाँ त्यस कोठामा आउन नै छोडिसकेकी थिई, त्यो पनि खास गरी यस्तो अवस्थामा । म त्यहाँ पल्टिरहेको थिएँ र मेरो मनमा क्रोध उम्लिरहेको थियो । अचानक मैले उसको चिरपरिचत पदचाप सुनें । मेरो मथिंगलमा कस्तो भयानक र घृणास्पद विचार उत्पन्न भयो भने उत्पन्न उ आफ्नो पाप लुकाउन नै यस्तो अप्रत्यासित समयमा मकहाँ आउँदैछे- उरियाकी(बाइबलको एक पात्र जसकी पत्नीलाई उसको अनुपस्थितिमा राजा डेभिडले हरण गरेको थियो ।) पत्नी झैँ । ‘के ऊ मकहाँ नै आउँदैछ त ?’ मैले सोचे । उसको पदचाप नजिकिदै थियो । ‘मकहाँ नै आई भने त मेरो अनुमान नै सही साबित हुनेछ ।’-मैले मनमनै अठोट गरेँ । मेरो मनमा उसप्रति अकथनीय घृणा भरिएर आयो । पदचाप झन् झन् नजिकियो । ‘के ढोकाबाट अगाडि लम्केर अर्को बैठककोठामा नजाली त ?’-मैले आफैँसित सोधेँ । अहँ ! दैलो घरक्क खुल्यो र ढोकैनेर उसको अग्लो र सुन्दर आकृति देखा पर्यो । उसको मुहार उसका आँखामा संकोच र दयनीयता झल्किरहेको थियो जसलाई लुकाउने ऊ चेष्टा गर्दैथिई । परन्तु मैले त्यसको चाल पाइहालें र त्यसको तात्पर्य पनि ठम्याइहालेँ । मैले निकै बेरसम्म आफ्नो सास रोकेर राखेँ र मेरो सास रोकिएर उकुसमुकुस समेत हुन थाल्यो । एकटक लगाएर उसतर्फ हेरेको हेर्यै मैले सिगरेटकेस हातमा लिएँ र चुरोट झिकेर सल्काएँ ।
“के हो यस्तो ? म तपाईंसँग कुरा गर्न आएकी छु, तपाईं भने चुरोट सल्काउनुहुन्छु ।”-उसले सोफामा मेरै बगलमा नजिकै बसेर मतर्फ निहुरिएर भनी ।
उसले मेरो आङमा छुन नपाओस् भन्ने हेतुले म केही पल्तिर सरे ।
“आइतवार मैले पेनोबाजा बजाउने भएको हुँदा तपाईं मसँग रिसाउनुभएको होला ।”-उसले भनी ।
“अहँ !एकदमै होइन !”-मैले जवाफ दिएँ ।
“के मैले चाल नपाएकी हुँ र?”
“यसरी चाल पाउँदी रहिछयौं ! बडो राम्रो कुरा हो । म त यसरी चाल पाउन के चाहिं देख्दैछु भने एउटी नखरमाउलीको जस्तै आनीबानी छ तिम्रो ।…”
“यसरी तपाईंले गल्लीको गुण्डाले जस्तरी गाली गर्न लाग्नुभयो भने म यहाँबाट तुरुन्तै गइहाल्नेछु ।”
“जाऊ ! तर के कुरा सम्झिराख भने तिमीलाई घर-परिवारको इज्जतको कुनै वास्ता छैन भने पनि मलाई चाहिं यसको वास्ता छ । मलाई तिम्रो कुनै पर्वाह छैन (भर्सेलोमा नै पर न तिमी) ! तर म घर-परिवारको इज्जत बेच्न दिनेछैन !”
“तपाईं के भन्दैहुनुहुन्छ यस्तरी ?”
“यहाँबाट गैहाल ! ईश्वरको नाम लिएर भन्दैछु, तुरुन्त गैहाल !”
मेरो कुरा कत्ति पनि नबुझेको बहाना गर्दै (सके साँच्ची नै उसले नबुझेकै पनि होस् !) ऊ जुरुक्क उठी । उ खूब रिसाएकी थिई र व्याकुल पनि हुन पुगेकी थिई । तर ऊ बाहिर निस्केर जानुको सट्टा कोठाको बीचमा पुगेर ठिङ्ग उभिई।
“तपाईंको स्वभाव नै अब त मलाई असहय हुन थालिसक्यो ।”- उसले भन्न शुरू गरी ।-“कुनै देवदूत नै भए पनि तपाईंको साथमा मिलेर वस्न सक्नेछैन ।” अनि सधैँको जस्तो मेरी मर्मस्थलमा नै चोट पुर्याउने प्रयास गर्दै उसले मलाई त्यस घटनाको सम्झना गराई जानु मेरी बहिनीसँग घटेको थियो । (एकपल्ट रीसले चूर भएर मैले बहिनीलाई भन्नु- नभन्नु हश्लील शब्दहरू भन्न पुगेको थिएँ । यस घटनाको सम्झना हुँदा मेरो मनमा असाध्य पीडा हुनेगर्थ्यो र यो कुरा उसलाई थाहा थियो । यसैउसले ऊ मलाई मर्माहत गर्नुपर्दा जहिले पनि यही कुरा कोट्याउनेगर्थी ।) – “तपाईं यो सब त गर्न सक्नुहुन्छ भने मसँग यस्तो व्यवहार गर्ने गर्नुभएकोमा आश्चर्य नै के मान्नु र ?”-उसले भनी ।
“एहे ! मेरो अपमान गर्ने पनि तँ नै, मेरो इज्जतमा दाग लगाउने पनि तँ. नै र सबै दोष टाउकोमा थोपार्ने पनि तँ नै !’-मैले मौन शब्दमा आफैलाई भनें । अनि एकाएक मेरो मन उसप्रति तीव्र घृणाले भरियो । पहिले कहिल्यै पनि मैले यस्तो घृणाको अनुभव गरेको थिइनँ ।
जीवनमा पहिलोपल्ट मैले उसलाई पिटेर आफ्नो रीस साम्य पार्न चाहेँ । म उसलाई झम्टन पुगें । परन्तु, मलाई राम्रै सम्झना छ, जुन बेला म यसरी झम्टिन भनेर दौडेको थिएँ, त्यतिखेर नै मलाई होश भयो र मैले आफ्नै मनसँग प्रश्न गरेँ: “के यसरी भावआवेशमा आउनु ठीक होला त ?’ अनि तुरुन्तै आफैले आफूलाई जवाफ पनि दिएँ : “ठीक नै होला , किनभने यसरी ऊ तर्सिहाल्ली ।’ अनि आफ्नो क्रोध रोक्नुको सट्टा मैले त्यसलाई झन् उत्तेजित पारें । आफुलार्इ त्रोधोन्मत्त भएको देख्दा मलार्इ एक किसिमको आनन्दको अनुभव पनि भैरहेको थियो ।
“गैहाल यहाँबाट ! नत्र म तिमीलाई मारि नै छोड्छु आज !”-उसको नजीकै पुगेर उसको पाखुरा समात्दै मैले चिच्याएर भनें । यसरी जानाजान नै म आफ्नो क्रोधको मात्रा चर्काएर बोल्दैथिएँ । त्यतिखेर मेरो मुखाकृति पनि भयंकर नै देखिएको हुनुपर्छ , किनभने उ साँच्ची नै तर्सिई र हलचल पनि नगरेर ठिङ्ग उभिइरही ।
“भास्या ! गैहाल यहाँबाट !”-मैले अझ ठूलो स्वर झिकेर भनें ।-“तिमी यसरी मलाई बौलाहा नै बनाइदिन सक्छयौं । कथंकदाचित् मबाट केही भैहाल्यो भने मेरो दोष हुनेछैन है ।”
आफ्नो रीसको झोंक यसरी प्रकट गर्दा मलाई मजा लागिरहेको थियो । आफ्नो भावावेश कति तीव्र भैसकेको छ भन्ने देखाउन म कुनै न कुनै अनौठो कुरा गर्न चाहन्थें । उसलाई पिट्न वा अझ मारि नै दिन चाहन्थेँ म त ! किन्तु यस्तो कुनै काम गर्नु ठीक हुँदैन भन्ने पनि मलार्इ ज्ञान थियो । त्यसै कारण आफ्नो क्रोधोन्माद प्रकट गर्न भनेर मैले टेबुलमा रहेको पेपरवेट उठाएँ र उसतर्फ भुइँमा जोडले हुत्याएँ । “जा,भनेको !”-म दाह्वा किटेर कराएँ । मेरो निशाना अचूक थियो, त्यसैले पेपरवेटले उसलाई रौंप्रमाणले चोट भने लागेन,तर उसको नजीकै बज्जिन पुग्यो । त्यसपछि क बाहिर जान लागी परन्तु दैलोनेर पुगेर रोकिई । म टेबुलबाट एक-एक गरेर पानस, मसीदानी इत्यादि उठाउँदै भुइँमा बजार्न लागेँ ( म जानीबुझीकनै उसले देखोस् भनेर नै यो सब गर्दैथिएँ) ।
“जा, गैहाल् छिटै ! मेरो अगाडि पर्दै नपर् । कथंकदाचित् क्यै भैहाल्यो भने मलाई दोष नदिनू !”-म फलाक्दै थिएँ ।
उ त्यहाँबाट अलप भई र मेरो रीस पनि तुरुन्तै साम्य भैहाल्यो ।
एक घण्टा जति पछि धाई दगुरेर आई र मेरी पत्नी हिस्टेरियाले ग्रस्त भएकी छे भन्ने खबर गरी । म उसकहाँ गएँ । ऊ कहिले डाँको छोडेर रुन्थी त कहिले खित्का छोडेर हाँस्थी, मुखले भन्न चाहिँ केही पनि सक्तिनथी र उसको सारा जिउमा नै कम्प छुटिरहेको थियो । उसले यो स्वाङ्ग परिरहको थिइन । वास्तवामा नै ऊ रोगको मारमा परेकी थिई ।
‘बिहानपख ऊ केही शान्त भई र हाम्रो बीचमा त्यसै भावनाको प्रतापले मेलमिलाप भैहाल्यो जसलार्इ हामीले प्रेम भन्ने गरेका छौं ।
बिहान मेलमिलाप भैसकेपछि मैले त्रुखाचेभ्स्कीको कारणले गर्दा उसप्रति ईष्या गरेको कुरा स्वीकार गरें । यो सुनेर उसलाई कत्ति पनि संकोच लागेन, बरु ऊ त स्वाभाविक तवरले हाँस्न पो लागी । त्यस्तो खालको मान्छेलाई उसले प्रेम गर्न सक्छे भन्ने त कल्पना समेत हास्यास्पद हुन्छ भनेर उसले भनी ।
“कुनै पनि भद्र महिला उसप्रति आकर्षित हुन सक्छे र कतै ? उसमा छ नै पो के र ? उसको संगीतमा चाहिं थोरबहुत आकर्षण अवश्य नै छ । यदि तपाईं चाहनुहुन्छ भन्ने म उससँग कहिल्यै भेटघाट नै गर्नेछैन । आउँदो आइतवार पनि भेट गर्दिनँ । हुन त पाहुनाहरु बोलाइएका छन् तर मेरो स्वास्थ्य अलि ठीक छैन भनेर उसलाई एउटा सानो चिट्ठी लेखिदिए त पुगिहाल्छ नि ! यो किस्सा नै खतम हुन्छ । अँ, कसैले र खास गरी स्वयं उसले नै ऊ खतरनाक मान्छे हो भन्ने सोच्न पुग्यो भने चाहिँ अवश्य नै राम्रो हुनेछैन नाईं ! यस्तो विचार गर्न थालियो भने मेरो स्वाभिमानमा निश्चय पनि चोट लाग्नेछ !”
उसले झूठो बोलेकी थिइन । जे कुरा ऊ भनिरहेकी थिई त्यसमा उसलाई पच्चीसै आना विश्वास थियो । त्रुखाचेभ्स्कीको विषयमा यस्ता शब्दहरू भन्नाले उसप्रति उसको मनमा घृणा उत्पन्न हुनेछ भन्ने उसले आशा राखेकी थिई । उसको आकर्षणबाट आफूलाई बचाउन नै ऊ यस्तो गर्दैथिई । तर यसमा उसले सफलता पाउन सकिन । सबै कुरा उसको चाहनाको प्रतिकूल थियो, विशेष गरेर सबै आपदको स्रोत- उसको त्यो अभिशप्त संगीत ! यस बिषयमा हामीहरूबीच फेरि कुनै चर्चा चलेन । अनि आइतवार त पाहुनाहरू पनि जम्मा भैहाले र ती दुवैले मिलेर युगलधून बजाए ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।