यात्रा आफैँमा रोमाञ्चक हुन्छ । पैदल गुड्ने सवारीदेखि उडानसम्मका यात्रालाई लिपिबद्ध गर्न सिपालु मान्छेले आफू पुगेका सबै वृत्तान्त अरूलाई सुनाउँछन् । तथ्यगत रूपमा दिइने विवरणको यात्रानुभूति पढेपछि त्यस स्थानको जानकारी मात्र हुँदैन पाठकमा यात्राको एउटा उत्प्रेरणा पनि जाग्छ ।
उसो त हामी नेपालीमा भ्रमणकै लागि भ्रमण गर्ने हैसियत निकै कम नेपालीलाई होला आजको यस महँगीमा । यस पुस्तकका लेखक पनि भ्रमणकै लागि भ्रमण गर्न बरु थाइल्यान्ड , इस्तानबुल, युएइ चीन र बाकु पुगे तर नजिकैको छिमेकी मुलुक भारत उपचार र अन्य सिलसिलामा गएका हुन् । जुन ठाउँ पुगे पनि त्यो ठाउँका बारेमा गहिरिएर बुझ्न चाहने र सकेजति तथ्याङ्क जोडेर त्यसलाई लेख्ने बानीका धनी हुन् सागर गैरे । उनलाई पुस्तकको रूपमा अझ नियात्राको लेखकमा पाउँदा त्यही ठाउँमा पुगेको अनुभव हुन्छ ।
आजको पुस्ता सामान्य किनमेलका लागि दिन नै खर्चेर हिँड्नुपर्ने छैन । गाउँसहर जताततै सानातिना चोकचौरमा बजार स्थापित हुने लहर व्यापक छ अहिले तर बलै गाउँको यात्रा बाल्यकालको स्मृति मात्रै नभएर त्यो एउटा इतिहासजस्तो लाग्छ । तराई क्षेत्रमा पैदल यात्रा गरी सामान बोक्ने चलन लगभग छैन अहिले । साइकल मोटरसाइकल र अन्य साधनको भरपुर प्रयोग हुन्छ । सिमावर्ती जिल्ला बर्दियाको ककौरा गाउँ मात्रै होइन । त्यो वेला नेपालका सबै तराईका जिल्लाको त्यो अवस्था थियो । जुनसुकै पाठकलाई आफ्नै भोगाइ लाग्दछ यो यात्रा ।
एउटा शव बोक्ने गाडीको नाम स्वर्ग विमान आफैँमा साहित्यिक नाम छ । लखनऊ, भारत उत्तर प्रदेशको राजधानी जहाँ एउटा अस्पतालको दुःखद चर्चा मात्रै होइन लखनऊको सामान्य इतिहास पनि पढ्न पाइन्छ । विहारको श्रावस्ती पुर्याएर एउटा बौद्ध दर्शनमा हेलिने सागर तेस्रो यात्रा रेलमा गुड्छन् र हुइक्याउँछन् पाठकलाई देउडा गीत सुनाउँदै । रेल यात्रा भनेझैँ सहज नहुने उनका यात्रानुभवको लेखनले बताउँछन् । यमुना किनारमा ताज महल नियाल्न आकर्षित गर्छन् र वृन्दावन पुर्याउँछन् राधाकृष्णको प्रेम जोडेर ।
नियात्राको सर्वोच्च गुण नै यथार्थलेखन हो । काल्पनिक कुराको कुनै गुन्जाएस नहुने स्थान चर्चाका लागि सशरीर उपस्थितिको जुन शर्त छ । लेखकीय इमानदारीसाथ मनका भावना पोखिएपछि नियात्रामा थप मिठास आउने हो । सागर गैरेको नियात्रालेखनमा यो पहिलो पाइला भए पनि लेखकीय सफलताको नजिक छन् । कृतिगत रूपमा हेर्दा दोस्रो सङ्ग्रह हुनाले अझै उज्यालिएर आएको देखिन्छ लकडाउन (पहिलो कृति) भन्दा ।
भारतीय सहरपछि उनले हामीलाई इन्डोनेसियाको बालीमा उतार्छन् । ठुला हवाई उडानको पहिलो अनुभव अनि बाली टापुको सामान्य परिचयपछि समुद्रप्रतिको आकर्षणले जोकसैलाई आनन्द दिन्छ । समुद्रको भेलसँग यति धेरै भावुक हुन्छन् कि यति पछि लेखिएको नियात्रामा त्यो यात्राको अवधि र अन्य विवरणको अपेक्षा हुँदाहुँदै निबन्ध सकिन्छ । समुद्र देखेर उब्जेका भावमै उनले दुई अनुच्छेद नौ वाक्य खर्चिए । यात्राको फिर्ती र थप विवरण दिन सकेनन् । यहाँनेर अलि धेरै बहकिएको प्रतीत हुन्छ ।
त्यसपछिको यात्रा थाइल्यान्डको हुन्छ । आमा र विदेश यात्रा रोज्नुपर्ने जटिलताबिच यात्रा रोजे सागरले आमाको स्वास्थ्यमा सुधार आएपछि । मङ्गोल देह विमानस्थल नाम नै आत्मीय लाग्छ । पटाया सहरमा कसरी यौन व्यवसायको बीजारोपण र फैलावट भयो भन्ने ऐतिहासिक तथ्य उल्लेख विवरणमा रमाउन सकिन्छ । नमुनाको रूपमा रहेको मिनी सियाम र आइस केभको चर्चा पनि रमाइलो छ । सरूभक्तको चुली र नेपाली पर्वतारोही सम्झँदै नेपालकै कल्पनामा हुन्छन् । कोरल आइल्यान्डको प्यारासेलिङले पनि राम्रै चर्चा पाएको छ । बैङ्कक भिडमा भेटिने नेपाली, मोबाइल हराएपछिको तिक्तता आदिले जोकोहीलाई यात्रामा रहँदा सावधानी पहिलो शर्त हो भनेर बुझाउँछ ।
ओरान पामुक विश्व प्रसिद्ध लेखकको पुस्तकचर्चाबाट स्तानबुलका यादहरूमा छिर्न सकिन्छ । पामुक छोडेर टर्कीको नाम कसरी पो लिन सकिनु र । इस्तानबुलको पनि इतिहासमा भिन्नै चर्चा छ । ठाउँ आफैँमा सुन्दर हुन त्यहाँको मानवीय व्यवस्थापनको ठुलो भूमिका हुन्छ । मानवनिर्मित सडक र भवनको चर्चा पनि रोचक लाग्छ । डब्लु बि.यिट्सलाई उठाएर बसफोरसको प्राकृतिक वर्णन निकै रमणीय लाग्छ । टाउको जमिनतिर भएको मेडुसाको मूर्ति र जोडिएको कथा पनि उल्लेख्य लाग्छ । लेखक जहिले जहाँ पुगे पनि नेपाललाई उल्लेख गर्नुले आफ्नो देशको प्रेम झल्किन्छ । भूगोलपिच्छे आस्था र विश्वासहरू फरक भए पनि मानवीय संवेदना एकै हुने कुराले हाजिया सोफियाको मरियम र लुम्बिनिको मायादेवीको तुलना हुन सकेको हो । परिचय स्थापित नभएको नेपाललाई बुद्धको भूमि मात्र पर्याप्त नभएर सगरमाथाको नाम लिएर नेपालको नाम सुनाउन र बुझाउन खोज्छन् र आफैँ हराउँछन् । टर्कीमा घुमिरहँदा रसियाका लेखक सम्झिँदै आत्मीयता देख्छन् उनी कतै पाठक कतै यात्रु भएर ।
टर्कीपछि उनी पुग्छन् युएइ अर्थात् संयुक्त अरब इमिरेट्स सन् २०१८ को २५ जुनमा । बुर्ज खलिफादेखि मरुभूमिको चर्चाले पाठकलाई रोमाञ्चक लाग्छ । आबुधाबी र दुबई सहरको चर्चाले पढिरहँदा पट्यार लाग्दैन । पछिल्लो समयमा उदाएको र दोस्रो अमेरिका भनेर चित्रित गरिएको सहरको व्यवस्थापन र उन्नति लोभलाग्दो छ । त्यहाँ रमाएका तितामिठा पलले हामीलाई यात्रामै भएको अनुभूति हुन्छ । केही विवरण अनि आफ्ना भाव पस्किने सागरको शैली लोभलाग्दो छ ।
उनी आफू पुगेको ठाउँ देश होस् या परदेश त्यहाँका पात्र र पात्र प्रवृत्ति टपक्क टिप्छन् । पाठकको रुचिका लागि अथवा आफ्नो सन्तुष्टिका लागि त्यो स्थानसँग जोडिएका कथा, कविता, उपन्यास या चलचित्रका दृश्य ल्याएर जोड्नु उनको लेखकीय कौसल र ज्ञान भन्न सकिन्छ । अर्को कुरा परिवेश संस्कृति, जीवनशैली, आर्थिक, धार्मिक, शैक्षिक, सौन्दर्य र देखिने विसङ्गति सहित पाठकलाई डोर्याउने डा. ताना शर्माको शैलीको छाया उनको विशेषता हो । यसमाथि उनी भेटेसम्मको इतिहास जोड्न रुचाउँछन् ।
वाक्य र वाक्यांशमा मर्यादित अभिव्यक्ति र भावनात्मक अनुभूतिको ध्वन्यात्मक अर्थप्रवाह पनि देखिन्छ । आफू जहाँ पुग्छन् त्यहाँ नेपाल देख्नु, नेपाल खोजिरहनु देशप्रेमको अनुपम नमुना हो । विकासको चुली चुमेको थाइल्यान्डजस्तो देहव्यापार कदाचित् आफ्नो देशमा नभित्रियोस् भनेर कामना गर्नुले सामाजिक चेतनाको एक खुड्किलो चढेको आभास हुन्छ ।
संसारका जोसुकै मान्छेले चीनको नाम नसुने पनि त्यहाँको उत्पादनलाई भोगचलन गरेको होला । हङकङ हुँदै चीन पुगेका यात्री सागर हङकङका बारे थोरै इतिहास पस्केर उडिहाल्छन् मनको उचाइ खोज्दै बेइजिङ । चिनियाँ विकासको खुलेर प्रशंसा मात्रै होइन त्यहाँका धरोहरको निर्माण ताकाका कथाले भावविह्वल समेत हुन्छन् । शासकीय क्रूरता र मानवीय अपहेलनालाई सन्दर्भ जोडेर पस्केका प्रसङ्ग निकै उपयोगी लाग्छन् । माओत्सेतुङको प्रसङ्ग मात्रै आयो । उनको सङ्क्षिप्त जीवनी आउला कि भन्ने पाठकिय अपेक्षा पूरा भएको छैन । ग्रेटवालको निर्माणकार्य ताकाको निकै कारुणिक कथा जोडिनुले ग्रेटवाल अविस्मरणीय बनेको छ पुस्तकभित्र । मेङले आफ्नो सुन्दरतालाई कसरी आफ्नो लागि उपयोग गरिन् ? आफ्नो लोग्नेको मृत्युलाई कसरी अमर बनाइन् ? सन्दर्भ जोडेर मिठास भरिएको छ ।
विकास सँगसँगै चीन र भारतको तुलना निकै सान्दर्भिक लाग्छ । चीनले अत्यधिक जनसङ्ख्यालाई जनशक्तिका रूपमा गरेको उपयोगझैँ जुनसुकै देशले आफ्ना नागरिकको व्यवस्थापन गर्ने हो भने जनसङ्ख्या वृद्धि त्यति धेरै टाउको दुखाइको विषय हुने थिएन । नियमकानुन निर्माण र त्यसको कार्यान्वयनको पक्षमा खुलेर समर्थन गरिएको छ । अफिम विनिमयको इतिहास बोकेको साङ्घाईले गरेको विकासले कसलाई पो न लोभ्याउला ?
बलैगाउँदेखि शीर्षकमा भनिएझैँ अजरबैजानको बाकु पुगेर यात्रा संस्मरणको अन्त्य भएको छ । एउटा पुस्तकको पठन र सङ्ग्रहले प्राशासनिक झन्झटबाट मुक्ति मिलेको कुराले पुस्तक प्रेम र मोहको फाइदा पढ्न पाइन्छ । फ्लेम टावर र नोहर तालको सुन्दरता रमाउँदा पनि उनले कोहलपुर छोडेका छैनन् । तुलना बाकुसँगै भएको छ । रुस र अजरबैजानको राजनीतिक सम्बन्धका बारेमा पनि कुरा जोडिएका छन् इतिहाससँगै । यात्रामा रमाएको चरी गुँड पुग्न र बचेरा छोप्न जहिल्यै आँत्तिएको हुन्छ । समग्रमा यात्रास्मरण सकिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।