साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मार्को पोलोको अद्भुत यात्रा शृङ्खला ५

Chovar Blues Mobile Size

कसरी निकोलो, माफियो र मार्कोले कुब्लाई खाँसमक्ष बिदा मागे?

ती भेनेसियनहरूले खाँको दरबारमा थुप्रै वर्ष बिताए । उल्लेखनीय धन र बहुमूल्य गरगहना आर्जन गरे । त्यसपछि आफ्नो पुर्ख्यौली देश फर्कने इच्छा उनीहरूमा तीव्र भएर आयो । तर ती अधिराजबाट जुन किसिमको सम्मान र सामिप्यता पाएका थिए, त्यसले साँच्चै नै उनीहरूलाई त्यहाँबाट बिदा माग्न असहज बनाइरहेको थियो । उनीहरू निक्कै भावुक भइरहेका थिए । यदी उनीहरू त्यहाँबाट छुट्नुअघि नै कुब्लाईको निधन हुन्थ्यो भने उनीहरूलाई अपार धन, सम्पत्ति, प्रतिष्ठा र सहयोग मिल्ने थिएन । साथै उनीहरू बाटोको अतिशय कठिनाइसँग जुध्नुपर्थ्यो र घरसम्म उनीहरू सुरक्षित पुग्थे/पुग्दैनथे, केही भन्न सकिन्थेन । यद्यपि यो सोचेर उनीहरूले अहिल्यै बिदा मागेका भने होइनन् ।

बिदा माग्ने योजना अनुरूप निकोलोले एकदिन कुब्लाई खाँ प्रशन्न भएको समय छोपी उनको चरणस्पर्श गर्दै अब आफूहरूलाई बिदा दिन प्रार्थना गर्न थाले । तर कुब्लाई महानले उनलाई बिदा दिनु सहज कुरो थिएन । निकोलोको निवेदनले कुब्लाईलाई चोट पुर्‍यायो । कुब्लाईले निकोलोसँग सोधे, “जीवनमा त्यस्तो के उद्देश्य छ जसले तिमीलाई त्यो निर्मम कठिनाइ र खतरासँग जुध्दै भेनिस जान बाध्य पार्दैछ, जहाँको यात्रामा झन्डै जीवन पनि रहने नरहने निश्चित छैन? केही प्राप्त गर्नु नै तिम्रो उद्देश्य छ भने म तिमीलाई चाहेको भन्दा दोब्बर धन सम्पत्ति र सम्मान दिनेछु ।”

यसरी कुब्लाइले उनीहरूको निवेदन अस्विकृत गरे । यो कुराले पोलो बन्धु खिन्न भए ।

त्यसै समयको सेरोफेरोमा कुब्लाईका भतिजा Arghun (जो हालको दक्षिणी अफगानिस्तान र पाकिस्तानको बिचको भूभागमा राज्य गर्दथे) कि सबैभन्दा प्रिय रानी Bolgana को निधन भएको थियो । Arghun लाई Bolgana को अन्तिम अनुरोध थियो- “मेरो निधनपछि कसैसँग तपाईंको बिहे हुनेछ भने मेरो माइती देशकै कुनै चेलीसँग होस् ।”

sagarmani mobile size

दिवंगत रानीको इच्छाविपरीत नहोस् भनेर नै Arghun ले कुब्लाई खाँलाई Bolgana कै कुनै नातेदार स्त्रीलाई श्रीमतीको रूपमा पाऊँ भनी बिन्ती पठाए । खाँबाट उक्त निवेदन स्वीकृत भयो ।

Arghun को लागि कन्या खोज्ने क्रममा Cathay (चीनको प्राचीन नाम) की असाधारण सुन्दरी कन्या Kokochin लाई छनौट गरियो । त्यसैले कोकोचिनको अरूसँगको बिहे रोक्नको लागि आफूहरू जानुपर्ने कुरा पोलो बन्धुले कुब्लाईसमक्ष राखे । (राजकुमारी कोकोचिनलाई अन्य पर्सियन राजाहरूले दुलही बनाउने अभ्यास गरिरहेका थिए ।) अन्ततः कुब्लाईले उनीहरूलाई बिदा दिनै कर लाग्यो ।

उनीहरूको प्रस्थानको लागि प्रत्येकमा चार चारवटा मस्तुल रहने गरी चौधवटा जहाज र अन्य आवश्यक सामाग्री तयार गरियो । प्रत्येक जहाजमा लगभग दुई सयभन्दा बढीको सङ्ख्यामा चालक दलका सदस्य रहन्थे । ब्यारोनहरू निकोलो, माफियो र मार्को सँगै अंकमाल गरेर बसेका थिए । उनीहरूले कुब्लाईसँग बिदा लिँदैगर्दा कुब्लाईले अनेक बहुमूल्य गहना र अन्य सामाग्री दिएर पठाए । दुई वर्षको लागि खानेकुरा समेतको व्यवस्था गरेर उनीहरूलाई बिदा गरियो ।

झन्डै तीन महिनासम्म जहाजी यात्रा गरेपछि उनीहरू इन्डोनेसियाको एउटा टापु ‘जाभा’ सम्म आइपुगे । त्यहाँबाट पनि 18 महिना समुद्री यात्रा गरेपछि उनीहरू आफ्नो गन्तव्य अर्थात् Arghun को क्षेत्रभित्र प्रवेश गर्न सफल भए । उनीहरूले यस यात्रा अवधिभर त्यहाँको रहनसहन, जीवनशैली लगयतका थुप्रै कुराहरूको अवलोकन गर्ने अवसर पनि पाए । तर दुखको कुरा त्यस यात्रामा आएका सबै यात्रीहरू बाँच्न सफल भएनन् । झन्डै 600 जतिले त्यो कठिन यात्रामा आफ्नो ज्यान गुमाए । तीनजना ब्यारोनमध्ये गोजा (Goza) नामका एकजना मात्र ब्यारोन बाँचे । तर यात्रामा संलग्न महिलाहरूमा एउटाले मात्र आफ्नो ज्यान गुमाइन् । अन्य महिलाहरू सबै सकुशल Arghun को क्षेत्रसम्म सकुशल पुग्न सफल भए ।

तर जहाजबाट अवतरित हुनेबित्तिकै उनीहरूले राजा Arghun को केही समयअघि मृत्यु भैसकेको र त्यहाँको शासन उनको Arghun को नाबालक छोराको नायबको रूपमा Kiacatu नामका व्यक्तिले गरिरहेको थाहा पाए । उनैबाट ती यात्रीहरूले रानी (जसलाई दिवंगत राजा Arghun को लागि ल्याइएको थियो) लाई त्यहाँ राख्ने विषयमा निर्देशन चाहे । Kiacatu को जवाफ थियो कि उनीहरूले ती कन्या दिवंगत राजा Arghun का पुत्र Kasan (अर्थात् Ghazan) लाई सुम्पिनुपर्नेछ । Kasan त्यतिबेला पर्सियाको सीमानामा थिए ।

Kiacatu को यो निर्देशनको पालना गरेर उनीहरू पुनः Kiacatu कै निवासतिर फर्के । उनीहरूले त्यहाँ नौ महिना बिताए । उनीहरू बिदा हुने समयमा Kiacatu ले सुनका अनेक ट्याब्लेटहरू दिएर पठाए, जहाँ कुब्लाई खाँको स्तुती कुँदिएको थियो ताकी सबैद्वारा उनको नाम वर्षौँसम्म भक्तिपूर्वक लिइयोस् ।

त्यसपछि उनीहरूको यात्राको क्रममा लाग्ने खर्चबाट छुट दिन र उनीहरूलाई आवश्यक सुरक्षा दिन तीनजना प्रतिनिधि (राजदूत) उनीहरूसँगै पठाइयो ।

सबै तयारीसहित उनीहरूलाई बिदा गरियो । बाटोमा उनीहरूको अघिपछि झन्डै 200 घोडाहरू थिए । Kiacatu ले दिएका सबै निर्देशनहरू पालना गर्दै उनीहरू अगाडि बढे । यस यात्राकै क्रममा पोलो बन्धुहरूले महान कुब्लाई खाँको देहावसानको समाचार पाए । कुब्लाई खाँ, जो उनीहरूका भगवान् थिए । उनको अन्त्यको खबर सुन्नु पोलो बन्धुहरूका लागि एउटा भयानक र निर्मम सत्यसँग ठोकिनु थियो । त्यसैले उनीहरूले अब आफ्नो बाटो अनुसरण गरे र Trebizond सहर पुगे । त्यहाँबाट कन्स्ट्यान्टिनोपल, कन्स्ट्यान्टिनोपलबाट नेग्रोपोन्ट र अन्ततः नेग्रोपोन्टबाट पनि उनीहरू सुरक्षितसाथ आफ्नो पुर्ख्यौली सहर भेनिस पुगे । यो सन् 1295 को समय थियो ।

त्यस किसिमको अकल्पनीय कठिनाइ, थकान र खतरा छिचोल्दै छब्बिस वर्षपछि पुनः आफ्नो जन्मसहर आएका थिए ती तीन पोलो बन्धुहरू । यस अवसरमा उनीहरूले भगवान्‌प्रति कृतज्ञता व्यक्त गरे ।

उपर्युक्त बृत्तान्त ‘The Travells of Marco Polo’ को एउटा प्रारम्भिक अध्याय थियो । जसको उद्देश्य मार्को पोलो पूर्वी दुनियाँमा रहँदा उनले जानेका र साक्षात्कार भएका विषयहरूसँग पाठकहरूलाई परिचित गराउनु थियो । यसको अघिल्लो शृङ्खलामा मार्को पोलोले देखेभोगेका कुराहरूको विवरण प्रस्तुत गरिनेछ ।

(अघिल्लो शृङ्खला माघको दोस्रो हप्तापछि मात्र प्रकाशित गरिनेछ । यसबाट पाठकहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु । -चिन्तन नेपाल)

लेखक परिचय

जाजरकोटको शिवालय गाउँपालिकामा जन्मनु भएका चिन्तन नेपाल साहित्य विद्यार्थी हुनुहुन्छ । शिक्षण पेशा गर्दै अध्ययन पनि जारी राख्दै गर्नु भएका चिन्तन हाल व्यवस्थापनतर्फ स्नातक चौथो वर्षको विद्यार्थी पनि हुनुहुन्छ ।

उहाँका थुप्रै कविता, लेख, कथा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन भइरहेका हुन्छन् । उहाँको 'कविताहरूको सगरमाथा' शीर्षकको संयुक्त कवितासंग्रह प्रकाशित छ ।

प्रतिक्रिया
Loading...