लन्डन/ संसार प्रसिद्ध उपन्यास शृंखला ह्यारी पोटरको सोच जन्मिएको ठाउँ एउटा क्याफे थियो र त्यो क्याफे तस्बिरमा देखिएको एडिनबर्गस्थित इलिफेन्ट हाउस नै थियो भनेर दाबी आएपछि लेखिका जेके रोलिङले उसको दाबीमा कुनै सत्यता नभएको ट्विट गरेकी छन् ।
ह्यारी पोटर शृंखला यति लोकप्रिय भयो कि हरकोही त्यो उपन्याससँग जोडिएर व्यापार चम्काउन चाहन्छन् । यस्तो अवस्थामा १४ औँ शताब्दीको बेलायती शहर योर्कलाई ह्यारी पोटरको सोच जन्माउने शहर भनेर कतिपयले दाबी गरे । त्यहाँको डाइगन अलाई पसलमा होगार्ट विद्यालयका आवश्यक सबै सामग्री पाइने दाबी केहीले गरिरहेका थिए ।

यति मात्र होइन, यस्तो दाबी गर्नेमा बेलायत परका मुलुक पनि छन् । जस्तो कि पोर्चुगलको पोर्टोले होगार्टको सोच रोलिङको दिमागमा छिराएको भन्ने दाबी केहीको छ ।
हावा कुराको हुण्डरी नै सिर्जना भएपछि ह्यारी पोटरका सुपर फ्यानका रूपमा चिनिएका करोडपति व्यवसायी मिगल रोड्रिजले हालै एलिफेन्ट हाउस क्याफेको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा जेके रोलिङलाई उपन्यास सिर्जना गर्ने ठाउँ यही हो कि भनी प्रश्न सोधेका थिए ।
त्यसको जवाफमा चर्चामा आएका कुनै पनि स्थान आफ्नो उपन्यास लेखिएका कुनै पनि स्थान नभएको प्रस्ट पारेकी हुन् ।

एउटा भनाइ नै छ, उनी एडिनबर्गबाट लन्डन आउने क्रममा एउटा रेस्टुराँमा बस्दै गर्दा उनलाई यो उपन्यासको विषयवस्तु फुरेको मात्र होइन, त्यसको केही खेस्रासमेत कोरेकी थिइन् । ह्यारी पोटरको जन्मथलो कुन हो भनेर जान्न चाहनेहरूका लागि उनले भनिन्, ‘यो उपन्यासको खाका बस्न कयौँ समय लागेको थियो र त्यसको सम्पूर्ण श्रेय कुनै एउटा रेस्टुराँलाई दिन मिल्दैन । कतिसम्म भने अहिले जति चर्चामा आएका नाम छन्, तिनको भूमिका रत्ति पनि छैन ।’

पहिलो पुस्तक त्यहाँ लेखेको नभई पछिल्ला कृतिहरू भने त्यहाँ सिर्जना भएको उनले बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बरू म म्यानचेस्टरबाट लन्डन जाँदै गर्दा यो उपन्यासको खेस्रा तयार भएको हो । एक किसिमले भन्ने हो भने रेल नै ह्यारी पोटर जन्मिएको स्थल हो ।’

जेके रोलिङले आफू संघर्षरत रहेका बेला ह्यारी पोटर जन्मिएको थलो एउटा सानो डेरा रहेको भन्दै डेराको तस्बिरसमेत उनले सार्वजनिक गरेकी थिइन् ।
ह्यारी पोटर शृंखलाका फिल्महरू योर्क शहरमा फिल्माङ्कन गरिएकाले पनि जेके रोलिङले त्यहीँ सो उपन्यास सिर्जना गरेको हुनसक्ने धेरैको अनुमानका कारण त्यहाँका व्यापारीले फाइदा लिइरहेको केहीले रोलिङको टिप्पणीमुन्तिर लेखेका छन् ।

पहिलो संस्करण बेचियो ३६ हजार पाउन्डमा
सन् १९९७ मा पहिलो पटक निस्किएको ह्यारी पोटरको उपन्यासको एउटा हार्डकभर उपन्यासलाई गएको सातामा भएको लिलामीमा ३६ हजार पाउन्डभन्दा बढीमा तिरिएको छ ।

पहिलो उपन्यास ‘ह्यारी पोटर एन्ड द फिलोसफर्स स्टोन’ को पहिलो संस्करण पाँच सय वटा हार्ड कभर निकालिएको थियो । सन् २००८ मा स्थानीय बकिंगमसायर स्कुलबाट यो पुस्तक बालबालिकाले पढ्न अनुपयुक्त रहेको ठहर गर्दै स्कुलले फ्याँकिदिएको थियो । स्कुलले फ्याँकेको दस वटा प्रतिमध्ये एउटा किताब एक जना शिक्षिकाले आफ्नो घरमा लगेर राखेकी थिइन् । सोही पुस्तकमध्ये एउटा यतिबेला लिलामीमा ३६ हजार ३ सय पाउन्डमा बिक्री भएको द टाइम्स पत्रिकाले जनाएको छ ।

स्कुलमा शिक्षिका रहेकी ६५ वर्षीया ती शिक्षिकाले किताब आफ्ना नातिनातिनाले पढून् भनेर घर लगेकी थिइन् । नाम नखुलाइएकी उनले पत्रिकासँग भनिन्, ‘त्यो बेला यो किताबको मूल्य न त स्कुललाई थियो न त मलाई नै । यो किताब फ्याँक्न माया लागेर घर लगेकी थिएँ, समयक्रममा सुनमा परिणत भयो ।’
१० मध्ये एउटा उनले ल्याएकी र बाँकी नौ वटा पुस्तक कहाँ पुग्यो आफूलाई थाहा नभएको उनले जनाएकी छन् ।
चार वर्षअघि उनका छोराले बिबिसीबाट दिइने एउटा टिभी कार्यक्रम ‘बार्गेन हन्ट’मा ह्यारी पोटर किताबको पहिलो संस्करणको महत्त्वबारे प्रकाश पारेपछि धुइँधुइँती खोजेका थिए । सोही कार्यक्रममा ह्यारी पोटरका केही किताब ८ देखि १२ हजार पाउन्डसम्म लिलामीमा राखेको पाएपछि उनले आफूसँग भएको किताब खोजी गरेका थिए ।
सन् १९९७ मा यो पुस्तक प्रकाशन हुनेबित्तिकै पहिलो तीन सय प्रति बेलायतका विद्यालय र पुस्तकालयहरूमा बेचिएको थियो ।

रोलिङको कुर्सी
किताब मात्र किन, ह्यारी पोटरसँग जोडिएको कुर्सीको पनि उत्तिकै महत्त्व छ ।

‘ह्यारी पोर्टर’ लेख्न रोलिङले जुन कुर्सी प्रयोग गरेकी थिइन्, न्युयोर्कमा केही वर्षअघि सो कुर्सी लिलामी गरिएको थियो । लिलामी गर्दा ३ लाख ९४ हजार पाउन्ड तोकिएको थियो।

सन् १९३० को दशकमा बनाइएको सिमलको रुखको त्यो कुर्सीमा बस्न स्कटल्यान्डको एडिनबर्गस्थित कफी हाउसले उनलाई कुनै शुल्क लिँदैनथ्यो। दिनभरि उनी त्यही कुर्सी र टेबुलमा बसेर ‘ह्यारी पोर्टर’को पहिलो र दोस्रो शृंखला लेखेकी थिइन् भन्ने भनाइ थियो तर लेखिका रोलिङले भने सोही कुर्सीमा बसेर लेखेको बताएकी छन् ।

हेरिटेज अक्सनले सो कुर्सी सबै करसमेत गरेर ३ लाख ९४ हजार पाउन्ड (५ करोड ९१ लाख रुपैयाँ)मा बेचिएको बताएको छ। गएको २००९ मा पनि यसरी नै लिलामीमा बेचिएभन्दा यो १४ गुणा बढी रकम भएको अक्सन कम्पनीले जनाएको छ।

५० वर्षे लेखिका रोलिङले ‘ह्यारी पोर्टर एन्ड फिलोसोफर्स स्टोन’ र ‘ह्यारी पोर्टर एन्ड द च्याम्बर अफ सेक्रेट्स’ पुस्तक लेखेकी थिइन्। यी पुस्तक १९९७ र १९९८ मा प्रकाशन भएका थिए।

‘त्यो कुर्सी ज्यादै आरामदायक थियो,’ लेखिका रोलिङले कुर्सी मालिकलाई लेखेको पत्रसमेत प्रदर्शनमा राखिएको थियो, जसमा लेखिएको थियो, ‘त्यस्तो नहुँदो हो त मैले टाइपराइटरमा घन्टौं लेख्न सक्तिन थिएँ होला!’

‘यो कुर्सी अब मभन्दा निकै टाढा हुन लागेको छ र अब त्यसमा म कहिल्यै बसेर केही लेख्न पाउने छैन,’ उनले लेखेकी छन्।

रोलिङले कफी हाउससँग त्यो कुर्सी मोटो रकममा किनेकी थिइन्। सन् २००२ मा नेसनल सोसाइटी अफ द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन नामक संस्थालाई सो कुर्सी दानमा दिएकी थिइन्।

‘मैले यसैमा बसेर ह्यारी पोर्टर लेखेकी थिएँ,’ भनेर रोलिङ आफैँले लेखेर हस्ताक्षर गरेको यो कुर्सी २००९ मा बेचिँदा २९,११७ पाउन्ड (४३ लाख ६७ हजार ८ सय ५० रुपैयाँ) तिरिएको थियो।

सात शृंखलाको ह्यारी पोर्टर संसारभर ६७ भाषामा अनूदित भएको छ। नेपाली भाषामा समेत अनूदित यो पुस्तकको अंग्रेजी संस्करण मात्रै ४ करोड ५० लाख प्रति बिक्री भएको थियो। यस पुस्तकको प्रकाशनपछि संसारभर बाल पुस्तक पढ्नेको संख्या ह्वात्तै बढेको बताइन्छ।

ह्यारी पोर्टरको फिल्मसमेत अति सफल भएपछि लेखिका रोलिङ अर्बपति बनेकी थिइन्। २०१२ मा भने उनी अर्बपतिको सूचीबाट निकालिएकी थिइन्। उनले आफ्नो रकममध्ये अधिकांश दान दिएकाले उनको सम्पत्ति अर्बबाट घटेर करोडमा झरेको सम्पत्तिको गणना गर्ने पत्रिका फोर्ब्सले जनाएको छ।