क्रिस्चियनधर्मीहरूको महान् चाड भए पनि क्रिसमस पर्व धार्मिकभन्दा धेरै पर पुगेको प्रवल सांस्कृतिक र सामाजिक चाड हो।
क्रिसमस इसाई धर्म विश्वासअनुसार मानव चोलामा जन्मिएका र भगवानका दूत मानिएका जिजस क्राइस्टको जन्मदिनमा मनाइने विश्वव्यापी चाड हो भनेर भन्नै परेन, सबैलाई थाहा छ।
दश वर्ष नाघ्यो क्रिसमसलाई राष्ट्रिय पर्व मान्ने देश क्यानाडामा बस्न थालेको।
डिसेम्बर नलाग्दैदेखि पास पर्ने मान्छे सोध्न थालिहाल्छन् “तिमी क्रिसमस मनाउछौ ? के के छ त यसपालीको योजना ? तेरो परिवार, घरबार यतै छ कि, एक्लै बुङ्गै छस् ?” यस्ता प्रश्न सामान्य हुन् क्रिसमसको छेउछाउ।
सुरुका केही वर्षमा क्रिसमसको तामझामले छुँदै छोएन।
गाउँमा हातमा गिटार बोकेर उँभो लागेका मान्छेलाई ताक्दै आमाले भन्नु हुन्थ्यो “आज आइतबार हो, क्रिस्तानीहरू जम्मा भएर त्यो चच कि के जाति तिनको मन्दिरमा भजन गाउन हिनेका…”
“होला होला” भनियो। हाम्रो “ओम जै जगदिसारे…” र “रामा चरण चित्त लाना, उनहें नभुलाना यह जीवन दो दिन का…” छँदै छ भन्ने ठानियो वास्तै गरिएन।
ब्रम्हा, बिष्णु, महेश्वर मान्ने र दशैं तिहार मात्रै जान्ने म खाट्टीको नेपालीमा उमेरसँगै हुर्किएको मेरो पर्ब-संस्कारप्रतिको निरुढ मानसिकता कटिबद्ध नै रह्यो यहाँ पनि केहीबेर। तर क्यानाडा बसाइको दोश्रो वर्षदेखि नै एउटा सोच भने पलाएको मनमा। त्यो के भने जहाँ देश, नातागोता, संस्कार, छिमेकी, आफ्नो रगतमासु निर्माण गरेको भूगोल, समाज, परिवार र पद्धति छोडेर बस्न आइयो त्यो ठाउँको मूल संस्कार र चरित्रबाट कतिदिन निरपेक्ष बस्न सकिएला त भन्ने।
जुन ठाउँको काममा सहकर्मी सबै क्रिसमस मान्ने हुन्छन्, जुन ठाउँको स्कुल कलेजमा क्रिसमसको धुमधामले सबै बिद्यार्थीलाई खिर्लिप्पै निल्छ, जुन ठाउँको बजार र किनमेल क्रिसमसका बम्पर, योजना, छुट र झन् धेरै छुटले भरिपूर्ण हुन्छन्, जुन ठाउँमा अरुबेला रातोदिनको काम र बिल भराइको चिन्ता र चटारोबाट एकैछिन भएपनि मुक्ति दिन क्रिसमस आउछ अनि जुन ठाउँमा सिंगो समाज र देश नै क्रिसमसमयी प्रेम, सद्भाव, सहयोग, स्नेह र हार्दिकता साटासाटमा लठ्ठ परेको हुन्छ त्यस्तो ठाउँमा बसिखान बालबच्चासहित आएपछि तत्तत् चरित्र नअपनाएर खैरियत ! यस्तै लाग्दै छ मलाई अचेल।
क्रिसमस सिजन यहाँको सबैभन्दा लामो होलिडे सिजन हो।अत्यावश्यकबाहेकका सबै कलकारखाना, काम धन्दा, स्कुल कलेज दुई हाप्तालाई बिदा हुन्छन्। डिसेम्बर २५ मा आउने क्रिसमसको धुमधाम उतर अमेरिकी समाजमा नोभेम्बरदेखि नै सुरु हुन्छ। रेडियो, टिभी र पत्रपत्रिकामा महान चाड क्रिसमसको उपलक्ष्यमा ल्याइने विभिन्न व्यापारिक ग्राहक योजना र ग्राहक तान्ने होडबाजीका पर्चा र चर्चाको सिमासाँधि हुँदैन। चोक, बजार, गल्ली, घर त हाम्रो दिपावली जस्तो झिलिमिलीले झिलिक्कै हुने नै भए घरघरमा सडकसडकमा रहेका बुट्टा वनस्पति पनि झिल्के बतिले सिंगारिएर क्रिसमस मनाउन तयार हुन्छन् महिनादिन पहिलेदेखि नै यहाँ।
मान्छे काममा, पढाइमा “मेरी क्रिसमस” भनेर एकअर्काको भलो चिताउन एक महिनाअघिदेखि नै सुरु गर्छन्। क्रिसमस बिदाको प्रतिक्षा यहाँका कामकाजीहरूमा यति जबर्जस्त हुन्छ कि काकाकुललाई पानीको के त्यति व्यग्रता होला र!
पश्चिमा समाजमा परिवार, बाबुआमा छोराछोरीबिच त्यति स्नेहको प्रगाढता हुन्न होला, हुर्केपछि जोइपोइ पक्डेर कुदिहाल्छन् भन्ने ठानिन्छ हामी पूर्वेली संस्कृतिकाले। अलिकति कुरो मिलेन कि पारपाचुके गर्न, अर्को पक्डिन र फेरि छोड्न, बाबुको टुंगो र दरकार नभए नि आमा हुन केहीको छेकवार नभएको समाजमा जोसुकै जतासुकै जाओस् वास्तै हुन्न होला जस्तो धारणा हुन्छ एसियालीहरू माझ। तर यिनको परिवार मिलनको महत्व र ममता, स्नेह र हेरचाहको नसा देख्दा हामी पो शुष्क छौं कि क्या हो जस्तो लाग्छ।
“यसपाली त मेरो बाउ आउने हामीसँग क्रिसमस मनाउन ६ घन्टाको बाटो उडेर, आहा…एक महिना मेरो बा हामीसँगै बस्ने…यो पाली त कम मज्जा छ र मलाई…म फलानो फलानो थोक पकाउँछु मेरो बालाई खुवाउन…म त खुसीले बौलाइसकें सम्झिदा पनि…उहु… ” दुई हुर्किसकेका छोराछोरीकी आमा ४० वर्षे मेलिसा चम्किन्छे।
“क्रिसमस इभको दिन मेरा छोराबुहारी ४ घण्टा उडेर आइपुग्छन् यो साल क्रिसमसमा…बुहारीले हिजो फोन गरेकी थि टिकट नि किनिसके रे…नाति पनि छ साथमा…आहा मैले कति मिस गरिसकें मेरो नातिलाई…हामी फलानादिन ‘परिवार भोज’ गर्छौं.…बुहारीले नि पकाउन सघाउने रे मलाई…फलाना दिन मुभी जान्छौं…फलाना दिन नातिलाई घुमाउन मल जान्छौं…म त त्यो दिनको प्रतिक्षाले हुरुक्क भइसकें…” ६३ वर्षे सहकर्मी म्याडिसन वेस्टगेट बुढीमाउका भुइँमा खुट्टा छैनन्। दशैंमा हामी बाआम भेट्न गएजस्तै भएन त यो ?
“यो पालि मज्जाले परिवारसँग बसिन्छ…मेरा सबैजसो आफन्तजन सहरभित्रै छन्…निकै नै व्यस्त भइन्छ…मेरा भाइ-बुहारी आउछन् यो साल मेरामा…आफ्नो ससुराली पनि जानु पर्ने छ… ” अधबैंसे जेम्स लमेले आफ्नो योजना खोल्यो।
यहाँ जिजसको सम्झना र श्रद्धाभक्तिमा मनाइने क्रिसमसमा फगत आफूले भंडारबाट झिकेर हाम्रो दशैंमा छेरुन्जेल आफूले र आफ्नाले मात्रै खाने जस्तो पनि होइन रहेछ। आफ्ना सहकर्मी, साथिभाइलाई केही न केही उपहार दिएर रित धान्ने आफ्नो गच्छे हुनुलाई क्रिसमस पर्व मनाउनुको सनातनी प्रतिष्ठाको रुपमा पनि लिइने रहेछ। ‘फेस्टिभल अफ गिभिंग’ अर्थात् ‘दिएर खाने चाड’ को रुपमा मनाइने चाड रहेछ क्रिसमस। गरिबीले वा नयाँ आप्रबासी हुनुको नाता चाडबाड मनाउन नसक्नेहरूका लागि खाद्यान्न, लताकपडा र बालबच्चालाई उपहार बाँड्ने निकाय क्रिसमस ब्युरोमा, क्रिसमस सिजनका अन्य च्यारिटी अभियानमा र स्थानीय ‘फुड ब्यांक’ मा केही न केही चन्दा योगदान गर्नसके ईश्वरको सम्झनामा क्रिसमस मनाउनुको सार्थकता अझ आत्मगुनी हुने ठान्दा रहेछन् अलिक परम्पराधर्मीहरू।
छोरी अदिति कक्षा ३ मा थिई। स्कुलबाट छोरीले क्रिसमसका सबै स्वाद र बान्की घर ल्याई।
सान्ता क्लज भन्ने दारी बाले “रेनडियर” भनिने बारसिंगेले तानेको रथमा चढेर उपहारका पोका बोकेर हिउँले ढाकेको पाखापर्बत नाघ्दै, आकाशमार्ग हुँदै राति सबै निदाएको मौका पारेर घरको धुरीको चिम्नीबाट छिरेर आई क्रिसमसको उपहार छोडेर जान्छ भनेर बच्चाहरूलाई सम्मोहित पारिएको छ यहाँ। सान्ता क्लजको चर्तिकला जनाउने कार्टुन मुभी र गीत बग्रेल्ती छन्। स्कुलमा कक्षा-कक्षाको क्रिसमस कन्सर्ट रियाज र प्रश्तुति हुन्छ। बाबुआमाले आफ्ना बच्चाको गायन र अन्य कला प्रस्तुति हेर्न नगई धर पाउनेवाला छैनन्। किनभने सबैका बाबुआमा जान्छन् आफ्ना मात्रै भएनन् भने भुराभुरीले रुने बिद्रोह गर्ने त छँदैछ।
क्रिसमसजनित बति, तुल, तोरण र सिंगारपेटारले स्कुल धपक्क बलेका हुन्छन्। क्रिसमस उपहार र शुभेच्छा-कार्डको आदानप्रदानले सबै मोहित भएका हुन्छन्। शिक्षक/प्रिन्सिपलले भाइचारा, मानव प्रेम, सहयोग, सद्भाव र आदर सत्कारका मूल्यको प्रतीकको रुपमा क्रिसमस पर्वलाई बुझाउँछन् बच्चाहरू माझ। छोरी स्कुलबाट यस्ता गीत घर लिएर आउँछे र कम्मर मरकमरक पार्दै रक एण्ड रोल शैलीमा गाउँछे।
You better watch out
You better not cry
You better not pout
I am telling you why
Santa Clause is coming to town। । ।
छोरी अर्को अति नै पपुलर क्रिसमस गीतको भाका झिक्छे। । ।
Deck the halls with boughs of holly
Fa la la la la, la la la la
Tis the season to be jolly
Fa la la la la, la la la la। । ।
“बाबा, ममु मलाई क्रिसमस उपहार के दिने हजुरहरूले ? मलाई बचन चाहियो, क्रिसमस ब्युरोमा सबै साथीका पेरेन्ट्सले फोन गरिसके। मलाई खोइ फोन गर्देको उपहारको लागि ?, क्रिसमस ट्री चाहियो मलाई पनि, बा हामी पनि क्रिसमस डिनर पार्टी गरौँ न…फलाना फलाना साथीलाई बोलाउन…मेरो बेस्ट क्रिसमस मुभी “एल्फ़” हेर्न थ्रिएटर जाऊँ न…” छोरीका क्रिसमस मागको सूचि झनझन लम्बिदै गएको हुन्छ। १५ दिने क्रिसमस बिदाका लागि स्कुल बन्द हुने अन्तिम दिनसम्म आइपुग्दा छोराछोरी पुरै क्रिसमस मुड लिएर घर आउँछन्।
बाबुआमा पनि कामको प्रकृति हेरी सहकर्मी र रोजगारदाताबाट तेरो परिवारसँग “तेरो क्रिसमस धुमधामसँग” बितोस् भन्ने कामनासहित केही न केही उपहार पाउँछन्।
यता आफ्नो दशैंतिहारमा कुनदिन फूलपाति, कुन दिन कोजाग्रत, कुन दिन काग तिहार काम र घरको दौडादौडमै चिप्लिसकेको हुन्छ। टिकाको दिन पनि दिनभरि काम गरेर आएर बेलुका दिपावली र दशैंको शुभकामना फेसबुकमा लेखेर चाड मनाएको जनाउ दिनुपर्ने बाबुआमाको स्थितिमा फुर्सद लिएर आउने क्रिसमस बिदा नै मुख्य पर्व नभएर धर नै छैन। तर हामी खाट्टी हिन्दू पाराले क्रिसमसको धार्मिक होइन सामाजिक र पारिवारिक महत्वको पक्षमा केन्द्रित भएर क्रिसमस मनाउँदा रहेछौँ।
छोराछोरीले हिन्दू मन्दिरमा गएर मामुसँग दूध-जल चढाएकै छन्। दीपावलीमा बनाइने रंगोलीमा दत्तचित्त भएर खुसी र उत्सवले फुलेर सघाएकै छन्, टिकामा “आइन्द्रो नसुते”सँग जमरा सिउरेर दक्षिणा बटुल्दा दशैं उनलाई नि हामीलाई केटाकेटी हुँदा जस्तै आएकै छ। तीजमा आमा-आन्टीहरूसँग दर खान र बरिलैमा नाच्न पनि उत्साहित नै छन् र घरको कुनामा मामुले थापेको देउताका थानमा गएर बिष्णु-लक्ष्मीलाई जिउ पनि गरेकै छन् हाम्रा नानीहरूले क्यानडामा। खानपानमा पनि गौमांस हाम्रो आहार होइन है भन्ने सिकाइएकै छ र उनीहरू खानेवाला पनि छैनन्।
यसरी हेर्दा हामी नेपाली गीता पढ्छौं, गौमाता मान्छौं, ब्रह्मा, बिष्णु र महेश्वरलाई कुनामा कतै आसनग्रहण गराउछौं र आफ्नै प्रकारको “हिन्दू क्रिसमस” को आविष्कार गरेर क्रिसमस मनाउछौं क्रिस्तानी देसमा।
यस सालको क्रिसमसमा पनि दशैंमा छरछिमेकले नातागोताले खान बोलाएझैं हिन्दू क्रिसमस भोजको नेपाली निम्तो दुईचार पाइसकिएको छ। साथीहरू फलाना दिन साप्पी तास खेल्ने है भनेर जमेर क्रिसमस मनाउने सुर कस्दै छन्। मैले तासको ‘त’ खेल्न नजान्नु बेग्लै कुरा। काममा पनि विद्यार्थी/सहकर्मीबाट केही डलर मूल्यका सिनेमा जाने, कफी खाने “गिफ्ट कार्ड” पाइएको छ, हिर्दयग्राही शब्द खिपेका केही थान क्रिसमस कार्ड र चकलेटका मनमोहक पुरिया हात लागेका छन्।
सधैं लिएर मात्रै त भएन फिर्तामा दिन नि थाल्नु पर्यो। अनि नमनाएर सुख “हिन्दू क्रिसमस?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।