जोगी तरकारी हुँदो रहेछ | सांसारिक बन्धन चुँडाली शरीरमा खरानी घसेर जोगी बनेर हिँडे पनि पेटको आगोसँगको बन्धन चुँडिदो रहेनछ ? त्यसैले जोगी भएपछि बिहान दस घरमा भिक्षाटन गरी जे–जस्तो–जति आउँछ त्यही खाने, भरेभोलिलाई जगेर्ना गर्न नपाउने, गृहस्थले पनि बिहान दैलोमा भिक्षा माग्न आएको जोगीलाई केही न केही दिएर पठाउनुपर्ने सिद्धान्तमा आश्रम व्यवस्था चलेको हो । यसरी दसतिरबाट बटुलेर ल्याएको खाद्यान्न, तरकारी बेग्लाबेग्लै जात र प्रकारका हुने नै भए । यही तथ्यमा आधारित भएर धेरै थोक मिलाएर पकाएको तरकारीलाई जोगी तरकारी भन्ने गरिन्छ ।
तरकारी त तरकारी जोगी सपना पनि हुँदो रहेछ । यसै पनि सपनामा कुनै तुक हुँदैन । राष्ट्रपति भएर सोह्र करोडको गाडीमा गुडेको, एक अर्वको हेलिकप्टरमा उडेको, पढ्दै नपढी झुम्कावाल टोपी हल्लाउँदै प्राध्यापक, डाक्टर भएको, विद्यावारिधि गरेको, इतिहासको विद्यार्थीले जहाज उडाएको जे पनि देख्न सकिन्छ । मनोविश्लेषक सिग्मण्ड फ्रायड, एडलर, युङ आदिले सपनालाई मानिसको अवचेतन मनमा गुम्सिएर रहेका अतृप्त चाहनाहरूको प्रकटीकरण भनेका छन् । भनेपछि अहिले दिनरात घरमा थन्केर बस्नुपर्दा घुम्ने, फिर्ने, मान्छे भेट्ने, सिनेमा हेर्ने, किनमेल गर्ने, जहाजमा उड्ने, लामो यात्रामा जाने अतृप्त चाहनाहरूको कत्रो चाङ भैसक्यो होला त मान्छेको मनमा ?
अहिले शतप्रतिशत पूरा हुनसक्ने चाहना भनेको टेलिभिजन हेर्ने र मोबाइल चलाउने मात्र हो । त्यो पनि कति हेनू, कति चलाउनू ? फेरि त्यसमा आउँछ नै पो के र ? बासी कार्यक्रम हेर्दा हेर्दा पेटै हुँडएर आइसक्यो । अर्कोमा राम्रो केही आउँछ कि भन्यो च्यानल फे¥यो । फेरेको फे¥यै, फेरिको फे¥यैँ गर्दा गर्दै दिनभरिमा के के हेरिँदो रहेछ के के । कोरोनामा आरम्भ भएर कोरोनामै अन्त्य हुने समाचार, अन्तर्वार्ता, नेपाली सिनेमा, हिन्दी सिनेमा, रामायण, महाभारत, पुराना टेलिफिल्म, बासी खेलका रेकर्डहरू, क्राइम प्रेट्रोल, सिआइडी, योग गुरुका प्रवचन, नयाँ नयाँ परिकार बनाउने तरिका आदि इत्यादि । यी सबका सब संश्लेषण भएर केन्द्रलाई ध्वस्त बनाउने उत्तरआधुनिक डिजाइनको जोगीवाल खान्गी दृश्य मनभरि बसेपछि मान्छेको गत के होला ?
एउटा च्यानलबाट रामानन्द सागरकृत रामायणको अरण्यकाण्ड आइरहेछ । वनबासको १३ औँ वर्ष राम, सीता र लक्ष्मण चित्रकुटको कुटीमा बसिरहेको बेला सुनको सुन्दर मृग देखा प¥यो । सीतालाई मृगले लोभ्यायो कि सुनले उनै जानून् ? स्वामीसँग मृग चाहियो भनेर हठ गर्न थालिन् । अब राम न परे, कहिले कसले के गर भन्छन् र गरौँ भनेर बसेका । पिताजीले ‘वन जा’ भने उनी हिँडिहाले, पत्नीले ‘मृग चाहियो’ भनिन्, उनी कुदिहाले । त्यसको केही बेरमै ‘म मरेँ’ भन्ने उनको आवाज सुनियो । सीता अत्तालिएर देवरलाई खोज्दा उनी एउटा रुखमुनि बसेर मस्तसँग बाँसुरी बजाइरहेका रहेछन् । सीतालाई झनक्क रीस उठ्यो । कम्मरमा हात राख्दै कड्केर भनिन्, ‘रोम जलिरहँदा, निरो बाँसुरी बजाइरहेथ्यो रे । दाजुले मरेँ भनेर चिच्याएको सुन्दा पनि रागै अलापेर बस है ?’
शिरमा मयूरको प्वाँख सिउरेका झिल्के कृष्णले मुस्कुराउँदै भने, ‘ह्या भाउजू पनि । केही हुँदैन के दाइलाई ।’ त्यो वचनले सीताको रीसमा घ्यू थप्ने काम ग¥यो । कर्कस स्वरमा आँखा तर्दै भनिन् ‘दाजुको इहलीला समाप्त भयो भने मलाई पट्याउँला भन्ने सोच छ कि क्या हो । त्यस्तो सपना नपाले हुन्छ है मिष्टर ! भन्द्याछु ।’
कृष्णको राशी कन्या भए पनि भाउजूलाई नै आँखा लगाउने खालका थिएनन् । चित्त दुखाएर भने, ‘ल ल म खोजेर ल्याउँछु दाइलाई । भोक लागिरा बेला दाइलाई पनि कहाँ जान परेको होला । खाजा बनाएर राख्नू है भाउजू । अनि यो चक्रबाहिर कदम राख्ने भुल चाहिँ नगर्नू नि,’ भनेर बाँसुरीले कुटीवरपर कृष्णचक्र बनाइदिए र दाजु खोज्न निस्के ।
सीता एकछिन टोलाइन् अनि दाजुभाइ भोकाएर आउलान् भनेर खाजा बनाउन थालिन् । डोसा खाने विचारले बिहानै पीठो र मसला ठीक पारेकी थिइन् । तातो तावामा ¥यालेको पीठो सल्ल हालेर फैलाउँदै थिइन् बाहिर भिक्षाम् देही भनेको सुनियो । ‘बेला न कुबेला बजी नयला’ जतिखेर मन लाग्यो उतिखेर आउने जोगीलाई कसले दिन्छ भिक्षा ? भन्दै डाडु लिएर बाहिर निस्किन् । तर त्यहाँ कोही थिएन । भित्र पस्दा डोसा बनाउने दिव्यदृष्टि सकिएर समोसा बनाउने आइसकेको थाहै पाइनन् । तावामै माम्री भैसकेको रोटीलाई हातमा सोलीजस्तो बनाएर आलु हालेर टमार्न खोज्दा मरिगए भएन । बाहिर फेरि भिक्षाम् देही भनेको सुनियो । हात पोलेर आत्थुआत्थु भैरहेको बेलामा भिक्षा मागेको सुनेर झोकले आलुरोटी हु¥याइदिइन् । बाहिर भीमाह एकादशीको ब्रत बसेका भीमसेन थिए, जसले बिहान खाना खान बोलाउँदा ‘नौ मुरी चामलको रुगरुगे जाउलो के जानु भान्छैमा ?’ भनेर विरक्ति पोखेका थिए । कोखा चर्कञ्जी खाना खान नपाएको दिन त्यस्तो मीठो खाजा हात परेको, उनी पकापक खान थाले ।
कृष्णले रामलाई भेटेर कुटीमा फर्केर आउँदा सीता थिइनन् । वरपर खोजे भेटेनन् । उसै पनि कुटीमा खोज्ने ठाउँ नै कति हुन्छ र ? वनतिर पो गइन् कि भनेर सीते, भावज भन्दै बोलाए । अँह सीताको पत्तो लागेन । हार खाएर मिसिङ्ग कम्प्लेन दर्ता गर्न दुई भाइ रुञ्चेरुञ्चे अनुहार लाएर पुलिस चौकी पुगे । याँमानको भुँडी पल्टाएर मेचमै उङिरहने त्यहाँको हाकिम देखिएन । मुख रातो पारेर पान चपाइरहेको कान्छो हाकिमले बडाहाकिम कोरोनाको शङ्का लागेर टेष्ट गर्न गएको बताउँदै मेचको पछाडि पानको पिक पिच्च थुक्यो । कोरोना थुकबाट पनि सर्छ, यसरी जथाभावी थुक्ने हो भनेर कान्छा हाकिम र रामकृष्ण दाजुभाइको भनाभन नै भयो । कान्छा हाकिमले मिसिङ्ग कम्प्लेन दर्ता गर्न फोटो र मोबाइल नम्बर माग्यो । रामले सीताको भनेर सुपर्णखाको फोटो देखाएछन् । फोटो देख्नेबित्तिकै कान्छा हाकिम झण्डै बेहोस् भएथे । कोरोनाको कारण मृत्युवरण गर्न पुगेकी संसारकी पहिली महिलालाई कसले चिन्दैनथ्यो र ?
कृष्णलाई त्यही बेलामा हस्तिनापुर दरबारबाट अर्जेन्ट कल आयो । द्रौपदीको वस्त्र हरण हुन लागेकोले उनलाई पुकार्दै रहिछन् । कृष्ण परे धर्म सङ्कटमा । सीतालाई खोज्ने कि द्रौपदीको इज्जत बचाउने ? सीताको खोजी क्राइम ब्राञ्चले गरिहाल्छ नि भनेर उनी हस्तिनापुरतिर लागे । त्यहाँ पुग्दासम्म राते काइँला द्रौपदीको वस्त्र हर्दै थियो भने गुच्चाटोलको होलसेल सारी पसले नत्थुराम धमाधम द्रौपदीलाई सारी सप्लाइ गर्दै थियो । हतारिएर आएका कृष्णको त्यहाँ कामै भएन, चुपचाप तमासा हेर्न थाले । कर्ण र सकुनीलाई झर्को लागेर कुनामा बसेर क्यापिचिनो पिउँदै थिए । अचानक सभामा नारी अधिकारकर्मी क्लारा जेट्किनी आइपुगिन्, र लैङ्गिक हिंसाको मुद्दा लगाएर सबलाई जेलको हावा खुवाइदिन्छु भनेर सातो खाइन् । कोही चुँ बोल्न सकेन । दुमुक्क परेर बसे ।
घातप्रतिघात चल्दै थियो । शकुनी, कर्ण, दुशासन त भैहाले दृश्यमा नआइकनै दुर्योधनलाई भित्रभित्रबाट मेघनादले पनि उचालिरहेको रहेछ । महाभारतको युद्ध टार्न सकिन्छ कि भन्ने प्रयास पनि चल्दै थियो । सुशीला थापा, रवीन्द्र मिश्रप्रवृत्ति माइतिघर मण्डलामा पाण्डवको “राज्य फिर्ता गर्, इन्द्रप्रस्त फिर्ता गर्, राज्य हड्प्न पाइँदैन” भन्ने नारावाजी गर्दै धर्ना दिइरहेका थिए । सरकारवादी मुद्दाका वादीतर्फबाट शम्भु थापा, रमण श्रेष्ठहरू र प्रतिवादीतर्फका सपना मल्ल, चोलेन्द्रशमशेरबाट सर्वोच्चमा वहस पैरवी पनि चल्दै थियो । नाफामा चलिरहेका पाँच बैंकको स्वामित्वमात्र दिए पनि हस्तिनापुरमाथि अधिकार दावी नगर्ने प्रतिवादी पाण्डवहरूको प्रस्तावलाई कुम्भकर्ण पुत्र दुर्योधनले बैंक त के किराना पसलसमेत दिन्न भन्ने जवाफ फर्काएपछि शान्तिका सबै प्रयास निरर्थक भए, महाभारतको युद्ध अनिवार्य भयो ।
पछि गएर अचार बनाएर चाटे पनि युद्धको आचारसंहिता बन्यो । दुवैका सेना कुरुक्षेत्रमा भेला भए । अर्जुनले शत्रुतिर गुरु, दाजु, भाइ, मामा देखे, तर पितामह भीष्म देखेनन् । भीष्म कौरव सेनाका सेनापति रे भन्ने सुनिएको थियो । बिना सेनापति युद्धको थालनी नहुने भएकोले पितामहको खोजी भयो । उहाँलाई राती ज्वरो आएकोले एम्बुलेन्समा अस्पताल पठाएर स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले आइसोलेसनमा राखिएको जानकारी युयुत्सुले गराएपछि अर्जुन गाण्डिवसाण्डिव फालेर पितामहलाई हेर्न जान्छु भनेर जिद्दी गर्न थाले । कोरोना सङ्क्रमितसँग अस्पतालले कसैलाई भेट्न दिँदैन भनेर उनलाई विभीषणले ज्यान फालेर सम्झाउँदा पनि मानेनन्, जान्छु कि जान्छु भनेर हठ गर्न थाले । अनि मर्यादापुरुष रामले उनलाई कुमल्याएर रथमा बसाले र १८ अध्याय गीता सुनाउन थाले ।
बाँकी योद्धाको हालत सरकारको नीति तथा कार्यक्रम सुन्न संघीय संसद भवनमा भेला भएका सांसदको जस्तो भयो । उङ्न थाले । विशेष गरी लडाइँमा खासै रुचि नभएका, बाध्य भएर आउनेमा परेका युवापुस्तालाई गीतासीतामा के ध्यान जान्थ्यो र ?
‘ह्या लडाइँ नै खेल्न आइसकेपछि बङ्का बङ् हान्न छाडेर के सेन्टी भैरा होला ? युद्धस्युद्ध थाल्नु छैन खाली गनथन गनथन गरेको छ । झ्याउ लागेर आइसक्यो |’, भनेर यताउति हेर्न थाले । सबै दौँतरीको हालत त्यही थियो । आँखले इसारा गरी गरी सबै एकपछि अर्को गर्दै रथबाट ओर्लेर अर्को मैदानतिर लागे । मुख्य ध्यान अग्र पङ्क्तितिर भएकोले पछाडिबाट भाग्नेलाई कसैले याद गरेन ।
अर्को मैदानमा जम्मा भएका पाण्डवपौत्र र कौरवपुत्र एक गेम २०\२० मैत्रीपूर्ण क्रिकेट म्याच खेलौँ भन्दै फटाफट नियम बनाएर बलिङ्ग थालिहाले । रेफ्री हुन कताबाट हनुमान आइपुगेछन् । खेल आधाउधी हुँदासम्म हनुमानको गाला पुक्क बनाउन गरेको मेकअप झरेछ, दारा सिङकै अवतारमा रेफ्रीगिरी गर्न थाले । रगतको प्रभाव न हो ? कसोकसो गरेर कौरवपौत्रले पहिले ब्याटिङ्गको जालझेल मिलाएर पूरै २० ओभर खेल्न भ्याए । पाण्डवपुत्र ब्याटिङ्ग गर्दै थिए कुरुक्षेत्रमा युद्धको सङ्खनाद भयो । मार्छन् बुढाहरूले भन्दै ब्याटस्याट छाडेर सबै युद्धभूमितिर कुदे ।
हैन हौ ? लडाइँ हुन थालिसक्यो, यो सङ्खनाद किन रोकिन्न ? भन्ठानेको त मोबाइलमा अर्लाम पो बजेको रहेछ । अब एक रातमा योभन्दा बढी सपना देख्न पनि कहाँ सकिन्छ र ! हैन ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

