
डा. कमल श्रेष्ठ !
उसको बालककालदेखिकै डाक्टरबा । उसका बाबाआमा अनि काकाकाकीको डाक्टरबाबु ।
सानैदेखि उसलाई जे परे पनि, ज्वरो आउँदा, दिसा लाग्दा, दिसा नहुँदा, जस्तोसुकै समस्यामा पुऱ्याइने उनकै आँगन । उसका बाबालाई टाउको दुख्दा होस्, या त आमालाई रक्तअल्पता हुँदा, या त उसका काका भिरबाट लडेर उनको हात भाँच्चिदा, अस्पतालमा भेटिने उनै डाक्टरबाबु, उनै कमलबाबु ।
सारा गाउँभरिकै आशा एवं भरोसाका केन्द्र थिए डा. कमल । सरकारी कार्यको सिलसिलामा उसको गाउँमा अवस्थित स्वास्थ्यकेन्द्रमा एम.बि.बि.एस. डाक्टरको दरबन्दीमा ऊ जन्मनुभन्दा डेढ दशकअघि नै अर्थात् तीस वर्षभन्दा अघि नै आएका थिए डा. कमल । रहँदा बस्दा उनी गाउँभरिका स्वास्थ्य समस्याका निवारणकर्ताझैँ भएर निस्किए ।

डा. अजय रिसाल
सामाजिक काममा समेत सक्रिय रहने उनी समाजसेवामा अनि जनचेतना प्रवाहका क्षेत्रमा पनि हर्ताकर्ताझैँ भएर नै प्रस्तुत हुने गर्दथे । त्यसैले गाउँभरमा मायाँ, प्रेम, श्रद्धाको पर्याय बन्न पुगेका थिए उनी । सरुवा पाएर अर्को जिल्लामा जान खोज्दा पनि केन्द्र सरकारसँग भनसुन अनि अनुरोध गरेर उनलाई त्यही गाउँमा रोके गाउँलेले । उमेरहदका कारण सेवानिवृत्त भइसकेको अहिलेको अवस्थामा पनि उनी त्यही गाउँमा सानो क्लिनिक चलाएर सपरिवार नै बसिरहेका छन् । झन् अहिले उनी र उनकी श्रीमती दुवै सिङ्गै गाउँकै अभिभावकका रूपमा रहेका छन् । उनका एउटै छोरा डा. विमल भने वरिष्ठ चिकित्सकका रूपमा काठमाडौँकै एक मेडिकल कलेजमा कार्यरत रही सपरिवार त्यतै बस्दछन् ।
तिनी पनि बेला-बेला गाउँ आएर गाउँलेको स्वास्थ्य समस्या निवारणार्थ आफ्ना बाबा डा. कमललाई साथ दिने गर्दछन् । समय-समयमा तिनले काठमाडौँबाट ल्याएका वरिष्ठ डाक्टरहरूको टोलीले विशेषज्ञ स्वास्थ्य शिविरहरू पनि चलाउने गर्दछन् ।
त्यसैले पनि उसका लागि एक आदर्श व्यक्ति थिए डा. कमल श्रेष्ठ ! स्कुले कक्षाको उमेरदेखि नै उसले “डा.कमल” लाई आफ्नो भविष्यको भनौँ या सपनाको गन्तव्यसरह नै मानेको थियो ।
डा. कमलले उसको आफ्नो गाउँमा पाएका “सम्मान, आदर अनि मायाँप्रेमको ओहपोह” आदि सबैले उसका लागि हुटहुटी र प्रेरणाको मार्गदर्शनको काम गरेका थिए । डा. कमल र उनका परिवारले गरेका सामाजिक कार्यमा हरपल जस्तोसुकै सहयोग गर्न पनि जुट्दथ्यो ऊ । अनि डा. विमलले आयोजना गर्ने गरेका स्वास्थ्य शिविरहरूमा स्वयंसेवकको भूमिकामा आफ्ना समवयी साथीहरूसहित उत्साहप्रद रूपमा सहभागिता जनाउने गर्दथ्यो ।
“म पनि पछि त डाक्टर नै त बन्ने हो !”
उसको अवचेतन मनमा यही नै सङ्कल्प वाक्यझैँ भएर अडिएर रहेको थियो ।
त्यसैले “नौ–दस कक्षमा राम्रो अङ्क ल्याउने, एसएलसीमा सकभर बोर्डमा नै नाम निकाल्ने अनि काठमाडौँमा गएर राम्रो क्याम्पसमा पढेर आइएस्सी गर्ने”, त्यसपछि छात्रवृत्तिमा नाम निकालेर सकभर विदेशमै गएर एम.बि.बि.एस. गरेर नाम अगाडि डाक्टर झुन्ड्याउने ….. यही नै थियो उसको जीवनको लक्ष्य ।
त्यही लक्ष्य साँधेर नै त होला, “हुने बिरुवाको चिल्ला पात” भनेझैँको उसको बालकैकालदेखि नै कडा मिहिनेत । मानौँ, उसको जीवनको उद्देश्य नै त्यही “सपनाको डाक्टर” नै थियो ।
नभन्दै, ऊ कक्षा पाँचको जिल्लास्तरीय परिक्षामा “जिल्ला टप” भयो । कक्षा आठको क्षेत्रस्तरीय परीक्षामा पनि “पहिलो पाँच” भित्र नै नाम राख्यो उसले । अनि सेन्टअपमा पनि जिल्लामा सर्वप्रथम नै भयो । एसएलसीमा बोर्ड नै नल्याए पनि विशिष्ट श्रेणी ल्याएरै छोड्यो ।
उसको सपनमा उसका मातापिता पनि प्रेरणाको स्रोत नै भएर रहेका थिए । एक दाजु अनि तीन दिदीबहिनी सहितको सम्पूर्ण परिवारले सँगै बसेर देखेको सपनाझैँ नै थियो “उसलाई डाक्टर बनाउने सपना” ।
गाउँमा आइएस्सी. पढाउने कलेज थिएन त्यो बेला । कि त ऊ सदरमुकामको कलेज गएर पढ्नुपर्ने थियो नत्र भने काठमाडौँ उपत्यकाबाहेक अरू कुनै विकल्प नै थिएन ।
तर उसको साधारण कृषक परिवारले कहिल्यै पनि हार खान जानेको थिएन । ऋणधन जे गरेर भए पनि, मेलापात, मजदूरी, श्रमिक काम, जसरी भए पनि आफ्नो होनहार सदस्य हरि शर्मालाई चिकित्सक नै बनाएरै छाड्ने प्रतिज्ञा गरेको थियो त्यो शर्मा परिवारले ।
अतः एसएलसीको मार्कसिट पाएकै दिन हरिका बाबाले भने, “बाबु ! तिम्रो सानैदेखिको इच्छा डाक्टर बन्ने छ । डा. कमललाई तिमीले आफ्नो भविष्य, आफ्नो आदर्श बनाएको कुरा हामीले पनि बुझेका छौँ । गाउँको सरकारी स्कुल पढेर पनि तिमीले प्रवेशिकामा ८५ प्रतिशत ल्याएका छौ । अब हाम्रो चिन्ता गरेर गाउँकै खेतखलोमा आफ्नो समय बरबाद नगर तिमी । काठमाडौँमा नै जाऊ । हामीलाई त धेरै कुरा थाहा छैन, आफैँले बुझेर राम्रो क्याम्पसमा भर्ना होऊ । तिमी डाक्टर त बन्नैपर्छ छोरा ।”
बाबुआमा अनि परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन । छात्रवृत्तिका लागि हुने अप्ठ्याराहरूसँग पनि राम्रै परिचित थियो ऊ । त्यसैले “डाक्टर बन्ने सपना” लाई मन भित्रभित्रै गुम्साइराखेको थियो हरिले ।
तर आफ्ना बाबाले आफ्नो मनैको कुरा बुझेर त्यसो भन्दा उसका आँखामा आँसु थामिएन । घरको आर्थिक अवस्था बुझेर उसले भन्न त खोजेको थियो “तर बाबा………” ।
तर उसको कुरो पूरा हुनै नदिएर उसमा बाबाले भनिहाले ।
“ तरसर.. नभन छोरा । तिमीसँगै मैले पनि देखेको सपना हो तिमीलाई डाक्टर बनाउने । खुरुक्क जाऊ काठमाडौँ । हाम्रो डाक्टर बाबुका छोरा डा. विमल परिवारसँगै काठमाडौँमा नै बस्छन्, तिमीलाई थाहा नै छ । मैले कुरा गरिसकेँ उहाँसँग । त्यहीँ बसेर डाक्टर बाबुको परिवारलाई बिहानबेलुकी काममा सहयोग गरेर दिउँसो क्याम्पसमा पढे भइहाल्छ नि । हुँदैन ? बस्ने र खाने ठाउँको राम्रो जोहो भएपछि त पढ्ने काम त तिमीले राम्ररी गरिहाल्छौ नि । फेरि डा. विमलले तिमीलाई राम्ररी नै चिन्छन् । अनि उनकै बाटो हिँड्न खोजेका तिमीलाई उनको अभिभावकत्वले पनि राम्रो नै गर्छ । कि कसो ?”
आफ्नो सपना पूरा हुने मार्गमा बाबाको साथ सहयोग पाएपछि हरिले झन् अफ्नो खुसीलाई लुकाउन नै सकेन । “हस् बाबा !” भन्दै ऊ खुसी भैहाल्यो ।
भोलिपल्ट गाउँपालिकाबाट विपन्नताको प्रमाणपत्र आदि लिएर काठमाडौँतर्फ भनौँ या आफ्नो सपनाको मार्गतिर प्रस्थान गऱ्यो हरि ।
डा. विमलको परिवारले उसलाई राम्रो सहयोग गरे । बिहानीबेलुकी घरको काम गरेबापत उसलाई खाने बस्ने, पकेट खर्च दिने सबै व्यवस्था गरे । कलेजमा भर्ना हुने पैसा, पाठ्यपुस्तक आदिको केही पनि अभाव हुन दिएनन् तिनले । डा. विमलले उसको पढाइमा पनि धेरै नै सहयोग पनि गरे । बिहानबेलुकी उसले नजानेको विषयमा सिकाउने—पढाउने—बुझाउने पनि गरे । त्यहाँको राम्रो वातावरणमा अनि डा. विमलको अभिभावकत्वमा पढ्न पाएरै होला, दुई वर्षमा आइएस्सी पनि उसले राम्रै अङ्कमा उत्तीर्ण गऱ्यो ।
अब सुरु भयो उसको साँच्चिकैको सङ्घर्ष । डाक्टरी पढ्ने छात्रवृत्तिका लागि ठुलो दौडधुप । बिसौँ लाख खर्च गरेर डाक्टरी पढ्ने उसको हैसियत नै थिएन । उसले त्यसैले छात्रवृत्ति पाउनका लागि कम्मर कसेर पढ्न थालेको थियो ।
तर आइएस्सीसम्मको करिब बाह्र वर्षको अविराम अध्ययन यात्रामा कहिल्यै हतोत्साही हुन नपरेको हरिलाई छात्रवृत्तिको खोजतलासीमा समस्यैसमस्या देखा पर्न थालेका थिए । मेरिटमा नाम निस्कँदा-निस्कँदै पनि जात, धर्म, दुर्गमसुगम आदिका आरक्षण अनि कोटाका कारण उसले पालो पाउन सकिरहेको थिएन । पटक-पटकको प्रयासका बाबजुद पनि, अनि अविराम सङ्घर्ष अनि लक्ष्यचिन्तनमा दृढ अठोट रहँदारहँदै पनि उसको भित्री मनले अब भने हार खान थालिसकेको थियो । उसको अभिभावकत्वमा अटल रहेका डा. विमलका परिवार पनि कता-कता पिरोल्लिन थालिसकेका थिए । अनि उसलाई प्रेरणा, प्रोत्साहन एवं उसको सपनामा साथ दिने परिवार पनि आफ्नो प्रयास सार्थक नभएकामा चिन्तित हुन थालिसकेका थिए । आइएस्सी उत्तीर्ण गरेको दुई वर्ष बितिसक्दा उसले दुई–तीनओटा स्वास्थ्य प्रतिष्ठानमा, शिक्षा मन्त्रालयमा, अनि चार–पाँचओटा विदेशी दूतावसहरूले लिने प्रवेश परिक्षामा जाँच दिइसकेको थियो । तर के गर्नु ? सधैँभरि उसलाई “हात लाग्यो शून्य” ।
अब उसको डाक्टर बन्ने सपना धरमराउन थालिसकेको थियो । वैकल्पिक विषयहरूतर्फ अन्वेषण गर्ने चरणमा पुगिसकेको थियो ऊ ।
“रातमा निद्रा नलाग्ने, मुटु ढुकढुक गर्ने, चिन्ता लाग्ने” जस्ता समस्याहरू सुरु हुन थालिसकेका थिए उसमा । उसलाई धेरै नै चिन्तित अनि पीडित भएको देखेर पनि होला, डा. विमलले आफ्नो घरनजिकैको आफैँले काम गर्ने मेडिकल कलेजका मनश्चिकित्सकसँग परामर्शका लागि उसलाई एकपटक लिएर पनि गएका थिए ।
त्यस्तैमा एकदिन अनिँदो रातको पहिलो चरण बेलुकी करीब ११:०० बजे तिर ऊ सुत्ने कोठाको झ्यालबाहिर नै “मुर्दावाद ! मुर्दावाद !” जस्ता धमिला आवाजले झसङ्ग बनायो उसलाई । हता- हतार झ्याल खोलेर हेर्दा ऊ बस्ने डा. विमलको घरनजिकैको डा. विमलले नै काम गर्ने मेडिकल कलेजमा एउटा ठुलो भिड लागिसकेको देख्यो उसले ।
“हत्यारा डाक्टरलाई फाँसी दे !” भन्दै भिड अस्पतालको ढोकाभित्र पस्न खोज्दै थियो । भिडका केही उद्दण्ड केटाहरूले अस्पतालका झ्याल, ढोका, गाडी तोडफोड गर्न थाले । त्यहाँ पुलिसको गाडी पनि देख्यो उसले ।
त्यस्तैमा दुई जनाले सेतो एप्रोन लगाएका डाक्टरलाई कठालो समातेर बाहिर निकाले अनि भिडले ती डाक्टरमाथि लाठीमुड्की बर्साउन थाले ।
उसले टिभी खोलेर हेर्दा “डाक्टरको लापरवाहीले बिरामीको मृत्यु, अस्पताल तोडफोड” भन्ने ब्रेकिङ न्युज आउन थालिसकेको थियो । अनि न्युज फुटेजमा पिटाइ खाइरहेको डाक्टरको अनुहार पनि देख्यो उसले । त्यसपछि त ऊ झनै चिन्तित भयो । ती पिटाइ खाने डाक्टर अरू कोही नभएर उसकै आश्रयदाता अनि अभिभावक डा. विमल नै थिए ।
आइएस्सीका दुई वर्ष अनि डाक्टरी इन्ट्रान्स तयारी, अनि दुई वर्षको स्वाध्ययनले नै उसले बुझिसकेको थियो कि स्वास्थ्यकर्मीहरूले जानाजान लापरवाही गरी बिरामी मर्न जाने स्थिति खासै आउँदैन । त्यसमाथि डा. विमलजस्ता देवतासरहका मानिसले त्यस्तो लापरवाही गरी मान्छे मार्ने कुराको त कल्पना नै गर्न सक्दैनथ्यो ऊ तर पनि त्यो भिडको मनोविज्ञान बुझिनसक्नुको थियो । लाठीमुड्की खाने डा. विमलको अनुहार उसलाई साह्रै नै टिठलाग्दो लाग्न थाल्यो ।
“हरे ! उसको १४–१५ वर्षको निरन्तर मिहिनेत अनि “डाक्टर बन्ने सपना” त्यसैका लागि थियो त ? त्यस्तो डाक्टरका लागि जसलाई विनाकारण भिडले जुनसुकै समयमा लाठीमुड्की बजाउन सक्छ । जसको स्वाभिमान, अनि स्वत्वमा जुनसुकै समयमा पनि प्रहार हुन सक्छ । जुनसुकै समय ऊ दानव या हत्यारा करार गराइन सक्छ ।”
ऊ सोचमग्न भयो ।
छात्रवृत्तिको सङ्घर्षमा जहाँ पनि हार पाइरहेको उसको मन अब भने साँच्चै नै डरायो ।
क्लान्त हृदयका साथ उसले गाउँमा आफ्नो बाबालाई त्यही नै समय फोन गऱ्यो र भन्यो, “भैगो बाबा ! मलाई अब डाक्टर बन्नु छैन । म त्यो डरलाग्दो सपना अब देख्दिनँ बाबा । म अब अर्को बाटो लाग्छु । तपाईँ पनि अब दुःख नगर्नुहोला मेरो डाक्टरी सपनाका लागि……..”
बाबाले भने, “तर बाबु……….”
तर बाबाको वाक्य पूरा हुन भने पाएन ।
आफ्ना बाबाको पूरै कुरै नसुनी उसले फोन राखिसकेको थियो ।
सारा परिवारले नै मिलेर देखेको बर्सौँको एउटा सपना त्यहाँ मरि नै सकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










