अचेल आफ्ना व्यापार, बिजनेस, उद्योगधन्दा र जागिरबाट फुर्सद पाएपछि प्रायः मान्छेहरू सेतो भित्तो चलाउने गर्छन् । साँच्चै भन्नुपर्दा अचेल सेतो भित्तो नचलाउने को होलान् र ? बच्चा होस् या वृद्ध यिनीहरू सबैका लागि सेतो भित्तो एउटा ड्रग्स बनिसकेका छन् ।
यो एउटा नराम्रा कुलत हुन् अचेल पूरै विश्वकै लागि । मानिस बरु शारीरिक रोगबाट उपचारपछि मुक्त हुन सक्छन् तर यी कुलतको मानसिक लतबाट भने मुक्त हुन सायद असम्भव नै होला भन्ने लाग्छ मलाई ।
कुलत भन्दैगर्दा, साउदी अरबबाट फर्केका एक जना मेरो मन मिल्ने साथीले एउटा जोक सुनाएको कुरा अझै म झलझली सम्झिन्छु । उसले कुरैकुरामा मलाई भनेको थियो, “हेर् साउदीमा त आइमाईहरू गर्भवती भो भने बच्चाहरू पेटबाहिर निस्कनै मान्दैनन् रे, बुझिस् ।”
मलाई भने उसको कुरा सुनेर हाँसो उठ्यो र अनौठो लाग्यो पनि । अनि उल्टै उसैलाई नै छेड हान्दै भनेँ, “बाहिर ननिस्केर के पेटभित्रै बसिरन्छन् रे त ? त्यसैले होला, एउटै बाउका साउदीहरूका चालिसचालिस बच्चाहरू भएका । त्यही बाहिर निस्कन नमाने र पो रै’छ हगि ?
“तँलाई कसरी था भो ? यी सब कुरा ।” उसले मलाई मेरो दायाँ तिघ्रामा प्याट्ट हान्दै भन्यो ।
“था हुन्छ नि हौ, मलाई पनि अलिअलि त ।” मैले व्यङ्ग्यपूर्वक दुइटै आँखी भौँ माथि उचाल्दै भनेँ ।
मलाई हेरेर ऊ मुस्कुरायो मात्रै ।
“अनि भन्न त, बच्चा बाहिर नआउने कारण ?” मैले भनेँ ।
“सुन्छस् त, लौ सुन् ।” उसले सनाउन सुरु गऱ्यो ।
“हेर् । साउदीमा गरिब होस् कि धनी सबैले कार चढ्छन् । बच्चा-बच्चाले पनि थोत्रो कार किन नहोस् कुदाएकै हुन्छन् । उनीहरूका हिसाबले उनीहरूलाई कार किन्न त्यति महँगा पनि पर्दैनन् । पुराना-पुराना राम्रा कारहरू पन्ध्रसयदेखि दुई हजार रियालमा आइहाल्छन् ।
उनीहरूलाई त्यति जाबो रुपियाँ कुन ठुला करा हुन् र ? उनीहरूलाई कार किन्नु भनेको त नि यहाँ नेपालमा साइकल किनेजस्तै हो, बुझिस् ।
सुन् । तेसैले त्यहाँ कुन गरिब, कुन धनी सबैले कार चढ्छन् । कुन बुढो, कुन बच्चा सबैले कार कुदाउँछन्, बुझिस् ।”
उसले यति भनेर प्यान्टको खल्तीमा हात घुसाऱ्यो । एउटा चुरोटको डब्बा निकाल्यो र डब्बाबाट एउटा खिल्ली निकाल्यो र सोध्यो मलाई – “म्याचिस छ ?”
मैले म्याचिस दिएँ उसलाई । उसले टेबुलको य्राग तानेजस्तै गरी म्याचिसको य्राग तान्यो र एउटा खल्ली झिकेर छ्यास्स गरी कोऱ्यो । तिल्ली झिर्र गरेर बल्यो । त्यही बलेको तिल्लीमा चुरोटको खिल्ली सल्कायो र एक सट तान्यो । फुलेको मुख आकाशतिर फर्केर एक मुस्लो धुवाँ छोड्यो र भन्यो उसले, “अनि थाहा छ ? साउदीका बच्चाहरू हामी नेपालीका बच्चाजस्ता सोझा हुँदैनन् नि, बुझिस् ? लास्टै जिद्दी हुन्छन्, जिद्दी । प्रसव पीडाको अवस्थामा बाउले बोलाउँछन् रे बच्चालाई तर बच्चा पेट बाहिर मारिकाटे आउनै मान्दैन रे ।”
बाउले भन्छ रे – “यल्ला ताल्, हामी .. हामी .. बर्रा । यल्ला ताल् ।”
पेटको बच्चाले भन्छ रे, “ला.. ला.. । अना अब्गा आओल सयारा । बादिन् अना इजि” बुझिस् ।”
म उसको कुरा सुनेर अक्क न बक्क तीन छक्क परेँ । बुझेको भए मारिदिनू मलाई । मलाई उसको कुरा सुनेर निकै रमाइलो लाग्यो पनि । “ती भनेका के होलान्” मनमा मलाई सोधूँ-सोधूँ जस्तो भयो ।
उसले चुरोटको दोस्रो सट् पनि तान्यो र त्यसरी नै धुवाँ छोड्यो आकाशमा । आकाशमा उसले छोडेको चुरोटको धुवाँले एक छुट्टै राम्रो आकार लियो बादलको । सायद, उसलाई यसरी चुरोटको धुवाँको बादल बनाउने सोखै थियो क्यारे । जहिल्यै म ऊसँग हुँदा यसै गरी नै चुरोटको धुवाँले आकाशका बादलजस्तै विभिन्न बादलहरू बनाउने गर्थ्यो उसले । उसको यो कला नै थियो धुवाँको बादल बनाउने ।
कहिलेकाहीँ मलाई भन्थ्यो, “हेर्, म अब तँलाई कसरी धुवाँको बादल बनाएर देखाउँछु ।” भन्दै स्वाट्ट चुरोट तानेर आकाशमा बादल बनाएर देखाउँथ्यो पनि । म हेरेर तीन छक्कै पर्थेँ ।
“ए, क्या हो ? त्यो भनेको, भन्त” मैले ऊतिर फर्कँदै फेरि सोधेँ ।
“लु तान् ।” उसले चुरोटको ठुटो मलाई थमाउँदै भन्यो । मैले पनि एक सट् तानेँ र एक मुस्लो बादल छोडेँ हावामा उसलेजस्तै गरी ।
उसले फेरि सुरु गऱ्यो, “त्यो भनेको चाहिँ आइज .. । आइज .. । छिट्छिट्टो बाहिर निस्की भनेको हो । र बच्चाले भनेको चाहिँ नाइँ .. । नाइँ .. । जबसम्म मलाई कार किनिदिँदैनस् नि तबसम्म म आमाको पेटमा नै बस्छु भनेको हो ।” उसले मलाई हातमा दोस्रोचोटि चुरोट थमाउँदै अरबी भाषाको अर्थ अर्थ्यायो ।
मलाई उसको कुरा सुनेर नराम्रो गरी हाँसो उठ्यो । म मूर्च्छा परी-परी हाँसेँ । ऊ पनि म सँगसँगै हाँस्यो र फेरि भन्यो उसले, “सुन् । अनि नि.., बाउले हत्त न पत्तो प्लास्टिकको कारको खेलौना लगेर बच्चा पाउने ठाउँमा देखाइदिन्छ रे । अनि पो बच्चा खुसी भएर फुत्त बाहिर आउँछ रे, बुझिस् ।”
हा…हा…हा… ।
हा…हा…हा… । हामी फेरि पुनः मज्जाले मूर्च्छा परी-परी दुवै जना हाँस्यौँ ।
उसले भन्यो मलाई अन्तमा – “बुझिस्, लत भनेको ऊ ..त्यस्तो हुन्छ । साउदीका आइमाईहरूका पेटभित्रका बच्चाहरूजस्ता, कारविना बाहिर आउनै नमान्ने । अहिले साउदीका गर्भवती महिलाहरूमा अक्सर यही समस्या छन् रे, बुझिस् । हरेक कुराका लत हुन्छन् । त्यो पनि एउटा नराम्रो लत नै हो ।” उसले यति भनेर कुरा टुङ्ग्यायो ।
“यत्रो हुन्छ लत । यस्ता वाहियात कुरा पनि लतमा जोडेर कहीँ हुन्छ ? यो अम्मलको लत हो र ? गफाडी, जेपिटी … ” मैले मनमनै भनेँ ।
साथीले भनेको लतको कुरा सम्झिँदा, मलाई शूरवीर कविको याद आयो । आजका कथा उनै कवि शूरवीरमाथि …. ।
कथा सुरुहुन्छ –
अक्षरका खेती गर्नेहरू आफ्ना रचनाहरू फेसबुकको वालमा राख्ने गर्छन् भने खेती नगर्नेहरूले आफ्ना फोटा राख्छन् र लाइक र कमेन्टका प्रतिक्रियाहरू लिँदैदिँदै साथीभाइ र आफन्तसँग रमाउने गर्छन् । यो पनि लतै हो । यसबाट छुटकारा पाउन पनि आकाशबाट तारा खस्नुजत्तिकै असम्भव नै हुन्छ भन्छु म ।
यस्तै फेसबुक चलाएर रमाउनेमध्येमा एक जना कवि थिए । जसको नाम शूरवीर थियो । उनी जे कुरामा पनि सुरो थिए । आँटिला थिए । हक्की थिए । सत्य कुरामा डटेर लड्थे र बम पड्केजस्तै पड्किने गर्थे । त्यसैले गाउँमा उनको नामै शूरवीर राखिएको थियो । पछि यही नामले उनी प्रसिद्ध भए । कवि भए । कवि भएर पनि उनको नाम शूरवीर नै रह्यो ।
उनले बेला-बेलामा राम्रा-राम्रा कविताहरू लेखेर कहिले आफ्नै सेतो भित्तोमा अपलोड गर्ने गर्थे । कहिलेकहीँ ‘समकालीन साहित्य प्रतिष्ठान’ ग्रुपमा पनि पोस्ट गर्ने गर्थे । उनले मुहार पुस्तिकालाई सेतो भित्ताको संज्ञा दिएका थिए । हुन पनि हो, फेसबुक आफैँमा एउटा सेतो भित्तो न हो । र सेतो भित्तामा चलमलाइरहेका अक्षरहरू बाटामा हिँडेका काला कमिलाजस्ता न हुन् ।
एक दिन फेरि उनले एउटा राम्रो गद्य कविता पोस्ट गरे आफ्नै सेतो भित्तामा । सायद, कविता पोस्ट गरेका दिन भ्याएनन् क्यारे कविले सेतो भित्तो सुमसुमाउन । अफिसबाट फर्केपछि भोलिपल्ट रातिको ठिक सात बजेपछि आफ्नो सेतो भित्तामा उनले आफ्ना एक जोर आँखाहरू उडाए ।
आँखाहरू भुर्र उडेर गएर सेतो भित्ताको वाउ, आहा !, सुन्दर, मार्मिक, समकालीन तथ्यको एक जीवन्त कथा हो यो कविता, साह्रै मार्मिक सलाम छ कविलाई आदि, इत्यादिजस्ता सुन्दर प्रतिक्रियाहरूका हाँगाहरूमा गएर बसे ।
फेरि भुर्र उड्दै अर्को हाँगामा गएर बसे । फेरि उडे । फेरि अर्को हाँगामा गएर बसे । एवं रीतले यो हाँगाबाट अर्को हाँगा, अर्को हाँगाबाट अर्को हाँगा गर्दै-गर्दै भएभरका सबै हाँगाहरूमा उनका एक जोर आँखा डुल्न भ्याइसकेका थिए ।
कविले सबै प्रतिक्रियाहरू पढिसकेपछि उनी आफैँमा प्रफुल्ल भए । रमाए । उनले मनमनै सोचे र भने, “अहो ! राम्रा सृजनालाई त साँच्चै मन पराउँदा रहेछन् कवि साथीहरूले पनि ।
फेरि मनमनै सोचे उनले । “अहो ! यत्तिका साथीहरूका प्रतिक्रियाका जबाफ लेखेर फर्काउन थालियो भने त भोलि बिहानै पो हुने रहेछ । सुत्नु पनि त पऱ्यो … । भोलि अफिस पनि त जानुपऱ्यो … ।”
उनले यस्तै-यस्तै सोची आफ्नो मोबाइलमा सेभ गरी राखिएका Thanks/Thank you/Thank you so much का अङ्ग्रेजी स्टिकर सबैलाई एक-एक गरी पठाउने निर्णय गरे ।
उनले करिब दुई घण्टा आफ्ना समय खर्चेर सबैलाई आदरका साथ स्टिकर पठाए र बत्तीको स्विच अफ गरी निद्रालाई सम्झे ।
भोलिपल्ट पनि उनका आँखा सरर मोबाइलको स्क्रिनमा गएर अडिन्छन् । उनले सेतो भित्तो खोले र हिजो अपलोड गरिएका कवितामा आँखाहरू कुदाए । आएका सबै कमेन्टहरूमा सरर आफ्ना आँखा दौडाए । कमेन्टलाई क्लिक गर्दै हेर्दै गरे । आँखाहरू उत्ताउला हुँदै थिए राम्रा-राम्रा कमेन्टहरूका स्वाद चाख्नलाई । यत्तिकैमा आँखाहरू कुद्दै गएर एउटा कमेन्टमा गएर टक्क उभिन्छन् ।
कमेन्टलाई क्लिक गरे । कमेन्ट सरर खुल्यो । उनले एकसर पढे त्यो कमेन्ट । कमेन्ट पढेसकेपछि भने घाम ओथरा बसेपछिको अँध्याराजस्तै उनले अनुहार अँध्यारो बनाए ।
कमेन्टमा लेखिएको थियो, “तपाईँ जत्तिको मान्छेले यसरी स्टिकरको ‘Thank you’ पठाउन नहुने ।”
सायद, त्यो कविले कवि शूरवीरबाट निकै कृतज्ञताको अपेक्षा गरेको थियो होला । उसले मनमनै सोचेको हुँदो हो, “मैले देको प्रतिक्रियाको आभार तथा धन्यवाद पाँचदेखि दस वाक्यसम्म लेखिएर आउलान् । किनकि मैले कविताको राम्रो प्रशंसा जो गरेको छु । यति त मेरो हकै बन्छ नि, यस्तै-यस्तै ।”
तर उसले सोचेबमोजिमको उत्तर नपाउँदा उसलाई साह्रै चित्त दुखेको थियो । सबैभन्दा बढी चित्त त उसलाई उनले पठाएको स्टिकरदेखि थियो । सायद, उसको विचारअनुसार हातले लेखेको कमेन्टमा हातैले लेखेर कृतज्ञाता प्रकट गर्नुपर्छ भन्ने थियो ।
त्यसैले त उसले यति धेरैका अपेक्षा गरिरहेको थियो शूरवीर कविसँग तर कविसँग समय थिएन होला र त हतारमा स्टिकरले कृतज्ञता प्रकट गरे भन्ने त्यति बुझ्न कोसिस भने गर्दै गरेन उसले ।
तर शूरवीरलाई त्यो कमेन्टले बिस्तारै चस्स-चस्स घोच्दै लग्यो । हत्त न पत्त उनले त्यो कवि साथीको फेसबुक प्रोफाइल चेक गरे । उनले उसको मित्रताको सूचीबाट आफूलाई अन्फ्रेन्ड गरिएको पाए, ब्लक नै भने गरिएको भने थिएन तर पनि उनले मन अमिलो बनाए ।
उनले फेरि मनमनै सोचे र आफ्नो चित्त च्याती-च्याती म्यासेज लेखे – “सर नमस्ते । यति सानो कुरामा हजुरले मलाई अन्फ्रेन्ड गरिदिनुभएछ । ठिकै छ, दुई सय पचास जनालाई मैले लेखेर प्रतिक्रिया दिन थाल्दा रातै कट्थ्यो । त्यही भएर मैले छिटो र छरितोका लागि स्टिकर पठाएको थिएँ । आखिरी लेखी पठाउने र स्टिकरहरूमा भएका कृतज्ञताका अर्थ एउटै त हुन् भन्ने सोचेँ ।
सायद, तपाईँको बुझाइमा स्टिकरको धन्यवाद र लेखी पठाइएका धन्यवादका बिच पनि फरक-फरक अर्थ लाग्दा रहेछन् क्यारे तर मेरा लागि भने दुवैको एउटै अर्थ बुझेको छु । स्टिकरको धन्यवाद भनेको पनि धन्यवाद नै हुन् । स्टिकरको कृतज्ञता भनेको पनि कृतज्ञता नै हुन् । मेले पढेको र बुझेको शब्दकोशबाट यही अर्थ सिकेको हुँ । सायद, तपाईँले पढ्ने गरेको शब्दकोश नितान्त फरक हुन सक्छ मैले पढ्ने गरेको शब्दकोशभन्दा ।
तपाईँले यसो गर्नुभनेको आफैँलाई भाउ लगाउनु हो । एउटा कुरा याद गर्नुहोला कविज्यू, भाउ आफूले आफूलाई कहिल्यै लगाउने होइन । भाउ भन्ने कुरा अरूले लगाउने हो । जस्तो कि- सुन, चाँदी र हिराले आफ्नो भाउ कहिल्यै लगाउँदैनन् । उनीहरूका भाउ बजारले तय गर्छन् ।
तपाईँले मलाई अन्फ्रेन्ड मात्रै गरिदिनुभएछ । ठिकै भयो । नत्र भने मैले आफूभित्र गुम्सिएका गुनासाहरू तपाईँलाई पोख्ने यो सुन्दर मौका कहाँ पाउँथेँ र ? कि कसो हो ? ए मेरो आदरणीय कविज्यू । अब म यहाँलाई सधैँका लागि ब्लकका चार पर्खालभित्र कैद गरिदिनेछु । अर्थात् म मेरो सेतो भित्ताबाट यहाँलाई ब्लक गरिदिनेछु ।”
कविले म्यासेन्जरमा यसरी लेखी पठाएका म्यासेजमा तुरन्तै सिन देखियो । उनले बुझिहाले कि, उसले मेरो म्यासेज हेऱ्यो भन्ने । उनले एकछिन कुरे र अझै पूरै पढून् भनेर केही समय पर्खे । त्यसपछि उनले उसलाई ब्लकको गारो उठाई हमेसाका लागि बन्द गरिदिए ।
केही महिनापछि एउटा साहित्यिक कार्यक्रममा त्यही कवि फेरि भेटियो उनै शूरवीर कविसँग । ऊ उनलाई देखेर रातोपिरो भयो । नजर टिकाइरहन सकेन र आँखा तल झाऱ्यो उसले । बिचरो आफैँ निचरिएर डल्लो पर्नुसम्म परे तर शूरवीरले भने स्वाभिमानको आफ्नै दुई खुट्टामा उभिरहे । उभिरहे । उनका ओठमा खुसीका चरीहरू भुर्र-भुर्र उड्दै बस्दै गरिरहेका थिए ।
कार्यक्रम सुरु भयो । उद्घोषकले लेखिएका कविहरूका सूची हेर्दै सबैलाई एकएक गरी डाक्न थाल्यो । सबैले आआफ्ना पालोमा आआफ्ना रचनाहरू वाचन गरे । शूरवीर कविले पनि एउटा कविता वाचन गरे । उनका कवितामा पनि अरूकाझैँ ताली गडगडाएर बजे । त्यसपछि उसको पालो आयो । उद्घोषकले उसलाई पनि बोलायो तर ऊ अझै देखा परेन । फेरि बोलायो उसलाई । अझै देखा परेन ऊ । उद्घोषकले तेस्रोचोटि पनि नाम काटेर डाक्यो उसलाई ।
यसरी उद्घोषकले नाम काटेर डाकिरहँदा हलमा भएका सबै साहित्यकारहरूले घाँटी तन्काई-तन्काई एकअर्कालाई हेरे । डाकिएको कविलाई पछाडि फर्की-फर्की हेरे तर ऊ देखा परेन । अन्ततः उसले कविता वाचन नै गरेन ।
त्यसपछि, प्रमुख अतिथिले बोलिसकेपछि उद्घोषकले अन्तमा दुई शब्द बोल्दै कार्यक्रम समापन गरिदिनुहुन भनी सभापतिलाई डाक्दै आफू पनि बिदा भएको घोषणा गऱ्यो ।
साहित्यकारहरूका भिडबाट तररर ताली एकैसाथ गुन्जिन्छ । सभापतिको मन्तव्यपछि कार्यक्रम सकिन्छ तर त्यो भाउ खोज्ने कवि भने कविगोष्ठीमै थिएन । सायद, उसलाई आफैँले गरेको अहंताको गल्तीको अनुभूति भएको हुन सक्छ ।
त्यसैले, उभित्रका लाजका काँडाहरूले उसलाई चस्स-चस्स घोचिरहेका हुन सक्छन् । उसलाई लाग्यो होला, ऊ अब शूरवीर कविसँग उभिन पनि हिम्मत गर्ने छैन । आँखामा आँखा लडाउने छैन । सायद, यस्तै-यस्तै विचारहरूले उसलाई लाजको पानीले लुथ्रुक्क पारी भिजाएको हुन सक्छ । यही भएर पनि ऊ कवि शूरवीरसँग ओझेल भएको हुन सक्छ ।
कवि शूरवीरका एक जोर आँखाले भने उसैलाई खोजिरहे । पर-परसम्म पनि उसैलाई खोज्दै आँखाहरू दौडिरहे-दौडिरहे तर भाउ खोज्ने कवि भने कहीँ देखिएन ।
उनले फेरि मनमनै सोचे, “यो सेतो भित्ताले पनि गर्नु गर्छ । कति साथीहरू रिसाउनु रिसाए होलान् । यही सेतो भित्तामा सृजनाहरू पोस्ट गरेको देखेर कति मसँग त रिसाए पनि होलान् । सबैलाई खुसी पारेर पनि त कहाँ सकिन्छ र ? कतिले भने होलान् मलाई, “कस्तो ठिस रै’छ मुला … । त्यस्तो राम्रो प्रतिक्रिया दिँदा पनि धन्यवादसम्म पनि दिएन मलाई ।” फेरि भन्दा हुन्, “अबदेखि यी… नापेर ।” भन्दै आफ्नो कम्मरदेखि तल पनि देखाउँदा होलान् मुरमुरिएर ।”
कतिले भन्दा होलान्, ” त्यसको मात्रै कमेन्ट गर्नुपर्छ भन्ने छ र हामीले ? हाम्रोमा खै गरेको त्यसले कमेन्ट ? के हाम्रा सृजना त्यसका भन्दा कम छन् र ? भन्दै मलाई कतिले ब्लक पनि हाने होलान् । यसै पनि पाँच हजारको खुड्किलाबाट दुई-चार त जहिल्यै पनि घटि नै रहेका हुन्छन् । यो सेतो भित्ताले पनि गर्नुगऱ्यो ……………….. ।”
उनी यस्तै-यस्तै सोच्दै मुसुक्क हाँसे र रत्न राज्य पुस्तकालयको हलदेखि बाहिर निस्केर गेटबाहिर रोडमा आए । पुरानो बानेश्वरबाट कोटेश्वर हुँदै लगनखेल जाने क्युको आउँदै गरेको सफा टेम्पोलाई हातले रोक्ने इसारा गरे ।
टेम्पो उनीनजिकै आएर घ्याच्च अडियो । उनी टेम्पोमा चढे । टेम्पो हिँड्यो रोड, घर र बजार सबैलाई पछाडि-पछाडि छोड्दै ।
टेम्पोमा बस्दाबस्दै कवि शूरवीरले फेरि सम्झे आफू सानै हुँदा ‘नमस्कार बाजे’ को ल्ह्वागुन कामीले सुनाएको कथा ।
दसैँ आँगनमै टुप्लुक्क आइपुग्ने बेला भैसकेको थियो । त्यही दसैँको बाली उठाउन भनी माथिल्लो टोलबाट ल्ह्वागुन कामी आँगनमा सुतरीले बुनेको ठुलो बोरा काँधमा भिर्दै टुप्लुक्क देखा पऱ्यो ।
ल्ह्वागुन कामीले मगर टोल, नेवार टोल, सुब्बा टोल र गुरुङ टोल समेत गरी चार टोलका लजोहरू कमाउने गर्थ्यो । सालभरि कमाउने र वर्षको एकचोटि दसैँको बेला पारि विष्टहरूले भदौरे बाली भित्र्याएपछि बाली उठाउने गर्थ्यो उसले ।
“लजो हजुर । लजो ? कोही हुनुहुन्छ घरमा ?” ल्ह्वागुन कामीले ठुलो आवाज गरेर करायो र बलेँसीनेर टुक्रुक्क बस्यो ।
“घ्वाङ… घ्वाङ …घ्वाङ…घ्वाङ ।” आवाज सुनेर छेउमै सुतिरहेको एउटा कालो कुकुर जुरुक्क उठेर भुक्न थाल्यो ।
उनी पनि त्यही बेला माथि चोटाबाट तल ओर्ले । “बाजे नमस्ते” दुई हात जोड्दै नमस्ते गरे उनले । उनले कुकरलाई “मान्छे चिन्दैनस्” भन्दै खुट्टा उचालेर कुट्छु जस्तै गरी कराए ।
कुकुर डरायो । पुच्छरले आफ्नो लाज छोप्यो कुकुरले र भुक्न छोड्यो । कुकुर लुसुक्क लुस्कियो करेसा बारीतिर । कुकुर उतै हरायो ।
“बाजे एकछिन कुर्नुहोला । बाआमा बारीतिर जानुभाछ । बाजेको अघिल्तिर ओसरामा बस्दै उनले भने ।
फेरि उनले उठेर “ए ! बा …. । ए ! आमा …. । ल्ह्वागुन बाजे बाली उठाउन आएका छन् । झट्टै आउनू… है…झट्टै” उनले मुखमा दुइटै हत्केलाले कुप्रो छेका पार्दै पूर्वतिर फर्की लामो स्वर गरेर डाके बाआमालाई र फेरि बसे ।
“ल हौ … लौ ..” आमाको सुरिलो लामो आवाज गुन्जियो हावामा ।
एकछिनपछि बाआमा आए बारीबाट । बा रित्तै थिए तर आमाको पिठ्युँमा भने एक भारी घाँससहितको डोको थियो ।
“नमस्कार बाजे को कथा नसुनाउने बाजे आज ।” उनले बाजेतिर हेर्दै भने ।
“सुन्ने हो र ?” मुसुक्क हाँस्दै भन्यो ल्ह्वागुन बाजेले ।
बाजेले कथा सुरु गरे । उनले बाजेको कथा ध्यानले सुन्न सुरु गरे । यी दुवै एकैसाथ भए, अर्थात् सुन्ने र सुनाउने कार्य ।
कथा सुरुहुन्छ –
“हेर बाबु ! एउटा बाहुन थिए । उनी आफूले आफूलाई निकै ठुलो मान्छे मान्थे । बाहुनको जात, चिल्लोचाल्लो त हुने नै भए । उनी हुनेखाने पनि थिए । वरपरका र गाउँघरका मान्छेहरूले उनलाई नमस्कार गर्दा निकै खुसी हुने गर्थे उनी ।
त्यही गाउँमा उनै बाहुनका घरदेखि दुई घर पर छाडेर एक जना बिर्खे कामीका पनि साना घर थिए । उनी पनि मजस्तै लजो कमाउथे । उठ्दा, बस्दा उनै बाहुनका आँखासँग आँखा जुद्थे उनका । साँझै बेलुका उनै बाहुनका अनुहार नहेरी सुखै पाउँदैन थिए बिचरा बिर्खेले
“नमस्ते बाजे” बिहानै उठ्यो ।
“नमस्ते बाजे” दिउँसै भेट्यो ।
“नमस्ते बाजे” साँझै भेट्यो ।
यसै गरी बिर्खेले ती बाहुन बाजेलाई सम्मान, सत्कार र अविभादन गरिरहन्थे तर एक दिन खै कसरी बिर्खेले बाजेलाई भेट्दा “नमस्ते बाजे” भन्नै बिर्सेछन् ।
उनी कुन धुनमा थिए । कुन पिरमा थिए । कुन सोचमा थिए । उनै बिर्खेले जानून् कि दैवले जानून् । बस् ! पुग्यो त्यो दिनदेखि ती बाहुन बाजेलाई ।
उनी रिसाए बिर्खेसँग । रिसाउनुसम्म रिसाए । भेट्दा पनि डेरो आँखाले बिर्खेलाई हेर्न थाले । रिसले आँखा नै बाहिर आउलाजस्तो गरी राता-राता आँखाले हेर्न थाले । लाग्दो हो बाहुनलाई, मिल्ने भए बिर्खेलाई चारपाता कसेर कोर्राले पिट्ने मन गर्दो हो । मिल्ने भए, बिर्खेलाई कपाल मुडुलो बनाएर घाँटीमा जुत्ताचप्पलको माला लगाई सात गाउँ कटाउने विचारसम्म पनि उठ्दो हो । के-के उठ्दो हो, उठ्दो हो ती बाहुनका मनभित्र । उनै बहुनले जानून् कि दैवले जानून् ।”
उसले भन्दै गयो, “बिर्खेले मनमनै सोचे । हैन, यी बाहुन बाजे अचेल मसँग किन टेडिन्छन् ? किन राता-राता आँखा पारी हेर्छन् मलाई कुटुँलाजस्तै गरी । उनले निकै गहिरो विचार गरी बाहुन रिसाउनाका कारण खोतल्न थाले ।
उनले झट्टै सम्झे । लागे उनलाई बाहुन रिसाउनाका कारणको रहस्य सबै खुल्यो अब । बिर्खे मुसुक्क हाँसे र मनमनै भने, “थुक्क बिर्खे, तँसँग बाहुन रिसाउनेको कारण त यो पो रहेछ ।” बिर्खेले ती कारण सम्झे, बिहीबार दिउँसो बाहुन हाट जाँदा बाटामा जम्काभेट भएको तर “नमस्ते बाजे” भन्न बिर्सिएको । उनले मनमनै भने – “ए त्यो पो हो बाजे रिसाउनका गाँठी कारण त ।”
अब बिर्खेले आफूमा निर्णय गरे र मनमनै भने, “कसैले तपाईँ भनोस् कि नभनोस् आफैँ मपाइँ । तँलाई… जान्या छु, बाहुन बाजे, जान्या छु । अब तँलाई भेटैपिच्छे नमस्कार गर्दा-गर्दा हैरान पार्नेछु र मदेखि तँलाई तर्केर भाग्ने नबनाई त कहाँ छाड्छु र ?”
नभन्दै बिर्खेले त्यसै गरे ।
“नमस्ते बाजे” बिहानै उठ्दा ।
“नमस्ते बाजे” दिउँसो भेट्दा ।
“नमस्ते बाजे” साँझ भेट्दा ।
“नमस्ते बाजे” बाटामा भेट्दा ।
“नमस्ते बाजे” घरमा भेट्दा ।
“नमस्ते बाजे” काम परेर भेट्दा ।
“नमस्ते बाजे” काम नपरीकन पनि भेट्दा ।
छिनछिनमै नमस्ते । छिनछिनमै नमस्ते ।
नमस्ते ।
नमस्ते ।
नमस्ते ।
नमस्ते ।
यसरी बिर्खेले बाहुन बाजेलाई “नमस्ते” गर्दा-गर्दा हैरानै बनाए र लाजले घरको घरै लुक्ने बनाई छाडे ।
एक दिन ती बाहुन बाजेले बिर्खेलाई भेटेर एकान्तमा बोलाए र दुई हात जोड्दै भने, “हेर् बिर्खे । मबाट गल्ती भो । मलाई माफ गरिदे । म जातको पनि बाहुन । यो गाउँका पनि ठुलाबडा मान्छे त्यो तँलाई थाहा छँदै छ । अलिकति ममा अहं थियो । सायद, मभित्र त्यो अहंको शैल पलाउनु भनेको मेरो दोषभन्दा पनि बढी दोष आफू बाहुन जात भएकाले भन्ने बुझ्छु म । यहाँ कोही ठुलासाना नहुँदा रैछन्, हेर् । यो कुरा तैँले मलाई राम्ररी बुझाइस् । हामी मान्छे हौँ । हामी मान्छेले मान्छेलाई होच्याउनु हुन्न रै’छ भन्ने कुरा मैले राम्ररी सिकेँ तँबाट, हेर, बिर्खे ।
मलाई माफ गरिदे । हेर्, यसरी मलाई बाटाघाटा, घरदैलामा आएर घण्टैपिच्छे नमस्कार बाजे, नमस्कार बाजे गरी मैले गरेको गल्तीको बदलाको भावले मलाई बैजत नगर्, हेर् बिर्खे ।”
उनले लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झे –
“क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले होइन ।
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” बिर्खेको दुई हातमा आफ्नो दुई हातले समाएर आँखाभरि आँसुपारी माफी माग्दै भने ।”
बाहुन बाजेको करुणात्मक क्षमायाचना देखेर बिर्खे स्वयं बरफको ढिक्काझैँ पग्लेर पानी-पानी भए । बाजेसँग झुके । उनले पनि दुई हात जोड्दै बाजेसँग माफी मागे । उनीहरूका बिच पुनश्च सदाकोझैँ मान, मर्यादा, सद्भाव टुसाउन थाले ।”
कोटेश्वर । कोटेश्वर । कोटेश्वर । कोटेश्वर ।
टेम्पो चालकको यो आवाजले कवि शूरवीर झस्किए । उनी कोटेश्वर नै झरे । ढोकानेर आएर चालकलाई पैसा दिए ।
उनले पुनः भाउ खोज्ने कविलाई सम्झे । नमस्कार बाजेलाई सम्झे । ल्ह्वागुन कामीलाई सम्झे ।
मुसुक्क हाँसे र भने, “नमस्कार बाजे” ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।