
हरेक वर्ष क्रिसमस नजिकिँदै गर्दा प्रख्यात उपन्यासकार चार्ल्स डिकेन्सको बहुचर्चित लघुउपन्यास ‘क्रिसमस क्यारोल’को खुब चर्चा हुने गर्छ । कतिपयले त यो लघुउपन्यासलाइ पुनः पठनसमेत गर्ने गरेका छन् ।
सन् १८४३ मा प्रथम पटक प्रकाशित क्रिसमस क्यारोल’ त्यो समयको सुपरहिट उपन्यास थियो । त्यसो त यो उपन्यास अहिले पनि उत्तिकै रूचाइन्छ । तर रोचक कुरा त, यो उपन्यास सुपरहिट भएपछि यस्तै विषयका थप चार वटा लघुउपन्यास डिकेन्सले लेखेका थिए ।
सन् १९४४ मा द चाइम्स, १८८५ मा द क्रिकेट अन द हर्थ, १८८६ मा द ब्याटल अफ लाइफ र १८४८ मा द हन्टेड म्यान बजारमा ल्याएका थिए ।
अ क्रिसमस क्यारोल हिट भएपछि उनले यसैको भावभूमि, यस्तै किसिमको नैतिक शिक्षालाइ आधार बनाएर अन्य क्रिसमस थिमका उपन्यास बजारमा ल्याएका थिए । प्रत्येक वर्ष उही चाडमाथि आधारित उपन्यास निकाले पनि पाठकहरूले यसलाइ औधि रूचाएका कारण उनले पनि पैसाको लोभमा दनादन थप चार वटा उपन्यास बजारमा ल्याएका थिए ।
यद्यपि, यी पाँचै लघु उपन्यासहरू त्यो बेला अत्यधिक रूचाइए पनि अचेल चल्तीभन्दा बाहिर भएको भन्दै चार्ल्स डिकेन्स म्युजियमले तिनलाइ चर्चामा ल्याउन अभियान थालेको छ ।
डिकेन्स म्युजियमकी क्युरेटर एमिली स्मिथ भन्छिन्, ‘डिकेन्सका यी पाँचै लघुउपन्यास पढ्दा आनन्द आउने र नैतिक कथाले भरपूर छन् । अ क्रिमस क्यारोलको चर्चा चाहिँ धेरै भयो । अहिले पनि क्रिसमसको समयमा त्यसको चर्चा हुने गर्छ तर अन्य लघुउपन्यास पनि कम्ती चाहिँ छैनन् । त्यो जमानामा पनि राम्रो बिक्री भएका थिए । १९ औँ शताब्दीका ती हिट उपन्यास यतिबेला बिर्सिएको छ ।
याद ताजा गराउन द क्रिकेट अन द हर्थ लघु उपन्यासमा प्रयोग भएका स्केचलाइ प्रदर्शनीमा राखिएको छ। जोन लिचले बनाएका स्केच धेरै वर्षअघि लिलामीमा एक जना धनाढ्यले संकलनमा राखेका थिए । तर पछि डिकेन्स म्युजियमलाइ ती स्केच उपहार दिइएको थियो ।
यतिबेला एमिलीले ती स्केचसँगै डिकेन्सका पुराना क्रिसमस विषयसम्बद्ध लघुउपन्यासहरू प्रदर्शनीमा राखेकी छन् । उनी भन्छिन्, हामीले प्रख्यात कुराहरूको मात्र चर्चा गर्नु हुँदैन । मान्छेलाइ थाहा नभएका कयौँ लुकेका पाटाहरू पनि चर्चामा ल्याउनु हाम्रो जिम्मेवारी हो । त्यसैले यी कुनै समयका हिट लघुउपन्यासको प्रदर्शनी गरेका हौँ ।
चार्ल्स डिकेन्सको परिवारकी एक सदस्य लुसिन्डा हक्स्ले स्वयं लेखिका हुन् । उनले आफ्ना कुप्रा खुप्रा हजुरबाका यी बिर्सिएका सिर्जनालाइ यसरी चर्चामा ल्याएकामा निकै खुसी व्यक्त गरिन् ।
उनले आफूले सुनेको कुरा खुलाउँदै भनिन्, ‘एक पटक उनी लन्डनबाट आफ्नी दिदीको घर म्यान्चेस्टर पुगेका थिए । उनले लन्डनको गरिबीभन्दा पनि म्यानचेस्टरको गरिबी चर्को देखे ।
उनले यो गरिबी, त्यहाँका सर्वसाधारणको पीडा खुल्ने गरी एउटा रिपोर्ट लेखी सरकारलाइ बुझाउने तयारी गरेका थिए । तर पछि उनलाइ अ क्रिसमस क्यारोलको कथा सुझ्यो ।
यो लघुउपन्यास लेख्दा उनी एक किसिमको डिप्रेसनको शिकार भएका थिए । यसअघि उनका दुइ उपन्यास सुपरहिट भएका थिए । ग्रेट एक्सपेक्टेसन र डेभिड कपरफिल्डको ज्यादै सफलतापछि उनले खासै केही राम्रो लेख्न नसकेको अवस्थामा उनले यो पर्वसाहित्य लेखेर आफ्नो गरिबी मात्र दूर गरेनन्, चाडको महत्त्वसमेत बढाइदिए ।
लुसिन्डा हक्स्ले भन्छिन्, शायद अ क्रिसमस क्यारोल यति धेरै हिट हुनुको कारण चाहिँ यो त्यो बेला नौलो सोच बोकेको कथा भएकाले हो । जब यो सोच हिट भयो, डिकेन्स बाले त्यसैलाइ भजाउन लगालग चार वटा लघुउपन्यास लेखे । तर ती पनि कम रोचक र पठनीय भने छैनन् ।
नैतिक कथा, प्रेमपूर्ण व्यवहार र पारिवारिक कथाले भरिएका यी लघुउपन्यासहरू हरेक वर्ष सम्झिइनै पर्ने लुसिन्डाको भनाइ छ ।
अ क्रिसमस क्यारोललाइ चाडलाइ नयाँ तरिकाले मनाउने र संस्कृतिको विजारोपण गर्ने उपन्यासका रूपमा समेत मानिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

