कसरी पोलो दाजुभाइ भेनिसबाटपुनः कुब्लाई खाँको दरबारमा फर्किए? कसरी मार्को पोलोलाई आफूसँगैको यात्रामा ल्याए?
एकातिर भेनिसमा निकोलोकी श्रीमतीको निधन भएको धेरै वर्ष भैसकेको थियो भने अर्कोतिर नयाँ पोपको नियुक्ति विभिन्न कारणले हुन सकिएरहेको थिएन । त्यसैले नयाँ पोप निर्बाचित भएपछि कुब्लाई खाँको आदेशको सम्बोधन हुने आशामा पोलो दाजुभाइ प्रतीक्षा गरिरहे । कुब्लाई खाँ असन्तुष्ट हुने कुराले चिन्तित हुँदै उनीहरूले दुई वर्ष बिताए । अझैं पोप नियुक्त नभएपछि उनीहरू खिन्न भए र अन्ततः आफ्नो असफलताको कारण खाँलाई बताउन फेरि पूर्व आउने निर्णय गरे । यसको लागि सुरुमा उनीहरू एकर जाने निर्णय गरे, जहाँ उनीहरूले नाबालक मार्को पोलोलाई पनि सँगै लिएका थिए । यस यात्राको क्रममा उनीहरू जेरुसलेम पनि गए । र त्यहाँबाट उनीहरूले चिहानमाथि बत्ति बाल्नलाई चाहिने केही पवित्र तेल ल्याए, जुन ल्याउनुपर्ने कुब्लाई खाँको आदेश थियो ।  यसरी निकोलो, माफियो र मार्को जेरुसलेमबाट ल्याएको पवित्र तेल साथमा लिएर पूर्वतिरको यात्रामा निस्के ।
उनीहरूले केही दिन यात्रा गरेर लेइयाससको बन्दरगाहसम्म पुगेका के थिए, इटलीबाट दुइजना दूतहरू उनीहरूलाई पछ्याउँदै आए । ती दूतहरूले बताए कि- “ग्रेगोरी दशौँ पोपको रूपमा चयन भैसकेकोले तपाईंहरू पहिले एकर फर्किनुहोस् । तपाईंहरूकै फिर्तीको लागि लागि ग्रेगोरी दशौँले ‘तार्तारहरूको साम्राज्यतिर गइरहेका यात्रीहरूलाई तुरुन्त फर्किन भनिदिनू’ भन्ने आदेशसहित अर्मेनियाका राजालाई पत्र पनि पठाइसकेका छन्, ताकी उनले कुब्लाईले अनुरोध गरेबमोजिमको व्यवस्था गरेर तपाईंहरूलाई कुब्लाईको दरबारमा पठाउन सकियोस् ।”
नभन्दै उनीहरूले अर्मेनिया पुग्नसाथ ती चिट्ठीहरू पनि पाए । र पुन: एकर फर्किने निर्णय गरे ।
एकर पुगेपछि नवनियुक्त पोपद्वारा उनीहरूको सम्मानपूर्वक स्वागत गरियो । र तुरुन्तै एउटा राजकीय पत्र उनीहरूलाई दिइयो । साथै क्रिश्चियन धर्म प्रचारको लागि दुइजना साधु पनि साथमा पठाउने तय गरियो । तीमध्ये एकजना साधुको नाम Nicolas of Vicenza र अर्कोको नाम फ्रायर William of Tripoli थियो । पोपले Vicenza र Tripoli लाई पादरीको लागि अनुमतिपत्र दिए ।
मार्को, निकोलो र माफियोको साथमा अन्य महत्वपूर्ण व्यक्तिहरू पनि पठाइयो । साथै कुब्लाई खाँको नाममा केही स्फस्टिक निर्मित गमलाहरू पनि पठाइयो । ती सम्पूर्ण सामानहरूसहित मार्को, निकोलो, माफियो र पोपले पठाएका अन्य व्यक्तिहरूसमेत त्यहाँबाट बिदा भए । लेइयासस पुगेपछि जहाजबाट अवतरित भए र त्यहाँबाट पनि अर्मेनियाको लागि यात्रा तय गरे ।
अर्मेनिया प्रवेश गरेपछि उनीहरूले थाहा पाए कि- बेबिलोनियाका Bundokdari नाउँ गरेका सुलतानले आफ्नो विशाल सेना बनाई अर्मेनियाली क्षेत्र विजय  गरेका छन् । साथै विजय गरेको क्षेत्रभरि भारी नोक्सानी पुर्‍याएका छन् । यी कुरा थाहा पाएर डरले आतंकित भएका साधुहरू(जो धर्मप्रचारको लागि पोलो बन्धुसँगै आएका थिए), यहाँबाट अगाडि नबढ्ने कुरा गर्न थाले । यसरी पोपले दिएका पत्र र उपहारहरू पोलो बन्धुहरूको हातमा दिँदै उनीहरू त्यहीँबाट फर्किने निर्णय गरे । यसप्रकार उनीहरू त्यहीँका एकजना मन्दिरका पुजारीको साथमा लागेर लेइयाससतिरै फर्के ।
निकोलो, माफियो र मार्को भने त्यो खतरनाक कठिनाइ र आतंकबाट कत्ति पनि हतोत्साहित नभई अर्मेनियाको सिमा पार गरे ।
थुप्रै खतराहरू छिचोल्दै उनीहरूले केही दिनमै अब मरुभूमि पनि पार गरेर उत्तरपूर्वी र उत्तरको बिचको दिशाबाट थुप्रै दूरी पार गरिसकेका थिए । त्यस लगत्तै उनीहरूले कुब्लाई खाँको बारेमा एक सूचना पाए कि- अब खाँको निवास भव्य र शानदार सहर Clemeinfu सरेको छ ।
उनीहरूको यो पूरा यात्रामा साढे तीन वर्षको समय लागेको थियो । यद्यपि हिउँदको समयमा उनीहरूको यात्रा लगभग नगण्य (मामुली) हुन्थ्यो ।
जब कुब्लाई खाँले उनीहरू दरबारमा आएको सूचना पाए, उनीहरूको यात्राको कठिनाइ र थकान बुझेर आफूसँग भेट्नुभन्दा अघि 40 दिनसम्म आराम गर्ने प्रबन्ध मिलाउन भारदारहरूलाई आदेश दिए । यसरी भगवान्‌को कृपाले ती यात्रीहरू यस निर्मम कठिनाइबाट समेत बच्दै सुरक्षितसाथ कुब्लाईको दरबारसम्म पुगे ।
कसरी कुब्लाई खाँको दरबारमा पोलो बन्धुहरूले आफूलाई प्रस्तुत गरे?
उनीहरूको आगमनपछि खाँले दरबारमा एक औपचारिक कार्यक्रम गरी सम्मानपूर्वक उनीहरूलाई आफ्नो दरबारमा स्वीकार गरे । ती तीन भेनेसियनहरू कुब्लाईका अगाडि आएर निहुरिएर प्रणाम गरे । तब कुब्लाईले उनीहरूलाई शिर माथि उठाउन र आफ्नो यात्राको अवस्था र पोपको बारेमा सबै कुरा वर्णन गर्न आदेश दिए ।  उनीहरूको वर्णन, जुन क्रमबद्ध रूपमा उनीहरूले दर्शनीय (दृश्यात्मक) भाषामा सुनाइरहेका थिए, कुब्लाईले सावधानीपूर्वक मौन भएर सुने । त्यसपछि ती भेनेसियनहरूले पोपले पठाएका चिट्ठी र उपहारहरू कुब्लाईसमक्ष पेश गरे ।
यो अद्भुत कठिनाइ र खतरालाई छिचोल्दै भए पनि जुन किसिमको निष्ठा, परिश्रम र बफादारिताका साथ उनीहरूले कुब्लाईको आज्ञापालन गरेका थिए, त्यसको प्रशंसा गर्दै कुब्लाईले उनीहरूलाई थुप्रै बक्सिस दिए । साथै जुन पवित्र तेल उनीहरूले कुब्लाईसमक्ष टक्र्याए, त्यसलाई कुब्लाईले धार्मिक हितको लागि सुरक्षित राख्नुपर्ने आदेश दिए ।
कुब्लाईले मार्को पोलोलाई राम्रोसँग नियालेर जब निकोलोसँग सोधे, तब निकोलोले जवाफ दिए- “यो मेरो पुत्र र तपाईंको सेवक हो ।” यसपछि कुब्लाई बोले- “उसलाई पनि स्वागत छ ।” यसरी कुब्लाईले मार्कोलाई अन्य सम्मानित परिजनहरू सरह व्यवहार गर्न सबैलाई आदेश दिए ।
ती भेनेसियालीहरूको आगमनको अवसरमा कुब्लाईले एक महान समारोह सम्पन्न गराए । जहिलेसम्म ती पोलो बन्धुहरू कुब्लाईको देशमा बसे, उनीहरूले आफ्नै देशमा भन्दा पनि बढ्ता सम्मानित भएर बसे । तीमध्ये पनि कुब्लाईको दरबारका परिजनमध्ये सबैभन्दा प्रिय मार्को थिए । उनले छोटो समयमा नै तार्तारहरूको भाषा र आचरण सिके । उनी चार वटा भाषामा पढ्न र लेख्न निपुण भैसकेका थिए ।
उनको यो तीक्ष्णता देखेर मार्कोका गुरुले उनलाई राजकीय निवासबाट 6 महिनाको यात्रा गरेर पुगिने महत्वपूर्ण सहर Karazan पठाउने निर्णय गरे । यसै अवसरमा मार्कोले आफूलाई अझै बुद्धिमान बनाउन सके । कुब्लाई महानले मार्कोलाई “तिमीलाई यो देशमा जेजे नयाँ लाग्छ, त्यो सबै मलाई सुनाउनू” भनेकाले मार्को जहाँ जहाँ पुगे, र जेजे कुरासँग परिचित भए, ती सबै टिपोट गरेर राख्न थाले । सत्र वर्षसम्म उनले यस्तै गरे । त्यसपछि चाहिँ उनले त्यस साम्राज्यको प्रत्येक क्षेत्रमा गोप्य मिसनमा जानको लागि जागीर पाए । यद्यपि उनी कहिलेकहीँ आफ्नै योजना अनुरूप पनि घुमफिर गर्दथे । चाहे आफ्नै अवलोकनमा होस् या अरुले बताएका कुराको सङ्कलन गरेर होस्, यो मार्को पोलोको लागि ज्ञान आर्जन गर्ने अवसर थियो । यसरी पूर्वीय संसारको सम्मान गर्दै उनले नियमित रूपमा आफूले देखे भोगेका कुराहरू लेख्दै गए । र दरबारमा झनै सम्मान पाउँदै गए, जसबाट दरबारका अन्य अफिसरहरू रिसले जल्दै गैरहेका थिए ।
कसरी निकोलो, माफियो र मार्कोले कुब्लाई खाँसमक्ष बिदा मागे?
ती भेनेसियनहरूले खाँको दरबारमा थुप्रै वर्ष बिताए । उल्लेखनीय धन र बहुमूल्य गरगहना आर्जन गरे । त्यसपछि आफ्नो पुर्ख्यौली देश फर्कने इच्छा उनीहरूमा तीव्र भएर आयो । तर ती अधिराजबाट जुन किसिमको सम्मान र सामिप्यता पाएका थिए, त्यसले साँच्चै नै ती त्यहाँबाट बिदा माग्न असहज बनाइरहेको थियो । उनीहरू निक्कै भावुक भइरहेका थिए । यदी उनीहरू त्यहाँबाट छुट्नुअघि नै कुब्लाईको निधन हुन्थ्यो भने उनीहरूलाई यतिधेरै धन, सम्पत्ति, प्रतिष्ठा र सहयोग मिल्ने थिएन । र उनीहरू बाटोको अतिशय कठिनाइसँग जुध्नुपर्थ्यो  र घरसम्म उनीहरू सुरक्षित पुग्थे/पुग्दैनथे, केही भन्न सकिन्थेन । यद्यपि यो सोचेर उनीहरू अहिल्यै बिदा भएका भने होइनन् ।
बिदा माग्ने योजना अनुरूप निकोलोले एकदिन कुब्लाई खाँ प्रशन्न भएको समय छोपी उनको चरणस्पर्श गर्दै अब आफूहरूलाई  बिदा दिन प्रार्थना गर्न थाले ।  तर कुब्लाई महानले उनलाई बिदा दिनु सामान्य कुरो थिएन । निकोलोको निवेदनले उनलाई चोट पुर्‍यायो ।  कुब्लाईले निकोलोसँग सोधे कि, जीवनमा त्यस्तो के उद्देश्य छ जसले तिमीलाई त्यो निर्मम कठिनाइ र खतरासँग जुध्दै भेनिस जान बाध्य पार्दैछ, जहाँको यात्रामा झन्डै जीवन पनि रहने नरहने निश्चित छैन?  केही प्राप्त गर्नु नै तिम्रो उद्देश्य छ भने म तिमीलाई चाहेको भन्दा दोब्बर धन सम्पत्ति र सम्मान दिनेछु ।
कुब्लाइले उनीहरूको निवेदन अस्विकृत गरे । यो कुराले उनीहरू खिन्न भए ।
त्यसै समयको सेरोफेरोमा कुब्लाईका भतिजा Arghun कि सबैभन्दा प्रिय रानी Bolgana को निधन भएको थियो । Arghun लाई Bolgana को अन्तिम अनुरोध थियो- “मेरो निधनपछि कसैसँग तपाईंको बिहे हुनेछ भने मेरो माइती परिवारकै कुनै चेलीसँग होस् ।”
दिवंगत रानीको इच्छाविपरीत नहोस् भनेर नै Arghun ले कुब्लाई खाँलाई Bolgana कै कुनै नातेदार स्त्रीलाई श्रीमतीको रूपमा पाऊँ भनी बिन्ती पठाए । खाँबाट उक्त निवेदन स्वीकृत भयो ।
Arghun को लागि कन्या खोज्ने क्रममा Cathay (historical name of China) की असाधारण सुन्दरी कन्या Kokochin लाई छनौट गरियो । त्यसैले कोकोचिनको अरूसँगको बिहे रोक्नको लागि आफूहरू जानुपर्ने कुरा पोलो बन्धुले कुब्लाईसमक्ष राखे । (राजकुमारी कोकोचिनलाई अन्य पर्सियन राजाहरूले दुलही बनाउने अभ्यास गरिरहेका थिए ।) अन्ततः कुब्लाईले उनीहरूलाई बिदा दिनै कर लाग्यो ।