ओशोको आत्मकथाः स्वर्णिम बालापन

शृङ्खला २२: सिंक्रोनिसिटी

मैले यत्तिकै ओके भन्न लागेको थिएँ तर भनिनँ । एक दिन मैले यत्तिकै शिष्टाचारपूर्वक ओके भनेको थिएँ र यसका कारण मलाई निकै पीडा भयो । त्यो बेला सबै कुरा गलत भएको थियो । त्यसैले अब म त्यो बेला मात्र ओके भन्छु, जब साँच्चिकै ओके हुन्छ नत्र त चुप लाग्नु नै ठीक हुन्छ…

ओके ।

फेरि मलाई विचरो सिग्मन्ड फ्रायडको सम्झना आयो । ऊ एक दिन अफिसमा एक जना धनी र पक्कै यहुदी रोगीलाई प्रतीक्षा गरिरहेको थियो । यहुदी नबनी कोही धनी हुन सक्छ र ? र, मनोविश्लेषण त झन् सबैभन्दा ठूलो व्यवसाय हो, जसलाई कुनै यहुदीले आधारशीला राखेको थियो । उनीहरु जिससलाई चिन्न त चुके नै तर अब सिग्मन्ड फ्राइडलाई चिन्नबाट चुक्न चाहँदैन थिए । हुन त जिसससँग उनको तुलना गर्न सकिँदैन ।

फ्रायड आफ्नो कोठामा यताउति गरिरहेका थिए र अधैर्य भएर ती बिरामीलाई कुरिरहेका थिए । बिरामी निकै धनी थियो र मनोविश्लेषण त यस्तो उपचार हो कि त्यो वर्षौंसम्म चलिरहन्छ । अँ, बीचमा अझ बढी मुखर यहुदी फेला पारे भने कुरा बेग्लै । तर ऊ मनोविश्लेषणको चक्करबाट बाहिर निस्कन सक्तैन ।

फ्रायडले पटक-पटक आफ्नो घडी हेरिरहेका थिए । निकैपछि अब ऊ आउँदैन होला भन्ने उनले ठाने । परबाट त्यो बिरामी चाल पाए । फ्रायड निकै रिसाएका थिए । अन्ततः ती रोगीको ठूलो कार कार्यालय छेउमै आएर रोकियो । यहुदी कारबाहिर निस्कियो । जब ऊ फ्रायडको अफिसमा पुग्यो, फ्रायडलाई निकै रिसाइरहेको देख्यो, किनभने ऊ पचास सेकेन्ड ढिलागरी आएको थियो ।

फ्रायडले भने, ‘मैले तिम्रो कारको आवाज सुनेर ठीक भयो । ठीक समयमा तिम्रो कारको आवाज नसुनेको भए म एक्लै नै थेरापीको सेसन शुरु गर्न लागेको थिएँ ।’

यो एउटा व्यावसायिक चुटकिला हो । यसलाई तिनले मात्र बुझ्न सक्छन् जो मनोविश्लेषणको व्यवसायमा छन् । तर तिमीहरु कोही पनि मनोविश्लेषक होइनौ, त्यसैले मैले यो चुटकिलालाई बुझाउनु पर्छ ।

चुटकिला के भने फ्रायडले भने, ‘तिमी बिना नै, अर्थात् रोगी बिना नै म शुरु गर्न लागेको थिएँ ।’ अब बुझ्यौ ?

अच्छा ! अब चुटकिलालाई एकातिर राख । एउटा खास बिन्दुबाट मैले शुरु गर्नुपर्ने हुन्छ । जब ओके भन्नुपर्ने हुन्छ, त्यो बेला मात्र भन्छु, र, सिग्मन्ड फ्रायडजसरी होइन, चुटकिलालाई राम्रोसँग बुझेर मात्र । म तिमीहरुलाई निराश गर्न सक्तिनँ । यो त केवल परिचय नोट हो । अब हामी नसकिने कथालाई शुरु गर्छौं ।

हो नि, यो समाप्त हुँदैन । सकिँदै सकिँदैन । यो कसरी सकिएला ? सकियो भने त अरु कसैले नै उपसंहारका ‘दुई शब्द’ लेख्नुपर्छ । म त्यसलाई लेख्न सक्तिनँ । त्यसका लागि मलाई माफ गर । तर त्यसका लागि म आफ्ना मानिसहरुलाई तयार गरिरहेको छु । देवगीत, देवराज, आशु… यी त्रिमूर्तिले त्यो गर्नेछन् । र, सम्झ– मेरो त्रिमूर्तिमा एक जना स्त्री छ, जो दुई जना पुरुषहरुलाई सधैँ आपसमा भिडाउँछे । र, पनि यिनीहरु उपसंहारका ‘दुई शब्द’ लेख्न सक्छन् । यदि यिनले लेख्न सकेनन् भने आशु यी दुईलाई आपसमा भिडाउँछे र आफैँ लेख्नेछे ।

आज बिहान मैले कार्ल गुस्ताभ जङको शब्द ‘क्रिङ्क्रोनिसिटी’ उल्लेख गरेको थिएँ । मलाई ऊ राम्रो मान्छे लाग्दैन । तर उसले जुन नयाँ शब्दलाई प्रचलित ग-यो, त्यो मलाई निकै मन पर्छ । यसका लागि हरेक सम्भव श्रेय उसले पाउनुपर्छ । र, कुनै पनि भाषामा सिङ्क्रोनिसिटीजस्तो शब्द छैन । किनभने यो कार्ल गुस्ताभ जङले उकेरेको बिल्कुलै नयाँ शब्द हो । शब्द कसै न कसैले बनाएकै हुन्छ, बनाएकै हो । त्यसैले कुनै शब्द बनाउनुमा कुनै नराम्रो होइन । खासगरी त्यो शब्द जसले कुनै यस्तो अनुभवलाई अभिव्यक्त गर्छ, जसलाई सदियौँदेखि कुनै नाम नदिएको होस्, त्यो केवल एउटा शब्द ‘सिङ्क्रोनिसिटी’का लागि जङले नोबेल पुरस्कार पाउनु पर्थ्यो । हुन त त्यो अति साधारण शब्द थियो तर पनि जब यति सारा साधारण मानिसहरुले नोबेल पुरस्कार पाएका छन् भने अर्को एक जनाले पाएको भए के चाहिँ गलत हुन्थ्यो हुन्थ्यो ! र, ती नोबेल पुरस्कार त मरणोपरान्त पनि दिने गरेका छन् । विचरो यो जङलाई पनि नोबेल पुरस्कार दिए हुन्थ्यो । मैले ठट्टा गरेको होइन । यो शब्दका लागि म साँच्चिकै आभारी छु किनभने मानिसको बुद्धिले यसलाई कहिले पनि राम्रोसँग बुझ्न, पक्डन सकेनन् । यो सधैँ मानिसको बुझाइभन्दा टाढै रह्यो ।

म तिमीहरुलाई शम्भुबाबुका साथ मेरो अनौठो मित्रताका बारेमा चर्चा गरिरहेको थिएँ । यो मित्रता कयौँ अर्थमा अनौठो नै थियो । पहिलो कुरा त, उहाँ मेरा पिताभन्दा पनि बढी उमेरका हुनुहुन्थ्यो । अथवा, उही उमेरका हुनुहुन्थ्यो तर मलाई उहाँ अझ बढी बूढो देखिनुहुन्थ्यो जस्तो लाग्छ । म त नौ वर्षको थिएँ । अब तिमीहरु नै भन, यो कस्तो दोस्ती थियो होला ? उहाँ कानुनका सफल विशेषज्ञ हुनुहुन्थ्यो । त्यो गाउँमा मात्र होइन, हाई कोर्ट र सुप्रिम कोर्टमा पनि उहाँले वकालत गर्नुहुन्थ्यो । उहाँ कानुनका उच्च अधिकारीमध्ये एक हुनुहुन्थ्यो ।
उहाँ एक अशिक्षित, अनुशासनहीन, जंगली र ग्रामीण बालकको साथी हुनुहुन्थ्यो ! पहिलो भेटमा नै जब उहाँले मलाई बस्नुहोस् भन्नुभयो, म त छक्क परेँ । मैले यो त सोच्नै सकिनँ कि यो मान्छे बसिरहेको कुर्सीबाट उठेर मलाई बस्नुहोस् भनिरहेको छ । उहाँ स्वयं उठेर मलाई स्वागत गर्नुहोला र बस्नुहोस् भन्नुहोला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।

मैले उहाँलाई भनेँ, ‘पहिले तपाईं बस्नुहोस् । तपाईं मभन्दा ठूलो हुनुहुन्छ । शायद मेरो बुवाभन्दा पनि ठूलो । तपाईंभन्दा पहिले म बस्नु अप्ठेरो लाग्छ ।’

उहाँले भन्नुभयो, ‘त्यसको चिन्ता नगर । म तिम्रो बुवाको साथी हुँ । आरामले बस र भन, यहाँ किन आयौ !’

मैले भनेँ, ‘म यहाँ किन आएँ भनेर पछि भनौँला तर पहिले…’, उहाँले मतिर हेर्नुभयो र मैले उहाँलाई हेरेँ, हामी दुई जनाकै आँखा जुधे र त्यस क्षण जे घट्यो, त्यो मेरो पहिलो प्रश्न भयो । मैले उहाँलाई सोधेँ, ‘शुरुमा मलाई भर्खरै हाम्रो आँखा जुध्दा के भयो त्यो बताउनुस् ।’

उहाँले आफ्नो आँखा बन्द गर्नुभयो र शायद दस मिनेट बित्यो । अनि, बल्ल उहाँले आँखा खोल्नुभयो । उहाँले भन्नुभयो, ‘माफ गर । के भयो, के घट्यो, मैले बुझ्न सकिनँ तर केही त अवश्य भयो !’

त्यसै समयबाट हामी मित्र बन्यौँ । यो सन् १९४० को कुरा हो । सन् १९६० मा उहाँको मृत्यु भयो । हाम्रो मित्रताको बीस वर्षपछि उहाँको मृत्यु भयो । अनौठो मित्रता थियो । म त्यसलाई शब्दमा बताउन सकेँ, जुन कुरा उहाँले वर्षौं खोज्नु भएको थियो । र, यो शब्द कार्ल गुस्ताभ जङले अंग्रेजीको शब्द ‘सिंक्रोनिसिटी’ थियो । हामी दुईबीच यही भएको थियो । उहाँलाई पनि थाहा थियो, के भयो र मलाई पनि के भयो भन्ने थाहा थियो तर यसलाई अभिव्यक्त गर्न उपयुक्त शब्द फेला परेको थिएन ।

सिंक्रोनिसिटी शब्दका कयौँ अर्थ छ । यो बहुआयामी शब्द हो । यसको अर्थ, एउटा खास लयबद्ध भाव हुनसक्छ । जसलाई मानिसले उहिलेदेखि प्रेम गरिरहेको भन्ने अर्थमा पनि यो प्रयोग हुनसक्छ । मित्रता पनि अर्थ हुनसक्छ । दुई हृदयहरुको अकारण एकसाथ ढुकढुकिनु पनि हुनसक्छ । यो एउटा रहस्य हो । संयोगवश कहिलेकाहीँ यस्तो व्यक्ति फेला पर्छ, जोसँग राम्रोसँग लय बस्छ । सारा पजल हल हुन पुग्छ । पजलको अंश सही ठाउँमा थिएनन्, तर अब स्वयं ठीक भएको छ भने त्यो सिंक्रोनिसिटी हो ।

जब मैले उपसभापतिसँग मित्रता भयो भनेर हजुरआमालाई बताएँ, उहाँले सोध्नुभयो, ‘शम्भुरत्न दुबेसँग ?’

मैले भनेँ, ‘अँ, तर किन तपाईंलाई आश्चर्य लाग्यो ?’

उहाँको आँखाबाट आँशु आए । उहाँले भन्नुभयो, ‘उसो भए यो संसारमा तिम्रा धेरै साथी हुने छैनन् । त्यति मात्र होइन, तिमीले त साथी पाउला पनि, तिमी अहिले निकै साना छौ । तर शम्भुबाबुले यो संसारमा कोही साथी पाउने छैनन् । उमेरमा उनी निकै ठूला छन् ।’

मेरो कथामा मेरी हजुरामाको उल्लेख उहाँको अनौठो अन्तरदृष्टिका साथ पटक-पटक आउने छ । उहाँले के देख्नुभयो र उहाँ किन रुनुभयो भन्ने म बुझ्दिनँ । अहिले बल्ल बुझ्छु, शम्भुबाबुको मबाहेक अरु कोही पनि साथी थिएनन् ।

म गाउँमा एक या दुई पटक जान्थेँ । जसै म आफ्नो काममा, जसलाई तिमी निष्क्रियता पनि भन्न सक्छौ– संन्यास आन्दोलन र ध्यान शिविरहरुमा व्यस्त हुन थालेँ, गाउँ जाने कुरा कम हुँदै जान थाल्यो । सत्य त उनी मर्नुभन्दा केही वर्षसम्म मात्र गाउँमा पुग्ने गर्थें ।
स्टेसनमा गाडी रोकिन्थ्यो । स्टेसन मास्टर मेरो संन्यासी थियो । त्यसैले मैले चाहुञ्जेल गाडीलाई रोक्न सक्थेँ । किनभने अर्को गाडी स्टेसनबाहिर पर्खिरहेको हुन्थ्यो । त्यहीँ मेरो उहाँसँग भेट हुन्थ्यो । दस, बीस, बढीभन्दा बढी तीस मिनेट रोकिन्थ्यो । त्योभन्दा बढी मेरो गाडी रोक्न सकिन्न थियो । मेरा आमाबुवा, शम्भुबाबु तथा अन्य धेरै जना जो मलाई प्रेम गर्थे, मलाई भेट्न भनेर स्टेसनसम्म आउँथे ।

म उहाँको एकाकीपनलाई बुझ्छु । उहाँका कोही साथी थिएनन् । प्रायः हरेक दिन उहाँले मलाई पत्र लेख्नुहुन्थ्यो । यस्तो निकै कम हुन्छ । लेख्ने कुरा धेरै थिएन । कहिलेकाहीँ उहाँले खाली कागज मात्र पठाउनुहुन्थ्यो । म त्यो पनि बुझ्थेँ । उहाँ एक्लो महसुस गर्नुहुन्थ्यो, उहाँ मसँगै आउँ भन्ने चाहनुहुन्थ्यो । म सकेसम्म, मिलेसम्म, गाउँ पुग्ने प्रयास गर्थें । पुग्न नसक्दा रेल स्टेसनसम्म केहीबेर भेट्थेँ । गाउँ जाँदा पनि म उहाँका लागि मात्र जाने गर्थें । नत्र त त्यहाँ मेरो कुनै रुचि थिएन । उहाँकै कारण म त्यहाँ जाने कष्ट गर्थें । उहाँको मृत्युपछि म त्यहाँ निकै कम गएको छु । म खासमा शम्भुबाबुको याद आउने भएकाले म आउन मन लाग्दैन भन्दिन्छु । सत्य त अब त्यहाँ जाने कुनै अर्थ थिएन । उहाँ नहुँदा म त्यहाँ जानुको कुनै तुक थिएन । उहाँ मरुभूमिमा हरियालीजस्तै हुनुहुन्थ्यो ।

मेरा कारण शम्भुबाबुले जुन निन्दा र आलोचना झेल्नुभयो, त्यसलाई उहाँले केही पनि ठान्नु भएन । उहाँ कसैसँग पनि डराउनु हुन्थेन । त्यो बेला मसँगको दोस्ती उहाँका लागि राम्रो कुरा थिएन । यो त खतरनाक थियो । मानिसहरु यो केटोसँगको दोस्तीका कारण कसैले पनि आदर गर्दैन भनेर सुनाउँथे । उहाँ उपसभापति हुनुहुन्थ्यो, अब सभापति चुनिनबाट यही केटोका कारण पाउनु हुन्न भन्थे । पछि मैले उहाँलाई भनेँ, ‘शम्भुबाबु, अब कि त तपाईंले मलाई छनोट गर्नुप-यो कि त सभापति । किनभने अब मसँग दोस्ती रहिरह्यो भने तपाईंलाई घाटा हुन्छ ।’

उहाँ पछि सभापति हुनुभयो र त्यो बेला मेरै कारण पदबाट राजिनामा दिनुभयो । उहाँले मलाई एक शब्द पनि केही भन्नु भएन । मेरा सामु नै उहाँले राजिनामा लेखिदिनुभयो । मलाई उहाँले भन्नुभयो, ‘तिमीभित्र जुन अपरिभाषित कुरा छ, मलाई त्यसप्रति प्रेम छ । म यो गाउँको सभापति हुनुको कुनै अर्थ छैन । म त तिम्रा लागि सबै कुरा छाड्न तयार छु । हो, सबै कुरा !’

उहाँले दिएको राजिनामा फिर्ता गराउन मानिसले धेरै प्रयास गरे तर उहाँले फिर्ता लिनु भएन । मैले उहाँलाई भनेँ, ‘शम्भुबाबु, तपाईंलाई थाहा छ, मलाई यो सभापति, उपसभापति आदि पदप्रति निकै घृणा छ । चाहे त्यो नगरको होस् या चाहे राष्ट्रकै । म तपाईंलाई राजिनामा फिर्ता लिनुस् भन्न सक्तिनँ । म त त्यो अपराध गर्न सकिनँ तर तपाईं यसलाई फिर्ता लिन चाहनुहुन्छ भने तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

उहाँले भन्नुभयो, ‘अब त फिर्ता लिन सक्तिनँ । जे हुनु थियो, त्यो भइसक्यो । मलाई दबाब नदिएर तिमीले राम्रो ग-यौ ।’

उहाँ सधैँ एकाकी नै रहनुभयो । उहाँसँग आरामसँग बाँच्नका लागि निकै पैसा थियो । उहाँले सभापति पदबाट राजिनामा दिनु त भयो नै वकालत पनि छाड्नुभयो । उहाँले भन्नुभयो, ‘मसँग धेरै पैसा छ । म किन चिन्तित भइरहूँ ? वकालत तथा सत्यका नाममा किन म निरन्तर झूट बोलिरहूँ ?’ त्यसपछि उहाँले आफ्नो धन्दा बन्द गर्नुभयो ।

उहाँका तिनै विशेषताप्रति मलाई प्रेम थियो । केही सोच विचार नगरी नै उहाँले एक क्षणमा नै राजिनामा लेख्नुभयो र अर्को दिनदेखि उहाँले वकालत पनि छाड्नुभयो । उहाँका कारणले नै म कहिलेकाहीँ गाउँ जानु पर्थ्यो अथवा उहाँलाई आफूसँग बस्न बीचबीचमा बोलाउनु पर्थ्यो । उहाँ कहिलेकाहीँ मकहाँ पनि आउनुहुन्थ्यो ।

उहाँ ज्यादै प्रामाणिक व्यक्ति हुनुहुन्थ्यो । उहाँ कुनै परिणामसँग पनि डराउनु हुन्न थियो । एक पटक उहाँले मलाई सोध्नुभयो, ‘तिमी गर्लाऊ ! तिमी विश्वविद्यालयमा त धेरै समय टिक्लाऊ जस्तो लागेन ।’

मैले भनेँ, ‘शम्भुबाबु, म कहिले पनि योजना बनाउँदिनँ । मैले यो काम छाडेँ भने अर्को कुनै काम तयार हुन्छ भन्ने मलाई विश्वास छ । यदि परमात्मा…’ र यस्तो ‘यदि’लाई बुझ्नू किनभने उहाँ आस्तिक हुनुहुन्थेन । उहाँको यो विशेषता पनि मलाई ज्यादै मन पर्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘जबसम्म म आफैँलाई जान्दिनँ, भगवान्लाई कसरी विश्वास गर्न सक्छु ? पहिले आफूलाई चिन्यो भने अरुलाई चिन्न सकिएला ।’

मैले भनेँ, ‘यदि परमात्माले सबै किसिमका मानिसहरुका लागि काम खोजिदिन सक्छ, पशु र रुखविरुवाका लागि पनि काम खोजिदिन सक्छ भने उसले मेरा लागि पनि कुनै न कुनै काम खोजिदेला नै । उसले खोज्न सकेन भने पनि त्यो उसको समस्या हो, मेरो होइन ।’

उहाँले हाँस्दै भन्नुभयो, ‘अँ, यो कुरा ठीक हो । यदि ऊ कहीँ छ भने उसको समस्या हो । तर प्रश्न के हो भने ऊ छैन भने चाहिँ के होला त तिम्रो भविष्य ?’

मैले भनेँ, ‘त्यो बेला पनि मेरा लागि कुनै समस्या हुँदैन । मेरा लागि कुनै काम छैन भने एउटा लामो श्वास तानेर अस्तित्वबाट बिदा लिनेछु । मेरो आवश्यकता यो संसारमा रहेनछ भन्ने त्यो प्रमाण हुनेछ । मेरो आवश्यकता छैन भने म जबरजस्ती अस्तित्वलाई म थोपर्न चाहन्नँ ।’

हाम्रो कुराकानी र हामीबीचको तर्कलाई दोहो-याएर त्यसरी नै प्रस्तुत गरियो भने प्लेटोका वार्तालापभन्दा निकै राम्रो सिद्ध हुनेछन् ।
शम्भुबाबु जयदै तर्कयुक्त व्यक्ति हुनुहुन्थ्यो । म जति तर्कहीन छु, उहाँ उति नै तर्कसंगत हुनुहुन्थ्यो र यही सबैभन्दा आश्चर्यजनक कुरा हो, गाउँमा हामी दुई जना नै एकअर्काका साथी थियौँ । सबै जनाले सोध्थे, ‘ऊ त तार्किक व्यक्ति हुन् र तिमी तर्कहीन । र, पनि तिमीहरु दुई जनाबीचको सम्बन्धसूत्र चाहिँ के हो क्या ?’

मैले भनेँ, ‘तपाईंहरुले यो बुझ्न गाह्रै छ । किनभने तपाईंहरु हामी दुईमध्ये केही पनि हुनुहुन्न । उहाँको तर्कले उहाँलाई तर्कको अन्तिम छेउसम्म पु-याउँछ । म त तर्कहीन छु । म जन्मबाट तर्कहीन होइन, कोही पनि जन्मैबाट तर्कहीन हुनसक्तैन । म तर्कहीन यस कारणले छु किनभने मैले तर्कको व्यर्थथा देखिसकेको छु । तर्क कति अर्थहीन छ भन्ने मैले देखेको छु । म उहाँको तर्कअनुसार आफूलाई निकै टाढासम्म पुग्छु र फेरि एउटा बिन्दुमा म उहाँभन्दा निकै अघि बढ्छु । त्यसपछि उहाँ डराएर रोकिनुहुन्छ । यही कुरा हाम्रो मित्रता जोगिएको छ । किनभने उहाँलाई थाहा छ, उहाँले त्यो बिन्दुभन्दा पर जानुछ र उहाँलाई त्यहाँ पु-याउने अर्को कुनै साथी छैन । त्यो गाउँको कुनै साथीले पनि त्यहाँ पु-याउन सहयोग गर्न सक्तैन । गाउँका सबैले उहाँले मलाई सहयोग गरिरहनु भएको भनेर सोच्छन् तर खासमा तपाईंहरु गलत हुनुहुन्छ । तपाईंले उहाँलाई सोधे हुन्छ, सहयोग त मैले उहाँलाई गरिरहेको छु ।’

आश्चर्य लाग्ला, एक दिन मानिसहरु यही कुरा सोध्न, उहाँको घर पुगे । सोधे, ‘त्यो सानो केटो तपाईंको पथप्रदर्शक हो ? ऊ कस्तो सहयोगी हो तपाईंको ?’

उहाँले भन्नुभयो, ‘अवश्य । यसमा कुनै सन्देह नै छैन । तपाईं मलाई किन सोध्न आउनु भएको ? तपाईंहरुले उसैलाई सोधेको भए भइहाल्थ्यो । तपाईंहरुको नजिकै त ऊ नै बस्छ नि !’

त्यस्तो गुण दुर्लभ नै छ । र, मेरी हजुरआमाले ठीक भन्नुभएको थियो, ‘शम्भुबाबुले कोही साथी पाउनुहुन्न भन्ने मलाई डर छ । यो डर मलाई तिम्रा बारेमा पनि छ । तर तिमी अहिले सानो छौ । शायद बरु तिमीले केही साथी पाउला ।’

उहाँको अन्तरदृष्टि ज्यादै प्रस्ट थियो । तिमीहरुलाई आश्चर्य लाग्ला, शम्भुबाबुबाहेक मैले कुनै पनि साथी पाइनँ । उहाँ हुनुहुन्थेन भने मित्रताको अर्थ के हो भन्ने मैले थाहा पाउने थिइनँ । परिचित व्यक्ति धेरै थिए । स्कुल, कलेज र विश्वविद्यालयमा सयौँ मानिससँग मेरो परिचय भयो । तिमीहरुले र अरुले पनि शायद त्यही बुझे होलान्, उनीहरु मेरा मित्र होलान् भन्ने सोचे होलान् । तर शम्भुबाबुबाहेक मैले मित्र भन्ने कोही फेला पारिनँ । कसैसँग परिचित हुनु ज्यादै सजिलो छ । परिचय त ज्यादै साधारण कुरा हो तर मित्रता साधारण जगतको कुरा होइन । तिमीहरुलाई आश्चर्य लाग्ला, म बिरामी हुनेबित्तिकै, म त्यो गाउँभन्दा ८० माइल पर बस्थेँ, त्यो बेला शम्भुबाबुको फोन आउँथ्यो र उहाँ ज्यादै चिन्तित हुँदै मेरो हालखबर सोध्नुहुन्थ्यो । उहाँ चिन्तित हुँदै सोध्नुहुन्थ्यो, ‘तिमीलाई ठीक छ ?’

म भन्थेँ, ‘तपाईं यति चिन्तित किन हुनु भएको ? बरु तपाईंको आवाज सुन्दा तपाईं बिरामी हो कि जस्तो लाग्छ ।’

उहाँ भन्नुहुन्थ्यो, ‘होइन, म बिरामी छैन । मलाई तिमी बिरामी भयौ कि जस्तो लागेर फोन गरेको । तिमीले मलाई लुकाउन सक्तैनौ । मैले बल्ल थाहा पाएँ, तिमीलाई सञ्चो छैन रैछ ।’

यस्तो कयौँ पटक भएको छ । विश्वास नलाग्ला, उहाँकै कारण मैले निजी टेलिफोन राख्नुप-यो । एउटा टेलिफोन मेरो सेक्रेटरीका लागि थियो, जो देशभरिमा मेरो कामलाई व्यवस्था गर्थ्यो । अर्को एउटा निजी गोप्य टेलिफोन पनि थियो मेरो, जुन शम्भुबाबुका लगि मात्र थियो । ताकि उहाँ जुन बेला मन लाग्यो, फोन गर्न सक्नुहोस्, आधारात पनि ! देशभरिमा म यात्रा गर्दा यदि बिरामी भएँ भने म आफैँ उहाँलाई फोन गरेर स्वास्थ्य ठीक भएन भनेर सुनाउँथेँ । तपाईंले चिन्ता गर्नुस् भन्थेँ । नत्र उहाँले फोन गरेर बिरामी भयौ कि भनेर सोधिहाल्नुहुन्थ्यो । यसलाई भन्छः सिंक्रोनिसिटी ।

कतै भित्री तहमा हामी एकअर्कासँग जोडिएका थियौँ । जुन दिन उहाँको मृत्यु हुँदै थियो, म यत्तिकै उहाँको घर पुगेको थिएँ । म कार लिएर गाउँतिर लागेँ । मलाई त्यो सडक कहिल्यै मन परेन, न त कार चलाउन नै मन प-यो । तर जबलपुरदेखि गाडरवारा जाने त्यो सडक निकै खराब थियो । त्योजस्तो खराब सडक त तिमीले कहीँ पनि फेला पार्दैनौ । त्यसको तुलनामा त एन्टीलोपबाट रेन्च जोड्ने हाम्रो सडक सुपर हाइवे नै हो । जर्मनीमा यसलाई के भन्छन् ? अटोबान ?

‘हजुर ओशो ।’

देवगीतले भनेको हो भने त्यो ठीकै होला ।

युनिभर्सिटीबाट शम्भुबाबुको घरसम्मको सडकको तुलनामा हाम्रो यो सडक अटोबान हो । म तीव्र गतिमा गएँ… भित्र मलाई आशंका भइरहेको थियो । म सधैँ नै गाडी तीव्र चलाउँछु । तीव्र गति मलाई निकै मन पर्छ । तर त्यो सडकमा त एक घण्टामा बीस माइलभन्दा बढी तीव्र गतिमा चलाउन सकिन्न । योभन्दा बढी सम्भव नै छैन । अब तिमीहरु अनुमान गर्न सक्छौ, त्यो सडक कस्तो थियो होला । जब तिमीहरु निश्चित ठाउँमा पुग्छौ, यदि मरेनौ भने हत्तु त पक्कै हुन्छौ । तर एउटा कुरा चाहिँ राम्रो छ । शहरभित्र छिरेलगत्तै एउटा नदी फेला पर्छ । त्यहाँ तिमी नुहाउन सक्छौ, आफूलाई ताजा गर्न आधा घण्टा पौडन सक्छौ । आफ्नो कारलाई पनि राम्रोसँग नुहाइदिन सक्छौ । यसपछि जब शहर पुग्छौ, तिमी भूतजस्तो देखिने छैनौ ।

म दौडदै गएँ । म जीवनमा त्यति हतारोमा कहिले पनि थिइनँ । अहिले पनि छैन । जबकि यतिबेला मैले हतारो गर्नुपर्छ । समय तीव्रसँग बितिरहेको छ र जब मैले बिदा लिनुपर्ने दिन धेरै टाढा छैन । हुन त शायद म केही दिन अझै रोकिऊँला । मेरो हातमा त केही पनि छैन । यो कुर्सीका दुई हात हेर त, मैले दुवै हात कसरी पक्डिएको छु । म अझै पनि शरीरमा छु भनी महसुस गर्न चाहन्छु । चिन्ता नगर, अझै पनि केही समय छ ।

त्यो दिन मैले हतारो गर्नुप-यो । मेरो आशंका सत्य थियो । मैले केही मिनेट अझै ढिला गरेको भए, शम्भुबाबुका आँखालाई म फेरि हेर्न पाउने थिइनँ । मेरो अर्थ, उहाँकालाई ज्यूँदै हेर्न पाउने थिइनँ । उहाँले मलाई त्यसरी नै हेर्नुभएको थियो, जुन दिन पहिलो पटक मलाई हेर्नु भएको थियो । म उहाँको त्यो प्रथम दृष्टिलाई अन्तिम पटक हेर्न चाहन्थेँ । म त्यो सिंक्रोनिसिटी हेर्न चाहन्थेँ। र, उहाँको मृत्युभन्दा आधा घण्टा हामी दुई जना शुद्ध कम्युनियन संवाद भयो । मैले उहाँलाई भनेँ, ‘उहाँ जे भन्न चाहनुहुन्छ, भन्नुहोस् ।’

उहाँले सबैलाई बाहिर पठाउनु भयो । बाहिर जानेलाई पक्कै नराम्रो लाग्यो । उहाँका भाइहरु, छोराहरु र पत्नीलाई नराम्रो लाग्यो । तर उहाँले प्रस्ट भन्नुभयो, ‘तिमीहरुलाई मन परोस् कि नपरोस्, तिमीहरु चाँडै यो कोठाबाट बाहिर निस्क । किनभने मसँग समय नष्ट गर्ने फुर्सद छैन ।’

स्वभावतः उनीहरु सबै जना डराएर बाहिर गए । हामी दुवै हाँस्यौँ । मैले भनेँ, ‘तपाईं मलाई जे भन्न चाहनुहुन्छ, भन्नुस् ।’

उहाँले भन्नुभयो, ‘हुन त तिमीलाई भन्नुपर्ने मसँग केही छैन । तिमी मेरो हात आफनो हातमा लिऊ । म तिमीलाई महसुस गर्न चाहन्छु । मलाई आफ्नो उपस्थितिले मलाई पूर्ण गरिदेऊ, भरिदेऊ ।’

उहाँले भन्नुभयो, ‘म घुँडा टेकेर तिम्रो गोडा छुन सक्तिनँ । गोडा छुन नचाहेर त्यसो भनेको होइन । मेरो शरीर ओछ्यानबाट उठ्न स्थितिमा छैन । म हल्लिन पनि सक्तिनँ । मसँग केही मिनेट मात्र बाँकी छ ।’

मैले मृत्युद्वारमा उहाँ पुग्नुभएको देखिरहेको थिएँ । मैले उहाँको हातलाई आफ्नो हातमा लिएँ र केही कुरा भनेँ, त्यसलाई बडो ध्यानपूर्वक सुन्नुभयो ।

मेरो बालापनमा मैले दुई जना मात्र यस्ता व्यक्तिलाई पाए, जसले मलाई एकाग्रता के हो भनी बुझाए । पहिलो त मेरी हजुरआमा । अर्को, शम्भुबाबु । शम्भुबाबुसँग उहाँलाई मिसाउँदा मलाई अफसोस लागिरहेको छ जबकि उहाँको एकाग्रता शम्भुबाबुजस्तै थियो र पनि उहाँमा कयौँ अन्य आयाम पनि थिए । सत्य त के भने, मैले दुई जना थिए भन्न हुन्थेन तर भनिहालेँ । अब मैले यसलाई जति राम्रोसँग हुनसक्छ, त्यति राम्रोसँग बुझाउन देऊ ।

हरेक रात, मेरी हजुरआमाका लागि यो एउटा धार्मिक कृत्य बराबर थियो । ठीक त्यसरी नै जसरी तिमीहरु हरेक रात र बिहान प्रतीक्षा गर्छौ ।

हरेक बिहान उठ्नेबित्तिकै म चाँडै बाथरुम गएर तयार हुन्छु किनभने मलाई थाहा छ, सबै जना मेरो प्रतीक्षा गरिरहेका छन् । आज बिहान मैले खाजा पनि खाइनँ किनभने तिमीहरुलाई ढिला होस् भन्ने म चाहन्नँ । आज म अलि बढी सुतेँ । हरेक साँझ मलाई थाहा हुन्छ, तिमीहरु सबै तयार भइरहेका छौ । नुहाइरहेका छौ । जसै म तिमीहरुको सानो कोठामा बत्ती बलेको देख्छु, सबै सैतान पुगिसके र अब मैले चाँडो गर्नुपर्छ भन्ने म बुझ्छु ।

तिमीहरु दिनभरि व्यस्त हुन्छौ । तिमीहरुले रत्ति समय पाउँदैनौ । तिमीहरु भन्न सक्छौ, म त एकदमै रिटायर्ड, सेवानिवृत्त छु । अरुले मलाई रिटायर्ड गरेको होइन । मेरो बाँच्ने ढंग नै यही हो । आरामले बाँच्नु । बिहान र बेलुका केही नगर्नु र साँझदेखि बिहानसम्म आराम गर्नु । मेरो काम नै कुनै काम नगरी अरुलाई व्यस्त राख्नु हो । यो संसारमा शायदै यस्तो अर्को व्यक्ति होला या हुनेछ, जो मजस्तै कुनै काम नगरी नै आफूलाई जीवित राख्न हजारौँ संन्यासी चाहिएला जो लगातार काम गरिरहन्छन् । योभन्दा बढी ठट्टा के होला ?

आजै मैले चेतनालाई भनिरहेको थिएँ, विवेक छुट्टीमा गएकी छ । दस वर्षपछि उसले त छुट्टी पाउनु नै पर्छ । दस वर्षमा छुट्टीमा जानु कुनै ठूलो कुरा होइन । हिसाब गर्ने हो भने दुई वर्षमा एक दिनको छुट्टी भयो ।

मैले उसलाई भनेँ, ‘तिमी खुसीखुसी जान सक्छ्यौ ।’

ऊ क्यालिफोर्निया गई । मैले उसलाई भनेँ, ‘यी केही दिन तिमी हाँसीखुसीमा बिताउनू, मलाई खुसी लाग्नेछ ।’

म चेतनालाई भनिरहेको थिएँ, ‘अको वर्ष शायद म पनि केही दिन छुट्टीमा जान सकूँला ।’ तर समस्या के छ भने म एक्लै जान सक्तिनँ । मलाई त आफ्ना पूरा स्टाफ चाहिन्छ । म एक जनालाई पनि छाड्न सक्तिनँ । मेरा स्टाफ त अमेरिकाका राष्ट्रपतिका स्टाफभन्दा वृहद् छन् । यी त गरिब मानिसका स्टाफ हुन् । त्यसैले ठूलो हुनु नै पर्छ । मेरो स्टाफमा नोकर छैनन्, सबै प्रेमी छन् । त्यसैले म कसैलाई पनि छोड्न सक्तिनँ ।

समस्या यही हो, मैले चेतनालाई भनेँ तर ऊ ज्यादै खुसी भई । ऊ यति खुसी भई कि उसले मेरो समस्यामा ध्यान नै दिइन । ऊ खुसी हुनु स्वाभाविक थियो । किनभने यदि मेरा स्टाफ मसँगै छुट्टीमा जान्छन् भने ऊ पनि त स्टाफमा परी नि ! र चेतना… एक समय थियो, जब म आफ्ना सारा धुन्थेँ । ऊ अहिले मेरा कपडा धुन्छे । पहिला ती मैले धुँदा त्यति राम्रोसँग धोइन्न थिए । तिमी राम्रोसँग धुन्छेऊ । म तिम्रो योभन्दा राम्रो अझ के गरौँ ? हुन त म राम्रोसँग धोऊँ भन्ने चाहन्थेँ तर यो मात्र एउटा काम थियो, यो कामलाई चाँडो गर्ने प्रयास गर्थें । तिम्रा लागि त यो काम प्रार्थना हो, एउटा प्रेमपूर्ण काम हो । चाँडै सक्नुपर्ने काम होइन । संसारमा शायदै यस्तो मानिस होला, जसको कपडा मभन्दा राम्रोसँग धोइएको होस् ।

चेतना त खुसी भई, ‘हामी सबै छुट्टीमा जाँदैछौँ ।’ तर मैले त ती सबैलाई आफूसँगै लैजानुपर्छ। विवेकले ठीकै भन्थी । जब हामी पुना छाड्दै थियौँ, त्यसको धेरै तयारी गर्नुप-यो किनभने उसले मेरो शरीरको रेखदेख गर्नुपर्छ । मेरो खाना र अन्य कुरालाई ध्यान दिनुपर्छ । उसलाई यो कुराको चिन्ता थियो र कुनै पनि चिज नछुटोस् र यात्रामा सबै कुरा आफूसँगै होस् ताकि आवश्यक पर्दा सबै कुरा खोजेकै बेला पाइयोस् । यही चिन्ताका कारण ऊ शायद ठीकसँग सुत्दिन पनि । विवेकले मलाई ठीकै भनेकी थिई, ‘ओशो, तपाईं त सुनको ठूलो पहाडजस्तै हुनुहुन्छ, जसलाई एक ठाउँबाट अर्को ठाउँ लैजान महाभारत पर्छ ।’

मैले उसलाई भनेँ, ‘यो सत्य हो । सोह्रै आना सत्य । तर एउटा कुरा याद राख, यो पहाड सुनको त हो तर पनि जीवित र चेतन छ । त्यसैले सचेत भएर काम गर्नू ।’

तिमी मेरो कठिनाई देख्छौ चेतना ? एक साताका लागि या दुई दिनका लागि बिदामा गएँ भने पनि तिमीले कति तयारी गर्नुपर्छ ! हामी सबै कुरा ठीक त्यस्तै तयार गर्नुपर्छ, जस्तो लाओत्सु हाउसमा छ । यो ठूलो काम हो । तर तिमी यति खुसी भयौ कि यस्तो गर्नु उचित नै होला भन्ने सोचेँ । एक जना व्यक्तिलाई खुसी पार्नका लागि म जे पनि गर्न सक्छु । मेरो सारा जीवनको सारांश नै यही हो ।