जुन सोच, अठोट र चाहनाले म मेरो पूरै परिवारसाथ भर्जिनिया बसाइ सरेको थिएँ, बिस्तारै-बिस्तारै ती जोस र जाँगर सेलाउन थाल्दै थियो । कल्पना गरेको कुरा त परै जाओस्, आफूले सोचेको र ठानेको कुनै सानो काम पनि हुन सकेको थिएन । सबैतिर असहयोग मात्र होइन आफूलाई प्रयोग गर्ने र आफूबाट फाइदा मात्र लिनेको जत्थाबाट उम्किन निकै कसरत नै गर्नुपऱ्यो ।

आफ्नो अध्ययनअनुसारको काम पाउन हर सम्भव प्रयत्न गरे पनि अवसर प्राप्त नभएपछि वैकल्पिक कामहरू गर्न बाध्य भएको अवस्था थियो    । आफ्नो आमाको कुरालाई विशेष ध्यान नदिएको मनमा गढेर बस्यो । आमाले पटक-पटक सोध्नुभएको थियो “चार-चार जनाको परिवार छ, काम र मामको व्यवस्था भइसकेको हो ? के साँच्चै जाने लागेको हो ? पटक-पटक सोध्नुभएको थियो ।

हरेक पटकको मेरो जबाफ रेडिमेड हुन्थ्यो । “अँ सबै व्यवस्था भइसकेको छ ।”

बोस्टनका साथीभाइ अनि इष्टमित्रले सोध्थे, “कुन कार्यालय वा कुन कम्पनीमा काम सुरु गर्नुहुने भो ? यातायात र सर्ने सबै खर्च त कम्पनीले नै दिन्छ होला नि ?”

यी यावत् प्रश्नहरू म झलझलती सम्झन्थेँ र आफूलाई एक निरीह प्राणी सम्झेर आफ्नो गल्तीको आभास बारम्बार भइरहन्थ्यो ।

त्यसै समयमा एक सहयोगी प्राणी झुल्किनुभो । मेरा सबै समस्याका निराकरण उनले नै गर्छन् जस्तै भएर । भन्थे “तपाईँ त नेपाली समाजको चिरपरिचित व्यक्तित्व । तपाईँलाई सहयोग नगरेर कसलाई गर्ने ?”

वसन्त श्रेष्ठ (अमेरिका)

उनैको साथमा दुई-तीन दिन साथै हिँडियो । कहिले आफ्नै घरमा त कहिले रेस्टुरेन्टमा  पनि खुवाए । भर्जिनिया र मेरिल्यान्डका थुप्रै सानाठुला व्यवसायमा लागे । लाग्थ्यो कसैलाई काम र मामको व्यवस्था गर्नु तिनको बायाँ हातको खेल हो । कुनै पनि समस्यापूर्ति गरिदिइहाल्छु भन्ने उनको क्रियाकलाप र फुर्तीफार्ती देखिन्थ्यो । लाग्यो मेरो पनि व्यवस्था यो मित्रले गर्ने नै भो । ऊसँग हिँडेको तीन-चार दिनपछि मलाई काम र बस्ने व्यवस्था पनि भएको छ भनेर फोनमा जानकारी गरायो । म एक प्रकारले ढुक्क भएँ । अर्को दिन नै मलाई काम देखाउन लग्यो । मेरिल्यान्डको एउटा सानो व्यवसायअगाडि रोकेर मलाई गाडीमै राखेर ऊ भित्र गयो । हँसिलो अनुहार लिएर फर्केर भन्यो काम निश्चित भयो । म निकै आश्वस्त भएँ र खुसी पनि ।

भोलिपल्ट फोन गऱ्यो काम पक्का भयो तर  बस्नका लागि चैँ निश्चित रकम तोकेर नै मलाई  लिएर आउनुभन्यो । म बिहानै गएँ । चेक खल्तीमा नै थियो । चेक माग्यो ।

मैले भनेँ, “काम र बस्ने ठाउँ नहेरी कसरी मैले चेक दिनु ?”

उसले हाँसेर भन्यो, “त्यो त भइहाल्छ नि । ढुक्क हुनुहोस् न मैले भनेपछि ।”

तर मैले पहिला काम र बस्ने ठाउँ देखाउन जिद्दी गरेँ । उसले दुई-चार दिनमा खाली हुन्छ, अहिले तपाईँले डिपोजिट गर्ने मात्र हो भन्दै उसकै नाममा चेक लेख्न निकै कर गर्दै  थियो तर मैले त्यस दिन त्यो चेक दिइनँ । त्यो दिन नै मेरो ठुलो भाग्यको दिन रहेछ । नत्र मेरो निकै ठुलो रकम त्यस समयको त्यस नेपाली मित्रले पचाइदिने रहेछ । पछि थाहा भो उनले त नेपाली नटवरलालजस्तै थुप्रैको पैसा त्यसरी नै पचाइसकेको रहेछन् । मलाई के थाहा ? म त भर्खर भर्जिनिया सरेको मान्छे । त्यस्तो बेहोराको कुरा न मलाई कसैले जानकारी नै दिए न त कसैले खबरदारी नै गरे । सुन्छु अचेल उनी गुमनाम भएर अमेरिकाको कुनै सहरमा बसेका छन् ।

ठिक यही समयमा नेपालबाट भाइ हेमन्त आइपुग्यो । उनको श्रीमती न्युयोर्कमा थिइन् भने छोरा र छोरी आमासँग बोस्टनमा थिए । उनको परिवार अमेरिकामै रहेको कारण उनी नेपालबाट समय समयमा आउँदै जाने गर्ने गर्थे तर यसपटक चैँ परिवारको करबल र हाम्रो जोडले यतै बस्ने निर्णय गऱ्यो तर नेपाल प्रज्ञा-प्रतिष्ठानमा थुप्रै वर्ष प्रमुख प्रशासकीय अधिकृतमा काम गरेका भाइ हेमन्त अमेरिकामा नै कुनै आफ्नै व्यवसाय गरेर बस्ने भए मात्र अमेरिकामा बस्ने नत्र फर्कने भन्न थाल्यो । त्यसपछि कुनै व्यवसायका लागि खै खबर गर्न थालियो ।  त्यसैको फलस्वरूप हामीले सँगै एउटा व्यवसाय गर्ने निधो गऱ्यौँ । त्यसका लागि बोस्टन हुँदाकै पुरानो मित्र बुद्ध महर्जनलाई पनि नयाँ व्यवसायमा सामेल हुन् अनुरोध गऱ्यौँ ।

फलस्वरूप सन् २००० सालमा वासिङ्गटन डिसीको डुपोन्ट सर्कल नजिकै १८ स्ट्रिटमा आफ्नै देश नेपालकै चिनारी बोकेर ठडियो “माउन्ट एभरेस्ट रेस्टुरेन्ट” । नेपाली, भारतीय र तिब्बेतियन खानाको मेनु बोकेर यस क्षेत्रको पहिलो नेपाली रेस्टुरेन्टको उद्घाटन भयो । एक सय पच्चिस जनासम्म बस्ने क्षमता भएको यो रेस्टुरेन्ट दुई तल्लाको थियो । पहिलो तल्लामा काउन्टर, बार र केही सिट र पछाडिपट्टि किचन थियो भने माथिल्लो तल्लामा सानो अफिस समेतको ठुलो सभा हल । नेपाली त्यति उल्लेख्य जनसङ्ख्या नभएको र बाहिर खान जाने त्यति संस्कार बनिनसकेको अवस्थामा पनि निकै थोरै समयमै चर्चापरिचर्चा र लोकप्रिय हुँदै गयो । कुनै पनि सभा समारोहदेखि लिएर घर-घरमा खानाको बन्दोबस्त गर्ने व्यवस्था यस रेस्टुरेन्टले गर्न थाल्यो । यस रेस्टुरेन्टमा उल्लेख्य बस्ने क्षमता भएका कारणले कुनै पनि नेपालीको विशेष पर्वमा साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यक्रम पनि गरिन थाल्यो ।

लोकप्रिय तथा चर्चित गायक दीप श्रेष्ठको अमेरिका भ्रमणको समयमा उनको एकल गायन कार्यक्रम स्थानीय संस्थाको पहलमा भर्जिनियास्थित एनानदेलको नोभा कम्युनिटी हलमा भव्यताका साथ संस्कृतिक तथा गायन कार्यक्रमको आयोजना गरिएको थियो । भोलिपल्ट थुप्रै शुभेच्छुकहरूको अनुरोधमा गायक दीप श्रेष्ठको अर्को कार्यक्रम यही “माउन्ट एभरेस्ट रेस्टुरेन्ट” को सभा हलमा सफलताका साथ सुसम्पन्न गरियो ।

वासिङ्गटन डिसी मेट्रो क्षेत्रका नेवा समुदायको हक, हित र सांस्कृतिक उन्नयनका लागि “नेवा अर्गनाइजेसन अफ अमेरिका” को स्थापनाको अवधारणा ल्याएपश्चात् त्यसै समुद्घाटनको उद्घोषण कार्यक्रम पनि यसै रेस्टुरेन्टमै गरिएको थियो ।

वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको आफ्नो साहित्यिक लेखन यात्राको पच्चिसौँ वार्षिकोत्सव समारोहको भव्य कार्यक्रम पनि यसै रेस्टुरेन्टमा सम्पन्न गरियो ।

सन् २००१ मा  स्थापना भएको “द एकेडेमी अफ नेपाली पोइट्स एन्ड राईटर्स” द्वारा अमेरिकन नेपाली कविहरूसँगको सहकार्यमा ओपेन माइक फोरम कार्यक्रम पनि यहीँ नै भएको थियो । त्यो ओपेन माइक फोरम सफलताका साथ सम्पन्न गर्नमा नियात्राकार जय छाङ्गछाको ठुलो सहयोग प्राप्त भएको थियो ।

यसै माउन्ट एभरेस्ट रेस्टुरेन्टको आयोजना, संयोजन र स्पोन्सरमा राष्ट्र कवि माधव घिमिरेद्वारा लिखित नेपालको अत्यधिक  लोकप्रिय नाटक “मालती मङ्गले” तत्कालीन प्राज्ञ सरूभक्तको नेतृत्वमा सम्पूर्ण कलाकारहरू समेत अमेरिका ल्याई अमेरिकाको विभिन्न सहरमा सफलताका साथ मञ्चन गर्न सफल रह्यो ।

नेकपा एमालेका नेता वामदेव गौतम र जागृतप्रसाद भेटवालको अमेरिका भ्रमणको क्रममा स्थानीय जन समुदायसँगको भेटघाट कार्यक्रम पनि यसै रेस्टुरेन्टमा सम्पन्न गरिएको थियो ।

यस क्षेत्रमा स्थापना भएको पहिलो नेपाली रेस्टुरेन्ट भएको कारणले छोटो समयमै यस रेस्टुरेन्टले निकै लोकप्रियता प्राप्त गर्न सक्यो । विभिन्न व्यावसायिक होस्, व्यक्तिगत होस् या त सार्वजनिक कार्यक्रममा नै किन नहोस् हरेकको मिठो खानाको गन्तव्यस्थल नै ‘माउन्ट रेस्टुरेन्ट’ भएको समय थियो त्यो तर जति नै लोकप्रियता हासिल गर्दै गए तापनि नेपाली समाजको उल्लेख्य उपस्थिति भई नसकेको र भारतीय र तिब्बेतियन खानामा प्रतिस्पर्धा गर्न नसकिएको कारणले वासिङ्गटन डिसीजस्तो अति महँगो स्थानमा व्यवसाय कायमै राख्न निकै मुस्किल पर्दै गएको थियो । प्रत्येक वर्षको सुरुवातमा जोसिँदै गएको र हौसिँदै गएको हाम्रो इच्छा आकाङ्क्षा वर्ष अन्तिममा मुनाफामा आएको कमीले निरासा बढाउने र उत्साह मर्दै गएको अवस्था आयो ।  नेपाली खानाद्वारा प्रवासमा आफ्नो देश चिनाइरहनुका साथै आफ्नो व्यवसाय पनि टिकाइरहन हरेक बाधा व्यवधानसँग अनगिन्ती सम्झौता गर्दागर्दै पनि अन्ततः व्यवसायलाई पूर्णविराम लाउन पर्ने बाध्यता आइ नै पऱ्यो । समाधानका कुनै उपाय हामी कसैसँग नरहेपछि प्रवासमा हाम्रो जीवनको पहिलो व्यवसायको ढोका बन्द गर्ने हामी सबैले एकै  मतले सहीछाप गऱ्यौँ ।

“माउन्ट एभरेस्ट” रेस्टुरेन्ट  त्यति लोकप्रिय भइ नै सकेको व्यवसाय बन्द गर्न बाध्य हुनुपरेकोमा विभिन्न कारणहरू हुन सक्छन् तर मेरो आफ्नो विचारमा व्यवसायका लागि अनुभवको कमी, आफैँले सञ्चालन गर्न सक्ने क्षमता, अनुभव र ज्ञानको कमी,  व्यवसायका लागि आवश्यक अग्रिम अभ्यास नभएको, साझेदारी व्यवसायका लागि आवश्यक मापदण्ड र लचकतामा कमी कमजोरी, व्यवसायका लागि यथे मात्रामाष्ट लगानीको जोहो र लाभांशका लागि यथेष्ट समयको जोहो गर्न नसक्नुले हामी व्यवसाय रोक्न बाध्य भयौँ ।

करिब आठ वर्षदेखि सञ्चालनमा आएको सो “माउन्ट एभरेस्ट रेस्टुरेन्ट” यी नै र यस्तै विभिन्न कारण र समस्याले गर्दा सन् २००८ मा रेस्टुरेन्ट सधैँका लागि ढोका बन्द भयो ।