कविडाँडा साहित्य समाजको तत्त्वावधानमा नेपाल-भारत साहित्य उत्सव केही साताअघि सम्पन्न भएको थियो । दुवै देशका विभिन्न क्षेत्रबाट पाल्नुभएका साहित्यानुरागीसँग मुखरित हुने अवसर प्राप्त भएको थियो । परिचयको आदानप्रदानमा भारतको सिक्किम राज्यबाट आउनुहुने साहित्यकार युवराज बरालसँग पनि छोटो परिचय भएको थियो । दुई दिनको कार्यक्रममा दुईचोटि भेट हुन्छ । सज्जनता, शालीनता एवं मृदुभाषी व्यवहार उहाँमा पाएँ । दुई दिनको कार्यक्रमबाट छुट्नुअघि उहाँबाट भेट स्वरूप पुस्तक पाएँ, जिउनी’ कथासङ्ग्रह । धन्यवाद शब्दको मूल्य फर्काएर पुस्तक स्विकारेँ । कार्यक्रमबाट फर्किँदा ट्रेनमा यसो पढूँ भनी सबै साहित्यकारले भेट दिनुभएका पुस्तक निकालेँ ।

पढ्नलाई छान्न लाग्दा ‘जिउनी कथासङ्ग्रह’ मै आँखा गाढिए मेरा । अरू पुस्तक ब्यागमा थन्काएर ‘जिउनी’ लाई निहालेँ । आवरण पानामा धमिलो चित्र छ जसमा पहाडी गाउँ, नेपाली चार-पाँच घर, डाँडाकाँडा, खेतीपाती, रुखपात, आकाश बादल देखिएका छन् । आवरणमै लेखिएको छ ‘डाँ. शोभाकान्ति थेगिम लुप्चा स्मृति पुरस्कार २०२१ विजेता कृति’ अनि दोस्रो संस्करण । यी दुई कुराले प्रमाण दियो पुस्तकमा भएका कथा उच्चस्तरका छन् । पढेउप्रान्त अवश्य नै कथाले मनमस्तिष्कलाई परिवर्तन गराउन सफल हुनेछन् ! कथाकारलाई दुईचोटि केही क्षणका लागि भेटेर कहाँ चिनिन्छ ? उत्तर पाउन पछिपट्टिको कवर पानामा भएको लेखक परिचयबाट थाहा लाग्छ- ६ अप्रेल १९७३ मा जन्मिने युवा बराल स्नातक हुनुहुन्छ । पाकिम, पूर्व सिक्किममा निवासीले चार कृति नेपाली साहित्यलाई दिएर आफ्नो भूमिका निभाइरहेका छन् जसमा घातप्रतिघातका ऐँठनहरू (कवितासङ्ग्रह २००३), जिउनी (कथासङ्ग्रह २०१० प्रथम संस्करण), गोजिका (लघु कथाहरू, २०१७), छिचिमिरा (कथाहरू, २०१८) हुन् । जिउनी कथासङ्ग्रह २०२० मा दोस्रो संस्करण आएको हो । ‘रचना कथा पुरस्कार-२००४, स्रष्टा कथा पुरस्कार-२००३, गाउँले आवाज सागर सम्मान-२००८ मिलाएर जम्मा आठ साहित्यिक पुरस्कारबाट सम्मानित भएको परिचयबाट अवगत भइन्छ ।

jiuniअवसरवादी हुनु धेरैले सकारात्मक रूपमा ग्रहण गर्दैनन् तर सकारात्मक एवं उद्देश्यमूलक सोचमा अवसरवादी हुनु नराम्रो पनि होइन । पुस्तक पढेपछि मस्तिष्कमा, मनमा जे प्रभाव पार्छ वा जे परिवर्तन भावनामा ल्याउँछ त्यसलाई शब्दमा गाँसियो भने रचनाले जन्म लिन्छ । एउटा पुस्तक पढ्नु पनि मिहिनेतकै काम हो । समय लाग्छ, ध्यान एकाग्रचित्त गर्न मस्तिष्कलाई जोर लाग्छ । यति खर्चेपछि पढेको प्रतिक्रिया लेखियो भने आफ्ना लागि एउटा रचना अनि स्रष्टाका लागि योभन्दा ठुलो उपहार केही हुँदैन ।

यही असवरलाई अँगालेर जिउनी कथासङ्ग्रह पढेपछि प्रतिक्रिया लेख्ने जमर्को गरेँ । समालोचक वा समीक्षकको भूमिकामा मलाई नलिई पाठक प्रतिक्रियाको रूपमा लिइदिन आग्रह गरेँ ।

सर्जको नाम, थरी, शैक्षणिक योग्यतालाई छोडेर उसको अदृश्य चरित्र, सृजनात्मक मस्तिष्क, उसमा उब्जने उत्कण्ठाहरूबाट कुनै पनि सर्जकको पुस्तक पढेर पत्तो पाइन्छ । यही बोध मलाई अपरिचित कथाकार युवा बरालप्रति भयो ‘जिउनी’ कथासङ्ग्रह सर्लक्कै पढेपछि । यो कथासङ्गहले कुनै पनि पाठकलाई गाउँको भ्रमण गराउँछ । जो पाठक गाउँले हो उसलाई आफूले दिनै गरेका, भोगेका घटनाबाट अवगत गराउँछ । जसले गाउँ छोडेर सहर लागेको छ उसलाईलाई गाउँले जीवनको स्मरण गराउँछ । गराउँछ मात्र होइन पुनः गाउँ गएर ती सबै भागेको, देखेका पात्रमा जिउन मन लाग्छ, हेर्न मन लाग्छ । जसले गाउँ देखेको छैन, सहरमा जन्मेर सहरमै स्थापित भएको छ उसको आँखाको अगाडि गाउँको दृश्य परिदृश्य सबै देख्छ चलचित्र देखेझैँ ।

कथाको आद्योपान्त गरेपछि गाँउको ससाना कुरादेखि लिएर खेतीपाती, खोल्साखाल्सी, बारीपाखा साथै गाउँमा जीवन्त रहेका प्रथा, कुरुति, शिक्षा, राजनीतिक परिवेश, पुरुषनारी असमानता जस्ता कुराहरूको उठान गरेर समाधान दिने प्रयत्न गरेको पाइन्छ । रुचाउने कुरा के छ भने प्रत्येक कथामा वर्णन एवं पात्रका वार्तालाप गाउँकै स्थानीय शब्द, एवं मिठास घोलेर कथा कथिएका छन् । अङ्ग्रेजी, हिन्दी एवं क्षेत्रीय भाषाको प्रभावमा नेपाली भाषा रङ्गिएको समयमा कथाकार यो समस्याबाट बाहिँरिएर सूक्ष्मभन्दा सूक्ष्म शब्दलाई पनि समातेर कथामा राखी पाठकले बिर्सिएका शब्दलाई स्मरण गराउन सफल भएका छन् ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

चौबिस कथाको सङ्ग्रहमा पहिलो कथा ‘बीभत्स घर’ पर्छ । हावा, हुन्डरी र दर्किएको पानीले बुढो घरको अस्तित्व मेटिने गरी दुर्दशा पार्नु अनि त्यही कहालीलाग्दो रातमा एउटी बुढी आमाको छातीमा घरको बलाले किचेर मरेको अवस्था पढ्दा गाउँबाट सहरतिर पक्का घरमा बस्ने छोराछोरीको गाउँप्रति अनि केश फुलेको आमाबाबाप्रति माया मरेको अवस्था सोच्न बाध्य बनाउँछ ।

कुनै दम्पतीको सन्तान नहुनुमा सधैँ स्त्रीमाथि दोषारोपण परिवार र समाजले गर्दछ । थारी, बाँझे, बोक्सी जस्ता उपनाम दिने गर्छन् । यो सोच वास्तवमा समाजको एउटा घिनलाग्दो पाटो हो । यही सोचलाई केन्द्रमा राखेर कथाकारले विस्फोटन कथा कथेका छन् । नारीमा मात्र सन्तान नहुने दोष हुँदैन अपितु पुरुष पनि समान रूपमा दोषी हुन्छन् । पुरुषप्रधान समाजमा सधैँ यसको लाभ लिँदै आएको पुरुषको पात्र यो कथामा यसरी बनाइएको छ जहाँ उर्मिलाका पतिलाई जाँच गराउन बाध्य पार्दा ऊबाट नै सन्तान नहुने दोष भेटिन्छ । यहाँ समाजका ती असङ्ख्य नारीलाई दोष लगाउनेमाथि नारीविजय भएको भान पाइन्छ तर उर्मिलाले पतिको दोष भएको कुरा जाने पछि उन्मुक्त भएर गर्जिएको ‘हा…हा…हा… मेरो कोख बाँझो होइन मेरो पति नामर्द रहेछन्! नामर्द!!’ सुन्दा कता-कता उर्मिलाको नायिका पात्र अन्तमा खलनायक भएको जस्तो लाग्छ । उर्मिलामा शिष्टाचार राखिदिएको भएँ हेप्पी इन्डिग हुने थियो ।

‘यस्तो पनि हुँदो रहेछ’ कथा समाजमा बाचिरहेको धामीझाँक्रीजस्ता अन्धविश्वासमा विश्वास राख्ने मान्छेलाई झटारो हो । कथा छोटो भए तापनि राम्रो भाषाशैलीमा सामाजिक कुरुतिलाई उजागर गरेको छ ।

‘दुई किनारा’ कथाले नयाँ विषयलाई उखेलेको छ । छोराछोरीलाई अधिक अधीनमा राख्दा उनीहरूमा आउने विकारलाई प्रकृतिसँग दाजेर कथिएको कथामा पनि भाषाशैली रोचक लाग्छ ।

कथासङ्ग्रहको नाम नै राख्न कथाकारको मन जित्ने ‘जिउनी’ कथा दह्रिलो नै हुनुपर्छ । प्रमाणित पनि गरेको छ । यो कथामा गाउँको प्राण भेटिन्छ । सम्पूर्ण कथाको आशय यो कथामा लुकेको छैन भन्न सकिँदैन । हलो, कोदालो, गइँती, करुवाँ, खेत जस्ता दृश्य कति कलात्मक ढङ्गमा पाठलाई आँखाको सामु दर्साइदिन्छन् । छोरा सहर लागरेर एक्लै गाउँमा बसेका बाबाआमाको वास्ता नगरेर दम्पती निराश हुनेजस्ता प्रत्येक बिन्दुहरूलाई समेटेर कसिलो भाषामा पाठकको मन छिचोल्न कथाकार युवा बराल सफल भएको प्रतीत लाग्छ । वर्तमानको एउटा हिन्दीमा ‘जीता जागता उदाहरण’ भनेझैँ समाजको उदाहरण कथामा प्रस्तुत गरिएको छ ।

‘विस्फोटन’ कथामा जहाँ कथाकार नारीवादको कुरा गर्दै छन् भने समाजमा नारीले विकृति फिँजारेको पनि सबैका सामु राख्न कथाकार पछाडि हटेका छैनन् । ‘अनिश्चितता’ कथामा बबिताले आफ्नो दुधेदाँतका नानी छोडेर पोइला भागेको पात्र राखेर समाजको विकृतिको पर्दाफास गरेको छन् ।

नयाँ पिँढीबाट बुढाबुढी अवहेलित हुनु सधैँ भइआएको कुरा समाजमा देखिन पाइन्छ । पहिले पनि थियो अनि यो आधुनिक समाजमा झन् बढी छ । समाजको आधार भनेको परिवार हो । परिवार शिष्टाचार अनि आदरको बैसाखीले टिकेको हुन्छ । यो चलिआएको समस्यालाई ‘मूल्य-बोध’ कथामा समस्या मात्र होइन बरु समाधानको उदाहरण दिएर कथालाई बिट मारेको छ ।

युवा बराले कथाका कथावस्तु खोज्दा प्रेम भावनालाई लत्याएका छैनन् । ‘त्यो प्रिय मुहार’ कथा यसको प्रमाण छ । उक्त कथा पढ्न थालेपछि सकेर मात्र बिसाउन मन हुने कसिलो ढाँचामा ढालेर प्रेमिल कथा पस्किएको छ ।

‘आगन्तुक’ कथा छोटो तर शिक्षाप्रद छ । ‘अतिथिदेवो भव’ धर्म बिर्सिनेलाई स्मरण गराइदिन्छ ।

कथाकार गाउँको सङ्कुचित सोचलाई बृहत् सोचतिर लान खोज्छन् । रसोइमा धुवाँ हुनुले अविकसित गाउँले भएको भान गराउँछ तर यसैमा बुढापाकाले संस्कार र अनुशासन देख्छन् । ‘धुवाँ’ कथाले यै द्वन्द्वलाई चिर्दै विकसित गाउँमा विकसित सोच भित्त्राउन चेष्टा गरेको छ । यो सोचलाई पाठकले समर्थन गर्नेछन् ।

कथा आधी सद्धियाई सकेपछि कथाकार युवा बराल गाउँले जीवनमा हुर्केको, खेलेको, खेतीपातीमा पसिना बगाएको हो भन्न ठोकुवा गर्न सकिन्छ । कमिलालाई बारिकीसँग बुझेका बरालले समाज एवं देशलाई कोट्याएर खाने व्यक्तिहरूको कुकृतित्वलाई कमिलाको जीवनबाट प्रतिबिम्बित गर्ने राम्रो जमर्को गरेका छन् ।

‘आरान’ कथा पढेर वाह! नभनी अगाडि बढ्न मन मान्दैन । समाजको अर्को कुरुतिलाई आरपार देखाइदिएको छ । सलल बगेको यो कथामा समाजका तल तप्कामा हुने कमजोर चरित्रलाई खोजेर उसको अवहेलित जीवनलाई सबैको सामु राखी मान दिन खोजेका छन् भने त्यहीँ अवहेलित भएको पात्रले पनि आफ्नो कमजोरी पक्षलाई परमार्जित गर्ने सन्देश पाएको छ । एक्काइसौँ शताब्दीमा पनि समाजले यस्तो कुरुति पाल्दा कथाकार झन्किएर समाजलाई झटारो हानेका छन् कथाको आडमा ।

भ्रष्टचार व्यापक विषय हो । सामान्य मानिसको सोच जहाँ अन्त हुन्छ त्यहाँबाट भ्रष्टचारको विस्तार आरम्भ हुन्छ तर सामान्य पाठकको मस्तिष्कमा छाप जमाउन सफल भएका बराले सामान्य परिवारको पात्रमा भ्रष्टचारको अनुहार देखाउन प्रयत्न गरेका छन् । कथाको अन्तमा चाहिँ भ्रष्टचारको बाटो पात्रले स्विकारिदिँदा सन्देश नकारात्मक गएको आभास हुन्छ ।

भावनाले चुर्लुम्म पार्ने कथा पनि फेला पर्छन् । ‘हराएको मान्छे’ कथामा आमाबाबाबाट बिछोडिएको नानीको वर्णन पढ्दा मन करुणामयी भएर भावविभोर भइदिन्छ ।

गाउँकै अर्को समस्या बालबच्चा खैनीबिँडीजस्तो नशामा लत पर्ने सङ्गतको कुरा राखिएको छ । कसिलो चाखलाग्दो कथा छ ‘अम्मल’ ।

‘देवाली’ कथाले बलिप्रथालाई रूढिवादीका रूपमा देखाएको छ भने ‘बिनाजरी’ कथामा वर्तमानमा गाउँको माटो बेचेर सहर पस्ने चल्दै गरेको समस्याको उठान गरिएको छ ।

सङ्ग्रहको अन्तिम कथा ‘पाइला पछिका पाइलाहरू’ कथाले गाउँलाई परिर्वतनको बाटो देखाएको बोध गराउँछ । महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै गाउँमा परिवर्तन ल्याउने कुरामा जोड दिएका छन् कथाकार युवा बरालले ।

‘जिउनी’ कथासङ्ग्रहको उज्यालो पक्षको साथमा धमिलो पक्ष यहाँ राखिएन भने कथाहार प्रति अन्याय हुन्छ । कथामा कथाकार निबन्धकार बढी भएको बोध हुन्छ । कथाभन्दा निबन्ध त होइन भन्न पनि मन लाग्छ धेरै कथामा । ‘इत्यादि’ कथामा कथाकार निबन्धकार भएका छन् । यो दृष्टिले कुनै-कुनै कथाले न्याय पाइएका छैनन् । दोस्रो संस्करण भएर पनि प्रायः कथामा हिज्जे सुधार गर्न पुनः भूल भएको छ । मिठो, देवीचरण, माइला, आँसु, काफर शब्दसम्पादन सुरुआतका कथामा गरिएको छैन भने आगन्तुक कथामा ‘खोलेँ’ को ठाउँमा खोल, भूलभित्रको शूल कथामा ‘हिजोसम्म’ लेख्नेमा हिजसम्म, हराएको मान्छे कथामा ‘हिजो’ को ठाउँमा हिज, ‘अम्मल’ कथामा ‘धारामा’ हुने ठाउँमा धारमा, यही कथामा ‘झन्’ को ठाउँमा झनन्, पाइलापछिका पाइलाहरू कथामा ‘दुवै’ को ठाउँमा दुनै, यै कथामा ‘हरबखत’ को ठाउँमा हरखत अनि ‘बढ्’ को ठाउँमा बड् लेखिएका त्रुटिहरू परिमार्जित गर्न भूल भएको छ ।

 नेपाली शब्द नै मेल खाने ठाउँमा पनि हिन्दी शब्द भएकाले पढ्न असहज लाग्छ ‘दुई किनारा’ कथामा ‘सही तरहले’ तरहको ठाउँमा तरिका या ढङ्ग हुन्थ्यो भने अर्कै सुन्दर हुने थियो ।

चौबिस कथा पढ्दा प्रायः कथाले पाठकको मन गद्गद पार्छ भने धेरै कथामा कथा नभेटिँदा पाठकको मन खल्लो हुन्छ । तीन-चारओटा कथा छन् जो छोटा छन् त्यहाँ कथाको उठान छैन, मुख्य पाटो छैन, सन्देश छैन । उपक्रम, शून्य सपना, इत्यादि अनि असामर्थ्य कथाले पाठकलाई निराश पार्छ । कथामा न आरम्भ छ न अन्त ।

गाउँलाई केन्द्र राखेर लेखिएको कथा भएर विभिन्न विषय एवं रस नपाउँदा पाठक असन्तोष हुन सक्छ । कथाकार भाषाशैलीमा निपुण छन् । शब्द भण्डारमा धनी छन् तर सरल शब्द राख्ने ठाउँमा पनि क्लिष्ट शब्द भेटिँदा रोचकतामा असर परेको पनि भान लाग्छ ।

समग्रमा कथासङ्ग्रह पठनीय छ । गाउँले जीवन बुझ्न इच्छा राख्ने मानुभावका लागि यो रिसर्च पेपर समान छ । आशा छ आउने दिनमा कथाकार युवा बरालका अझ स्वादिला कथा पढ्न अवसर पाइन्छ ।