तपाईँहरूलाई थाहा नै होला कि अचेल म जोगी भएको छु । त्यसैले बूढानीलकण्ठपरिसरमा यताउति भौँतारिरहन्छु । यसकै पाटीमा बास बस्छु । धर्मशालामा खान्छु । पाहार ताप्न मन्दिर अगाडिको खुड्किलोमा बसिरहेको छु । जीवनका कुरामा घोत्लिएको छु । तन्मयका साथ एकाग्र भएको छु । सायद जीवनको आरोह—अबरोह केलाउँदैछु । तर यसै बीच मेरो एकाग्रतालाई एउटा बिरालोको क्रन्दनयुक्त आवाजले भङ्ग गरिदिएको छ । यसो हेर्छु, मेरै सामुन्नेबाट एउटा लुम्रे बिरालो कङ्कला शब्द गर्दै, कराउँदै, चिच्याउँदै रुँदै गइरहेछ । त्यो लुम्रे बिरालो आफ्नो भाँचिएको खुट्टा लथरक लथरक पारेर माया लाग्दो तरिकाले घिसार्दै छ । मान्छे हाहा र होहो गर्दैछन् । मानौँ कि त्यो विरालोले उनीहरूको तोरी बारी फाँडिदिएको छ । तर बिरालो अकिञ्चन हिँड्दै छ र ङार्रङुर्र पनि गर्दै छ । बिरालो लुम्रे छ । घाइते छ । कमजोर छ । तर पनि मै हुँ भन्ने लर्दु मान्छेहरू ऊ सम्मुख पर्न डराउँदैछन् ।

लुम्रे बिरालो र ती भयातुर मान्छे देखेपछि मैले आफ्नै पुरानो कुरा सम्झेको छु । म बाल्यकालमा पुगेको छु —
म १० वर्षको हुँदाको कुरा हो । कुँडेबाट सबै दूध चाटीचुटी पारेर आगन्तुक विरालोले खाइदिएको थियो । विरालो कोठाको खाटमुनि पसेको थियो । बिरालोसँग एकदम रिस उठेको थियो । मैले कोठाका झ्याल, ढोका सबै बन्द गरेको थिएँ । आग्लो निकालेर बिरालालाई हिर्काउन थालेको थिएँ । अर्जापेको खुकुरी हातमा लिएको थिएँ । बिरालो कङ्कला शब्द गरेर कराउन थालेको थियो । यो सुनेर हजुरआमा ढोका खोलेर भित्र आउनुभएको थियो र बिरालोलाई भगाइ दिनुभएथ्यो । अनि मलाई भन्नु भएथ्यो – बिरालोलाई भाग्ने ठाउँ नदिई कुट्यो भने उसले विद्रोह गर्छ र कुट्ने मान्छेको आँखा निकालिदिन्छ ।

यो पुरानो कथा हो । तर मेरो आजको कथा भने फरक छ । म जोगी भएको छु । म जोगी हुने कारण यो संसारको चराचर जगत्को गुढ रहस्य पत्ता लगाएर होइन । जन्म र मृत्युका अनिर्णित सत्य बुझेर पनि होइन । कुनै दार्शनिकका मोहनी दर्शनमा परेर बरालिएको पनि होइन । तपाईँहरू पत्याउनुस् कि मलाई जोगी बनाएकी डल्लीले हो ।

अब पहिले तपाईँहरूलाई डल्लीले मलाई कसरी जोगी बनाई भन्ने सत्यकथा सुनाउँछु — डल्ली मेरी प्रेमिका थिई । एम.एड. पढ्दा ऊसँग भेट भएको थियो । चिनाजाना भएको थियो । कपी साटासाट भएको थियो । पुस्तक आदान–प्रदान भएको थियो । कुन सट्का प्रेम भएको थियो, माया बसेको थियो, पिरति पसेको थियो, बैँस साटिएको थियो, थाहै भएन । प्रेममा के जायज के नाजायज ? वनकालीका झाडीमा धेरै सपना बनाएका थियौँ उसले र मैले । लगनखेलका क्याफेका महँगा कफीमा घण्टौँ अलमस्त भएका थियौँ । कल्पनाको महल बनाएका थियौँ । सातजन्मको बाचाबन्धनको अट्टुट लाहाछाप लगाएका थियौँ । यहाँसम्मकी भविष्यका छोराछोरीको नामसमेत जुराएका थियौँ ।
हाम्रो परीक्षा पनि राम्रो भएको थियो । दुवै खुसी थियौँ । परीक्षा सकिएर घर जाने क्रममा उसले मलाई भनेकी थिई – अब एउटा राम्रो जागिर खोजेर खाऊ । जागिरे केटालाई मात्र दिन्छन् मलाई । छिटो गर । नत्र फेरि ‘हिस्स बुढी खिस्स दाँत’ हौला । कुरा बुझी राख । वनकालीमा गरेका वाचाहरू वनकालीकै झाडीजस्तै पातला हुन सक्छन् ।

जागिर खोज्न आकाश पाताल एक पारेँ । गुहार्ने मान्छे गुहारेँ । तर जागिर पाउन सकिनँ । नेतालाई चाकरी गर्दा पनि जागिर पाइनँ । मास्टरी खोज्न गएँ । ‘पार्टीको टिकट छ ?’ भनेर सोध्थे । पार्टीको टिकट लिन गए ‘चन्दा कति लाख दिने ?’ भनेर सोध्थे । यही रनाहामा थिएँ । डल्लीले फोन गरी – मेरो बिहे गरिदिन आँटे । एउटा एनआरएन आएको छ । अहिलेसम्म तिमी के भद्रो हेरेर बसेका छौ ! कि तिमीलाई म चाहिएको छैन, हँ ?

डल्ली उछिट्टिने भई भन्ने चिन्ता लाग्यो । डल्ली उछिट्टिनु भनेको मेरो सर्वस्व डुब्नु थियो । मेरो प्रेम मर्नु थियो । त्यसकारण अब डल्लीलाई लिएर भाग्नु पर्यो भन्ने विचार आयो । उसलाई ईन्द्र चोकमा बोलाएँ । आई । मैले मेरो कुरो रिट्ठो न बिराई सुनाएँ । प्रेमलाई जानेजति भावुकतासहित पस्किएँ । मेरा आँखाबाट आँशु पनि आएका थिए । मलाई लागेको थियो कि डल्ली मेरो अवस्था बुझेर प्रेमका साङ्लामा पग्लिएर द्रवीभूत हुनेछे । ढाडस दिनेछे । अनि प्रेम नै सर्वस्व हो भनेर दुःखमा दुःख मिसाउन खुरुखुरु मेरा अगाडि लागेर हिँड्नेछे । तर ऊ त अट्टहास हाँस्न पो थालेकी थिई । हाँस्दा हाँस्दै क्रुद्ध भएर भनीथी –

ए हुतिहारा मुर्ख, यी लाछी कुराले तिमी कति पानीमरुवा छौ भन्ने कुराको पुष्टि गरेको छ । गुदी नभएको मान्छे काम लाग्दैन । तिम्रा जुँघा चाटेर जीवन चल्दैन । आफ्ना खुट्टामा उभिन पछि पर्यौ भने समयले पर्खेर बस्दैन । म तिमी मर्दा सँगै सती जाने खालकी सतीसावित्री त होइन नि ! म त आधुनिक युगकी नारी हुँ । एक्काइसौँ शताब्दीकी नारी हुँ । पूर्ण नारी हुँ । म पूर्ण पुरुष चाहन्छु । हुतीहारा पुरुषको के काम यो संसारमा ? नारी पुरुषको अलग्गै पूर्णता यो युगको माग हो ।

जाहिर छ, डल्लीको अन्तै बिहे भयो । ऊ आफ्नै संसारमा हराई । मैले मुटु मिचेर सहेँ । यसपछि मैले केही वर्ष लैला–मजनु, हिर–राझा, रोमियो–जुलियट तथा मुना–मदन जस्ता कैयौँ आदर्श प्रेमका थुप्रै काव्य पढेर बिताएँ । त्यसपछि भने मलाई वैराग चल्यो । मैले त डल्लीसँग साँच्चैको प्रेम गरेको थिएँ । दारी पालेँ । जुँघा पालेँ । कपाल पालेँ । कपाललाई जटा बनाएँ । खरानी दलेँ । डल्ली नै नभएपछि सारा विषयगत संसार त्यागिदिएँ र जोगी भएँ ।

जोगी भएको देखेर एकदिन मेरा साक्खै काकाले भन्नु भयो – के बैँसमै खरानी दलेको हो कुन्नि यो केटाले । तीन तिघ्रा कुदाएर संसार खानु पर्दैन लाटा !, डल्लीले भने लाठे पोइ सुमरेर यत्रो गोद्र्याके छोरो पाइसकी होली । एउटी खोजेर दन्दनाएर बिहे गर्नु नि ! कस्तो मुर्ख रहेछ यो कान्छो ? तँ सक्दैनस् भने म खोजिदिन्छु ।

एक दिन आफ्नै पिताजीले आमालाई भनेको सुनेँ – के गर्नु त कान्छी ! कान्छो छोरो जोगी भइहाल्यो । ऋण गरीगरी त्यत्रो पढाएँ । अखिरकार मेरो हनबेर्नु हुन सकेन । वैतरणी तार्ला कि भन्ने ठानेको थिएँ । एउटा फुल फुट्यो भन्ने ठान्नु पर्छ । फुट्यो । एउटा फुल फुट्यो ।

यो सुनेपछि मर्न मन लाग्यो । नाम्लो बरियो टिपेर घर पछाडिको खयरको रुखमा पुगेँ । घाँटीमा बाँध्न आँटेको थिएँ, तल्ला घरका ठूलाबाले देखेर बरियो खोस्तै भने – कस्तो नाथु रहेछ यो भतिज ! एउटी चर्कुलीका लागि जीवन त्याग्ने ! यत्रो पढेको मान्छे, कुलको रुख हुन्छ कि भनेको त पासो लाउन पो खोज्छ त ! आत्महत्या महापाप हो भन्ने कुरा तैँले कहिल्यै पढिनस् ? केही बुझेको छैनस् शास्त्र ?

अनि म महापाप नगरी फुकाफाल जोगी भएँ । मेरो यो ताल देखेर समाजले मलाई भन्न थाल्यो – कुन बेला मान्छेको कुन तार खुस्कन्छ, के थाहा ! हुँदो खाँदोको कान्छो एउटी नखरमाउलीको पञ्जामा परेर जोगी भयो । नखरमाउलीले भने कण्डो फर्काइदिएर हिँडी ।

त्यसपछि म विरक्तिएर अक्सर त्यही वनकालीमा जान थालेँ । त्यो दिन पनि म गुह्वेश्रीको योनि दर्शन गरेर वनकाली पुगेको थिएँ । योनि र शिवलिङ्गले मानव सभ्यता मात्र होइन, चराचर जगतको सृष्टिको कथा भन्छ । किनकि त्यो जीवनको सार हो । सृष्टिको मुहान हो । त्यसको कल्पनाले मात्र पनि प्रेमिल बन्छु । त्यो बेला योनिका रूपमा डल्ली आइपुग्छे र आनन्दातिरेक बनाएर जान्छे । धेरै बेर त्यही रुखको फेदमा बसिरहेको थिएँ, जहाँ डल्ली र म अक्सर बस्ने गथ्र्यौँ ।

वनकालीमा अनेकौँ जोडीहरू प्रेममा हराएका थिए । म पनि एकाछेउमा बसेर एउटा प्रेमील कल्पनामा हराएका जोडीको कुरा सुन्न थालेको थिएँ । पोथ्रामा च्यापिएका एक प्रेमील जोडीमाको प्रेमी भन्दै थियो – हाम्रो प्रेमलाई सामाजिक मान्यता दिनु पर्छ है अब ।

प्रेमिका जवाफ फर्काउँदै थिइन् – मेरो दिलको प्रेमबन्धनभन्दा यो सामाजिक बन्धन बलियो हुन्छ र !

प्रेमी लगभग विक्षिप्त जस्तै भएर भन्दै थियो – तिम्रो ज्यान, आत्मा, शरीर, धडकन सबै मेरो भयो अब । बाबुआमाबाट तिमीसँग बिहेको अनुमति पाउन धेरै कुरिसकेँ । अब म कुर्न सक्दिनँ । प्रिय, म जस्तो छु, त्यसैलाई जस्ताको तस्तै स्वीकार है ।

प्रेमिका आफ्नो प्रेमीलाई भन्दै थिई —
– देखिने वा नदेखिने घुम्टो ओढ्नु नपर्ने ठाउँमा गएर मुक्त आकाशमा विचरण गर्न मन छ । हामी भागौँ र पुगौँ त्यहाँ, जहाँ महिलाले पनि मुक्त आकाश भेट्छन् । कि जुधौँ मुक्तिका लागि जीवनभर । के भन्छौ तिमी ?

विचराहरूको प्रेम । कस्तो निर्मोही छ समाज ! कस्तो पागल छ समाज ! उफ, यो संसारले प्रेमको कुरा किन नबुझेको होला !

सूर्य अस्ताउँदै थियो । सूर्यको मधुरो प्रकाशले काठमाडौँ सहरमा गुलावी रङ् छर्दै थियो । अनि म वनकालीबाट काठमाडौँ सहरलाई हेरिरहेको थिएँ । सहरमा गगनचुम्बी घरहरू अग्लाइमा प्रतिस्पर्धा गर्दै थिए । कङ्क्रिट सहर बनेको थियो काठमाडौँ । बागमती फोहोर बगाउन बल गर्दै थियो । आर्यघाटबाट निस्केको धुवाँको मुस्लोको गन्ध श्लेषमान्तक वनसम्म आइपुगेको थियो । वागमती किनारामा बनेको मेसिने दाह केन्द्रका आँगनमा लासहरू लडाइएका थिए । कुनै लास दाह केन्द्रको बम्बाबाट धुवाँको मुस्लो हुँदै थिए । जीवनको एउटा सत्य मृत्यु हो भन्ने थाहा पाएरै म आर्यघाटतिर लागेको थिएँ । किनभने मानिसका जिजीविषाहरू यही आर्यघाटमा पुगेर विसर्जित हुन्छन् । अचम्मको कुरा त के भने मलामीलाई पनि आर्यघाटको लासेधूँवा खाएपछि घाटे–वैराग्य आउँछ । तर अलि पर पुगेर विर्सन्छ र दुष्कर्म गर्न थाल्छ ।

आर्यघाटमा रुवाइका कोकोहोलो आर्तनादहरू लासको धुवाँसँग मिसिएर उडिरहेका थिए । थुम्का थुम्कामा लासहरू कोही जल्दै थिए । कोही पर्खिरहेथे । घाटे बाहुन बार्गेनिङ गरिरहेथे । यसै बीच मैले देखेको थिएँ कि मलामीहरूसँग एउटा माग्ने बाँच्नका लागि भिक माग्दै थियो । भिक नदिनेलाई जलिरहेको लासलाई देखाउँदै ऊ बेस्सरी गाली गथ्र्यो – तिम्रो पनि गति यही हो । अहिले अलिकति दान गर्न पनि नसक्ने कञ्जुस !

आर्यघाटको एक कुनामा बसेर त्यो विपर्यास परिवेशलाई नियाली रहेको थिएँ । लासहरू आइरहेथे । धूवाँ भइरहेथे । यस्तैमा एउटा चलानी बाकस रुँदै आयो । बाकसबाट बरफका डल्ला पल्टाउँदै निस्कियो एउटा नीलो लास । बरफले खाइसकेको त्यो लास चिन्न पनि मुस्किल परिरहेथ्यो सायद । लासलाई बाकसबाट निकाल्ने बित्तिकै अघिदेखि रोइरहेका एक समुह महिलाको रुवावासीले घनात्मक तिब्रता पायो ।

‘केही ठुर्रीका लागि विदेश नपठाएको भए आज मेरो छोरो मारिने थिएन । ह्वाँ ह्वाँ ह्वाँ ।’ – यो विवस आमाको क्रन्दन थियो ।

अर्को एउटा अर्धमृत तर श्वास फेर्दै गरेको अर्ध–लासलाई हथेरेर ल्याउँदै थिए शुभचिन्तक र सहयोगी । त्यो हथेरिएको अर्धलासको पछिपछि एउटा बालक हिँडिरहेथ्यो । त्यो उसको छोरो थियो सायद । आफन्तले त्यो जीवित अर्ध–लासको गलाबाट मङ्गलसूत्र निकालेका थिए । चुरा फुटाएका थिए । सिँदुर धोइपखाली गरिदिएका थिए । रातो लुगा निक्खर कोरा सेतोमा परिवर्तन गरिदिएका थिए । र हेर्दाहेर्दै समाजले लोग्ने मरेको बहानामा स्वास फेर्दै हिँड्दै खाँदै गरेको मान्छेलाई जिउँदो लास बनाइदिएको थियो । जिउँदो लास बनाएपछि समाज उनलाई मेहरवानी गरेर सम्झाउँदै थियो । साखुल्ले बन्दै थियो । अपनत्व देखाउँदै थियो – के गर्ने नानी ? तिम्रो प्रारब्ध नै यस्तै रहेछ । विधवा भइहाल्यौ । दुःखमा जीवन बिताउनु पर्ने भो तिमीले ।

उफ ! यो दृश्य देखेर मेरा नौनाडी गलेका थिए । लोग्ने विदेशबाट बाकसमा आउनु के उसको प्रारब्ध हो ! लोग्नेको मृत्युमा ऊसँगका सबै खुसीहरू खोसिनु के मानवता हो ?

मैले त्यो अर्धलासलाई सेतो कोरा फरियामा परबाट हेर्दा पनि चिने चिनेजस्तो लागेको थियो । भिड पञ्छाउँदै म नजिक पुगेँ । मलाई एकाएक पसिना आएको थियो । परपर कालो छायाँ देखिन थाल्यो । म अचेत भएको थिएँ । किनभने त्यो जिँउदो अर्धलास डल्ली थिई ।

डल्लीसँगको यो भेट संयोग थियो कि कुसंयोग थियो, मलाई थाहा थिएन । तर मैले त्यसपछि उसको जीवनमा शान्तिको कामना गरिरहेँ । त्यसैले म हरेक दिन बूढानीलकण्ठ मन्दिरको ढोकामा पुगेर डल्लीको शान्ति र जीवनको कामना गरिरहन थालेको थिएँ । अलिकति समय बितिसकेको थियो । बूढानीलकण्ठको बारबाट हेरिरहेको थिएँ । पुजारीहरू बूढानीलकण्ठलाई शृङ्गार गर्दै थिए । मुकुट पहिर्याउँदै थिए । चन्दन लेपन गर्दै थिए । धूप बालिँदै थिए । घण्ट बज्दै थिए । मेरै छेउबाट एउटी सेतो कोरा फरिया लगाएकी महिला एउटा बच्चालाई लिएर हिँड्दै थिई । उसको पछाडिबाट हेर्दा ऊ डल्ली जस्तै लाग्यो । अनि म उसको अनुहार हेर्न लम्किएँ । साँच्ची ऊ डल्ली नै थिई ।

मैले अनायास उसको नाडीमा समाएँछु । ऊ आत्तिएकी थिई । मैले त उसलाई सेतो सारीमा पहिले पनि देखेको थिएँ । तर उसले मलाई जोगी भेषमा देखेकी थिइन । मैले उसलाई तिर्खाएको काकाकुलझैँ एकाएक भनेँछु – डल्ली, म तिमीलाई पर्खेर बसिरहेको छु । आऊ हामी फेरि जीवन सुरु गरौँ ।

‘अरे तिमी !, कहाँबाट आयौ यहाँ ?, अनि यो के रूप बनाएको तिमीले !’ अनायाश उसले भनेकी थिई ।

‘हो, म तिमीलाई नपाएपछि जोगी भएको हुँ । तिम्रा नाममा जोगी भएको हुँ । आर्यघाटमा तिम्रा चुरा फुट्दै गर्दा म त्यहीँ थिएँ । त्यो दृश्य हेर्न नसकेर म बेहोस भएँछु । पछि होस आउँदा तिमी थिइनौ । म त्यहीँ आयुर्वेदालयमा थिएँ ।

उसले अचम्म मान्दै भनेकी थिई – के गर्ने घटना घटिहाल्यो । म विधवा भइहालेँ । मेरो श्रीमान्ले मलाई असाध्य माया गर्नुहुन्थ्यो । उहाँ स्वर्गे भइहाल्नु भयो । मैले बाँकी जीवन वैधव्यमा बिताउनु पर्छ । अब मबाट नयाँ जीवनको सुरुवात सम्भव छैन । म पाप गर्न चाहन्न । चिनो यही चिचिलो छ । यसैको आसमा बाँकी जीवन बिताइदिन्छु ।

मैले उसको हात छोडेकै थिएन । उसले मेरो हात झड्कारी । अनि मैले उसलाई भनेँ – यो जीवन भगवानको सृष्टि हो । अर्को कुनै संसार पृथ्वीभन्दा राम्रो र सुन्दर छैन । कुनै स्वर्ग वा पाताल छैन । सबै थोक यही पृथ्वीमा छ । जन्म र मृत्यु यही लोकका कथा हुन् । यो सेतो कोरा सारी समाजले लादेको भारी हो । यसलाई मिल्काउनु पर्छ । यति कुरा त तिमीले पनि बुझेकी छौ । मर्ने मरेर गइसकेपछि उसलाई सम्झनु स्वाभाविक हो । तर उसको यादमा तडपिएर आफूलाई सुकाउनुको के अर्थ र ? के प्रयोजन र ? जीवन नमरुञ्जेल लमतन्न तानिएको छ । आऊ हामी हातेमालो गरौँ । यो तिम्रो र मेरो बीचको पर्खाल तोडौँ । समाजबाट यो कोरा श्वेत सारीको दर्शन तोडौँ ।

अनि उसले भनी – म अर्कोसँग बिहे गरेर जाने बेइमानका नाममा तिमी जोगी किन भयौ ? तिम्रो लागि यो पृथ्वी सुन्दर थिएन ? मलाई यो तिम्रो प्रस्ताव मञ्जुर छैन । मलाई छोडिदेऊ । मलाई वैधव्य नै मञ्जुर छ ।

‘अनि तिमी आधुनिक युगकी एक्काइसौँ शताब्दीकी पूर्ण नारी हुँ भन्थ्यौ त ? समाजका अन्याय बेथिति हटाउनु पर्छ भन्थ्यौ त ? समाजमा विद्यमान कुरीति तथा अन्धविश्वास हटाउनु पर्छ भन्थ्यौ । एकै झट्कामा सकियौ तिमी ? के तिमीमा वेथितिका विरुद्ध विद्रोह गर्ने आँट मरिसक्यो ?’ मैले पनि व्यङ्ग्य कसेको थिएँ ।

‘त्यो मेरो हिजो थियो, यो आज हो । हिजो आवेग थियो । आज मेरो यथार्थ हो । आज मेरो जीवनमा जब्बर भएर बसेको छ । तिमी जे भन, म तिम्रो प्रस्ताव कुनै पनि हालतमा स्विकार गर्न सक्दिनँ । तर तिमीले यो जोगी भेष फालेर एउटी बिहे गरेको देख्न पाएँ, सुन्न पाएँ भने म खुसी हुन्छु ।’ उसले भनेकी थिई ।

अनि मैले एकछिन गम्भीर भएर भनेको थिएँ – मैले तिमीसँग प्रेम गरेको हुँ, कुनै सौदा गरेको त होइन नि ! प्रेममा प्राप्ति र सफलताको कुरा नै आउन्न । मसँग पुनरबिहे गर वा नगर, चाहे अर्कोसँग गर वा नगर, वा बिहे नै नगरी बस तिम्रो कुरा हो । तिम्रो मर्जी हो । तिम्रो भित्री मनले वैधव्य नै स्विकारेको छ भने पनि मलाई केही भन्नु छैन । तर याद राख तिमीले आँटिली भएर यो सामाजिक अवस्थाबाट मुक्ति पाउनु पर्छ । एकपल्टको जुनी हो मान्छेको । आफ्नो जुनी आफैँ बाँच्नु पर्छ । तिमीले समाज परिवर्तनको सम्वाहक बन्नु पर्छ । आफ्नो आत्माको आवाज नसुन्ने हो भने बाँचेको पनि के सार हुन्छ र ? मेरो भन्नु यत्ति हो ।

उसले भनी – म यो गर्न सक्तिनँ । किनकि मैले यसो गरेँ भने समाज शत्रु भएर निस्कन्छ । समाजले मेरो आत्मालाई काँचै खाइदिन्छ । र यससँग जुध्ने मेरो आँट आर्यघाटको चितामै जलिसकेको छ । म मेरो छोरालाई विचल्ली पार्न सक्तिनँ । म समाज परिवर्तनको सम्वाहक बन्न सक्तिनँ । मलाई माफ गर ।

‘छोरालाई विचल्ली पार्नु पर्ने कुरा कसले गर्यो ? बच्चा भनेको संसारको सृष्टिको सुन्दर फूल हो । ऊ तिम्रो छोरो हो । तिम्रो भएपछि मेरो हो । मेरो छोरो हो । सन्तानका लागि अनाथालयबाट अचिनारुको रजवीर्यको बच्चो किनेर ल्याएर त छोराछोरी बनाउँछन् मान्छे । र सुदुर भविष्य सुखद देख्छन् । ऊ त तिम्रो रजबाट बनेको सन्तान हो । त्यसै पनि रज महत्त्वपूर्ण हो । विर्य त अचेल विर्य वैँकमा पनि पाइन्छ ।’ मैले हतार हतार भनेको थिएँ ।

यसैबेला उसको छोराले आमालाई सोध्यो – आमा त्यो अङ्कल को हो ?

उसले छोरालाई भनी – ऊ मेरो कलेजको साथी हो बाबु । मसँग यस्तै अवस्थामा बिहे गरेर समाज परिवर्तन गर्छु भन्छ । तिम्रो नयाँ बाबा बन्छु भन्छ ।

छोराले कति बुझ्यो वा बुझेन, थाहा छैन । तर बुझेझैँ मुण्टो भने हल्लाएको थियो ।

एउटा जटाजोगी र एउटी कोरा श्वेत पहिरनकी विधवा महिलाले हात समाएर कुरा गरेको देखेर मन्दिरमा आएका मान्छे भन्दै थिए – कली लाग्यो, हेर हेर जोगी र विधवा अरे ! हरे मान्छेको मति । अब त घोर कली लाग्यो । मर्यादा उलङ्घन गरेरै सक्ने भए । परम्परा र धर्म उलङ्घन गर्ने भए । यी समाज भँडुवाहरू हुन् ।

डल्लीको इन्कारीपछि म दिग्दार भएर मन्दिरअगाडिको खुड्किलामा बसेको छु । जोगी त यसै भएकै थिएँ । अब त झन् डल्लीले मलाई महाजोगी बनाई । परसम्म ट्वाल्ल परेर हेरिरहेको छु । मान्छेका बारेमा चिन्तन गर्दैछु । म हेरिरहेको छु, एउटा बन्द दोकानको सटर अगाडि पेटीमा एउटा गरिब केटो बोरा ओढेर बसेको थियो । जाडो थियो । यत्तिकैमा त्यो दोकान खोल्न आइपुग्यो व्यापारी । व्यापारीको हातमा बूढानिलकण्ठको प्रसादको ढाकी थियो । मन्त्र पढ्दै आउँदै थियो ‘श्रीकृष्ण गोविन्द हरे मुरारे, …….’

यो मन्त्र नसकीकन उसले आफ्नो दोकानको पेटीमा बोरा ओढेर बसेको त्यो चिथ्रे गरिबलाई देख्यो । अनि मन्त्र नै नसकी दोकाने बेस्सरी गाली गर्न थाल्यो –

‘मादरचोत, भाग यहाँसे, दुकानके आगे बस्छ, आज सारा दिन बेकार भइहाल्छ । बुरबक कहीँ के ।’
ऊ दमतोड भाग्यो अनि दोकानेले स्याँस्याँ गर्दै बल्ल मन्त्र सक्यो – मादर चुत । …….हे नाथ नारायण वासुदेव ।’

त्यहीँ बाटोको किनारमा दुईजना वृद्धहरू पाहार ताप्दै थिए । त्यो दृश्य देखेर उनीहरू मध्येको एकले आफ्ना थाप्लामा हात राखे । पिच्च भुइँमा थुके र विस्तारै भने — हाय ! हाय ! मान्छे । हरे यो कलीयुगमा धर्म रहेन । दया रहेन । त्यो गरिब बिचरालाई । कठै ।

म खुड्किलामा बसिनै रहेको छु । अब डल्ली फर्केर मेरा जीवनमा आउने सम्भावना सकिएर गएको छ । बेलैमा जोगी भएर ठिकै गरिएछ जस्तो लागेको छ । म हेरि नै रहेको छु । बाटोमा कल्याङ्मल्याङ सुनिएको छ । कल्याङमल्याङको कारण त्यही लुम्रे बिरालो रहेछ ।

एउटा मान्छेले बिरालोलाई कोठाभित्र थुनेर हिर्काएछ । बिरालोले त्यो मान्छेको आँखा नै निकाली दिएछ । र ऊ ‘मरे बाबा’ भन्दै सडकमा आएको रहेछ । मान्छे भन्दैछन् – कठै त्यो पशुलाई कोठामा थुनेर कुट्ने, त्यो मान्छे पशुभन्दा बदत्तर हो । माया धर्म दया हरायो बाबै यो कलीमा । पशुको पनि त ज्यान हो नि । उसलाई पनि दुख्छ । आफ्नो कुँडे जोगाउँदैन, अनि बिरालालाई दोष !

म उदाश भएर खुड्किलामा नै बसिरहेको छु । सोचिरहेको छु । मैले प्रेम गर्न खोजेँ – समाजले दिएन । जागिर खान खोजेँ – दिएन । जोगी हुन खोजेँ – दिएन । बाँच्न खोजेँ – दिएन । मर्न खोजेँ – दिएन । समाज परिवर्तन गर्न खोजेँ – दिएन । मलाई समाजले चौखुर्याएर बाँधेझैँ लाग्यो । त्यो कुटाइ खाएको बिरालो मेरै अघिबाट बाटो काट्दै गइरहेको थियो । आँखो निकालिएको मान्छे पेटीमै बसेर ‘अइया आमा’ भन्दै रुँदै थियो । मेरा दिमागभरि हजुरआमाले बिरालाका बारेमा भन्नु भएको कथाको याद आइरहेको थियो – बिरालालाई कोठामा थुनेर मार्न हुँदैन । उसलाई भाग्ने ठाउँ छोड्नु पर्छ । नत्र उसले विद्रोह गर्छ र शत्रुको आँखा निकालिदिन्छ ।

एकाएक म त्यही भाग्नै नदिई थुनेर मार्न लागेको बिरालोमा रूपान्तरण भएँछु । अनि सडकको बीचमै उभिएर कराइरहेको रहेछु – ‘के यो समाज कसैको बपौती हो ? आउनुहोस् निमुखाहरू हो, हातेमालो गरौँ । समाज परिवर्तन गरौँ । विश्वास गर्नुस्, शत्रु त्यति शक्तिशाली छैन ।

यसबेला मेरा दुवै नाडीमा कसैले जोडले समाएको अनुभूत गरेँ र हेरेँ । मेरो दाहिने हात छोराले समाएको थियो । देब्रे हात डल्लीले समाएकी थिई ।