हलिउडका प्रशंसकहरूले पिटर ज्याक्सनलाइ नचिन्ने कुरै भएन । उनलाइ हालै फोर्ब्स म्यागेजिनले अर्बपति घोषित गरेको छ ।
उनको कुल सम्पति हाललाइ १.५ बिलियन रहेको पत्रिकाले जनाएको हो । यो भनेको हाम्रा डलर अर्बपति विनोद चौधरीभन्दा बढी सम्पति कमाउनु हो ।
लर्ड अफ द रिङ्स उपन्यासमा आधारित फिल्म शृंखला बनाएका उनको चर्चा हेभेन्ली क्रिएचर्स, किङ कङ तथा लभली बोन्सजस्ता फिल्मले दिलाएको थियो ।
उनले बनाएका लर्ड अफ दि रिङका तीन वटा फिल्मको कुल बजेट ७६५ मिलियन डलर थियो । संसारभरबाट यी फिल्मले २.९१६ बिलियन डलर कुम्ल्याएको थियो ।
उनका सबै फिल्मले संसारभरबाट कुल ६.५ बिलियन डलर कमाएका छन् ।
उनी फिल्मका प्रविधि पक्ष निकै रूचाउँछन् । फिल्ममार्फत नयाँ अनुभव दिलाउन उनी नयाँ सफ्टवेयर र हार्डवेयरसमेत बनाउँछन् र त्यसमार्फत सिर्जना गरिने भर्चुअल दृश्यमाथि उनी खुब खेल्ने गर्छन् ।
यही खेल्ने क्रममा उनले बनाएको भिडियो गेम सफ्टवेयर बनाउने कम्पनी वेटा डिजिटललाइ अर्को भिडियो गेम बनाउने कम्पनी युनिटी सफ्टवेयरले खरिद गर्यो । उनको यो कम्पनी १.६ बिलियन डलरमा युनिटीले खरिद गरेको थियो ।
यस कम्पनी बिक्री गर्दा पिटर ज्याक्सनले ९७५ मिलियन डलर हात पारेका थिए । यससँगै अन्य सम्पति गणना गर्दा उनीसँग हाल १.५ बिलियन डलर सम्पति रहेको फोर्ब्स पत्रिकाले जनाएको छ ।
लर्ड अफ दि रिङलाइ फिल्म बनाउने सोच उनलाइ १९९७ मा आएको थियो र उनले त्यसको अधिकार पनि लिएका थिए । उनले यसका ६ वटा फिल्म बनाइएका छन् । लर्ड अफ दि रिङ ट्रियोलजी (२००१-२००३) बाट उनले १७ वटा अस्कर नामांकन पाएका थिए । हबिट ट्रियोलजी (२०१२-१४) र अघिल्ला तिन फिल्मको जम्मा आम्दानी ६ बिलियन डलर भएको त माथि नै उल्लेख गरियो तर सबैभन्दा रोचक कुरा चाहिँ यसको डिभिडीबाट मात्रै १.१ बिलियन डलर कमाइ भएको थियो ।
लर्ड अफ दि रिङको फिल्म र यसबाट बन्ने जति खेल सामग्री वा बालबालिकाका लागि बनाइने खेलौना छन्, तीबाट हुने आम्दानीको केही न केही रकम पिटर ज्याक्सनको खातामा जाने हुनाले उनी अर्बपति हुन सजिलो भएको हो ।
उनको वेटा नामक कम्पनीमा हलिउडका ठूला फिल्महरूको भिजुअल इफेक्टका कामहरू हुन्छन् । पछिल्लो समय साङ ची एन्ड द लिजिन्ड अफ द टेन रिङ्सको भिजुअल इफेक्ट यही कम्पनीले गरेको थियो । किङ कङ फिल्मबाट शुरू भएको यो क्रम गेम अफ थ्रोन्स टेलिशृङ्खला, गार्डियन्स अफ ग्यालेक्सीको दोस्रो भाग लगायतका फिल्ममा पनि प्रयोग भएका थिए ।
सन् २००४ मै फोर्ब्स म्यागेजिनले भविष्यको अर्बपति घोषणा गरेको थियो । त्यो बेला पिटरले भनेका थिए, ‘अमेरिकामा पैसा कमाउनु गर्वको विषय हुने गरेको छ । न्युजिल्यान्डमा भने पैसा कमाउनु त्यति ठूलो कुरा मानिदैन र म पनि पैसालाइ उति महत्त्व दिन्नँ । खासमा कर्म ठूलो कुरा हो ।’
उनलाइ अर्बपति बनाउने उपन्यास लर्ड अफ दि रिङ भने उनले पहिलो पटक १७ वर्षको उमेरमा पढेका थिए । त्यो बेलादेखि नै उनलाइ यो उपन्यासमाथि फिल्म बनाउन पाए हुन्थ्यो भन्ने सोचेका थिए ।
तर यो उपन्यासमाथि उनका मात्र नजर गढेका थिएनन् । कयौँ फिल्म स्टुडियोको नजर यसमाथि थियो । खासमा सन् १९५४ को जुलाइ र अक्टोबर १९५५ मा हबिट र लर्ड अफ दि रिङको एकमुष्ठ पुस्तक छापिएको थियो । त्यसयता नै हलिउडले यी दुइ उपन्यासलाइ फिल्म बनाउन आँखा लगाएको थियो ।
तर यसको अधिकार सउल जेनेटसँग थियो । पछि सनेटबाट पिटर ज्याक्सनले त्यो अधिकार आफूसँग लिएका थिए ।
जब फिल्म बन्यो, त्यसपछि यो फिल्म बनाउनु पनि एउटा कथाजस्तो बन्न पुग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।