संखुवासभाको विकट ठाउँमा जन्मेको एउटा ठिटो, आजको चर्चित कलाकार बन्ला भन्ने कमैले सोचेका थिए । तर जीवनमा सपना, संकल्प, संघर्ष र इमान्दारीजस्ता कुराको योग बन्यो भने आफूले चाहेको कुरा जसैगरी प्राप्त गर्न सकिँदोरहेछ भन्ने उदाहरण डिबी राईलाई हेरे पुग्छ।

सानैदेखि डिबीले गाउँघरमा घाँसदाउरा गरे। काठमाडौँ आएपछि घरका भित्तामा रङ पोते, टुरिस्टको भरिया बने र पैसाको जोहो गर्न विदेशमा पसिना बगाए ।

अतितलाई फर्केर हेर्दा उनी भावुक हुन्छन् र मन उसैगरी उद्देलित हुन पुग्छ तर अहिले फर्केर हेर्दा तिनै संघर्षले आफूलाई बनाएको उनी पाउँछन् ।

स्कुले जीवन
………………

गाउँघरमा उकाली-ओराली गर्दै, घाँसपात गर्दै हिँड्ने डिबी ८ वर्षको हुँदा मात्र कक्षा १ मा भर्ना भएका थिए । कखरा सिक्दै उनले खरी ढुंगा र अँगारले घरका पर्खाल र भित्ताहरूमा चराचुरुङ्गी र जनवारका चित्र कोर्थे। छिमेकमा एकजना दाजु थिए, उनी निकै राम्रा चित्र कोर्थे। एकदिन उनले गोरुको सुन्दर चित्र कोरेका थिए । त्यसबाट डिबी निकै प्रभावित भए ।

“त्यसपछि गोरुको चित्र त कति बनाइयो- बनाइयो,“ उनी सम्झन्छन् ।

खासगरी उनको चित्रकारिता प्रतिको लगाव यही समयबाट सुरु भयो । समय पाउनासाथ उनी चराचुरुङ्गी, हात्ती र गैँडाका चित्र खुब बनाउँथे। एक पटक कक्षा नौमा पढ्दा चित्रकलाको प्रतियोगिता आयोजना गरिएको थियो। शीर्षक राष्ट्रिय चरा डाँफे थियो। यसअघि चराहरूको चित्र बनाउन अभ्यस्त भएका डिबीलाई डाँफे बनाउन कुनै गाह्रो नै भएन। उनी सो प्रतियोगितामा प्रथम भए । यसबाट निकै हौसिएका डिबीले ठूलो कलाकार बन्ने सपना पाल्न थाले। एसएलसी सकेपछि दाजुभाइ र मामाको लहलहैमा लागेर उनी काठमाडौँ आए।

काठमाडौँ, कलेज जीवन र संघर्ष
………………………………………

काठमाडौँमा आएपछि उनी सुरुमा सरस्वती क्याम्पसमा भर्ना भए । गाउँबाट ठूलो सपना बोकेर काठमाडौँ आएका उनी यहाँको महँगीमा कति दिन टिक्न सक्थे र ? खाना, बस्न र कलेजको शुल्क तिर्न निकै गाह्रो भएपछि कामको लागि भौँतारिँदै हिँडे। धेरै दिनपछि मुस्किलले एउटा बोर्डिङमा काम पाए। तर वर्ष दिन नपुग्दै स्कुल बन्द भयो। जसोतसो आइकम दोस्रो वर्ष पढ्दै गरेका डिबीले सोही वर्ष पहिलो पटक ललितकला क्याम्पसमा कला विषय पढाइ हुन्छ भन्ने सुनेका थिए । त्यसपछि भने उनले कला विषय पढ्ने निधो गरे ।  ललितकलामा प्रवेश परीक्षा दिए र छैटौँ नम्बरमा नाम निकाले। अनि शुरु भयो उनको कला विद्या आर्जनको जीवन।

पढाइसँगै आर्थिक समस्यामा परेका डिबी एक दिन कामको खोजीमा बागबजारमा हिँड्दै थिए । लहरै साइनबोर्डको पसल र विज्ञापनको पसल देख्दा उनलाई साइनबोर्ड लेख्न सिक्ने रहर जाग्यो। तर कहाँ र कसलाई सम्पर्क गर्ने ? कुनै मेसो थिएन । साइनबोर्ड सिक्ने सपना बोकेर उनी धेरै दिन बागबजार आवात-जावत गरिरहे। सौभाग्यवश उनले साइन बोर्ड पसलमा हेल्परको काम पाए। यसबीच उनले बिहे पनि गरिसकेका थिए। पसलमा काम गरेबापत उनले मासिक रु १५०० पाउँथे तर दुई जनाको जीवन धान्न त्यति तलबले कहाँ पुग्थ्यो र ? बीचैमा काम छोडेर उनी टुरिष्टको भरिया बनेर सल्यान, रोप्पा, डोल्पा लगायतका ठाउँमा भारी बोक्न गए। पछि टुरिष्ट भरिया बन्न छोडेर उनी इन्डिया पुगेर फ्रेम हाउसमा डेकोररको काम गरे र वर्ष दिनमै काठमाडौँ फर्किएर कलाकार उमाशंकर शाहको कला स्टुडियोमा हेल्परको रुपमा काम गरे। यसैबीच उनले कलाकारिता गरेर ठमेलको कला ग्यालरीमा कलाकृति बेच्न थालिसकेका थिए। कला बेचेर राम्रो आम्दानी भैरहेको थियो तर २०५७/५८ सालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला पर्यटकको आगमन कम भएसँगै उनी पुन आर्थिक समस्यामा परे र वैदेशिक रोजगारको सिलसिलामा कतार पुगे।

कतार पुगेपछि उनले कलाकारको रुपमा होम डेकोरर र डिजाइनको काम गरे । त्यसको छ वर्षपछि उनी नेपाल फर्किए।

कला जीवन
…………….

नेपाल फर्किएपछि विस्तारै कलाक्षेत्रमा उसैगरी सक्रिय बने उनी । शुरुमा ट्रान्सपरेन्ट वाटरकलर सोसाइटीको सदस्य, अन्तर्राष्ट्रिय जलरङ समाजको सदस्य हुँदै स्पेक्ट्रम कला समूहमा बसेर कला क्षेत्रमा पुनर्आगमन गरे। यसबीच उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी र कला कार्यशालामा सहभागिता जनाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गरे । नेपाल फर्केको केही वर्षमै इन्डोनेसिया, अमेरिका, मेक्सिको, इन्डिया, बाङ्गलादेश, पाकिस्तान, मलेशिया लगायतका देशमा अन्तर्राष्ट्रिय कलाप्रदर्शनीमा आफ्नो प्रतिभा देखाउन सफल रहे। २०७७ सालको राष्ट्रिय कला प्रदर्शनीमा उनको “असन नाइट” शीर्षकको कलाले त स्पेसल आवार्ड नै जित्यो।

कला माध्ययम र शैली
……………………………….

डिबी राई मूलतः जलरङ माध्यममा कला श्रृजना गर्छन्। जलरङको मूलमर्मलाई मर्न नदिई कला श्रृजना गर्नै थोरै प्रतिभाशाली कलाकर्मीमा उनी गनिन्छन्। त्यसो त खुला प्रकृतिमा रहेर तत्स्थान काम गर्न सक्ने उनको क्षमतालाई सबैले तारिफ गर्न बाध्य तुल्याउँछ। मूर्त एवं अर्ध अमूर्त शैली काम गर्न रुचाउने कलाकार राई काठमाडौँका पुराना गल्ली, हिमाल र दृश्य-चित्र श्रृजना गर्नमा अब्बल मानिन्छन् । खासगरी उनले प्रयोग गर्ने रङको गाढापन र मसिना धर्साहरूको प्रयोगले आकृतिलाई सजीवरुपमा चलायमान बनाउँदछन् । जलरङका अतिरिक्त एक्रेलिक र तैलरङमा उनको उत्तिकै पकड छ।

आऔँ, उनका केही प्रतिनिधिमूलक कलाकृति केहीबेर अवलोकन गरौँः