ज्ञातव्यमा

प्रकाश सायमि

कलाकार मित्रसेनको परिचय दिनु अगि उहाँलाई दिइएको पहिलो सम्बोधनको स्पष्ट व्याख्या गर्नु उचित होला ।
वाग्गेयकारको अर्थ हुन्छ , प्राचीनकालमा जो व्यक्ति पद रचना औ स्वर रचना दुवैमा प्रवीण हुन्छ, उसलाई वाग्गेयकार भनिन्थ्यो । वाक् अर्थात् पद्य अनि गेय अर्थात् संगीत दुवैको ज्ञातालाई भनिन्थ्यो जसमा स्वतन्त्र तथा शीघ्र रचना गर्न सक्ने शक्ति, एकाग्र चित्त, तीनै सप्तकमा गमक गाउने शक्ति, रागत द्वेशको अभाव, अलौकिक बुद्धि , वाक चातुर्य , गायन, वादन अनि नृत्यमा कुशलता अरुको मनको भाव जान्ने शक्ति आदि गुण हुन आवश्यक हुन्छ ।

गीत लेख्न सक्ने उत्तम दर्जाको रचनाकार जसलाई गीतकार भनिन्छ अनि ऊ गाउन पनि सक्ने भयो भने गेयकार पनि भयो ।

वाक् र गेय दुवैसित कुशल सम्बन्ध भएको साधकलाई वाग्गेयर भनिन्छ, यो उपाधि पाउने नेपाली कलाकार हुन् मित्रसेन जो आजसम्म चर्चित छन् ।

उनको मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले .. एक उत्कृष्ट गायन, रचना र संगीत हो । यो यति चर्चित भयो कि आजका प्रसिद्ध संगीतकार शम्भुजित बासकोटाले समेत नेपाली कथानक चलचित्र ‘प्रेमपिण्ड’का निम्ति पुनर्गायन गर्नुभयो ।

अहिलेका धेरै नयाँ पुराना कलाकारले मित्रसेनको बाटो पछ्याइरहेका छन् तर उनी हिँडेको बाटो लामो मात्र होइन, कठिन पनि छ । यही कुरालाई पछ्याउँदै धर्मराज थापा, पुष्प नेपाली, अम्बर गुरुङ, बच्चुकैलाश, कर्म योञ्जन, गोपाल योञ्जन, दीप श्रेष्ठ, झलकमान गान्धर्व आदि आएका छन् ।

मित्रसेनको १२६ औँ जन्मजयन्तीमा समर्पित यो लेख सबै नेपाली उहाँप्रति सश्रद्धा समर्पित छ ।

१. परिचय
नेपाल र नेपालीले चिन्ने एक सरलसूत्रीय परिचयका आधारमा मित्रसेन थापा मगर एक गायक हुन् । जसलाई अङ्ग्रेजीमा सिङ्गर भनिन्छ तर उनी आफैँ रचना, गरेर गाउने भएको हुनाले उनलाई गायक कलाकार भन्दा हुन्छ अर्थात् सिंगर आर्टिस्ट । यसरी गाएर जनसमाजमा प्रस्तुत हुँदै हिँड्ने प्रस्तोतालाई अङ्ग्रेजीमा पफर्मर भनेको पनि पाइन्छ । उनी पफर्मर आर्टिस्टका निम्ति सुशब्द परिचय पाउने हकदार भएका कलाकार हुन् । उनले गाएर, गीतका माध्यमबाट मानवजातिलाई ब्युँझाएर नेपाली समाजलाई नयाँ रचना दिए, त्यसैले उनी आजको जस्तो नवाधुनिक युगमा भन्नुपर्दा उनलाई इम्परासियो भन्नु उपयुक्त वा सद्धे हुन्छ भन्ने पंक्तिकारको ठोकुवा छ । भर्खरै अङ्ग्रेजीभाषामा बोलीपरक भएको शब्द इम्परासियो शब्दको हुबहु अर्थ मित्रसेनकै निम्ति नै बनेको जस्तो देखिन्छ ।

आइ एम पी आर ई एस एस ए आर आइ ओ वर्णसंयोजनका आधारमा हालै प्रयोगमा ल्याइएको यस शब्दले गायन, कार्यक्रम र मञ्चप्रस्तुतिका आधारमा समाजमा परिवर्तन ल्याउने एउटा साधक वा संस्था भन्ने बुझिन्छ, (टाइम साप्ताहिक पत्रिका सन् २००९) यस आधारमा मित्रसेन यस शब्दका निम्ति सुयोग्य पात्र मान्न सकिन्छ । उनले नेपाली सङ्गीतको आरम्भकालमा यही भूमिका निर्वाह गरे ।
उनले नेपालबाहिर बसेर संघर्षरत नेपालीलाई जगाउने, गीतसङ्गीतबाट जोड्ने सेतुका रूपमा यो काम गरिरहे । उनैले सेतुराम श्रेष्ठले सुरु गरेका जस्ता गुन्गुनाउन मिल्ने र गाएर तुरन्तै मानवमनमा प्रभाव पार्ने गीतलाई प्राथमिकता दिएर सङ्गीतलाई अग्रता दिए ।

वस्ताज बद्री श्रेष्ठ र वस्ताज साहिँलापछि नेपाली रेकर्ड सङ्गीतको इतिहासमा देखापरेका चौथा गायक मित्रसेनका गीत पूर्ववर्ती गायकद्वय वस्ताज बद्री र वस्ताज साहिँलाका भन्दा सरल र स्पष्ट थिए र गाइने हिसाबमा तिनका भन्दा साधारणीकरण भएका मानिएकोले पनि उनी कम समयमा नेपाली जनस्थानमा द्रुतगतिमा लोकप्रसिद्ध भए ।

उनको गीतको बलियो पक्ष नै सांस्कृतिक धार भएको हुनाले उनी नेपाली र गैरनेपालीका माझ छिटै स्थापित भए । उनले पूर्वोत्तर भारतमा र नेपालका सबै भूभागमा प्रभाव पारे । उनको गायनमार्फत् नेपाली सङ्गीतलाई व्यावसायीकरण गर्न त्यो समय भारतीय सञ्चार माध्यमले तत्कालै अल् इन्डिया रेडियोबाट गोर्खे गीत प्रशारण शुरु भयो । त्यसपछि भारतमा रहेका व्यावसायिक रेकर्डिङ कम्पनीले विस्तारै नेपाली गीत सङ्गीतमा रुचि लिन थालेको इतिहास देखिन्छ ।

मित्रसेनको आगमनपूर्व भारतीय नेपालीमा नेपालीभाषाको गीतको प्रभाव थिएन वा अझै भनौँ नेपाली भाषाको माया भए पनि उनी भन्दा पहिले कसैले नेपाली गीत गाउने आँट कसैले गरेका थिएनन् । उनी यस हिसाबले भारतीय नेपालीमध्ये प्रथम गायक मान्न सकिन्छ ।

समाजशास्त्री जनकलाल शर्माका अनुसार ‘नेपाली भाषामा गीत पनि गाउन सकिन्छ भन्ने कुरा शिक्षितवर्गमा पु-याउने पहिलो काम नै मित्रसेनले गरको’ (पृ. ७, नेपाली सङ्गीतको एक शतक, सायमी ) भन्ने बुझिन्छ । उनले आफ्ना समकालीन मित्र बहादुरसिंह बरालका रचनालाई लय दिएर गुञ्जाएपछि आम नेपालीमा यो चेतनाको विकास भएको देखिन्छ ।

नेपाल र नेपालीका प्रिय गायक मित्रसेन थापा मगरले गीतमा आधुनिक चेतना र रोमान्सेली पक्षलाई प्रधानता दिएको पाइन्छ ।

२. नेपाली सङ्गीतको पहिलो चरणमा मित्रसेन

भारतको धर्मशालास्थित धाराखोला गाउँ भाग्सुका मनवीर सेन थापा र उनकी पत्नी राधा थापाका पुत्रका रूपमा जन्मिएका मित्रसेनका पुर्खा नेपालको पश्चिमी भूभागमा मानिए पनि उनको जन्म र कर्म भारतीय जमिनमै भयो । मित्रसेनको नाउँमा सेन जोडिएको भएर कसैले उनलाई पाल्पाली भने, कसैले उनको थापा मगर जोडिएकाले गुल्मेली भने, उनको परिवार सुरुदेखि सैन्य पेशामा आवृत्त भएकाले बागलुङे भने । यद्यपि उनका पुर्खाको वास्तवविक स्थल कसैले निश्चित भन्न सकेको छैन तर संगीतमा रुचि भएको आधारमा बागलुङबाटै आएका अर्का कलाकार कालिभक्त पन्तसित पनि उनको नाउँ जोडिने हुनाले उनको पुर्ख्यौली थलो पश्चिम नेपालको बागलुङ हो कि भन्ने झिनो अनुमानसम्म गर्न सकिन्छ । संयोगले मित्रसेनको रचनामा कान्छा र कान्छीको चर्चा, जंगलको बाटो, बत्ती र विकासको कुरा देखिइने र त्यही समतुल्यमा कालिभक्त पन्तको रचनामा पनि त्यही छनक पाइने देखिन्छ, उदाहरणका लागि कान्छाले कान्छीलाई लग्यो वनको बाटो लाल्टीनै बालेर ।

जन्म र जन्मेको समयका आधारमा मित्रसेनका बारेमा थुप्रै सहमति, असहमति भए पनि उनको जन्म मितिसँग विश्वको एउटा परिवर्तनकारी इतिहास जोडिएको रमाइलो प्रमाण छ ।

२९ डिसेम्बर सन् १८९५ का दिन मित्रसेन धर्मशाला भाग्सुमा जन्मिएका थिए । त्यो दिन विश्वभरिका मानवजाति एउटै कारणले खुशी थिए । त्यो दिन बिहान विश्वभरि एउटै खुशी फैलिएको कारण थियो, विज्ञानले कला माथि गरेको सफल प्रयोगसिद्धि । फ्रान्सका लुइ लुमाएर र उनका भाइ आगस्टे मिलेर पहिलो पटक पेरिसको होटल ग्य्रान्ड क्याफेमा पहिलो चलचित्र देखाएका थिए । यसरी विज्ञानमिश्रित कलाको जन्म भएको त्यो दिन नेपाली गीसंगीतलाई प्राविधिक रुपले सक्षम र व्यावसायिक रुपले शक्तिशाली बनाउने एक कारिगरको जन्म पनि त्यही दिन भएको थियो ।

र, अचम्मको संयोग उनकै स्वरमा बनेको गीत चलचित्रले प्रयोग गर्ने अधिकार नब्बे वर्षपछि नै पायो जसमध्ये ’मलाई खुत्रुक्कै पार्यो जेठान’ र ’धानको बाला झुल्यो’ लाई लिन सकिन्छ तर अरुकै आवाजमा ।

जोनोफोन लेबिलमा गीत रेकर्ड गर्ने पहिलो भारतीय नेपाली गायकको मित्रसेनको जन्मसँगै लाहुरेका कथा–व्यथा विस्तारै ध्वन्यस्त हुन थाल्यो । यसअगिका तीनैजना मूल गायक नेवारभाषी परेको हुनाले शास्त्रसम्मत गीतमै ती केन्द्रित रहे भने मित्रसेनका गीतमा परेदश पीडा, प्रविधिप्रतिको चिन्ता, सांस्कृतिक मूल्य मान्यताको धडकन लाभान्वित अंश नै बनेको छ । सिनेमाको जन्मसँगै जन्मेका मित्रसेनका गीतमा फेसनका कुरा र विवाहेत्तर सम्बन्धका कुरा पनि स्पष्ट देखिनु स्वभाविकै थियो ।

भारतमा जन्मेका मित्रसेनमा मित्रराष्ट्र भारतमा चलेका त्यतिबेलाका गायक के एल सहगल, आर सी बोराल, पंकज मल्लिक, पहारी सान्याल, उमा शशि, के सी डे, काननबालाको प्रभाव पटक्कै नहुनु र रचनासत्तामा पनि नेपालकै माटोको गन्ध र छन्द देखिइनुले उनी एक्कासि नेपाली जनस्थानमा एक स्तम्भ नै बन्न पुगे ।

बीसौँ शताब्दिको नयाँ कला चलचित्र कलाको आगमन भएको समय भारतमा भर्खर विश्व संगीतको विकासको निम्ति ग्रामोफोनको विकास भएको थियो भने त्यही ग्रामोफोनमा गीत गाउने प्रथम भारतीय गायिका जौहर जान निक्कै लोकप्रिय भएको समय मित्रसेनको बाल्यकाल धर्मशालामा बितिरहेको थियो । सन् १९३० को हाराहारीमा भारतको प्रसिद्ध रेकर्डिङ कम्पनी एच आर सीका चन्डी बाबुले सम्भावना भएका एक भारतीय गायक कुन्दनलाल सहगललाई झुलाना झुलाओ गाउन लगाए (पृ. १३, के एल सहगल, प्राण नविले)पछि उनी एकाएक चर्चित भए । यस गीतले धर्मशाला भाग्सुका मित्रसेनलाई प्रभाव नपार्ने कुरै भएन ।

हिन्दुस्तान रेकर्ड कम्पनीको सहायक संस्थाको रुपमा चिनिने द स्टार इन्डिया रेकर्ड एन्ड मशिन कम्पनी नामक संस्थाबाट मित्रसेनले पहिलो पटक सन् १९३६ मा गीत रेकर्ड गरे । चलचित्रसँगै जन्मेका मित्रसेनको गायनको यो इतिहासको पनि रमाइलो प्रसङ्ग यहाँ जोड्न सकिन्छ । चलचित्रको जन्म सन् १८९५ मा भए पनि चलचित्रमा ध्वनि एकचालीस वर्षपछि मात्र जोडिन सम्भवसिद्ध भयो, सन् १९२६ मा । विश्वसिनेमामा ध्वनि जोडिएको दस वर्षपछि मित्रसेनले भारतमा गीत रेकर्ड गराए ।

त्यतिबेला भर्खरै भारतमा पहिलो सवाक् चलचित्र प्रदर्शन शुरु भएको थियो । सन् १९३१ अप्रिल १५ तारिख बुधबारका दिन कलकत्ता, बनारस, बम्बई, कराँची, दिल्लीमा सार्वजनिक भएको ‘आलमआरा’ले मित्रसेनलाई पनि प्रभाव पारेको देखिन्छ, त्यसमा प्रयुक्त तानसेनको चर्चाले उनलाई अदृश्य रुपमा स्पर्श गरेको बुझ्न सकिन्छ ।

रंगमञ्च, नाटक र गीत कथामा असाध्य रुचि भएका मित्रसेनले त्यसबेलाको बजारलाई बुझेर त्यस्तै गीत गाउन शुरु गरे जसले गर्दा उनको गायन कम समयमा सेतुराम, वस्ताज बद्री र वस्ताज साइँलाका भन्दा लोकप्रिय भए ।

नेपाली सुगम संगीतको एकसय वर्षको लामो इतिहासलाई संक्षिप्तीकरण गरेर इतिहासगत रूपमा हेर्ने हो भने परिवर्तनका आधारमा यसलाई छ खण्डीय अध्यायमा हेर्न सकिन्छ । आदि गायक सेतुरामको आगमन, मित्रसेनको परिवर्तनको धार, सातसाल र स्रोतव्य सामग्रीको खोज, नेपाली संगीतको स्वर्णिम युगको असर, छयालीस सालपछि परिवर्तनीय संस्कार, बाउन्न पछिको नेपाली संगीतमा प्राविधिकीय र राजनीतिक प्रसरलाई कोष्ठमा राखेर हेर्ने हो भने मित्रसेनको आगमनपछि नेपाली सुगम संगीतमा स्वतः आधुनिक गायनको निम्ति एउटा महामार्ग बन्यो जसको डिकोमा पछिल्लो पुस्ताले हिँड्ने बाटो बनायो ।

यी छ खण्डलाई एक स्तम्भगत आधार मान्ने हो भने मित्रसेनको गायनकालको पूर्ववर्ती समयलाई त्यसपछिको परिवर्तन र प्रभावले व्याप्ति दिएको छ । मित्रसेनको गायनपछि स्वतः प्रभावमा आएका रत्नदास प्रकाश र धर्मराज थापालाई समतुल्य नमाने पनि दुवैमा मित्रसेनको गायनको मिश्रण पाइन्छ ।

मित्रसेनको सङ्गीत रचना–शैली र गायनको खुल्लापनमा रत्नदास प्रकाश मौलाए, उनको साङ्गीतिक शिल्पमा धर्मराज थापा स्वतः सहज रूपले उत्रिए ।

सात सालमा नेपालभित्र रेडियो नेपालको स्थापना हुँदा नेपालीय स्वरमा गुञ्जिने गीतका गायक, सङ्गीतकारको जन्म भइसकेको थियो यही समय नेपाली वृत्तमा मित्रसेनका जस्ता जागरणमूलक एवम् भावप्रवण गीतको रचना र रेकर्डिङको सुरुवात भइसकको थियो । तर मित्रसेनको राष्ट्रप्रेम र जातीय गौरवको छाप स्पष्ट देखिन्थ्यो ।

३. मित्रसेनको रचनाकारितामा सांस्कृतिकपन

दी अक्सफोर्ड कम्प्यानियन टु इन्डियन थिएटरका अनुसार हिमालयन चिल्ड्रेन्स् अम्युजमेन्ट एसोसियसनको स्थापना सन् १९१३ मा भएको मानिन्छ । यसले पश्चिम बङ्गालको दार्जीलिङमा नेपाली रंगमञ्चमा गायनको विकास गरेको स्पष्ट इतिहास पाइन्छ । यस संस्थाका संस्थापक भैया सिंह गजमेरले नाटक, गीतिनाटक, प्रहसन आदि मञ्चस्थ गर्नुका साथै भजन, पर्वगीत आदि पनि लेखेको पाइन्छ । तर यिनका कुनै पनि गीत रेकर्ड भएको इतिहास वा प्रमाण नुहुनुले उनलाई नेपाली जनसमाजले बिस्तारै उनलाई बिर्सिसके । भैया सिंह गजेमर (सन् १८९८ — सन् १९६८) कै समकालीन वा भनौँ दौँतरी मित्रसेनको चर्चा अझै सेलाएको छैन । उनलाई न भारतीय नेपालीले बिर्सेका छन्, न त नेपालका नेपालीले ।

समाजलाई चाहिने उपयुक्त सन्देश र चेतनामूलक गीत गायन र सङ्गीतका कारण मित्रसेनलाई संस्कृतिका सम्बाहक पनि मानेका छन् सुधीजनले । उनलाई गायकी कारणले मात्र होइन, उनको समाज प्रतिको चेतनासम्मत विचारका कारण नेपालीभाषीले उनलाई एक युगान्तकारी गायक, वाणीसेवकका रूपमा सम्झेको पाइन्छ । प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईका अनुसार ‘मित्रसेनका कार्य र कृति हेर्दा देख्छौँः उनीभित्र समाजसेवक र कलाकार दुई व्यक्तित्व छन् । दुईमा तर उनी कुनै एउटा पहिलो र अर्को पछि हैनन् । समाजसेवक भएकाले डुल्दै कलाकार हुन पुगेका वा कालकार भएकाले डुल्दै हुन पुगेका थिएनन् । दुई व्यक्तित्व उनमा हाराहारी सक्रिय थिए । समाजसेवा कि कला साधना ? संशयको दोबाटोमा उनी कहिले उभिएनन् ।’ ( पृ. ४७०, राई, ईन्द्र सम्पूर्ण ४)

बेलायती उपनिवेशको रुपमा विकसित भइरहेको एसियाई भूखण्डको विशाल भारतको पहाडी राज्यमा जन्मेका मित्रसेन थापा मगर आठ कक्षासम्म पढेपछि पुर्ख्यौली पेशामा आकृष्ट भए, सैन्य जीवनमा । प्रथम विश्वयुद्धका बेला सैनिक जीवन देखेर विरक्तिएर सांस्कृतिक जीवन शुरु गरेका मित्रसेन बिस्तारै मानवीय जगतको सेवा र सम्पर्कमा गीत संगीतका कारण निकट हुन थाले ।

मुगल साम्राज्यको अन्त भएको आधा शताब्दि बितिसकेको भए पनि भारतीय समाजमा ऊर्दूभाषाको जोड थियो । यस समय इस्लामिक परम्परामा लिखित नाटकहरू सर्वाधिक लोकप्रिय मानिन्थे । यसैको प्रभावमा मित्रसेनले ती नाटक नाटिकालाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न थाले । भारतीय समाजको विचित्र शैलीको जीवनमा आफूलाई कहिले गायन, केही रङ्गकर्ममा जोड्दै उनले आफूलाई समर्पित गरे ।

दस वर्षअगि गोर्खाली समाजमा दार्जीलिङमा स्थापित एसोसियनबाट प्रभावित भई मित्रसेनले हिमालयन थिएट्रिकल कम्पनी खोले । यही कम्पनीबाट उनले विभिन्न हिन्दी ऊर्दूका नाटक नेपालीमा अनुवाद गरी काँगडा, पालमपुर, शाहपुर, पठानकोट, बटाला आदि स्थानमा मञ्चन गरे । यहीँबाट सुरु भयो उनको सांस्कृतिक अभियानको यात्रा । यहीँ उनले नेपाली महिलाको अवस्था, नेपालीको दुर्भाग्यको स्थिति र विदेशीसितको उठवसले बिग्रिँदै गएको नेपालीको हालतलाई अनुभूत गर्दै गीति गायनमा जोड्न थाले । यसरी उनी विस्तारै नेपाली जातिका सांस्कृतिक विम्बका दीपाधार बन्न पुगे ।

प्रसिद्ध साहित्यकार एवम् चिन्तक ईन्द्रबहादुर राईका मतलाई आधार मान्ने हो भने मित्रसेनको जीवन मनोरञ्जन जगतमा र समाजसेवामा बराबर नै बितेको पाइन्छ । उनले जनसेवालाई आफ्नो धर्म ठाने, ‘जनसेवक मित्रसेन इतिहास बने, भारतीय नेपाली जातिको इतिहासको एक उज्ज्वल अध्याय । –(पृ . ४७०, पूर्ववत्)

मित्रसेनले आफ्नो गायनमा युद्ध, नेपालीको पछौटेपन, तत्कालीन समयको चारित्रीक चित्रण लगायत काव्य बोलीलाई प्रधानता दिएका छन् तर उनको गायकीबाट बाहिर हेर्ने हो भने रचनागत स्वभावमा व्यङ्ग्य र परिहासको पुट पनि प्रशस्त पाइन्छ । उनले रचना गरेका चालीसभन्दा भन्दा बढी गीतमा महिलाको जीवनदशा, पुरुषको वेवारिसेपन, (मलाई खुत्रुक्कै पा-यो जेठान) स्थानगत परिचय, (तानसेनको सितलपाटी, एउटा घर त सिम्ले), यात्रिक मनोवृत्ति, (अब त जाउँ कान्छी घर, रेलीमै भर्खर जाँदो बैँस), धर्मान्धतामा पाखुरीबल, (गाई खाने पोडे भए भन्दै हिँड्छन् दुनियाँ ढाँटी), जाति जागरणका गीत, भावशालीनतका उद्बोधक, सामाजिक सुधारका सञ्चेतनाको पुँजी प्रशस्त पाइन्छ तर ती समूल रचनाको भूगोलमा उनको सबभन्दा ठूलो भावभूमि हो, संस्कृति र संस्कृतिले बनाएको नेपालीपन । उनले नेपाल संस्कृतिलाई गीति गायनका कारण बचाएका छन् । त्यो नै उनको ठोस शक्ति हो ।

४. समाजसेवक वा कलासाधक मित्रसेन ?

यहाँ यसअगि पनि चर्चा भइसकेको छ, मित्रसेन तीन नेवारभाषी गायकपछि आएका गायक हुन् । उनी आफैँ कलम चलाउने र त्यसलाई तर्ज गर्ने खूबी भएका साधक पनि हुन् ।

उनले गाएका प्रायः गीतमा जीवन र जगतको सम्बन्ध र त्यससित बिस्तारै हुँदै गएको सहजीवनको तुलनात्मक अध्ययन पाइन्छ ।
बहुप्रतिभाशाली मित्रसेनले समाजमा जाँड रक्सी, जारी, बालविवाह, बहुविवाहजस्ता कुसंस्कृति र भाषा साहित्यमा रहेका साहित्यिक योगादानले तत्कालीन समाजलाई नङ्ग्याएका छन् ।

जनतामा जागरण र धर्मप्रति प्रेम जगाउने मित्रसेनले लाहुरेको रेलीमाई फैशनै राम्रो, रातो रुमाल रेलीमाई खुकुरी भिरेको जस्ता गीत मार्फत् तत्कालीन समाजमा व्याप्त आधुनिकतालाई चित्रण गरे । आमजीवनको आपाधापीमा एकआर्काप्रतिको डाहा ईर्ष्यामा रमेको समाजलाई नयाँ सन्देश सनद गरे ।

किन गर्छौ ताना तानी मनमानी
दुई दिनको छ जिन्दगानी

यस्ता गीत मार्फत् दर्शनबोध दिने मित्रसेनको बोलीमा प्रकृतिप्रतिको सम्मान र श्रम गर्ने साधकप्रतिको कामना पनि सकारात्मक देखिन्छ,

धानको बाला झुल्यो हजुर देशै रमाइलो

राष्ट्र निर्माणमा जीवनवोधको झलक दिइरहने मित्रसेनले कहिले चेलीको विरह माइती भएर गाए, कहिले राष्ट्रको गरिमालाई निर्माणधरका रुपमा व्याख्या गरिरहे,

बीच बजारको आठ कुने ढोका
तानसेनको शीतलपाटी
सम्झँदा झल्किन्छ छाती नि झरझर तानसेनको शीतलपाटी

उनी देश, समाज र संस्कृतिको सदैव चिन्ता गर्ने एक चिन्तक हुनुको कारण अध्ययन र अनुभव मात्र नभई विश्वभरि ध्वस्त न्यस्त भइरहेको इतिहासको बचावको चाह उनको कला र गलामा देखिन्थ्यो । उनले लोक बोलीमा प्रयोग हुने शब्दलाई पनि संकेत र विम्बको रुपमा प्रयोग गरेर भाषा, भाव र भंगिमाको जगेर्ना गरेका छन् ।

बटौलीको बजारैमा सुका धार्नी मासु
तिम्री छोरी मैले लगेँ टीका लाइदेऊ सासू

आग्रह र क्रान्तिको बोली एकैपटक बोल्न भ्याउने गायक, संगीतकार मित्रसेनको कल्पनालोकको बलियो पक्ष नै संस्कृति हो भन्ने हरेक हरफ हरफले व्याख्या गर्छ ।

प्रसिद्ध साहित्यकार ईन्द्रबहादुर राईले उल्लेख गरे अनुसार, गोरखाली भन्नेहरु बुद्धि कहिले आउँदैन, यिनीहरुलाई ठीक बाटोमा हिँडाउने कोसिस गर्नु व्यर्थ छ भन्नेहरु अघि पनि थिए, अहिले पनि छन् । समाज र जातिका लागि केही नगरी आफ्नै निम्ति मात्र बाँचेर तिनीहरु मरे । मित्रसेन आफ्नो निम्ति बाचेनन् । समाज र जातिको निम्ति बाँचे । हामी आज जे जति बनेका हौँला, त्यसमा निश्चयतः मित्रसेनको योगदान छ, त्यागदान छ । (पृ.४७०, राई , ईन्द्र सम्पूर्ण ४)

उनी संस्कृतिका संरक्षक मात्र नभइ सांस्कृतिक कृषक नै हुन भन्न सकिन्छ जसको बलियो प्रमाण हो उनले जोड्ने गरेका शब्द पुञ्ज र उनले सिक्का बनाएका शब्दको नवीनीकरण नै नै यसको बलियो आधार हो ।

५. परिवर्तन र परावर्तनका प्रतिक मित्रसेन

मित्रसेनको गायनले रेडियोको युगमा प्रवेश गर्नुअगि नेपाली स्रोतासमाजलाई नयाँ स्वाद दिएको सत्य हो । त्यो स्वाद, शब्दमा ध्वनिमा र भावमा एकसाथ थियो तर त्यसले विस्तारै मिहिन हुँदै गएको नेपाली समाजलाई बचाउनु र त्यो बचावमा बनेको महत्वगामी नयाँ समाजलाई लोभ्याउनु उनको साधना थियो ।

उनैले लेखेको यो गीतले नवसमाजमा धर्म र दर्शनको उद्बोधन गर्दछ,

यो संसार दर्शनको को हो मेला
आफ्नै कर्मले पारी तर्ने
गुरु हुन् वा चेला
यो संसार दर्शन को हो मेला ।

उनको यस्तो भावको गीत गुञ्जेको तीन दशकपछि पनि रेडियो नेपालबाट कोइलीदेवीको स्वरमा यस्तै गीत गुञ्जियो,
संसार रहेछ दुई दिनको झमेला …

मित्रसेनको गीतका धेरै मिथक, रुपक वा भाव नेपाली समाजका दोहोरिरहेका हामी पाउँछौँ, जसमध्ये धानको बाला झुल्यो हजुर देशै रमाइलो, चुइँचुई चुइँकने जुत्ताजस्ता उनका गीतका गेडा वा विषयवोध लिएर कुनै न कुनै नेपाली गीत फेरि फेरि बनिरहेको हामी देख्दछौँ । त्यो समकालीन रचनासत्तामा उनको उपस्थितिको बोध हो भन्ने पंक्तिकारको ठहर हो ।
०००

साभारः ईन्द्र सम्पूर्ण
मित्रसेनका गीतहरू
नेपाली संगीतको स्वर्णिम युग
बागीना
द अक्सफोर्ड कम्पेनियन टु इन्डियन थिएटर