दिदी!
तपाईं र म झगडा गर्दाको
याद पनि लग्नु है,
नत्र त्यो दिनदिनै आएर
मसँग फेरि झगडा गर्छ,

दिदी!
यो एक मुठी हाँसो पनि
लग्नु ल
हजुरले तिहारमा उपहार दिएको
नत्र त्यो हरपल आएर मलाई गिज्याउँछ,

दिदी!
यो खुशी पनि साथै लानु है
जो तपाईंले मलाई मुटुबाट
झिकेर दिनुभएको थियो
नत्र
त्यसले भित्रभित्रै कलेजी
कुटु-कुटु खान्छ,

दिदी!
राम्ररी जानु है
आफ्नो छायाँ बोकेर
नत्र त्यसले बाबा-आमालाई सताइरहन्छ

दिदी!
राम्ररी जानु है!