साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नागपञ्चमीमा नाग टाँस्दा जे भयो

चारहजारे बजारमा ठाकुर गुरुजीको बुकस्टोरबाट नाग किनी लिएर आएँ । नागपञ्चमीमा विद्यालय छुट्टी हुन्थ्यो । बिहानै नुहाइधुवाइ गरेर निधारमा तिलक लगाएर दाजुभाइ लागियो नाग टाँस्न । काङ्ग्लातोम्बीमा कान्छा काकाको ससुराली थियो । त्यहीँ छेउछाउका घर जानैपऱ्यो ।

Chovar Blues Mobile Size

नागपञ्चमीका दिन एकाबिहानै बाहुन-छेत्री केटाहरूले हातमा नागका पोस्टर र कुश लिएर प्रत्येक घरमा टाँसेर दक्षिणा थाप्दै हिँड्थे । हाम्रो संस्कृति महान् छ है! साँपलाई पनि हामी पुज्छौँ भगवान् मानेर । उसको आशीर्वाद लिन्छौँ । महादेवका साथी हुन्, भगवान् हुन् वा हैनन्? प्रश्न गर्ने ठाउँ नै छैन । वर्षमा एकचोटि विशेष रूपमा पुजिन्छ नागदेवतालाई ।

मसिना भुराहरूका लागि देउसीभैले छोडेर पैसा कमाउने नागपञ्चमीको दिन पनि हो । आफूलाई पनि यसरी नाग टाँसेर पैसा कमाउने औधी रहर हुन्थ्यो तर सानो जातको घरमा जन्मिएर यो कर्म गर्नबाट वञ्चित भइयो । वञ्चित भएको परिवारले परम्परा मानेर स्विकारेपछि आफूले विरोध गर्ने त सवाल नै थिएन । काँचो उमेरमा के परम्परा के रूढिवादी के थाहा हुनु र?

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

कक्षा पाँचमा पढ्दाको कुरा हो । नागपञ्चमीको केही दिनअघि कक्षाका सहपाठी एवं गाउँले साथीभाइ नाग टाँस्ने योजना बनाउन थाल्छन् तर आफूले योजना बनाउन नमिल्ने । रहरमाथि ढुङ्गा राख्नुबाहेक अरू केही उपाय हुँदैनथ्यो । आमाले यो चाहिँ भन्नुहुन्थ्यो- ‘हामी विश्वकर्मा हुनाले बाहुन-छेत्रीको घरमा नाग टाँस्न नभए त के भयो हामीले विश्वकर्माको घरमा नाग टाँस्न मजाले मिल्छ ।’

आमाको भनाइअनुसार यो वर्ष मैले पनि विश्वकर्माको घरमा गएर नाग टाँस्ने योजना बनाएँ । पाँच जना काकाको घर अनि पल्लो गाउँ काङ्ग्लातोम्बीमा भएका विश्वकर्माका घरमा टासे भने खाताकपी, पेन्सिल अनि स्कुलमा दालमुट खाने पैसा मनग्य पुग्छ । यो हिसाबकिताब मेरो दिमागका चल्यो । म र मेरो भाइ रमेश जाने पऱ्यौँ नाग टाँस्न ।

sagarmani mobile size

चारहजारे बजारमा ठाकुर गुरुजीको बुकस्टोरबाट नाग किनी लिएर आएँ । नागपञ्चमीमा विद्यालय छुट्टी हुन्थ्यो । बिहानै नुहाइधुवाइ गरेर निधारमा तिलक लगाएर दाजुभाइ लागियो नाग टाँस्न । काङ्ग्लातोम्बीमा कान्छा काकाको ससुराली थियो । त्यहीँ छेउछाउका घर जानैपऱ्यो । त्यो समय विश्वकर्माका चार-पाँच घर थिए त्यहाँ । अहिले सङ्ख्या बढेको छ ।

साथमा नागका पोस्टर, मैदा पकाएर बनाइएको गम अनि भरपूर मात्रमा रहर थियो साथमा । दैलामा, भित्तामा सबैतिर नाग टाँस्यौँ आधी घण्टामै । विश्वकर्माका घर सिद्धिए । दक्षिणा पनि थापियो । खुसी नै खुसी । नागका पोस्टर सकिएनन् अनि दक्षिणा पाउने चाहना पनि । नाथे चार-पाँच घरमा टाँस्दा के सकिन्थे होला र नाग ।

काङ्ग्लातोम्बीको कोलनी ठाउँमा हामी चारहजारेका भुरालाई कसले पो चिन्थ्यो होला? दाजुभाइले युक्ति लगायौँ । बाहुन-छेत्रीका घरमा पनि गएर नाग टाँस्ने । कसैले थरी सोध्यो भने बाहुनको थरी भनी दिने पनि सलाह गऱ्यौँ ।

हाम्रो समाजमा अपरिचित मान्छे भेटिसक्दा भलाकुसेरी सोध्नुअघि थर सोध्ने बानी छ । बानी त के भन्नु र! प्रथा भने भयो । बानीले बिस्तारै रीति औ प्रथाको ठाउँ लिन थाल्छ ।

तल्लो घरमा निस्कियौँ । बाहुनको घर थियो वा छेत्रीको थाहा भएन हामीलाई । विश्वकर्माको घर होइन, यो चाहिँ मजाले थाहा थियो । आगनमै घरकी मालिक्नी फेला परिन् । प्रश्नको सूची हामीसामु राखी त हालिन् मतारीले ।

‘कहाँबाट आयौ नानीहरू?’

दाजु म थिएँ । उत्तर दिने पनि मेरो जिम्मेवारी भयो ।

‘चारहजारेबाट ।’ जवाफ फर्काएँ ।

अर्को प्रश्नले अप्ठ्यारो पाऱ्यो । डर पलाउनु त स्वाभाविक थियो । नियमको विरुद्धमा जो काम गर्न लागेका थियौँ दाजुभाइले । चेतना पुगेर गरेको भए यही काम समाजको रूढिवादी हटाउने जनान्दोलन हुन्थ्यो होला! यो कुरा सही हो जानी नजानी केटाकेटीले ठुलो काम गरिरहेका हुन्छन् ।

‘के थरी नानी?’ आगन टेक्नुअघि अड्कल गरेको प्रश्न आयो । डराएको मनबाट बाहुनका जानेका थरी पनि चम्पट खोलेछन् । हाम्रा छिमेकी दुलाल थिए । छिमेकीलाई कसरी पो बिर्सिन सकिन्छ र? बिर्सिनु पनि भएन । दुःखसुखमा साथ दिने भनेको छिमेकी त हुन् । गाउँमा खोर्सानीको ढेढी, नुन, मचिसम्म पैँचो माग्नुपर्छ । गाह्रो परेका बेला कहिलेकाहीँ सय रुपियाँ पनि सापट नमागी हुँदैन । छिमेकी सबैलाई चाहिन्छ ।

‘दुलाल हौँ हामी ।’ भनिदिएँ ।

अब चैँ बाँचियो भनेको मतारीलाई सन्तुष्टि लागेनछ क्यार! अर्को प्रश्न तेर्स्याइहाल्नुभयो ।

‘मामली के थरी हुन्?’ एउटा दिमागमा आएको थरी भनिहालेँ । अब के भन्नु भन्नु भएँ? अबर पो पऱ्यो । नाग टाँसेर आशीर्वाद दिन आएको छानबिनले आपत् पाऱ्यो आगनमै ।

‘कार्की हुन् ।’ भनिदिएँ स्वात्तै ।

टेक्निकली मेरो उत्तर सटीक भएनछ । मतारीले मेरो उत्तरमा प्रश्नचिह्न लगाउँदै प्रश्न गरिहालिन्-
‘तिमीहरू दुलाल बाहुन भएपछि छेत्री कसरी मामली भए?’

अब फसिएन त? फसाद भयो । बिगारेको उत्तर त सपार्नैपर्यो । सोचेँ, सोचेँ अनि मेरो कक्षामा बाहुन साथी थियो उसैको थरी याद आयो ।

‘ए बिर्सिएर भनेछु । कार्की होइनन् । दाहाल हुन् ।’

बल्ल महतारी प्रसन्न हुन्छिन् । हामीले लामो सास फेऱ्यौँ । मतारीले नाग टाँस्नलाई अनुमति दिन्छिन् । नाग टाँस्यौँ । नाग देवताले पनि केही आपत्ति मानेन् बाहुनको घरमा विश्वकर्माले नाग टाँस्दा ।

अर्को घरमा पस्ने हिम्मत नै आएन । यो घरमा छिमेकी दुलालले बचाए तर अरू घरमा यस्तै प्रश्न आउँदा फसिने रहिछ भनी अनुमान लगाएर सरासर घर फर्कियौँ ।

प्रतिक्रिया
Loading...