साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पहाडका दु:ख र सौन्दर्य

जे पर्ला भन्ने पनि मनमा आएनछ, युवराजले आज बिहान हिंडौ है एकछिन बाहिर भन्दा । अरुबेला म नै हो उसलाई रोक्ने। समय खराब चलिरहेको छ । नियमअनुसार आँगन कटेर ननिस्किनु पर्ने हो। फुत्त घरबाहिर निस्किनासाथ दोकान छन्, चिया पनि पाइने। हरेक बिहान ५:३० तिर म त्यही चिया दोकानको हल्लाले ब्युन्झिन्छु । हरेक दिन कम्तिमा १० जना छिमेकीहरु जम्मा हुन्छन् त्यहाँ । स्थानीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाचार, गसिप हुन्छ र टोल थर्काएर हाँस्छन् । चिया पसल यस्तो ठाउँ हो जहाँ बहसका लागि कुनै विषयको पाबन्दी छैन । टोलभरिको मात्रै हैन, संसारकै घटनाको सूचना शायद यहाँबाटै प्राप्त हुन्छ । तर यहाँ महिलाहरू कहिल्यै देखिदैनन् । किनभने उनीहरूलाई घरधन्दाबाट फुर्सदै हुँदैन । आम नेपाली महिलाहरू चिया पसलको संस्कारबाट पनि हुर्किएनन् । पुरुषहरूको लागि चिया पसल संस्कार कति बलियो छ होला, अनुमान गर्नुस् । लकडाउनमा पनि उनीहरू नभेटिरहन सक्दैनन् ।

बाटोमा आफ्नो अगाडिबाट हिँड्ने सबैलाई घुरेर हेर्छन्, तलदेखि माथिसम्म। यो मेरालागि नौलो होइन। कोही महिलालाई पनि नौलो होइन। पहिलेपहिले स्कुलकलेजको समयमा गीत गाउने, जिब्रो पड्काउने, प्याच्च केही बोलिहाल्ने गर्थे केटाहरू । आजकल शायद त्यस्तो हुन्न । घुरेर अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्ने बानी चाहिँ धेरै देख्छु । बाटोमा हामी बूढाबूढी हिंडिरहेका बेला पनि घुरेर हेर्छन् मलाई मात्रै । युवराजलाई हेर्दैनन् । बाइकमा म युवराजको पछाडि बसेको बेला पनि मलाई नै हेर्छन् । जो मलाई हेर्छन्, उनीहरुको बाइकको पछडि पनि महिला बसिरहेका हुन्छन्। म युवराजलाई हेर्दै रिसाउँछु, ‘कमसेकम तिमीसँग हिंड्दा त नघुरुन् ! तिमी पनि त्यसरी नै अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्न त हेर्दैनौ नि ?’

हरेक मोडमा, बाटोको कुनामा, चियादोकान, रक्सी दोकान, पानपसल, बसस्टप, आलीका डिल, चौतारो, दोकानको क्यारमबोर्ड वरिपरि, साँझ, बिहान, राति, दिउँसो किन चार जना पुरुष भेला भएर बस्नु पर्छ, म बुझ्दिनँ। के हुन्छ त्यसरी बस्दा ? के आनन्द मिल्छ होला छोरा मान्छेलाई, कुनै काम बेगर नै झुरुप्प जम्मा भएर घण्टौं बस्दा ! बाटोमा हिंड्ने मानिसहरूलाई एकोहोरो घुरेर हेरिरहँदा ? मेरा लागि त्यो डर हो । उनीहरुको सामान्य दैनिकी होला, म बुझ्दिनँ तर म र मजस्ता कयौं बाटोमा हिँड्नु पर्नेका लागि भयको झुन्ड हो त्यो । कौशलटारदेखि बिरुवासम्मको ६ किलोमिटर सडकमा हिंड्नुस्, तपाईंले यस्ता दर्जनौं झुन्ड देख्नुहुन्छ । यो त एउटा उदाहरण हो । सिधा सडकबाट भित्री बाटाहरूमा छिर्नुस् । त्यस्तै देख्नुहुन्छ, देशभरि नै ।

bahulako diary small and inside post

आज पनि चियागफ चलिरहेको थियो, उसरी नै ।

एक जना बोले,‘ओलीले भनिसके भारतीय भाइरस कडा छ भनेर, डरमर्दो भो अब चैँ !’
अर्का बोले,‘हामीलाई केही हुन्न, के डराउनु भएको?’

हामी सिरुटारबाट लुभुतिर लाग्दैछौं । गहुँ भित्राउने चटारो छ त्यता। थ्रेसरबाट निस्किएको धुलो छल्न हामी मास्कलाई तानतुन गरेर मिलाउँछौँ र बाटोबाट तेर्सिन्छौँ । खेतमा, बारीमा, जताततै काम धमाधम छ। तरकारी रोप्ने, खेती उठाउने, गाईका हुल, धारामा पानी भर्नेको हुल । यस्तो लाग्छ, यो संसार तहसनहस पारिरहेको यो रोग, सरकारको लकडाउन वा बडाबडाले गरेको बन्दाबन्दी यो ठाउँका लागि होइन किनभने किसानका आफ्नै दु:ख र चटारा छन् । गाग्रीमा पानी नबोके, घाँस नकाटे, गोबर नसोरे, खेतमा काम नगरे, खाने मेलो छैन । यी सबै गतिविधि कतै दुरदराजको हैन । यही ऐतिहासिक शहर भक्तपुर र ललितपुरका किनारमा बस्ने दुखियारीहरूको हो । दुखियारी किन भने- ती किसानहरूको घर हेर्नुस्, तीनका दु:ख हेर्नुस्, तर तिनले पाउने श्रमको मूल्य भने न्यून छ । यी सबै काम गर्नेहरू प्रायः महिला छन् वा उमेर खाएका पुरुषहरू छन् । अधबैंसे र युवाहरू कि चिया पसल, कि क्यारामबोर्ड कि ब्याडमिन्टनमा छन् वा बाटमा हिंड्ने मानिसहरूलाई घुरेर बसेका छन् ।

युवराज पहिले नै धेरै पटक हिंडिसकेको बाटो हो यो, सिरुटारबाट पारि ललितपुरको लुभु हुँदै बिरुवा निस्किने । उसलाई सारै मन परेको रे, म पनि उसैको लहलहैमा हिंड्दैछु। हरेक टोलमा ब्याडमिन्टन कोर्ट छन् । जस्तो एउटा मेरो घरको छेउमा छ। लकडाउनको कारणले यो चलन बढेको छ । जहाँ हरेक उमेर समुहका पुरुषहरु ज्यान बनाउन लागिपरेका छन्। लाग्छ, यो पल्टको ओलम्पिकमा स्वर्णको तयारीमा छन् वा लिपुलेक पाउन भारतसँग युद्धको तयारी हो यो?

हरेक कोर्टमा १०।१५ जनाको झुण्ड छ। म युवराजलाई बारबार भन्छु, ‘यो संसार केटाहरुको लागि हो, मात्र केटाहरुको लागि । घर भित्र होस् वा बाहिर।’

हरेक दिन खाना पकाउने पानीको जोहो गर्नेदेखि लुगा सफा गरिदिने, घर चिटिक्क राखिदिने छँदैछन्, आमा, दिदी, बहिनी, श्रीमती । नगरिदिए घुर्की छँदैछ । बिहान वा दिनभरि गाउँ डुलेर घर फर्कंदा घरमा सबै ठीकठाक भएकै हुन्छ ।

छिमेकी भाउजूले आफ्नु ‘टिनएजर’ छोरालाई घरको काम लगाएको देखेर अर्की छिमेकी दिदीले भनेको सम्झन्छु, ‘अर्काको घर जाने छोरीलाई घरको काम नसिकाएर छोरोलाई किन काम लगाउनु?’ र, ती दिदीले आफ्नो घरमा अनेकौं कामसँग लडेको युध्द सम्झन्छु । यस उपत्यकाका आम महिलाहरूको दु:ख म अनुमान लाउन सक्दिनँ । यिनै अनेकौं दृश्यहरू नियाल्दै हामीले आज बिहान १५ किलोमिटर पैदाल यात्रा तय गर्यौं । हामीले हिंडेका गाउँ र डाँडाकाँडामा बस्ने मानिसका अनेक दु:ख त छँदैछन् तर प्राकृतिक रुपमा यो क्षेत्र अझै सुन्दर छ । पुराना घरहरू, पोखरी, आधुनिक तरकारी खेती, रुख हरियाली । यो सुन्दरता शायद हामी केही क्षण घुम्न हिंडेकाहरूको लागि मात्रै हो कि ती गाउँलेहरूले पनि महसुस गर्छन् ? म बुझ्न सक्दिनँ ।

तस्बिरहरूः लुना भट्टराई

प्रतिक्रिया
Loading...